दार्जिलिङ : पहाड-समतलका कुराकानी
मूल बङ्गला रचना : सौमित्र घोष
नेपाली अनुवाद : शमीक चक्रवर्ती
********************************
दार्जिलिङ पाहाड र तराई-डुवर्सका जङ्गल, वनबस्तीवासी मानिस अनि पर्यावरण सम्बन्धित सङ्घर्षसित सङ्लग्न अभियन्ता र लेखक हुन् सौमित्र घोष। सिलगढीको बासिन्दा भएकोले र पहाड-तराई-डुवर्स क्षेत्रमा विगत कैयौँ दसकदेखि निरन्तर भ्रमण, स्मरण र अध्ययनबाट बटुलिएका अनुभवहरू एक लाख भन्दा बढी शब्दहरूमा समेटेर उनले बङ्गलामा किताव लेखेका छन्-- 'समय भ्रमण'। कलकाताको 'सुप्रकाश' प्रकाशनबाट सन् २०२२ मा प्रकाशित यो कृति बङ्लाभाषी पाठकहरूले धेरै रुचाएका छन्। यसलाई नेपाली अनुवाद गर्दै शृङ्खलाको रूपमा यही पेजमा प्रकाशित गरिनेछ।
यो पुस्तक दार्जिलिङका पहाडहरू र पहाडमुनिको तराई क्षेत्रको प्राकृतिक सौन्दर्यको खोजीमा केन्द्रित छ। यहाँ 'खोजी' भन्नाले अनगिन्ती पुराना र नयाँ किताबहरू तथा दस्तावेजहरूका साथै विभिन्न व्यक्तिहरूको स्मृति भण्डार केलाउनु, अनि एक ठाउँबाट अर्को ठाउँमा जानु हो। यहाँ 'ठाउँ' भन्नाले केवल भौतिक स्थान मात्र नभई समय पनि हो।
औपनिवेशिक र पूर्व-औपनिवेशिक समयदेखि दार्जिलिङ पहाड र त्यससँग जोडिएका समतल क्षेत्रको इतिहास, भूगोल र समाज कसरी बदलिएको छ र अझै पनि कसरी बदलिरहेको छ भन्ने विस्तृत जानकारी यसमा समेटिएको छ। त्यसै उद्देश्यका लागि यस पुस्तकमा वर्तमान समयदेखि विगतको समयसम्मको यात्रा गरिएको छ। यो यात्राका क्रममा अहिले जे छ र जे छैन, ती दुई भिन्न अवस्थाको ज्यामितिलाई प्रश्न गरिएको छ।
प्रश्न हाम्रो हेर्ने, मोहित हुने, राम्रो वा नराम्रो लाग्ने तरिकाबारे पनि छ। प्रकृति, प्राकृतिक सौन्दर्य, इतिहास, भूगोल र समाजबारे विभिन्न अध्ययन र अवलोकन, समय भ्रमण भन्नाले वास्तवमा यी सबै कुराको भ्रमण गर्नु हो। घुम्दै गर्दा घुमघामका कथाहरू भन्नु र सुन्नु पनि यसको अभिन्न अङ्ग हो। दार्जिलिङ पहाडबारे रुचि राख्ने सबैका लागि यो पुस्तक अनिवार्य पढ्नै पर्ने र सुन्नै पर्ने कृति हो।
********************************
सन्दर्भक्रम- भूमिका
- टिस्टा वा रंग-न्यियोको कथा
- लेप्चा दुनियाँमा
- पेशाक बाटो हुँदै
- नीलपहाडीको खोजी
- नीलपहाडी क्षेत्रको टोंगियामा
- वनभित्र अझै: टोंगिया एफडी होल्डिङ र येस्लु
- मोंगपु, सुरेल र सुरेलको चित्र
- न हन्यते: मैत्रेयी, मोंगपु, रवीन्द्रनाथ
- सिंकोना कथा
- पुरानो सैनिक सडक (ओल्ड मिलिटरी रोड)
- वनको बाटो हुँदै: महाल्डी नदी, सुक्ना-सेभोकको जंगल
- तराईको जंगलमा
- तराई-मोराङ: भूगोल र इतिहासको खोजी
- तराई-मोराङ, प्राकृतिक सौन्दर्य, मानिस, युद्ध-विग्रह
- तराई-मोराङमा साहेब-समय (ब्रिटिश काल)
- बदलिएको तराई वा सिलगढी-चरित्र
- तराई: प्राकृतिक सौन्दर्यको निर्माण, चित्र बनाउने र चित्र भत्काउने
- टुक्रा टुक्रा तराई: परिचित प्राकृतिक सौन्दर्यको खोजी
- पहाड चढ्ने, बस्ने: लोयड दार्जिलिङ र फ्रेड पिनको दार्जिलिङ पत्रहरू
- लोयड, सिक्किमका राजा र कम्पनीले दार्जिलिङ प्राप्त गरेको
- दार्जिलिङको स्थापना: लोयडको बिदाइ र क्याम्पबेलको उदय
- दार्जिलिङका चित्रहरू, चित्रहरूको दार्जिलिङ
- दार्जिलिङ-स्थापना: लोयडको चिठी र लोयडको बिदाइ
- दार्जिलिङ-स्थापनापछि
- दार्जिलिङका कथाहरू—हुकर, क्याम्पबेल र पागल दिवान
- दार्जिलिङका धेरै कथाहरू
- दार्जिलिङका कथाहरू (सामान्य)
- दार्जिलिङमा बाघाजतिन र क्रान्तिकारी दल
- साहेबहरूको जातीय भेदभाव, शत्रु-मित्र र कटापहाडको कथा
- दार्जिलिङ र यसको चियाको कथा
- प्लान्टर साहेब, हेरिटेज बङ्गला र दार्जिलिङमा चिया व्यवसायको आदिकाल
- दार्जिलिङ र चीन: चियाको विविधता
- चीन, जापान, हल्यान्ड, ब्रिटेन, चियाका धेरै कथाहरू
- चियाको कथा, श्रम र प्रकृति-निर्माण
- चिया र श्रमको कथा
- चियाको कथा, विभिन्न प्रकारका श्रम र राष्ट्र निर्माण
- चिया-श्रम, भूगोल, प्रकृति
- दार्जिलिङ: अन्तिम कुरा
[ किस्ति 1 ]
भूमिका
त्यस्तै गर्न खोज्दा समयकै गाँठो आइपरेको छ। र आइपरेकै कारणले जोगिएर जाउँ भन्ने उपाय छैन। त्यो महामन्त्र छ नि-- समय भनेको रूपियाँ हो। आफ्नो समय र अरुको समय भन्ने कुनै कुरो छैन। सबै समय नै रुपियाँ हो। समयसित समय बढ्छ, रुपियाँले बढ्छ रुपियाँ, त्यसैले अघि बढौँ हौ साथीहरू, र अघि बढौँ रुपियाँ पनि। केहि रोक्नु हुँदैन, रोकिनु हुँदैन केहिपनि। कामकाज नगरी ओछ्यानमा भुस निदाइरहने मोराहरू पक्कै पनि विध्वंसक हुन्।
अहिलेको घरीमा अब्लोमोभोभजस्तो कोही भए त्यसलाई सिधै गोली हानिन्थ्यो होला। भनिराखौँ, १९औँ शताब्दीको एक प्रसिद्ध रूसी उपन्यासको मूख्य पात्र हो अब्लोमोभोभ। गोन्चारोभद्वारा लेखिएको त्यो उपन्यासभरी अब्लोमोभोभ केवल सुत्छ र सुत्छ मात्रै। केही गर्दैन, बाहिर निस्कँदैन, यहासम्मकि ओछ्यानबाट त्यति उठ्दैन पनि। ब्यूँझिँदा सोच्छ कति काम बाँकी छ, होस् हौ, भोलि गर्छु। त्यो भोलि, हाय, आउँदै आउँदैन। अब्लोमोभोभको एकजना नोकर थियो, मालिकलाई देखेर ऊ पनि सुत्ने। अब्लोमोभोभसँग धेरै जगाजमिन थियो, मानिस त राम्रो र दयालु नै, तर त्यही हो, निद्रा। ठ्याक्कै अब्लोमोभोभको जस्तो त होइन, तर यस देशको जमिन्दार वर्गको बारेमा सोच्नुहोस् त। जमिनबाट करको रकम आउँछ, त्यसले भरमार फुर्ति-- गाडी, बाइजी, रक्सी र निद्रा। गहिरो भुस निद्रा। तर जगाजमिन र भूसम्पत्ति नभएको भए यस्तो समयहीन निद्रा कहाँ सम्भव हुन्थ्यो र।
सेवानिवृत्त भइसकेका वृद्धहरूलाई (जसमा वर्तमान लेखक पनि छन्) समयको बारेमा सोच्नका लागि प्रशस्त समय हुन्छ। त्यो समय अर्कैखाले हो। त्यसको लेखाजोखा हुँदैन, हुन सक्दैन पनि, तर बर्फकठिन शून्यता झैँ तीब्र चिसोले यसले सधैँ चराचरलाई ढाकेर राख्छ, यसको प्वाँख, भुत्ला, रेणुहरू उडी आएर नाकमुख बुच्चाई दिन्छ। त्यो समयले केवल पछाडि तान्छ। वा हुनसक्छ जसलाई पछाडि भनी सोचिएको छ, त्यो वास्तवमा अगाडि हो। वा पटक्कै त्यो होइन, अगाडि र पछाडि भन्ने केही छैन, सबै नै साबुनजस्तै चिप्लो तेल-चुपिचिल्लो एउटा बटुकाको माथिल्लो भाग जस्तै हो-- जति नै हात-खुट्टा चलाउदै लडीबडी हिँड्ने कोशिस गरे पनि एकै ठाउँमा बसिरहनुपर्छ। हुनसक्छ त्यही एउटै ठाउँभित्र धेरै ठाउँहरू छन्, असङ्ख्य अनगिन्ती रंगचित्रकुराशब्द, नदीपहाडमरुभूमिसागर सबै जीवित छन्, भाग्यमा छ भने देख्न सकिन्छ, जसरी देखेका थिए बोर्हेसको आलिफ कथाका दुईजना पात्रहरूले। वा हुनसक्छ एउटा समयभित्र अन्य धेरै समयहरू पानीमा पौडी खेलेझैँ बाँचिरहेका छन्। फिलिप पुलम्यानको कथाको किशोर नायक विल-को जादुई छुरीले शून्यको भित्तामा दैलो काट्दै झैँ मनपरी एक समयबाट अर्को समयमा, एक संसारबाट अरु धेरै संसारहरूमा सार्न सकिन्छ। वा, एइच जी वेल्सले लेखेझैँ, कुनै दिन अचानक भित्तामा फेला परेको एउटा खाडल, एउटा दैलो, जसको पारीपट्टी अजम्बरी सुन्दरताको झरना बगिरहेको छ।
