नन्द हाङ्खिम
धेरै वर्ष अघिको कुरा हो। मेरो स्कुले जीवनमा बाह्र बजी खाजा खान हाम्रा साथीहरूसित स्कुल ग्राउण्डकाे पल्लो किनार गेटको छेउमा एकजना मिठाइवाला बस्थे। अग्लो, काँध गतिलो, जुँघाबिनाको खाली बोके दाह्री राखेको, चेप्टो फेटा — जहाँ उसको मिठाईको भारी बोक्ने टिनबाट निर्मित बाकस बोक्नलाई सजिलो होस भनेर लगाएको जस्तो कलसौदो। यस्तै 30/35 वर्षको मुसलमान भाइकहाँ झुरुम्म हुन पुग्थ्यौँ। उसको नाम हफिज थियो र उसलाई साथीहरू उ! हाम्राे ‘हफिज भाइʼ भन्थे।
आज सम्झिन्छु किन उसलाई हामिले ‘हाम्रो हफिज भाइʼ भन्थ्यौँ अनि कसरी भन्न थालेका हौ? राम्रोसित तर्क पनि दिन सक्दैनौँ। उसले हामीहरूलाई उधारो पनि दिएर हो कि! कि उनारको चाड रमजानमा हामीलाई दु-दुईवटा सूजी बिस्कुट खुवाएर हो कि! कि अघिको सिनियर दाजुहरूले भनेको सुनेर हो! तर, तर उसलाई हाम्रै जस्तै लाग्थ्यो मानौ हाम्रै स्कूलको एक सदस्य हुँदो हो ऊ। स्कूलदेखि बाहेक बाहिर पनि बाटो घाटोमा भेट्दा उसलाई हामिले ‘हफिज भाइʼ भनेर बोलाउँथ्यौ। उसले हाम्रो नाम काटेर नै ‘कता गएकोʼ भन्थे। अचम्मै लाग्छ उसलाई गोटा गन्ती हाम्रो नाम थाहा थियाे। त्यसैले पो ‘हाम्रो हफिज भाइʼ भनेको हो कि! उसले बाँकीमा खाद्य वस्तु दिँदा उसको सानो नोटबुकमा हाम्रो नाम लेख्थ्यो, तर हामी बुझ्दैन थियौ। किनभने ती अक्षरहरू देवनागरीमा नभइ कार्लाकुर्लुङ उर्दू अक्षरमा लिखितम हुन्थ्यो।
जे होस उसको टिनको बाकस खोलेपछि सधैँ हामी पहिलो पल्ट झै हतारिएको हो कि आत्तिएको हो, सल्बलाउँथ्यौँ र ठेला ठेल जस्तै हुन्थ्यो। तर उसले सधैँ त्यो टिनको बाकसको ढकनी उघार्दा भन्ने गर्थ्यो: ‘खुल जा! सिमसिम!; सधै सुनिरहेको र पनि सबै हास्थ्यौँ। उसले हँसाउने गरी भनेकोले हो कि! हामी स्वयम् खुसी भएर हाँस्न चाहिँ सधैँ हस्थ्यौँ। मिठाईको बाकस खोलिएपछि देख्थ्यौँ सुजी बिस्कुट, निमकी, खुर्मा, किरीम रोल, नन् खटा, मुसुरी दालको पकौडी, कुकिस, बन्। ती सबै भए माथिल्लो तलाको मिठाइहरू। त्यो ट्रे जस्तो तला उठाएपछि मुन्तिरको कोठामा कोबता, पूरी गोसपोप र तेलमा भुटेका चनाको लसदर तरकारी हुन्थ्यो जसको दाम कडा भएकाले हामी किन्न सक्तैनथ्यौँ। ती सबै एकै क्षण पश्चात् सरहरू आएर किनेर अफिसतिर लगेर जान्थे। त्यति बेला हामी छताछुल्ल भई फाटेर वरपर छरिन्थ्यौँ। सरहरू गइसकेपछि सिनियर दाज्युहरू फेरि हफिज भाइको ‘खुल जा सिमसिमʼ-काे बाकस वरिपरि घेरिन्थे र हास्दै हफिज भाइसित बिग्रेको हिन्दीमा के के भन्थे र फेरि सबैजना हाँस्थे। त्यतिञ्जेल हामी पर स्कूलको फूलबारीमा पुगिसकेको हुन्थ्यौँ। तर पनि उनीहरूका नबुझिने आवज भने कर्णद्वारमा आइरहन्थ्यो।
