Wednesday, April 30, 2025

कुम्भमेला : इतिहास, धार्मिक श्रद्धा र अव्यवस्था

कपिल तामाङ

 

कुम्भमेला विश्वकै सबैभन्दा ठूलो धार्मिक जमघट हो। धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो मेला  प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा प्रत्येक 12 वर्षमा आयोजना गरिन्छ। यो मेलाले धार्मिक श्रद्धासँगसँगै अव्यवस्थित भिड नियन्त्रण, राजनैतिक हस्तक्षेप र अराजकता समेत उजागर गरेको छ। विशेष गरी, 2025 को महाकुम्भमेलामा भएको दुर्घटनाले मेलाको आयोजना सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। साथसाथै चर्चामा आएका छन् धेरै रोचक पक्षहरू, जुन उहिल्येदेखि हुँदै आएको यस मेलाको विविधताको साटो कट्टरवाद दर्साउने लक्षणहरू छर्लङ्गै देखाउँदैछ।




कुम्भको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्ष

कुम्भमेला हिन्दु धर्ममा अत्यधिक महत्त्व राख्ने धार्मिक उत्सव हो, जसमा आत्मशुद्धि, मोक्ष प्राप्ति, र आध्यात्मिक पुनर्जागरणको विश्वास हुन्छ। हिन्दु पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा देवता र असुरहरूबिच अमृतका लागि लडाइँ हुँदा चार थोपा अमृत पृथ्वीका चार स्थान— प्रयागराज, हरिद्वार, उज्जैन, र नासिकमा खसेको थियो। त्यसर्थ यी ठाउँहरू पवित्र मानिन्छन् र प्रत्येक 12 वर्षमा गङ्गा, यमुना, गोदावरी, र शिप्रा नदीहरूमा स्नान गर्दा पापमुक्त भई मोक्ष प्राप्त गरिन्छ भन्ने विश्वास रहेको छ।

यसपालीको प्रयागराजकै मेलाबारे कुरा गर्दा, यो मेलाको नाम कुम्भमेला थिएन, बरू माघ मेला थियो। 19 औं शताब्दीको सुरुमै प्रयाग, वा इलाहाबाद, इस्ट इन्डिया कम्पनीको हातमा आयो। अहिले कट्टर हिन्दुत्ववादीहरूले यो खासमा ‘अल्लाहबादʼ हो भन्दै यसको नाम फेर्न लागिपरेका थिए। तर इस्लाम धर्मकै विरूद्ध अकबरले जुन ‘दीन-इ-इलाहीʼ कानुन थालेका थिए, त्यसबाटै इलाहाबादको नामकरण गरिएको हो। जे होस्, कम्पनीको राजस्व सङ्कलनको रेकर्डमा सबै मेलाहरूको विस्तृत विवरण पाइन्छ, जहाँ माघ मेलालाई पहिलो पटक 1865 मा मात्रै कुम्भमेलाको रूपमा भनिएको छ। त्यसभन्दा पहिले यो मेलालाई माघ मेलाको रूपमा चिनिन्थ्यो। आधिकारिक रूपमा यो मेलालाई कुम्भमेलाको रूपमा पहिचान गरिसकेपछि पनि मानिसहरूले यसलाई माघ मेला भनेरै उल्लेख गरिरहे। सन् 1857को सिपाही विद्रोह पछि, मेलाका पान्डाहरूले फैलाएको संगठित प्रचारले प्रशासनलाई 1960 को दशकमा प्रयागमा भएको माघमेलालाई कुम्भ मेलाको रूपमा मान्यता दिन प्रभावकारी दबाब दियो।