घरबाट बाहिर निस्कनु नै त्यति पाइँदैन। बाहिर भन्नाले के र बुझ्छ त? जुन मफस्वल सहरमा जन्मदेखि छु, चिसो र शान्त रूखहरूले ढाकेका ती घाँसले भरिएको मैदान र सानसाना घरहरूको ठाउँ भने आँखा अगाडि नै धडाधड फेरियो, केही पनि चिन्ने उपाय छैन। यो सबै नै समयको कुरा हो। सबै मिलेर यतिधेर साधक रामकृष्णका बाणीहरू (अर्थात, रूपियाँ माटो हो, माटो रूपियाँ) याद गरेका छन् कि पुराना घरवारवास्तु, मैदानखोलागाछ केही पनि जिउँदो रहेनन्, जता हेरे पनि केवल जिउमा जिउ टाँसिएका कुरूप बाकसझैँ घर, होटल, दोकान, मल। सहरबाहिर केही रुखपातजङ्गल र हिमाल पहाड चैँ अझै छन्, तर जे छ र जे छैन सबलाई नै समयले खेदो गरिरहेको छ। रूपियाँको समय हो, रुपियाँले रुपियाँ बढाउने समय हो। बाहिर निस्किनु भनेको त्यही समयभित्र प्रवेश गर्नु हो, त्यसलाई स्वीकार्नु हो, स्वीकार गर्न सिक्नु हो। धेरै किसिमका समयका कुराहरू जबरजस्ती बजारेर तेर्साइएका छन्, जे देखिँदैछ त्यही सही ठानिन्छ, छ भनेरै त्यो सही हो। बाँकी फिजुल बहानाबाजी हो, पछाडि हिँड्नु, पछाडि परिरहनु, बिथ्थाको नोस्टाल्जिया, विगत लिएर रमाउनु मात्र हो। समय दौडन्छ मात्र, रोकिँदैन, देखेर पनि देख्दैन, सोच्दैन पनि।
यस लेखलाई चाहिँ एउटा फाल्तु बयान, अर्थात्, एक काम-नलाग्ने बूढोको बित्थाको अतीत-निचोड्नु भनेर मान्न सकिन्छ। मानेपछि, सम्भावित पाठक, तपाईँको दगुर्नमा सिपालु औँलाहरूले स्क्रिन फेर्दै अन्य उत्तेजनाको दिशामा दौडन सक्छ, दौडन्छ नै होला। भयो भने केही गर्नै छैन, नियति केन वाध्यते वा सबै समयको प्रहार हो। ल त्यो होस्। दिन सकिन लागेका छन्, अब भने समयभ्रमणको बृत्तान्त चैँ भनिहाल्नु पर्छ, कसैले सुनोस् वा नाई।
समयलाई त्यसरी हेर्यो भने धेरै समयभित्र अझै पनि पस्न सकिन्छ, जसरी पुरानो घर बाँचिरहन्छ, त्यसको भित्तामा, पुराना रूखहरूमा र आदिम ढुङ्गाहरूमा नयाँ लेउहरू बेरिन्छ, मरिसकेको मैदानमाथि रहस्यमय कालो सारस जस्तै जिउँदो बादल झरेर आउँछ, फेदसम्म काटिसकेको सालको जङ्गल छोपेर बनमारा झ्याङको अभेद्य जटाजाल बढ्न थाल्छ। अहिले त्यस्ता थोकहरू केही पनि छैन, हुने कुरा पनि थिएन। तर पनि हाम्रो पुरानो घरको हरियो दैलोलाई किन घरी घरी सम्झन्छौँ सधैँ? दैलो खोल्ने साथ एक टुक्रा घाँसे आँगन थियो, चिरेको बाँसको बारले घेरिएको। पल्लो घरमा बस्नेहरू घर छोडेर गए, पछाडिको आँगनभरि रह्यो सयपत्री दोपाटी गोदावरीको झाडी, र एउटा अचम्मको अज्ञात लहरो, जसका हाँगाहरूमा चम्किलो नीलो फूल फुल्थ्यो। एकजना साथीले त्यो लहरो उठाएर लग्यो, मैले पाइन। के त्यो लहरा अब चाहिँ त्यहाँ छैन? त्यो घर, जसको दुवै तिर फुल्दै गरेको राता कृष्णचुडा थियो, त्यो पनि छैन? हाम्रा छरछिमेक, जसको हरेक भित्तामा र घरमा साट्ठी-सत्तरीको दसकमा तेजी अँगेना जस्तै क्रान्ति भर्भराउँदै बल्थ्यो, त्यो छ कि छैन? यस्ता अनगिन्ती हुनु वा नहुनु, यो समय र त्यो समयको बारेमा सोच्दासोच्दै भ्रमण सुरु गरौँ। प्रकृतिबाट प्रकृति, स्मृतिबाट स्मृति, पुस्तकबाट पुस्तक, तस्विरबाट तस्विर, गीतबाट गीत, बाँध लगाउनभन्दा अघिल्लो क्षणसम्म जसरी बगिरहन्छ हरियो-निलो नदी, ढुङ्गाबाट ढुङ्गामा कलकल आवाजले उताउलो भई।
[ किस्ति 2 ]
टिस्टा वा रंग-न्यियोको कथा
टिस्टाको बारेमा सोच्दा दोस्रो जुन कुरा मनमा आउँछ, त्यो हो सन् '६८को बाढी। त्यसबेला चाडको बिदा चलिरहेको थियो। हामी गएका थियौँ धेरै टाढा-- चुनारमा। चट्टाने पहाडको टुप्पोमा एउटा सानो घर भाडा लिएर बसेका थियौँ। त्यसताक यस्तैखाले घुमघाम हुन्थ्यो। त्यत्रो टाढाबाट यता के भइरहेको छ भन्ने खबर पाउन सकिँदैनथ्यो। तर पहाड-छुइने उत्तर बङ्गाल बाढीले ध्वस्त हुँदैछ, पहाड पहिरोले धस्किरहेको छ, बाँध भत्केर सहरमा पानी भित्रिएको छ, जम्मै जलपाईगुडी सहर पानीमा डुबेको छ भन्ने समाचार पत्रपत्रिका वा रेडियोबाट थाहा भयो। हामी हस्याङफस्याङ गर्दै फर्कियौँ। यताउति रेलको लिक चुडेको, पानीमा डुबेको थियो। फर्केर यता आएपछि विनाश, सङ्कट र साहसका कैयौँ कथाहरू सुनियो। टिस्टाबजारमा टिस्टामाथि जुन पुरानो पुल थियो, बङ्गालका गोरा गभर्नर जोन एन्डरसनको नामबाट जसको नामाकरण एन्डरसन ब्रिज भएको थियो, त्यसलाई उथलपुथल बाढीले बगाएको छ। र कत्ति ठाउँमा अझै कति सानातिना पुलहरू बगेका छन्, त्यसको ठेगान छैन। धेरै ठाउँमा दुवैतर्फका पहाड धस्किएर खोलामा झरेको छ। पहाडे भेक छोड्दै सेभोकमा खोला समतलमा ओर्लिन्छ, त्यहाँदेखि जलपाईगुडी, मैनागुडी, दोमोहनीसम्मको जति पनि जनपद छन्, टिस्टाले ती सबलाई बगायो। दोमोहनी भन्ने ठाउँ धेरै पुरानो हो, ब्रिटिस पालाको रेलवे कम्पनीको जग, इँटाका पुराना घरहरू अहिले पनि देख्न सकिन्छ त्यहाँ। दोमोहनीमा बस्नेहरू सबैजना मानिस होइनन्, उनीहरुको जिउबाट शंकास्पद गन्ध आउँछ भन्ने गजब भूतकथा बङ्गला साहित्यमा शीर्षेन्दु मुखोपाध्यायले लेखेकै छन्! त्यही पुरानो दोमोहनी पूरै डुबेको थियो रे—त्यसभित्र डलफिनझैँ माछाहरू पौडी खेलिरहेका थिए रे। सन् १९६९को सुरुतिर जलपाईगुडी जाँदा घरहरूका बाहिरी भित्तामा कमुलोमाटो जमिरहेको देखेको थिएँ, सहरका बासिन्दाहरूको मनबाट टिस्टाको डर अझै सुकेको थिएन। बाँध कसरी फुट्यो र बौलिएको पानी कसरी एकैछिनमा धाउँदै आयो भनेर सबैले भनिरहेका थिए। टिस्टा त भयो भयो, यहासम्मकि करला जस्ता निहत्या शान्त खोला पनि कसरी सनकी भएको थियो। भित्तामा जमेको माटोको दाग धेरै दिनसम्म कोरिएकै थियो।
अठसट्ठी अघि थियो पचास सालको बाढी र भुइँचालो। बाबा त्यसबेलादेखि कि त अघिदेखि नै यस क्षेत्रका बासिन्दा हुनुहुन्थ्यो, म उहाँबाट कालिम्पोङ जाने सानो रेलको कथा सुन्ने गर्थे। त्यो रेलको लिक सिलगढीदेखि गेलखोलासम्म झन्डै टिस्टाको पानी छोएर गुडिन्थ्यो रे। रियाङ थियो गेलखोलाको अघिल्लो स्टेशन। मङ्पु जानलाई त्यहाँ ओर्लनुपर्थ्यो। रवीन्द्रनाथ ठाकुर आफैँले पनि रियाङ स्टेशनमा कैयौँपल्ट ओर्लिए, त्यो कथा मैत्रेयी देवीको लेखमा पाइन्छ। दोस्रो विश्वयुद्ध सुरु भएको केही समयपछि एउटी विदेशी महिला आफ्ना छोराछोरी लिएर रियाङसम्म आएकी थिइन्। त्यताबाट टिस्टा भ्याली रोड हुँदै उनीहरू रङ्गली रङ्गलिअट चिया बगानमा पुगेका थिए। त्यही बिर्सिएको विदेशी नारी रुमर गोडेनले बगानको बङ्गलोमा एकान्तवास बिताएको एक वर्षको अद्भुत नक्साजस्तै विवरण लेखेर गइन्। अहिले बिर्सिइए तापनि, एक समय उनको धेर प्रतिष्ठा थियो-- उनको ‘नदी’ उपन्यास लिएर फ्रेन्च निर्देशक रेनोयाँले फिल्म बनाए, र अर्को अनौठो सिर्जना 'ब्ल्याक नार्सिसस' लिएर ब्रिटिश फिल्मनिर्देशक माइकल पावेलले फिल्म बनाएका थिए। 'नदी' फिल्मसँग बङ्गालको प्रख्यात चलचित्र व्यक्तित्वहरू जोडिएका थिए। कलकत्ता सिने सोसाइटीबाट प्रकाशित हुने उत्कृष्ट पत्रिका-- 'चलचित्र', जसमा सत्यजित राय, चिदानन्द दासगुप्त, हरिसाधन दासगुप्त आदि आबद्ध थिए, त्यसमा यस फिल्मको बारेमा विस्तृत समाचार आएको थियो।
टिस्टा र त्यसको वरपरका पहाड जङ्गल चिया बगान लिएर रुमरको त्यो छोटो लेख हालै ‘रङ्गली रङ्गलिअट’ नामले पुनः प्रकाशित भएको छ। यस्तो किताब अपर्झट हात पर्दा औधी खुसी लाग्छ। विशेषगरी टिस्टाको बारेमा रुमरको जुन वर्णन, त्यो बेजोड नै छ। मलाई त पढेर लाग्यो, अररे! ऋतु ऋतुमा टिस्टाको पानीले रंग फेरिएको जुन कुरा रुमरले भनेकी छन्, त्यो त म कति पल्ट देखेको छु। वर्खायाममा, खैरो हिलोसरी प्रवाहको गर्जनले छातीभित्र चिसो डर पैदा गराउँछ; पुराना ढुङ्गाहरूको खाडलहरूमा जुन भँवरहरूले फन्को मार्दै भन्छन्-- खबरदार! ठन्डा महीनामा त्यही खोला कति शान्त हुन्छ। मित्र जस्तै। हरियो सङ्गलो पानीमुनि ढुङ्गाहरू स्पष्ट देखिन्छ, लाग्छ चाँदीझैँ सेतो खोलाबगरको बालुवामा ढल्किँदा हुने। जाडो जति बितेर जान्छ, खोलाको रंग बदलिन्छ, हरियोदेखि नीलोको छाट देखिन्छ, र धारा साँघुरो हुँदै जान्छ। जुन अनगन्ती उपनदी, खोल्चा र झर्नाहरू टाढा पहाडबाट वर्षाको भारी टिस्टामा आएर हाल्छन्, गर्मीमा ती सब पानीहीन हुन्छन्। बर्खा आउँदा फेरि जाग्छन्, र टिस्टाले पनि रूप फेरिन्छ।
