Friday, April 26, 2013

अङ्क ३ ∙ मार्च-एप्रिल २०१३




सम्पादिका

संगीता खेवा


 सम्पर्क ठेगाना

धुनिराज छेत्री
तीनधरिया गोलाईपाखा
जिल्ला-दार्जीलिङ
पिनकोड-७३४२२३

इमेल

laaliguraas@gmail.com


फोन

08670846318
08509517490


फेसबुक

हाते रिक्सा अर्थात् कोलकाता

मनोज बोगटी




मलाई १० रुपियॉंको ठाउँमा ५० रुपियॉं दिऊँ लाग्यो। जीवनमा यस्तो कहिल्यै लागेको थिएन। म रिक्साको चक्कामाथि चढेको छु, कुनै बुढोमान्छेको खुट्टामाथि चढेको थिइनँ। भक्तिको मन बिसञ्चो थियो। मलाई थाहा छ उ पिरोलिरहेकी छन्। तर चॉंदनी चौक जानैपर्छ, र हत्तार छ।

ती बुढोको हाते रिक्सामाथि चढेर हामी पुग्यौं चॉंदनी चौक।

हामी उत्रिएपछि तिनको बुढो शरिरबाट पसिना पनि उत्रियो। लथपथ भयो तिनको शरिर। गाम्छाले निधार पुछेर भक्तिको हातबाट तीस रुपियॉं थापे अनि मुसुक्क हॉंसे।

बेसी पैसा पाएर हॉंसेका तिनी।

तर म हॉंसिन। न भक्ति नै हॉंसिन्। किन भने हामी दुवैले देखेका थियौं उसको कॉंध, जो गोरुको कॉंध हो भन्न वा ठान्न हामी पटक्क सक्दैनौं। उ मान्छे थियो। हामीजस्तै।
............

पहिलोपल्ट कोलकाता पुगेको थिएँ। कलकत्ता पुग्न पाइन। ढिलो भयो। म पुग्दा कलकत्ता कोलकाता भइसकेको थियो। सानी कॉंटकी महिला मुख्यमन्त्री छिन् पश्चिम बङ्गाल राज्यमा। त्यही राज्यको राजधानी। यो राजधानी ममता र व्यानर्जीहरूको मात्र। मलाई मेरो राजधानी जस्तो कहिल्यै पनि लागेन। 

जस्तो कि मुख्यमन्त्री हाम्रो मुख्यमन्त्री हो भन्ने कहिल्यै लागेन। भक्तिलाई पनि लागेन। किन हँ? 

झन्नै भक्तिकै हाइटकी मुख्यमन्त्रीको ठूलोठूलो नक्सा छ सडकका दुइकिनारमा। कुन सडक हो मलाई थाहा छैन। हिरोइन् नै थिइन् ममता व्यानर्जी कुनै दामी क्यामेराले बनिएकी। मदर टेरेजा होइनन् तर तिनको जस्तै सारी छ। सारी त छ तर बानी छ त टेरेजाको जस्तो? वाणी छ त टेरेजाको जस्तो? 

कुन्नी है मलाई त थाहा नै छैन। देख्दा त तिनी चप्पल लगाउँछिन्, मानौं तिनी चप्पल लगाउनेहरूका साथी हुन्। सुतीका सारी लगाउनेहरूकी दिदी हुन्। दौरा सुरुवाल अथवा साइरन बजाएर खाल्डा परेको सडकमा कुदिबस्ने खॉंट्टी गोर्खाहरूको आमा चॉंही कसरी हुन? 

कस्तो हॉंस उठ्छ भनेनी..!

राजधानीका मुख्यमन्त्री अचेल त दिनभरि लाइभमा हुन्छिन्, तिनको दलको रङ टल्किनेे च्यानलमा। दिनभर पेन्टिङ गर्छिन् अनि हकार्छिन्-‘कस्तो अभद्र पत्रकारहरू, फूल कुल्चिँदै हिँड्छ्न्। थप्पड हान्छु र पो..।’ त्यसपछि शुरु हुन्छ बङ्गाली विवाद। सम्पूर्ण विवादभित्र कतै हुँदैन हाते रिक्सा खेप्ने त्यो बाजेको पिल्सिएको कॉंध। उसले पसिना पुछ्ने गम्छा। अलिकति रुपियॉं पाउँदा हास्ने मुस्कान। र खालिखुट्टे कोलकोते सडकको अलकत्रे छालामा उसले कुल्चिने खाली खुट्टा।

तरै पनि तपाईँलाई थाहा छ? मुख्यमन्त्रीले गरीब नारीकी पेन्टिङ बनाउँछिन्।

पेन्टिङभित्रकी नारी हाते रिक्सा चलाउने बाजेको स्वास्नी हुन् र?
................

‘कति कमाउँनुहुन्छ?’
.......
‘कहॉं बस्नुहुन्छ?’
.......
तिनी बोल्दैनन्। अथवा यी प्रश्नहरूको उत्तर भन्दा तिनी पैसा पाउँदैनन्। कति निरर्थक प्रश्न गर्दैरहेछौं हामी कि यसको उत्तर दिने लोभ छैन हाते रिक्सा तान्ने ती बुढाहरूलाई।

‘रिक्सा तपाईँको हो?’

‘होइन’

‘कसको?

‘मालिकको?

हेर्नस् न जब बोले आवाज मन खाने थियो।

जाबो हातैले तान्ने रिक्सा पनि पो उसको होइन रहेछ।

आखिर कोलकाता कसको हो?
...........

भर्खर सडकको पेटीमा ओछ्यान उठ्दै थियो। किनारमा बोरा पट्याउँदै थिए उनीहरू। हामी ‘कहानी’ फिल्मको सुटिङ भएकै ठाउँ छेउछाउको सडक हुँदै हिँडिरहेका थियौं।

तेस्रोेपल्ट थिएँ म कोलकाता। कवि राजा पुनियानीको पछिपछि म। दोस्रोपल्ट पनि म राजा पुनियानीसित नै थिएँ। तेस्रोपल्टमा तिनले भने- ‘सुन्यौ मनोज, उनीहरूको घर भनेको नै यही पेटी हो।’

मैले हेरें छाना भनेको अलिकति कुइरो खेलिरहेको त्यही आकाश थियो। पलङ थियो ज्वेलरी दोकानको बन्द सटरअघिको खाली पेटी। उनीहरू आङ् तान्दै थिए। कोलकाताले आङ तानेको पहिलोपल्ट देखेँ। उनीहरूले आङ तान्दै गर्दा काला कागहरूले फ्यॉंकिएका समोसाहरू ठुँगिसकेका थिए। कागजस्तै चङ्खोहरूले उनीहरू उठ्न अघि के के ठुँगिसकेका थिए होलान्?

मलाई लाग्यो पेटीमा सुत्नेहरूको निधार नै ठुँगिसकेका थिए होलान्।

अब उनीहरूले सफा गर्नेछन् टीनको चुल्हा र पकाउनेछन् हाम्रो निम्ति चिया। हामी पिउनेछौं माटोको गिलासमा तातोतातो चिया। र चिया पिउँदै हेर्नेछौं कोलकाता अनि कोलकाता। दुइवटा कोलकाता। सॉंच्ची नै दुइवटा कोलकाता। जुन एउटा कोलकोताले अहिले हामीलाई माटोको गिलासमा चिया पिलाउँदै थियो अर्को कोलकाता मस्त सुतिरहेको थियो। वाह! क्या कोलकाता!

नेपालका पत्रकार साथी बसन्त बस्नेतलाई जस्तै मलाई पनि कहानीको याद आयो। कहानी, विद्या वालनले संघर्ष गर्नु परेको दुइवटा कोलकाता, अर्थात फिल्म। कहानीले कोलकाताको दुइवटा अनुहारबारे बोलेको छ। कहानीले देखेजस्तो दुइवटा कोलकाता राजा पुनियानी, म, बसन्त बस्नेत, निशान्तले एकैसाथ देखिरहेका रहेछौं। किन हँ? 

सॉंच्ची नै बसन्त बस्नेतले भइँमुनि कुदिरहेको कोलकाता देख्नु पर्ने तर देखेछन् ठेला तानिरहेको कोलकाता। अथवा हाते रिक्सा खेपिरहेको कोलकाता। अथवा खास कोलकाता।
..................

राजा पुनियानीले रिक्सामाथि कविता देखे। रिक्सा वा रिक्सा चलाउनेहरू सबैको निम्ति प्याकुप्याकु आवाज मात्र। जो बजाउनै पर्छ। अथवा उनीहरू बजाउनको निम्ति मात्र हुन्। तर कोलकातामा त प्याकुप्याकु बिनाको रिक्सा खेप्ने मान्छेे हुँदारहेछन्। जसको चक्का भनेको आफ्नै खुट्टा हुँदोरहेछ। इञ्जिन भनेको आफ्नै जीउ। जसको खुट्टा खाली छ अनि कॉंधमा मैलो गाम्छा। पेटमा के छ कसले देख्छ?

गाम्चा भिर्छ र निस्कन्छ उ। जसले सधैँ पुछ्छ वास्तविक कोलकाताको अनुहार अथवा निधार। कवि हिँड्यो भने उप्किँदै झर्दोरहेछ कोलकाताको अनुहारमा लिपेको माटो। र छर्लङ्ग हुँदोरहेछ एउटा पौराणिक कोलकाता, जो अङ्ग्रेजकालमा साम्राज्यवादी विचारको लट्ठी टेकेर उभिएको थियो। उभिएको थियो कोलकाता, वरिपरिका कोलकाताहरूको छिलेको छालामाथि।

अझ उस्तै रहेछ कोलकाता।
..............

हन्टर खाएर कवि निशान्तले पनि कोलकातालाई त्यसरी नै चिनेछन् जसरी मैले चिनिरहेको थिएँ। निशान्त हिन्दी र बङ्लामा कविता लेखेर चर्चित छन्। तर तिनले कोलकातालाई चिन्न 32 वर्ष लगाएछन्। जब तिनले कोलकाता चिने त्यउता सबैलाई भन्दै आएका छन्— ‘कोलकाता चिन्न हाते रिक्सा नै काफ्फी रहेछ।’

तिनले लेखेका छन्—

1. कोलकाता
अर्थात...
...हाते रिक्सा।

2. मेरो घरमा एउटा पोष्टर छ
पोष्टरमा मान्छेको कॉंधमा लादिएको छ मान्छे नै
त्यसैको मुन्तिर
त्यही मान्छेलाई कॉंडादार खम्बामा बॉंधेर यमराज
कोर्रा लगाइरहेको छ
त्यही डर देखाउँदै बाबुले 
कहिल्यै बसाएनन् मलाई हाते रिक्सामा।

के सॉंचो बोल्थे त बाबा?
अथवा जो म सोंचिरहेको छु
त्यही सोंच्थे त बाबा?

जब देख्छु हाते रिक्सा
म मेरो छोरालाई किन सम्झाइबस्छु
घरको कुनामा टॉंगिएको यमराजको त्यही पुरानो पोष्टर?

3. कोलकाता
अर्थात
हाते रिक्सा।
.........

के ममता व्यानर्जी हाते रिक्सामा चढेका छन् अनि देखेका छन् तिनको शरिरबाट कसरी कोलकाता गन्हाउँछ? जब तिनले मेरो घरको आँगनमा आएर भनिन्-‘दार्जीलिङलाई म स्वीट्जरल्याण्ड बनाउँछु।’ म हाते रिक्सा चलाउने ती नै बुढोको कॉंध सम्झिन्छु। र सम्झिन्छु मुख्यमन्त्रीले लगाउने चप्पल ती नै हाते रिक्सा चलाउले बुढोहरूको छाला टेक्ने बुट भन्दा तीखा छन्।

दुधियाको इतिहास

बादल विश्व



ग्रामीण बुढा-पाकाद्वारा पाइएको जानकारी अनुसार, वर्तमान दुधियाको उत्तर पश्चिमबाट एउटा सानो खोला बालासन नदीमा मिसिन आइपुग्छ। जसलाई दुधे खोला भनी पुकारिन्थ्यो र अहिले पनि यो यसै नामले प्रचलित छ। यही दुधे खोलाको नामबाट वर्तमान दुधियाको नाम ‘दुधिया’ भनी नामकरण गरिएको रहेछ। उक्त खोलामा कमेरो माटो बगाएर ल्याउँदा खोला नै दूध खै सेतो रङ्गको देखिने भएर नै उक्त खोलाको नाम दुधिया रहेको थियो भनेर गाउँले बुडा-पाकाहरू जनाउदछन्। 

सन् १९५० भन्दा पहिले यस क्षेत्रमा (वर्तमान दुधियामा) मानिसहरू बसो-बासो गर्दै आएको कुनै प्रकारको प्रमाण नभएको र चारैतिर जङ्गल अनि घारी मात्र भएको उक्त क्षेत्रका केही वयोवृद्ध व्यक्तिहरूको भनाइ छ। यहाँ ६०-को दशक देखि मात्र मानिसहरूको बिस्तारै बसो बासो गर्न थालेको कुरा त्यहाँका स्थानीय बुढा-पाखाहरुले बताउँछन्। जसको लिखित होइन केवल प्रमाण मात्र प्राप्त छ।

यस ठाउमा मानिसहरू पंखाबारी, सोनादा, रंगबुल, रम्फू र नेपालको ओखल ढुँगा अनि अन्य ठाउँबाट पनि कामको खोजीमा आएका थिए। कयिपय मानिसहरूलाई रामवरण थापा भन्ने एउटा व्यक्तिले ल्याएका थिए। कतिपय आफैँ पनि आएर उसको पट्टाभएको  जमिनमा बसो-बासो गर्न थालेको र उसकै जमिनमा कुत अनि अधियाँमा*१ खेती बारी गर्न थालेको बुढा-पाकाद्वारा जानकारी पाएको छ। रामवरण थापा एउटा जमिनदार जस्ता भै सकेको थिए त्यसैकारणले गर्दा उसको जमिनमा जति पनि बसेको छन्, त्यसलाई जमिन्दार-भित्ता भनिन थालिए। यहाँको डाक घरको वर्तमान नाम जमिन्दार भित्ता नै भनेर जानिन्छ। 

पहिले आउनेहरु जमिन्दार रामवरण थापाको जमिनमा बसिसकेका थिए। तर पछि आउनेहरु यता उता भट्की रहेका थिए। तिनीहरू आफ्नो परिवारसँग आएका थिए। आफ्नो परिवारको निम्ति स-सानो झोपडी बनाएर मरदहरु कामको खोजीमा हिड्थे भन्ने तथ्य त्यहाँका केही ज्यूँदो इतिहासहरूले बताएका छन्।

तिनीहरू कामको खोजीमा सुकुना, पंखाबारी, पानी-घट्ट जस्ता ठाउँमा गएका र बक्खु लगाएर गोजीमा भातको डल्ला र हातमा चिया च्यापेर हिडेको तर पनि काम नपाएको जस्तो घटना अनि आर्थिक जीवनबारे त्यहाँका बुडा-पाकाहरूले जानकारी गराउँछन्। त्यही दुःख पिडा निरन्तर रूपले चलीरहदा, सही नसक्नु भए पछि, पीडित व्यक्तिहरूको झुण्ड बनाई केही व्यक्तिहरूले मिलेर पंखाबारी चिया बगानको जमिनमा दखल गरी बस्ने निर्णय लिएका थिए। त्यसरी नै लग भग २० देखि ३० परिवार जमिन दखल गरेर बस्दा पंखाबारी चिया बगानका मालिकले पुलिस चौकीमा केश लगाइदिए जसपछी  उनीहरूलाई पक्डेर कानुनी कार्वाही गरियो।

जानकारी अनुसार सन् १९६८ साले भल-पहिरोमा दुधिया बलासनमा ठुलो भेल आउँदा सबै घर, जमिन खेती बारी सबै बगाएर नास पारेको थियो ।फेरि पछि त्यही जमिन मानिसहरूले दखल गरी बसो बासो गरेको अनि कालान्तरमा जमिनको पट्टा आ-आफ्नै नाममा गरेको बूढ़ा-पाका जानकारी गराउँछन्। भने कतिका जमिन भने ६८ सालको प्राकृतिक विपदा पछि अहिले सम्म पट्टा नपाएको जानकारी पाइएको छ । त्यस समयमा राजनैतिक सोच अनि सङ्घर्षमा धेरै सक्रिय रहेका केही जीवित इतिहास सरह व्यक्तिहरूको यही भनाइ छ । 

