Friday, July 4, 2014

सम्पादकीय : मई-जुन २०१४

श्रमनै समाज-सभ्यताको निर्माता हो

हाम्रो ‘लालीगुरास’ पत्रिकाको यो अङ्क मईको शुरुमानै 'मई दिवस अनि मजदुर वर्ग' माथि प्राथमिकता दिएर निकाल्ने कुरा भएतापनि हामी अलिकति ढिलो भयो। यो ढिलोको कारण खास के हो भने मईको शुरुमानै हामीले ‘मई दिवस’को उपलक्षमा हाम्रो सडक नाटक टोली ‘दृश्यसमुह’-को पक्षबाट चार दिने सडक नाटक अभियान राखेका थियौँ। त्यो कार्यक्रम पछि पत्रिकाको तयारीको काममा हामी लाग्यौं, तर त्यसपछि आयो हाम्रो ‘स्वाधीन’ देशको ‘गणतन्त्र’-को सबभन्दा ठुलो उत्सव चुनावको रिजल्टको क्षण! त्यसपछी नै पत्रिका निकाल्छौं किनभने त्यसमाथि पनि हाम्रो विचारहरू व्यक्त गर्नुपर्ने सोचेर अझै ढिलो भयो। तर यो कुरा साफ थियो कि शासनको भार यसपालि जसको हातमा नै जावोस्, आममानिसको जीवन ‘स्वाधीनता’को स्वाददेखि धेरै टाढै रहिरहन्छ। गलत आर्थिक नीतिको फलस्वरुप बेरोजगारी, काम गुमाउनु, कम ज्यालामा काम गर्न बाध्य हुनु जस्ता कुराहरू सहित मजदुर वर्गको सामाजिक असुरक्षा बढ्दै गयो। विगत वर्षहरूमा मानिसहरूको जीवन-जीविकामाथि आक्रमण क्रमैसँग बढेको छ। शहर र गाउँदेखि जनसङ्ख्याको एउटा ठुलो अंश आफ्नो वासस्थान अनि जीविका देखि विस्थापित हुँदै गइरहेको छ— गरिबी अनि समस्याग्रस्त त्यो जन भेल जीवन-जीविकाको खोजमा अन्य राज्य वा अर्को देशमा गई जुनैपनि प्रकारले बाँच्न चाहन्छ। शिक्षा र स्वास्थ्य जस्तो मौलिक सेवाहरूलाई निजीकरण गर्दाखेरी समाजको एउटा ठुलो अंश यी सेवाहरूबाट बञ्चित भइरहेका छन्। पुँजीको नाफा अभिमुखी आकाङ्क्षाले आममानिसलाई मानिस जस्तो बाँच्न अधिकार दिलाउने एकदमै विफल भएको छ— यो कुरा जति स्पष्ट हुँदैजान्छ, त्यति नै यस कुराबाट जनताको ध्यान हटाउन समाजको सत्ताधारी हिस्सा र उनको पिछलग्गु सरकार-प्रशासन-मिडिया-नोकरशाहीले आँखामा धुलो छर्किने एक पछि अर्को योजना र षड्यन्त्रहरू बुन्दै आइरहेको छ। 

मानिसको श्रमनै समाज-सभ्यताको निर्माता हो। हाम्रो यहाँ हेऱ्यौं भने मजदुर वर्गको त्यो भूमिका त अझै स्पष्ट हुन्छ। यहाँको बाटोघाटो, भवन, त्यसपछि चियाकमान, कुलैनबारी देखि लिएर प्रत्येक पाइला नै खटिखाने मजदुरको रगत-पसिनाले भिजेको छ। त्यसकारणले गर्दा मई दिवस इतिहासको पन्नामा त्यो प्रमाण लेख्ने दिन हो— छुट्टीको दिन वा औपचारिकताको दिन होइन, बरु एउटा शपथको दिन हो। 

हाम्रो विचारमा —हाम्रो समाजको सम्भावित विकासको अघि बाधा बनेको छ वर्तमान समाजव्यवस्थामा रहेका विभिन्नखाले शोषण, उत्पीड़न, भेदभाव। समाजको शैक्षिक, सामाजिक, सांस्कृतिक पक्षहरूको सम्पूर्ण विकासको निम्ति विद्धमान व्यवस्थाको क्रान्तिकारी पुनर्गठन अनि एउटा नयाँ समाजतिरको यात्रा अपरिहार्य हो— जुन समाजमा कुनैपनि शोषण र उत्पीडन हुँदैन। यस स्थितिमा समाज जीवनको सबैक्षेत्रमा शासकवर्गको विचारको बढ्दो असर विरुद्ध हामी विकल्प समाजको भावनालाई प्रतिस्थापित गर्न चाहन्छौँ। यस विकल्पको खोजीमा हिड्नेहरूलाई त इतिहासको पन्नाबाट मई दिवसको इतिहास जान्न अत्यन्त जरुरी छ। त्यसोभए मात्रै पुरानो पन्ना नाघेर नयाँ पन्नामा नयाँ इतिहास लेख्न सकिन्छ। 

के हो त खासमा मई दिवस? १८ र १९औ शताब्दीको औध्योगिक क्रान्तिले विश्वमा पुँजीवादको जरालाई अझ दह्रिलो बनायो र यसले मजदुर श्रेणीको उत्पीडनलाई अझ तीक्ष्ण र घनिभूत तुल्याइदियो। मजदुर श्रेणी माथिको अवर्णनीय उत्पीडन र अन्यायले मालिक वर्गप्रति मजदुर वर्गमा तीव्र रिस र अविश्वास फैलिन थाल्यो जसबाट उन्नाइसौं शताब्दीमा विश्वका धेरै मुलुकहरूमा एकपछि अर्को मजदुर सङ्घर्ष र विरोधले अभिव्यक्ति पाउन थाल्यो। विरोध र सङ्घर्षको यही प्राथमिक कालमा मजदुरवर्गले अमेरिकाको सिकागो सहरमा आठ घण्टा कामको माग लिएर ओर्लिएको मजदुर आन्दोलनले व्यापक असर पायो। १ मई १८८६ मा लगभग ३५०००० को सङ्ख्यामा निस्किएको जुलुस र हड्ताल दबाउन प्रहरीले धेरै जना मजदुरको निर्मम हत्या गरिदियो। उक्त आन्दोलनको ८ जना नेताहरूलाई पक्राउ गऱ्यो जसमध्ये ४ जनालाई फाँसी र अन्यलाई जीवनकैदको सजाय सुनाइयो। यस आन्दोलनलाई दबाउन अमेरिकी सरकारले निर्मम उपाय प्रयोग गरेपनि यस आन्दोलनको प्रभाव सारा विश्वमा पर्नगयो। सन् १८८९ मा मजदुर वर्गको अन्तर्राष्ट्रिय सङ्गठनले के निर्णय लियो भने सन् १८९० को १ मई युरोप र अमेरिकामा शहीदहरूको सम्झनामा व्यापक सङ्ख्यामा विरोध प्रदर्शन र हडताल हुनेछ। ८ घण्टा काम र राम्रो स्वास्थ्य व्यवस्थाको मांगलाई फेरी प्राथमिकता दिइयो। सङ्घर्षमा मजदुरहरूको रगतले भिजेको लुगा मजदुर सङ्घर्षको नयाँ निशान ठहरिंदै मजदुर वर्गको रातो झण्डाको जन्म भयो। दुनियाँभरि नै श्रमिकवर्गको आफ्नै झण्डाको हिसाबले रातो झण्डाको आगमन भयो। अरू अरू पार्टीहरूले जतिनै रातो झण्डालाई उठाओस्, यो रातो झण्डा कुनै पार्टी विशेषको होइन तर समग्रतामा मजदुर वर्गको हो। मजदुर वर्गको आत्मसम्मान, अधिकार र उन्मुक्तिको प्रतीक झैँ यो दिनलाई पुरै संसारमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाइन्छ। केवल छुट्टीको दिन होइन, औपचारिकता मात्रै होइन, यो दिन सम्पूर्ण खटिखाने र मुक्तिकामी जनताको सङ्घर्षलाई ऊर्जा दिइरहने र शपथ लिने दिन हो। 

भारतीय परिप्रेक्षमा मजदूर वर्गको अवस्था

संगीता खेवा




भारतीय अर्थनीतिमा जुन परिवर्तनहरू क्रमश देखिंदैछ त्यसको एकमात्र उद्देश्य नाफाको बढोत्तरी हो। मजदुर वर्गको मुलभूत अधिकारहरूलाई खोसेर पुँजीवादी वर्गको नाफाको लागि नव-उदारवादी अर्थनीति देशमा चलिरहेको छ। यसले नाफा बढाउनको निम्ति प्रथमतः मजदुरको ज्याला घटाई दिन्छ। यसो गर्नलाई मजदुर वर्गले १९४७ देखीकै अनवरत सङ्घर्षको फलस्वरूप पाएको अधिकारहरूलाई चूर्ण-विचूर्ण पार्न आवश्यक पर्छ। भू-मण्डलीकरणको नाममा विश्व पुँजीको मुख्य कार्यालयहरू जस्तै अन्तर्राष्ट्रिय वित्तीय कोश (International monetary fund), विश्व ब्यांक (World bank), विश्व व्यापार सङ्घले (World trade organization) तीन दशक अघि नै उदारीकरण-निजीकरण-भूमण्डलीकरण (LPG—Liberalisation-Privatisation-Globalisation) प्रक्रियाद्वारा देशमा नव-उदारवादी शासनको घरेडी स्थापित गरेको थियो। मजदुर वर्गमाथि यो आक्रमणको परिणाम प्रतिकूल भयो जुन नाना थरीले देख्न थालियो। पहिलो, औद्ध्योगिक क्षेत्रमा अनियन्त्रित पाराले ठिका/ अस्थायी कामको व्यवस्था लागु गरियो जसको निम्ति देशका विभिन्न क्षेत्रहरूबाट मजदुरहरू स्थानान्तरित हुन थाले। मालिकवर्गद्वारा मजदुरहरू प्रति कुनै जिम्मेवारी लिन नपर्ने हुनाले उक्त व्यवस्था झरी च्याउ जस्तै फस्टाउन थाल्यो। दोस्रो, धेरैजसो कारखानातिर जबर्जस्ती थोपिएको स्वैच्छिक अवकाश योजनाको (voluntary retirement scheme) प्रक्रियाद्वारा असंख्य मजदुरहरूलाई कामबाट निकालियो। तेस्रो, सरकारी क्षेत्रहरू एक एक गर्दै मजदुर विरुद्ध शर्त र नियम भएको निजी मालिकहरूलाई न्यूनतम दाममा सुम्पियो। चौथौं, भारतीय श्रम कानुनमा (Labour Law) जुन सुधारको काम चल्यो त्यो पनि ठुल्ठुला देशीविदेशी पुँजीवादीहरूको हित सोचेरै गरियो। सन १९९०तिर नरसिंहा रावको काँग्रेसी राज देखि बाजपाईको भारतीय जनता पार्टीदेखि भारतको कमुनिस्ट पार्टीले सघाएको मनमोहनको युपीए-१ र युपीए-२ को राज्यकालमा पारित गरिएको पेन्शन बिल जम्मैले पुँजीपतिहरूलाई नै सहायता गरेको छ। चीनलाई पछ्याउदै देशीविदेशी पुँजीपतिहरूको राम्रो नाफाको बन्दोबस्त मिलाउन बृहत् स्तरमा देशभरि विशेष आर्थिक क्षेत्रहरूको (SEZ—Special economic zone) स्थापना गरियो जसले मजदुरहरूलाई सदियौ पुरानो दास व्यवस्थामा धकेली दियो। सरकारले विशेष आर्थिक क्षेत्र लागु गरेर एकापट्टी लाखौँ ग्रामीण कृषकहरूलाई जमिन देखि बिस्थापित गऱ्यो भने अर्कोपट्टी समानान्तर न्यायव्यवस्थाको चाँजो पनि मिलायो जसमा देशको कुनै पनि श्रम कानुन मान्य हुँदैन। भारतमा मजदुरहरूको असंख्य विभाजन देख्न पाइन्छ। २०११ मा जहाँ भारतको जनसङ्ख्या १२१ करोड थियो भने त्यही २०१२-१३को इकोनोमिक सार्वे अफ इण्डियाको वार्षिक रिपोर्ट अनुसार भारतको जम्मा मजदुर सङ्ख्या ४९.८ करोड थियो, जसमध्ये ९३% मजदुरहरू असंगठित क्षेत्रमा काम गर्छन् भने केवल ३% मात्र संगठित क्षेत्रमा कार्यरत छन्। संगठित क्षेत्रमा पनि १७.२७ करोड मानिसहरू सरकारी क्षेत्रमा छन् भने ११.४२ करोड मानिसहरू गैरसरकारी क्षेत्रमा संलग्न छन्। 

आंकडाहरूको आधारमा भारतको मजदुर वर्गलाई यसरी श्रेणीवद्ध गर्न सकिन्छ:- 

क. संगठित क्षेत्रको स्थायी कर्मचारी वा मजदुर — सङ्ख्यामा सबभन्दा कम्ती मानिसहरू यो विभाजनमा पर्छन्। प्रायः ३ करोड मानिसहरू यस्तो कर्मचारीहरू हुन् जसले नाना प्रकारको सामाजिक सुरक्षा र तुलनात्मक रूपमा बेसी ज्याला पाउछन् तर भू-मण्डलीकरणको मारले यिनीहरू पनि त्रस्त छन्। 

