शमीक चक्रवर्ती
[इस्लामपुरबाट प्रकाशित हुने लिटल म्यागजिन ‘दाग'को हालैको अङ्कको विषय हो— ‘उत्तरबङ्गालको डाकघर: पहाडदेखि समतल अनि...'। यसका लेखहरू सङ्कलन-सम्पादन-अनुवाद-अलङ्करणमा मेरो पनि सहभागिता थियो। मुख्यत बङ्गला पत्रिका भए पनि यस अङ्कमा एउटा नेपाली विभाग पनि छ, जसमा पहाडका धेरैजना लेखकहरूले आ-आफनो क्षेत्रका डाकघरहरूबारे चाखलाग्दो निवन्ध तथा संस्मरणहरू लेखेका छन्। यस पत्रिकामै ‘पहाडबाट लेखेका चिट्ठीहरू'को एउटा विभाग छ। चिट्ठीको आकारमा साहित्य सृजनाको विभाग। यस विभागमा मैले ‘कुहु'लाई एउटा चिट्ठी लेखेको थिएँ। बङ्गलामा लेखिएको त्यही चिट्ठीको नेपाली अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छु।]
कुहु,
फूलको नक्सा भएको जुन पन्नाहरूमा तँलाई चिट्ठी लेख्थेँ, अहिले त्यस्ता राईटिङ प्याडहरू पाइन्छन्? कुन्नि! गम्भीर निबन्ध र मागपत्र छोडेर कति वर्ष बाद यसरी चिट्ठी लेख्दैछु, त्यसको ठेगान नै छैन। त्यो पनि यो ‘दागʼको चक्करमा परेर। अच्छा, तँलाई याद छ– तेईस साल अघि, दुर्गापूजाको एक साँझ, एकै छिनको प्लानमा कोलकाताबाट हामी दार्जिलिङ मेलको जनरल डिब्बामा चडेर बसेका थियौँ भन्ने कुरा? हो, त्यसचोटी नै घूमको किराना पसलको ‘भैया'लाई भनेर जुन लजमा हामी साठी रुपियाँ तिरेर बास बसेका थियौँ, आज त्यसकै नजिक एकजनाको घरमा बसेको छु। र यहीँ बसेर चिट्ठी लेख्दै छु — दिनान्तमा। कामहरू सकिसकेको निद्रालु फुर्सदमा।
आज टिस्टाबजार गएको थिएँ। अब केही दिनभित्र नै, हिउँदको आभास बोक्ने कुनै हेमन्त-बिहान, टिस्टाको पानी रङ फेर्दै हरियो-नीलो गजब रङ धारण गर्न थाल्छ। पहाडबासीका घरबार खाली गर्दै ‘क्यालकाटा’का रेलयात्री टुरिस्ट पार्टीहरू दक्षिण बङ्गाल फर्कनेछन्। कोही फर्कनेछन् उत्तरकै घरमा। वर्षायाममा घना हरियो रङ् लेपिएका पहाडहरूमा यताउती देखिन थाल्छन् खैरा टाटोहरू। विन्डचिटर र चिसो हावाले भरिएको ठन्डा महिना आगमनका ती दिनहरूमा दु:खको आवेश बोकेर फेरि घर बनाउन थाल्नेछन् गेलखोलाकी आशा तामाङ वा टिस्टाबजारको श्याम गुरुङले। वर्खाले खोलाको पानी बढेर उनीहरूका घरै भत्केको थियो। खोलाछेऊ बस्ने मानिसहरू अझैपनि यही डरसँग बाँचिरहेका छन्। तर एकपछि अर्को हाइडेल प्रोजेक्टहरूका लागि बाँध, रेल्वेको लागि सुरुङ, पहाड काटेर सडक चौडा पार्नु— यी सबले नै ठूलो प्रश्न खडा गर्छन् टिस्टा किनारका सबै जनपदहरूमा। हिमनदी पग्लिएर ताल फुट्ने, बाँध भत्किने वा पूरा पुल नै डुब्ने जस्तो अलच्छिनी कुरा कसैले सुनेका थिएनन्! टिस्टाको धारा छुँदै ओकालो जाने सिक्किमको लाइफलाइन एनएइच10-मा यत्रो पहिरोका लागि ग्रिन ट्रिब्युनललाई बुढो औँला देखाउँदै बनाइएका रेलका टनेलहरूलाई नै दोष्याउछिन् उनतीस माइलकी गीता दिदीले। र प्रश्न उठाउँछिन्- कसरी विशेषज्ञ टोलीले वातावरणीय प्रभाव सर्वेक्षण गर्न आउँदा यस क्षेत्रका मानिसहरूसँग कुराकानी गरे तापनि पछिबाट त्यो रिपोर्ट फेरेर बाँध निर्माणको अनुमति कसरी दिइयो? ‘भद्रलोक'हरूको सर्भे टीम देख्दा त्यसकारणले नै मानिसहरू आँखा खुम्चाउँछन्, डराउँछन्, घिनाउँछन् पनि। र, बुढोपाकाहरूको चेतावनी सम्झिन्छन् - ‘त्यो दिन भयानक हुनेछ जब खोला उभो बग्छ!ʼ हाइडेल प्रोजेक्टको लो-ड्यामको प्रहारले खोला स्थिर नै देखिन्छ। खासमा, यो टिस्टा साँच्चै उभो बग्दैछ के? टिस्टाकिनारमा आशङ्काका थुप्रोहरू छन्।