अब लाग्छ कि यी कुराहरू धेरै पहिलेका अर्कै समयको हुन। ठक्कर खाँदै, ढलपल हुँदै अझै पनि ऋतु फेरिन्छ, बर्खा शरद हिउद ग्रीष्म आउँछन्। पानीको रङ सायद अझै पनि फेरिन्छ। तर त्यो खोला नै त छैन। सिक्किमको अग्लो चुचुरोले घेरिएका हिमनदीबाट झर्दै टिस्टाको गहिरो खाडल सेभोक पुगेर समतलमा झर्छ। विगत २०-२५ वर्षमा त्यसमाथि कम्तीमा पनि पाँचवटा बाँध हालिएका छन्। अझैँ धेरै बनिने कुरा छ। नदीको दुवै किनारमा पहाड भत्काउदै विशाल पहेंलो मेसिनहरू दिनरात चल्दै छन्। बाँध, नयाँ सडक, रेलमार्ग। जङ्गलले ढाकिएका पहाडी भिरालो र पहाडका टुप्पोहरू खाली हुँदै जाँदै छन्। वन नभएकाले धेरै पहिरो जान्छ, जहिल्येत्यहिले। झरनाका मुहानहरू पुरिँदै छन्। हिउँ पग्लिएको पानी, जसले टिस्टाको मुल प्रवाहलाई पुष्टि दिन्थ्यो, त्यो अहिले बाँधिएको छ, टुक्रा-टुक्रा पारिएको छ, साना-साना खोला बनेको छ। बाँध बनाउँदा पुरानो नदी मर्दछ। बाँध बनिएपछिको कमजोर र दुःखी धारा अर्कै नदी हो, त्यसको चरित्र र स्वरूप कुनै पनि पहिलेको जस्तो रहेन। टिस्टाको किनारै किनार हिँड्दाहिँड्दै भूगर्भविद् देबाशिस चट्टोपाध्यायले नदीको चरित्र बुझाउनुभएको थियो। कालिम्पोङ जाने बाटोमा सेभोकदेखि टिस्टाबजारभित्र बनिसकेका दुईवटा बाँधमध्ये पहिलो, पुरानो रियाङ स्टेशन नजिकै टिस्टाभ्याली रोडको ठीक तल २७ माइलको बाँधको काम त्यतिबेला सुरु भइसकेको थियो। दोस्रो, अर्थात् कालिझोराको बाँध रोक्न प्रयास भइरहेको थियो। तर सकिएन। सरकार, ठेकेदार, 'विकासकामी' 'वामपन्थी' भनौदाहरू र स्थानीय फिरौतेखोर पहाडे दादाहरूको मिलिभगतमा जुन विस्फोटक शक्ति बन्यो, नदी र नदीपन्थीहरू त्यसको तुलनामा नगण्य थिए। मनपरी एउटा नदीलाई भत्काएर दस वटा नदी बनाउन सक्छन् उनीहरूले। त्यसमा कसले बाधा हाल्ने हिम्मत गर्छ र?
कालीझोराको बाँध पार गरेपछि चिल्लो पहाड उक्लिँदै पोन्बु गाउँ पुग्न सकिन्छ। पहिले त्यहाँ जान सेभोकको प्रसिद्ध बाघपुल वा कोरोनेसन ब्रिज हुँदै खोला पार गरेर, बाक्लो जङ्गलको बीचबाट साँघुरो गोरेटो हिँड्नुपर्थ्यो। पोन्बुसम्म जान सकिनँ, तर त्यो बाटोमा केही पर पुगेर पूर्बिखोला नदीको सानो तर मनमोहक सुन्दर उपत्यका छ, त्यहाँ गएको थिएँ। पहाडे नदी जस्तो हुन्छ, त्यस्तै सफा हरियो पानी, पानीमुनि सेतो-कालो-खैरो ढुङ्गा, कमुलो सेतो बालुवा। पहाडको टुप्पोमा रहेको पोन्बु गाउँबाट लेप्चाहरूको पुरानो बस्ती माकुम वा याम्माकुम गाउँ जान सकिन्छ। त्यहाँबाट काफेर। त्यो पनि लेप्चाहरूकै गाउँ हो।
टिस्टा र रेलीको बीचमा कालिम्पोङ पहाडको जुन भाग पर्छ, त्यहाँ अहिले धेर लेप्चाहरू बस्छन् र खेतीपाती गर्छन्। टिस्टाको पारीपट्टीको पहाडजङ्गल पनि एक समय उनीहरूकै थियो भन्ने कुरा यस पुस्ताले मात्र होइन, उनका पुर्खाहरूले पनि झन्डै बिर्सेिसकेका छन् क्यारे। अहिले जहाँ लेप्चाहरू बस्छन्, त्यो भूभाग भुटान देशको हिस्सा थियो। सन् १८६५ तिर, युद्ध युद्ध खेलेर अङ्ग्रेजहरूले त्यो क्षेत्र कब्जा गरे। भुटान पार गरेपछि तिब्बत, निषेधित रहस्यमय तिब्बत, सुन-रत्नको पुकार। कालिम्पोङमा स्थायी डेरा हाल्नु अङ्ग्रेजहरूको आवश्यकता परेको थियो। त्यस समयका धेरै सरकारी रिपोर्टहरूमा भुटान युद्ध र कालिम्पोङ डुवर्स विजयको विवरण छ।
अङ्ग्रेजहरूले टिस्टाको वारीबाट लेप्चाहरूलाई लखेटे। लेप्चाहरू जङ्गलमा बस्थे, पहाड-जङ्गलमा आगो लगाएर झूम खेती गर्थे, जस्तै भारतका विभिन्न क्षेत्रहरूमा अहिले पनि गरिन्छ। लेप्चाहरूले आगो लगाएर वन नष्ट गरिरहेका छन्, जसले गर्दा अङ्ग्रेज सरकारले काठ वा जग्गा बेचेर राजस्व पाइरहेको छैन भन्ने अङ्ग्रेज शासकलाई लागेको थियो। कालिम्पोङ पहाडको धेरजसो क्षेत्र त्यतिबेला पनि बिरानो र अगम्य थियो, त्यहाँबाट काठ ल्याउन वा त्यो जग्गामा राजस्व तिर्ने रैती बसाउन दुवै असम्भव जस्तै थियो होला। त्यसैले विस्थापित लेप्चाहरू लगभग बिना बाधा माथिल्लो पहाडमा गए। झूम खेती छोडेर चाँडै स्थायी खेतीमा अभ्यस्त भए, धेरैले ईसाई धर्म पनि अपनाए। रेली उपत्यकामा पछि अङ्ग्रेजहरूले नियम बनाएर लेप्चाहरूको जग्गा व्यवस्थापन गरे।
समयलाई यसरी खोतल्दै जाँदा, खन्दाखन्दै, यस्ता धेरै मरेका, बिर्सिएका, आधा-बिर्सिएका इतिहासका कथा र दन्त्यकथाहरू निस्कन्छन्। जुन रहँदैन, त्यो यसरी रहिरहन्छ, मर्दैन। गन्ध खोज्नुपर्छ। दबिएका वृत्तान्त, कुरा, कथा, नदी, पहाड, मानिस, वन, वनका गैर-मानव जीवजन्तुको वैभव। जस्तै टिस्टाको कथा। कालिम्पोङ र सिक्किमका धेरै लेप्चाहरूलाई अझै पनि टिस्टाको असली लेप्चा नाम, रोङ-न्यो याद छ। लेप्चाहरू आफूलाई रोङ भन्छन्, पूरा भन्दा मुतुन्ची-रोङ-ख्यूप। रोङ-न्यो अर्थात् टिस्टा पुरुष। उनकी स्वास्नी रोङ-न्यित अर्थात् रङगीत। टिस्टा र रङगीतको, अर्थात् रोङ-न्यो र रोङ-न्यितको विवाहको बारेमा लेप्चाहरूको एउटा प्रसिद्ध कथा छ।
[ किस्ति 3 ]
लेप्चा दुनियाँमा
टिस्टा, अर्थात् रोङ-न्योको कुरा भइरहेको थियो। टिस्टा लाइनको सानो रेलको रियाङ स्टेशन जहाँ थियो, त्यहाँबाट ठाडो ओरालो बाटो हुँदै तल पुग्दा जुन ठाउँमा पुगिन्थ्यो, त्यहाँ तीनवटा खोलाहरू आएर मिसेका छन्, रोङ-न्यो, रिलि वा रेलली र रियाङ। लेप्चा भाषामा रिलिको अर्थ फिँजसरी प्रवाह हो। कतै पढेको थिएँ, रियाङ वास्तवमा रि-यायङ हो, भन्नाले समय तोकेर समयमा आउनु। तीनवटा खोलाका तीनखाले फरक रङ, रूप र नक्सा छन्। रोङ-न्यो ठूलो छ, हरियो पानीभित्र विशाल ढुङ्गाहरू डुबेका छन्। रेलली तुलनामा सानो छ, तर रफ्तारमा बग्ने। टिस्टा बजारतिर, अर्थात् उत्तरतिर फर्केर उभिँदा दाहिनेतिरबाट रेलली आएर मिस्छ। र दक्षिणबाट रियाङ आउँछ। त्यसको नीलो-हरियो पानी, केवल वर्खाको समय बाहेक बाँकी समय साँघुरो र कमजोर प्रवाह हुन्छ, जुन हिँडेरै पार गर्न सकिन्छ।
यो जुन तीनवटा खोला मिल्ने कुरा गरिरहेको छु, अहिले त्यसलाई आफ्नै आँखाले हेर्न समयभित्र प्वाल पार्नुपर्छ। ठीक त्यही ठाउँमा लामो अग्लो बाँध (निकै लामो र चौडा बाँध—उभो दस किलोमिटर खोलाबगरभरि पानी जम्मा भइरहेको हुन्छ, तर यसैलाई होचो बाँध वा लो ड्याम भनिँदैछ) हालेर सरकारी कम्पनी एनएचपीसीले जलविद्युत उत्पादन गरिँदै छ। पहिले वारीबाट पारी जान एउटा पुरानो रोपवे वा घिर्लिङ प्रयोग गरिन्थ्यो, तारमा हल्लिँदै गरेको काठको फल्याकको पछाडि दुई-तीनवटा काठ तेर्सो पारेर लगाइएको हुन्थ्यो, त्यसमा अडेस लगाएर एउटा बेन्च हुन्थ्यो। त्यो बेन्चमा बस्दा अगाडि वा दायाँबायाँ बाक्लो पहाडी जङ्गल देखिन्थ्यो, तल गर्जिरहेको टिस्टा, केही बेर हेरेपछि रिंगाटा लाग्ने। जहाँ गएर रोप-वे सकिन्थ्यो, त्यहाँबाट केही पर जाँदा नाजेयक वनबस्ती। रेली उपत्यका हुँदै अझै माथि गए सामताहार, चारखोल, यहाँसम्म कि काफेर पनि पुगिन्थ्यो। तर जङ्गल चिथोरेर हिँड्नुपर्थ्यो। त्यही घिर्लिङ एकदिन स्वात्तै तल झर्यो। त्यसपछि खोलादेखि केही फुट माथि वारपार तारमा राखिएको हातले तान्ने बाकसले आरपार गरिन्थ्यो, त्यो पनि घिर्लिङ नै हो। एकजना साथीलाई एडभेन्चरहरू गर्न मन पर्थ्यो, उनी हरेक साल होलीको समयमा विशाल टोली लिएर रोप-वे वा घिर्लिङ चढेर नदी तरेर उता पुग्थ्यो, चारखोल (खोलाको माथिल्लो भागमा वन विभागले कोइला बनाउँथ्यो—त्यही भएर नदीको नाम चारखोल भएको थियो) खोलाको बालुवा र ढुङ्गासरी उपत्यकामा टेन्ट टाँग्थ्यो। त्यहाँबाट अझै माथि, जङ्गलको अझ भित्र जान्थ्यो। त्यो साथीको खास नाम थियो शेखर, उसलाई धेरै मानिसहरूले धेरै नामले बोलाउँथे। अद्भुत साहसी मान्छे, त्यस्तै रमाइलो र गफिलो पनि। मान्छेलाई आपतविपतमा जीज्यान लगाएर सहयोग गर्थ्यो। पहाड चढ्ने शिक्षा उसले प्रथागतरूपमा लिएको थियो। पैदल हिँडेर, वा मोटरबाइक, साइकल, नौका चढेर कहाँ कहाँ पुग्थ्यो त्यसको ठेगान थिएन।