ख. संगठित क्षेत्रको अस्थायी वा ठिका मजदुर — यिनीहरूको सङ्ख्या पनि स्थायी मजदुरहरू बराबर वा कम छ। यिनीहरू प्रायः ठिका मजदुरको रूपमा काम गर्छन्। धेरै कम्ती तलब, कुनै पनि सामाजिक सुरक्षादेखि वञ्चित यी मजदुरहरू कहिले पनि काम देखि हात धुनु पर्ने अवस्थाले तर्सिएका हुन्छन्। आफ्नो मालिक मात्र न भएर मजदुर सङ्गठन र अन्य स्थायी कर्मचारीहरूको हेला पनि यिनीहरूले सहन पर्छ। 

ग. असंगठित क्षेत्रको स्थायी कर्मचारी वा मजदुर — भारतमा यिनीहरूको सङ्ख्या खुबै कम्ती छ। २००४-०५ को आंकडा अनुसार यी मजदुरहरूको सङ्ख्या १४० लाख थियो जुन भारतको जम्मै मजदुरहरूको ०.४ % भाग मात्रै हो। यिनीहरूले नियमित तलब र केही सामाजिक सुरक्षा जस्तै प्रोभिडेन्ड फण्ड पाए तापनि धेरै जसो कर्मचारीहरूले यस्तो क्षेत्रमा निन्दनीय सर्तहरूमा पनि काम गर्न पर्ने बाध्यता देख्नमा आएको छ। 

घ. असंगठित क्षेत्रको अस्थायी वा ठिका मजदुर — भारतको जम्मा ४५.५७ करोड मजदुर वर्गको ३९.३ करोड हिस्साले असंगठित क्षेत्रमा अस्थायी रूपमा काम गर्छन्। यो क्षेत्रको ९९.६% मजदुरहरू अस्थायी छन् भने यो आकडा भारतको मोठ मजदुर वर्गको ८५% समान आउछ। यिनीहरूमद्धे २५.१७ करोड मानिसहरू कृषि क्षेत्रमा छन् भने १४.१५ करोड मानिसहरू कृषि छोडेर अन्य व्यवसायमा छन् जस्तै बिडी बनाउने काम, मिस्त्री काम, दोकानमा काम, रिक्सा चलाउने काम, सा-सानो दोकान गर्ने मानिसहरू र घुमी-घुमी समान बेच्ने मानिसहरू इत्यादि। सङ्ख्यामा सबैभन्दा ज्यादा भएको यो विभाजनमा परेको मजदुरहरू नै सबै भन्दा ज्यादा उत्पीडित र शोषित छन् र यिनीहरूको सङ्ख्या दिनदिनै बढ्दै पनि छ। विकासको नाममा दिनहुँजसो हुने विस्थापनले वा कृषि क्षेत्रमा सरकार तर्फको हेलचेक्राईले लाखौको सङ्ख्यामा जुन मानिसहरू स्थानान्तरित हुन्छन् तिनीहरूको अवस्था पनि त घुमी-फिरी यस्तै हुन्छ र प्रत्येक दिन आफू बाच्ने सङ्घर्षमा लागि पर्दै यिनीहरू पनि हुन पुग्छन् कुनै निजी कम्पनीको अस्थायी कर्मचारी वा ठिका मजदूर। 

ब्रिटिस कालदेखिनै भारतको मजदूरवर्गले धेरै वटा सङ्घर्षमा भाग लिएको इतिहास आलै छ। उदाहरणस्वरूप कुली हड्ताल, घरवान हड्ताल, लोकमान्य तिलकलाई आजाद गर्न पर्छ भनेर गरिएको आन्दोलन, बंगालको मिल मजदुरहरूले गरेको आन्दोलन, महाराष्ट्रको कपडा र जुट मिलको मजदुरहरूले गरेको आन्दोलन देखि लिएर रेल हड्ताल र ८० को दशकको मजदुरहरूको साहसिक विद्रोहहरूलाई लिन सकिन्छ। विगतमा मजदुरहरू एक भएर थुप्रै संग्रामहरू लडे तापनि वर्तमान पुँजीवादी व्यवस्थामा उत्पादन प्रक्रियादेखि दुरत्व वा वर्तमान समाजको विकृत विकासले गर्दा मजदुरहरूमा राजनैतिक सचेतना पलाएको त्यति देखिंदैन। प्रायः जसो काम गर्ने कल-कारखाना वा संस्थानहरूमा मजदुर सङ्गठनहरूको अस्तित्व रहे पनि ज्याला बढाउनु, केही सुविधाहरू पाउनु वा बोनस इत्यादि बाहेक अन्य प्रश्नहरू धेरै कम मात्रामै उठ्ने गर्छ। 

नयाँ शताब्दीले पनि केही विद्रोहको झल्कोहरू भेटेको छ। हरियाणामा मारुती कारखानाको मजदुरहरूको हड्ताल, उत्तर प्रदेश विद्ध्युत कर्मचारीहरूको साझा हड्ताल, मध्य प्रदेशमा राज्य नियन्त्रित भारत अलुमिनियम कोर्पोरेशनको एउटा शाखामा ६७ दिनको ऐतिहासिक हड्ताल, जम्मै देशको डाक सेवामा काम गर्ने कर्मचारीहरूको एक हप्ते हड्ताल, केरलामा सरकारी कर्मचारीहरूको ३८ दिने हड्ताल इत्यादि। यी सबै सङ्घर्षमा मजदुरहरूको एकताको झलक पाइन्छ विभिन्न मजदुर सङ्गठनहरू आ-आफ्नो स्वार्थ छोडेर मजदुरहरूको हितको निम्ति एक भएको उदाहरण प्रत्येक हड्तालमा साझा छ। यिनीहरूमध्ये कतिले त आंशिक जित पनि पाएको छ। तर यी सबैमा के समस्या देखिन्छ भने सबै सङ्घर्षहरू नितान्त अक्षुण्ण र भग्न छन्। यस्तो सङ्घर्ष जम्मै मजदुर वर्गको हितको निम्ति भएको हुनाले मजदुरहरूमा राजनैतिक एकता र वर्ग एकता हुन एकदमै जरुरी छ। यसैले यी बहुसङ्ख्यक मजदुरहरूलाई आफू माथि भइरहेको अत्याचार बारे अवगत गराएर र राजनैतिक रूपमा सचेत र सक्रिय बनाउन सके देशको नक्सा-पलट हुन बेसी दिन लाग्ने छैन। 


चियाबारीहरूका हालखबर

प्रकाश विश्व


चिया उद्योगमा १६९२ वटा पंजीकृत चिया उत्पादनकारी र ९ वटा निलाम केन्द्र (अक्सन सेन्टर) हुनाले जम्मा वार्षिक लाभ (एनुयल टार्न ओवर) ९००० करोड रुपियाँ हुन्छ। दार्जीलिंग पहाड अनि तराई-डुवर्सको विशाल चिया उद्योग क्षेत्रमा ४५० वटा चिया बगान सिलगढीको टि अक्सन सेन्टरसँग जोडिएको छ। यी बगानहरूमा काम गर्छन् ३.५ लाख स्थायी मजदुरहरू, जसले गर्दा हामी भन्नसक्छौं कि यस क्षेत्रमा नै २५००००० भन्दा बेसी नै मानिसहरू चिया उद्योगसँग सम्बन्धित छन्। सिलगढी निलाम केन्द्रले यसपाली सन २०१२-१३ मा रिकर्ड बिक्रि पंजीकृत गरेको छ। सन २०१३-१४ मा यसले १०७ मिलियन केजी चिया बिक्रि को अझै रिकर्ड स्थापना गरेको छ। तरैपनि यहाँ मजदुरहरूका हालत केकस्तो छ त्यो त हामी सबैलाई थाहा छ। 

यहाँको २७३ वटा टी एस्टेटमध्ये २७३वटामा गरिएको एउटा सर्वेक्षणको रिपोर्टले यी जम्मै चिया उद्योगको प्रबन्धनको खराबी र मजदुर हितको नराम्रो स्थितिलाई उदाङ्गो पारेको छ। यो सर्वेक्षण राज्यको श्रम मन्त्रालयद्वारा साढे एक साल पहिला सुरु भएको थियो, जसको रिपोर्ट पनि मई २०१३मा प्रस्तुत भइसकेको थियो। तर राज्य सरकारको श्रम दफ्तरले यो रिपोर्टलाई, चुनावको कारणलेगर्दा सायद धेरै दिनसम्म सार्वजनिक गरेको थिएन, २२ मई सिलगढीमा 'मई दिवस' को उपलक्षमा भएको एउटा कार्यक्रममा यो रिपोर्ट जनता समक्ष आएको छ। 

दार्जीलिंग र जलपाईगडी जिल्लाको टी एस्टेटहरूमा ११ लाख भन्दा बेसी मानिसहरू बसोबासो गर्छन्। यसमध्ये बन्द चिया कमानहरूमा सन् २००२ देखि अहिलेसम्म १००० जना भन्दा बेसी मानिसहरू भोकमरीले गर्दा मरेकाछन्। लगभग विगतको एक दशकमा हामीले धेरै चिया कमानहरू बन्द भएको देखि रहेका छौँ। यसको सङ्ख्या नै ५० वटा जस्तो होला। जसले गर्दा धेरै मानिसहरूले काम गुमाएका छन्। ४ वटा कमान परित्यक्त स्थितिमानै चलिरहेको छ। ५ वटा सरकारी चिया कमान निजी मालिकको हातमा दिने कुरा भइरहेकोछ। अचम्मको कुरा के हो भने, यस्तो सङ्कटको बेलामा पनि सन् २००७ देखि पश्चिम बंगालको चिया उद्योगले मात्रै ८ वटा मजदुर हडताल देख्यो जबकि लक आउट भयो २०२ वटा! मालिकहरूद्वारा परित्यक्त १४ वटा बगानहरूमध्ये केही ओपरेटिभ म्यानेजमेन्ट कमिटी (OMC) द्वारा चलिरहेको थियो। यो OMC मजदुरहरूद्वारा गठन भएको मजदुरहरूलाई रोटिरोजी दिने न्यूनतम उपाय हो, जसले बगान देखि पत्ती टिप्ने काम चलाउछ। यो कमानहरू सन् २००७मा भारत सरकारको वित्तीय मन्त्रालयको स्पेशल टी फण्डबाट खोलिएको हो, तर बन्द हुने आशंका सधैँ नै धावा गरिरहन्छ यी बगानहरू माथि। बन्द बगानमा भोकमरीले मृत्युको घटना सितै छ यी बगानहरूमा Chronic Energy Deficiency III stage। लक आउट भएको कारखानाको लागि Financial Assistance to the Workers in Locked-out Industrial units scheme (FAWLOI) रहेतापनि बिघा वा क्याजुअल श्रमिकहरूको निम्ति यो सुविधा छैन। तर यिनीहरूको सङ्ख्या त अहिले निकै बढेको छ — पर्मानेन्ट मजदुर हरूको तुलनामा १:३ होला अनि यो बढीरहनेछ किनभने म्यानेजमेन्टहरूले पनि नराम्रो CTC पत्ती टिप्नलाई अझै बेसी सङ्ख्यामा क्याजुअल मजदुरहरूलाई काममा लगाउन थालेकाछ्न्। 

सन् २०१० को आगस्टमा सुप्रिम कोर्टले के अर्डर दिएको थियो भने बगान बन्द हुने ६ महिना भित्र केन्द्र सरकारले टी एक्ट १९५३ लागु गरेर बगान आफ्नो हातमा लिनुपर्नेछ। केन्द्र सरकारले उद्योग बन्द हुनुदेखी रोक्न सकेन, सुप्रिम कोर्ट अर्डर लागु पनि गर्न सकेन। 

कम भन्दा कम ज्यालाले एउटा असहाय स्थिति तयार पारेको छ, जो बिल्कुलै चियाको बढ्दो बजार र बेसी मूल्यको उपयुक्त छैन। दार्जीलिंगको जानेमानेका बगानहरू देखि अर्थोडक्स अर्गानिक चियाको विभिन्न भेराइटीहरू कति मूल्यमा मालिकहरूले बेचीरहेकाछन् त्यो कसैलाई थाहा छैन!