टिस्टा खोलाको बारेमा लेप्चा लोककथामा एउटा गजब प्रेमकथा छ, थाहा छ? लेप्चाहरूको कीपट मानिएको माएल लियाङमा, जब देवी इत्बु-मुका दुई सुन्दर सृष्टि— रङ्ग्निउ (अर्थात् टिस्टा) र रङ्गितबिचको प्रेमबारे कुरा फैलिसक्यो, तब उनीहरूले कङ्चेन कङ्चलो (कन्चनजङ्घा) को पूजा सकिसकेर टाढा कतै जाने निर्णय लिए। तय भयो, तिनीहरू छुट्टाछुट्टै ओरालो आउनेछन् र भेट्नेछन् पोजक, अर्थात् पेशोकमा। दुवैलाई नै बाटो थाहा थिएन। बाटो देखाउन रङ्गितले पहाडी चरा टुट्फोलाई रोजे भने रङ्ग्निउको साथी बन्यो समुद्री सर्प परिल बु। परिलले रङ्ग्न्युलाई सिधै तल लिएर आयो। तर टुट्फो चराले यताउति कीरा-फट्याङ्ग्रा खोज्दै, धेरै बाटाहरू टहलिँदै, रङ्गितलाई लिएर ढिलो आइपुग्यो। रङ्ग्न्यु (अर्थात् टिस्टा) लाई त्यहाँ उभिरहेको देखेर रङ्गितले रेस हारेको कुरा बुझेपछि उसको रगत नै उम्लियो। रिसले गनगन गर्दै उसले भन्यो, ‘मरद भएर पनि जब म पहिले आउन सकिन, तब म थप अघि जादै जाँदिन, फर्केरै जान्छु!ʼ रङ्गित फर्कने बाटो लाग्यो। बस्, ठुलो उपद्रो सुरु भयो! खोला बढेर, उफ्रेर पहाड-जङ्गल डुबाइदियो, यहाँसम्मकि माएल लियाङ पनि त्यसैमा डुब्यो। विपरीत बगेर ठूलो बाढी हुनुको यही लेप्चा किंवदन्ती नै टिस्टाको उभो बग्ने नराम्रो सङ्केत त होइन? के थाहा!
टिस्टाबजारबाट घूम फर्कँदा पेशोक चिया बगान काट्यो। सम्झिँदै थिएँ— छ वर्षअघि, टिस्टाको पानी हरियो-नीलो हुँदैगरेको एक हेमन्त बिहान पेशोककी सुनमाया दिदीले, हरियो पत्ती टिपेर परिवार चलाउने आशा त्यागेर, गुरुङगाउँको आफ्नो घर, परिवार, गाउँ र समाजलाई छोडी राखेर, छातीभित्र पीडाको गुम्सिने भारी र हातमा सुटकेस-बाकस-पोकोहरू बोकेर धुलोसरी गुडगाउँ हिँडेकी थिइन्। उनलाई थाहा पनि थिएन कि उनकै परदेशको डेराबाट केही टाढा चण्डीगढमै उनको चिया बगानका तत्कालीन मालिकको घर थियो। त्यो मालिक— अल्केमिस्ट ग्रुपका सर्वोच्च कर्ता के डी सिंह कहिल्यै पनि यो बगानमा आएनन्। केवल हरियो पत्तीबाट निचोरेका टल्किने सुन सित्तैमा लुटेका छन्। खाँचोअनुसार एकपछि अर्को पार्टी फेरेका छन्। अन्ततः चिटफन्ड घोटालामा उनको नाम पर्दाफास भएपछि, ग्रीसमा किनेको टापुको हवेलीमा सर्ने उनको योजना विफल भयो। अच्छा, अहिले के खबर छ केडी सिंहको? वा सुनमाया दिदीको पनि? फेरि यता आउँदा सोध्नु पर्ला। यी सात वर्षमा पेशोक बगान कति पटक खुल्यो र बन्द भयो? कति पटक मालिकाना हस्तान्तरण भयो? कति हो कति सुनमाया दिदीहरू परदेश गए यसरी नै! बगान बन्द हुँदा, श्रमिक कमिटी गठन गरेर बगान सञ्चालन गर्दाखेरि हामीले श्रमदान कार्यक्रमको दिन जुन चियागाछहरूलाई सफा गरेका थियौँ, ती गाछहरू अहिले कस्ता छन्? के झारपातले फेरि निल्दै छ बगानलाई? र बगाने जीवनलाई?