1857को विद्रोहलाई अङ्ग्रेजहरूले क्रूरतापूर्वक दबाए। प्रयागमा विद्रोहमा भाग लिने सबै पाण्डाहरू छरपस्ट भए। विद्रोहका वर्षहरूमा, माघमेला हुन सकिएन। तर विद्रोह दबाइएपछि पनि, जीविकोपार्जनको लागि हताश पाण्डाहरू मेला पुनर्गठन गर्नथाले। सिपाही विद्रोह पछि कम्पनीको शासन हटिएर प्रत्यक्ष ब्रिटिश शासन आयो। लर्ड क्यानिंगले त्यो घोषणा इलाहाबाद वा प्रयागबाट गरे। अन्य घोषणाहरू साथै, अब ब्रिटिश शासकले भारतीयहरूको धार्मिक परम्पराहरूमा हस्तक्षेप गर्ने छैनन् भन्ने कुरा पनि आयो। यो घोषणापछि, प्रयागका पाण्डाहरूले बुझे कि गोरा साहेबहरू पछाडि हटिरहेका छन्। त्यसैले उनीहरूले अस्थायी रूपमा बन्द गरिएको मेलालाई ठूलो स्तरमा पुन: सुरु गर्ने योजना बनाएका छन्। कम्पनीको निरन्तर हस्तक्षेपका कारण हरिद्वारका विभिन्न अखाडाका साधुहरू पनि दबाबमा थिए। अरु कुनै विकल्प नदेखेर, उनीहरूले प्रयागको मेलालाई कुम्भमेलाको रूपमा स्वीकार गर्न सहमत भए। त्यसपछि पुजारी र पाण्डाहरू अभियानमा निस्किएर ग्रामीण क्षेत्रहरूको भ्रमण गरे र अर्को मकर संक्रान्तिमा प्रयागमा कुम्भमेला आयोजनाको घोषणा गरे। यो सम्पूर्ण घटना हुन विद्रोह पछि लगभग दश वर्ष लाग्यो। शासक अन्ततः प्रजाहरूको हल्ला स्वीकार गर्न बाध्य भए र माघमेलालाई प्रयागमा कुम्भ मेलाको रूपमा स्वीकार गरे। प्रयाग मेलासम्बन्धी तुलसीदासको प्रसिद्ध पदहरूमा यसलाई संक्रान्ति मेला भनिएको छ। सूर्य मकर राशिमा प्रवेश गर्दा प्रयागमा मेला लाग्ने कुरा छ त्यहाँ। कुम्भमेलाको उल्लेख छैन।

विगतमा, कुम्भमेला वा माघमेला विभिन्न अखडाका महामण्डलहरूले सञ्चालन गर्थे। शंकराचार्यका दशनामी सम्प्रदाय बाहेक, अन्य शैव र वैष्णवहरू पनि मेलामा भाग लिन्छन्। मेलाको प्रभुत्व लिएर शैव र वैष्णवहरू बीच धेरै पटक घातक झडपहरू भए। यसकारण अंग्रेजहरूले दुई पटक मेला बन्द गरे। 

ऐतिहासिक रूपमा कुम्भमेला धार्मिक जमघट मात्र नभएर सामाजिक तथा राजनैतिक परिवर्तनको साक्षी समेत रहँदै आएको छ। 1857 को भारतीय विद्रोहदेखि लिएर महात्मा गान्धीको 1915 को प्रथम जनसभा तथा हिन्दुत्व आन्दोलनसम्म कुम्भमेला विभिन्न सामाजिक आन्दोलनहरूको केन्द्रबिन्दु रहँदै आएको छ।

2025 को महाकुम्भमेला: अव्यवस्था र दुर्घटनाहरू

यस वर्षको कुम्भमेला विशेष महत्व प्रचार गर्दा यसलाई 144 वर्षपछि आयोजित ‘महाकुम्भʼ भनियो। हुन त, योगी सरकारले 2023 मा प्रकाशित गरेको दस्तावेज र भारतको CAG-को प्रतिवेदनले 2013 को इलाहाबादको ‘महाकुम्भ मेला'लाई 144 वर्षपछि आयोजना भएको बताएको थियो। जसरी 2018 मा, आदित्यनाथ सरकारले अर्ध कुम्भको नाम परिवर्तन गरेर कुम्भ राखेको थियो! यसपालि 45 दिनको मेलामा झण्डै 40 करोड तीर्थयात्रीहरू आउने अपेक्षा थियो। यति ठूलो भिड व्यवस्थापन गर्न सरकारका लागि चुनौतीपूर्ण कार्य थियो। तर, सरकारी व्यवस्थापनमा व्यापक अक्षमता देखिए। भिड नियन्त्रण गर्न नसकेकोले ठुला दुर्घटनाहरू भयो, मानिस मारिए।