पुरानो रोप-वे चाहिँ भत्केर खस्यो। खोलाहरू बाँधमुनि दबिए। घिरलिङ पनि बन्द भयो— अहिले बाँधबाटै वारपार गरिन्छ। कुनै संकेत नै थिएन, शेखर एकदिन एकासी बित्यो। कसैलाई केही पनि नभनी, एकदिन दिनदहारे पौडी खेल्दाखेल्दै स्वस्थ र सबल मान्छे शेखरलाई गुमाउनु पर्यो—सोच्दा अचम्म लाग्छ।
बाँध बनाउने काम सुरु भएको एक वर्षभित्रै खोलाछेउको पहाडको पाखा पुरै धस्ने अवस्थामा पुग्यो— त्यसलाई कङ्क्रिटको तीन तहको प्लास्टरले त्यसबेलादेखि रोकेर राखिएको छ। भिरालो पाखाको माथिल्लो भागमा सिलिगुडी-कालिम्पोङ-गान्तोक जाने पुरानो बाटो छ, अङ्ग्रेजहरूले त्यसलाई टिस्टा भ्याली रोड भन्थे। त्यो बाटो र यस्ता अन्य बाटोहरूमा माइलखुट्टी अनुसार ठाउँहरूको नाम हुन्थ्यो। सिलिगुडी पार गरेर दस माइल बाटो गइयो, र दस माइल भन्ने ठाउँ आयो। बीस माइल गइए बीस माइल। बाँध जहाँ परेको छ त्यो सत्ताइस माइल हो। त्यो सत्ताइस माइलबाट एउटा साँघुरो बाटो नाकठोकिने उकालो चढेर पहाडमाथि पुग्छ। अङ्ग्रेजहरूले त्यो बाटोको नाम पनि टिस्टा भ्याली रोड राखेका थिए। त्यो बाटो भई केही पर गएपछि धेरै सुन्दर र शान्त चिया बगानहरू छन्-- गेइल, टिस्टा भ्याली, रङली रङलियोट। यहाँ पहाड त्यति ठाडो छैन, दायाँबायाँ फैलिएको छ, टाढाबाट हेर्दा विशाल ईगलले पखेटा फैलाएर सुतिरहेको जस्तो देख्छ। हाम्रा यी पहाडहरूमा उपत्यका वा भ्याली भन्नाले जे बुझिन्छ त्यस्तो ठाउँ धेरै कम छ, धेरैजसो ठाउँमा नदीहरू गहिरो पहाडे खोँचबाट बग्छ। टिस्टाको त कुरै नगरौँ— केवल सिङताम वा रङ्पो नजिक पुगेपछि नदी केही फराकिलो समतल ठाउँबाट बगिरहेको छ, त्यसअघिसम्म पहाडी खोँच छ, र जति माथि गयो, नदी त्यति तल पुग्छ। मङ्गन पार गरेपछि सिङ्घिक आउँछ, त्यहाँ नदीको भिड लगभग हजार मिटर अर्थात् तीन हजार फिट गहिरो छ। मङ्गन, सिङ्घिक, उता डिक्छु-- यी सबै सिक्किममा पर्छन्, लेप्चाहरूको खास बसोबास भएको ठाउँ। टिस्टा भ्याली रोडको कुरा भइरहेको थियो, त्यो पनि पुरानो लेप्चा क्षेत्र हो। रङली रङलियोट भन्ने जुन चिया बगान र ठाउँ छ, जहाँ अहिले लेप्चाहरू छैनन्, त्यससँग लेप्चा लोककथा र लोकस्मृति जोडिएको छ। त्यो भन्नुपर्दा रोङ-न्यो र रोङ-न्यितको, अर्थात् टिस्टा र रोङगीतको प्राचीन कथा भन्नैपर्छ।
यो कथा चाहिँ पहाडे जङ्गल र खोलाहरू जस्तै पुरानो हो, लेउ र मसले ढाकिएको भिजेको कथा झैँ। तर कथा भने प्रेमको हो। टिस्टा अर्थात् रोङ-न्यो पुरुष हो। रोङ-न्यित अर्थात् रोङगीत नारी। धेरै धेरै युग पहिले टिस्टा हिमालय पर्वतको शिखरमा बस्थ्यो। उसले रोङगीतसँग विवाह गर्न तल झर्न राजी भयो। यता रोङगीत पनि हिमालयको बासिन्दा थिई, त्यसैले उसलाई पनि तल झर्नुपर्ने भयो। दुवैजना दोभान भन्ने ठाउँमा भेट्ने सहमति भयो। दुवैजना अग्लो पहाडमा बस्ने, तल्लो बाटोघाटो चिन्दैनथे। पारिल पातोङ नामको एक समुद्री सर्प रोङ-न्यितलाई बाटो देखाउँदै आयो। सर्प भएर के भो, उसको बुद्धि घुमाउरो थिएन, ऊ सोझै दोभानसम्म पुगिहाल्यो। अर्कोतिर, रोङ-न्यियोलाई बाटो देखाउँदै एउटा चकचके कोइली चरा आइरहेको थियो। बाटो देखाउनुभन्दा ऊ बरु यताउता कीरा-फट्याङ्ग्रा खोज्न व्यस्त थियो, यो बाटो त्यो बाटो हुँदै ऊ धेरै पछि आइपुग्यो। अब के भयो भने, रोङ-न्यित त पहिले नै पुगिसकेकी थियो। पुगेर हेर्दा कोही थिएन। गल्ती भयो भनेर ऊ अझै अगाडि गई। रोङ-न्यियो पुरुष हो, उसको रिस धेरै थियो। ढिलो आएर पनि जब उसले कसैलाई पर्खिरहेको देखेन, रिसले गर्जिंदै उसले भन्यो, पुरुष भएर पनि जब म पहिले आउन सकिनँ, अब जाँदै जान्नँ, म फर्किन्छु। यो भनेर ऊ पछाडि फर्कने बाटो लाग्यो। बस, उथलपुथल मच्चियो। फुलेर बढेर त्यसले चारैतिरको पहाड जङ्गल सबैथोक डुबाइदियो। त्यो महाप्रलयको कथा आजसम्म लेप्चाहरूको मनमा छ। यता रङली रङलियोट, उता पेशक रोडको तीन माइलबाट सोझै रोङनु नदी हुँदै तल झर्दा रङ्गारुन चिया बगान पर्छ। पानी त्यहाँसम्म पुगेको थियो। (रङली रङलियोट नामको एउटा व्याख्या यो पनि हो-- 'यहीसम्म, अझै होइन')। रोङ-न्यियोको रिस, बाढी, यी सब सुनेर रोङ-न्यितलाई धेरै दुःख लागी, उसले रोङ-न्यियोलाई भनी, तिमी यस्तो नगर, म फर्कँदैछु। पुरुषहरूलाई पनि गल्ती हुन्छ। यसपटक मलाई माफ गर, अबदेखि बरु मेरो काँधमाथिबाट तिमी बाटो काट्नु। लेप्चाहरूलाई अझै थाहा छ, तिनीहरूले अरूलाई देखाउँछन्, कसरी दुई नदीको सङ्गममा रोङ-न्यितको नीलो रङलाई ढाकेर रोङ-न्यियोको गाढा रङ बगिरहेको छ। हेर, त्यो हो रोङ-न्यित, जुन नदी सिधै बग्छ। र त्यो हो रोङ-न्यियो, जुन खोला नागबेली घुम्दै फिर्दै आउँछ।
पेशक रोड हुँदै जुन गाडीहरू कतारौँ कतार घँ घँ गर्दै उकालो लाग्छन्, उक्लिएर दार्जिलिङ वा अन्य ठाउँ जान्छन्, त्यसबाट पर्यटकहरू अझै पनि प्लास्टिक फ्याकिएको धुलोसरी सिमेन्टको चौतारामा उभिएर मोमो र चिप्स खाँदै तलतिर हेर्छन्, कसरी रङगीत आएर टिस्टामा मिसिरहेको छ। छेउमा उभिएका नेपाली ड्राइभर-गाइड वा मोमो पसलेहरू भन्छन्, औलाउँदै, त्यो लभर्स मिट हो, एक दुजे के लिए, दो प्रेमी मिल रहा। त्यो ठाउँको नयाँ नेपाली नाम त्रिवेणी भएको छ। किन, कसलाई थाहा। त्यहाँ सुबास घिसिङको शासनकालमा एउटा बाकस जस्तो होटल बनेको थियो। त्रिवेणी हुँदै एउटा नयाँ बाँध बन्ने कुरा छ। जुन ठाउँबाट लभर्स मिट हेर्नुपर्छ, त्यसको वरिपरि सागौनको जङ्गल छ। पुरानो तस्बिरहरूमा देखेको छु, गहिरो पहाडी जङ्गलभित्र कतै भर्याङ जोडिएको, कतै गोरेटो, साँघुरो पैदलमार्ग टिस्टासम्म ओर्लेको थियो। टिस्टामाथि बेतको झोलुङ्गे पुल थियो, पछि त्यो तारको भयो, अझै पछि सिमेन्टको। अठसठको बाढीमा बगेर गएपछि त्यहाँ बेली ब्रिज जस्तो एउटा मिलिटरी पुल धेरै वर्षसम्म थियो। अहिले त्यो पक्का भएको छ। त्यो पुल तरेर कालिम्पोङको उकालो चढ्दा नदीको पारीपट्टी पहाडभरि सागौन रूख मात्रै देखिन्छ। अरू रूख नै छैनन्। पेशोक शब्द पनि लेप्चा हो। मतलब हो वन-- बाक्लो वन। एल ए वाडेल र हुकर दुवैले त्यो वनको बाटो हिँडेका थिए, झोलुङ्गे पुलबाट नदी तरेका थिए। हुकर उन्नाइसौँ शताब्दीको चालीसको दशकमा, वाडेल अझ पछि। वाडेलको समयमा प्राचीन पहाडी वन लगभग नासिएको थियो। तर रङ्गारुन र टिस्टाको वन त्यतिबेलासम्म पनि थियो। बीसौं शताब्दीभरि जुन जङ्गल फँडानी भयो, त्यसमा पुरानो वन, लेप्चाहरूको पेशोक साफ भयो। त्यस ठाउँमा स्वदेशी-विदेशी अङ्ग्रेजहरूको, धेरै महँगो मूल्यको सागौन बगैंचा, पैसाको समयको पेशोक आयो। लेप्चा नाम छोपेर नयाँ नेपाली वा अङ्ग्रेजी वा संस्कृत वा बङ्गला नामहरू उम्रिए। पुराना मानिसहरू, उनीहरूको भाषा, गीत-कविता-संस्कृति नयाँ मान्छेहरूको भीडमा दबिए। पुरानो वन काटेर नयाँ वन हुनेछ, नदी काटेर दस टुक्रा हुनेछ, यसमा अचम्म के छ र! यस्तै हुन्छ! यस्तो हुनु नै चलन हो!