अल्केमिस्टको पञ्जामा पेशोक बाहेक पनि थिए कलेजभ्याली, र धोत्रे— वाधुतेरिया बगान। घूम स्टेसन काटेर पुसिम्बिङ फाटकदेखि उबडखाबड ओरालो बाटो भई लगभग एक घण्टाको यात्रापछि भेटिन्छ बालासन। टुप्पोबाट भर्खरै उम्रिएको बेगवान बालासन खोला। त्यसमाथि झोलुङ्गे पुल छ। पारी सम्रिकपानी डिभिजन हुँदै उकालो जाँदा पोख्रेबुङ बजार पुगिन्छ। र वारीपट्टी छन् जलेको (वा सायद मालिकको सुविधाका लागि जलाइएको होला) तुङसुङ फ्याक्ट्री, र जलेको अफिस। बगान बन्द भएपछि हाम्रो आउजाउ सुरुवाती समयमा पनि चहलपहल थियो अफिसमा। ठाडो उभिएको हुन्थ्यो विशाल फ्याक्ट्री पनि। शान्त, अँध्यारो फ्याक्ट्रीमा मेसिनहरू नचलेकोले नजिकैको सलल बगेको बालासनको एकनासे कुलकुल आवाज स्पष्ट सुनिन्छ। सधैँ। आशिसलाई त चिन्छेस्, होइन? तीस नाघेको फ्याक्ट्री बाउ आशिस लामाले मेसिनको आवाजबिच सुनिने खोलाको आवाज मनपराउँथ्यो। आशिसले दार्जिलिङ सरकारी कलेजको केमिस्ट्रि अनर्सको कोर्स फाइनल इयरमा पुगेर पनि पूरा गर्न सकेन, बगानको काममा पसिहाल्नु पर्यो। तर पछिबाट बगान नै बन्द भयो। बन्द भएपछि पनि फ्याक्ट्रीमा थुप्रिइएको थिए धेरै मेड टी-का काटुनहरू। अफिसमा धुलोको बाक्लो स्तर। त्यतिबेला पनि, आशिसको एउटा काम थियो यहा— बेला बेला कम्प्युटर खोलेर बक्यौता खाता अपडेट गर्नु, प्रिन्टआउट लिनु। अफिसभित्र ठुलठुला अक्षरमा लेखिएको ‘इस्ट अर वेस्ट, मेक धुतेरिया द बेस्टʼ नक्सातिर ट्वाल्ल परेर हेरिरहन्थ्यो आशिस। हातमा बक्यौता हिसाबको प्रिन्टआउट। घटना-तथ्य-आँकडाको फिरिस्त। पीडा-थकान-निराशा-आशङ्काको त कुनै आँकडा हुँदैन। र त्यसले समाधानको बाटो पनि दिँदैन। कारखाना जलेर नष्ट भएपछि, प्रशासनले निदाइसकेपछि, टाउकेहरूको आश्वासनका बिरुवाहरू मरिसकेपछि, अरू के नै पो बाँकी रहन्छ र लडाई बाहेक? श्रमिकहरूको कमिटीले काँचो पत्ती टिपाएर अन्य कारखानामा बेच्दै बगानेहरूको दुई छाक जुटाउँदै छ। श्रमिक कमिटीले नै दियो छाता-जुत्ता, साथै साल दर साल बोनस पनि। र, बन्द बगानको स्थविरताबाट निस्कँदै, आशिस वा सुरज दाहरूले अब चल्दै गरेको बगान रिङ्टङकी सुधा तामङ वा लङभ्यूकी ज्योति मिञ्जहरूको सङ्घर्षप्रति जोसिलो सन्देश लिएर कुदिरहेका छन्। समय-समयमा बकाया र बोनसको लडाई त छ नै। र निर्णय भएर पनि लागू नभएको न्यूनतम ज्यालाबारे के हुन्छ? 2015 मा, सरकार र मालिकहरू सबैले नै चिया उद्योगमा न्यूनतम ज्याला लागू गर्न सहमत भए। तैपनि किन चिया श्रमिकहरूले त्यसलाई कहाँ पाउनू भन्दै दैलाहरू ढकढकाउँदै हिँड्नुपर्छ?