मालिकहरूले दैनिक ज्याला ९५ रुपिया दिँदा आफ्नो बहस यसरी राख्छन् कि सन् १९५१ को प्लान्टेशन लेबर एक्टको अनुसार उनीहरू ले ‘सहुलियत’को रूपमा हाउजिङ, मेडिकल, रसिन आदि पुऱ्याउछन्। तर अर्को तिर हेर्नुहोस्! केरलामा दैनिक ज्याला २२५ रुपियाँसित अरू सहुलियतहरू पनि दिइन्छ अथवा नरेगा MGNREGS मा दैनिक १५१ रुपियाँ। अबको सर्वेक्षणको रिपोर्ट अनुसार यो सहुलियतहरू दिने कार्यक्रमको हालत पनि नराम्रोनै छ। मालिकहरूको आर्थिक भ्रष्टाचारले पनि आकाश छुइसकेको छ— अनेकौ कमानहरूले त मजदुरको ज्याला देखि पैसा काटेतापनि प्रभिडेन्ट फांडमा त्यो जमा गर्नु नै छोडेको छ। जुन कानुनी अपराध हो। 

प्रबन्धन र स्वामित्व 
८७ वटा चिया कमानहरूलाई प्लान्टशन लेबर एक्ट १९५१ अनुसार रजिस्ट्रेसन सर्टिफिकेट/नम्बर दिन सकिएको छैन। ५ वटा कमानलाई टी बोर्डले दिएको नम्बर दिन सकिएको छैन। १८५ वटाले कमानसँग Industrial Employment (Standing Orders) Act, 1946 द्वारा निर्धारित सर्टिफाईड स्ट्यान्डिंग अर्डर पेस गर्नुसकेन। विगतको १० वर्ष देखि ११६ वटा चिया कमान अलग अलग म्यानेजमेन्ट द्वारा चलाइएको छ। यस मध्ये धेरै वटाको विकास र स्थायित्वको प्रश्नमा खराब भन्दा खराब हालत छ। केही कमान त यस्ता प्रोमोटरहरूले चलाउछन जसको कुनैपनि दिर्घकालिक योजना नै छैन। एउटा चिया कमान म्यानेजरियल एक्सिक्युटिभहरूले चलाउछन। कमानको सही चल्नु, यसको विकास, उद्योगमा शान्ति रहनुको निम्ति उनीहरूनै जिम्मेवार हुन्छन्। १८८ वटा चिया कमानमा यस्तो म्यानेजरहरू ग्राजुएट मात्रै छन् जसको अरू कुनै प्रोफेसनल वा टेक्निकल डिप्लोमा/डिग्री छैन। १७५ वटा चिया कमान मा कुनै लेबर अफिसर छैन्।  

प्रोभिडेन्ट फण्ड अनि बाकी ज्याला 
२४ वटा चिया कमानको मालिकले प्रोभिडेन्ट फन्डको हिसाबमा सन् २००९-१० मा केही जमा गरेको छैन्। ४१ वटाले सन् २०१२-१३ मा प्रोभिडेन्ट फन्डको लागि त्यसरीनै केही जमा गरेनन्। ४६ वटा चिया कमानहरूका प्रोभिडेन्ट फन्डको लागि बाकी राशिको परिमाण छ १७,१४,०२,९७८ रुपियाँ, जो मजदुरहरू बाट काटिएको छ। ५५ वटा चिया कमानमा म्यानेजमेन्टले दिनुपर्ने बाकी राशि हो ३३,७९,११,०८८ रुपियाँ। २२ वटा चिया कमानमा मजदुरहरूले ग्राचुईटीको हिसाबले विगतको ४ वर्ष (२००९-१० देखि २०१२-१३) केही पनि पाएका छैनन्। ८ वटा चिया कमानमा मजदुरहरूका ज्याला बाकी छ, ३५ वटा मा रासिन, ३५ वटामा अस्तिको ज्याला बारे सम्झौता अनुसार एरियर बाकी छ। २ वटा बगानमा ज्याला सम्झौता अनुसार दिइएको छैन। 

उत्पादन 
५० वटा चिया कमान अर्गानिक टी उत्पादन गर्छन्। २१० वटा बगानले सामान्य तरिकाले (केमिक्ल फर्टिलाइजर र किटनाशक इस्त्मल गरी) चिया उत्पादन गर्दछ। १३ वटा बगानले अर्गानिक र सामान्य — दुवै प्रकारको चिया उत्पादन गर्छन्। दार्जीलिंगको पहाडी क्षेत्रमा स्वाभाविक उत्पादनको औसत ५०० केजी/प्रति हेक्टर हुनुपर्ने तर ८१ वटा मध्ये केवल ३४ वटामा मात्रै यस्तो उत्पादन हुन्छ।  तराई क्षेत्रमा स्वाभाविक उत्पादनको औसत १९०० केजी/प्रति हेक्टर हुनुपर्ने तर ४५ वटा मध्ये केवल १४ वटामा मात्रै यस्तो उत्पादन हुन्छ। डुवर्स क्षेत्रमा स्वाभाविक उत्पादनको औसत २००० केजी/प्रति हेक्टर हुनुपर्ने तर १५० वटा मध्ये केवल ४० वटामा मात्रै यस्तो उत्पादन हुन्छ। १० वटा मा २५०० केजी/प्रति हेक्टर उत्पादन हुन्छ मात्र। उत्पादन कम हुनुको एउटा मुख्य कारण हो चिया गाछहरू पुरानो हुनु, अनि नयाँ गाछ रोप्ने योजना पनि धेरै ठाउँमा सही तरिकाले हुँदैन। 

चियाकमानहरूको जनसङ्ख्या
१,८६,५५९ परिवारहरू पहाड, तराई, डुवर्सको चिया कमानहरूमा बस्छन्। यहाँको कुल जनसङ्ख्या ११,२४,९०७ छ। यस क्षेत्रमा रहेको २७३ वटा चिया कमानमा २,६२,४२६ जना स्थायी श्रमिकहरू काम गर्छन्। 

आर्थिक सहयोग र लीज
८४ वटा चिया कमानहरूमा SGRY/ MGNREGS (केन्द्र सरकारको रोजगार निश्चयता योजना) लागु छ। १६५ वटा चिया कमानले ब्यांक फिनान्स लियो, १४ वटा ले कहांबाट फिनान्स लिन्छ त्यसको उल्लेख गरेको छैन। ११४ वटा चिया कमानको लीजको म्याद सकेको छ। तीमध्ये १०५ वटा ले फेरी लीजको रिन्युअलको लागि आवेदन गरेको छ। 

हाउजिङ र अरु सुविधाहरु 
२,६२,४२६ जना मध्ये १,६६,५९१ जना श्रमिकले घर पाएको छ अर्थात् अझै ९५,८३५ जनाले घर पाउनु पर्छ। पहाडको ३ वटा र डुवर्सको ३ वटा— जम्मा ६ वटा यस्तो चिया कमान छ जहाँ मजदुरहरूलाई एउटा घर पनि दिइएको छैन। ५१ वटा चिया कमानमा त्यहाँ काम गर्ने ५० वा त्यसभन्दा बेसी प्रतिशत मानिसको निम्ति घर दिइएको छैन। सन् २००९ मा, ५३ वटा चिया कमानले घरको लागि एउटा पैसा पनि खर्च गरेको छैन। सन् २०१२ मा, ६२ वटा चिया कमान ले यस्तो गऱ्यो। ३७ वटा ले सन् २००९ देखि २०१२ सम्म कुनै घरको लागि कुनै खर्च गरेको छैन। पछिल्लो 4 वर्ष मा, 2009 देखि 2012 सम्म, मालिकहरूले नयाँ घर निर्माण र घर रखरखाव को निम्ति रु 59,49,08,112 खर्च गरेको छ। श्रमिक प्रति प्रतिवर्ष औसत लागत हिसाब गरेर, प्रत्येकको निम्ति सालमा रु 893 को एक मात्रा ठहरिन्छ, जो नाममात्र देखिन्छ। स्थायी श्रमिकहरूलाई औद्योगिक श्रमिकको रूपमा लिइन्छन र तिनीहरूलाई गरिबीको रेखा माथि (ए.पी.एल.) सूचीबद्ध गरिएको छ। तिनीहरू इन्दिरा आवास योजनाको लागि योग्य छैनन्। 44 चिया कमानमा कुनै पनि शौचालय छैन। डुवर्सको 12 वटा चिया कमान पूर्ण अन्धकारमा (कुनै बिजुलीको व्यवस्था छैन) छ। 

चिया एस्टेटहरूको श्रमिकहरूले, गुण र मात्रा दुवै अर्थमा, पिउने पानी आपूर्तिको प्रश्नमा निकै पछिल्लो पंक्तिमा छन्। दार्जीलिंग, खर्साङ र कालेबुंगमा पिउने पानीको गम्भीर कमी छ। प्राकृतिक खोला र झोडाको पानीनै याँहाको पिउने पानीको एकमात्र मात्र स्रोत हो। पहाडी क्षेत्रमा चिया एस्टेटहरूले ठिक तरिकाले पाइपलाइन मार्फत पानी वितरण गर्दैन। 

स्वास्थ्य र चिकित्सा सुविधाहरू
273 वटा चिया कमानहरू मध्ये, मात्र 166 वटामा अस्पताल छ। यी 166 वटा मध्ये मात्र 56 वटामा पूर्ण समयको निम्ति आवासीय डाक्टरहरू छन्। अन्य 110 वटा भिजिटिंग डाक्टरहरू माथि निर्भर छ। 166 चिया एस्टेटहरूको डाक्टरहरू मध्ये केवल 74 जना एमबीबीएस हो, अरुकोमा एमबीबीएस को डिग्री छैन। 166 चिया कमानको अस्पतालहरू मध्ये ११६ वटामा 116 कुनै नर्स छैन। 107 चिया कमानमा (पहाड -64, तराई - 20 र डुवर्स - 23) कुनै पनि अस्पताल छैन। 273 चिया कमान मध्ये 85 वटामा कुनै डिस्पेन्सरी छैन। दस चिया कमानमा अस्पताल वा डिस्पेन्सरी — केहिपनि छैन। 273 टि एस्टेटहरूमध्ये प्राथमिक स्वास्थ्य केन्द्र (PHCs) केवल 160 वटामा मात्र छ, 113 चिया कमानमा (पहाड-38, तराई-23 र डुवर्स-52 ) मा कुनै पनि PHC छैन। 273 वटा चिया कमान मध्ये 160 वटा मा एम्बुलेन्स सेवा छ। यी एंबुलेंसहरू मध्ये धेरैको हालत बिग्रिएको छ। 

श्रम अधिकारको हनन
चिया कमानहरूले बिना कुनै दण्डनै वर्षे पछि प्लान्टेशन लेबर एक्टको आधारभूत प्रावधानहरूको उल्लंघन गरिरहेको छ। क्रेश (नानी राख्ने ठाउँ), चिकित्सा सुविधा, एम्बुलेन्स र घर मरम्म्त प्रावधान— सबै नै विगतका कुरा भएको छ। उत्तर बंगालमा स्थित 273 वटा चियाकमानहरू मध्ये ४२ वटामा प्राथमिक स्कूल पनि छैन। १४३ वटामा मात्रै बगानको प्रबंधनहरूले नानीहरूलाई परिवहनको सेवा प्रदान गर्दछ। अन्य कमानहरूमा बासिन्दाहरूलाई नै त्यसको बन्दोवस्त गर्नुपर्छ। मनोरञ्जन, खेलको लागि ढांचा केहि राम्रो छ। २७३ मध्ये २६२ मा खेल्ने मैदान र १९७ वटा मा क्लब छन्। काम गर्ने आमाहरूका नानीहरूलाई हेरचार गर्नलाई क्रेशको व्यवस्थापनको हालत राम्रो छैन। यसमा ढाँचा र मान्छे— दुवैको नै डरलाग्दो कमी छ। ३ वटामा क्रेश नै छैन। केही बगानमा नानीहरूलाई हेरचारगर्नलाई नारी कर्मचारी छैन। २७३ वटा मध्ये १४४ वटामा मात्र पिउने पानीको बन्दोवस्त, ११९ वटामा शौचालय छ। १२६ वटामा नानीहरूलाई दुध दिंदैन। स्मरण राख्नुपर्छ कि यो एउटा सरकारी रिपोर्ट हो, असली स्थिति यसभन्दा पनि खराब नै छ। सरकारी यो रिपोर्टमा नै नानीहरूका यातायातको लागि ट्राक्टर वा ट्रेलरको सट्टामा बसको बन्दोवस्त गर्ने कुरा, कमानहरूमा पनि अरू ठाउँ जस्तै आँगनवाडी सेन्टरहरू स्थापित गरेर क्रेशको अभावलाई मिटाउने सुझाव दिइएको छ। 

यो सर्वेक्षणको अरू पर्यवेक्षण के हो भने प्रवन्धनहरूले चलाएको क्यान्टिनहरूमा भेट्ने खानेकुरा एकदमै नराम्रो हो। १२५ वटा कमानमा क्यान्टिन नै छैन। बाकी १४८ वटा भित्र ४३ वटामा मात्रै खानेकुरामा सब्सिडी भेटिन्छ। रेट चार्ट प्राप्त छ केवल ३३ वटा क्यान्टिनमा। 

साथै, यस क्षेत्रका धेरै चिया कमान पनि ७७ करोड भन्दा बेसी राशि श्रमिकहरूको सञ्चयकोष (प्रोभिडेन्ट फन्ड) मा जम्मा गरिएको छैन। राज्य सरकारले पनि यस प्रश्नमा मौन पर्यवेक्षक भएर मालिकहरूलाई पूर्ण समर्थन प्रदान गरेको छ। 

यसबाहेक, ‘उत्पादन सँग गाँसिएको ज्याला’ (productivity linked wages)-को एउटा व्यवस्था सन् २००५ देखि म्यानेजमेन्ट र पश्चिमबंगाल सरकारले थालेको थियो। आन्दोलन धेरै कमजोर हुनुको कारणले गर्दा म्यानेजमेन्टले यो अनुपातिक पद्धति थालेको छ जुन अनुसार मजदुरहरूले आफ्नो आधारभूत दैनिक ज्याला पाउनलाई एउटा पूर्व-निर्धारित परिमाणको ठिका पुऱ्याउनु पर्छ। र कुनै कारणले तिनीहरू उक्त ठिका पुऱ्याउन असफल भए, दैनिक ज्याला मा कटौती हुन्छ। तर, अतिरिक्त उत्पादकता पनि प्रोत्साहन सँग सम्मानित हुन्छ। तर उत्पादन प्रत्येक समय मजदुरको क्षमता माथि निर्भर गर्दैन। अनि ट्रेड युनियनहरूको वार्ताको सामूहिक सौदाबाजी शक्ति माथि पनि यो उत्पादन - गाँसिएको ज्याला निर्भर गर्छ। ज्याला निर्धारणको निम्ति वार्ताहरू, ज्यालामा ठुलो घाटाको सम्भावनाको खतराले भरिएका छन्। चिया उद्योगमा ज्याला कम छ, कृषिमा राज्यको वैधानिक न्यूनतम ज्याला भन्दा पनि निकै कम— यो प्रणालीले वास्तवमा यत्ति कम छ कि सुप्रिम कोर्टको भनाइ अनुसार यसलाई ' जबर्जस्ती श्रम ' पनि भन्न सकिन्छ। यो प्रणाली चिया उद्योगमा बाल श्रम पुन: लागु गरेको छ। उत्पादन लक्ष्य पूरा गर्नलाई, महिला कामदारहरूले आफ्नो कामको ठिका पुऱ्याउनलाई आफ्ना छोराछोरीलाई पनि यही काममा लगाउन बाध्य हुन्छन्। 

