बिजय प्रधान
सन् 2024 को 4 अक्टोबरको दिन पश्चिम बङ्गालको सालुगढा डाबग्राम–1 अन्तर्गत पर्ने चमकडाँगी बस्तीका लागि दुःखको घडी बन्नपुग्यो। मुसलधारे वर्षाका कारण टिस्टा नदी उग्र रूप लिँदै बस्ती तर्फ पस्यो। बाढीले गाउँका करिब 13 घर पूर्ण रूपमा बगायो भने बाँकी घरहरू सुरक्षित ठाउँमा सार्नुपर्यो। यस गाउँमा लगभग 131 घरपरिवार बसोबास गर्दथे।
चमकडाँगी बस्ती एउटा ऐतिहासिक गाउँ हो, जसमा कतिपय परिवारहरू ब्रिटिस शासन कालदेखि त्यहाँ बसोबास गर्दै आएका छन्। बस्तीका बासिन्दाहरूको मुख्य जीविका खेतीपाती, पशुपालन र साना घरेलु उद्यमहरूमा निर्भर थियो जसलाई बाढीले समाप्त गरिदियो। बाढीको दिन टिस्टा नदीको बहाव यति तीव्र थियो कि एक घण्टा मै 100 देखि 150 मिटर जमिन कटान गरेर गाउँ तर्फ बढ्यो।
प्राप्त विवरणअनुसार, बाढीको मुख्य कारण 04 अक्टोबर 2023-मा सिक्किमको ड्याम फुटेर आएको बाढी, साथै कालिझोडा क्षेत्र अन्तर्गत NHPC परियोजनाले निर्माण गरेको बाँध र सेवक बजार नजिक रेलपुलमुनि प्रयोग भएको ‘क्रसर मसिन’-को प्रभाव हो भन्ने विज्ञहरूका मत रहेको पाइन्छ। क्रसर मसिनले गहिरो खाल्डो खनेकोले टिस्टा नदीको बहाव बस्तीतर्फ मोडियो, जसले गर्दा चमकडाँगी बस्तीमा भयावह बाढी निम्त्यायो।
बाढीपछि राहतका लागि स्थानीय प्रशासनले तदारुकता देखाएको थियो। पञ्चायत सदस्य, प्रधान र मेयर साहेबले बस्तीको निरीक्षण गरी प्रभावित परिवारलाई वैकल्पिक सरकारी जमिन दिने कुरा गरेका थिए। तर हालैको निम्ति पीडितहरूलाई अस्थायी रूपमा सालुगढा नेपाली विद्यालयमा बस्ने व्यवस्था गरिएका थिए। राहतका लागि केही समयसम्म स्थानीय पञ्चायत र समाजसेवी संस्थाहरूले आवश्यक सामान र खाद्यान्न उपलब्ध गराए, साथै जाडोमा लगाइने-ओढ्ने कतिपय लुगा-कपडा, कम्बल आदि पनि दिएका थिए।
तर, 07 जनवरी 2025 सम्म आइपुग्दा पनि पीडितहरूका लागि कुनै स्थायी समाधान खोजिएको थिएन। सरकारले प्रारम्भिक रूपमा केही सरकारी जमिनको पहिचान गरे, जस मध्ये सालुगढा नेपाली विद्यालय-का पछाडि तर्फका ‘शिवनगरʼ भन्ने स्थान दिइने कुरा गर्नु भयो तर पछि गएर वन विभागका कर्मचारीहरूको कारणले जमिन हस्तान्तरणको प्रक्रिया रोकियो। जसले गर्दा पीडितहरू अझै पनि विद्यालयमै आश्रित रहनुपर्यो। समस्या अझै बढ्दै गयो। प्रारम्भिक दिनमा पाइने राहत सामग्रीको आपूर्ति रोकियो र गाउँका मानिसहरू सोमबार–सोमबार स्वयं बजारमा गएर रासन माग्न बाध्य भए। स्कुलमा बसेका कतिपय परिवारहरू खानपिन र औषधिको अभावमा थलिँदै गए भने आर्थिक सङ्कटका कारण कतिपय विद्यार्थीहरू पढाइ छोड्न विवश भए साथै रोगीहरू औषधि नपाएर झन् कमजोर बन्न पुगे।
थुप्रै प्रयासपछि, सरकारले अन्ततः कुनै उपयुक्त सरकारी जमिन खाली नपाएको कारण उनीहरूलाई सालुगढाको पारिपट्टि पर्ने माजुवा बस्ती नजिकै महानन्द नदीको किनारमा स्थानान्तरण गर्ने निर्णय गुप्त ढङ्गले गर्यो। सरकारी योजना अनुसारले प्रत्येक परिवारलाई 3 कट्ठा जमिन दिइने भनिएको थियो, तर जमिनको अभावको कारणले गर्दा 2 कट्ठा गरी दिइने सीमित भयो ।
संस्थागत प्रक्रियाअनुसार, ‘अब केही दिनभित्र BLLRO बाट 131 परिवारको जमिनको आधिकारिक म्याप उपलब्ध गराइनेछ। त्यसपछि, प्रत्येक परिवारको प्लट सुनिश्चित गरी जमिनको कानुनी प्रक्रिया पूरा गरिनेछʼ भनी Joint BDO ले आदेश दिइन साथै 131 घर परिवारको जमिन यथाशीघ्र बार बेरेर घेर्ने आदेश दिएका छन्।
यसै क्रममा, अहिले सम्पूर्ण गाउँवासी नयाँ ठाउँमा आफ्नो सानो भए पनि घर-झोपडी निर्माण गर्न जुटेका छन्। बाढीले सबै थोक लुटे पनि, उनीहरू आफ्नो मेहनत र साहसको बलमा पुनः उठ्न सङ्घर्षरत छन्।

No comments:
Post a Comment