मार्च महिना आउनेबित्तिकै चारैतिर नानाथरिका फूलको रङरूपहरू फक्रिन्छन्। लाली गुराँस वा फलेदोका झुप्पाहरूको भारले हरिया रूखहरू नुहेर जान्छन्। घाममा टल्किने कञ्चनजङ्घाको पृष्ठभूमिमा फुलको सुन्दरता हेर्दै टुरिस्टहरू जुन सडक भई गाडी हुईँकिँदै आ-आफ्ना हलिडे-डेस्टिनेसनतिर जान्छन्, त्यसकै वरीपरी जमिएका हुन्छन् अँध्यारोका नीलडामहरू। त्यही मार्चमा नै चियाबगान मालिकहरूले पहिलो पत्तीको लोभसित हाम फाल्छन् बगानहरूमा। चियाको बजारमा त्यसको उच्च दर छ। देखरेखहीन बगानबाट धेरै मात्रामा पातहरू निचोर्न, दैनिक ठिका बढाइन्छ, ओभरटाइम गराइन्छ, खटाइन्छ आइतबार पनि। अवकाश लिएपछि पीएफ ग्र्याचुइटी दिनुपर्छ भनेर रिटयरमेन्ट नदिएरै काममा लगाइन्छ धेरै ठाउँमा। वृद्धा महिला श्रमिकहरूलाई पनि।
हन, यो पहाडमा न्यायका शब्दहरू कहिले गुन्जनेछन्? कहिले? अनि, के केवल चिया बगान मात्रै यस्तो हो? सिन्कोना बगानको के छ हालत? क्विनाइनको कृत्रिम विकल्पहरू आइसकेकोले जग मक्काएर फ्याकिराखेको छ सरकारी सिन्कोना बगानका चौधवटा डिभिजनहरूलाई— मङपु, मन्साङदेखि लिएर त्यो भुटान छुइने रङ्गो, गैरिबाससम्म। फ्याक्ट्री-नोकरी-प्रमोसन-ज्याला-जीवन-जीविका—सबथोक नै कसरी यति स्थिर देखिन सक्छ? अचम्म लाग्छ सिन्कोना बगानका सिलसिलाहरू हेर्दा!
रायती गाउँहरूमा खेतीपाती सङ्कटमा छ, अन्न-बालीको मूल्य छैन! अनि, ती वनबस्तीहरूतर्फ हेर्। रूखपातले भरिएको त्यस्ता जादुई र छायादार शान्तिको गुँडझैँ वनबस्तीहरूको पछाडि पीडाको थुप्रो लुकेको छ। दशकौँको सङ्घर्षपछि बनिएको वन अधिकार ऐन वास्तवमा कार्यान्वयन गर्न कति हो कति बाधा झेल्न परेको थियो! परिरहेको छ अझै! अनस्मार्ट ‘कोदेʼ वनवासीहरूलाई सरकारी बाउहरूको थिचोमिचो र फरेस्ट बाउहरूको रातो आँखा हरेकदिन सहनुपर्छ। किन?
तँलाई थाहा छ?— यी फरेस्टहरू धेरजसो प्राकृतिक होइन, कृत्रिम हो! ब्रिटिश वनविभागले यी वनहरूलाई बनाएको थियो। ‘जङ्गल जलाएर नष्ट गर्छʼ भन्दै लेप्चा-भोटेहरूलाई खेदिदिएर सल्ला लगायत विभिन्न रूखहरू रोपे, र वनका कामका लागि खट्ने मान्छे आपूर्ति गर्न नयाँ बस्तीहरू निर्माण गरे। आदिम वन धेरै कम ठाउँमा बाँचेको थियो। पछि, स्वतन्त्र देशको सरकारले जताततै धुपी रोपिदियो। धुपी सजाएको र सुन्दर देखिन्छ; तर पुरानो जङ्गल भने बाक्लो, विविध र रहस्यमय थियो। वसन्त ऋतुमा, त्यो जङ्गल बहुरङ्गी फूलहरूको गजब सुन्दरताले ढाकिन्थ्यो। धुपीको जङगल ज्यादै सजावटी लाग्छ, अलि निर्जीव पनि! पुराना जङ्गलहरू देखेकाहरूले धुपीवनलाई जङ्गल नै मान्दैनन्। मलाई यो सब पछि थाहा भयो, यहाँ बस्दाबस्दै।
तेइस वर्षअघि, ‘आजकलʼ खबरकागजको भित्री पृष्ठमा 4/5 लाइनको सानो समाचारमा सुराग पाएर त्यसचोटि तँ र म कहिल्यै नसुनिएको दामसाङ गढी खोज्दै पेदोङको जङ्गलमा हराएर कस्तो अन्धाधुन्ध घुमेका थियौँ, है? के त्यो पहाडको पुरानो किसिमको जङ्गल थियो? कि कृत्रिम? कुन्नि! याद छ? त्यतिबेला जङ्गलबाट निस्किने बाटो नै हामीले पाइरहेको थिएनौँ? अब, यहाँ बस्दाबस्दै मलाई नि लाग्छ, पहाडको समाज, राजनीति र मनन... सबै कुरा यस्तै चक्रव्यूहमा फसेको छ जस्तो!