रोङ-न्यो र रोङ-न्यितको जुन कथा भनियो, त्यो बुभया-स्टक्सको लेप्चा लोककथा, गीत र पुराणा वृत्तान्तहरूको प्रसिद्ध सङ्ग्रहबाट लिइएको हो। बुभया-स्टक्सले यो कथा कालिम्पोङका डेभिड म्याकडोनाल्डबाट सुनेका थिए। डेभिड कालिम्पोङका ऐतिहासिक व्यक्तित्वहरूमध्ये एक थिए, उनका बाबा स्कटल्याण्डका थिए (कालिम्पोङमा युरोपेली बस्तीको सुरुवात स्कटिश मिसनबाट भएको थियो), आमा सायद लेप्चा थिइन्। कालिम्पोङ बजारबाट थोरै पर उनीहरूको जुन बसोबास थियो, पछि त्यहाँ प्रसिद्ध हिमालयन होटलको सुरुवात भयो। साहेबी कालिम्पोङ र कालिम्पोङ-सिक्किम-तिब्बतको इतिहाससँग जोडिएको यो होटलमा दुई-तीन पटक बस्दाको स्मृति अझै आलै छ। डेभिडका नातिहरूले त्यो होटल चलाउँथे भन्ने सुनिन्छ। आधा काठ र आधा इँटाको एउटा सुन्दर दुईतले घर, र लामो बरान्डा भएको। चारैतिर विभिन्न रूखहरूको, यहाँसम्म कि पहाडी बाँसको बुनोट थियो। अगाडिको भाग खुला थियो, त्यहाँबाट सफा दिनमा सिक्किम-दार्जिलिङका पहाडहरू देखिन्थे।
कालिम्पोङका अन्य दुई-तीनवटा पुराना डेरा जस्तै, हिमालयनको पनि एउटा आफ्नै सुस्त, झन्डै स्थिर भएको पहाडी समय थियो। काल वा रुपियाँको अचुक नियमले त्यो समय भत्कियो— पुरानो घरलाई छोपेर बगैंचाभरि तीव्र गतिमा नवनिर्माण सुरु भयो। सुनेको छु, अहिले पुरै क्षेत्र एउटा होटल कम्पनीको हातमा गएको छ। विज्ञापनको तस्बिर हेर्दा थाहा भयो, म्याकडोनाल्डहरूको घर समेत पुरैमा भद्दा गुलाबी रङ पोतिएको छ, जसलाई शकिङ पिङ्क भनिन्छ। रङको मै हुँ-ले पहिचान दिन्छ। कतै नीलो-सेतो, कतै रातो, कतै गेरुवा, कतै केवल सेतो। अरू रङहरू जल-अचल। यस्तै चलिरहेको छ। भरोसा यति मात्रै छ कि नयाँ रङमुनि पुरानो हराएको रङ पालिमप्सेस्ट भएर टिकिरहन्छ। जसलाई खोज्न आउँछ, उसले फेला पार्न सक्छ। खन, खोज, खन। वास्तवमा नभए कल्पनामा, जागा अवस्थामा नभए अर्ध-जागा सपनामा। रोकिनु चाहिँ भएन।
[ किस्ति 4 ]
पेशक पथ हुँदै
पेशक वा पाशोकको कुरा गर्दै थिएँ। पुरानो वनको ठाउँमा अहिले सागौनबगैंचा छ, अरू रूख एउटा पनि छैन। वर्षायाम बाहेक वर्षको बाँकी समय पेशकमा अचेल रङ पनि खासै देखिँदैन। वर्खाको पानी पाएपछि सागौनपातहरू जिउँदा हुन्छन्, तलको जमिनमा एक-दुईवटा घाँस उम्रन्छन्, केही जमिन छुने लहरा, केही साना रूख। पानी नभए सबै सुक्खा, फुस्रो, नाङ्गो हुन्छ। सागौनको रूखले जमिनबाट यति धेरै पानी तान्छ कि अन्य वनस्पति सागौनको बगैँचामा उम्रन सक्दैनन्।
पेशकको पहिलो उकालो सकिएपछि आउँछ पेशक चिया बगान, र गाउँ। त्यो ठाउँमा एउटा डाँडाको टुप्पोमा पेशकको पुरानो बङ्गला थियो। दार्जिलिङबाट कालिम्पोङ, सिक्किम, तिब्बत, जतातिर गए पनि, पेशक बङ्गला बिसाउनका लागि मनपर्ने ठाउँ थियो। फिक्का हरियो काठको त्यो पुरानो घर मैले पनि देखेको छु, सपना जस्तो लाग्छ त्यो। कि देखेको छुइन? कि आँखाले नदेखे पनि मनले देखेको छु क्यारे। कहाँ आँखाले देखेको सकिन्छ र मनले देखेको सुरु हुन्छ, कसले भन्न सक्छ र।
पेशकको वन वा बङ्गला केही पनि अहिले छैन। वन कुन समयमा काटियो काटियो, बङ्गला चाहिँ पहिलो गोर्खाल्याण्ड आन्दोलनको समयमा जलाइयो। तर म स्पष्ट देख्छु, डाँडाको टुप्पोमा पेशकको हरियो काठको बङ्गला, त्यसको अगाडिबाट घना जङ्गलको बीचबाट साँघुरो गोरेटो टिस्टा पुगेको छ। त्यो गोरेटोबाट एकपछि अर्को सामानले भरिएका खच्चडहरूको थाँति, भोटे-नेपाली-शेर्पा कुलीहरूको हुल, सामानको भारीले झुकेर हिँडिरहेका छन्। त्यसको पछाडि वा अगाडि घोडा चढेका अङ्ग्रेजहरूको टोलि, अभियात्री, राजपुरुष, सैनिक, पर्वतारोही। को छैन त्यहाँ? जोसेफ डाल्टन हुकर, जसले पहिलो पटक दार्जिलिङ र सिक्किमका वनस्पतिहरूको लामो सूची बनाएका थिए, एल ए वाडेल, जसले पैदलै सिक्किम र दार्जिलिङ हिमालयका लगभग सबै अग्ला पहाडहरू घुमेका थिए, लामावाद वा तिब्बती महायान बौद्ध धर्म लिएर प्रमाणिक पुस्तक लेखेका थिए, बारम्बार सम्झाई दिएका थिए यस क्षेत्रका पुराना मानिसहरू, रूखपात, वनजङ्गललाई बचाउने कुरा। त्यसपछि तोप र बन्दुक लिएर स्वयं फ्रान्सिस यङ हजब्यान्ड, जसले एसियाका सबै अग्ला पहाड र मरुभूमिझैँ पठारहरू पैदलै पार गरेका थिए, त्यसपछि सेनासहित दार्जिलिङबाट यात्रा सुरु गरेर टिस्टा तरेर कालिम्पोङ, जेलेप्ला, छुम्बी उपत्यका घुमेर सोझै ल्हासा पुगेका थिए, उद्दन्ड तिब्बतीहरूलाई शिक्षा दिन। त्यसअघि र पछि कति हो कति नाम, कति अनुहारहरू। कञ्चनजङ्घा अभियान, एभरेस्ट अभियान। एभरेस्टको ठीक तल मेघ र कुहिरोमा सधैँका लागि हराएका म्यालोरी-अरभिङ, दुर्गम कञ्चनजङ्घा नजिक पराजित भएर फर्केका फ्र्याङ्क स्माइथी, जसले पछि गढवाल हिमालयमा कामेट जित्नेछन्, फूलहरूको उपत्यका नन्दनकानन पत्ता लगाउनेछन्। अङ्ग्रेजहरूको पाइला पछ्याउँदै भारतीय पण्डित वा जासूसहरू, जस्तै तिब्बती भाषा र लामावादमा गहिरो ज्ञान भएका शरत चन्द्र दास, जो ल्हासासम्म पुगेर पनि, ज्यान बचाएर कुनै किसिमले तिब्बतबाट फर्के, अथवा किन्तूप लेप्चा, तिब्बतको पठारमा जसका एकपछि अर्को साहसिक एडभेन्चरका कारण अङ्ग्रेजहरूले तिब्बतको लगभग एउटा मानचित्र कोर्न सके।
पेशकबाट बाटो उकालै उकालो छ। चढ्दाखेरि दाहिनेतिरको भिर रङ्गीतमा ओर्लन्छ, देब्रेतिरको भिर टिस्टामा। चिया र दूध पकाएर बनाइएको सानो गोलो पेडाको लागि प्रसिद्ध लोप्चुको चिया बगान पार गरेर अझै उकालो चढेपछि एक समयको चकमन्न लामाहाटा आउँछ, जहाँ अहिले पर्यटनको बाढी आएको छ। त्यसैले सडक छेउका घरहरू ठूला र पक्का छन्, अग्ला सल्ला रूखका फेदहरू नीलो-सेतो छन्, फेदलाई बेर्ने सिमेन्टको वेदी छ, यताउति बच्चाहरू खेल्ने र ठूलाहरूले फोटो खिच्ने रङ्गीन स्लिप, बेन्च, इत्यादि छन्। सल्लाको वन र पहाडी पाखामा जम्मा हुन थाल्छ, थुप्रिन्छ चिप्स र बिस्कुटका प्याकेटहरू, लजेन्स र च्युइङ गमका खोलहरू, पानी र कोलाका बोतलहरू, थुप्रै हाफप्यान्ट लगाएका रौँसरी खुट्टाहरू, स्मार्टफोनमा सधैंका लागि ठप्प भएको पहाड, बादल, सल्लावनको बाइटदृश्य, ती आकाश-बतास-समुद्र पार गरेर टाढा क्यालिफोर्निया वा त्यस्तै कतै डेटा सेन्टरमा राखिएको 'क्लाउड'मा गएर जम्मा हुनेछन्। त्यो क्लाउडलाई बचाउन फेरि पहाडे वन काटेर, खनेर कोइला र तेल निकाल्नुपर्ने हुन्छ, खोलालाई बाँध्नुपर्ने हुन्छ। नत्र बिजुली बनिँदैन। बिजुली नबनिए मेसिन चल्दैन।
