Wednesday, April 30, 2025

कथा : ‘कमान नोक्सानमा चल्दैछ ’

 डेशल राई

[दार्जिलिङको धोत्रे चियाबारीको तुङसुङ डिभिजनका बासिन्दा थिए डेशल राई। सन् 2015 बित्नुभएका डेशल राई पुबुङ र तुङसुङका स्कुलहरूमा शिक्षकता गर्न साथै लेखक पनि थिए। वहाँले लेख्नुभएको र सन् 2003मा सुनचरीमा प्रकाशित यो कथाको विषयवस्तु आजको स्थितिसँग ठ्याक्कै मिलेको देखेर हामीले यो कथा पुनर्मुद्रण गर्दैछौँ। — लाली गुराँस पत्रिका]


यो च्यानेडाँडामा आज कोही भेला नभए पनि, श्रोताहरू नभए पनि, म आज भाषण दिन लागेको छु। सबै वक्ताहरूले आफ्नो वक्तव्य पेश गर्नभन्दा पहिले सभापति महोदय भन्ने फेशन र देशान चलेकाले सोहीपरि त्यसकै देखासिकी सुरु गर्दैछु। यहाँ मेरो छेउमा केवल माइकको ओपरेटर मात्र हुनाले उनलाई नै सर्वप्रथम सम्बोधन गर्दैछु।

श्रद्धेय ओपरेटर भानिज!  भानिजै भए पनि शिष्टाचारवश श्रद्धेय भन्दैछु। आज धेरै दिनदेखिको मुटुमा उकुसमुकुस भएर रहेको किनेमा, सिन्की, गुन्द्रुक जस्तो तर चाखिला कुराहरू तपाइहरूको समक्षमा राख्दैछु। हुन त यहीँ नै आएर मेरो भाषण सुन्नैपर्छ भन्ने कुनै शास्त्रमा पनि छैन है। तपाईहरू घरघरमै बसेर लोकल पिउँदै भए पनि, बारीको डिलडिलै बसेर होत्ते सोड़क्याउँदै भए पनि, खिरकीतिरै झुण्डिएर तमन्ना, मधु बुकाउँदै भए पनि सुनिदिनु भए हुन्छ।

र, हामी कमाने भएकाले म आज कमानकै कुराहरू सुनाउन तम्सेको छु... र... सत्तेसत्ते भन्छु जो तीतो पनि छ। यहाँ थुप्रै युनियनहरू छन् अनि नेताहरू पनि थुप्रै छन्। तर बाह्र धार्नी अदुवा खायो आबा न चाबा भने जस्तो। फेरि अचम्भ के छ भने जम्मै नेताहरू त अचेल म्यानेजरको पकेटाभित्र पो। त्यसैले त मलाई कवि हुन मन लाग्यो। सुन्नुहोस् है—

 ‘बडा साहेब हाम्रो गुलिभर नेता / अरू जम्मै लिलीपुट्, 

नेता सुत्छ गोजीभित्र / मजदूर सबै थाङ्नामा सुत्।ʼ 

अलिकता कड़ा बोल्यो कि गोजीको ढकनी ढ्याप्प बन्द — सास न बास। त्यसैले होला अचेल म्यानेजरहरूको अफिसमा मजदूरहरूको समस्या छलफल गर्न पञ्चेत सदस्यहरू र सामाजिक संस्थाका पदाधिकारीहरू पो बस्न थालेका छन्। म्यानेजरले पहिले नयाँ आउँदा आफ्नो विदायी सहकर्मीसित के बात गर्दारहेछन् भने युनियन कुनकुन छन्? फ्याउरे नेता कुन हो? चाउरे नेता कुन हो? राउडिस् नेता कुन हो? महिला सङ्गठन छ कि छैन? छ भने नेतानी कस्ती छे? इत्यादि जम्मै नालीबेली सोध्छ अनि परिचय सभा डाक्छ। यो उनीहरूको कुटनैतिक ज्ञान हो। 

त्यसपछि हप्कीधप्की र कृत्रिम मित्रताको दुईवटा अदृश्य जाल फ्याँक्छ र नेतारूपी खस्रो असला माछाको शिकार खेल्छ। समयसमयमा चियाचमेनाको व्यवस्था मिलाउँछ, हेलमेल बढाउँछ तर मजदूरहरूको समस्या भने जहाँको तहीँ, कठोरभन्दा कठोर हुँदै जान्छ उनीहरूको समस्या। उता राउडिस नेताले सजिलो काम पाउँछ। यसरी नेताहरू म्यानेजरको प्रिय पात्र भएपछि प्रतिनिधिको ब्याज खोसिन्छ — फौजीको कोर्टमार्शल जस्तो। यति भएपछि मजदूरहरूको हक हितको कुरा कसले राख्ने टेबलमा? न्यायसङ्गत कुरा ठूलो आधिकारिक स्वरले बोल्ने त झन् कुरै भएन। यसरी कमानमा हिटलरहरू छ्यापछ्याप्ती छ। 