उचित ज्यालाको माग जरुरी छ
अरू क्षेत्र देखि अलग्गै तरिकाले प्लान्टेसन क्षेत्रमा ज्याला कुनै न्यूनतम ज्याला अधिनियम द्वारा निर्धारित नभई बरु सधैँ नै त्रिपक्षीय सम्झौता द्वारा निर्धारित भएको छ। यसको लाभ त बर्चस्ववादी पक्षको हिसाबले मालिकहरूले नै उठायो। न्यूनतम ज्यालाको सट्टामा यसरी सम्झौता-निर्भर ज्यालाको कारणको हिसाबले ज्याला बाहेक सहुलियत दिने कुरा आउँछ। तर यो विषय लिएर लागातर आवाज, उद्योगमा छाएको सङ्कट र टी एक्टलाई लागु गर्नु बारे सुप्रिम कोर्टको निर्देशको क्रममा एउटा न्यूनतम ज्यालाको कुरा दह्रिलो सँग आइरहेछ। 

न्यूनतम ज्यालाको बारेमा सरकारले गरेको प्रस्तावले चाँही 15 औं ILC मान्यता र वादमा सर्वोच्च अदालतको सम्पुरक आदेश देखि टाढा बसेर मजदुरहरूलाई आधारभूत आवश्यकताहरू प्रदान गर्न विफल भैरहेकोछ। त्यसकारण अब महंगाईसँग जोडिएको एउटा न्यूनतम ज्यालाको आवाज उठाउनु जरुरी छ, अनि त्यससितै सुनिश्चित गर्नुपर्छ कि उत्पादन-आधारित ज्यालामा कटौती नहोस्। आवासको पर्चा-पट्टाको माग पनि सँगसँगै दोहराउनु जरुरी नै छ। 

सरकारी उद्योगको निजीकरण

हरियाणामा स्थित मारुती सुजुकीका मजदूरहरूले आफ्नो न्यायसंगत माँगको निम्ति संघर्ष गरिरहेका छन्। यो कम्पनी सरकारी देखि निजि क्षेत्रमा परिणत भएको हो। अनि उक्त परिवर्तनले गर्दा त्यहाँ धेरै परिवर्तनहरू देखा परे। यहाँ पनि राज्य सरकारले रंगमुक-सिडर्स लगायत ५ वटा चिया कमानहरू निजि क्षेत्रमा हाल्ने बन्दोबस्त गर्दैछ। यहि सन्दर्भमा मारुती-सुजुकीको मजदूरहरूले सरकारी कारखानाको बेसरकारीकरणको विरुद्धमा गरेको आन्दोलनको केहि झलक पेश गर्ने कोशिश गर्ने छौ।


बेसरकारीकरणले ल्याउने सबैभन्दा ठुलो कुरो के हो भने यसले मजदूरहरूको बोल्ने अधिकार को हनन गर्छ र मजदूर युनियनको शक्तिको परिधि संकुचित पारी दिन्छ। श्रमको अस्थायीकरण र ठिकामा काम लगाउने प्रवृत्ति, कामदारहरूको संख्यामा कटौती, सामाजिक, आर्थिक र कामको सुरक्षामा कमी, उत्पादनको खर्च घटाउने प्रविधिकिको प्रयोग र मजदूरहरू माथि कामको अत्यधिक बोझ  इत्यादि विभिन्न कारखानाहरूको अहिलेको नीतिहरू हुन्। 

सन् १९८३ मा मारुती सुजुकीमा (भारत सरकारको सुजुकीमाथि धेरै निर्भरता रहे तापनि) सुजुकीको २५% अंश र भारत सरकारको ७५% अंश थियो। तर जब १९९८ मा जापानी कम्पनीले सम्पूर्णरूपले यसको कार्यकारिणी आफ्नो हातमा लियो त्यहाँ देखि यसले यूनियनको क्षमता घटाई दियो र कडाकडी नियमहरू मजदूरहरूमाथि थोपिदियो। कारण उनीहरूको उद्देश्य मजदूरहरूको हितमा काम गर्नु होइन तर जसरि भए पनि आफ्नो उत्पादन र नाफा बढाउनु थियो। फलस्वरूप २००० सालमा मारुतीको गुडगाव प्लान्टमा ८९ दिने मजदूर आन्दोलन शुरु भयो तर निर्ममता पुर्वक उक्त आन्दोलनलाई दमन गरियो।  २४ जना मजदूरहरुलाई कामबाट बर्खास्त गरियो र देखाउनको लागि एउटा युनियनको गठन गरियो। उक्त आन्दोलन पछि ठुलो परिमाणमा श्रमको अस्थायीकरण शुरु गरियो। स्थायी र अस्थायी कर्मचारीहरूको अनुपात झन्डै १:५ सम्म पुग्यो संगसंगै VRS योजना पनि निकालियो जसले गर्दा काम गर्ने शक्तिको संयोजनामा ठुलो उथुल-पुथुल आयो। त्यसपछिको १० वर्षमा त्यहाँ कुनै प्रकारको युनियन चुनावको अनुमति पनि दिइएन।

चिया उद्धयोगमा निजीकरणको प्रभावहरू भिन्न हुन सक्ला तर कामको अस्थायीकरण, मजदूरहरूमाथि कामको अत्यधिक चाप, सामाजिक, आर्थिक क्षेत्रमा सुरक्षाको कमी इत्यादि कुराहरू भने यहाँ पनि त्यतिनै सत्य ठहरिन्छन्। यी कमानहरूलाई निजी बनाउने योजना धेरै अघि देखिने चल्दै आएको हो। यो भन्दा पहिलाको सरकारले पनि यस्तो योजना बनाएकै हो र त्यसलाई लागु गर्ने कोशिस पनि गरेकै हो। यहाँ सात तारे होटेल बनाउने योजना सम्म गरेको पनि सुन्नमा आएको थियो। त्यसैले नाफाको उद्देश्यले तयार गरिएको निलो नक्शामा कहिँ पनि मजदूरहरूको हितको कुरो देखा पर्दैन। यहाँ टी टुरिज्मको कुरोहरू पनि बीच-बिचमा उठीबस्छ तर मजदूरहरूको ज्यालामा वृद्धि, उनीहरूले पाउनु पर्ने सहुलियतहरूको वितरण र ज्याला बढेपछि पाउनु पर्ने बढ्ता एरियरको पैसा दिलाउनु पर्ने पट्टि कसैको ध्यान छैन। निजी मालिकहरूले त पहिलाको मालिकानाको कुनै जिम्मेवारी लिने होइनन् नै यसैले कमानको बेसरकारीकरण मजदूरहरूको निम्ति एउटा ठुलो षड्यन्त्र हो जसको विरुद्ध लड्नु जरुरी छ।

रेड बैङ्क !!

पल्लविब राई



भोकलाई खाना, निन्द्रालाई छाना  
तिर्खालाई पानी, रहरलाई कलम-कापी...
हास्नालाई त त्यति थोरै हुन्न नि ?

बाँच्नलाई त यो पसिना छदैछ .....

पर बाट दुगुर्दै आएको भाइलाई सोधे, ‘भाइ आज छुट्टी?’ भाइ त अल्मलियो। एकछिन पछि म पनि छक्क परे। 
भोक लागिन्जेल, भाइको छुट्टी कहिले हुन्न। हामीले ‘सपना’को ‘इस्पेललिंग’ सिकेको उमेरमा त्यो भाइ, भाइहरू, बहिनीहरू पेट पाल्नलाई  खोलामा गएर गिट्टी र बालुवाहरू सँग लाप्पा खेल्दो रहेछ। ‘कमाइ त गर्नु पर्यो्...पेट त भर्नु पर्योट...घरमा कामदाम कसैको छैन’ भाइले कुनै भावना बिना रुखो पाराले भन्यो। मलाई कस्तो पनि लागेन। परिस्थितिले मान्छेलाई उमेर भन्दा पहिले लाठे बनाउछ भनेर मेरो बाबाले भन्ने गर्थे। परिस्थितिले कलिला हत्केलाहरूलाई बेग्लै रङ्गको पनि बनाउदो रहेछ, दौडेर घर गई बाबालाई भन्न मन लाग्यो। 

वैशाखको चर्को घाम, समय समयमा बजिरहने रेलको उराठलाग्दो चिच्याहट, ‘पवार्टी’को (गरिबीको) ‘थीम’मा (शीर्षकमा) कुनै महँगो आर्ट कलेजको नवसिखा कलाकारले बनाएको नक्साभित्रको आकारहरू जस्तै घरहरू, सिकुटो सिथिर शरीरहरू, अनौठो किसिमले सुनसान, वाक्क भएर पनि नथाकेको आशा, भोकले रुझेका आँखाहरू, हेर्दै तिर्खा लाग्ने फलामका  गत्तिला गत्तिला चापाकलहरू, चिया बगानको बिचमा उभी रहेको विशाल नपुंशक फ्याक्ट्री, रङ्ग उत्रेका पुराना पोशाकहरू, गोर्कीको ‘आमा’को पहिलो केही पन्नाहरू जस्तो मर्म, बेग्लै कथा, कुनै बेग्लै संसार, यस्तै कस्तो थियो रेड बैङ्क चिया बगान।

 डुअर्सको जल्पाईगुडी जिल्लामा, बानरहाट नजिक स्थित ‘रेड बैङ्क’ पछिल्लो एक दशक भन्दा अघिदेखि बन्द छ। खानलाई कठोर सङ्घर्ष, पिउनलाई थोरै पानी, पढनलाई अमिल्दो स्तिथि अनि हताशलाग्दो गरिबीको बिचमा, प्रत्येक छन्, मर्दै बाचिरहेको छ रेड बैङ्क। एकजना स्थानीय बासिन्दाले बताए अनुसार, त्यहाँ पछिल्लो नौ महिनामा ३२ जना मानिसहरू केवल भोकमारी र बिमारीको कारण बितेर गए। लक्भक ५००० भन्दा बेसी जनसङ्ख्या भएको कमानमा, मानिसहरूलाई दिनको एक छाक जुराउन गाह्रो पर्छ। तीन नम्बर गाउँको जयन्त मुण्डा पाँच महिनादेखि टि.बी, सुन्निएको पेट अनि खुट्टाको घाउले सिकिस्त छ। घरमा खानलाई त हाहाकार भएको समय, उनको उपचार सम्भव छैन। उनको रोग रेड बैङ्कको स्थानीय स्वस्थ केन्द्रको उपचार अघि अतिनै विशाल छ। जयन्त भन्छन्, रेड बैङ्कमा उनी जस्ता बिरामीहरू धेरै धेरै छन्। ‘चाय बगान मजदुर युनियन’का सचिव अनि स्वयम् रेड बैङ्कका बासिन्दा श्री सञ्जय उरावले बताए अनुसार बन्द बगानमा मनिसहरू बिरामी बन्नको कारण स्वच्छ पिउने पानीको अभाव पनि हो। उनले बताए अनुसार, पंचायतले लगाएको चापाकलहरू एकमात्र पानीका श्रोत हुन् जसमा १० लिटर पानी भर्नलाई १५० चोटि जस्तो हातले चापाकल चलाउनु पर्छ। रेड बैङ्कले बाल्यकाल हराएको छ। पढ्ने, खेल्ने, कुद्ने, रमाउने उमेरमा केटा केटीहरू भोक र पेटको सङ्घर्षमा लागि परेका छन्।

नीतिहरूको दोष हुन सक्छ, या त यो कोल्टे बनावटको बेग्लै धराताल छ। नत्र, विश्वको तेस्रो ठुलो अर्थप्रबन्धमा कुनै खटि खाने मजदुर कसरी भोकले मर्न सक्छ? दर्शन अनि अध्यनहरूले आफ्ना आफ्नै भाकामा बोल्लान्, त्यस्तो कुरोहरू म त त्यति बुझ्दिन। तर, रेड बैङ्कमा भयानक आर्थिक अन्याय हुँदैछ, जस्ले आफू सँग सामाजिक अनि सैक्छिक प्रतिबिम्बहरू पनि समेटेको छ। नत्र, विश्व प्रख्यात चिया बनाउने मजदुरको नातिले, कलम र कापी चेपेर पाठशाला जाने उमेरमा, किन खोलाको चाम्रो ढुङ्गा कुटी कुटी एक छाक भात जुराउनु पर्दैछ? 