एक दिन ती दाज्युहरूले के गरिदिए कुन्नि हाम्रो हफिज भाइ जोडले कराएको सुन्यौँ। उसले भन्दै थियो :
‘मत करो न भाइ यह थोडा मेरा सम्पति है!ʼ
‘यो त हमले मालिकको माल बिक्री कर्छ र त्यसको कमिशन पाउँछ। गरीब आदमी न हुँ म।ʼ
मोरा दाईहरूले हफिज भाइलाई लुट्दैछ कि क्याहो भनेर हामी त्यतै गयौँ। ठिक त्यतिखेर नै छुच्चा भनिने डा. लक्ष्मी नारायण सर आइपुगेर एकजना स्टुडेन्टकाे कान पक्रिरहेका थिए। निक्कै नजिक पुगेर देख्यौ कान पकडी माग्ने स्टुडेन्ट स्कूल क्याप्टन रहेछ। हामीले टाडै बाट हेरिरह्यौँ।
सरले भने ‘तँ! स्कूल क्याप्टन भएर यस्तो क्यारेक्टर देखाउँदैछस्? साले तँहरूलाई खाजा खुवाउन कहाँबाट यहाँ आएर दुःख गर्दैछ, यो उसको रहरले हो नाथे! उसको बाध्यता हो।ʼ
क्याप्टेनले दुई हात जोडेर भन्यो ‘सरी सर।ʼ
‘मलाई के सरी भन्छस्? हफिज भाइलाई माफी माँग'ʼ यसो भनेर शर्मा सरले क्याप्टनलाई एक लात कसे।
‘ना ना सर। उसको माफी दिनुस्! हामको माफी माग्नु कोही दरकार छैन। बच्चाहरू छ गल्ती भइहाल्छ।ʼ हफिज भाइले भन्दा भन्दै क्याप्टेनले माफी माग्दै भन्यो, ‘सरी भाइ!ʼ यस बेला हफिज भाइकाे छेउमा शर्मा सर र क्याप्टन मात्र थिए, क्याप्टनकाे साथीहरू छुट्टिएर कता कता लागेछन्।
शर्मा सर अझै कराउँदै थिए, ‘सरी भनेर मात्र हुन्छ? अझ अबदेखि कहिले यस्तो गर्दिनँ भन।ʼ
‘अबदेखि कहीले यस्तो गर्दिनँʼ क्याप्टेनले भन्दै गर्दा सरले भने, ‘कान पकडी।ʼ क्याप्टनले कान पक्डेर फेरि दोहोर्यायो, ‘अबदेखि कहीले यस्तो गर्दिनँ, सर!ʼ शर्मा सर फेरि कराए, ‘मलाई होइन हफिज भाइलाई!ʼ बिचरा क्याप्टन रातो पिरो भएर कान पक्रिरहे़को थियो ‘हजिफ भाइ! अबदेखि कहिले यस्तो गर्दिनँ। माफी देऊ।ʼ
‘ठिक छ, ठिक छ चक्र भाइ। माफी छ नि। लू एउटा नन्खट्टा खानु!ʼ हफिज भाइले नन्खट्टा दिए। शर्मा सरले हापरेर भने ‘तिमी पनि के खाले मान्छे? बदमासलाई नन्खट्टा?ʼ अनि क्याप्टनलाई ‘जा अब यस्तो गर्लास्! इनारको देशमा भा मारिन्थ्योʼ भनेर खेदाए।
‘ना सर! यो भाइहरू मसित हस्सी मजाक पनि गर्छ, हाम्रो देशको मान्छेहरू भन्दा बहुत सरिफ छ।'ʼ हफिजले क्याप्टनको नाक थाप्दै भन्यो। ‘तिमीले इनारलाई बाँकी पनि दिँदैरहेछौँ, पैसा ठिक ठिक दिन्छ के? मलाई त्यो पूरी दुईवटा र कोबता दुईवटा हाल!ʼ यी सबै घटना हामी परै बसेर हेर्दैथियौँ। योगेन्द्र साथीले भन्यो, ‘बुडो शर्मा भन्छ, हेर न गोरूको कोबता खाको।ʼ हामीलाई हाँस उठेर पनि हाँस्न नसकेर झन परपर तिर सर्यौँ। तरै पनि शर्मा सरकाे ठूलो स्वर टाढैबाट सुन्न सक्दैथियौँ। ‘कसैले बाँकी दिएन भने मलाई भन्नु।ʼ