प्रत्येक वर्षको जुलाई अगस्ततिर म्यानेजरहरू एउटा गीत गाउँछन्। जो कोही पनि खूबै मर्मस्पर्शी हुन्छन् हृदय विदीर्ण सो गीत सुन्दा। त्यो गीत हो ‘कमान नोक्सानमा चल्दैछ, चिया बिक्रि हुन सकेको छैन। जसले गर्दा यस वर्षको बोनस आठ त्याँत्तीस मात्रै, त्यो पनि दुई  किस्तीमा।ʼ कस्तो हृदय भरङ्ग हुने गीत? यस्तो गीत कसैले रच्नु सक्छ? गुजरातमा भुइँचालो के गयो होला? यो गीतले मजदूरहरूको घरमा भीषण भुइँचालो ल्याउँछ। 

बाह्र सय रूपियाँ पर्ने बाटाको जुत्ता छोराले हेरिराखेको लाटाको दोकानबाट डेढ सय रूपियाँमा ल्याउनु पर्छ। खलिफाको दोकानमा किन्लै जस्तो गरेर ज्याला लुगा जम्मै दामकाम गरेर आएकी छोरीले अन्तमा भैयाको पोकामा घरमै छान्नु पर्छ— त्यो पनि हफ्ते रितीमा। मनमा सोचिराखेको सात किलो मासु दुई किलोमा झर्छ। दक्षिणाको लागि तीन सय रूपियाँको बजेट एक सय रूपियाँमा झार्नुपर्छ भने आमा बाबुको पुरानै लुगा छोराछोरीले दशैँको लागि भनेर धोएर अलगै राखिदिनुपर्छ। तर रिस उठ्दैन हामीलाई, हृदय आन्दोलित हुँदैन, बिद्रोह फुट्दैन, किनकि अलि पर हिउँद छ। बरू मजदूरहरू नेता र म्यानेजरप्रति सहानुभूति दर्शाउँछन्। 

सहानुभूति दर्शाउनमा संसारमा सबभन्दा धनी जात हामी। अरूलाई कष्ट पर्दा हाम्रो छिटो मन फाट्छ कोही त रोइ पनि हाल्छ। विचरा मालिकले नोक्सान भई कमान चलाउँदै हामीलाई पाल्दैछ भने बीस पर्सेन्ट बोनस मांग्नु हुँदैन हामीले। नेताहरू घरघर घुम्दै भट्याँछन्। जेसुकै भट्याए पनि मजदूरहरूको काम खालि देउसुरे भन्नु हो। हाम्रो चुक्चुक मालिकप्रति। हाम्रो जातै कस्तो उदार हृदयको। मधेसबाट आउने भैयाहरूलाई गाँस र बास दुवै दिने हाम्रो जात। पत्रुवाला पनि पाल्ने, सिरकवाला पनि पाल्ने, बाँइवाला पनि पाल्ने जात। गाँउमा चेलीबेटीहरूसित लसपस गरिसक्दा पनि मुठी नकसिने हामी निजङ्ग्रे जात। किनकि उनीहरू हाम्रा अतिथि। अतिथि भनेको भगवानै हो। तर मधेस पुगेपछि भने तिनै भैयाहरूले भ्याकुरा खेदाइ गरेर घर मुन्टिने हाम्रो जात। शहरभित्रको छँदाछँदैको आफ्नो दोकानहरू भैयाहरू, आजिलाहरू, महाजनहरू, मोसाइहरूलाई आनेकाने नगरी बेचिपठाएर आफू चैं सिक्किम, नेपाल र बेंगलोरतिर काम खोजिहिँड्ने हाम्रो जात। हामीमा एकता पनि छ, लाप्चे कथाको चेकता पनि छ। दु-ख छिटो बिर्सिन्छौँ हामी, सुख छिटो खोज्छौँ।