यहाँ बिस्तारै स्कुल, स्वास्थ्य केन्द्र, पञ्चायत, अइ सि डी एस, एस.एस.के, जस्ता सरकारी दफ्तरहरु खोलिन थालिए। अनि बिस्तारै आर्थिक सुधार पनि हुँदै गएको कुरा गाउँलेहरू बताउँछन्। बिस्तारै पसल- बजार, बाटो- घाटो, गाडी-घोडा बढेर जानुसहीत स्थानीय मान्छेहरूको पनि जनसङ्ख्या बढ्दै गएको थाहा पाइएको छ । यहाँ हालमा ३ वटा आई.सी.डी.एस, २ वटा एस.एस.के, स्थापित भइसकेको छ। 

(*१: अधियाँ: जमिनमा खेती गरिसकेपछी फसल उठाउँदा जमिन मालिक अनि कृषक माझ फसल आधा-आधा हिस्सामा बाडिने चलन।) 

चिया बगानको दिन-चर्या-सन्दर्भ : मेरियनबारी चिया बगान

गुञ्जन राणा


चिया बगान, सुन्दामा सुन्दर सुन्दर हरियो चियाका बुट्टा आँखामा आउछ। दार्जिलिंग जाने बाटोका ठुल ठुला होरडिंगहरूमा लह-लह चियाको बुट्टा अनि पत्ति टिप्दैगरेका केही सु-सजित महिलाहरूले त झन् चिया बगानको अर्कै नक्सा हाम्रो दिमागमा तयार गरिदिएको छ। बाटो यता-उता को हरियो चियाको गाछ हेर्दै मग्न हुनेहरू मध्ये कसले सोच्लान् यही विश्व स्तरीय चिया उधोगको अभिन्न अङ्ग ती श्रमिकहरू श्रमिक नियमको प्राथमिक अधिकारहरू देखि पनि बन्चित छन्। विज्ञान र प्रविधिकिले चरम विकाश गरी सक्यो, बजार सहर अनि सहर महानगरमा परिणत भै सक्यो, यतिकोमा कल्पना गर्न पनि सम्भव हुन्न कि खटिखाने श्रमिकहरू हक एवं अधिकारहिन भै बाचिरहेछन्। यति सम्म कि तिनीहरूलाई मै दिवसको छुट्टी दिईन्छ,तर भोलि भने तिनीहरूलाई फेरी ९ घण्टा त्यही हरियो गाजमा जोताइन्छ, खै विश्वका श्रमिकहरूले आफ्नो ज्यान दिई जितेका ती अधिकारहरू? आज बाँची भोलि फेरी त्यही बगानमा काम गर्न जान ती श्रमिकहरूकलाई कति खान अनि कपडाको जरुरत हुन्छ तिनीहरूलाई केवल त्यति दिई जिउदो राखिन्छ। शिक्षा नपाए, औ गाउँ छोडेर पलायन हुन् नपाए, पुस्ता-पुस्ता त्यही बगानमा होमिन्छन्। न त त्यहाँ समय-सामयिक खबर पुग्छ, न त विश्वको सामान्य ज्ञान नै। श्रमिकहरूको कानमा त गुन्जन्छ केवल स्टाफ डाक्ने साइरनको ती-ती, घन्टाको टिंग-टिंग अनि काम्दारिको किचिंग किचिंग। ‘कमाने’ उपनाम पाएका यी श्रमिकहरूको जीवन साँचै अलग हुन्छ। बिहान देखि साझ सम्म सिमाबिहीन खटाई, अनि बेलुकी रक्सीमा चुर्लुम्भ डुबेर सुताई। 

मेरियन बारी चिया बगानमा पनि बगानको सबै विशेषता पाइन्छ। यहाँ पनि श्रमिकहरू उतिकै शोषित छन्। १५ दिनमा २ के.जी गहुँ अनि चामल पाइन्छ, अनि बिगाह(अस्थायी)हरूलाई घर दिइन्दैन। ३८० स्थायी अनि ५०० अस्थायी श्रमिक भएको यस बगानमा बगानको भूभागको हिसाबले हो भने अझ ४०० स्थायी श्रमिक थप्न पर्ने ४२ वर्षीय बगानको स्थायी श्रमिक मिना छेत्रीले बताए। यहाँ श्रमिकहरूलाई धेरै कम जमिनमा अटाएको कारणले खेती गर्ने जमिन पनि छैन, औ बजारको महँगो साग सब्जी किनेर खान बाहेक श्रमिकहरूकोमा अरू केही विकल्प छैन।



बितेको दशकमा ६६ जनालाई स्थायी बनाए पश्चात् यहाँ एक जनाको पनि स्थायिकरण भएको छैन। परिवारमा स्थायी श्रमिक भए मात्र परिवारको अर्को सदस्य स्थायी हुन्छ। अर्कोतिर बगानमा काम गरेको वर्षौ बित्दा पनि बिगाहवल(अस्थायी श्रमिक)-हरू स्थायी हुदैनन। घरमा यदि कोही बगानमा काम गर्ने भएन भने घर खाली गर्नु पर्दछ। श्रमिकहरू कसैकोमा घर-जमिनको पर्जा पट्टा छैन।

श्रमिकहरू स्थायी अनि अस्थायी मात्र नभएर ३ नम्बर, ४ नम्बर, ५ नम्बर श्रमिक सम्म विभाजित भएका छन्। स्थायी श्रमिकले सहुलियतहरू नियमित रूपमा पाउछन् भने अस्थायी अथवा ३ नम्बर श्रमिकहरूले कम सहुलियतहरू पाउछन् औ त्यो पनि बेसी अन्तरालमा। ४ अनि ५ नम्बर श्रमिकहरूले त झन् केही पाउदैनन्। स्थायी श्रमिकहरूको घरको मर्मति बगानबाट हुन्छ भने अस्थायी श्रमिकहरूको घरको मर्मति बगानबाट हुदैन।

बगानमा चिकित्सालय छ, तर धेरै श्रमिकहरूसँग कुरा गर्दा त्यहाँबाट दवाईहरू केही नपाएको असन्तुष्टि सुन्न पाईयो। सरकारी अस्पताल रेफेर गरिएको खण्डमा खर्च भएको रकमको ५० प्रतिशत हिस्सा बगानले तिर्ने अनि मातृत्व हक छुट्टी ३ महिना पाउछ भन्ने कुरा सुनिए पनि त्यही बगानको एक स्थायी श्रमिक कौशिला सँग कुरा गर्दा उनले मातृत्व छुट्टी केवल ४५ दिन अनि ५० प्रतिशत रकम पनि नपाएको थाहा लाग्यो।

पाठशालाको नाममा त्यही छेवैमा प्राथमिक पाठशाला छ, पानीको नाममा बगानले खनईदिएको तिरतिरे धारा, जहाँ दिनमा दुईपल्ट पानी आउँछ। महिला श्रमिकहरूले त झन् भारी माथि सुपारी पनि बोक्नु पर्छ, पुरुष जतिकै बगानमा खटेर पनि घरको सबै काम गर्नु पर्छ। महिलाहरू बिहान ४ बजे उठेर घरको सबै काम काज सिध्याएर बगान आफ्नो श्रम बेच्न जान पर्छ। शिशुहरूको लागि क्रेच छ, तर घरमा भने नानी आफैले हेर्न पर्छ। धेरै महिलाहरूले बताए अनुसार घरको काममा पतिहरूले सघाउदैनन्। बगानको मालिकलाई नारीहरूको श्रम चाही चाहिन्छ तर नारीहरूले आफ्नो घरमा दिने श्रममा कटोतिको विषयमा भने केही कदम लिएको छैन। ३० वर्षीय दिप्ती बढाइ, जो ५ नम्बर श्रमिक हुन्, यस बगानमा १२ साल काम गर्दा पनि, अहिले सम्म उनको घर छैन, बसो बास गर्ने ठेगाना नहुदा उनी आफन्तको घरमा बस्छन। ५ नम्बर श्रमिक भएकोले उनले न त वर्षै भरि काम पाउछन् न त राशिनहरू नै। निकटमा जङ्गल भएकोले हात्तीले घर भत्काईदिनु त सामान्य कुरा हो, यसो भएमा बगानबाट त केही पाईन्दैन नै, जङ्गल विभागबाट पनि दफ्तर धाउदा-धाउदा थोरै सहुलियत पाइन्छ।

यस्तो छ श्रमिकहरूलको अवस्था, अनि मालिकले भने श्रमिकहरूले अन्दाज पनि लाउन नसक्ने नाफा गरिरहेकाछन्। ट्रेड युनियनले पनि लिन पर्ने दायित्व लिएको छैन, बरु ट्रेड युनियनहरू नै हुन् जसले बितेको सालमा कामको अवधि बढाएर ९ घण्टा बनाउने चुक्तिमा हस्ताक्षर गरे। यो सब कुरा श्रमिकहरूलाई भने थाहा छैन। यतिको परिस्तिथिमा पनि एक महिला श्रमिक मिना छेत्रीले बितेको दशकमा श्रमिकहरूले गरेका हड्तालको वर्णन गर्दै अझ आफ्नो अधिकारको निम्ति भविष्यमा पनि सङ्घर्ष गर्नु पर्ने बताए। यसरी उनले निभ्न लागेको धिब्रीमा तेल हाल्दै भविष्यमा श्रमिकहरूको लडाइँलाई अझ दह्रिलो बनाउने चित्र कोरिदिए।




इन्कलाबको तलवार विचारहरूको सानले धारीलो हुन्छ

भगत सिंह (सन् १९३०) 


सन् १९३०को असेम्ब्ली बम काण्डमा उक्त अपिल शहीद भगतसिंहद्वारा हाइ कोर्टमा गरिएको थियो। 



माई लर्ड, हामी न वकिल हौ, न त अङ्ग्रेजी विशेषज्ञ, न त हाम्रोमा डिग्रीहरू नै छ। यसैले हामीबाट सुन्दर भाषणको आशा नराख्नु होला। हाम्रो बिन्ती छ कि यो हाम्रो बयानको भाषा सम्बन्धी त्रुटीहरुलाई ध्यान नदिएर, यसको वास्तविक अर्थलाई बुझ्ने प्रयत्न गरियोस्। रहल सबै मुद्दाहरू मेरो वकिललाई सुम्पेर म स्वयम् एउटा मुद्दामा आफ्नो विचार राख्नेछु। यो मुद्दा यस मुकदमामा धेरै महत्वपूर्ण छ। यो मुद्दा हो, हाम्रो नियत के थियो र हामी कतिसम्म अपराधी हौ।

ध्यान दिन योग्य कुरा के हो भने, हामीले असेम्ब्लीमा फ्याँकेको दुईवटा बमहरुले कुनै व्यक्तिको शाररिक वा आर्थिक हानि भएन। यस दृष्टिकोणबाट हेर्दा हामीलाई जुन सजाई दिईयो त्यो कठोर मात्रा नभएर, बदलाको भावनाले भरिएको थियो। यदि यसलाई अर्को दृष्टिकोणबाट हेऱ्यौँ भने जबसम्म अभियुक्तको मनोभावना बुझिँदैन, तबसम्म उसको असली उदेश्यलाई पनि जान्न सकिँदैन। यदि उदेश्य लाई थाहै पाउन सकेनौं भने कसैले पनि न्याय पाउन सक्दैनन, कारण उदेश्यलाई प्रमुखता दिएनौ भने त संसारका महान् सेनापतिहरू पनि हत्यारा बन्न पुग्छन। सरकारी कर वसुल गर्ने अधिकारीहरू चोर, जालसाज देखिने छन् र न्यायाधिशहरू माथि मृत्युको अभियोग लाग्ने छ। यसरी यो सामाजिक व्यवस्था र सभ्यता खुन-खराबी, र जालसाजी बन्नेछन्। यदि उदेश्यलाई उपेक्षा गरियो भने त कुनै हुकुमतलाई समाजका व्यक्तिहरूको न्याय गर्ने के को अधिकार ? यदि उदेश्यलाई उपेक्षा गरिने हो भने त सबै धर्म प्रचारक असत्यका प्रचारक बन्नेछन् र हरेक पेशावरमाथि सोझो-अन्जान मानिसहरूलाई भ्रममा राखेको अभियोग लाग्नेछ। यदि उदेश्य लाई भुल्यौ भने त इसा मसिह गडबढी फैलाउने, शान्ति भङ्ग गर्ने अनि विद्रोह को प्रचार गर्ने कानुन नजरमा खतरनाक व्यक्तित्व मानिनेछन्। यदि यस्तो हुन्छ भने मान्नु नै पर्छ कि इनसानियत को कुर्बानी, सहिदहरुको प्रयेत्न सबै बेकार हुने छन् र हामी आज पनि त्यही उभिने छौ, जहाँ आज भन्दा बीस शताब्दी पहिला थियों। कानुनको दृष्टिमा उदेश्यको प्रश्नले धेरै महत्व राख्दछ।

 ‘‘माई लोर्ड’’ यस स्थितिमा मलाई यो भन्ने आज्ञा दीइयोस कि, जुन हुकुमत यस्तो नराम्रो कामहरुमा आफ्नू आश्रय खोज्छ, जुन हुकुमतले व्यक्तिहरूको प्राकृतिक अधिकार हनन गर्दछ त्यसलाई जीवित बस्ने कुनै अधिकार छैन। यदि कानुनले उदेश्य मान्दैन भने न्याय हुन सक्दैन न त स्थायी शान्ति नै स्थापित हुनसक्छ। आटामा बीस मिसाउनु अपराध होइन यदि उसको उदेश्य मुसा मार्नु हो भने। तर यदि यो मिलावती आटाले मानिसलाई मरिन्छ भने त्यो मृत्यु अपराध बन्दछ। त्यसर्थ कानुन जो व्यक्तिमा आधारित छैन अनि न्यायको सिद्धान्त को विरुद्ध छ त्यसलाई समाप्त गर्नु पर्छ। यस्तै न्याय विरोधी कानुनहरूको कारणले गर्दा ठुला ठुला श्रेष्ठ बौद्धिक मानिसहरूले विद्रोहको बाटो समाएकाछन्।

हामी माथिको कानुनी कार्वाहीको तथ्य एकदम साधा छ। ८ अप्रेल १९२९ को दिन हामीले सेन्ट्रल अस्सेम्लीमा दुई वटा बम फ्याक्यौँ। यस विस्फोटले धेरै कम व्यक्ति लाई मामुली चोट मात्रा लाग्यो, चेम्बरमा हंगामा भयो सैकडौ दर्शक अनि सदस्यहरू बाहिर निस्के। केही छन् पछि शान्ति भयो। म र मेरो साथी बि. के. दत्त चुपचाप दर्शक गेलेरीमा बसी रहयौ र हामीले आफैँ आत्मसमर्पण गऱ्यौँ। अभियोग लगाईयो अनि हत्याको प्रयासको आरोपमा हामीलाई सजाई सुनाईयो। तर विस्फोटमा केवल ४-५ जना लाई मामुली चोट परेको थियों र एउटा बेन्चलाई मामुली नोक्सान पुगेको थियो। जसले यो अपराध गरे उनीहरूले केही हस्तक्षेप बिना गिरफ्तारी दिए स्वमं जजले स्वीकार गरे कि यदि हामी भाग्नु चाहेको भए सफल हुन्थ्यौँ तर हामी यो चाहन्थ्यौँ कि हाम्रो उदेश्यलाई गलत नसम्झीयोस। हाम्रो बयान बाट कति ‘पेराग्राफ’ मेटाईयो, यो वास्तविकताको दृष्टिबाट हानिकारक हो।

हाम्रो वक्तव्यको अध्यनबाट स्पष्ट हुन्छ कि हाम्रो दृष्टिकोण अनुसार हाम्रो देश एउटा नाजुक समयबाट गुज्रिनु परिरहेको छ। यस्तो अवस्था मा एउटा ठुलो आवाजमै चेतावनी दिने आवश्यकता थियो र हामीले हाम्रो विचार अनुसार चेतावनी दियौँ। हामी गलत पनि हुन सक्छौ, हाम्रो सोचाई र जज महोदयको सोचाईमा भिन्नता हुन् सक्छ तर यसको अर्थ हामीलाई हाम्रो विचार प्रकट गर्न अनुमति नदिनु र हामी सँग नराम्रो आरोपहरु लगाउनु पाईँदैन।