‘ना सर। सबले दिएछ बैमान कोही छैन।ʼ
‘ठिक छ मेरो हिसाब पनि लेखिराख।ʼ
योगेन्द्र साथीले फेरि भन्यो, ‘बुडोले बाँकी खानुलाई पो हफिज भाइको काम गरेको रैछ, थाहा भयो।ʼ
हामी धेरै उता पुगिसकेका थियौँ। उसको गफले मज्जाले हास्यौँ। योगेन्द्र खुबै गफाडी थियो र हामी कतिपय उसितै लेप्सो लागेर हिँड्थियौँ। जोगमान साथीले भन्यो, ‘उहिले बाहुनबाजेहरूले नै मुसलमानले छुएको खानु हुँदैन भन्थे रे।ʼ
‘हो त! हाम्रो बाजेले पनि त्यस्तै भन्थे। तर हाम्राे बाबु त बजार आएर मुसलमानकै दोकानमा गोसपप खन्थे छ!'ʼ रमेश साथीले भन्यो।
योगेन्द्र फेरि बोल्यो, ‘मुसलमानले छुएको नखानु भनेको चै तिनारूले हगेपछि पिन धुन्छ भनेर होला।'ʼ हामी सबै गलल हास्यौँ। कुरा साधारण नै थियो तर योगेन्द्रकाे भनाइको शैली र भाव भङ्गीहरू चार्ली च्याप्लिनकाे जस्तो हुन्थ्यो। मान्छे पनि लिखुरे, क्षेत्री भएर होला अहिले नै झुघाँको रेखी बसिसकेको थियो। मैले भने, ‘पिन त पानीले धुएकै राम्रो होइन र?ʼ रमेशले भन्यो, ‘खोइ हामी त काठले पुछ्दा पनि हुन्छ।'ʼ गम्भीर प्रकाश पनि बोल्यो, ‘छ्या कागजले पुछेको पो सफा हुन्छ त।'ʼ
‘हामी त बासमा जाँदा त झ्यारले पुस्छौँ।ʼ जोगमानले भन्दा भन्दै योगेन्द्रले भन्यो, ‘रमेशले त काठ पाएन भने त ढुङ्गाले पुच्छ होइन र?ʼ हामी अचानक हासीपठायौँ। क्याप्टन हामीकहाँ नआएर सोझै स्कूल गएछ क्यार! देखिएन।
‘त्यो मुस्लिमहरू ल्याउँने त ब्रिटिशहरू नै हरे नि! ‘प्रकाश बोल्छ। ‘फेरि कसले भन्यो तिमिलाई चाहिँ?ʼ मैले सोधेँ। तर प्रतिउत्तर योगेन्द्रले दियो, ‘हो त! विशेष तोसरोटी, बन, बिस्कुट बनाउनलाई ल्याएको भन्छ। त्यति मात्र होइन लुगा धुने धोबीहरूलाई उनारले ल्याएको रे।''
‘त्यही कारण त्यतिबेला ब्रिटिशले छुको पनि नखानु भन्थेछ। हाम्राे बोजुले भनेको'ʼ जोगमानले थप्यो। ‘हिष्ट्रीमा पढेकै हो त, दुईसयवर्ष ब्रिटिशले भारतमा सासन गर्यो। सब चिज तिनारले छुएकै त होला!'ʼ स्कूलको बेल लाग्यो। हामी सबै क्लासतिर लहर लागेर जाँदा हफिज भाइले भन्यो, ‘ओ भाइ क्याप्टनलाई भनिदिनु हफिज भाइले गुस्सा करेको छैन।''
‘ठिक छ ठिक छ, तिमी नसुर्ताऊ! म भन्दिन्छुʼ योगेन्द्र बोल्दैथियो। हामी उसको पछिपछि हिड्यौँ। क्लासमा पुगी सबै हल्ला गर्दै बस्यौँ। ‘साइलेन्स! प्लिज!ʼ म्याथकाे सुब्बा सर आइपुगेछन्।