फरवरी मार्चतिर गाछमा पत्ती बुरूरूरू... पलाएर गाछले नयाँ परिधान लिँदा म्यानेजरको क्यासेट पनि बद्ली हुन्छ — ‘पोहोरको चियाले भाव राम्रो पायो, यसपाला पनि राम्रो, मसिनो अनि धेरै पत्ती निकाल्ने चेष्टा गर्नुपर्छ, कम्पनी एकदम खुशी छ। बाटो बनाउने भएको छ, पक्का घरहरू दिने भएको छ। बाटो, घरहरू हेर्नको लागि डाइरेक्टर साहेब आउने भएको छʼ इत्यादि। तर बोनसको कुरा चैं मरिगए पनि निकाल्दैन। मजदूरहरूको उत्साह बढ्छ। गमबुट नयाँ आउँछ घरमा, एप्रोन नयाँ। (घूम अब नेपालको कुनै सङ्ग्रहालयमा पठाउनु परेको छ)। छाता नयाँ चाहिन्छ–इण्डियन होइन—मेड इन चाईना, मेड इन जापान। कमानले दिइएको छाता भैयाहरूलाई चेफ्लाको भावमा बेच्नुपर्छ होइन भने बाहुन बाजेलाई दान | 

भैयाहरू नयाँ आउँछ–बाँइ,क्युटेक्स, टिका, म्याक्सी बोकेर। भौज्यू! भन्छ— किनिदिनुपर्छ। तल्लो घर माईलीले अस्तिको हफ्ता किनेछ म यो हप्ता किन्छु — कल्पनाजल्पना सुन्दर छ हाम्रो। नभन्दै शनिबार सबै मजदूर, स्टाफहरूलाई फ्याक्ट्रीको प्राङ्गणमा बोलाहट हुन्छ–डाइरेक्टर आउँछ अरे-आधा दिन छुट्टी। भैयाकोमा किनेको सृङ्गार प्रसाट्टानले चिटिक्क परेर रीता, सीताको त कुरै छोडौँ भौज्यू, बडीहरू समेत मेमपुतली भएर गोदाम पुग्छन्। टेबलमा पुरस्कारहरू सजाइएका छन्, डोकोको डोको मीठाइका प्याकेटहरू छन्, माईक बज्दैछ, चिया पाक्दैछ। नेताहरू डाइरेक्टरको छेउमै गुहु देखेर रमाएको झिङ्गा जस्तो भुनभुनिँदैछन्। नमस्ते गर्छन्—कसैको नमस्ते त ब्ल्याङ्क पनि जान्छ। म्यानेजरले सर्काई मर्काई नेताको परिचय गराउँछ। फूलको माला तयारी, फूलको गुच्छा तयारी। नोक्सानमा चल्ने कमानको डाइरेक्टरलाई चढाउने समृतिस्वरूप कोशेली हाम्रो जातीय हतियार खुकुरी तयारी। सबै हँसमुख, सबै प्रफुल्ल, किनकि चियागाछले पनि उसैउसै मनोहारी मुस्कान बाँड्दैछ नि त।

म्यानेजरको आग्रहमा मन्शीले गए वर्षको पत्तीको सिजनमा सबभन्दा धेरै टिप्ने श्रीमती काईली राईनी, सबभन्दा राम्रो टिप्ने कुमारी तामाङ्गनी, सीधा काममा आउने सङ्गीता, दीपिका, मीनु तथा कामदारी, चप्रासी डण्ठेहरूलाई म्यानेजरको बाहुलीबाट पुरस्कार प्रदान गरिन्छ। अफिसका नाममात्रका बाबुहरू पुरस्कृत हुन्छन्—हो त घडी, देवल घडीहरू र अरू के के हो हो। अरू जम्मैलाई मिठाई चिया। 

सबभन्दा असल चियापत्ती, राम्रो भावमा विदेशमा विक्री भएको कम्पनी साहेब एकदम खुशी भएको शुभ सन्देश मजदूरहरूले सुन्छन्— कति खुशीको कुरा! तर नोक्सानमा चलने कमानले फरवरी मार्चतिर पुरस्कार बाँड्नु, मीठाई बाँड्नु, चिया चमेनाको व्यवस्था गर्नुले कमान नोक्सानमा चल्दैछ भनेर कसरी विश्वास गर्नु? कमान बडो फाइदा-नाफामा चल्दैछ, मालिक धनीदेखि कुबेर हुँदैछ भन्ने प्रमाण अझै एक दुईवटा तपाईहरूलाई बताउँछु — 