‘‘इंकलाब जिन्दाबाद र साम्राज्यवाद मुर्दाबाद’’- को सम्बन्धमा हामीले जे व्याख्या हाम्रो बयानमा दियौँ, त्यसलाई सम्पूर्ण रूपमा मेटाईएको छ, जबकि यो हाम्रो उदेश्यको एउटा महत्वपुर्ण भाग हो। ‘‘इंकलाब जिन्दाबाद’’ मा हाम्रो त्यो उदेश्य थिएन, जो सादरणत् गलत अर्थमा बुझिने गरिएकोछ। पिस्तोल र बमले इंकलाब ल्याउदैन, अपितु इन्कलाब त विचारहरूको सानमा धारिलो हुन्छ यसै तथ्यलाई हामी प्रकाशमा ल्याउन चाहन्थ्यौँ। हाम्रो इंकलाब को अर्थ पुँजीवादी युद्धहरूद्वारा सिर्जित समस्याको अन्त गर्नु हो। मुख्य उदेश्य र यसलाई प्राप्त गर्ने प्रकिया नसम्झी निर्णय दिनु उचित होइन। हामीसँग गलत कुरा हरू जोडनु अन्याय हो। यसको चेतावनी दिनु आवश्यक थियो। मानिसहरू दिन –दिनै व्याकुल भई रहेका थिए। यदि यसको समयमैं उचित उपचार गरिएन भने, यो रोगले खतरनाक रूप लिनेछ। कुनै मानवीय शक्तिले यसको रोकथाम गर्न सक्ने छैन। हामीले यो तुफानको दिशा बदलाउन यो कारबाही गरेका हौँ। मलाई विश्वास छ यदि सत्ताधारी शक्तिहरुले समयमा नै कारबाही गरेका भए फ्रान्स र रुसमा खूनी क्रान्तिहरू जन्मने थिएनन्। सत्ताधारी व्यक्ति परिस्थितिहरुको प्रवाहमा बद्लन सक्छन्। हामी पहिला चेतावनी दिन चाहन्थ्यौं। यदि हामी केही व्यक्तिहरूको हत्या गर्न चाहेको भए, हामी हाम्रो मूल उद्देश्यमा विफल हुन्थ्यौँ। माई लोर्ड, यसै नियत र उद्देश्यलाई लिएर हामीले यो करवाही गऱ्यौँ। अझै एउटा कुरा स्पष्ट पार्नु आवश्यक छ। यदि हामीलाई बमहरुको ताकत सम्बन्धी ज्ञान नभएको भए, हामी पण्डित मोतीलाल नेहरु, श्री केलकर, श्री जयकर, अनि श्री जिन्ना जस्तो सम्मानीय राष्ट्रिय व्यक्तिहरूको उपस्तिथीमा किन बम फ्याक्ने थियौँ? हामी नेताहरूको जीवनलाई कसरी खतरामा पार्न सक्छौँ? हामी पागल त होइनौँ? यदि पागल भएको भए, हामीलाई जेलमा नथुनेर, पागलथानामा भर्ना गरिने थियो। बम सम्बन्धी हामी सँग निश्चित जानकारी थियो। त्यसैले हामीले यो साहस गऱ्यौँ। 

मानिसहरू बसेको बेन्चमा बम फ्याक्न धेरै सजिलो थियो खाली बेन्चमा फ्याक्नु भन्दा। यदि बम फ्याक्नेहरु त्यस समय डराएका भए, आत्तिएको भए बम खाली जगामा नखसेर मानिसहरू बिच खस्न पनि सक्नेथ्यो। म त भन्छु खाली जगाको चुनाव गर्नु हामीले जुन हिम्मत देखायौं त्यसको लागि हामीलाई इनाम दिनपर्ने हो। यस्तो हालतमा माई लोर्ड मलाई लाग्छ हामीलाई सोही तरिकाले बुझ्ने प्रयास गरिएन। हामी हाम्रो सजाय कम गराउन आएका होइनौ, तर आफ्नो स्थिति स्पष्ट गर्न आएका हौँ। हामी चाहन्छौँ, हामी सँग अनुचित व्यावहार नगरियोस्, न् त हाम्रो सम्बन्धमा अनुचित राय दिईयोस। सजायको प्रश्न त हाम्रो निम्ति गौण कुरा मात्र हो।

अनुवाद : पारस दाहाल



विज्ञान अग्रगतिको बाटो

प्रकाश विश्व 


विज्ञान र त्यसम्बन्धी चेतना विकासको एउटा आफ्नै पद्धति छ। परम्परागत धारणालाई परीक्षण, निरीक्षण गरेर त्यहाँदेखि निष्कर्ष निकालेर, त्यो निष्कर्षलाई फेरी प्रयोग गर्दै सत्यको खोजमा विज्ञानको यो निरन्तर यात्रा चलिरहेको छ। विज्ञानको बाटोमा मानवसमाजको यति लामो यात्रा पश्चात् पनि, अनि भगवान् नै वस्तुजगत र प्राणीजगतको सृष्टिकर्ता हो— भन्ने विचारको विरुद्ध विज्ञानले युगौंदेखि प्रश्न उठाएता पनि यस्ता विचारहरू ध्वस्त भएका छैनन्। यसको विपरीत, समाजमा ज्वलन्त रूपमा यस्तो अवैज्ञानिक सोचविचार र कुसंस्कारहरू चलिरहेका छन्— टिभी च्यानल-पब्लिक मिडिया, स्कुल-कलेज-विश्वविद्यालयमा पनि नयाँ ढङ्गले धर्म र कुसंस्कारको जागरण हामी देख्दैछौ। मन्दिर-मस्जिद-गिर्जा- गुम्पाको प्रभाव वा बुट्टी-ग्रहको औंठीको व्यवहार पनि चलिरहेकोछ। कम्प्युटरमा हात हेर्नु, भविष्य बताउनु लगायत आधुनिक ज्योतिषको कैयों रूप पनि उभिरहेकाछन् हामी अघाडी।


यसको कारण के हो? इतिहासको पाता पल्टाए हामी देख्छौ कसरी युक्तिवादी आन्दोलनले सधैनै यो प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै आएकोछ। उत्तर खोज्दाखेरी दुइटा धारा देखिन्छ— एउटा धारा विकासवादलाई नकारेर कुनै एउटा ‘परम’को धारणाबाट अनन्त सत्यसम्म पुगेको छ। त्यो अनन्त सत्य हो ‘भगवान’ भन्ने एउटा अदृश्य शक्ति। यस शक्तिको अगाडी मानिस केवल एउटा प्राणीमात्रै हो। मानिसको मस्तिष्कबाट जन्मेको भगवानले अनुशासनको रूपमा धेरै मानिसमाथि बर्चस्व कायम राख्न अहिलेपनि सफल भएको छ। यो अनुशासनले कुनैपनि एउटा अमुर्त शक्तिको अगाडी मानवीय शक्तिलाई तुच्छ बनाएर दासमा परिणत गरेको छ। साँचो मानवमुक्तिको निम्ति दासत्वको यो स्थिति देखि निस्किनुपर्छ। 

यही सन्दर्भमा, त्यो अमुर्त शक्तिसित साँचो मानवशक्तिको विरोधबाट जन्मेका छ अर्को धारा, जुन धाराले यस्तो सोच्छ कि वस्तु जगतको विकासबाट प्राणीजगतको सिर्जना भएको थियो, अनि प्राणीजगतको विकासक्रममा फेरी मानिस आयो, जो आफ्नो चेतनाले गर्दा अन्य प्राणीदेखि अलग भएको छ। मानिसको मस्तिष्क यस्तो एउटा विकसित वस्तु हो, जो आफैनै वस्तु भएतापनि वस्तुजगतलाई चित्रित र प्रतिविम्बित गर्नसक्छ। अर्थात् मानिसले वस्तु जगतको चित्र मस्तिष्कमा धारण गर्नसक्ने मात्र होइन, वस्तुजगतको सबै नीति नियम बारे ज्ञान आर्जन गरेर वस्तुजगतलाई आफ्नो आकाङ्क्षा अनुसार परिवर्तन पनि गर्नसक्छ। प्रकृतिसँग मानिसको सम्बन्ध यस क्रममानै बनिन्छ। मानिसले आफ्नो निम्ति राम्रो फलको आशामा, आफ्नो मस्तिष्कमा आत्मसात् गरेको चित्र लिएर प्रकृतिलाई परिवर्तन गर्ने चेष्टा गर्दछ। अन्त मानिसको श्रमनै त्यो शक्ति हो, जुन शक्ति अमुर्त छैन, अनि जुन शक्तिले मस्तिष्क द्वारा वस्तु जगतको निरन्तर परिवर्तन गरिरहेको छ। वस्तु जगतलाई जान्नेबुझ्ने ज्ञान देखि नै जन्मियो स्कुल-कलेज-विश्वविद्यालय। अनि यस ज्ञानलाई प्रयोग गर्ने खाँचो देख्न पाइयो प्राविधिक विभागहरूमा। यस्ता प्रतिष्ठानहरुका इतिहास पनि छोटो भने छैन। यो ज्ञान सङ्ग्रहको निम्ति मानिसले इतिहासमा धेरै संग्राम गर्नुपर्यो। ग्यालिलियो, कोपर्नीकस, केलविनलाई गिर्जाघरको धार्मिक एकाधिपत्यले भरिएको अत्याचार सहनुपर्यो। यो इतिहास मानवसभ्यताको एउटा गौरवमय पाटा हो। तर आज त्यही धर्मको अगाडी साधारण मानिस, विद्यार्थी देखि लिएर प्राध्यापकहरूमध्ये धेरैजना पनि झुकिरहेका छन्।

पन्ध्रौं शताब्दीमा भौतिकविज्ञानको विकासक्रममा जेमस वाटको स्टीम इन्जिन आविष्कारपछि आमतौरले इंग्ल्यान्डमा विज्ञान र उद्योगको मिलन हुनथाल्यो। विज्ञानले युक्तिको परिसरदेखि उद्योगमा पसेर नयाँ नयाँ शक्तिको स्रोतलाई, नयाँ नयाँ पदार्थमा लुकेको शक्तिलाई देखाउनथाल्यो। फलाम अनि इस्पात उद्योगको उत्पादनका विशालता देखि जन्म लियो उत्पादनको सङ्गठन सम्बन्धित विज्ञान-आधारित चिन्ताहरू। म्यानुफैकचरिंग उद्योगको उत्पादनको पहाडले सानो इंग्ल्यान्डलाई संसारभरि व्यापार फैलिन सपना देखायो। उद्योगको यस अग्रगतिको प्रयोगले कृषि उत्पादनको निम्ति चाहिने मानिसको सङ्ख्यालाई घटाईदियो। जमिनसँग मानिसको परम्परागत सम्बन्ध यसरी बदल्नथाल्यो। जमिन सम्पदाको एकमात्र स्रोत रहेन। यो स्थितिले परम्परागत धेरै धारणालाई पल्टाइदियो। यसभन्दा अघि उत्तराधिकारी परम्पराले जमीननै जीविकाको एकमात्र स्रोत भएकोले, जमिनको मालिकाना बाहेक जीविकोपार्जन सम्भव थिएन। फलस्वरुप बृहत् जमिनको मालिकानाको प्रतिष्ठानहरू— गिर्जाघर, मन्दिर, मस्जिदका विरुद्ध प्रश्न उठाउन सम्भव थिएन। पिता जमिनको मालिक भएकोले छोरालाई पिताको आदेश अन्धाजस्तो पालन गर्नुपर्थ्यो। जेठो मानिसहरूले भनेको कुरालाई च्यालेन्ज गर्नु समाजमा अपराध मानिन्थ्यो। तर इंग्ल्यान्डदेखि थालेको यस उद्योग क्रान्तिले जमिनको महत्वलाई घटाएर अन्धविश्वासको केन्द्रविन्दुमा आघात गर्यो। 

तर ज्ञानको विकास, विज्ञानको स्थापना, विज्ञानसँग प्रविधिको सम्बन्धबाट स्थापित भएको त्यही कलेज-विश्वविद्यालयदेखि जन्मिरहेछ ‘कुण्डली’ भन्ने सफ्टवेयर, जो मानिसको भाग्य भन्छ! विज्ञानदेखि टेक्नोलोजी अलग्गै भइरहेछ, अनि अहिलेसम्म चलेको विज्ञानको अगुवाइको सङ्घर्ष देखि यस्तो प्रतिष्ठानहरू छुट्टिएर जान्छ। हाम्रो देशमा कुनै कुनै विश्वविद्यालयमा ज्योतिषको पाठ्यक्रम पनि थालेको छ। यतिमात्र होइन, दुनियाँभरका केही वैज्ञानिकहरूले विकासवादको विरुद्धमा लेख्न थालेकाछन्, अनि यस्तो युक्ति देखाएर डार्विनको विकासवाद पाठ्यक्रमदेखि हटाउन चेष्टा चल्दैछ, ऐतिहासिकहरुमध्ये कोहीकोहीले इतिहासको अन्त भइसकेको छ— यस्तो विचारहरू पनि थापिदिन्छ्न। 

इतिहासको विकासको एउटा क्रम, एउटा नियम हुन्छ। त्यो नियमको मूलभूत कुरा हो एउटा पुरानो सामाजिक व्यवस्थालाई निषेध गरेर वा नकारेर (नेगेशन) नयाँ व्यवस्था देखापर्यो। यस नियम वा सैद्धान्तिक विचारलाई ऐतिहासिक भौतिकवाद भनिन्छ। ऐतिहासिक भौतिकवादको विचारहरू दर्शनशास्त्रको विकासक्रममा उभिएको द्वन्द्वात्मक भौतिकवाद माथि आधारित छ। द्वन्द्वात्मक भौतिकवाद अनि ऐतिहासिक भौतिकवादको प्रमुख कुरा नै हो निषेध वा नेगेशन। अझ ठिक तरिकाले भन्नु भने नेगेशन अफ नेगेशन वा निषेध को निषेध। राम्ररी हेर्यौ भने अहिले यसको विरुद्धमा जुन दार्शनिक वा सैद्धान्तिक आक्रमण भइरहेछ, त्यसको निशानानै हो ऐतिहासिक भौतिकवाद। तर किन यस्तो हुदैछ?

