छेवाङ योञ्जन
बुद्धिमानकी श्रीमतीले तनाउपूर्ण भावमा भन्दै थिइन्, ‘‘भए पो भेटिन्थ्यो। हुँदै नभएको चिज कसरी भेट्ने?” बुद्धिमानले भएभरको सामानहरू खोतलेर घरै भताभुङ्ग बनाइसकेका थिए।
ताकमा भएका नानीहरूका खाता-किताब भुइँभरि छरप्रस्टिएका थिए। पुराना टिनका बाकसहरू सिकुवामा पल्टिरहेका थिए। एक जोर शङ्ख बाकसको छेउमा थियो। सुकेको एउटा बेल लडेर जाँतोछेउ पुगेको थियो। हर्रा, बर्रा र चिरौटाका पोकाहरू पनि बाकसबाट निस्किसकेको थियो। क्विन भिक्टोरिया छाप भएको बाह्र आनाजस्तै देखिने तामाका धमिला एक दुईवटा सिक्काहरू बाकसको कुनामा थियो।
‘नानीहरू हुर्केपछि घरको सामान पटक्कै पाउँदैन’ सबैभन्दा पुरानो सेरे ढक हातमा उठाएर बुद्धिमानले भन्यो ‘यो पहिले बोजूले व्यापार गर्दा चलाउने ढक हो।’ फेरि उनी अर्को बाकस खोलेर सामानहरू पल्टाउन थाले। नानीहरूले घरको सामानहरू भाँडाकुटी खेलेर बर्बाद गरेकोमा उनलाई साह्रै रिस उठिरहेको थियो। छेवैमा उभिएकी श्रीमती बेलाबेला सामान खोज्न सघाउँथी। धेरैजसो चाहिँ लोग्नेको अनुहारमा छर्लङै देखिएको त्रास, निराश र भएभरको थकान देखेर मानसिक रूपले कमजोर अनुभव गर्थिन्।
दोस्रो बाकसमा केही पुराना लुगाहरू रहेछन्। बुद्धिमानको शरीरमा फिट हुँदै नहुने पुराना लिको प्यान्ट एक जोर रहेछ। कुमकुममा सिलाइ उत्रेको ऊनीको स्वेटर पनि रहेछ। एउटा खैरो धागोले सिलाएको मफलर देखाएर बुद्धिमानले भन्यो, ‘यो पनि पो रहेछ।’
श्रीमतीले हातमा त्यो मफलर लिइन्। ‘बाफरे बीस वर्षअघिको चिनो’ मनमनै सोचिन्। लोग्ने बुद्धिमान सामान खोज्नमा व्यस्त थिए।
मफलर हातमा लिएर मेनुका विगतको जङ्गलतिर दौडिन्।
***
प्रत्येक शनिबार मेनुका पारि देखिने छोटा मङवा जङ्गलतिर टोलाएर हेर्थिन्। शनिबार बगानमा खर्चको दिन। लक्ष्मी बोजू डोकोमा साग-सब्जी लिएर गार्लाङ जान्थिन्। साँझसम्म साग-सब्जी बेचेर हरिमायाको घरमा बास बस्थिन्। छोरा-बुहारी बङ्गलोर लागेपछि हरिमाया चुलबुले नातिनी मेनुकासँग घर कुरेर बसेकी थिइन्। शनिबार साँझ मुराईको डल्ला लिएर लक्ष्मी बोजू हरिमायाको घर पुग्थिन्। मेनुका खुसीले गद गद हुन्थिन्। यो क्रम धेरै वर्षसम्म चल्यो। यसैबिच बुद्धिमान पनि दुईचारचोटि बोजूसँग सब्जी बेच्न गार्लाङतिर गएका थिए।
मकर सङ्क्रान्तिको पहिलो रात बोजूले गाउँभरिबाट तरुलहरू भेला गरेकी थिइन्। पानीधारामा तरुल धुँदै गर्दा बुद्धिमानले भन्यो ‘भोलि त म पनि जान्छु।’