क्लाउडमा पठाइएको, जम्मा भएको, रङ्गीन नयाँ लामाहाटा बन्नुअघि पुरानो लामाहाटा साँच्चै बादलको देश थियो। त्यो बाटो हुँदै आउँदाजाँदा कति पटक देखेको छु सल्लाका रूखका खम्बाहरूमा बाक्लो सेतो बादल लहराइरहेको, यति धेर बाक्लो कि रूखको टुप्पो देखिँदैन। सल्लाको वनको छेउमा त्यो बादलको बगैंचामा लम्बाइमा झुण्ड्याइएका छन् रङ्गीन छोलुङ्-लुङ्दरका लहरहरू, रातो, नीलो, पहेंलो, हरियो, ती ध्वजाहरूमा लेखिएको छ ओम् मणिपद्मे हुम्। लामाहाटा भोटेहरूको पुरानो गाउँ हो। दार्जिलिङ क्षेत्रमा बसोबास गर्ने सिक्किम, तिब्बत, भुटानका लेप्चा वा गैर-नेपाली सबै आदि वासिन्दाहरूलाई भोटे वा भुटिया भन्ने चलन छ। दार्जिलिङका थोरै सङ्ख्याका भुटियाहरूका लागि अहिले कसको पुर्ख्यौली घर कहाँ थियो भनेर सम्झन पनि सम्भव छैन। लामाहाटा गाउँको तल्लो भागमा एउटा गुम्बा देखाउँदै त्यहाँका बासिन्दाहरू भन्छन् कम्तीमा चार सय वर्ष पुरानो हो। होला सायद। यो क्षेत्रको प्राचीनता छ भन्ने कुरा लामाहाटा पार गरेर केही पर गएपछि थाहा हुन्छ। दुवैतिर सल्लाको वन (वास्तवमा वन होइन बगैंचा, प्लान्टेसन् हो) जहाँ पातलो भएको छ त्यहाँ ठूलठूला हाँगाहरूमा धमिलो अँध्यारो बोकेका ठूला रूखहरू छन्-- ओक, म्याग्नोलिया, बर्च, म्यापल। शरीर उमेरको भारले झुकेको, खम्बामा टाँसिएका खैरो लाइकेन र नरम हरियो मस, हाँगाबाट झुण्डिएका मस/लाइकेनका झुण्डहरू, जसको भित्रबाट बेलाबेलामा चम्किलो रङका छिटाहरूमा रातो, सेतो-रातो, गुलाबी अर्किडहरू चम्किरहेका छन्। जोडबाङ्लोबाट पेशकको बाटोको धेरै भागमा, फेरि जोडबाङ्लोबाट सीमाना-मानेभञ्ज्याङ-सान्दाकफुको बाटोमा, समयहीन आदिम पर्वतीय वनको राज्य थियो। त्यो वनको कुरा हुकर र वाडेल दुवैले गरेका छन्।
उन्नीसौँ शताब्दीको अन्त्यमा, दार्जिलिङसम्म रेलमार्ग बनिसकेको थियो। पहाडको वन काटेर सहर बसेको थियो। त्यसैगरी राजस्व तिर्ने कृषि, चिया बगान पनि। बाँकी वन अङ्ग्रेज वन विभागको कब्जामा थियो। वन जलाएर नष्ट गर्छन् भनेर लेप्चा-भोटेहरूलाई लखेटिएको थियो। पहाडमा सल्ला र अन्य रूखहरू रोप्ने काम तीव्र गतिमा सुरु भयो। वनको काममा मजदुर आपूर्ति गर्ने मान्छेहरूको लागि नयाँ बस्तीहरू बन्दै थिए। र बीस-पच्चीस वर्षभित्रै ती बस्तीहरू वनबस्ती वा फरेस्ट भिलेजमा परिणत हुनेछन्। त्यतिबेला पनि पेशकको बाटोमा र त्यस वरपर फैलिएको रङ्गारुन वनको अवर्णनीय सुन्दरताले वाडेललाई चकित पारेको थियो। रङ्गारुन वन सकिएपछि पनि टाइगर हिलको ठाडो भिरालोमा सेञ्चलको आदिम वन जीवित थियो। पहाडका धेरै पुरानो बङ्गलाहरूसँगै त्यो वन पनि गोर्खाल्याण्ड आन्दोलनको सुरुतिरै नष्ट भयो। विपरीत दिशाको, अर्थात् सीमाना-सन्दाकफु बाटोको वन पनि धेरै समयसम्म टिक्यो। स्वतन्त्र देशको सरकारले—सायद राष्ट्रिय विकासको लागि वन काट्नु र धूपीको खेती एकदमै आवश्यक हो—यही विचारले त्यो वन नास गरेर जताततै धूपी रोप्यो। धूपी एक प्रकारको सल्ला हो, अन्य कोणधारी रूखहरू जस्तै, गाढा हरियो, समरूप, नयनमनोहर। त्यो रूखमा बादल लहराउँदा, अथवा बाक्ला वनमा छाया र घामले झिलिमिली जाली बनाएको देख्दा, आँखालाई शान्ति हुन्छ, ठिकै हो। तर पुरानो वन अझ सुन्दर, घना, रहस्यमय थियो। वसन्तमा त्यो वन गुराँस-चिमल-चापका बहुरङ्गी अलौकिक प्रकाशले भरिन्छ, गर्मी, वर्षा, शरद, हिउँदभरि पहाडको पाखाभरि पहाडी फूलहरूको झुप्पा, विभिन्न प्रकारका फर्नहरू फुलिरहन्छन्। त्यो वन जीवन्त, प्राणमय छ। रूखका जराहरूमा सधैं पानीको प्रवाह झैँ हुन्छ। धूपी वन तस्बिर जस्तो सजाइएको बगैंचा हो, हेर्दा राम्रो, तर त्यसमा प्राण छैन। सागौनको वन जस्तै त्यसले माटोको सबै पानी सोस्छ, माटो खुकुलो बनाएर पहाडको पाखालाई कमजोर बनाउँछ। पहाडका सबै बूढा मान्छेहरूको धूपी वन र सरकारी वन विभागका अङ्ग्रेजहरूमाथि रिस छन्। पुरानो वनको कुरा उनीहरूलाई याद छ, धूपी जङ्गललाई वन भनेर उनीहरू मान्दैनन्। उनीहरू मात्र किन? वन विभागका जुन अङ्ग्रेजहरूको रेखदेखमा पहाडी वनको विनाश भयो, उनीहरूमध्ये धेरैले पछि बुझेका थिए कि यो काम ठीक भएन। एकजनाले मलाई भनेका थिए, त्यो वन तिमीले देखेको छैनौ, देख्न पनि पाउने छैनौ। अहिले जे छ त्यो नक्कली हो, छाया हो। हिमालयको असली, आदिम वन हामीले नै शेष पारेका छौँ।
पेशकको बाटोमा पहिलो पटक कहिले गएको थिएँ याद छैन। सायद कलेज पढ्दा होला। तर त्यो बाटोको कुरा उहिलेदेखि थाहा थियो मलाई। बाबाबाट धेरै कथाहरू सुनेको थिएँ, त्यसपछि त्यो किताब पढेको। पढेको मात्र होइन, निलेकोझैँ पढेको थिएँ। पुरानो साहेबी घर, बङ्गलाहरू, पहाडको भिरमा चिया बगानहरू, बादल-कुहिरोले ढाकिएको पुरानो पहाडी वनको कथा भन्ने त्यो रमाइलो किताबको नाम 'झाउबङ्गलाको रहस्य' थियो। दार्जिलिङ र नीलपहाडको पृष्ठभूमिमा यो रहस्य रचेका थिए एक र अद्वितीय नारायण गंगोपाध्यायले। दार्जिलिङ त दार्जिलिङ नै हो, तर नीलपहाड कहाँ छ? पेशक रोड छोडेर घना जङ्गलको बीचबाट गएको एउटा साँघुरो बाटो, त्यसको दुवैतिर फर्नका झाडीहरू, रूख-ढेँकीको मेला (ट्री फर्नलाई बङ्गलामा गाछ-ढेँकी भनिन्छ, उपेन्द्रकिशोर रायचौधुरीले आफ्नो दार्जिलिङको पत्रमा भनेका थिए), फरगेट-मी-नट, हाइड्रान्जिया, अझैँ कति जङ्गली फूलहरू, झुण्ड परेका पुतलीहरूको समूह। बाटोको अन्त्यमा नीलो पहाड, त्यहाँ तस्बिर जस्तो झाउबङ्गला। म्याकेन्जी साहेबको घर, बेचेर उनी आफ्नो देश फर्किसकेका छन्। झाउ बङ्गलाको रहस्य पहिलो पटक सन्देश पत्रिकामा धारावाहिक रूपमा छापिएको थियो। मैले धेरै पछि, कोलकाताको राजबल्लभ पाडाको लक्ष्मी दत्त लेनको एउटा दुईतले घरको तल्लो तलामा बसेर पढेको थिएँ। त्यो किताब त्यसबेलादेखि साथी भयो, कति पटक पढेको छु हिसाब छैन। नारायण गंगोपाध्याय अझै दुई वर्षभित्र बित्नेछन्, संसार बदलिँदै बदलिँदै अन्ततः कहाँ पुग्छ कसैलाई थाहा छैन। झाउ बङ्गलाको रहस्य किताब छुट्टै छापिएको छ जस्तो लाग्दैन। राजबल्लभ पाडा र लक्ष्मी दत्त लेन अवश्य पनि छन् अझै। सायद नीलपहाड पनि छ, त्यससँगै त्यहाँको झाउबङ्गला पनि। छैन भने पनि, सोच्नमा के हानि छ? कम्तीमा खोजी त गर्न सकिन्छ। तर नीलपहाड फेला पार्ने कथा छुट्टै भन्नुपर्ने हुन्छ।
[ किस्ति 5 ]
नीलपाहाडीको खोजीमा
लामाहट्टाको सल्लाघारी छोडेर पेशक रोड हुँदै अघि बढ्दा दाहिनेतिरका धेरै बाटोहरू ठाडो ओरालो हुँदै निकै, निकै नै तल रङ्गु नदीतिर झरेका छन्। रङ्गुको असली नाम के थियो कसलाई थाहा? रोङन्यु वा रोङ-इय्यो नाम एक समय चलनमा थियो। दार्जिलिङ पहाड जब सिक्किम देशको हिस्सा थियो, त्यसको एउटा सीमा रङ्गु नदीको भिर थियो, चार माइल जस्तो लामो, चार हजार फिट गहिरो। रङ्गु वा रङ्गनु वा रोङ-इय्यो, जुन नदी ठाडो र सिधा जान्छ, गएर रोङ-न्यित वा रङ्गीतमा मिसिएको छ। यताबाट नआएर रङ्गुको पारीपट्टी दार्जिलिङको पहाड हुँदै पनि यस क्षेत्रमा झर्न सकिन्छ। दुवैतिरका पहाडी भिरमा धेरै चिया बगानहरू छन्, एकदम तल्लो र माथिल्लो भागहरूमा वन छ। अहिले गाडी जाने बाटो केही ठाउँमा बनेको छ, अवश्य पनि ती बाटाहरू साँघुरा छन्, र धेरजसो भत्केका हुन्छन्। रङ्गु नदीसम्म जान पैदलै हिँड्नुपर्छ।