दुर्घटना र यसका कारण

29 जनवरी 2025 मा महाकुम्भमेलामा भएको भगदौडमा ‘अफिसियल रेकर्डʼ अनुसार  30 जनाको मृत्यु भयो भने  60 भन्दा बढी घाइते भएको जानकारी प्राप्त छ। यो आँकडा अझै धेर हुने आशङ्का छ। दुर्घटनाहरूको मुख्य कारणहरू थिए: 1)अव्यवस्थित भिड नियन्त्रण: अनुमानित सङ्ख्याभन्दा धेरै मानिसहरू मेलामा उपस्थित हुँदा मुख्य नदीघाटहरूमा भिड अत्यधिक बढ्यो। सुरक्षाकर्मीहरू प्रमुख मार्गहरूमा होइन, अन्तिम भागहरूमा केन्द्रित थिए। 2) VIP संस्कृति: विशिष्ट व्यक्तिहरूको सुविधाका लागि आम तीर्थयात्रीहरूलाई लामो दुरीसम्म पैदल हिँड्न बाध्य पारियो, जसले भिडको व्यवस्थापनलाई झन् कठिन बनायो। 3) निर्देशिका म्यापको अभाव: अस्थायी पुल र मार्गहरूको सही व्यवस्थापन अनि दिशा नभएकाले मानिसहरू गलत दिशामा सर्ने क्रममा भिड अनियन्त्रित भएको विज्ञहरूको मत रहेको छ। 4) अस्पष्ट निर्देशन: दुर्घटनापछि प्रशासनले अस्पष्ट सूचना दिएपछि स्थिति झन् भयावह बन्यो। पछिल्ला वर्षहरूमा भारतमा धार्मिक सभाहरूमा यस्ता घटनाहरू दोहोरिइरहेका छन्। 2013 मा कुम्भमेलामा भएको भगदौडमा 42 जनाको मृत्यु भएको थियो, भने 1954 को कुम्भमा झण्डै 800 मानिसको ज्यान गएको थियो। यसपालिको कुम्भमेलामा भएको घटना बाहेक पनि दिल्ली स्टेसनको भागदौडमा पनि धेरै मानिस मारिए, र त्यो स्टेसन लगायत देशका विभिन्न स्टेसनहरूमा ट्रेनमा हमलाको धेरै घटनाहरू देखिए।

राजनीतिकरण: हिन्दुत्व एजेन्डासँग जोडिँदै गएको विशेषता 

कुम्भमेला परम्परागत रूपमा धार्मिक आस्था, आध्यात्मिकता, र सामाजिक समागमको अवसर मानिन्छ। तर, पछिल्ला दशकहरूमा यस मेलालाई राजनैतिक रूपमा उपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको देखिन्छ। विशेष गरी हिन्दुत्वको एजेन्डालाई अघि सार्ने काममा यसलाई प्रयोग गरिएको आलोचना हुँदै आएको छ। 1964मा विश्व हिन्दु परिषद हरिद्वार कुम्भमेलामा गठन गरिएको थियो जुन पछि हिन्दुत्व आन्दोलनको प्रमुख संस्था बन्यो। भारतीय जनता पार्टी जस्ता दलहरूले मेलालाई हिन्दु एकताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। 2019 मा प्रधानमन्त्री नरेन्द्र मोदीले काङ्ग्रेसले 1954 को कुम्भमेलाको दुर्घटनालाई लुकाएको आरोप लगाएका थिए। 2025 को महाकुम्भमेलामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मेलालाई ‘भारतको एकता र अखण्डताको प्रतीकʼ भन्दै हिन्दुत्व एजेन्डालाई अगाडि बढाएको देखिन्छ।

1857को भारतीय स्वतन्त्रता सङ्ग्रामका विद्रोहीहरू कुम्भमेलामा भेटघाट गर्थे। 1915 मा महात्मा गान्धीले दक्षिण अफ्रिकाबाट फर्केपछि पहिलो जनसभा हरिद्वार कुम्भमेलामै गरेका थिए। विभिन्न धर्म, धार्मिक कोटीका मानिसहरू आफ्नै विचार बोकेर यो मेलामा सहभागी भए, यहासम्मकि नास्तिकहरूले पनि विविध मानिसहरूकै भेला हेर्नलाई यसमा उहिल्येदेखि आउँछन्। धेरै हिन्दू राजा, सिख शासक र मुस्लिम नवाबहरूले मेलाको भ्रमण गरे। ईसाई मिसनरीहरूले मेलामा आफ्नो धार्मिक साहित्य वितरण गरे। वामपन्थीहरूले किताब दोकान थापे। मेला कमिटी वा कार्यकर्तामध्ये मुसलिमहरू पनि हुन्थे। यस्ता रङ्गिन मेला अब उग्र हिन्दुत्वको पञ्जामा परेको छ। 

आर्थिक प्रभाव: धार्मिक पर्यटन कि व्यापारिक लाभ?