किशोर बुद्धिमानलाई हेरी बोजूले एकचोटि त अनुमान गरिन् ‘पाँच केजी त बोक्न सक्छ यल्ले’। तर बाटैमा दु:ख देला कि भनेर कुरो टार्ने बहानामा बोजूले भनिन् ‘पर्दैन स्वाङ नपार। ट्याङ्की डाँडा उकालोमै मुताको पैह्रो हुन्छ।’
नाति बुद्धिमानको गार्लाङ जाने जिद्दी थियो। अलिक रिसाएको पारामा उनले बोजूलाई भन्यो ‘दिनमा चारचोटि त बाँदर खेद्दै पुग्छु त्यो नाथे डाँडा।’
राति अबेर भइसकेको थियो। अलिक चर्को स्वरमा बोजूले भनिन् ‘बिहान छिटो उठ्लास् तस्कर।’
राति निदाउनअघि बोजूले छोरा-बुहारीलाई भनिन्, ‘बिहान बुद्धिलाई छिटो उठाइदे। पछ्याउँदै छ।’
मिर्मिरेमा बोजू-नाति घरबाट निस्के। घर तरुल, वन तरुल र सिमल तरुलले भरिभराउ ढाकर बोजूले बोकेकी थिइन्। नातिले सेरे ढक तराजुको काँधे झोला भिरेको थियो। हिउँदको याम। चिसो बिहान थियो। ट्याङ्की डाँडा उकालो बोजू-नाति मौन हिँडिरहेका थिए। बोजूको निधारबाट पसिना फोका झर्दै थियो। पछि पछि हिँडिरहेका बुद्धिको नाकबाट चाहिँ सिँगान चुहुँदै थियो। एक घन्टा उकालो हिँडेपछि दुवैजना डाँडा पुगे। बुद्धिपट्टि हेरेर बोजूले भनिन्, ‘डोको समात ता एक छिन बिसाऊँ’।
बुद्धिले आज प्रथमचोटि कालेबुङको दुर्बिनबाट घाम झुल्किँदै गरेको देख्यो। घामको पहिलो किरणमा आफ्नै गाऊँ पनि सुन्दर देखिँदो रहेछ। भर्खरै धान काटेर घुमाउने खेत चिल्लो थियो। बुद्धिको नजर त्यतातिर गयो। खेत माझको बडेमानको ढुङ्गा त साँच्चै हात्ती नै देखिँदो रहेछ। बुद्धिले मनमनै सम्झे ‘छ्यामफुले, हन्ना, लाडुब हामी हिजो हात्ती हात्ती खेलेको ढुङ्गा त्यही त हो’। अझै तलतिर हरियो सुता डोरीजस्तै टिस्टा बगिरहेको थियो।
स्कुल भिर ओह्रालो एक दुईवटा पुल्ठो बलेको देखेर बोजूले भनिन् ‘उ मकर नुहाउनेहरू टिस्टा जाँदै रहेछन्। उज्यालो भयो त पुल्ठो त मार्नु नि मुर्दाहरू’। एकछिनको थकाइपछि सेरे ढकको झोला बोकेर बुद्धि अघि अघि लागे। बोजूपछि पछि थिइन्। छोटा मङवादेखि खोलासम्मको जङ्गलभित्र अझै उज्यालो पसेको थिएन। बुद्धिलाई बाटो चिनाउँदै बोजू पछि पछि थिइन्। तर उनीहरू गार्लाङ पुग्दा छ्याङै उज्यालो भइसकेको थियो।
हरिमाया बोजू चुह्ला कोठामा थिइन्। लक्ष्मी र नातिलाई देख्नसाथ भनिन्, ‘कति बिहानै आइपुगेछ यो आइमे। राति सुतेनौँ?’