ऐतिहासिक वस्तुवाद अनि द्वन्द्वात्मक वा वैज्ञानिक भौतिकवाद एउटा यस्तो विज्ञान हो जो कसैलाई स्थिर देखाइन्न। यसले जटिल परिवर्तनको क्रमलाई बुझ्ने ऐतिहासिक विकासको नियमहरूलाई सबभन्दा बेसी महत्व दिन्छ। कुनैपनि एउटा समाजमा, समाजको ढाँचासँग त्यसको विकासको मेलमिलाप नभएकोले एउटा समाजव्यवस्थादेखि त्यसपछि अर्को समाजव्यवस्था आउने क्रम चल्नेगर्यो। अर्थात् कुनैपनि समाजमा त्यो समाजमा सुविधाभोगी अंशले समाजलाई तत्कालीन स्थितिमा रोकी राख्न कोसिस गर्छ, अर्कोतिर नपाइनेहरुले त्यसलाई बदल्ने कोसिसमा लागिरहन्छ। आजको व्यवस्थालाई जसले बरकरार राख्न चाहिन्छ, अर्थात् समाज जुन अंशको निर्देशनमा चल्दैछ, समाजको आजको हालत जसलाई फायदा पुर्याइन्छ, उनीहरूलाई समाजविकासको यो परिवर्तनको नियमहरुनै साह्रो पर्छ। 

विज्ञानबाट परिवर्तनलाई सबभन्दा सजिलो रूपले देख्न सकिन्छ। भौतिक विज्ञानबाट यो विषय अझपनि सिधासिधी देखिन्छ। भौतिक विज्ञानको दुइटा शाखा फिजिक्स र केमिस्ट्री। फिजिक्सले वस्तु को वेग र तत्सम्बन्धी परिवर्तनहरु, अनि केमिस्ट्रीले परमाणु संयोगमा हेरफेरले भएको परिवर्तनलाई व्याख्या गर्यो। केमिस्ट्रीमा एउटा अक्सिजन परमाणुको फरक द्वारा पानी (H2O) र हाइड्रोजन परक्साइड (H2O2) को गुणगत पार्थक्य व्याख्यात हुन्छ। एउटा परमाणुको मात्र योगले पानीलाई नेगेट गरेर हाइड्रोजन पारक्साइडको जन्मदियो। यसरी नै कार्बनडाइअक्साइड र कार्बनमनोअक्साइड, मिथेन र इथेन, बरफ भएर पानी तथा पानी निषेध भएर वाफ अनि वाफ निषेध भएर ल्पाज्म बन्नु— नेगेशनको उदाहरण हो। फिजिक्सको कुरा गरौँ भने वस्तु माथि शक्ति प्रयोगले वस्तुको पहिला गतिशक्तिमा (काइनेटिक इनर्जी) परिवर्तन हुन्छ, जो एक किसिमको परिमाणगत (क्वांटीटेटिभ) परिवर्तन हो, तर एउटा पर्यायमा पुगेर शक्तिलाई नेगेट गरेर गतिशक्ति वृद्धिको सट्टा द्रव्यमानमा परिवर्तित भइरहेछ, अर्थात् यहाँ परिमाणगत परिवर्तन होइन, गुणगत (क्वालीटेटिभ) परिवर्तन हुन्छ। यो नेगेशनको नियम बाहेक फिजिक्सको कुनै अस्तित्व छैन। वस्तुवादी सबै ज्ञानको क्षेत्रमा यो नेगेशनको कुरा छोडिदिन्छ भने वस्तु परिवर्तनविहीन एउटा स्थिर जगत भिन्न अरू केहीपनि रहेनन्। विज्ञान दुनियाको समय अनि स्थानको स्थिरताको सिद्धान्त वेगको द्रव्यमानमा रूपान्तरणको व्याख्या गर्दाखेरी भत्केको छ। यसरीनै वस्तुको एकाएक गति र तत्सम्बन्धी नेगेशनले वस्तु जगतको ज्ञानको विशाल भण्डारलाई बनाएको छ। नेगेशनको नियम चाँही यस्तै छ जो कसैलाई कहिलेपनि अन्तिमसम्म पुग्न दिदैन। स्थान र कालको सापेक्षतालाई भाचेर आइन्स्टाइनको सिद्धान्त ठुलो भूमिकामा ओर्लियो, फेरी आइन्स्टाइनको सिद्धान्तको सीमिततालाई नकारेर जन्म लियो कणभौतिकविज्ञान। यसरी नयाँ नयाँ वस्तुको गतिले मानिसको ज्ञानको सीमिततालाई चिन्हित गरी, त्यसलाई नकारेर नयाँ नयाँ ज्ञानको क्षेत्र अनि नयाँ वस्तुजगत जन्मेको छ। गणित देखि लिएर जीवविज्ञान— सबै क्षेत्रमा यो नियम अनि यस्तो उदाहरणहरू लिएर चर्चा हुनसक्छ।

विज्ञानको क्षेत्रमा जस्तो यो नियमहरू चल्छ, त्यस्तै छ दर्शनको जगतमा पनि। पहिलाको भौतिकवाद थियो खुबै निम्नस्तरीय, अनि स्वतःस्फूर्त— त्यसले मानिसको मन र वस्तु को अन्तरसम्बन्ध व्याख्या गर्न सक्थिन। फलस्वरुप त्यो भौतिकवादलाई नकारेर जन्म लियो भाववाद। वस्तु लाई ग्राह्य नगरेर चिन्ताको आधिपत्यलाई महत्व दियो यो भाववादले। फेरी भाववादलाई नकारेर जन्मियो पहिला यान्त्रिक भौतिकवाद वा मेटाफिजिक्स अनि त्यसपछि वैज्ञानिक वस्तुवाद। यो वस्तुवाद यस्तो विकसित रूप लियो कि समाज, मानिस, वस्तु —सबैको परिवर्तनको अन्तरसम्बन्ध हेर्ने यस वस्तुवादले अभ्यस्त बन्न पुग्यो। मानिसको चिन्तन प्रक्रियाको सब्बै रूपलाई यो वस्तुवादले वस्तुगत ढङ्गमा व्याख्या गर्न सकिन्छ।

अब हामी उत्पादन बारे कुरा गर्नसक्छु। मानिसले प्रकृतिमाथि श्रम प्रयोग गरेर प्रकृतिलाई आफ्नो चाहिनेजस्तो परिवर्तन गरेको छ। यो परिवर्तित वस्तुनै मानिसको उपभोग्य वस्तुहरू हुन्। मानिसले समाजवद्ध भयो। आदिकालमा जब प्रकृतिको नियमहरू मानिसलाई थाहा थिएन, त्यतिबेला मानिसले प्रकृतिको दासत्व गर्यो। आज जुनरूपमा विज्ञान र प्रविधि बारे हामीलाई थाहा छ, त्यतिबेला यस्तो थाहा थिएन भने उत्पादन एकदमै कम थियो। त्यो समाजमा कसैको अधिक उपभोग अरूका मृत्युको कारण हुँदैथियो। असचेतरुपले बनेको त्यो समाज विस्तारविस्तारै उत्पादन व्यवस्थाको परिवर्तन सँगै बदलिसक्यो। साथसाथै बदलियो समाजको सत्ताधारी र उत्पीडित जनता भित्र सम्बन्ध। ज्ञान र प्रविधि अर्थात् उत्पादन शक्तिको विकास सँग समाजले उपभोग गरेपछि पनि बेसी उत्पादन देखापर्यो। केही क्षेत्रमा जरुरतदेखि ज्यादा उत्पादन हुनथाल्यो, तर त्योपनि त्यति बेसी होइन जसलाई समाजमा बटुल्न सक्छ। व्यक्तिमालिकानाको व्यवस्था स्थापित भयो, उत्पादन साधनहरुका स्वामित्वको प्रश्न समाजमा महत्वपूर्ण बन्नपुग्यो। यसरीनै एकजना मानिसले त्यसपछि आफ्नो श्रमद्वारा बनेको उत्पादित वस्तुको मालिक बन्यो। श्रमले किनबेचको वस्तु बनियो। यसबाट मानिसको मानिससँग सोझो सम्बन्धको नेगेशन भएर, मानिसहरू द्वारा उत्पादित वस्तुभित्र सम्बन्धद्वारा मानिसहरूको सम्बन्ध निर्धारित हुनथाल्यो। विस्तारबिस्तारै समाज मालिकाना सम्बन्धमा विभाजन भइसक्यो। पुँजीपतिले उत्पादनको साधनको मालिक अनि मजदुरले श्रमशक्तिको मालिक बन्यो। यो सम्बन्धबाट मजदुरको श्रमशक्तिको सही मूल्य नदिएर उत्पादित बेसी मूल्यको मालिकाना पायो पुँजीपतिले। मजदुरको श्रम माथि दखल कायम गर्यो पुँजीपतिले, यो बेसी मूल्य माथि कब्जा जमाउदै, श्रमिकलाई आफ्नो सृष्टि अगाडी आफूले दास बन्नुपर्यो। यसरी नै अब पुँजीको चलाउने व्यवस्थाले जुन सामग्रीक समस्याहरुलाई जन्म दिंदैरहेछ, यस सन्दर्भमा यो स्पष्ट हुनजान्छ कि व्यक्तिमालिकाना होइन, सामाजिक मालिकाना नै यसभन्दा राम्रो तरिकाले समाजको हालतलाई समाधान गर्नसक्छ। यो पुँजीवादी व्यवस्थालाई नकारेर नयाँ व्यवस्थाको खाँचो छ। यसको कैयौं कोसिस र विचारहरू छ। तरैपनि पुँजी र पुँजीपतिले चलाएको व्यवस्थालाई नकार्ने कार्यक्रम आजको पुँजीवादको निम्ति रमाइलो छैन।

पहिलाको समाजहरुमा विकसित रूपमा विज्ञान थिएन भने समाजमा फैलिएको अवैज्ञानिक दृष्टिकोणहरू, कुसंस्कार आदिले पुरानो दासव्यवस्था वा सामन्तीव्यवस्थाहरूको निम्ति फायदामन्द थियो। तर पुँजीवादले आफ्नो विकासको पहिलाचरणमा यी सबैमा आमूल परिवर्तन ल्याउन कोसिस गर्यो। यसको निम्ति त्यतिवेलासम्म विकसित विज्ञानचेतना अनि अरू क्षेत्रहरूमा भएका विकासहरूका भूमिका महत्वपूर्ण थियो। यसैसाथ दर्शनको अग्रगति अनि तत्कालीन व्यवस्था बदल्नुको निम्ति आकाङ्क्षा र त्यसको निम्ति सङ्घर्ष पनि थियो। पुँजीवादलाई सस्तो अनि निर्वाध श्रम र क्रेताको जरुरत थियो। यसको अगाडी धर्म, जातपात आदि व्यवस्थाहरू रोक जस्तो थियो। पुँजीवादले सस्तो श्रमको चाहतमा, फ्याक्ट्री जस्तो एकै ठाउँमा ठुलो सङ्ख्यामा श्रमिक र बजार जस्तो कुनै ठाउँमा क्रेताहरुलाई ठुलो सङ्ख्यामा एकजुट गर्ने लक्ष्यमा ती विषयहरुलाई हटाउने कोसिस गर्यो जसले आममानिसलाई अछुतको संस्कारको कारणले एक ठाउमा एकजुट हुनेदेखि रोक्छ। पुरानो उत्पादन पद्धति, पुरानो चिन्ता, पुरानो सामाजिक-आर्थिक व्यवस्था पुँजीवादको विकासको अगाडी बाधाजस्तो थियो, यी सबैलाई हटाउने कोसिस त्यसकारणले पुँजीवादले पार्यो। यो नै हो पुँजीवादको सामन्तीव्यवस्था भन्दा क्रान्तिकारी भूमिका। अनि यस कार्यक्रममा ठोसरुपमा विज्ञानलाई इस्तेमाल गर्यो पुँजीवादले। पुरानो सोचविचारलाई ध्वस्त गर्ने क्रममा विज्ञान पुँजीपतिहरूको निम्ति पनि धेरै कामको रह्यो। 

तर यस विज्ञानको विकासले आफूलाई पुरै संसारमा एउटा भरोसा दिलाउने विषय जस्तो उपस्थित गरायो। विज्ञान प्रति मानिसको आकर्षण, त्यसमाथि भरोसा बढ्न साथसाथै युक्तिवाद तथा यो नेगेशनको कुरा जनतामा आफ्नो असर पनि राख्नथाल्यो। अर्कोतिर, पुँजीवादले सत्तामा बसेपछि उत्पादन देखि बटुल्नु, विज्ञान देखि साहित्य, सोचविचार देखि दर्शन— सबैमाथि आफ्नो बर्चस्व कायम गर्नथाल्यो, जसको आधारभूत उद्देश्य हो नाफा कमाउन। पुँजीवादको व्यवस्थामा जन्मेको गुनासोलाई समाधान गर्ने शक्ति पुँजीवादी व्यवस्थाभित्र छैन। त्यही कारणले पुँजीवादविरोधी आवाज दुनियाको ठाउँठाउँमा बारम्बार उठिरहन्छ। तर पुँजीवादले कसरी यसलाई झेल्ने? एकातिर चल्ने व्यवस्था बरकरार राख्नको निम्ति सबै विरोधी स्वरहरूलाई कुल्चनु अनि त्योसँगै, यो व्यवस्था बारे सैद्धान्तिक रूपमा सम्मति आदा गर्न उद्देश्य लिएर, पुँजीवादनै संसारको अन्तिम व्यवस्था हो अनि त्यो बाहेक अर्को प्रस्तावित व्यवस्थाहरू सम्भव छैन— जस्तो कुराहरू जनता माथि थापिदिने कैयौं व्यवस्था पुँजीवादले अपनाउदछ। यसको एउटा पाटा हुन् विज्ञान। यो व्यवस्था चल्दैन भन्ने नेगेशन बारे पुँजीवादले सावधान रहेरै नेगेशनको सिद्धान्तलाई नै नेगेट गर्ने कोसिसमा ओर्लिएको छ। 

जुन पुँजीवादले यसभन्दा अघिको समाज, विचार, अर्थनीति, अनि अझै विषयको नेगेशन बारे स्वीकार गर्छ, आफ्नो खण्डमा आएर त्यो नेगेशनलाई नै पुँजीवादको एकदमै पसन्दको कुरा होइन। यसकारणले गर्दा पुँजीवादले नेगेशनलाई अस्वीकार गर्नचाहन्छ। यसकारणलेनै पुँजीवादले विकासवादको विरुद्ध रोक लगाउने कोसिस गरिन्छ। विकासवाद र नेगेशन एकै कुरा हो। एकै सिक्काको दुई पाटा। विज्ञानको भित्र विकासवादलाई घोल्नु हो भने त्यो विज्ञान रहदैन। विज्ञानलाई विकासवाद देखि छुट्याउने प्रक्रिया चल्दैछ। प्रकृतिमा स्वतःस्फूर्तरूपले रहेको नेगेशन कार्यक्रमको वर्चस्वभित्र कसरी पुँजी चिरकालीन बनिरहन्छ? युगयुगसम्म कसरी पुँजी टिकीरहन्छ? त्यसकोपनि नेगेशन कसरी हुदैन र? यस प्रश्नहरू उभ्योस— यसमा पुँजीवादको सहमति छैन। फलस्वरुप आक्रमण चल्दैछ विकासवादको विरुद्धमा। विज्ञानको खोलमा भौतिकवादको सट्टा भाववादलाई हाजिर गराउन, भौतिकवाद द्वारा व्याख्या गरिसकेको विषयहरुलाई लिएर गलत धारणा तयार पार्नु आदि तरिकाहरू त छदैछ, जसले गर्दा विज्ञानलाई सही दिशामा विकसित गराउन अनि त्यसको उपयोग बारे पुँजीवादको कुनै दिलचस्पी छैन। 

त्यसैकारण पुँजीवादले विज्ञान अनि विज्ञाननिर्भर दृष्टिकोणलाई प्रमुखता दिने सट्टा पुँजीलाई एउटा भगवानमा परिणत गरिन्छ। आफ्नो विनाशको रोक्नलाई कुसंस्कार अनि भाववादी सोचलाई केही हदसम्म उसलेपनि मद्दत दिन्छ, फैलाइन्छ पनि। उले यो स्थापित गर्न चाहन्छ कि पुँजीवादको यसको केही नेगेशन छैन, अनि त्यसैले इतिहासको पनि अन्त भैसकेको छ! यसरी पुरानो भगवानको सँगसँगै यो नयाँ भगवानलाई स्थापना गर्यो। आधुनिक खोलमा पुरानो कुसंस्कारको यती दबदबा बनिन्छ। शिक्षित समाजको केही अंश पनि आज नयाँ तौरले आधुनिक कुसंस्कारहरुका दलदलमा डुबिरहन्छ। पुँजीलाई चिरन्तन गराउनको निम्ति मानिसको चिन्ताशक्तिलाई रोकीजान्छ, बृहत् उत्पादनको कारखानाहरुलाई अनि बेसी मानिसको जमातलाई ध्वस्त पारिदिन्छ। उत्पादन शक्तिको विकासले मूल्यको नियमलाई सङ्कटमा नहालियोस्। त्यसोहुनाले पुँजी भन्ने भगवान् सङ्कटमा पर्छन्। विकासवाद विरुद्ध आएको विभिन्न प्रकारको आक्रमणलाई राम्ररी बुझेर त्यो विरुद्ध विज्ञान चिन्तनलाई ओर्लिनुपर्ने। नत्रभने कसरी अगाडितिर हिड्छ मानवसभ्यताले?