***
भाग्यवश धेरै वर्षपछि म हाम्रै स्कूलको टिचर भएर आइपुग्नु पर्यो। मेरा अन्य साथीहरू कता कता पुगे त्यति थाहा भएन। सुन्छु कोही फौज भर्तीमा भर्ना भएछन्, कोही अफिसका कर्मचारी, योगेन्द्र चाहिँ बजारमै आफ्नो पुर्खौली दोकान चलाएर पैसावाल भएको छ। बेला बखत उसको दोकानमा गएर उसको गफ सुन्नु मलाई मज्जा लाग्छ।उसको त्यही हसाउँदै बात गर्ने बानी! उसले भनेको स्कूल क्याप्टन सेनामा गएर लेस - नायक भएका छन् रे। उसले भेटेको थिएछ र लक्ष्मी नारायण सरले हफिज भाइको सामु लाज मर्दो बनाएको घटना अझै बिर्सिएको छैन रहेछ। योगेन्द्र भन्दैथियो, डा लक्ष्मी नाराण सर बित्नुभएको कुरा उसलाई सुनाउँदा उसले शोकाकुल मुहार बनाएर भन्यो रे, ‘बिचरा सर!ʼ उसले खृष्टान धर्मालम्वीहरूले जस्तै पिता, पुत्र, पवित्र, आत्मा भनेझै दाहिने हातलाई निधार अनि दाहिने - देब्रे कुममा फिरायो अनि योगेन्द्रलाई सोधेछ ‘के बिमार थियो बुडोलाई ?'ʼ
‘हार्टफेल भयो भनेर सुनेको थिएँʼ योगेन्द्रले भनेछ।
'रिसाहा थियो बुडो, प्रेसर थियो होलाʼ प्रतिउत्तर आएछ।
‘मैले कुनै प्रतिउत्तर दिइन'', उसैले भन्यो। ‘पढाउनु चै सार्है राम्रो पढाउँथ्यो बुढोले।'ʼ स्कूल क्याप्टनले भने रे।
योगेन्द्रले मलाई नाटकीय ढङ्गमा सुने जानेका कुराहरू बताउँदै थियाे। रमेश बेसी खसी खाएर जन्डीस भएर मरेछ, सायद लिभर- सिरोसिस भयो होला। जोगमान कन्ट्रयाक्टरी गर्दैछ रे! सुखेपोखरीमा। यो योगेन्द्र कता कताबाट खबर राख्छ? हुन त मान्छे पहिलादेखि नै चालू हो। मलाई नोस्टालजियाले आक्रान्त तुल्यायो।
मैले हाम्रो हफिज भाइकाे विषयमा सोधेँ। उसले भन्यो ‘देश गएको छ रे। आएको छैन भन्छ।ʼ
योगेद्रसँग यस्तै चर्चा गर्दैगर्दा आफैँ स्टुडेन्ट भएको स्कूलमा आज टिचरकाे एपोइन्मेन्ट लेटर बोकेर आइपुगेको छु। पहिले हामीलाई पर्खीरहेने हफिज भाइका खुल जा! सिमसिमको बाकस र उसको अग्लो चेप्टो टोपी देखिने ठाउँमा एउटा हरियो रङ्गको छाना लगाएर चाइनिज ढाँचाले हावा घर जस्तो निर्माण गरेछ। त्यहाँ मुखामुख गरिएका चारवटा फलामको बेञ्च पनि लगाइएको छ। सायद टिचरहरूका लागि होलान्। स्कूल वरिपरि फलामको नेट लगाइएछ। त्यहाँ फलामको ठूलो गेट पनि निर्माण गरिएछ जुन हामी पढ्दा कदाचित् यस्तो थिएन। म निक्कै छिट्टो आएछु क्यार। स्कूलमा कोही थिएनन्। राम्ररी हेर्दा देखेँ गेटमा ठूलो भोटे ताला भित्रबाट लगाइएको थियो। प्रफुल्ल भइराखेको मेरो मनमा अचानक चाबी लाग्यो। स्कूल आज किन बन्द छ? म एकक्षण किंकर्तव्यविमुड भएर उभिरहेँ अनि सम्झेँ भित्रबाट ताला लगाएको अर्थ चौकीदार दाई भित्रै छ। र मैले ताला हल्लाएर ड्याङ ड्याङ गर्दै आवज दिएँ। नभन्दै चौकीदार दाई आए अनि उनको बेसी पावरवाला चेश्माबाट तिनै थामी चौकीदार दाई भनेर चिन्न सकेँ। उनका सुन्दर कुरलुङ्गे केश झरेर तालु चिन्डे भएछ, जुँघा दाह्री कालो सेतो भएर खैरो भएछ, मैले उनलाई अभिवादन गरे, ‘नमस्कार छ है थामी दाई! जाती नै हुनुहुन्छ?''