‘म सुतिबसे तिमीहरू कसरी मकर मनाउने त?’ बोजूले प्रतिप्रश्न गरिन्।
नाति बुद्धिमानलाई छोडिराखेर हरिमायाको हातको चिया पिएर बोजू तरुल बेच्न गाउँतिर पसिन्। उनी फर्कँदा बुद्धिमान र मेनुका आगो तापिरहेका थिए। हरिमाया घरमा थिइनन्। टुक्राटाक्री तरुलहरू मेनुकालाई दिइराखेर बोजू-नाति घर फर्के।
बुद्धिमान बोजूसँग गार्लाङ गएको कुरा साथीहरूलाई सुनाउँथे। मेनुकाको कुरा गर्थे। बर्खायामको समय घाम सरेर कालेबुङ बजारदेखि झुल्किन्छ। यो पनि बुद्धिमानलाई थाहा भइसकेको थियो। गार्लाङ जाँदा जङ्गलमा भेट्टाएका झरी-च्याउहरू मेनुकाका लागि भनेर टिप्थे। ‘ढिलो भयो’ भनेर बोजूले जति नै हपारे पनि त्यो सुन्दैन थियो। भोलि गार्लाङ जानु छ भने बेलुकी नै मण्डल बाजेको बारीको अम्बक चोरेर मेनुकाका लागि ठिक्क पार्थे। गार्लाङ जाँदा त्यसले हरेकचोटि मेनुकालाई केही न केही लगिदिन्थ्यो।
‘बुद्धिको मात्रै खाइदिन्छस्, त चैँ केही दिन्नस्?’ कटहर खाँदै गरेकी मेनुकालाई एक दिन हरिमाया बोजूले हकारिन्। लाजले रातो बनेकी मेनुका भागेर कोठामा पसिन्। बुद्धि र बोजू फर्कनै लाग्दा पनि ऊ कोठाबाट निस्किन।
लक्ष्मी बोजूलाई दमको रोगले निक्कै चाप्यो। टक्कै दुई साल उनी थला परिन्। बोजू-नातिको गार्लाङ जानेक्रम रोकियो। बुद्धि र मेनुकाको भेट हुन छाड्यो। दुई सालपछि बोजू अलिक हिँडडुल गर्ने भइन्। तर गह्रौँ भारी बोक्न सक्थिनन्।
बुद्धिको आमा-बाउ मेलापात गर्थे। विकास योजनाको समय सडकतिर ज्यामी गर्थे। रोगी परिवारमा जहिले पनि आर्थिक सङ्कट मडारिन्छ। जतिकै छेकथुन गर्दा पनि अनिकाल पसिहाल्छ। धौ धौमा चल्न थाल्यो लक्ष्मी बोजूको परिवार। बर्सौँदेखि रोगी आमाले दु:ख दिएको भन्दै छोरा-बुहारी रिसाउँथे। आमा-बाउको यो व्यवहार बुद्धिलाई पटक्कै मन पर्दैन थियो। उनी धेरजसो समय बोजूसँग बिताउँथे।
एक दिन घरछेवैको चप्लेटी ढुङ्गामा बोजू-नाति बसिरहेका थिए। बिमारी बोजू घाममा शरीर सेक्दै थिइन्। बुद्धि खुकुरीको बेँड बनाउँदै बोजूसँग गफ गर्दै थिए।
अचानक बोजूले भनिन् ‘ओइ बुद्धि भोलि गार्लाङ जानु पर्छ। मेरो पुरानो पैसा पाउनु छ। तँ जान्छस्?’
सुनेर एकछिन त बुद्धि बोलेन। उसले गार्लाङ बिर्सिसकेको थियो।
फेरि बोजूले भनिन् ‘मेनुकाको घर जाँदैनस्?’