चियो-चासो : समाज अनि व्यावसायिक संचार-माध्यम

टीका ‘भाइ’


संसारको आयतनलाई सूचना प्रौद्योगिकीको विकासले खुम्चाएर धेरै सानो बनाएको समयमा छौँ। विश्वको खबर अनि सूचना मुट्ठीमै बोकेर हिडीरहेको हाम्रो समाजमा पनि किनारीकृत तथा उत्पीडित श्रेणी, वर्ग, जाति आदिका आवाज अनि सङ्घर्षहरू संचार-माध्यमको निम्ति कुनै मूल्य प्राप्त गर्न नसकिरहेको देखिनै रहेका छौँ। यस बारेमा पनि हाम्रो बहस अनि चिन्तन अनिवार्य देखिएको छ।

मुनाफाप्राप्तिको सिकारमा व्यस्त व्यावसायिक संसारमा सूचना पनि एउटा व्यावसायिक लाभ दिने ‘वस्तु’ बन्न पुगेको छ। नाफाका निम्ति खबरकागजहरू, नाफाकै निम्ति टेलिभिजन तथा निजी एफ.एम. सेवाहरू, नाफाकै पछि इन्टरनेट सञ्जालका धेरै वेबसाइटहरू छन्। ती सूचनाहरू प्रायजसो कि त मनोरन्जन आधारित, कि जनता अनि बहुसङ्ख्यकमा चासो उत्पन्न गर्ने मसलादार हुनपर्ने माग आधारित हुने हुनाले जनहितका धेरै सवाल अनि सूचनाहरूले मुख्य-धाराका संचार-माध्यमबाट अलग रहनुपरेको छ। जन-जिज्ञासाका केही खबरहरूले ती माध्यमहरूमा ठाउँ पाए पनि ती सूचनाहरू या त कर्पोरेट हितलाई वा त सरकार अनि सत्ताको हितलाई वा त कुनै सक्षम दल वा समूहको हितलाई ध्यानमा राखेर प्रचारित गरिएका हुन्छन्। ठुलो सङ्ख्यामा रहेका आम-नागरिकहरूका निम्ति संचार-माध्यमबाट प्रचारित, प्रसारित सूचनाहरू नै सामाजिक तथा राजनैतिक सत्य जान्ने औजार हो। ती माध्यमहरूबाट प्रसारित खबरको सत्यता अनि निरपेक्षता जाँच गर्ने सचेतताको अभावको कारण आम जन-जीवनमा टेलिभिजन तथा खबर-कागजले बोकेका कुरा वा चेतनाकै मानसिक प्रभुत्व स्थापित हुनेगर्दछ। यसले एक हिसाबमा यान्त्रिक चेतनालाई समाजमा स्थापित गर्ने कार्य गरिरहेको छ। व्यावसायिक मिडियाहरूको मानसिक प्रभुत्वको कारण जन-मानसमा समाजलाई हेर्ने यथास्थितिवादी चेतनाले गहिरो छाप छोड्दै गैरहेको छ भने अर्कोतिर समाजमा निहित अन्याय-अत्याचार-उत्पीडन-हिंसा आदिको निम्ति पनि मिडियाबाट प्रसारित यान्त्रिक समाधान सूत्रहरूमै जनताको आम विश्वास वा भरोसा स्थापित हुँदैछ।

आजका कर्पोरेट मिडियाहरूले समय-समयमा चर्चाहरूद्वारा विभिन्न सामाजिक, राजनतिक ‘हिरो’ वा ‘नायक’-हरू निर्माण गरिरहेका देखिरहेका छौँ। रामदेव, अन्ना हजारे तथा अरू अरू जसको पछि पुरै देशका शिक्षित देखि अशिक्षित श्रेणी सम्मको आशा केन्द्रित हुनपुग्छ तर त्यो आस्था अनुरूप देशको विधान, व्यवस्था अनि अवस्थामा भने कुनै व्यावहारिक परिवर्तन आएको देखिएको छैन। परिवर्तन, भ्रष्ट्रचारविरोधी जन-आकांक्षा, महिला हिंसा जस्ता सामयिक विषयहरूलाई मुख्य-धाराका सूचना-माध्यमहरूले ठुलै बहस अनि चर्चाको विषय बनाउन खोजेको देखे पनि त्यसको निम्ति थुप्रै यान्त्रिक समाधान सूत्रहरू देखाउने गरेको छ। कानुनको मजबुती वा हेर-फेर, सामाजिक सक्रियता, शिक्षा-सचेतना, आदि उपाय वा समाधान सूत्रतिर जनताको ध्यान पुऱ्याउने हाम्रा संचार-माध्यमहरूले व्यवस्थागत त्रुटी, असफलता अनि देशको अर्थतन्त्रलाई पनि औँला उठाउने काम गर्दैन। बरु समय-समयमा आफ्नो वा कुनै ‘भेस्टेड स्वार्थ’ बोकेका सत्ता-वा समूह हित अनुकूल ‘प्रोभोकेटिभ’ सूचनाहरू प्रसारणमा समय व्यतित गर्दछ। एक हिसाबमा समाजका सकारात्मक शक्तिहरू जसले उत्पीडित वर्ग, जाति वा समूहको निम्ति इमानदारीपुर्वक कार्य गरिरहेछ। जसले राज्य-सत्ताको हाँगामा बसेर स्वार्थको फल दार्ने श्रेणी विरुद्ध सङ्घर्ष गरिरहेछ उनीहरूको आवाजहरू अनि पहलहरूलाई अनदेखा गरेर सूचनालाई केवल वस्तु रूपमा व्यापार गर्ने मात्र जिम्मेवारी निर्वाह गरिरहेछ। यसै त सञ्चार माध्यमलाई देश अनि गणतन्त्रको चौथो स्तम्भको रूपमा व्यक्त गर्ने प्रथा कायम छ तर यो यत्तिको महत् क्षेत्र व्यावसायिक इकाई नै मात्र भएको हुँदा यसमाथि वर्चस्वशाली शक्ति अनि समूहको प्रभाव गहिरो हुने हुनाले। एउटा अर्को आवश्यकता हाम्रो समाजमा खट्किन गएको छ। त्यो हो ‘वैकल्पिक मिडिया वा सञ्चार-माध्यम’ –को आवश्यकता। उत्पीडित वर्ग, श्रेणी, तथा समूहहरूले आफ्नो आवाज अनि सङ्घर्षशील चेतनालाई मुख्य-धाराका सञ्चार-माध्यमद्वारा उत्घाटित गर्न नसक्ने वा असम्भव हुने हुनाले अनि यससितै समाजमा निहित विभिन्न थरीका सामिजिक-राजनैतिक सङ्कटको वैज्ञानिक समधान सूत्र अनि सचेतनालाई व्यापक तुल्याउन मुख्य-धाराका सञ्चारकै हाराहारी वैकल्पिक सञ्चार-साधनलाई विकास गरेर लैजाने कोसिस अनिवार्य हुने हुन्छ। शिक्षित युवा-वर्गले जनताको सङ्घर्षलाई सही दिशा अनि सही चेतनाद्वारा निर्देशित गर्न सही आवाज अनि धार सहितका पत्र-पत्रिका तथा अन्य आधुनिक सञ्चार श्रोतहरूको निर्माणलाई अभियान वा आन्दोलनकै हिस्साको रूपमा बढाएर लैजान सकिए यसबाट मुख्य-धाराका सञ्चार-साधनले निर्माण गरेको मानसिक वा चेतानागत प्रभुत्वलाई दह्रिलो जवाब हुनसक्छ। तथापि यस्ता साधनहरू जनताको निर्दिष्ट आन्दोलन अनि राजनैतिक-सामिजिक उद्देश्यको पहिया भएरै मात्र काम गर्न सक्छ। अनि व्यक्तिगत भन्दा सामूहिक उद्देश्य अनि प्रयत्नद्वारा यस्ता सूचना श्रोतहरू निर्माण गरेर लैजान सकिए सही रूपमा जनताको परिवर्तनगामी आकाङ्क्षाको साथी बन्न सक्छ।

हास्ता सियेम्प्रे कमान्दान्ते!

धुनिराज छेत्री


 ‘‘हिजो यहाँ एक सैतान आएका थिए, ठिक यही ठाउँमै, अनि आजपनि यहाँ गन्धकको गन्ध आउँदैछ।’’ — तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसबारेमा सन २००६ मा संयुक्तराष्ट्रसंघको जेनरल असेम्ब्लीमा भाषण दिँदाखेरि उहाँले भन्नु भएको थियो। सन २०११ मा ‘मनपरेको क्रान्तिकारी दाजु’ लिबियाको मुयाम्मर गद्दाफीलाई समर्थन गर्दा, अनि नाटोको बायुसेना हमलाको विरोध गर्दै उहाँले आक्रोश पोख्दै भन्नुभयो— ‘‘लिबियाका वीर जनतालाई बचाउन उनीहरूमाथि नै बमबारी गर्नु? पागल साम्राज्यद्वारा के अचम्मको कौशल?... कहाँ गयो अन्तर्राष्ट्रिय मानवअधिकार? यो त गुफामानवको युग जस्तै लाग्छ’’।

अमेरिकी साम्राज्यवादलाई विरोध गर्न संसारकै देशहरूमध्ये प्रमुख ठुलो आवाज थियो ह्युगो चाभेजको, त्योपनि अमेरिकाको छेउमै बसेर। बोलिभरियन क्रान्तिका नेता औ भेनेजुएलाका राष्ट्रपति ह्युगो राफेल चाभेज फ्रियाजको जटिल क्यान्सर रोगको उपचार हुँदाहुँदै ५८ वर्षको उमेरमा मार्च ५ को दिन निधन भएको छ। चाभेज गत अक्टोबरमा चौथो कार्यकालका निम्ति निर्वाचित भएका थिए। तर क्युबामा उपचार गर्दागर्दै अन्तिम दिनहरू बिताउनमात्र भेनेजुएला फर्केका उनी आफ्नो पदको सपथ लिन नपाउँदै मरे। विद्रोही, सिपाही, जनताका नायक र भेनेजुएलामा गहन सामाजिक परिवर्तनका बाहकका साथै ल्याटिन अमेरिकाका साम्राज्यवादविरोधी नेता हुगो चाभेजको विलक्षण छविले साम्राज्यवादको मुटुमा ढ्याङ्ग्रो ठोक्दै संसारलाई उत्साहित बनाइरहेको थियो। ‘‘हामी विपक्षीहरूलाई चेतावनी दिन्छौं: हाम्रो क्रान्ति शान्तिपूर्ण छ तर यो निःशस्त्र भने होइन। जनतालाई थाहा छ– हामी मानव जातिको भविष्यका निम्ति लडिरहेका छौँ। भविष्यमा शासनगर्नेहरू बहुमत गरीबहरू नै हुनेछन्।’’ — हुगो चाभेजले हालै आफ्नो टि्वटर एकाउण्ट मार्फत् यस्तो घोषणा गर्नुभएको थियो। 

दक्षिण अमेरिकाले सन् १९५० देखि १९९० सम्म सैन्य विप्लव, अमेरिका समर्थक तानाशाहहरूको हालिमुहाली, विकल्पका आन्दोलन, सशस्त्र सङ्घर्ष र जनविद्रोहका शृङखला व्यहोर्दै आएको हो। स्पेनी साम्राज्यवादको भयानक दमन र उत्पीडन झेलेका आदिवासीहरूसँगै अमेरिकाको नवउपनिवेश झेलेका दक्षिण अमेरिकीहरूको सङ्घर्षको इतिहास एसियाका देशहरूको मुक्ति आन्दोलनभन्दा भिन्न छ। ब्राजिल बाहेक मेक्सिकोदेखि चिली-अर्जेन्टिनासम्म स्पेनिस भाषाको समान उपस्थिति रहेको यो क्षेत्रमा एउटा देशका आन्दोलनहरू पनि सिमाना पारि-पारिसम्म फैलिने चरित्रका थिए। स्पेनिस साम्राज्यवादसँग लड्ने साईमोन बोलीभरदेखि क्रान्तिकारी चे ग्वेभारासम्मका इतिहासबाट अलग्याएर चाभेजलाई पनि बुझ्न सकिन्न, जसरी कास्त्रो, मार्खेज र मारियो भार्गास लोसा कहीँ न कहीँ दक्षिण अमेरिका क्षेत्रकै प्रतिनिधित्व गरिरहेका हुन्छन्। यही परम्परामा चाभेजले आफ्नो राजनीतिक जमिन तयार पारेका थिए।

चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुएलाको बारिनास प्रान्तको सबानेटा नगरमा भएको थियो। हुगो चाभेजको परिवार एमेरिन्डियन या अफ्रो– भेनेजुयाली मूलको थियो। उनको बाल्यकालमा चाभेज परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले चाभेजको पालन पोषण उनकी हजुरआमाले सबानेटा गाउँमै गरेकी थिइन् र उनको शिक्षादीक्षा सबानेटाकै साधारण स्कूलहरुमा भएको थियो। सत्र वर्षको उमेरमा चाभेज भेनेजुएलाको सैन्य विज्ञान प्रतिष्ठानमा भर्ना भए। १९७५ मा त्यहाँबाट सव–लेफ्टिनेन्ट उपाधिसहित सैन्य कला र विज्ञानमा स्नातक उत्तीर्ण गरेपछि केही महिना सैन्य सेवामा लागे। त्यसपछि उनलाई साईमोन बोलिभार विश्वविद्यालयमा राजनीति शास्त्रमा स्नातकको अध्ययन गर्ने अनुमति मिल्यो तर उपाधि नपाउँदै उनले त्यस अध्ययनलाई त्यागिदिए। कलेजमा अध्ययनरत रहँदै चाभेज र उनका सहपाठीहरूले 'बोलिभारियालीवाद' भन्ने राष्ट्रवादी सिद्धान्त विकास गरेका थिए। बोलिभारियालीवाद १९ औं शताब्दीका क्रान्तिकारी एवं क्यारिबियाली देशहरूका मुक्तिदाता साईमोन बोलिभारको अखिल ल्याटिन अमेरिकी दर्शनबाट प्रेरित थियो। साईमोन बोलिभार भेनेजुएलाको मात्र नभई क्यारिबियाली राष्ट्रहरूकै इतिहासमा एक अत्यन्त महत्वपूर्ण एवं अमर व्यक्तित्व हुन्। साईमोन बोलिभार एक सेनानायक हुनुका साथै दार्शनिक, साम्राज्यवाद र उपनिवेशवादविरोधी अभियानकर्ता र ल्याटिन अमेरिकी देशहरूलाई स्पेनी उपनिवेशबाट मुक्त गर्ने सङ्घर्षको नायक थिए। चाभेज तालिमे सिपाही रहँदा नै उनमा बोलिभारियाली भावनाको बिजारोपन भएको थियो।

चाभेज १७ वर्षसम्म भेनेजुएलाको सैनिक सेवामा रहे। १९९० को सुरुवातसँगै भेनेजुएलामा आर्थिक मन्दी र जनअसन्तोष बढ्दै गएको थियो। भ्रष्ट राष्ट्रपति कार्लोस एन्ड्रेज पेरेज र उसको सरकारले जनतामाथि ऐल काराकोजो नामको भयानक दमन अभियान चलाएको थियो। त्यसै समयमा १९९२ को डिसेम्बरमा चाभेज र उनका सहयोगीहरू मिलेर एमबीआर–२०० नामक सैन्य विद्रोह गर्ने योजना बनाए र ४ फेब्रुअरी १९९२ को एकाबिहानै सैन्य विद्रोह भयो। त्यसदिन चाभेजको मातहतमा रहेका पाँच सैन्य दस्ताहरूले राजधानी काराकासको मुख्य–मुख्य भागमा पसेर मिराफ्लोर्स राष्ट्रपतीय दरबार, रक्षा मन्त्रालय, ला कारलोता सैन्य विमानस्थल र सैनिक सङ्ग्रहालयहरू कब्जा गरे। चाभेजको लक्ष्य त्यसदिन विदेश भ्रमण सकेर राष्ट्रपति भवनमा फर्केका राष्ट्रपति पेरेजलाई गिरफ्तार गर्नु रहेको थियो तर त्यो पूरा हुन पाएन। पेरेजलाई गिरफ्तार गर्न नसकिएपछि विद्रोह असफल भयो, त्यस क्रममा १४ जना सेनाको ज्यान गयो भने ५० सैनिक र ८० जना सर्वसाधारण घाइते भए। 