 घाम, आफ्नै रफ्तारमा उकाली चड्दै थियो। रेड बैङ्कले धेरै कथाहरू साँची राखेको थियो। ‘ठुलो भएर चाहिँ के बन्ने?’ भाइलाई सोधी दिए। लजाउदै भाइले पनि ‘खै कुनी...आर्मीमा जान्छु होला’ भनी दियो। ‘थेत मोरो, आर्मीमा जाने मान्छे लजाएर कहाँ हुन्छ?’ भन्न पनि सकिन। 

हामीले बोकेको पैतालिस हजारको क्यामेरामा भाइको नक्सा मात्र छापिन सकेछ। दस्तुरहरू कट्टर हुन्छन्, सायद त्यसैले होला उसको सपनाको कुरा त्यसले सुन्न सकेन। आवाज त दशपल्ट त्यसलाई कोट्याउदा पनि सुन्दै सुनिएन। सुनिए भने कहिले मात्र सुनाउनलाई सुनिए, कहिले देखाउनलाई ‘सुनियो’ भनिए, कहिले कमाउनलाई सृंगारको मार्मिक सारंगी बजाउदै सुनाइए,कहिले दर्शनहरूको रक्सीमा भिजाएर मधुमस्त पनि सुनिए। सुनाउने र देखाउने यस्तै दस्तुरहरू बिच त्यस्तै अनगन्ती रेड बैङ्कका हजारौँ सानोभाई सायद लजाउदै बोलिरहेछ। भोकलाई क्यामेरा फर्काएर के के सोधी रहनु मलाई त लाज-लाज पनि लाग्न थाल्यो।

प्रवासी श्रमिक, श्रमिक आप्रवासन

कपिल तामंग 


आज फेरी माथिल्लो घरको माइला काकासँग तल्लो घरको कान्छा भाइ शहर जादैछ, काम खोज्दै। यसरी नै गाउँको युवा-युवतीहरू शहर-शहर जादैछन्— कोही मिस्त्रीको काम गर्न, कोही होटेल या अर्काको घरहरूमा भाडा माझ्ने काम गर्न त कोही सेक्युरिटी गार्डको काम गर्न। आज श्रमिक आप्रवासन एउटा ठुलो मुद्दा भएको छ। भारतको अधिकांश अञ्चलहरूमा चार मध्ये तीन घरमा नै एक या एक भन्दा बेसी सदस्य बाहिर काम गर्न गइरहेका छन्। तर के यो श्रमिक आप्रवासन आजको समयमा मात्रै प्रचलित हो र? 

इतिहासलाई पल्टाएर हेर्दा आप्रवासन ता सदियौंदेखि चलिरहेको छ। पहिले प्राचीन कालमा खाना अनि बासस्थानको खोजीमा मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ जान्थे, पछि दास प्रथामा मालिकसंग दासहरू एक देश देखि अर्को देश जान्थे अनि उपनिवेशिक व्यवस्थामा दास व्यवस्थाको सट्टा ज्यालादारी मजदुरलाई प्रचलित गराए, जो ठाउँ ठाउँ गएर रब्बर, सिन्कोना अनि चिया बगानहरूमा काम गर्न थाले। ब्रिटिस शासनको बेला चियाबगानमा काम गर्न धेरै जगाहबाट मानिसहरूलाई ल्याएर पहाड अनि तराई र डुवर्स क्षेत्रहरूमा खटाउनु थाले। तर आजको श्रमिक आप्रवासनको मुद्दा भने त्यसबेलाको श्रमिक आप्रवासन भन्दा भिन्न छ। त्यसबेला उपनिवेशिक क्षेत्रहरूमा पर्ने मानिसहरूलाई जबर्जस्ती एक ठाउँ देखि अर्को ठाउँ काम गर्न पठाइन्थ्यो चाहे त्यो चियाबगान होस् या सिन्कोनाबगान। मानिसहरू काम गर्न जान्थे करले अनि डरले र आज स्वतन्त्र भारतमा पनि मानिसहरू एक देखि अर्को ठाउँ काम गर्न जांदैछन् करले अनि डरले— तर आजको कर हो निम्न आर्थिक स्थितिको सोचनीय अवस्था अनि डर हो असुरक्षित अनि अन्धकार भविष्य!



चिया बगानमा दिनभरि खटेर पनि दिनको ज्याला ९० रुपियाँ मात्र पाएको अनि बजारमा भने सबैकुराको दामले आकाश छोएको अनि आफ्नो ठाउँमा भने कामको हाहाकार मचेको यस्तै धेरै कारणहरूले गर्दा अन्य ठाउँ काम खोज्न जानु परेको छ भन्ने धारणा त जन साधारणमा पहिले देखि नै प्रचलित छ। बाहिर काम गरेर मानिसहरूले आफ्नो घरको आर्थिक अवस्थामा सुधार ल्याएको कुरालाई पनि नकार्न सकिंदैन। आज विश्व बजारमा प्रवासी श्रमिकले एउटा ठुलो भूमिका खेलीरहेको छ। विकसित देशदेखि लिएर गरिब विकासशील देशहरूमा प्रवासी श्रमिकको छ्याप-छ्यापती मांग छ। 



भारतमा पनि असंगठित क्षेत्र (unorganized sector) बढिरहेको छ जसको मुख्य भागनै प्रवासी श्रमिकहरूले भरिएको छ। यसको मूल कारणहरू थुप्रै छन्— ती मध्ये एक कारण हो खेती अनि कृषिको गलत नीति। आज भारतको अधिकांश अञ्चल-हरूका जमिन अनि खेतीहरू प्रभावी नभइरहेकोले गर्दा मानिसहरू कामको आशामा शहर जादैछन् तर शहर गएर पनि तिनीहरू प्रवासी श्रमिकहरूको त्यो असीम सागरमा पस्छन् जहाँ तिनीहरूलाई जहिले पायो तब काममा लिइन्छ अनि नचाहेको बेला निकाली दिइन्छ। यसरी कुनै सुरक्षा अनि भविष्य बिना तिनीहरू आ-आफ्नो श्रम दिन्छन्। तिनीहरू कामको बजारमा अनिश्चितताको भुवरीमा फसिन्छन् कारण तिनीहरूलाई कुनै पनि कामको थोरै मात्र ज्ञान अनि सिप हुन्छ। ज्यादातर श्रमिकहरू कुनै दलाल वा ठेकेदारको हातबाट काममा लाग्छन्। अहिले त झन् नयाँ-नयाँ एजेन्सीहरू खोलिएको छ जसले तिनीहरूलाई काम दिने भरोसा दिन्छ अनि कम ज्यालामा ज्यादा श्रमको माँग गर्छ। 

ठेकेदार जसले काम दिन्छ तिनीहरूले पनि छेउ-छाउमा बसोबास गर्ने स्थानीय श्रमिकहरू भन्दा प्रवासी श्रमिकहरूलाई नै बेसी भागमा काम दिन्छन् कारण तिनीहरू सस्तो ज्यालामा काम गर्छन् अनि काम गर्ने ठाउँमा सामाजिक सम्बन्धहरू पनि राख्दैनन् जसले गर्दा तिनीहरूलाई बेसी काम गराउन अनि नियन्त्रित रूपमा सञ्चालन गर्न सजिलो पर्छ। महिला श्रमिकहरूको अवस्था झन् खराब छ— तिनीहरूलाई साधारण रूपमा पुरुष श्रमिक भन्दा कम ज्याला दिइन्छ। बिल्डिंग निर्माण उद्योगमा महिला श्रमिकहरूलाई आफ्नो लोग्ने वा पुरुष श्रमिकको सहायकको रूपमा हेरिन्छ अनि ज्यादा सिप नलाग्ने र साधारण कामहरूमा सीमित राखिन्छ त्यसर्थ ज्याला पनि कम्ती दिइन्छ। महिला श्रमिकहरू धेरै जगहहरूमानै असुरक्षित छन्। धेरै जस्तो उद्योगहरूमा स्त्रीहरूमाथि दुर्व्यवहार, कम ज्याला अनि यौन हिंसा जस्तो घटनाहरू घटीनै रहन्छ। 

बसाइ सरेका यी श्रमिकहरू अनि तिनीहरूको परिवारहरूको अवस्था धेरैनै गम्भीर अनि सोचनीय हुन्छ। तिनीहरूलाई न कुनै प्रकारको स्वच्छ पिउने पानीको नै प्रबन्ध हुन्छ न टाउको लुकाउने छतको नै। ज्यादा जस्तो ती मजदुरहरू खुल्ला जगहमा प्ल्यासटिकको या चित्राको झोपडीहरूमा बसोबास गर्छन्। जबकि सरकारले कन्ट्रक्ट लेबर एक्ट (Contract Labour Act) पनि लागु गरेको छ जसको अनुसार कुनै पनि काम लगाउने ठेगेदारले आफ्नो कर्मीहरूलाई उपयुक्त बासस्थानको व्यवस्था पुराउन पर्छ। अस्थायी मजदुरहरू झन् पार्कमा या झोपडीहरूमा बस्छन् जहाँ न पानी न राम्रो जल-निकास व्यवस्थाको प्रबन्ध हुन्छ। खाद्य सर-सामानको दाम पनि तिनीहरूलाई महँगो पर्छ कारण धेरै जस्तो ती अस्थायी मजदुरहरूले राशन कार्डको सुविधा पाउदैनन्। स्वास्थको परिप्रेक्षमा हेर्दा ती श्रमिकहरूको स्तिथि अझ खराब छ तिनीहरू अस्वस्थ अनि मैला जगहमा बसो-बास गर्छन् अनि पेशागत खतरा अनि बिमारीहरूबाट ग्रसित हुन्छन्। जुन मजदुरहरू बिल्डिंग निर्माण या कोइला उद्योगहरूमा काम गर्छन् तिनीहरू विशेष गरेर पेशागत खतरा अनि फोक्सोको बिमारीहरूले ग्रसित हुन्छन्। काम दिने ठेकेदारहरूले सुरक्षा व्यवस्थाको प्रबन्ध राम्रो नगरेकोले दुर्घटना हुने सम्भावनाहरू धेरै हुन्छ। महिला मजदुरहरूलाई सुत्केरी बिदा (maternity leave) जस्ता सुविधाहरू पनि दिइन्दैन अनि नानी जन्माउन साथ काममा जबर्जस्ती खटाइन्छ। नानीहरूको लागी शिशुघर (creche) जस्ता सुविधाहरूको प्रबन्ध हुदैन जसको कारण नानीहरू आफ्नो आमा बाबासंग काम गर्ने ठाउँमा जान्छन् अनि बिमार हुन्छन्। ती नानीहरू शिक्षा देखि पनि बञ्चित हुन्छन्। जुन घरको पुरुष सदस्यले मात्र काम गर्न जान्छन् त्यस घरको पारिवारिक सम्बन्धको भार विशेष गरेर त्यस परिवारको स्त्री अनि नानीहरूलाई पर्न जान्छ। पुरुष सदस्यको अनुपस्थितिले परिवारमा मानसिक तनाउ अनि असुरक्षा हुन्छ। पुरुषको अनुपस्तिथिमा घरको स्त्री सदस्यले संसारिक अनि आर्थिक उत्पादनमा प्रत्यक्ष रूपमा भागीदारी लिन्छ अनि आफै निर्णय लिने र अन्य संसारिक सम्पर्कमा उन्नति गर्छ। तर त्यो थोपिएको स्वतन्त्रतालाई पनि पितृसत्तात्मक समाजले तिरस्कारको दृष्टिले हेर्छ। यस कारणले परिवारको स्त्री सदस्य अनि नानीहरूलाई प्रतिकूल परिस्थितिमा घर-गृहस्थीको श्रममा खट्न बाध्य गराई दिन्छ। घरको छोरा अनि छोरीहरूलाई झन् ठुलो उत्तरदायित्वको भार पर्छ। घरको काम, सानो भाइ-बहिनीहरूको देख-रेख अनि अन्य कामहरूले गर्दा तिनीहरू शिक्षा देखि पनि बञ्चित हुन्छन्। पछि तिनीहरू पनि घरको कोही सदस्यसंग काम गर्न शहर नै जान्छन्। यसरी तिनीहरूको जीवन पनि त्यही यातनामय श्रमको भुवरीमा हराउछ।  

