Friday, April 26, 2013

चियो-चासो : समाज अनि व्यावसायिक संचार-माध्यम

टीका ‘भाइ’


संसारको आयतनलाई सूचना प्रौद्योगिकीको विकासले खुम्चाएर धेरै सानो बनाएको समयमा छौँ। विश्वको खबर अनि सूचना मुट्ठीमै बोकेर हिडीरहेको हाम्रो समाजमा पनि किनारीकृत तथा उत्पीडित श्रेणी, वर्ग, जाति आदिका आवाज अनि सङ्घर्षहरू संचार-माध्यमको निम्ति कुनै मूल्य प्राप्त गर्न नसकिरहेको देखिनै रहेका छौँ। यस बारेमा पनि हाम्रो बहस अनि चिन्तन अनिवार्य देखिएको छ।

मुनाफाप्राप्तिको सिकारमा व्यस्त व्यावसायिक संसारमा सूचना पनि एउटा व्यावसायिक लाभ दिने ‘वस्तु’ बन्न पुगेको छ। नाफाका निम्ति खबरकागजहरू, नाफाकै निम्ति टेलिभिजन तथा निजी एफ.एम. सेवाहरू, नाफाकै पछि इन्टरनेट सञ्जालका धेरै वेबसाइटहरू छन्। ती सूचनाहरू प्रायजसो कि त मनोरन्जन आधारित, कि जनता अनि बहुसङ्ख्यकमा चासो उत्पन्न गर्ने मसलादार हुनपर्ने माग आधारित हुने हुनाले जनहितका धेरै सवाल अनि सूचनाहरूले मुख्य-धाराका संचार-माध्यमबाट अलग रहनुपरेको छ। जन-जिज्ञासाका केही खबरहरूले ती माध्यमहरूमा ठाउँ पाए पनि ती सूचनाहरू या त कर्पोरेट हितलाई वा त सरकार अनि सत्ताको हितलाई वा त कुनै सक्षम दल वा समूहको हितलाई ध्यानमा राखेर प्रचारित गरिएका हुन्छन्। ठुलो सङ्ख्यामा रहेका आम-नागरिकहरूका निम्ति संचार-माध्यमबाट प्रचारित, प्रसारित सूचनाहरू नै सामाजिक तथा राजनैतिक सत्य जान्ने औजार हो। ती माध्यमहरूबाट प्रसारित खबरको सत्यता अनि निरपेक्षता जाँच गर्ने सचेतताको अभावको कारण आम जन-जीवनमा टेलिभिजन तथा खबर-कागजले बोकेका कुरा वा चेतनाकै मानसिक प्रभुत्व स्थापित हुनेगर्दछ। यसले एक हिसाबमा यान्त्रिक चेतनालाई समाजमा स्थापित गर्ने कार्य गरिरहेको छ। व्यावसायिक मिडियाहरूको मानसिक प्रभुत्वको कारण जन-मानसमा समाजलाई हेर्ने यथास्थितिवादी चेतनाले गहिरो छाप छोड्दै गैरहेको छ भने अर्कोतिर समाजमा निहित अन्याय-अत्याचार-उत्पीडन-हिंसा आदिको निम्ति पनि मिडियाबाट प्रसारित यान्त्रिक समाधान सूत्रहरूमै जनताको आम विश्वास वा भरोसा स्थापित हुँदैछ।