यताबाट अर्थात् पेशक पथतिरबाट तकदा बगान र ग्लेनबर्न बगानसम्म गएको साँघुरो ओरालो बाटो हुँदै अगाडि जाँदा रङ्गु उपत्यका कति हदसम्म सुन्दर छ भन्ने कुरो छर्लङ्गै बुझिन्छ। बाटोको छेउमा धूपी बगैंचाको बीचबीचमा ओक-रडोडेन्ड्रन, फर्न, जुन ऋतुमा गए पनि, नाम नजानेका धेरै चम्किला वनफूलहरू, पहेंलो, रातो, गाढा रातो, सेतो, गुलाबी, नीलो, बैजनी। वनजङ्गल सकिएपछि जति टाढासम्म आँखा पुग्छ त्यहाँसम्मको पहाडी पाखा चिया बगानले ढाकेको छ, अझ तल थोप्ला जस्ता गाउँहरू छन्, र अझ पनि तल जङ्गलले ढाकेको खोला। देब्रेतिर माथि हेर्दा नीलो आकाशबाट ठाडो ओर्लिएको टाइगर हिलको हरियो पहाड देखिन्छ। दाहिनेतिर हेर्दा क्षितिजभरि कञ्चनजङ्घा, त्यसको दाहिने र देब्रेतिर हिमाल पाहाडहरूको लाम भुटान र पूर्वी नेपालसम्म फैलिएको छ। तर यो दृश्य भने वर्षभरिको होइन। अक्टोबरमा वर्षा सकिन्छ, त्यसपछि नोभेम्बर र डिसेम्बरको पहिलो दुई-तीन हप्ता पहाडभरि घाम लागिरहन्छ, अन्य हिमशिखर नदेखिए पनि, कञ्चनजङ्घा दिनभरि, राति पनि आँखाअगाडि हुन्छ, बिहान गुलाबी-रातो, दिउँसो आँखा तिर्मिराउने सेतो, साँझ गोधूलिमा फेरि रातो-गुलाबी, बेलुकीमा हल्का पहेंलो, छायामय। वर्षको अन्य समयहरूमा, पेशक पथबाट पारीपट्टीको दार्जिलिङ पहाडको गिरिशिर बादलले ढाकिन्छ वा धमिलो हुन्छ, कञ्चनजङ्घा विरलै देखिन्छ। वर्षायामको सुरुमा, मई-जुन महिनामा, र बर्खाको अन्त्यतिर, सेप्टेम्बरमा, सम्पूर्ण क्षेत्रबाट बादल उक्लिन्छ अनि ओर्लिन्छ, चारैतिर पखाल्दै पानी पर्छ कहिलेकाहीँ। अचानक बादल हटेर जान्छ, घाम लाग्छ चिया बगानको गाढा हरियोमा, गाउँका घरहरूको छानाको रातोमा, टाइगर हिलको टुप्पोबाट तलतिर आउँदै गरेको, र रङ्गुबाट माथितिर उठ्दै गरेको बादलको तीव्र सेतोमा।
रङ्गु उपत्यकामा पुग्ने अरू धेरै बाटोहरू छन्। पेशक पथ हुँदै जाँदा सडकको माथिल्लो छ माइल गाउँको अव्यवस्थित, बाक्लो बस्ती छ। छ माइलपछि फेरि वन। त्यसपछि तीन माइल। तीन माइलपछि गद्दीखान छ। साना ठूला गाउँहरू। यी सबै ठाउँहरूबाट सफा घाम लागेको दिनमा दार्जिलिङ पहाडको टुप्पोमा खुला कञ्चनजङ्घा देख्न सम्भव छ। तीन माइल गाउँबाट एउटा पुरानो साँघुरो बाटो रङ्गारुन वनको भग्नावशेष हुँदै रङ्गारुन चिया बगान भएर रङ्गु नदीतिर झरेको छ, र अर्को बाटो पैंतीसे पारमेन फारेस्ट बस्तीको छेउबाट दावाईपानी गाउँको भोटेबस्तीसम्म गएको छ। सबै बाटोहरू अझै शान्त छन्, आफ्नै तरिकाले सुन्दर छन्। अहिले हाम्रो गन्तव्य नीलपाहाडी हो। त्यो कहाँ छ?
मैले टिस्टा उपत्यकाको टिस्टा भ्याली रोडको कुरा गरेको छु। सिक्किमतिर फर्केर, नदी छोडेर, देब्रेतिरको पहाडमा यो बाटो हुँदै चढ्न सकिन्छ। कालिम्पोङ र सिक्किम आउजाउ गर्ने बाटोमा देब्रेतिरको साँघुरो बाटो देखिन्थ्यो। त्यसको सुरुमा पहेँलो रङ पोतिएको एउटा ढुङ्गाको फलकमा तीर चिन्ह दिएर लेखिएको हुन्थ्यो, टिस्टा भ्याली रोड। टिस्टा नदी छोडेर माथिल्लो पहाडतिर चढ्दैछु, तर बाटोको नाम टिस्टा भ्याली रोड, किन? त्यस अर्थमा त तल्लो ठूलो सडकको नाम नै टिस्टा भ्याली हुनुपर्ने हो। (एल एस एस ओ'म्याली र ए जे ड्यासद्वारा लिखित र सङ्कलित दार्जिलिङका दुईवटा पुरानो ग्याजेटियरहरू खोजेर हेर्दा, तल्लो ठूलो सडकलाई कम्तीमा १९४७ सम्म टिस्टा भ्याली रोड भनिन्थ्यो। सैनिक, युद्ध र राष्ट्रिय राजमार्ग आदिको दबदबाले त्यो नाम दबिएको हुनुपर्छ)। नाम धेरै प्रकारका हुन्छन्, फरक फरक हुन्छन्, पुरानो नाममा नयाँ नाम सधैँ थपिन्छ, यहाँसम्म कि नामको पनि नाम हुन्छ, एलिस इन वन्डरल्याण्ड पढ्नेहरू सबैलाई त्यो थाहा छ।
नामको कुरा, नामको इतिहासको कुरा, नामको नामाकरणको कुरा अहिले थाँतीमा राखौं। टिस्टा भ्याली रोड हुँदै धेरै माथि गएपछि रङली रङलियोट बगान भेटिन्छ, लेप्चा लोककथामा वर्णित इतिहास अनुसार, क्रुद्ध रोङ-न्योको पानी जहाँसम्म पुगेको थियो। यो लोककथाको दुईवटा फरक बयान छन्। मूल कहानी एउटै हो, दुई नदीको विवाह। डेभिड म्याकडोनाल्ड र बुभया-स्टक्सद्वारा सङ्कलित जुन कथा मैले भनेको छु, त्यसमा रोङ-न्यो अर्थात् टिस्टा पुरुष, ऊ रिसाएर पहाड-वन डुबाएर रङली रङलियोटसम्म पुगेको थियो। अर्को बयान भने रिसले साहेबको प्रसिद्ध सिक्किम ग्याजेटियरमा छ, त्यसअघि आएको थियो वाडेलको लेखाइमा पनि। त्यो बयान अनुसार, रोङ-न्यो पुरुष होइन केटी हो, अर्कोतिर रोङ-न्यित अर्थात् रङ्गीत पुरुष हो, ऊ नै धेरै रिसाएर रङली रङलियोट गएर रोकिएको थियो। सायद यसमा अचम्म मान्नुपर्ने केही छैन, आदिमा स्त्री-पुरुष विभाजन पनि यस्तो थिएन, जो स्त्री हो उही अन्य अवस्थामा वा फरक इतिहासमा पुरुष हो, अथवा एउटै शरीरमा कहिले स्त्री, कहिले पुरुष। नारीवादी, पर्यावरणवादी, सायेन्स् फिक्सन् र फ्यान्टेसीका हालसालै दिवंगत लेखक उर्सुला ले गुइनको एउटा लेखमा यस्तो संसारको कुरा छ, जहाँ सबै मानिसहरू एकैसाथ केटा र केटी, नारी र पुरुष हुन्। तन्त्रसाधनाको बारेमा मलाई खासै थाहा छैन, तर प्रमोदकुमार चट्टोपाध्यायको हिमालय भ्रमण र तान्त्रिकसङ्गतको रमाइलो विवरणमा पढेको छु सच्चा तान्त्रिकहरूले पुरुष-प्रकृति (अर्थात् स्त्री) भेद गर्दैनन्, सृष्टिको मूल जुन प्राण हो, उनी एकैसाथ नारी र पुरुष हुन्। फलस्वरूप हुन सक्छ, हुनै सक्छ, रोङ-न्यो पुरुष होइन नारी हो, र उता रोङ-न्यित नारी होइन पुरुष हो।
रोङ-न्यो, वा रोङ-न्यित, वा रोङ-न्यो-न्यित जहाँ पुगेर रोकिएको थियो, त्यो रङली रङलियोट पार गरेर एक किलोमिटर जति गएपछि तकदा पुगिन्छ। पहिलो पटक जाँदा, घोर हिउँदो थियो, साँझ पर्ने बेला, चारैतिर बाक्लो कुहिरो। त्यो कुहिरोको गहिराइमा हरियो-रातो एउटा बोर्ड देखेर थाहा भयो, बाटोको देब्रेतिर विशाल सिसाको घरभित्र अर्किडहरू राखिएका छन्। दार्जिलिङको बोटानिकल गार्डेनको प्रसिद्ध अर्किड-हाउस देखेको छु, त्यसको तुलनामा पनि तकदाको सङ्ग्रह विशाल थियो, चकित पार्ने। तर अर्किड हेर्न आनन्द भने वनभित्र, वनमा नभए पनि पुरानो रूखको जिउमा हुन्छ। यसपछि पनि दुई चार पटक गएको छु, अर्किडहाउस बाहेक तकदामा के छ, त्यो अलग्गै खोज्ने कुरा मनमा आएन। जब मनमा आयो, तब तकदा क्षेत्रसँग, त्यहाँका बासिन्दाहरूसँग परिचय भइसकेको थियो। थाहा भयो, तकदा भन्नाले एउटै ठाउँ होइन, तकदा चिया बगान एकतिर छ, र अहिले जुन तकदाको कुरा भइरहेको छ त्यो अर्कैतिर छ, त्यसका पनि दुई टुक्रा छन्, एउटा तकदा खासमहल, त्यस्ताकको तकदा क्यान्टोनमेन्ट। क्यान्टोनमेन्ट? ड्यासको ग्याजेटियर हेरेर थाहा भयो, १९१० तिर अङ्ग्रेजहरूले पहाडी वनको बीचमा नयाँ सेना छावनी सुरु गरे। पहिलो विश्वयुद्धको समयमा र त्यसको केही समयपछि पनि त्यहाँ मिलिट्री व्यक्तिहरूको बसोबास थियो। १९२६मा विभिन्न कारणले सेना छाउनी हट्यो। क्यान्टोनमेन्ट त्यो ठाउँ हो जुन पहिले हुम-लिङडिङ वा हुम-तकदा नामले परिचित थियो। तकदा नामका अरू ठाउँहरू पनि थिए—बिदुर सिंहको तकदा, पेमचन्द भुटियाको तकदा। इजारादारको नामबाट ठाउँको नाम हुन्थ्यो। कतै जमिन भाडामा लिएर कसैले गाईवस्तु चराइरहेको छ, कसैले रैती बसाउँदै छ। हुम-लिङडिङ वा तकदा क्यान्टोनमेन्ट क्षेत्रमा गोर्खा सेनासहित अङ्ग्रेज अफिसरहरूले डेरा बनाए। अङ्ग्रेजहरूको बस्ने ठाउँको लागि अङ्ग्रेज शैलीमा सुन्दर बङ्गलाहरू वनभित्र, पहाडको टुप्पोमा बने। ढुङ्गा र काठले बनेका ती सबै बङ्गलाहरूमा सिसाका झ्यालहरू, काठका सिँढीहरू, अगाडि फराकिलो लन थियो। कुनै एकतले, कुनै दुईतले। बङ्गलाहरूलाई नामले चिनिन्थ्यो, २ नम्बर, १२ नम्बर, ८ नम्बर।