चाभेजले सम्झौता गरे र राष्ट्रिय टेलिभिजनमार्फत विद्रोह गरेका सबै सैनिकहरूलाई व्यारेकमा फर्कन आह्वान गरे तर उनले आफू 'तत्कालका निम्ति' मात्र असफल भएको बोल्न चुकेनन्। चाभेजलाई गिरफ्तार गरी यारे बन्दीगृहमा कैद गरियो। जेलको अँध्यारोमा पनि चाभेजले अध्ययनलाई जोडतोडले अगाडि बढाए, जसको कारण उनको आँखा अत्यन्त कमजोर हुनपुगेको थियो। यसैबिच भ्रष्ट राष्ट्रपति पेरेजलाई संसदबाट एक वर्षपछि आरोप लगाएर हटाइयो।

त्यस अगाडि नै उनले एउटा गोप्य र सानो सङ्गठन 'दि रिभोल्युसनरी बोलिभारान मुभमेन्ट'को पनि गठन गरेका थिए । विद्रोह असफल भएपछि बन्दी बनाइएका उनी त्यसको दुई वर्षपछि नै उनी आममाफी पाएर छुटे । चाभेज र उनका समर्थकहरूले 'नयाँ गणतन्त्रको जग बसाल्ने' नारा दिए। १९९८ को मे महिनामा गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मत पाएका चाभेजले अगस्टसम्ममा ३९ प्रतिशत मत पाए भने डिसेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा ५६ प्रतिशत मत हासिल गरी विजय सार्वजनिक गरे। 

१९९९ फेब्रुवरीमा चाभेजको कार्यकालको उद्घाटनसँगै जनमत सङ्ग्रहद्वारा नयाँ संविधान बनाउने उनको प्रस्ताव पारित भयो र संविधानसभा गठन भयो। त्यसको परिणामस्वरूप १९९९ डिसेम्बरमा भएको अर्को जनमतसंग्रहले संविधासभाले बनाएको नयाँ संविधान पारित भयो। त्यस नयाँ संविधानले भेनेजुएलाको नाम परिवर्तन गरी 'बोलिभारियाली गणतन्त्र भेनेजुएला' राख्नुका साथै राष्ट्रपतीय कार्यकाल पाँच वर्षबाट ६ वर्ष बनायो, एकै व्यक्ति दुई कार्यकालसम्म मात्र राष्ट्रपति बन्ने व्यवस्था गर्योख, दुई सदनात्मक संसदलाई एक सदनात्मक व्यवस्थापिकामा परिवर्तन गर्यो, प्रभावकारी स्थानीय निकायको बन्दोबस्त गरियो। न्यायाधीशहरूको नियुक्ति योग्यताका आधारमा गर्ने र जन न्यायाधिवक्ताहरूको बन्दोबस्त गरियो। 

चाभेज आधारभूत तहमा जनसहभागितालाई बढी महत्व दिए। उनको बोलिभारियालीवाद व्यापक जनसमर्थनमा आधारित छ। त्यसैले आफ्नो शासनकालको सुरुवातसँग 'बोलिभारियाली सर्कल' हरूको गठनमा जोड दिए। ती सर्कल केही सय स्थानीय वासिन्दाहरूको मञ्च हुन्थ्यो जसले सामाजिक विकासका निम्ति आएको सरकारी रकम कहाँ के कसरी खर्च गर्ने भन्ने कुराको निर्णय गर्थ्यो। चाभेजले बोलिभारान समाजवादको नाम दिएको कार्यक्रमले गरेका मुख्य काम यस्ता थिए -क) गरीब र कामदार वर्गका लागि टोलटोलमा सस्तोमा खाना खान पाइने रेष्टुरेन्ट या सामान बेच्ने पसलहरूको व्यवस्था -ख) क्युबाबाट वर्षको झन्डै ४५ हजार शिक्षक र डाक्टरहरूलाई बोलाएर गाउँ-गाउँसम्म प्रौढशिक्षा र निःशुल्क तथा सस्ता स्वास्थ्य उपचारको व्यवस्था। -ग) नयाँ दर्जनजति विश्वविद्यालयको स्थापना र गरीबहरूका लागि निःशुल्क शिक्षाको सुनिश्चितता। तेल तथा अन्य केही ठुला उद्योग व्यवसायको राष्ट्रियकरण तथा त्यसबाट हुने आयको माथि उल्लिखित कामका लागि गरीबहरूबीच पुनर्वितरण -घ) र सबैभन्दा महत्त्वपूर्ण कुरा गाउँ र टोलस्तरमा कम्युनिटी काउन्सिलहरूको स्थापना र त्यसको निर्णय प्रक्रियामा आम जनताको प्रत्यक्ष सहभागितामा निश्चितता। राज्यका स्रोतहरूको वितरण तल्ला समुदायका हितमा प्रयोग गर्ने संयन्त्रका रूपमा यस्ता सामुदायिक काउन्सिलहरूको प्रयोग। राज्य र आफ्नो पार्टी सोसलिष्ट पार्टी अफ भेनेजुएलाको पनि नेतृत्व छनोट तलबाट माथितिर हुने कुराको व्यवस्था।



मूलतः यत्ति कुरा गरेर उनले भेनेजुएलाका गरीबहरूका लागि देवदूत र दक्षिण अमेरिकी श्रमजीवी तथा आदिवासीहरूका लागि प्रेरणाको स्रोत बनेर विश्वभर आफ्नो ताकतवर उपस्थिति जनाएका थिए। यद्यपि भेनेजुएलाको अर्थतन्त्रमा, विश्व बैङ्क र उदारवादीहरूको दृष्टिमा तथा भेनेजुएलाको पुँजीपति वर्गका विचारमा समेत समस्याहरू थपिएका छन्, तर उनका नीतिहरूका दूरगामी प्रभाव अब बिस्तारै देखिनेछ। जब तल्लो वर्गका मानिसहरू अर्थतन्त्रमा योगदान दिन दक्ष श्रमशक्ति र व्यवस्थापकका रूपमा विकास हुन्छन्, शिक्षित हुन्छन् र काम गर्न थाल्छन्, अर्थतन्त्रले ह्वात्तै नयाँ फड्को मार्छ। उतार-चढावका सम्भावना भए पनि चाभेजको उत्तराधिकार या उनका कार्यक्रमिक दृष्टिहरूको विरासत दक्षिण अमेरिकामा रहिरहने पक्का छ।

चाभेजले लेख्न, पढ्न र खासगरी बोल्नमा नै व्यस्त रहने गर्थे। मन्त्रिमण्डलको सभा भन्दा बेसी समय उनले गाउँबस्ती, झोपडी, र जनसभाहरुमा बिताएर खाद्य, आवास, रोजगारको बन्दोबस्त गर्नसाथसाथै जनतामध्ये फैलिने गर्थे साम्राज्यवादविरोधी आत्मबिश्वास। रेडियो-टेलिभिजनमा प्रत्येक सातामा जनतासँग छलफल गरेर नै बनिन्थ्यो उनको नीति र कार्यकम। दल र प्रशासनिक नोकरशाहीलाई पार गरेर उनले क्षमता स्थानीय वासिन्दाहरूको मञ्चमाथि थपिदिनुभयो। यसको नतिजा भयो तिन वर्ष मध्ये गृहहिन मानिसको सङ्ख्या पहिलादेखि आधा बन्यो। २० लाख परिवारलाई गृहको संस्थान गर्न योजना उनले हातमा लियो। बेरोजगारको सङ्ख्या २० प्रतिशत देखि घटेर ७ प्रतिशतमा आयो। उनको शासनकालको १३ वर्षमा भेनेजुएलादेखि निरक्षरता हरायो। बजेटको ४३ प्रतिशत भन्दा ज्यादा व्यय हुनथाल्यो समाजकल्याणको कार्यक्रमहरूमा। १० वर्षमा २२वटाभन्दा बेसी सरकारी विश्वविद्यालय बन्यो, शिक्षकको सङ्ख्या ६५ हजारदेखि बढेर साढे तीनलाखसम्म पुग्यो। रोकेको कृषि कार्यक्रमलाई अघि बढाउने योजना कार्यन्वयन हुनथाल्यो। हाम्रो यहाँ चाभेजको कुरा उठाएर जुन माकपाले धेरै स्वर उचालिरहेकाछन्, त्यो माकपाले यहाँको सत्तामा बसेर रोजगार, गणतन्त्र, सामाजिक विकासको सवालमा के गरेको थियो अनि चाभेजले के गऱ्यो, तीमध्ये तुलना गरिए माकपालाई लाज लाग्नु पर्ने हुन्छ। 

चाभेजको लोकप्रियता बढ्दै गएपछि साम्राज्यवादी संयुक्त राज्य अमेरिकासमर्थित प्रतिक्रियावादीहरूले केही दस्ता सेनाको समर्थनमा सन् २००२ अप्रिलमा चाभेजलाई अपदस्थ गर्ने र हत्या गर्नेसम्म कुचेष्टा गरे। तर जब लाखौंलाख भेनेजुयाली जनता सडकमा निस्के र चाभेजप्रति वफादार काराकसका दुई डिभिजन सेनाले प्रतिकार गरे, उक्त सैनिक विद्रोह ४७ घण्टामै अन्त्य भयो। चिलीका समाजवादी राष्ट्रपति साल्भादोर आलेन्देको सीआईएको संलग्नतामा भएको हत्या र सत्तापलटपछि पनि लोकप्रिय मतद्वारा पनि समाजका तल्लो वर्गको प्रतिनिधित्व गर्दै, तिनका आन्दोलन र सङ्घर्षका बलमा समाज परिवर्तन गर्न सकिन्छ, श्रमजीवी वर्गका पक्षमा राज्यसत्ताको परिवर्तन सम्भव छ भन्ने कुरामा दक्षिण अमेरिकी वामपन्थीहरूले विश्वास गरिरहेका थिए। चाभेज त्यसकै एकजना प्रतिनिधि बन्न पुगे। र लोकप्रिय कार्यक्रमहरू सञ्चालन गर्दै तल्लो वर्गका पक्षमा राज्यका स्रोत र साधनहरूको निर्धक्क प्रयोग गर्दै रहे। 

चाभेजका अनुसार बोलिभारियालीवादले जनताको प्रजातन्त्र, आर्थिक स्वाधीनता, राजश्वको समानुपातिक वितरण, राजनीतिक भ्रष्टाचारको अन्त्यजस्ता कार्यक्रमको कार्यान्वयनका लागि व्यापक जनपरिचालन आवश्यक ठान्छ। चाभेजको सरकारले भेनेजुएलाका बहुमत गरीब जनताको आर्थिक, सांस्कृतिक र सामाजिक अवस्था सुधार गर्ने कार्यक्रम निरन्तर अगाडि बढाउँदै आएको छ। सन् २०१० को अमेरिकी राज्यहरूको सङ्गठन को एक प्रतिवेदनमा निरक्षरता उन्मूलन, स्वास्थ्य सेवा र गरिबी निवारणमा चाभेजको नेतृत्वमा भेनेजुएलाले उल्लेख्य उपलब्धि हासिल गरेको उल्लेख गरिएको थियो। 

त्यस प्रतिवेदनमा चाभेज सरकारको लोकप्रियतासँगै अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार र प्रजातन्त्रप्रति खतरा (धम्की) बढेको उल्लेख गरिएको थियो। त्यसको खण्डन गर्दै भेनेजुयाली सरकारले त्यस प्रतिवेदनमा तथ्यांक तोडमरोड गरिएको, विषयभन्दा बाहिर गएर टिप्पणी गरेको भन्दै चाभेजको शासनकालमा 'मानव अधिकारको उल्लंघन, शोषण र अपराध उल्लेख्य रूपमा कमी आएको' बतायो।

चाभेजले आफ्नो 'तेल कूटनीति' मार्फत छिमेकी देशहरूसित सौहार्द्धपूर्ण मित्रताको सम्बन्ध विकास गरे भने साम्राज्यवादी र कठपुतली सरकारहरूसित सङ्घर्ष गरेका थिए। यहाँको तेलखानीहरुलाई राष्ट्रियकरण गरेर अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यदेखि कम मूल्यमा तेल बिक्री गर्नथाल्यो भेनेजुएलाले। तेलसम्पदाको जनमुखी उपयोग जनताका जीवन र विचार— दुबैनै बदल्नुथाल्यो। कतिले यस्तो मान्दछन् कि यहाँनिर व्यवस्थाको कुनै आमूल परिवर्तन भएको छैन, जेपनि भयो, त्यसमा यहाँको तेलसम्पदाको नै भूमिका मात्र छ। यो यथार्थ कुरा हो कि यहाँनिर पुँजीवादी समाजको ढाँचामा केही आधारभूत बदलाव आएको छैन, सचेत र सक्रिय मजदुरवर्गको भूमिका बाहेक पुँजीवादलाई पार गर्नु सम्भव छैन। यो कमी त यहाँ अवश्यै छ, तरैपनि गरीब जनताको सामाजिक सङ्गठन, निम्न-स्तरदेखि को-अपरेटिभ बनाएर विकास अघि बडाइएर समाजलाई परिवर्तन गर्ने एउटा नयाँ मोडेल हामीले हेऱ्यौँ। यो नै हो ‘चाभेजमो’... चाभेजवाद— उनीहरूका साम्राज्यवाद विरोधी साहसको प्रमुख स्रोत। 

भेनेजुएलाको बाटोबाट नै बोलिभिया, निकारागुवा, इकुयेडर र चिलीमा ‘चाभेजमो’ आधारित ‘वामपन्थी’ सरकारको स्थापना भएको छ। अर्कोतिर यिनीहरुले ब्राजिल, आर्जेन्टिना, उरुग्वे, पेरुको सरकारहरूसँग मिलेर ‘मार्कोसुर’ भन्ने आंचलिक एकाइ अनि ‘युनिसुर’ भन्ने अर्थनैतिक गठबन्धन तयार पारेकाछन्। विश्वबैंक-आईएमएफको नियन्त्रणदेखि निकाल्नलाई क्यारिबियाली तथा ल्याटिन अमेरिकी देशहरूको सङ्घ–सेलाक र ल्याटिन अमेरिकी देशहरूको बोलिभारियाली गठबन्धन–अल्वा (बोलिभारान एलाएन्स फर दि अमेरिका) स्थापनामा भेनेजुयाली राष्ट्रपति चाभेजको निर्णायक भूमिका रहेको थियो। सोझो कुरा हो, अमेरिकाको विरुद्ध एउटा एकबद्ध र शक्तिशाली ल्याटिन अमेरिका उभिरहेको छ। चाभेजको भूमिका त्यसमा प्रमुख रह्यो। साम्राज्यवाद विरोधी सङ्घर्षमा चाभेजको भूमिकाको शिक्षाले आउने दिनहरुमा गरीब खटिखाने मानिसको मुक्तिसङ्घर्षमा केही रसदपानी अवश्य दिनेछ— यसमा कुनै सन्देह छैन। यसकारणले नै त भेनेजुएलाका बाटोमा लाखौँ जनताको उभारले ह्युगो चाभेजलाई बिदाइ दिँदा भन्दैथिए ‘हास्ता सियेम्प्रे कमान्दान्ते!’ ... बिदाइ कमाण्डर।


बङ्गलादेश बल्दैछ

थेन्डुप लामा


हाम्रा छिमेकी, बङ्गलादेशमा आगो सल्किरहेको छ। त्यहाँ युवासमाज तयार भएका छन् आफ्नो एक-एक थोपा खून बलिदान गर्न। राजधानी ढाकाको शाहबाग स्कोयर देखि त्यो आक्रोश फैलेर देशको विभिन्न प्रान्तमा पुगिसकेको छ । आवाज, हल्ला, चिच्याहट, नारा, जुलुस, चित्र, कला, गीत, पोस्टर, भीड, क्रोध आदिले शाहबाग डगमगाएको छ। आखिर के चाहन्छ यी लाखौ जनसमुद्र जो दिन-रात शाहबाग स्कोयरमा नाराहरू बुन्दैछन्, लडाई लड्दैछन्, विरोध प्रदर्शन गर्दैछन्, मारिँदैछन् अझै जाग्दैछन्, न्याय-न्याय भनी चिच्याउँदैछन्?