कुम्भमेलालाई हिन्दु धर्मकै सबैभन्दा ठूलो धार्मिक पर्यटन उत्सव मानिन्छ, जसले राज्यको अर्थतन्त्रमा ठूलो योगदान दिन्छ। उत्तर प्रदेश सरकारका अनुसार 2025 को कुम्भमेलाले झण्डै 2 लाख करोड भारतीय रुपैयाँको आर्थिक फाइदा दिने अपेक्षा गरिएको थियो। तर, यो फाइदा सर्वसाधारणको भन्दा ठूला व्यावसायिक समूह, लगानीकर्ता र ठेकेदारहरूलाई मात्र केन्द्रित गरेर अनुमान गरेको देखिन्छ।

2025 को महाकुम्भमेला आयोजनाका लागि रू. 7500 करोडको बजेट थियो। विज्ञापन, VIP व्यवस्थापन, तथा प्रशासनिक प्रचारमा ठूलो रकम खर्च गरियो। साधारण तीर्थयात्रीहरूका लागि आधारभूत सुविधा, शौचालय, स्वच्छ पानी र सुरक्षित आवास व्यवस्थापनमा भने अपेक्षाकृत कम ध्यान दिइएको छ। VIP संस्कृति भने हाबी हुँदै गएको प्रष्ट भयो जसले सर्वसाधारण भक्तजनहरूलाई असुविधा बनाएको छ।

होटल, टुरिस्ट एजेन्सी, तथा स्थानीय व्यवसायीहरूले ठुलो फाइदा उठाए। धार्मिक पुस्तकहरू, माला, मूर्ति, प्रसाद, तथा धार्मिक वस्तुहरूको बिक्री अत्यधिक हुने गर्छ। सरकारी स्तरबाट पर्यटन प्रवर्द्धन गर्दै विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने प्रयास भइरहेका छन्। तर, आर्थिक लाभभन्दा पनि मेलाको व्यवस्थापनमा देखिएको भ्रष्टाचार, भिड नियन्त्रणको असफलता र VIP विशेषाधिकारले सर्वसाधारणका लागि यो मेला असहज बन्दै गएको छ। धार्मिक मेलालाई राजनीति, व्यापार र असमान अवसरको खेल बनाउनाले यसको मौलिकता हराउँदै जान सक्छ।

कुम्भमेला आज यो राजनैतिक र व्यापारिक टुडिखेल हुँदै गएको छ। आत्मशुद्धि र मोक्ष प्राप्तिको नाममा करोडौँ भक्तहरू भिडमा थिचिन्छन्, घण्टौँसम्म पैदल हिँड्न हुन्छन् र प्राथमिक सुविधासमेत नपाएर अप्ठ्यारो सहन बाध्य हुन्छन्। मानिसहरूको अन्धभक्तिले व्यवस्थापन पक्षलाई झन् कमजोर बनाएको छ। मेलाका लागि छुट्याइएको रू. 7500 करोड को बजेट कहाँ खर्च भयो भन्ने पारदर्शिता छैन। लाखौँ तीर्थयात्रीहरूका लागि आधारभूत स्वास्थ्य सेवा, सरसफाइ र सुरक्षित बाटा जस्ता अत्यावश्यक सुविधाहरू अपूर्ण देखिन्छन्। तर, सरकारका लागि कुम्भमेला एउटा ‘ब्रान्डʼ बनेको छ जसलाई भव्य देखाएर धार्मिक पर्यटन र हिन्दुत्व एजेन्डा दुवै प्रवर्द्धन गर्ने प्रयास जारी छ। एउटा आइआइटी बाबा वा माला बेच्ने मोनालिसालाई पोस्टर बय वा गर्ल बनाएर टीआरपी बढ्ला तर आम मानिसको जीवनमा कुनै ठूलो फरक बनिँदैन।

साधारण नागरिकहरूका लागि सुरक्षाका उपायहरू सीमित छन्। तर राजनीतिज्ञ, उच्च पदस्थ अधिकारी र सम्पन्न वर्गका लागि छुट्टै व्यवस्थापन गरिन्छ। यो भेदभाव केवल प्रशासनिक कमजोरी मात्र नभएर सामाजिक असमानताको एउटा क्रूरतम रूप हो। 2025 को महाकुम्भमेलामा भएको दुर्घटनाले देखाएको छ कि भिड नियन्त्रण असफल हुँदा, आधारभूत संरचनाहरू कमजोर हुँदा र प्रशासनिक लापरवाही हुँदा कसरी निर्दोष मानिसहरू अकालमै मृत्युको सिकार बन्न सक्छन्। धार्मिक आस्थाको नाममा प्रशासनले आफ्नो जिम्मेवारीबाट हात झिक्ने प्रवृत्ति गम्भीर चिन्ताको विषय हो। यदि सरकार र समाजले धर्मभन्दा मानवतालाई प्राथमिकता दिन सकेनन् भने, कुम्भमेला आउँदो दशकहरूमा श्रद्धा होइन, भयावह असमानता अनि अराजकताको टुडिखेल बन्नेछ। जसले कुम्भको वास्तविक ऐतिहासिक र सांस्कृतिक पक्षलाई नराम्रो असर पार्न सक्छ।

No comments:

Post a Comment