उनको बाक्लो ऐना भएको चेश्माबाट नै देखिने उसका ठूलठूला आँखा डरलाग्दो गरी फुकाल्दै भने, ‘खोई अहिले सम्म जाती नै भन्नुपर्यो, कसलाई भेट्न आउँनुभयाे?ʼ
उनले मलाई चिनेनन्, हुन पनि के चिन्नु, हाम्रो ब्याचपछि कतिजना विद्यार्थीहरू यो स्कूल कति आए- गए साँधि हुँदैन।
‘आज स्कूल बन्द छ'ʼ उनले भित्रबाट भने।
‘मलाई चिन्नु भएन? नाइन्टिन एटीनाइनकाे माध्यमिक पासआउट स्टुडेन्ट आज यही स्कूलमा टिचरको एपोइन्टमेन्ट लेटर लिएर आएको। अँ! थामी दाई! बन्द चाहिँ के काे?ʼ
‘त्यो मिठाइवाला भाइ हफिज भन्ने, चिनेको होला।''
‘अँ! अँ! के भएछ?ʼ मेरो मन अलिक चिसो चिसो भयो र उसको दाह्री, फेटा त्यो ‘खुल जा सिमसिमʼ-काे टिनको बाकस, पर देखिने हावाघरको नाङ्गो पाखामा बसेको झल झल याद आयो।
‘देश गएको उतै स्वर्गे भएछʼ उनले चश्मा मिलाउँदै भने। ‘हेड सरले उसकै नाममा छुट्टी दिइएको शोक मनाउन.......।ʼ
मैले उसको कुरा काटेर भने, ‘के ले डेथ भएछ?ʼ
‘खोई! मारेको भनेर उसको छोराले भन्दै थियाे।ʼ
‘कुन पापीले मारेछ फेरि! त्यस्तो राम्रो मान्छेलाई?ʼ मैले सोधेँ।
‘रामनवमीको दिनमा भन्थ्यो। मधेशमा त त्यही त होला, धरम - धरमको लडाइँ। खोई त सरकारले पनि रोक्नु सक्दैन रहेछ।''
उनी भन्दा भन्दै सुर्ती फ्याल्न पर भित्तापटिको नालीतिर गए।
मलाइ प्रतिउत्तर सुन्न कता कता डर लागिरहेथ्यो। उनी सुर्ती फालिसकेपछि परैबाट बोल्दै आए।
‘मार्नु पनि त कस्तो बिजोकले मारेछ, त्यस्तो त दुश्मनलाई पनि नहोस् भन्छु म त।ʼ
‘माने कसरी?ʼ मैले नचाहँदै पनि बोलिपठाएँ।
‘उसको बुडी, बुहारी नातिनीलाई नराम्रो काम गरेर ...….।ʼ
उनलाई रोक्दै मैले भने, ‘बस्! बस् बुझेँ।ʼ
‘त्यति मात्र होर?ʼ उनी स्वयम हतारिएर निधारमा हात राखेर शिर हल्लाए। म निःशब्द भई स्तब्धतामा उभिरहे।‘घरमा आगै लगाएर हफिज भाइसमेत सबैलाई जलाएर मारेछ।''
मेरो आँखामा हफिज भाइ हाँस्दै हामीसित जिस्केको झझल्को आइहाल्यो। साथी भाइहरू ‘हफिज भाइ! हफिज भाइ!ʼ भन्दै कराएको स्कूलको हल्ला कानमा नै गुन्जीरह्यो।
थामी चौकीदार दाई त्यहि टुक्रुक्क बसे ‘हे! राम।ʼ
उनी यसरी घोप्टीरहेको देखेर मलाई कल्पना आयो, शायद! गान्धीजीले नाथुरामको गोली खाएपछि यसरी नै घोप्टिएर लडेका थिए होलान्।
No comments:
Post a Comment