५ फरवरी, २०१३को दिन इन्टरनेशनल क्र्याइमस ट्राइबुनल (बङ्गलादेश)-ले जमात-इ-इस्लामीका नेता अब्दुल कादेर मोल्लाहलाई युद्ध अपराधी घोषित गर्दै ६ वटा मामिला मध्ये ५ वटामा दोषी घोषित गर्यो अनि आजीवन उमर कैदको सजाय सुनायो। मोल्लाहलाई मुक्तिकामी कवि मेहेरूनेसाको शिरच्छेदन, ११ वर्ष नाबालिकको बलात्कार, ३४४ जना मान्छेहरूको नरसंहार गरेको आरोपहरू छ। कोर्ट बाहिर निस्किंदा मोल्लाहले हातको इसाराले जितको चिन्ह देखायो। यो व्यवहार बङ्गलादेशीहरूलाई झापटको बराबर थियो। देशवासी खुसी थिएन मोल्लाहको आजीवन कारावास सँग बरु उनीहरूले यस्तो घृणित अपराधको सजाय केवल मृत्युदण्ड चिताएका थिए। साथसाथै देशभरिमा जमात र त्यसको विद्यार्थी सङ्गठन छात्र शिविरको ताण्डव, अत्याचार अनि जमात प्रति सत्ताको नरम मनोभावले देशवासीको मनमा गुनासोको जन्म दिइरहेको थियो, उनीहरूले न्यायपालिका लगायत तथाकथित राजनैतिक दलहरू माथि आस्था गुमाई बाटोमा ओर्लेकाछन्। शाहबागको नयाँ नामांकन भयो— ‘प्रजन्म चत्वर’ (पिडीको क्षेत्र)। ‘प्रजन्म चत्वर’मा मानिसलाई यो सम्झना फर्काइन क्रम चलिरहन्छ भने ३० लाख शहीद र २ लाख आमा-बहिनीको इज्जतको सट्टामा बङ्गलादेश स्वतन्त्र भएको थियो। 

कसैले प्रतिक्रिया जनाउला, मूल धारको मास-मिडिया जस्तै— यी लाखौ स्वरहरूले युद्ध अपराधी जमात-इ-इस्लामीका अध्यक्ष अब्दुल कादेर मोल्लालाई फासी र जमात-इ-इस्लामीलाई रोक लगाउने मांग गर्दैछन्। यतिमात्र यी शाहबागमा भेला भएको जनताले आशा साचेको छैन तर बलियो सपना बिकेको छ— सपना देशबाट धार्मिक कट्टरवादलाई जरैदेखि उखालेर तहसनहस गरिदिने, अझ भरोसा— यस आन्दोलनको तरङ्गले शोषणबाट उन्मुक्त नयाँ बङ्गलादेश सिर्जना हुने। अब बङ्गलादेशी नागरिकहरूले ठानी सकेको छ बेकारमा जमात-इ-इस्लामी र यो जस्तो धार्मिक कट्टरपन्थीले रचेको हिंसा र दंगामा त्यसै बलिको बाख्रा बन्नु भन्दा साहसी बनेर यिनीहरू विरुद्ध लड्नु, डरले थर-थर काप्नु भन्दा खूनको आहुति दिएर देशलाई इस्लामिक वा अरू धार्मिक कट्टरवादबाट पनि मुक्त पार्नु, यिनीहरूको आतङ्कले देश छोडेर भाग्नु भन्दा शिरमा कफन बेरेर देशलाई अत्याचारीहरूबाट उन्मुक्त गराउनु।


शाहबाग विरोधको आगो आज यति जोरले दन्केकोछ कि धार्मिक कट्टरपन्थी, रूढीवादी र शासकवर्ग डरले लक-लक काप्दैछ। उनीहरूलाई डर छ आफ्नो अस्तित्व यस डरेलोले स्वाहा पारिदिन्छ भनेर। यस आगोको बारूद सन् १९७१को बङ्गलादेश मुक्तियुद्धमा नै जनता भित्र फिजिएको थियो। त्यसबेला बङ्गलादेश, इस्लामिक प्रजातान्त्रिक पाकिस्तानको अधिनमा थियो। तत्कालीन बङ्गलादेशलाई पूर्व पाकिस्तान पनि भनिन्थ्यो। सन् १९४७मा ब्रिटिस उपनिवेश भारत भूमिको सत्ताहस्तान्तरण सँगसँगै शासकवर्गले मात्र दुईवटा राष्ट्रियताको आधारमा यस भूमिलाई धर्म आधारित हिन्दु भारत र इस्लामिक पाकिस्तानमा विवाजन गर्यो –-फलस्वरूप इस्लाम धर्म अपनाउने बहुसङ्ख्यक भएको पाकिस्तान, भारतको दुई पाटामा उपस्थित भयो। पाकिस्तानी हुकुमतले उर्दु भाषालाई राष्ट्रिय भाषाको स्वीकृति दिए र यो भाषालाई बहुसङ्ख्यक बंगाली भाषी भएको पूर्व पाकिस्तान अथवा बङ्गलादेशमा पनि थोपे। यो दुई क्षेत्र मध्ये रहेका सांस्कृतिक, भौगोलिक, सामाजिक फरकलाई पनि पाकिस्तानी शासकहरूले मर्यादा दिएको थिएन। सन् १९४८मा बंगला भाषीहरूले मातृभाषा आन्दोलन गर्नथाले जसले  सन् १९५२मा पुगेर विशाल रूप लियो र त्यस आन्दोलनलाई दबाउन पाकिस्तानी हुकुमत र बंगाली इस्लामिक कट्टरपन्थीहरू कठोर बलपूर्वक प्रयासरत रहेतापनि सक्षम हुन् सकेन र २१ फरबरी पुलिसको गोलीले ४ जना (सलाम, रफिक, बर्कत, जब्बार) शहीद भयो अनि त्यसपछि सन १९५६मा जनताको सङ्घर्षबाट बंगालीहरूले आफ्नो मातृभाषा प्रयोग गर्ने अधिकार जिते। फेरिपनि पुर्बीबंगालको जनता माथि चलेको शोषण घटेन। धार्मिक कट्टरपन्थीहरूले गरेको हिंसामा बंगाली मन र मस्तिष्कमा आभास भइसकेको थियो कि धर्म आधारित देशले केवल रूढीवादलाई कायम राखेर जनताको आकांशा र अधिकारलाई कुल्चने काम गर्छ र यसबाट मुक्त हुनु नै राष्ट्रियता आधारित देश निर्माण गर्न आवश्यक छ। यहाँ यो पनि उल्लेख गर्नुपर्छ कि बङ्गाली बाहेक अरू राष्ट्रियताको मानिसहरू पनि यस सङ्घर्षमा थियो, जो पाकिस्तानी हुकुमीबाट मुक्त हुन चाहन्थे। १९६६ मा स्वायत्तताको माँग तयार भयो र सन १९६९ मा जन अभ्युत्थान हुनथाल्यो। यस मुक्ति युद्धमा पाकिस्तानी सैनिक (जसलाई राजाकार भनिन्थ्यो) र पाकिस्तानलाई समर्थन गर्ने यहाँको इस्लामिक कट्टरपन्थीहरूले बङ्गलादेशमा तान्डव मच्चाएको थियो । लाखौँ मुक्ति चाहनेहरूलाई तड्पाई-तड्पाई मार्यो, हजारौँ नारीहरूलाई बलात्कार गरेर मृत्युको निंदमा सुताइदिए, जातिसंहार रचेर खूनको होलीमा रमायो, हिन्दुहरूलाई देशबाट खेद्यो। खूनमा लतपत लाखौँ लास र आँखा चिम्लिएका हजारौँ बलात्कृत आसुँका थोपाहरूले बङ्गलादेशको माटो भिजेको थियो। यो घाउ बोकेर बङ्गलादेश हुर्केको चार दशक बितिसक्दा पनि न्याय प्राप्त हुनसकेन। बरु युद्ध अपराधी राजाकरहरू मुक्त बङ्गलादेशको वायुमा लाज बिना स्वास फेर्दैथिए। तर जनताको जुझारु सङ्घर्ष र प्राय ३० लाख शहादत पछि १९७१ मा स्वतन्त्र बङ्गलादेशको जन्म भयो। शेख मुजिबर रहमान थियो त्यो स्वतन्त्रता सङ्घर्षको प्रमुख नेता, अनि सेनाको प्रधान जियाउर रहमान। अहिलेको दुईवटा प्रधान राजनैतिक दल आवामी लिग र बीएनपी, आवामी लिग अहिले सत्तामा छ, त्यसको नेत्री शेख हसीना शेख मुजिबर रहमानको छोरी हुन। बीएनपीको नेत्री खालेदा जिया हुन् जियाउररहमानको छोरी।

१७९१ मा जामातको जनसंहार गर्ने र बङ्गलादेशविरोधी भूमिकाको कारण १९७२ मा यस पार्टीलाई ब्यान गरियो। अब सवाल उठ्दैछ, अहिले किन जामात बङ्गलादेशमा राजनीति गर्दैछ? १९७४ मा प्रधानमन्त्री शेख मुजिबर रहमानले सामरीक टोलीको १९५ जना युद्ध अपराधीलाई केवल छोडेकोछैनन्, उनको सहायता दिने आलबदर, राजाकार, आलशामसहरूलाई र जेलबाट ३०००० दलाललाई पनि छाडिदियो। सन १९७७ मा जेनरल जिया आएर कार्वाही चल्नेहरूलाई छोडिसके। १९७५ पछि आएको सामरिक शासनमा ‘गणतन्त्र’, ‘समाजवाद’, धर्मनिष्पक्षता’ पनि गुमायो, ‘इस्लाम’ जोरसँग आउनुथाल्यो। धर्म लिएर राजनीतिको अवसरमा फेरी जामात राजनीतिक क्षेत्रमा ओर्लियो। जनसंहारका प्रमुख नेताहरूलाई लायो सामरिक शासकहरूले। २००१ देखि २००६ सम्म जामात बीएनपीसँगै सरकारमा थियो। त्यो समय नै उनीहरूका हजारौँ क्याडरले सरकारको क्याडर सर्भिस, सेना, पुलिसमा पसिसकेको ले आज उनीहरूनै सिनियर अफिसर बनेकोछ। अनि आफ्नो आधारलाई मजबुत गर्ने ठुलो व्यापारीहरूसँग सम्पर्क स्थापना गरेर बैङ्क, इन्स्योरेन्स जस्ता संस्थानहरूमाथि उनीहरूले कब्जा कायम गरेकोछ। यी सबै बाट वर्षमा कमसेकम ५० हजार कडोरको लेनदेन गर्छ। युरोप, आमेरिकाको ठुल्ठुला शक्तिहरू उसका मद्दतमा छ। अमेरिकाको एम्बासडरले बङ्गलादेश आएर जामातलाई गणतान्त्रिक दलको सर्टिफिकेट दिएकोछ। तर यी जमातहरूले नै ढाकामा जलुस गरेका थिए—‘हामी हुन्छौं तालिवान, देश बनाउछौं आफगान’।

 १९७१को घाउ बङ्गलादेशी युवा जमातमा अन्तर्निहित रूपमा भिजेको छ। उनीहरूले १९७१को अत्याचार र हिंसा नभोगे पनि उनीहरूको बाजे-बोजु, आमा-बाबा, साका-सन्तान, छर-छिमेकी र देशवासीले खाएको अपमान सहजै नसानसामा बग्छ। अन्यायी समाज पनि अपमानजनक हो भनेर उनीहरू बुझ्छन्। युवा जमातले इन्टरनेटमा ब्लग र फेसबुकको माध्यमद्वारा अब्दुल कादेर मोल्लाहलाई पुरस्कृत गरिएको सजायसँग असन्तुष्टि जनाउदै देशवासीलाई विरोध प्रदर्शनको आग्रह गरे, प्रचार गरे र स्वयम युवा जमात मैदानमा उत्रे। पहिलेबाट नै बङ्गलादेशी हृदय अन्यायीको बारूदले भरिपूर्ण थियो। मोल्लाहको जितको चिन्हले यस बारूदलाई झिल्का दियो र विस्फोट भयो शाहबाग स्कोयरमा, बङ्गलादेश बिउझ्यो र यस विस्फोटको आवाज दुनिया भरि गुन्जयमान हुँदैछ। शाहबागले पहिले राजाकारद्वारा हत्या गरेको मुक्तिकामी देशवासीको लासहरूको थुप्रो देखेको थियो भने यसपालि विशाल जिउदो जनसमुद्रले खूनको बदला र न्यायको मांग गरेको साक्षी बन्यो। 

आजको युवाहरू जो चाहदैछन् त्यसको एकमात्र राजनैतिक लक्ष्य हो युद्ध अपराधीहरूका सर्वोच्च सजाय। यो मागहरू प्रचलित व्यवस्थाप्रति तीव्र अनास्थाबाट उभिएको छ। यहाँ फाँसीको माग छ, तर फाँसी वा मृत्यदण्ड वा क्यापिटल पनिसमेन्ट विरुद्ध आज संसारभरि आवाज उठ्दैछ। यहाँको यस्तो माँग केही हदसम्म अचम्म लाग्दैछ, खासगरी जब आवाज उठाउनेहरूमा आजको पीडीको युवा र इन्टरनेट स्याभीहरू ज्यादा छन्। तर कादेर मोल्लाको अदालतबाट निकाल्दा लाइफ सेन्टेन्स पाएतापनि भिक्ट्री साइन देखाउनले जनतामा अझपनि रिस तयार पार्यो। उनीहरू यसभन्दा बेसी केही सजाय माग्दैछन्। 

५ फरवरीमा सुरु भएको यस विरोधले आझ ठुलो मोड़ लियो जब जामात-इ-इस्लामीका समर्थकहरूले विद्रोही अनि इन्टरनेट ब्लगर अहमेद राजिब हैदरलाई १५ फरवरीमा शिरच्छेदन गरी मारिदिए। हैदरले विरोधको सुरुदेखि नै सक्रिय भागीदारी साथै इन्टरनेटको ब्लगहरूमा लेखेर जमात-इ-इस्लामीको साचोँ अनुहार बेनकाब गरेका थिए। जमात-इ-इस्लामीले दंगा फैलाए धेरै आन्दोलकारी मरे पनि, शाहबागमा बम राख्ने चेतावनी दिए, ब्लगरहरूलाई धम्कि दिए तापनि शाहबागको आगो मेटाउन भनी सकेन तर यसले झन् घिउ हाल्ने काम गर्यो। प्रजन्म चत्तरले उनीहरूको न्याय र मांग पुरा भएर मात्र रणभूमि त्याग्ने प्रतिज्ञा लिएको छ। २१ फरवरीमा प्रोजोन्मो चोत्तोरले ६-विषयसुचीको दावा राखे। ती यस प्रकार छ : (१) सात दिन भित्रमा जामात-शिविरद्वारा मारिएका शहीदहरूलाई मार्ने व्यक्तिहरू गिरफ्तार हुनुपर्छ, (२) २६ मार्च भित्र युद्ध आपराधिक सङ्गठन, बङ्गलादेशको मुक्ति विरोध तथा जातिसंहार गरेको खण्डमा जामात-सिविरमाथि रोक लगाउन कानुनी कारबाहीको प्रक्रिया सुरु भएको हुनुपर्छ, (३) जामात-सिविरलाई आर्थिक सहयोग पुर्याउने सङ्गठनहरूलाई चिन्हित गर्न र कानुनी प्रक्रिया चलाउन छिटो भन्दा छिटो एउटा स्वतन्त्र जाँच कमिटी तयार गर्नुपर्छ, (४) न्यायिक प्रक्रियालाई सुनिश्चित गर्न अन्तराष्ट्रिय युद्ध अपराध त्रिबुनललाई स्थायी ढाँचा दिनुपर्छ, (५) जनसाधारणको सुरक्षा सुनिश्चित गर्न, कानुनको प्रवक्ताहरू झट्ट भन्दा झट्ट आतंककारीलाई पक्रन अनि तिनीहरूको अड्डा भण्डाफोर गर्न गतिशील हुनपर्छ र यिनीहरूले रचेको आतंकित राजको वास्तविकतालाई राष्ट्रिय अनि अन्तराष्ट्रिय मिडियामा प्रकाशित गर्नुपर्छ, (६) युद्ध अपराधीहरूलाई सुरक्षा दिने अनि रूढीवादलाई उत्तेजित गर्ने मिडिया विरुद्ध कदम चालू हुनपर्छ। शाहबाग स्कोयरमा १९ फरवरीको दिननै देशको खटिखाने समूहसम्म यस मुद्दा पुर्याउने बाचा लिएर तयार गरेको ‘शाहबाग जनजागरण मंच’-ले २२ फरवरीको दिन राष्ट्रव्यापी विरोधको घोषणा गर्यो। यसको जवाबमा जामातका कर्मीहरूले सिलहेत केन्द्रीय शहीद मिनार तोरफोर गरे अनि बङ्गलादेशको राष्ट्रिय झण्डा र फूलमा आगो लगाए। यस घटनाद्वारा आक्रोशित जनताहरूले पनि सिलहेत नगरमा जामातका संस्थानहरू जलाइदिए। 