तब पो होस् आए जस्तै गरी बुद्धिले भन्यो ‘जुम न अन्त।’
भोलिपल्ट दिउँसोतिर बोजू-नाति घरबाट निस्के। ठिक दुई वर्षपछि बुद्धि र बोजू हरिमायाको घर पुगे। हट्टाकट्टा लक्ष्मी बोजू दुब्लाएकी देखेर हरिमाया छक्कै परिन्।
‘अब उमेर पुग्यो, भारी नबोक्नु तिमी’ भान्साघरबाट खुट्टे पिरा ल्याउँदै हरिमायाले भनिन्, ‘तिम्रो पैसाहरू उठाई राखिदिएको छु।’
दुई बोजूको कुरा चल्दै थियो। तर बुद्धिको मन भने के गरौँ, कसो गरौँ भइरहेको थियो। त्यहाँ कतै पनि मेनुका देखिएको थिएन। लक्ष्मी बोजू थला परेकै साल बगान बन्द भएछ। अझै खोलिएको रहेनछ।
‘गाऊँकाहरू हुलका हुल चेन्नाई र बङ्गलोर जाँदैछन्’, हरिमाया बोजूले सुनाइन्, ‘मेनुका पनि स्कुल जान छोडिन्।’ मेनुकाको कुरा सुनिरहेको बुद्धिले मेनुकालाई घरतिरै आइरहेको देखे। उसको हातमा टमाटर र प्याजको ससाना पोकाहरू थिए।
‘ऊ यतै आउँदै छ त’ बुद्धिले भन्यो। खासमा उनले मनमनै भनेका हुन् तर दुवै बोजूले सुने र मेनुकातिर हेरे। बुद्धि र लक्ष्मी बोजूलाई देखेर मेनुका छक्कै परिन्। बोजूलाई ढोग गरिन्। अलिक लजाएर बुद्धिलाई ‘ठिकै छौ’ मात्रै भनिन्। त्यो दिन बोजू-नातिले हरिमायाकैमा खाना खाए। दुई-तीनचोटि बुद्धि र मेनुकाको आँखा जुझ्यो तर दुवै बोलेनन्। साँझतिर घर फर्कनै लाग्दा मेनुकाले बुद्धिलाई एउटा पोको दिई। आफ्नी बोजू हरिमायालाई हेर्दै भनिन् ‘लौ बुद्धि यो राख तिम्रा लागि ल्याइदिएको।’
अघिल्लो साल मकर मनाउन त्रिवेणी जाँदा मेनुकाले बुद्धिमानका लागि किनिदिएको थियो। एक सालपछि उसले बुद्धिको हातमा थमाइदियो त्यो ‘खैरो मफलर।’
***
मफलर च्यापेर दैलोमै लट्टिरहेकी श्रीमतीलाई देखेर बुद्धिमानले भन्यो ‘खुस्क्यो कि के हौ, नसुत्ने अब?’
झसङै हुँदै मेनुकाले भनी, ‘थेँत के भएको म त? ठाडै पो झुलेछु।’
नानीहरू घोर निन्द्रामा थिए। आधारात भइसकेको थियो। लोग्ने-स्वास्नी पनि ओछ्यान पसे। पोलिथिन ठोकेको सिलिङमा डिकुरे मुसा यताउता कुदिरहेको थियो। बुद्धिमानलाई निन्द्रा परेन। सिलिङ हेरेर फेरि सरापे ‘जिउँदो हुँदा पनि सञ्चोले बस्न दिएन, मरेर गएपछि पनि सताएरै माऱ्यो।’ मेनुकालाई पनि निन्द्रा परेको थिएन। उसले सुझाउ थपी, ‘त्यो पैह्रोमा मरेको हो भनेर कुनै कागज छैन।’
‘अब बाउ-आमाको लास पो जलाउँ कि कागज पो बनाउँ?’ विपरीत दिशातिर मुख पार्दै बुद्धिमानले भन्यो ‘जे पर्ला पर्ला।’
बिहान दस बजिसकेको थियो। नानीहरू स्कुल गइसकेका थिए। स्वास्नी गोठमा थिई। आज बुद्धिमानलाई केही खोज्न मन लागेन। लथालिङ भएको घरलाई एकचोटि सरसरती हेरे। मुख-हात धोएर छरपस्टिएको सामानहरू मिलाए। स्वास्नीले खाजा हालिदिइन्। चुपचाप खाजा खाए। चुपचापै तयार भए।
दिउँसोको एघार बज्नै लागेको थियो। हातमा ‘सेरे ढक’ लिएर उनी एनआरसी कार्यालयतिर लागे।
No comments:
Post a Comment