भाषा र संस्कृतिमा बङ्गालका बाँकी मानिसहरूभन्दा धेरै फरक छन् पहाडका मानिसहरू। यिनीहरूलाई लाग्छ यिनीहरू आफ्नै भूमिमा परदेशी जस्तै बसेका छन्! सबै प्रशासनिक काम, सरकारी प्रणाली र नागरिक सेवाहरूबारे यहाँका मानिसहरू शङ्कालु छन्। भाषिक उत्पीडन व्यापक नै छ। अलगावको अनुभूति पनि छ। देश वा राज्यको राजनीति-समाजचर्चा भने सुकना-सेवक-खुनिया मोड पार गर्नसाथ फेरिएको देखिन्छ। वास्तवमा, एउटा सम्पूर्ण क्षेत्रले स्वशासन वा स्वराज खोजिरहेको छ। आफ्नै भूमिको पहिचानको अदम्य चाहना स्पष्टसँग देखिन्छ यहाँ। आफ्ना नियम आफैले बनाउँने। आफ्ना बन्धन आफैले काट्ने- यो रहर पहिलोपल्ट उम्रिएदेखि एक शताब्दी बितिसकेको छ। र छ्यासी सालको बादमा कहिले धिपधिप गर्दै, कहिले दन्किने आगो बलिरहेको छ। त्यसको घाऊ पहाडभरि नै देखिन्छ। त्यसभन्दा अघि पनि पहाड गुम्सिरहेको थियो, अझै पनि त्यस्तै छ! टुरिस्टको हेराइमा यी कुराहरू पटक्कै देखिँदैन! रोजिरोटीको सवालले पहाडको भित्री मनलाई छोपिदिन्छ। तर, के पहिचानको त्यही बाटोले चिया मजदुरहरूको पीडा वा बेरोजगार युवाहरूको परदेस यात्राको समाधान गर्नेछ र? के त्यसो केही भएपछि पहाड हाँस्नेछ? होइन— हाँस्दैन। तर, सबैले यति त बुझ्छन्— मिलेर सँगै बस्नको सर्त हो— समान मर्यादासित बाँच्नु। यसकै अर्थ हो आत्मनिर्णयको अधिकार। अधिकार नदिई अधिकार दिएको छु भन्दै धाक पिट्नुको के अर्थ छ? होस् अब, कति भन्नु यी कुराहरू...
युनिभर्सिटीमा पढ्दा भन्थिस् मेरा चिठीहरू सब पर्चा जस्तै हुन्थे। हेर त, लगभग एक शताब्दी बितिसक्दा पनि मैले कसरी त्यो बानी कायम राखेको छु नि! मैले चिट्ठी लेख्नलाई त्यो फूलको नक्सा भएको पृष्ठ पाइन, त्यसैले पहाडी जीवनको गन्धले भरेर नोटप्याडको च्यातिएको पृष्ठमै पठाइदिएँ यो चिट्ठी। अग्ला रूखहरूको टुप्पो छुँदै हवामा उथलपुथल मच्याउँदै यो चिट्ठी उड्दै ओरालो गएको भए क्या गजब हुन्थ्यो! तर त्यस्तो कहाँ हुन्छ र? यस भारी बर्खायाममा, दार्जिलिङ-खर्साङको सडकमा सहरबजारबाट फोहोर पानीका भलहरू दिनहुँ बगिरहेका छन्। के त्यो सँगै बगाएर ओरालो पठाइदिनूँ यो चिट्ठी!
ल भयो! अब सुत्नु पर्छ। बिहान धाउनु पर्छ गेट मिटिङका लागि... जब चिया मजदुरहरू काममा जानअघि भेला हुन्छन्…।
− शमीक

No comments:
Post a Comment