विषय : सड़क नाटक

हाम्रो अनुभव, हाम्रो विचार

सड़क नाटक : एउटा अभिव्यक्ति

अम्बिका राई



सड़क नाटक एउटा यस्तो माध्यम हो जसद्वारा हामी समाजमा कैयौँ वर्षदेखि चली आई रहेको वा चल्दै गरेको स्थिति वा परिस्थिति सजिलोसँग दर्साउन सक्छौ, सँगसँगै भन्नसक्छौं हाम्रो सन्देश पनि। यो नाटक कुनै घरभित्र वा कुनै मञ्चमा होइन तर खुल्ला जगह, सड़क, आँगन, मैदानमा देखाइन्छ। यसमा कलाकारको मात्र प्रमुख भूमिका हुँदैन तर दर्शकहरूको पनि भूमिका हुन्छ। यसरी खुल्ला जगहमा नाटक देखाउँदा नाटक टोलीसंग लाइट अनि माइक जस्तो कुनै पनि साधन हुँदैन। उनीहरूको मुख्य हतियार हुन्छ उनीहरूको आवाज र यही आवाज लिएर जनता माझ पुग्ने उनीहरूको लक्ष्य। यही जोस अनि भावना लिएर लाली गुरासको प्रयास सड़क नाटक टोली "दृश्य समूह"को तर्फबाट हामी नाटकहरू लिएर दार्जीलिंगको धेरै ठाउँमा पुग्यौं। अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवसलाई नै मुख्य रूपमा केन्द्रित गर्दै हामीले हाम्रो पहिलो सड़क नाटकको आरम्भ ७ मार्च को दिन उत्तरबंग विश्वविध्यालयबाट गऱ्यौं। त्यसपछि ८ मार्चको दिन हामी त्यही नाटक लिएर खरसांग पुग्यौ, र क्रमैसंग दार्जीलिंग, कालेबुङ अनि टिस्टा बजारमा पनि हामीले नाटक प्रदर्शनी गऱ्यौं। नारी दिवस मनाइने खास उद्देश्य र यसको इतिहास बताउनको निम्ति हामीले सड़क नाटकको बाटो रोज्यौ। हामीले आफ्नो वरिपरि नै हेऱ्यौं भने पनि महिलाहरूमाथि भएको अत्याचार अनि शोषण देख्न सक्छौ। घर भित्र होस् या घर बाहिर महिलाहरू अझसम्म शोषित छन्। घरभित्र आफ्नो बाबा होस वा दाजु-भाइ-आफन्तद्वारा, कार्यस्थलमा मालिक होस या सहकर्मी द्वारा, हरेक ठाउँमा नारीहरू शोषित छन्। बलात्कार, कन्या भ्रुण हत्या, मानव तस्करी जस्ता खबरहरू आज हामी जुनै पनि खबरकाजगमा देख्न सक्छौ। बजारमा पुँजीपतिहरूको फायदाको निम्ति खुल्ला रूपमा बिक्री भइरहेको छ नारी। यही मूल-मन्त्र लिएर तिनीहरू आ-आफ्नो सामानहरू लिएर अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस मनाउनु होड़बाजी साथ बजारमा उत्रन्छन्। तर यो दिन मनाइने कारण भिन्न छ। संसार भरीका महिलाहरूले आफ्नो हक अनि अधिकारको निम्ति इतिहासमा लड़ाई लड़ेका थिए र उनीहरूले गर्दा नै आज नारीहरूले धेरै अधिकार प्राप्त गरेको छ। ती साहसी महिलाहरूको योगदानलाई स्मरण गर्दै हामी ८ मार्चको दिन नारी दिवस मनाउछौ। नाटकसँग सुहाउदो गीत पनि नाटकको बिच-बिचमा थियो — 

“सुन आमा दिदी बहिनी, 
सुन दाजु-भाइ हो 
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?
छोरा अनि छोरी बिच 
भेद कोऱ्यो कसले?
छोरी हिड्ने बाटो सबै 
भत्काई दियो कसले?
घर, आँगन गाउँ आफ्नै
कैदखाना जस्तो भो...
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?
आँखा छोपी आकाशमा 
हेर भन्ने को हो?
पाइला रोकी शिखरमा 
चढ़ भन्ने को हो?
आफ्नै चेली नंग्याएर, 
खुसी खोज्ने माइती हो...
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?
त्रास, लुट, अन्यायको 
शहर बस्यो किन?
छल, झुट, भेद-भावको 
शहर बस्यो किन?
तस्करी र बलात्कारको 
खबर बाच्ने देश हो...
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?    

हाम्रो यो पहिलो नाटकको प्रदर्शनीपछि दर्शकहरूबाट जस्तो प्रतिक्रिया आयो त्यो प्रशंसनीय थियो। हामीलाई पनि यो लाग्यो कि हामी जुन मुद्दाहरू लिएर जनतामाझ गएको थियौ शायद धेरै हदसम्म उनीहरूले त्यो कुरा बुझे होलान। यहाँबाट हाम्रो टोलीले पनि अझ अघि गएर केही गर्ने प्रोत्सहान पायो। हामीले फेरी मई दिवसलाई केन्द्रित गर्दै अर्को नाटक गर्ने निश्चय गऱ्यौं। मजदुरहरूमाथि भइरहेको शोषणको सानो झलक अनि विशेष गरी चियाबगानको मजदुरहरूको स्थितिलाई दर्शाउनको निम्ति हामीले फेरी हाम्रो यात्रा सुरु गर्ने निर्णय गऱ्यौं। यसै क्रममा सफ्दर हास्मीद्वारा रचित नाटक “मशिन” बाट प्रेरित भएर यसै नाटकलाई अलिकति अनुसर्जित गर्दै हाम्रो नाटक टोली “दृश्यसमूह” फेरी एकपल्ट दर्शक माझ पुग्यो। मई दिवसलाई नै मुख्य रूपमा केन्द्रित गर्दै १ मई देखि ४ मईसम्म यो सड़क नाटक टोली फेरी आफ्नो दोस्रो चरणको यात्रामा निस्क्यो। क्रमैले हेऱ्यौं भने हामीले उक्त नाटक घूम, त्यसपछि दार्जीलिंग बजार, ताकदह (स्कुल धुरा, रासिन धुरा), ग्लेनबर्न, रङमुक अनि सिडर्सको जम्मा गरी ५ वटा गाउँ अनि अन्त्यमा खरसांगमा प्रदर्शन गऱ्यौं। प्रश्न उठ्छ मई दिवस किन?? सन १८८६मा अमेरिकाको हे-मार्केटमा लाखौ मजदुरहरू आफ्नो अधिकारको निम्ति लड़न सडकमा ओर्लिए। त्यस्ताक त्यहाँका मजदुरहरूलाई १९-२० घण्टा सम्म खठाउने चलन थियो। उनीहरू मांग थियो ८ घण्टा काम, ८ घण्टा आराम अनि ८ घण्टा मनोरञ्जन। यही मांगहरू लिएर उनीहरू सड़कमा उत्रिए अनि त्यहाँ ७ जना मजदुर शहीद भए। त्यही श्रमिकको खुनले लतपत भएको रातो लुगा नै मजदुरहरूको संग्रामको प्रतीक बन्नेछ र यस दिनलाई सधैँ मजदुर दिवस भनी स्मरण गरिनेछ भनेर पछि निर्णय लियो जुझारु शक्तिहरूले। नाटकमा हामीले चिया बगानको मजदुरहरूको स्थिति माथि प्रकाश पाऱ्यौं। पुँजीपतिहरूको नाफा कमाउने मुख्य श्रोत हो मजदुरहरूको श्रम। तर के ती मालिकहरूले कहिले सोच्छन् होला ती मजदुरहरूको बारेमा?? ८ घण्टा कामको लडाई हो मजदुर दिवस तर कुनै कुनै कमानमा मजदुरहरूलाई ९ घण्टा खटाइन्छ। कहाँ गयो ती मजदुरहरूको बलिदान?? मशिन जस्तो काम गर्छन् तर तलब भने इत्तिनै, “आजु लैजा भोलि फेरी आइज” भने जस्तो। आफ्नो घर जमिनसम्मको पर्जा-पट्टा छैन तिनीहरू सँग। यही प्रश्नहरू लिएर हामी फेरी जनता माझ पुग्यौ। यात्रा लामो थियो तर अनुभव राम्रो। नाटकको अन्त एउटा गीतबाट भयो—
बिसाउँदैन पाइला हाम्रो पुग्नु छ शिखरमा 
मुक्तिको गीत गाउदै साथी....
श्रमिक एकताको संग्रामी पथमा
नछेक पाइला हाम्रो, 
बाँध तोडी दिन्छौं 
नरोक सपना हाम्रो, 
पर्खाल तोडी दिन्छौं 
दबेका सुर हाम्रा, 
जागी उठ्ने छन् 
बाँधिएका संग्लो 
चुडाली उठ्ने छन् 
संग्रामी संग्रामी संग्रामी यो पथमा ...


आमजनता माझ आफ्नो विचार पुराउने माध्यम धेरै छन्। कसैले गीत द्वारा, कसैले कविता, कथा वा कसैले चित्र कोरेर यो काम गर्छन्। परम्परागत रूपमा चली आइरहेको नाटक भन्दा भिन्न हुन्छ सड़क नाटक। यो नाटक मञ्चमा गरिंदैन, नाटकमा चाहिने ध्वनि पनि कलाकारहरूले नै आफ्नो मुखबाट निकाल्छन्, त्यही कलाकार कहिले टेबल, चौकी, खोला, दैलो इत्यादि बन्छन्। यसकारण नै सड़क नाटक जुनै ठाउँमा पनि देखाउन सकिन्छ। 

सामाजिक सन्देश फैलाउनको निम्ति भारतमा सदियौंदेखि नै नाटक एउटा प्रभावशाली माध्यम हो भन्न सकिन्छ। अनि सड़क नाटकको कुरा गरौं त १९ सौ शताब्दीदेखि त्यो चली आइरहेको छ। कैयौं शताब्दीको भारतीय परम्परासंग जोडिएको छ सड़क नाटकको इतिहास। भारतीय संस्कृतिमा कठपुतलीद्वारा देखाइने नाटकमा सुत्रधारको उपस्थिति, भारतीय लोकनाटकहरूमा बर्णनकारी वा न्यारेटरको भूमिका सड़क नाटकको परम्पराको सबुत हो। भारतमा जब कुनै कलाले शासक वर्गको स्वीकृति पाउदैन्थ्यो, त्यस्तो कलाले सड़क नाटकको रूप लिन्थ्यो। सड़कमा कुनै कलाको प्रदर्शनी गर्दा कलाकार अनि दर्शकहरू माझ सोझो वा सिधा सम्बन्ध बनिन्छ। विगतको दिनहरूमा यस्ता दर्शक समक्ष प्रत्यक्ष प्रदर्शनलाई ‘रहस’ भनिने गरिन्थ्यो। निर्दिष्ट रूपमा पंजाबमा देखाइने यस्तो नाटकलाई ‘रहस’ अनि ‘स्वंग’ भनिन्थ्यो। यसैलाई उत्तर प्रदेशमा ‘नौटंकी’ अनि बंगालमा ‘जात्रा’ भनिन्थ्यो। 

बाहिरका देशहरूमा पनि यस्तो किसिमको कलाको अभ्यास गरिन्थियो। पछि गएर राजनैतिक कारणहरूले गर्दा यस्ता धेरै सड़क नाटकद्वारा शासकवर्गमाथि प्रतिवाद जनाइन थालियो, जो हाम्रो देशमा पनि भएको थियो। यस्तो प्रतिवाद जनाउनेहरू थुप्रै थिए। गेरिला थिएटर अफ सानफ्रान्सिस्को माईम ट्रुप, दा लिभिंग थिएटर, दा कार्निभालेस्क प्यारेडस् अफ ब्रेड एण्ड पापेट थिएटर — ती मध्ये केही हुन्। यसै क्रममा नेपालको कचहरी थिएटर (Kachahari theatre) पनि फोरम थिएटरबाट धेरै प्रेरित बनेका थिए। ल्याटिन अमेरिकाको आगस्तो बोअल (Augusto Boal) को नेतृत्वमा बनिएको थिएटर हो फोरम थिएटर— जसलाई 'थिएटर अफ दा अप्रेस्ड' पनि भन्दछ।  

१९६०को समयमा संसारभरि नै साम्राज्यवादको विरुद्ध आवाज उठ्न थाल्यो तथा स्ट्रीट थिएटर पनि समाज परिवर्तनको मांग गर्दै अघि बढ्यो। चारैतिरको राजनैतिक क्षेत्रमा उथुल पुथुल देखिन थाल्यो। १९७० को समयमा पनि यस्ता कलाहरूको प्रदर्शनी क्रान्तिकारीहरूद्वारा गरिन सुरु भयो। कोहीबेला त कलाकारहरू माथि आक्रमण पनि हुन्थ्यो। यस्तै घटनामा कोलकाताका दुईजना सामाजिक कार्यकर्ताको मृत्यु भएको थियो, १९७२ सालमा 'थिएटर युनिट'को आशिस च्याटर्जी अनि १९७४ मा 'सिलुयेट'को प्रबीर दत्त। सन १९८९ मा मजदुरहरुका समर्थनमा सडक नाटक गर्दा दिल्लीको नजिक हत्या भयो ‘जन नाट्य मञ्च’को सफदर हाशमीको। यस्तो आन्दोलन भारतको अन्य राज्यहरूमा पनि फैलिएको छ। अर्कोतिर धेरै बेसरकारी सङ्गठन— non-governmental organizations (NGOs) -हरूद्वारा सड़क नाटकको प्रदर्शनी हुन्छ। तर उनीहरूको मुद्धा भने भिन्न — जस्तै परिवेश सम्बन्धित जागरण, एड्सबारे सचेतनता र परिवार नियोजन योजना इत्यादि। यसमध्ये बेसी नै नाटकीय गुणवत्ताको हिसाबले नराम्रो छ। कार्यकर्ता वा एक्टिभिस्ट सडक नाटक टोली आमतौरमा नाटक सकेपछी दर्शकको स्वेच्छाले दिएको चन्दा माथि निर्भर गर्छ, जब कि एनजीओहरूका निर्भरता रहन्छ डोनर एजेन्सीहरू प्रति, जसमध्ये विदेशी संस्थाहरू पनि छ। 

सडक नाटकको कुरा गर्दै, त्यसको फर्म (रूप) लिएर गहिरोसँग विश्लेषण गर्दै हामीले चर्चामा ल्याउनुपर्छ बादल सरकारले यससित जोडिएको विचार अनि योगदानहरु। वहाँले गर्नुभएका काम धेरै नै प्रभावशाली रहेको छ। परम्परागत रूपमा चली आएको नाटकलाई नकारेर उनले नाटकलाई खुल्ला आकाश मुनि देखाउन ज्यादा रूचाए। शोषित जनतामाझ आफ्नो विचार नाटकको माध्यमद्वारा लैजाने इच्छा थियो बादल सरकारको। हामी पनि यो धाराबाटै प्रभावित छौँ। यसै पद्धतिले भएको केही नाटकको कर्मशाला द्वारा हामीले यस्तो नाटक बारे प्राथमिक पाठ र धारणाहरू पायौं। बादल सरकार बाहेक अरू कोहीपनि थिएटर व्यक्तित्वले स्वतन्त्रता-पश्चात् भारतमा थिएटरको वैचारिक र व्यवहारिक प्रश्नमा यस्तो गहिरो प्रभाव पारेको छैन। उहाँको नाटकहरूले नयाँ पुस्ताका सबै प्रमुख चिन्ता, चाहना र निराशा व्यक्त गर्नथाल्यो, यही यात्रामा ‘थर्ड थिएटर’को जन्म भयो। 