यो कमान डाक्टर नभएको कमान, हस्पिटल नभएको कमान, भुत्याहा घर जस्तो डङङङती डिस्पेन्सरी मात्र साईनबोर्ड झुण्डिएको कमान, मजदूरहरू बिमार नै नहुने कमान। बिमार भइहाले पनि खोलाको दोख मात्र लाग्छ हामीलाई। थाल, ढ्याङ्ग्रो ठटाएर, चिच्याएर भए पनि माताजी, पिताजीहरूले जाती पारिछाड्‌छन्। होइन भने आखेको दोकान छँदैछ, मामाको दोकान छँदैछ- आमाले किनेर खुवाउँछ। साहेबलाई सञ्च, मेडिकल स्टाफलाई ढुक्क। आजकल जङ्गल छैन र धन्न जङ्गलको लाग्नु छोड्यो। सम्झँदा जङ्गल त मासिनै पर्ने रहेछ। सब्-स्टाफको तलबले सुपेरियर स्टाफको काम गर्नुपर्ने। मरदको रोजले सब स्टाफको काम गर्नुपर्ने। डण्ठेहरू मात्र भएको कमान, डण्ठे भनेको मूर्खे। पदवी पाए भइगयो—कसले भने जस्तो शिव शिव मण्डल गाउँ ठूलो, खानु त के छ र नाउँ ठूलो त्यस्तै छ व्यवस्था। कमान चलिरहेछ-उता भनिरहन्छ-कमान नोक्सानमा चल्दैछ। हिउँदमा तीनदिने काम हुन्छ-तल नाफा पुग्छ लगभग करोडको छेउमा। तलब बढ्छ म्यानेजरको, नयाँ जिप्सी आउँछ म्यानेजरलाई, होण्डा आउँछ एसिस्टेन्टहरूलाई नचढीकनै पेट्रोलको पैसा महीनैपिछे बील हुन्छ परैहरूको। मजदूरहरूको हप्ते राशिन चाहिँ छैन। 

नोक्सानमा चल्ने कमान यस्तै हुन्छ? पक्का घर बनिँदैन यहाँ, पिउने पानी त झन् माग्नै बिर्सेको छ। खरको घरमा बस्ने मजदूरहरूले खर-बाँस आफै खोज्नुपर्छ र घर बनाइसकेपछि आफ्नो लागत खर्चको बील आफिसमा बुझाउनुपर्छ। तर खर-बाँसको उब्जनी यता हुन्छ तर प्रतिमन खरको र प्रतिघाना बाँसको रेट तयारी हुन्छ कलकत्तामा—के उदेक। कलकत्तामा बनिएको रेटमा मजदुरहरूको खर बाँसको पैसा भुगतान हुन्छ—आँखा लाग्दैन र त्यो पनि पाँच धुरे र छ धुरेतिर धुरिएर सखाप। 

मजदूरको छोराछोरीले पढ्ने पाठशालामा केही सहयोग छैन-न त सरोकार नै छ मानौँ मजदूरहरूका नानीहरू मान्छे नै होइनन्। नत्र शिक्षक कम्ती भएको पाठशालामा नेताहरूले संयुक्त बैठक गरेर कमानकै व्यवस्थापनमा, कमानकै सुविधा दिएर पठाए ती मजदूरहरूकै नानीहरूको शिक्षाको विकास हुँदैनथ्यो र? कतिपय कमानतिर त्यस्तो व्यवस्था भए जस्तो लाग्छ त। नेताहरूकै आँखा फुटेपछि मजदूरहरूको लागि त पाठशाला केवल क्रेच घर जस्तै त हो—पाँच वर्ष मूनिका नानीहरूलाई दाज्यू-दिदीहरूको सहारामा छोडिराख्ने सुरक्षित स्थान। पाठशालाका शिशुहरूलाई महीनैपिछेको नाउँमा एक किलो चामल दिन्छ सरकारले तर छ सात महीनामा एकपल्ट–त्यो पनि एकै किलो। त्यसको लागि दुई या तीन स्कूलको लागि अनुरोध गर्दा पनि कमान नोक्सानमै चलिरहेको बताउँछ म्यानेजर तर नेताहरू चूप — चन्द्रमा दाहिनो भए कसको के लाग्छ? उनीहरू ल्याप-डग जो ठहरिए। 

जति गरीबको झुपडी चुहुन्छ उति म्यानेजरको तलब बढ्छ। पचासजना मजदुर आँसुमा डुब्दा ऊ सुपरिन्टेन्डेन्ट भइसक्छ। कमान कसरी नोक्सानमा चल्दैछ? सोचिरहेछु— अहँ चित्तै बुझ्दैन र आज मुख हुँदाहुँदै नाकले पानी पिउन कर लाग्यो। क्षमा पाऊँ। यति भनेर म तपाईहरूदेखि बिदा चाहन्छु यो नारा लाएर। मलाई कसैले साथ दिनु पर्दैन— 

‘बुर्बुर् पत्ती— छ दिन काम, छ दिन काम

बङबङ धूलो — तीन दिन काम, तीन दिन कामʼ

धन्यवाद।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...