क्यान्टोनमेन्ट छोडेर अङ्ग्रेजहरू बिदा भए। तिनीहरूका ढुङ्गा-काठका, सिसाका झ्यालहरू लगाएका, कोठा कोठामा दनदनी आगो बाल्ने फायरप्लेस र घरको टुप्पोमा विभिन्न आकारका चिम्नी भएका बङ्गलाहरू वनभित्र, पहाडी डाँडामा रहिरहे। सेना छावनीको केही जग्गा रङली रङलियोट चिया बगानमा गयो।
त्यसपछि के के भयो त्यो इतिहास वा कहानी खोज्न गाह्रो छ। स्थानीय साथीहरूबाट सुनेको छु, पछि सरकारी वन विभागका पुराना कागजपत्रहरूमा पनि पढेको छु, कोलकाताका सम्पन्न बंगालीहरूले ती सबै बङ्गलाहरू किनेका थिए। त्यस समय दार्जिलिङ, कालिम्पोङ, कर्सियाङ, जताततै बंगालीहरूको बसोबास थियो। कोही छुट्टी मनाउन वा स्वास्थ्य सुधार गर्न आउँथे। बाँकी त्यहीँ बस्थे। अङ्ग्रेजहरूको शासन समाप्त हुन सक्छ, त्यसबेला त्यो सोच्न पनि गाह्रो थियो। फलस्वरूप अङ्ग्रेजहरूको ठाउँमा अङ्ग्रेजहरू जस्तै गरी बस्नुको एउटा भिन्दै महत्व थियो। राजा-जमिन्दारहरू र शिक्षित बंगालीहरूले पहाडको टुप्पोमा अङ्ग्रेजहरू जस्तै गरी बस्न धेरैवटा भिल्ला, बङ्गलो, कटेजहरू आदि बनाएका थिए, अथवा अङ्ग्रेजहरूका घरहरू किनेर लिएका थिए। यो तकदा ठाउँ चाहिँ शहरको नजिक थिएन, दार्जिलिङ वा घुमबाट पुग्ने गाडीको बाटो पनि त्यसताक बनेको थिएन, तर कोलकाताका मान्छेहरू किन यहाँ आएर डेरा बनाए, बुझ्न गाह्रो छ।
जुन समय तकदाका साहेबकोठीहरू राम्ररी देखेको थिएँ, धेरैजसोको दयनीय अवस्था थियो। भित्ताहरू भत्किरहेका थिए, भुइँका काठका फल्याकहरू मक्किएका थिए, छानामा प्वाल परेको, त्यसमाथि प्लास्टिकहरू हालेर इँटा राख्दै पानी चुहनु रोक्ने बित्थाको प्रयासहरू थियो। दुई-तीनवटा घर राम्रो अवस्थामा थिए। त्यसमध्ये एउटामा साथी डीपी लामा बस्थे। उनको कृपाले त्यो घरको दोस्रो तलामा, सिसाका झ्यालहरू लगाइएको फायरप्लेस भएको सुत्ने कोठामा कैयौँ रात बिताएको थिएँ। बाहिरको लन पार गरेर घरभित्र छिर्ने बित्तिकै जुन बस्ने ठाउँ थियो, त्यहाँ फायरप्लेसमाथि एउटा पुरानो सेतो-कालो तस्बिर हुन्थ्यो। त्यो तस्बिरमा धेरै अङ्ग्रेजहरूको बीचमा एक बंगाली दम्पती हाँसिरहेको मुद्रामा बसेका थिए। लामा दा-ले त्यो तस्बिरलाई, र घरलाई पनि, धेरै जतनले राख्थे। तस्बिर देखाउँदै भन्थे, यो हेर्नुहोस्, मिस्टर र मिसेस राय, यो घरका असली मालिक। धेरै राम्रो मान्छे हुनुहुन्थे। राय साहेब बित्नु भयो, मिसेस राय आउन सक्नुहुन्न। उहाँहरू जब बस्नुहुन्नथे, घरको हेरचाह म गर्थें। फेरि मिसेस रायले भन्नुभयो, यो घर म के गर्नु, तिमी लिन्छौ? मैले लिइहालें। यति राम्रो घर!
राय दम्पती तस्बिरमा जहाँ बसेका थिए, त्यो ठाउँ तकदा क्लब हो। पहिलो पटक देख्दा, त्यो परित्यक्त घर थियो, तर भित्ता, भुइँ इत्यादि थिए। घर अगाडिको ठूलो मैदानमा एउटा साइनबोर्ड लगाइएको थियो, यो सम्पत्तिको मालिक इन्डियन स्ट्याटिस्टिकल इन्स्टिच्युट वा आईएसआई हो। पछि त्यो घर (त्यसबेला त्यसको अन्तिम अवस्था थियो) र जग्गा सबै वन विभागले लिइहाल्यो। लिएर, पर्यटकहरूलाई राख्नका लागि 'हेरिटेज' बङ्गला बनाइयो। दोस्रो गोर्खाल्याण्ड आन्दोलनको समयमा त्यो बङ्गलामा आगो लाग्यो। सुनेको छु, त्यस क्षेत्रकै प्रसिद्ध एक नेता आगो लगाउने पछाडि थिए, बङ्गला जलाएपछि फेरि बनाउँदा ठेक्का पाउने आशामा। पाए कि पाएनन् थाहा छैन, तर क्लबबाट केही पर सोनपुर हाउस भन्ने एउटा ठूलो घर कब्जा गरेर उनले अर्को हेरिटेज बस्ने ठाउँ बनाए। तकदाका धेरै पुरानो बङ्गलाहरूमा आजकल हेरिटेज चलिरहेको छ। लामा दा-को घरमा के भइरहेको छ थाहा छैन, उहाँको धेरै समयअघि मृत्यु भइसकेको छ। २००८-९ तिर, गोर्खाल्याण्ड आन्दोलनको चर्को हल्ला थियो, उहाँले मलाई भन्नुभयो, के भन्दैछु भने अहिले तपाईँ नआएकै राम्रो, स्थिति राम्रो छैन, यिनीहरूले मलाई धम्की दिइरहेका छन्। उहाँ त्यसबेला घिसिङको पार्टीमा हुनुहुन्थ्यो, त्यो दलका प्रत्येक समर्थकहरूको घरमा गुरुङको पार्टीको झण्डा लगाउन भनिएको थियो।
जति दिन त्यो घरमा बसेँ, त्यसको स्मृति अझै पनि आलो र जीवन्त छ, वसन्तमा यताउता उडिरहेको सिमुलको भुवा जस्तै हल्का। घर चाहिँ टिस्टा भ्याली रोडको छेउमा थियो, अगाडिको बरान्डाबाट अर्किडको झुप्पा झुण्डिन्थ्यो, सामु लनमा विशाल रूख-ढेँकी, अर्थात् ट्री-फर्न थियो। माथिल्लो कोठाको झ्यालको सिसाबाट बाहिर हेर्दा देखिन्थ्यो, पहाड-वन चिथोरेर बादलहरूको हुल ओर्लिँदै छ, खिडकी बन्द नगरे कुहिरोका कणहरू कोठाभित्र पसेर ओछ्यान भिजाउँथे। आफ्नो सौभाग्य अरूसँग बाँड्न त्यो घरका दुई कोठा भाडामा लिएको थिएँ। तकदामा बाहिरका मान्छेहरू बस्नका लागि सानोतिनो बासस्थान बनाउन लामा दा-लाई उत्साहित गरेको थिएँ। यति राम्रो ठाउँ, मान्छेले देख्दैनन्, जान्दैनन्? चाँडै हेरिटेजवाला पर्यटन व्यवसाय पसेर ठाउँलाई भरिदियो। इन्टरनेटमा गएर तकदाको नाममा खोज्दा केवल हेरिटेज बङ्गलाको कुरा मात्र पाइन्छ। अरू केही पनि छैन।
तर, नीलपाहाडीको खोजी गर्दागर्दै नेटबाट अप्रत्याशित रूपमा एक पटक पत्ता लागेको थियो। एकजना बंगाली केटीको अङ्ग्रेजीमा लेखिएको ब्लग। त्यसबेला सिंगुर-नन्दीग्राममा जमिनको लडाइँ चलिरहेको थियो, केटी चाहिँ जादवपुरकी विद्यार्थी वा शोधकर्ता थिइन्, धेरैजसो लेखहरू त्यसबारै थिए। केवल एउटा लेखमा त्यो केटीको परिवार, उनीहरूको पहाडको घरको कुरा गरिएको थियो। पारिवारिक पहाडको घर खोज्दाखोज्दै उनी तकदा पुगेकी थिइन्, उकालो चढेर सबैभन्दा अग्लो घरमा पुगिन्। त्यो घरमा त्यसबेला तिब्बती बौद्ध धर्म शिक्षाको एउटा स्कूल चल्थ्यो। तल हेर्दा एकदमै टिस्टाको समतलसम्म आँखा पुग्थ्यो, रङली रङलियोट बगान देखिन्थ्यो। अगाडितिर पहाडी जंगल थियो। त्यो घरमा पछि गएको छु। तकदा वा हुम-लिङडिङ नै नीलपाहाडी हो, र त्यो घर नै झाउबङ्गला हो भन्ने कुरामा कुनै सन्देह रहेन।
अहिले लाग्छ, सन्देह भएको भए नै राम्रो हुन्थ्यो। त्यसो भए अझै घुम्न मिल्थ्यो, अझै खोज्न पाइन्थ्यो। जीवनको केही पनि त कथा जस्तो हुँदैन। एउटा कथामा अर्को कथाको तह थपिन्छ, कथाको नीलपाहाडी, झाउबङ्गला सबै वास्तविकको हेरिटेजले, हिंस्रक लोभी राजनीतिका फोहोरले ढाकिन्छन्। त्यो फोहोर हटाउने क्षमता कति जनामा हुन्छ र? त्यसभन्दा बरु स्वीकार गरौँ। सम्झौता गरौँ। जस्तै, तकदा जान छोडिदिएको छु। त्यसको दाहिने देब्रे भई घुम्छु, अन्य गाउँहरूमा जान्छु। तकदामा जान्नँ। कहिल्यै जान्नँ।
[ क्रमश: ]





No comments:
Post a Comment