भारतको नानाथरिका आफ्नै लोक नाटक (indigenous folk theatre)— बलियो, र प्रत्यक्ष-जिउँदो छ, खटीखाने मान्छेहरूले यसलाई आत्मसाद गरेका छन् तर यसमा मेहनती जनताको जीवनको झलक छैन र कुनै खण्डमा अप्रासंगिक र धेरैजसो प्रतिक्रियावादी पनि हुने गर्छ— यो नै हाम्रो देशको फर्स्ट वा प्रथम थिएटर हो। अर्कोतिर मञ्चको थिएटर वा प्रोसेनियम थिएटर, जसलाई सहरको बुद्धिजीवीहरूले पश्चिमी देशहरूबाट ल्यायो, त्यसलाई सेकेन्ड थिएटर वा दोस्रो थिएटर भन्न सकिन्छ। यो थिएटरलाई शिक्षित र सचेत मानिसहरूका केही हिस्साले सामाजिक रूपमा महत्वपूर्ण र प्रगतिशील विचारलाई फैलाउनको निम्ति प्रयोग गऱ्यो र गर्न सक्छ, तर यो प्रकारको नाटक पैसा-निर्भर र सहर-केन्द्रित हुँदै गयो। अनि जतिनै यसको खर्च बढ्छ, त्यतिनै यो साधारण मानिसहरूसम्म पुग्न असम्भव हुन्छ। ऐतिहासिक क्रममानै हाम्रो देशमा परिवर्तनको थिएटरको रूपमा एउटा लचिलो, पोर्टेबल, मुक्त थिएटरको खाँचो थियो— जो 'तेस्रो थिएटर' को रूपमा उभिन थाल्यो। 

बादल सरकारले चली आएको यस थिएटरको धारणालाई असन्तुष्टी जनाउदै प्रश्न उठाए। अरू अन्य ठाउँहरूमा पनि धेरैले प्रोसेनियाम मञ्च प्रति आपत्ति जनाए। तर बादल सरकारले आफूसँग त्यस प्रश्नको उत्तर पनि बोकेर आए। उनलाई भान भयो कि सिनेमा एउटा यस्तो माध्यम हो जसले थिएटर भन्दा ज्यादा कुरा भन्न सक्छ। तर त्यसमा एउटा कुराको कमी हुन्छ अनि त्यो हो कि सिनेमा प्रत्यक्ष प्रसारण गर्न सकिन्दैन। उहाँले भन्छन्— 
"सञ्चार हरेक कलाको रूपमा आवश्यक छ; कलाकारले अभिनय, साहित्य, सङ्गीत, चित्रकलामार्फत अन्य मान्छेसम्म संदेश पुऱ्याउछ। तर सञ्चारको तरिकाहरू अलग छन्। एकजना लेखक लेख्छन्— कसैले उहाँको रचना पढ्दाखेरि उहाँलाई उपस्थित हुन पर्दैन। एउटै कुरा चित्रकार र मूर्तिकारको बारेमा पनि लागु हुन्छ। सिनेमामा फिल्म कलाकारहरूलाई फिल्म देखाउने बेलामा उपस्थित हुन पर्दैन। तर थिएटरमा, कलाकारहरूलाई दर्शकलाई संदेश दिने बेलामा उपस्थित रहनु पर्छ। यो एउटा मौलिक भिन्नता हो। थिएटर एउटा लाईभ् (जीवित) शो हो, सिनेमा होइन। रङ्गमञ्चमा, सञ्चार प्रत्यक्ष हो; सिनेमामा त्यो चित्रहरूको माध्यमबाट हुन्छ”। 

यो चिन्ता आयो— कसरी सिनेमासँग प्रतिस्पर्धा गर्ने? के बजारी ग्रुप थिएटरको जस्तै बाटो अप्नाउन पर्छ, निर्भर गर्नुपर्छ नाटकको मञ्चको महँगो सेटमाथि? भव्य लाइट र महँगो वेशभूषा? स्टार कलाकारहरूमाथि? होइन। 

उत्तर यसरी आयो— नाटकको खर्च घटाउने, थिएटर हेर्दा दिने मूल्य घटाउने, थिएटरलाई कलाको रूप दिने, जसले दर्शकहरूलाई केही शिक्षा दिन सकोस्— जो सिनेमाले दिन सक्दैन। 

दुई प्रकारको मानिसको भेटघाट नभइन्जेलसम्म नाटकको कार्यान्वयन हुन सक्दैन। कलाकारहरू र दर्शकहरू एकै ठाउँमा, एकै दिनको एकै समयमा भेटछन् र एकसाथ केही बेर बिताउँछन्। प्रश्न यसरी उठ्छ— त के हामीले हाम्रो दर्शकलाई टाढ़ामा राख्दा ठिक हुन्छ? अर्कै स्तरमा? वा अँध्यारोमा? तिनीहरू त हामीलाई भेट्न आएको होइन र? के तिनीहरू थिएटरको एउटा अंश होइन र?

यसै सन्धर्भमा कुरा आयो— प्रोसेनियाम थिएटर (मञ्चको थिएटर) बनिएको तरिका नै गलत हो। दर्शकहरूलाई एक तर्फ मात्र राख्नुको मतलब हो दर्शकहरूलाई कलाकार वा कलादेखि टाढो लैजानु। के उनीहरूलाई चारैतर्फ राखिन सकिँदैन? 

कुनै कला मञ्चमा देखाइयो भने कलाकारहरू उचा दर्जाको जस्तो देखिन्छ अनि दर्शकसंग समानताको भावना रहन्दैन। के कलाकार अनि दर्शकहरू एउटै स्तरमा बस्न सक्दैनन्? कलाकारहरूले अँध्यारोमा बसेर हेरीरहने दर्शकको अनुहारको भावना वा प्रतिक्रिया (expression) के कस्तो छ भनेर पनि त बुझ्न सक्दैनन् ! 

के दर्शकहरूलाई पनि उज्यालोमा राख्न सक्दैन, जसमा कि कलाकारहरुले पनि दर्शकहरूलाई देख्न सकोस्। प्रत्यक्ष साक्षात्कार नै थिएटरको मूल मन्त्र हो र यही नै शक्ति। १९७० को दशकमा जब चारैतर्फ राजनैतिक होड़बाजी चलिरहेको थियो र अशान्तिको भावना थियो, त्यस समयमा केही व्यक्तिहरुले बादल सरकारसँग उनको यात्रामा जोडिन पुगे। 

तिनीहरूले प्रोसेनियम नाटकको प्रदर्शन त्याग्नुपर्ने बहस उठाउदै आँगनमंचको धारणा ल्याउन थाले अनि नाटकमा धेरै परिवर्तनहरु आयो— थिएटर देखि भ्रमलाई च्यातेर अलग गर्दै वास्तव-आधारित प्रदर्शन हुनुथाल्यो— दर्शकको एकदमै बीचमा ! 

जुन व्यवस्थामा हरेक सामान कुनै मूल्य तिरेर मात्र प्राप्त हुन्छ त्यस्तो व्यवस्थाभित्र उनीहरूले एउटा यस्तो कला लिएर आए जो सबैले निःशुल्क प्राप्त गर्न सक्थ्यो। थर्ड थिएटर एउटा उथुल-पुथुलको समयमा जन्मिएको हो र यसको स्थान, समय, कलाकार र आवाजमा राजनैतिक धारा बग्छ। यस्तो थिएटर आन्दोलनको रूप लिएर अघि आउछ र यसलाई मात्र एउटा पेसाको रूपमा कोहिले लिन सकिंदैन। थिएटर मात्र गर्न चाहनेहरू वा थिएटरद्वारा आफ्नो घर चलाउनेहरूले शायद यो प्रकारको थिएटर गर्न सक्दैनन् होला। जो यस व्यवस्थामा केही परिवर्तन गर्न सकिन्छ भन्ने भावना लिएर अघि बढ्छ, वा यो थिएटरलाई परिवर्तनको साधनको रूपमा लिएर आउछ— तिनीहरूको लागि बनिएको हो थर्ड थिएटर। 

अब यो जम्मै धारणा बादल सरकार र अरूहरूले कहाँबाट प्रेरित भएर सृजना गऱ्यो त्यसको तालिका पनि लामो नै छ। भारतीय परम्परागत लोकनाट्य जस्तै— जात्रा, तमाशा, भावाई, नौटंकी, कथकली, छौ र मणिपुरी नृत्य आदि देखि लिएर केही पश्चिमी प्रयोगात्मक थिएटर द्वारा पनि उनीहरू प्रेरित भए। जोन लिटलवुड (लन्डन), युरी ल्युबिमोव (मास्को), सिनोहार्नी क्लब थिएटर अनि जारीको प्यान्टोमाईम (प्राग) र पोल्याण्डको व्रोकलामा ग्रोटोस्कीको प्रस्तुतिहरू द्वारा उनी प्रभावित थिए। जार्जी ग्रोटोस्कीको ‘पुओर थिएटर’ को धारणालाई बादल सरकारले आत्मसात गरेर आफ्नो नाटकमा अनुसृजन गर्न चेष्टा गर्नु भयो— जहाँ ब्याकग्राउण्ड म्युजिक, लाइट, सेट र पोशाक जस्तै अरू आर्ट फर्म र प्रविधि देखि तत्वहरू लिनुको सट्टामा नाटकलाई अझै 'पुओर' वा गरिब बनाउनु— जसमा कलाकारको नमिलाएको शरीर नै सिमाना हो, जहाँ नाटकको जरासम्म, यसको आधारभूत रितिनिती सम्म पुग्ने प्रयास गरिन्छ। 

यो नयाँ थिएटर एकतिर अभिनयमाथि, कलाकारको शरीरमाथि पुरै निर्भर गर्छ, र अर्कोतिर दर्शकको कल्पनामाथि। अभिनेता र दर्शक यस्तो नजिकै रहेकोले गर्दा मेकअप पनि अब अनावश्यक बन्छ। जुन महँगो वस्तुहरू थिएटरमा चलाईन्छ ती सबै वस्तुलाई त्यागेर हामी अघि बढ्यौ। सड़क नाटक कुनै पनि स्थितिमा गर्न सकिन्छ। हामीले सजिलोसँग यो नाटक टोलीलाई जुनै स्थानमा पनि लैजान सक्छौ। हाम्रो नाटक निःशुल्क हेर्न सकिन्छ। आ-आफ्नो इच्छाले जसले जति दिनु सक्छ दिए पनि हुन्छ। यसरी ‘फ्री थिएटर’को जग हामी माझ स्थापित हुन सफल बन्यो। यस थिएटरको माध्यमले हामीले आफ्नो विचार दर्शकको अगाडी राख्यौं र दर्शकहरुका प्रतिक्रियाबाट प्रेरित भएर यो नाटक अनि नाटकसँग जोडिएको विचार र संदेश लाई धेरै टाडो सम्म अघि लैजान चाहन्छौं।


वर्ल्ड कपको नाममा विस्थापन...

सुमेन्द्र तामाङ



"हामीलाई वर्ल्ड कप होइन, हाम्रो अधिकार चाहिन्छ,
 हामीलाई वर्ल्ड कप होइन, आफ्नो घर चाहिन्छ" 

— यी शब्दहरू अहिले हरेक बेघर भएका ब्राजिलका गरिब नागरिकहरूको नाराहरूमा गुंजीरहेको छ। तर FIFA सँग मिलेर ब्राजिल सरकारले धमा-धम ज्यानमारा, अत्याचारि नीतिहरू अपनाइरहेको छन् औ वर्ल्ड कपको समारोह 'सफल' बनाउनुमा लागीरहेका छन्। जुन १२, २०१४ वर्ल्ड कप ! ४ वर्षमा एकपल्ट आउछ यो सुनौलो चाँड, ५० भन्दा ज्यादा सर्वश्रेष्ठ देशहरू आ-आफ्ना उत्कृष्ट टोली लिएर भाग लिन्छन् यसमा। संसार भरीका दर्शकहरूको निम्ति प्रत्येक खेल रोमाञ्चक औ महत्वपुर्ण हुन्छ। यस समय सबैभन्दा मिल्ने साथीहरू पनि आफ्नो प्रिय दल लिएर मुखा-मुख पर्छन्। यस पाली ब्राजिलमा फिफा वर्ल्ड कपको हावा चलिरहेको छ— कसैको निम्ति सामान्य कुरा तर कसैको निम्ति जीवन-मरणको कुरा हो यो वर्ल्ड कप! ब्राजिल स्वयम् वर्ल्ड कपको इतिहासमा एक ठुलो नाम हो। ब्राजिलले अन्तर्राष्ट्रिय फुटबललाई पेले देखि लिएर जिको, सक्रेतिस, रोमारिओ, ...रोनाल्डो, रिवालदो, रोबोटो कार्लोस, रोनाल्डिन्हो, नेमार जस्ता विशिष्ट खिलाडीहरू प्रदान गरिसकेको छ। ती खिलाडीहरुमध्ये कतिजनाले पनि यसपाली विरोधमा आवाज उठाएकाछन्। 