केवल युद्ध अपराधी हरूका फाँसी हुन्भने, जामात शिबिर निषिद्ध हुन्भने के जनतामा जन्मेको अविश्वास गुमाउनेछ? १९७१ पछि पनि जसको विरुद्ध उनीहरूले सङ्घर्ष गरेका थिए त्यो धर्मको आधारमा विभाजन, धर्मलाई राजनीतिमा उपयोग गर्ने क्रम चल्दै आयो। अर्कोतिर उनीहरूका आर्थिक स्थितिमा केही सुधार आएन, बङ्गलादेश संसारमा सबभन्दा गरीब देशहरूमा प्रमुख हुन्। देशको बिकावको निम्ति यो देशी शासकहरूले साम्राज्यवादको अगाडी देशलाई बिक्री गर्ने जुन कदमहरू लियो, त्यो क्रममा नै धेरै नयाँ-राजाकार पनि जन्मलियो। यस्तो राजाकारहरूलाई बारम्बार भेटेकाछन् मानिसले। अर्कोतिर मुक्तियोद्धा अनि बिरंगनाहरू अपमानित भएकाछन् बारम्बार। जनताले यसको विरुद्ध नै आफ्नो विरोध व्यक्त गर्दैछन्। 

यो जनजागरणमा केही समस्याहरू पनि छन्। जनताको सामग्रीक समस्यालाई जरादेखि उखाल्ने केही एकवद्ध विचार यसमा छैन। आर्थिक स्थितिको कसरी उन्नति हुन्छ— त्यसको योजना पनि छैन। यसमाथि छन् बङ्गलादेशमा बसोबासो गर्ने बंगाली बाहेक अरू राष्ट्रियता बारे महत्व दिनु बारे सचेतनाको अभाव। गणजागरण मञ्चमा स्लोगन उठ्दैछ— ‘तिमी को? म को? बङ्गाली! बङ्गाली!’। तर यो देश केवल बंगालीको मात्र होइन। ‘बङ्गलादेश’ गठनमा चाकमा, त्रिपुरा आदि प्राय ७५ वटा सानोतिनो जातीगोष्ठीको रगत र सङ्घर्षको भागीदारी छ। १९७१ मा भएको सङ्घर्ष केवल आवामी लिग र शेख मुजिबको आफ्नो सङ्घर्ष, केही एक नेता वा दलको सङ्घर्ष थिएन। तर मुजिबले आफ्नो विख्यात भाषणमा भन्नु भएका थिए— ‘त सबैजनाले बङ्गाली बनोस्’। संविधानको रचना हुदाखेरी पनि यस विचारको नै प्रभाव थियो, जसको विरुद्धमा पहाडी क्षेत्रको अर्को राष्ट्रियताको नेता एम एन लारमाले संविधानमा केवल बङ्गाली राष्टियताको उल्लेख बारे विरोध गर्नुभयो। तरैपनि सत्तामा बसेको शासकहरू द्वारा यस्तो जातिवादी कार्यक्रमनै चल्यो। यसको प्रतिवादमा यो राष्ट्रियताहरूका आफ्नो सङ्घर्ष पनि चल्दैछ। अहिलेको शाहबाग आन्दोलनमा यस्तो राष्ट्रियताको मानिसहरूले एकतिर समर्थन अनि अर्कोतिर आफ्नो अलग राष्ट्रियताको पहिचानलाई पेस गरेकाछन्। उनीहरूले राजाकार, धार्मिक कट्टरवादी हरूबाट देश मुक्त बनोस्, धर्मनिष्पक्षता अनि गैरसाम्प्रदायिक चेतनाको सँगसँगै राष्ट्रियताको पहिचानको सवालमा पनि यो नयाँ पीडीका आखा खोलोस्— यो इच्छा व्यक्त गर्दैछन्।



स्वास्थ्य व्यवस्था कसको निम्ति?

प्रियंका प्रधान


देशको स्वास्थ्य व्यवस्था सरकारी वा निजी सधैँ नै धनी वर्गको निम्ति अनुकूल र बहुसङ्ख्यक गरीब जनताको हितबाट विमुख भएको त हामी सबैलाई थाहा छ। सरकारी स्वास्थ्य कार्यक्रमहरूमा सरकारी अनुदानवा खर्चको हिसाबमा भारत विश्वको एकदमै गरीब देशहरू जस्तै कोम्बोडिया, कोंगो, जोर्जिया आदि भन्दा पनि पछाडि छ। सन् १९९०-को दशकमा केन्द्रीय सरकारले घरेलु सकल उत्पाद (जी.डी.पी.)-को ०.३ % स्वास्थ्य माथि खर्च गरेको थियो। स्वास्थ्यको निम्ति केन्द्रीय सरकारको बजट बितेको दशकमा प्राय स्थिर नै रह्यो र धेर थोर बढ्त मात्र मुद्रास्फीतिको चाप (inflatory pressure)- लाई हेरेर गरियो। सरकारी निवेश ३-४ प्रति क्यापिटा भए, कुनै पनि व्यवस्था सुचारु रूपले चल्न सक्दैन। तर अचम्मको कुरा के छ भने सत्ता हस्तान्तरण पछि प्राय ६ दशक बितिसक्दा पनि जनताको स्वास्थ्य सुधारको निम्ति कुनै ठोस कदम भने सरकारले लिन सकिरहेको छैन।



सन् २००० मा वर्ल्ड हेल्थ अर्गनाइजेसन (डब्ल्यु.एच.ओ)-ले विश्व आर्थिक विकासमा स्वास्थ्यको मूल्याङ्कन गर्न भनी गरिएको अध्ययन अनुसार ‘‘परिवार अनि स्वास्थ्य मन्त्रालय ले स्वास्थ्यको मूल मुद्धालाई गहन रूपमा नलिई र कुनै उद्देश्य वा लक्ष्य बिना काम गरिरहेको छ’’ भन्ने बताएकाछन् । देशमा गरीब जनता बहुसङ्ख्यक भए ता पनि सरकारी नीति निर्माणकर्ताहरु यिनै बहुसङ्ख्यकको न्यूनतम हितको लागि कुनै नीति बनाउने तत्पर छैनन्। (ग्रामीण र सहरी भु-भागमा आर्थिक विभाजन, करेलमा २ गुना, मध्य प्रदेशमा ३६ गुना छ, यसै कारण धनीहरु भन्दा बढी गरीबले स्वास्थ्य खर्च बेहोर्नपर्छ)। बेसी भाग ग्रामीण जनताले आफ्नो ५-८ % आय स्वास्थ्यमाथि खर्च गर्छन् भने अरूले मात्र २-३ % आय स्वास्थ्य माथि खर्च गर्छन्। ग्रामीण सरकारी अस्पातालहरुमा मात्र १० % रोगीको निम्ति पलङ् व्यवस्था गरिएकाछन् तर त्यहीँ निजी अस्पतालहरुमा भने ३० % रोगीहरुका लागी पलङ् लिएर त्यहीँ ग्रामीण क्षेत्रमा पुग्न सकेका छन्, सरकारको यस विषयमाथिको मौनता र पक्षपातले हामीलाई अचम्भित बनाउछ।

जनमानसमा एउटा प्रचलित भुल धारणा के रहेको छ भने सरकार स्वास्थ्य संस्थान वा कार्यक्रमहरुबाट गरीब मानिसहरू नै बढी लाभान्वीत हुन्छन्। तर स्वास्थ्यमा दिईनु पर्ने सरकारी खर्च वा अनुदान भने जति हुनु पर्ने हुन्छ त्यति कहिले भएन। सन् २००२ मा जेन ड्रेज र अमर्त्य सेनद्वारा गरिएको अध्ययन अनुसार भारतमा सरकारी स्वास्थ्य अनुदान केही गरीब भन्दा गरीब देशहरू जस्तै कोम्बोडिया, कोंगो, जोर्जिया भन्दा पनि कम छ। यसै अध्ययनको चापमा परेर, भारत सरकारलाई यो तथ्य अँगाल्न कर पऱ्यो र स्वीकार पनि गर्न पऱ्यो कि सरकारी आस्पतालहरुले १८ % बाहिरी रोगि र ४० % अस्पतालमा भर्ति हुने रोगीहरुको दायित्व उठाउन सक्छ। यो हो सरकारको क्षमता। 

 अब बाँकी जनता भने कहाँ जाऊन्? निजी आस्पताल बाहेक अर्को कुनै विकल्प नै रहेन। अब कसरी गरीबको स्वास्थ्य सम्बन्धी समस्याहरू सरकारले हल गर्छ भनेर भन्न सकिन्छ। ८२ % बाहिरि-रोगीहरु नै निजी अस्पताल/क्लिनिक-हरु जान्छन। वर्ल्ड ब्यांकको सर्वेक्षण अनुसार प्रसव सम्बन्धी र इम्युनाइजेसन (immunization) दुवै बाहिरी रोगी (out-door patient) र भित्री रोगीहरुलाई (admitted patient) स्वास्थ्य सेवा प्रदान गर्नमा निजी अस्पतालहरु नै सरकारी अस्पतालहरु भन्दा बढी सफल भएका छन्। तर जे नै भने पनि गरीबले नै आफ्नो आयको बेसी भाग खर्च गर्न पर्दछ स्वास्थ्य सेवामा। 

जनमानसको स्वास्थ्य र स्वास्थ्य सम्बन्धी नीतिहरू केवल सकारले मात्र नभएर विदेशी अनुदानबाट आउने रकम तथा त्यसपछि रहेको सर्तहरूले पनि तय गर्छ। टी.बी. देखि मलेरिया र अन्य सबै सङ्क्रामक एवं सरुवा रोगहरुको रोकथामको निम्ति सरकार अझै पनि विदेशी संस्थाहरू जस्तै फोर्ड, रोकफेलर आदि माथि निर्भर छ। यसबाट के बुझिन्छ भन स्वतन्त्रता केवल बाहिरी हो, जनताको स्वस्थ भविष्य अझ पनि विदेशी दानकर्ताहरुको हातमै छ। 

भारत जस्तो बृहत् देशमा स्वस्थ्य सम्बन्धी अनुसन्धानहरु हुनु अनिवार्य छ तर अनुसन्धान कार्यक्रमको नाममा धेरै विश्वासघात र बदनामी मात्र गरिएको केही दशकदेखि हेर्दै आएका छौँ। आइ.सी.एम.आर जस्ता संस्थाहरू निष्क्रिय र कम महत्वका भएका छन्। सन् २००० मा नै के देखियो भने देशकै उच्चतर श्रेणीहरुमा गनिने केन्द्रहरु मध्ये तिरुभनन्तपुरम स्थित क्षेत्रीय क्यान्सर केन्द्रलाई एउटा अतिनै अमानवीय र निच कार्य गर्न स्वीकृति दिइयो। यस कार्यमा जोन होप्किंग विश्वविधालय र दवाई बनाउने निजी कम्पनी एरिमोसद्वारा निर्माण गरिएको दवाईको परिक्षण २७ गरीब मानिसमाथि गरियो, जसमा ती गरीब मानिसहरूलाई हानि हुन गयो। यदि यस्तो नव-उदारवादी नीतिहरू नै सरकारले भविष्यमा अपनाउने हो भने आम जनताको के अवस्था हुने छ, यो सोच्न पनि सकिँदैन। यसबाट सोझै बुझिन्छ कि सरकारलाई विदेशी अनुदानसित सरोकार छ, आफ्नो जनतासित होइन।

अस्वस्थ्य गरीब जनता र स्वास्थ्य धनी जनता बिचको असमानताबाट हुन सक्ने समस्याबाट विकसित देशहरू डराईरहेता पनि यसको प्रभाव स्वास्थ्य सम्बन्धी अनुसन्धान स्वास्थ्य व्यवस्था बढाउने प्रति भने त्यति देखिन्ददैन।

सन् १९९६मा एड-हक् कमिटिद्वारा स्वास्थ्य अनुसन्धान सम्बन्धी भविष्यका विकल्पहरुमाथि गरिएको सर्वेक्षण अनुसार, सम्पूर्ण वैश्विक निवेशको ९५ % विकसित देशहरूमा देखिने जटिल रोगहरुमा खर्च गरिनेछ र मात्र ५ % चाँही विकासशील देशमा समयान्त पाइने रोगहरु जस्तै निमोनिया, मलेरिया इत्यादि माथि गरिने अनुसन्धानमा खर्च गरिने छ। वास्तवमा यिनै सजिलैसित उपचार गर्न सकिने रोगहरुले नै तेस्रो संसारका देशहरूका मानिसहरू दिनोदीन मृत्युको मुखमा पुग्छन। स्वास्थ्य क्षेत्रको मूल अनुदान को ९० % हिस्सा अन्य विकासशील देशहरुबाट अनि १० % एन.जी.ओ-हरूबाट आएपछि यो असमानता त स्वभाविक नै हो।

आज हुन त धेरै रोगको उपचार गर्न सम्भव भएको छ तर उपचारको निम्ति चाहिने यन्त्रहरुको मूल्य धेरै छ। यसो हुँदा सरकारी अस्पतालमा त यी यन्त्रहरू उपलब्ध गराउन, सरकारले नै यसको निम्ति कम बजेट तोकेपछि, यी यन्त्रहरु किन्ने प्रश्नै उठ्दैन। अब निजी अस्पतालमा भने सबै सुविधा भए पनि पैसा नभएका गरीब जनता, निजी अस्पतालको ढोकासमेत टेकना पाउँदैनन्।

देशको ११ ठुला राज्यहरुका बजेटको क्रमलाई हेर्दा सन् १९८५-८६ मा सम्पूर्ण कर बजेटको ७.१९ % स्वास्थ्य क्षेत्रको निम्ति थियो भने १९९१-२ मा यो घटेर ५.४६ % मात्र भयो। आइ.डी.पी.एल र हिन्दुस्तान एन्टीबायोटिक्स जस्ता सरकारी संस्थान/ कारखानाहरु बन्द गर्न अघि सरकारको नियत ठिक छैन भन्ने त बुजी हालिन्छ। यिनै संस्थाहरू निजी कम्पनीहरूको विरुद्ध खडा हुन सक्थे।

विदेशी स्तरीय स्वास्थ्य सुविधा खोज्ने धनीको निम्ति त संसार त सुन्दर नै छ, जहिले पनि स्वास्थ्य सेवा घर दैलोमा आइपुग्छ, तर गरीबको प्रसङ्गमा भने यो ठिक उल्टो हुन जान्छ। आज गरीब न त सरकारी अस्पताल जान सक्छ न त बेसरकारी अस्पताल जान सक्छ किनकि सरकारले केवल सुत्ने ओछ्यान दिन्छ अनि बेसरकारी अस्पतालमा सुत्ने ओछ्यान समेत किरायामा लिनु पर्दछ।

ग्रामीण क्षेत्रमा १५ देखि २४ % अनि सहरी क्षेत्रमा १० देखि २१ % मानिस पैसाको अभावले गर्दा उपचार नगराई नै मर्छन् र यो आँकडा १९८६-९६ मा अझै २ गुणा बढेर गएको पाइन्छ । बहुसङ्ख्यक गरीब जनता त स्वस्थ्य भविष्यको सपना पनि देख्न छोडीसकेका छन्। माध्यम वर्गका मानिसहरू धेर थोर खर्च ब्यहोर्न सक्छन्, तर कुनै ठुलो रोगको सिकार भएमा उनीहरूले पनि आफ्नो थोरै भएको सम्पति बेच्न बाध्य बन्छन्।