आजका कर्पोरेट मिडियाहरूले समय-समयमा चर्चाहरूद्वारा विभिन्न सामाजिक, राजनतिक ‘हिरो’ वा ‘नायक’-हरू निर्माण गरिरहेका देखिरहेका छौँ। रामदेव, अन्ना हजारे तथा अरू अरू जसको पछि पुरै देशका शिक्षित देखि अशिक्षित श्रेणी सम्मको आशा केन्द्रित हुनपुग्छ तर त्यो आस्था अनुरूप देशको विधान, व्यवस्था अनि अवस्थामा भने कुनै व्यावहारिक परिवर्तन आएको देखिएको छैन। परिवर्तन, भ्रष्ट्रचारविरोधी जन-आकांक्षा, महिला हिंसा जस्ता सामयिक विषयहरूलाई मुख्य-धाराका सूचना-माध्यमहरूले ठुलै बहस अनि चर्चाको विषय बनाउन खोजेको देखे पनि त्यसको निम्ति थुप्रै यान्त्रिक समाधान सूत्रहरू देखाउने गरेको छ। कानुनको मजबुती वा हेर-फेर, सामाजिक सक्रियता, शिक्षा-सचेतना, आदि उपाय वा समाधान सूत्रतिर जनताको ध्यान पुऱ्याउने हाम्रा संचार-माध्यमहरूले व्यवस्थागत त्रुटी, असफलता अनि देशको अर्थतन्त्रलाई पनि औँला उठाउने काम गर्दैन। बरु समय-समयमा आफ्नो वा कुनै ‘भेस्टेड स्वार्थ’ बोकेका सत्ता-वा समूह हित अनुकूल ‘प्रोभोकेटिभ’ सूचनाहरू प्रसारणमा समय व्यतित गर्दछ। एक हिसाबमा समाजका सकारात्मक शक्तिहरू जसले उत्पीडित वर्ग, जाति वा समूहको निम्ति इमानदारीपुर्वक कार्य गरिरहेछ। जसले राज्य-सत्ताको हाँगामा बसेर स्वार्थको फल दार्ने श्रेणी विरुद्ध सङ्घर्ष गरिरहेछ उनीहरूको आवाजहरू अनि पहलहरूलाई अनदेखा गरेर सूचनालाई केवल वस्तु रूपमा व्यापार गर्ने मात्र जिम्मेवारी निर्वाह गरिरहेछ। यसै त सञ्चार माध्यमलाई देश अनि गणतन्त्रको चौथो स्तम्भको रूपमा व्यक्त गर्ने प्रथा कायम छ तर यो यत्तिको महत् क्षेत्र व्यावसायिक इकाई नै मात्र भएको हुँदा यसमाथि वर्चस्वशाली शक्ति अनि समूहको प्रभाव गहिरो हुने हुनाले। एउटा अर्को आवश्यकता हाम्रो समाजमा खट्किन गएको छ। त्यो हो ‘वैकल्पिक मिडिया वा सञ्चार-माध्यम’ –को आवश्यकता। उत्पीडित वर्ग, श्रेणी, तथा समूहहरूले आफ्नो आवाज अनि सङ्घर्षशील चेतनालाई मुख्य-धाराका सञ्चार-माध्यमद्वारा उत्घाटित गर्न नसक्ने वा असम्भव हुने हुनाले अनि यससितै समाजमा निहित विभिन्न थरीका सामिजिक-राजनैतिक सङ्कटको वैज्ञानिक समधान सूत्र अनि सचेतनालाई व्यापक तुल्याउन मुख्य-धाराका सञ्चारकै हाराहारी वैकल्पिक सञ्चार-साधनलाई विकास गरेर लैजाने कोसिस अनिवार्य हुने हुन्छ। शिक्षित युवा-वर्गले जनताको सङ्घर्षलाई सही दिशा अनि सही चेतनाद्वारा निर्देशित गर्न सही आवाज अनि धार सहितका पत्र-पत्रिका तथा अन्य आधुनिक सञ्चार श्रोतहरूको निर्माणलाई अभियान वा आन्दोलनकै हिस्साको रूपमा बढाएर लैजान सकिए यसबाट मुख्य-धाराका सञ्चार-साधनले निर्माण गरेको मानसिक वा चेतानागत प्रभुत्वलाई दह्रिलो जवाब हुनसक्छ। तथापि यस्ता साधनहरू जनताको निर्दिष्ट आन्दोलन अनि राजनैतिक-सामिजिक उद्देश्यको पहिया भएरै मात्र काम गर्न सक्छ। अनि व्यक्तिगत भन्दा सामूहिक उद्देश्य अनि प्रयत्नद्वारा यस्ता सूचना श्रोतहरू निर्माण गरेर लैजान सकिए सही रूपमा जनताको परिवर्तनगामी आकाङ्क्षाको साथी बन्न सक्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...