यसपाली त वर्ल्ड कप भन्ने यो ठुलो बाजार ब्राजिलमा लागिरहेको छ। ब्राजिल— जो BRICS देशहरूमध्ये एक हो अर्थात् ठुलठुला पुँजीवादीहरूको निम्ति प्रशस्त रूपमा पुँजी निवेश गर्ने नयाँ ठाउँ र भविष्यको नयाँ बाजार। त्यसर्थ ब्राजिल यो व्यवस्थाको निम्ति "तरुण तारा " हो। भारत पनि BRICS (Brazil, Russia, India, China, South Africa) देशहरूमध्ये एक हो! तर ब्राजिलको वर्तमान स्तिथि हेऱ्यो भने अर्कै कुरा थाहा पाइन्छ। विगत एक साल देखि ब्राजिलमा वर्ल्ड कपको उत्तेजना भित्र गरिब दुखीहरू बेघर भइरहेका छन्। ब्राजिलमा वर्ल्ड कपको निम्ति ठिक हिसाबमा भन्नु भने १३.३ बिलियन डलरको पुँजी निवेस भइरहेको छ। यसको निम्ति पुँजीको साथ-साथ जमिनको पनि आवश्यकता हुन्छ, स्टेडियमहरू तयारी भइरहेको छ, एयरपोर्टहरू बनिन्दैछ— तर वर्ल्ड कपको निम्ति ब्राजिललाई 'सुन्दर' बनाउने काम छोडेर जनताको सशक्तिकरणको निम्ति काम केही भएको छैन। गरीब जनताको हितमा केही काम भएको छैन, उल्टा गरिब दुखी जनताहरूलाई ब्राजिलको 'सुन्दरीकरण' (Beautification)को नाममा विस्थापित गरिंदैछ। देशको फुटानी राख्नुको निम्ति देशको जनतालाईनै ढण्ठा, बन्दुक, गोलीको सहारा लिएर आतंकित गरिंदैछ। ब्राजिलमा HUMAN DEVELOPMENT INDEX को आंकडा हेऱ्यो भने देशको स्थिति थाहा पाइन्छ, देशको धन अल्पसंख्यक धनीहरूको हातमा छ, गरिबी दिनदिनै बढिरहेको छ। यस्तो आर्थिक औ सामाजिक असन्तुलनमा वर्ल्ड कप हरे!! गरिब दुखीलाई बेघर बनाएर, नानी, केटा-केटी, बुढा-बुढीहरूलाई पिटेर, गोली चलाएर वर्ल्ड कप! वर्ल्ड कपको सफलताको निम्ति ब्राजिल सरकारले गरिब असहाय जनतालाई बेघर बनाईरहेछ— वर्ल्ड कपको सुनौलो खेलसंग जोडिएको तितो सत्य यही हो ! 

वर्ल्ड कपमा दार्जीलिंगको चिया सँग सुरु हुने हरेक दिन ...
अब भारत त वर्ल्ड कपमा उत्तीर्ण हुन नसकेता पनि भारतबाट चिया चाँही यस पाली ब्राजिल जाने भएको छ। हो, ब्राजिल वर्ल्ड कपका हरेक दिनहरू मकैबारी चियाबारीको उच्च गुणको चियाले सुरुवात गरिनेछ ! त्यहाँ हरेक क्याफेटेरियाहरूमा मकैबारी चिया पाइनेछ। दार्जीलिंग चियाको फेरी एकपल्ट मज्जा लिनेछ वर्ल्ड कप खिलाडी, अफिसियलहरूले। हुन त दार्जीलिंगको चियाको यस्तो अन्तर्राष्ट्रिय प्रस्तुति प्रथम पल्ट त भएको होइन, पहिले २००८ को बेइजिंग अलिम्पिकसमा पनि यसले जादु देखाइ सकेको नै हो ! तर यस्तो अन्तर्राष्ट्रिय मान्यता पाएर पनि दार्जीलिंग चियाबगानको मजदुरहरूको स्तिथिमा केही सुधार आएको छैन, यो जस्तोको त्यस्तै छ। ९० रुपियाको खर्चमा मजदुरहरू कसरी चलिरहेको छन्— त्यो मजदुरहरूलाई नै थाहा छ ! यो ९० रुपियाँको खर्चमा नानीहरूलाई पाठशाला पठाउनु, लुगा किनिदिनु, बिरामी भए दबाई किन्नु, घरको सौदा गर्नु र अन्य कामहरू गर्दा श्रमिकहरूको दातबाट पसिना निस्कन्छ! त्यसमाथि दिनदिनै बजारमा सामान-सामग्रीको भाव आकाश छुन लागिसकेको छ। साग सब्जी त सुनको भावमा बिक्रि हुने अवस्था आइपुगेको छ। अधिकतम चिया बगानहरूमा जीवन चलाउनुको निम्ति न्यूनतम सुविधाहरू पनि छैन। त्यसमाथि बेसरकारीकरणको हावा चलेको चलेकै छ पहाडमा। बंगाल सरकारले विगत दिनहरूमा जानीबुझी सरकारी चियाबगानहरूमा सुविधाहरू घटाएर त्यहाँका मजदुरहरूको बेसरकारी मालिकहरू तर्फ झुकाव बढाउने प्रक्रिया चलाईरहेको छ। आफ्नै घरको पर्जा पट्टा पनि छैन कमानका बासिन्दाहरूसंग। त्यसमाथि मुनाफा घट्यो, अफ सिजन भयो र मजदुरहरूले आफ्नो अधिकारहरू लिएर आवाज उठाए औ सङ्घर्ष गर्ने बाटोमा लागे भने यी मुनाफाखोरी अमानवीय मालिकहरू कारखाना बन्द गरेर भागने गर्छन्, त्यसपछि के?... त्यसपछि कमानका श्रमिकहरूको भोक्कै हुने स्थिति आइपुग्छ— यस्तो प्रचार वा अफवाह पनि सधै नै मौजुदा छ। यस्तो स्तिथिमा सङ्घर्ष गर्नु पनि श्रमिकहरू संकोच मान्छन्। कति त काम खोज्ने क्रममा दिल्ली, मुम्बई, कोलकता जस्ता अन्य ठुल-ठुला शहरहरूमा जान्छन्। काम खोज्ने शृंखलामा कति केटीहरू त तस्करी जस्तो भयंकर जालहरूतिर पर्छन्, वेश्यावृत्ति गर्न वाध्य हुन्छन। काम गरे पनि नहुने काम नगरे पनि नहुने स्तिथिमा परेको छन् कमानका मजदुरहरू। यस्तो दरिद्र दृश्यमा दार्जीलिंगको चिया ब्राजिल वर्ल्ड कपमा चलाईने हरे! वर्ल्ड कपमा सबैले दार्जीलिंगको चिया होइन तर कमानको मजदुरको नुनिलो पसिना, बाफिलो खुनको मिश्रण पिउने छन्— होइन र? 

खटीखाने श्रमिक वर्गको स्तिथि ...
चाहे त्यो ब्राजिल नै होस् वा दार्जीलिंगको चियाकमान— श्रमिकहरूलाई जहिले पनि, जहाँ पनि शोषण, उत्पीडन, थिचोमिचो बाहेक केही पनि दिदैन यो पुँजीवादी व्यवस्था। श्रमिकहरूको खुन र पसिनाले चल्छ यिनीहरूको मशिन। ब्राजिलमा वर्ल्ड कपको निम्ति धमाधम काम चलिरहेको छ। फुटबल स्टेडियमहरू एक पछि अर्को बनिन्दैछ। एउटा स्टेडियममा १९०० भन्दा ज्यादा मजदुरहरू नियुक्त गरिएको छ। कार्यस्थलमा जरुरी सुरक्षाको निम्ति केही पनि प्रावधान छैन। दिनमा ८ घण्टा भन्दा ज्यादा काम गराइएको खबरहरू पनि आएको छ। कार्यस्थलमा काम गर्दा गर्दै मजदुरको मृत्यु भएको काण्डहरू पनि सुन्नमा आएको छ ब्राजिलमा, स्टेडियमको छतमा काम गर्दा माथि बाट झरेर मरेको कुरा पनि आयो हालैमा। वर्ल्ड कपको नाममा सुन्दरीकरणको निम्ति श्रमिकहरूलाई यस्तो अमानवीय व्यवहार गरेको उचित त होइन तर यो कुनै नयाँ कुरा पनि होइन। संसार भरि यस्ता काण्डहरू कति हो कति घटीसकेका छन्। हालैमा कोलकाताको प्रसिद्ध साउथ सिटी मलमा एक जना श्रमिक माथि चढेर ब्यानर लगाउदै गर्दा हात चिप्लेर ३ तला बाट झऱ्यो र घटनास्थलमै उसको मृत्यु भयो। कुनैपनि सुरक्षाको व्यवस्था त्यहाँ थिएन ! यस्ता पेशागत खतराको दुनिया भरको खबरहरू त खबरकागजमा पाइन्छ। कति मजदुरहरूको पेसाले त उसको शारीरिक सन्तुलन पनि बिगारी दिन्छ! तर ब्राजिलमा होस् वा दार्जीलिंगमा श्रमिकहरू यसरी नै जीवन र मरणको बिचमा परिरहेको छन्। दार्जीलिंगको चिया कमानहरूमा किरा मार्ने औषधीहरू छर्किंदा पंजा, मुख छोप्ने सामग्रीहरूको कमीले मजदुरहरूको स्वास्थ्य बिग्रेको हामीले सुनेकै छौं। कति दुखलाग्दो कुरा हो — मालिकले दार्जीलिंगबाट चिया ब्राजिलमा पुऱ्याउनु सक्छ तर कमानको श्रमिकलाई बर्खामा गम-बूट, खाना पकाउने दाउरा, ग्र्याचुइटि भने दिन सक्दैन। चाहे त्यो ब्राजिल होस् वा अरू कुनै पुँजीवादी देश— मजदुरको पसिना, खुन बेचेर नै  मालिकहरूले आफ्ना महल बनाउँछन्। तर यी नाफाखोरहरूको लोभ यति मात्रै होइन, अहिले त विभिन्न खेलहरू जस्तै फुटबल, क्रिकेट, बास्केटबल इत्यादि त भयो भयो... स्वास्थ्य व्यवस्था, शिक्षा व्यवस्थाहरू धरी यी ज्यानमाराहरूको निम्ति मार्केटको मैदान भएको छ। 



उन्नति, सुन्दरताको नाममा विस्थापनको उदाहरण मार्फत हामी ब्राजिलमा १७०,००० परिवारहरू भन्दा ज्यादा बेघर भएर उठिबास भएको कुरा देख्न सक्छौ। सुन्दरता र उन्नतिको नाममा विस्थापन भएको कुरा यो पहिलो पटक पनि होइन। ब्राजिलमा यो विस्थापनको विरुद्ध निक्कै विरोधहरू भइरहेछ, हालैमा मजदुरहरू सङ्घर्ष गर्दै विरोध गर्न निस्कन थालेका छन्। यसपालि वर्ल्ड कपमा फुटबल बाहेक गरिब मजदुर जनताको आक्रोश पनि देख्न पाइनेछ ! 

त्यसो भए ...
श्रमिकहरूलाई जही पनि सधैँ नै थिचो-मिचो, शोषण, उत्पीडन भइरहन्छ। चाहे त्यो बङ्गलादेशको लुगा उत्पादनको श्रमिक होस् वा अमेरिकाको कारखानाको श्रमिक नै होस्। श्रमिकहरूको श्रम शक्तिले यिनीहरू ढिकुटी भर्छन्। यो व्यवस्थाले त कुनै पनि समयमा श्रमिकहरूको हितमा काम गर्ने होइन नै, बरु न्यूनतम ज्याला कसरी घटाउनु अथवा खर्च घटाउनु र नाफा सर्वोच्च कसरी गर्नु भन्ने यिनीहरूको लक्ष्य कहिले पनि बदलिने छैन। नयाँ-नयाँ बजार खोज्ने क्रममा पुँजीवाद यति हदसम्म पुगीसकेको छ कि यसले मानवसभ्यतालाई खतरामा हालीरहेको छ। संसारको विभिन्न देशहरूमा यो व्यवस्थाको विरुद्ध आवाज उठीरहेको छ। पुँजीवाद स्वंय पनि विगत समयमा हामीले हेऱ्यौं भने आफै-आफ आर्थिक सङ्कटमा परिसकेको छ कारण पुँजीवाद आफै-आफमा एउटा सङ्कट हो! यी सबै समस्याहरूको समाधान यो वर्तमान व्यवस्थामा हुन सक्दैन। श्रमिकहरूको आत्म-स्वाभिमानले केवल सङ्घर्षबाट मात्रै प्राप्त हुन सक्छ। यसैले यो पुँजीवादी व्यवस्थाको अन्त द्वारा नै एउटा वर्गविहीन व्यवस्थाको जन्म हुनेछ र यसको निम्ति दुनियाभरिका मजदुरहरूले सङ्घर्ष गर्नु जरुरी छ। 




केटा-केटीहरू सित मानवीय व्यवहार जरुरी

केटा-केटीहरू सित मानवीय व्यवहार जरुरी

बिट्टु लोरुंग राई 


शिक्षाको संस्थानहरूमा अध्ययनरत छात्र-छात्राहरू र विशेष गरी स-साना नानीहरूसित अमानवीय व्यवहार, मार-पिट अनि धेरै प्रकारको उत्पीडनको घटनाहरू धेरै मात्रामा आज-भोलि आइरहेका छन्। भर्खरै मात्र चारवटा यस्तो घटनाहरू आएका छन्, जसले हामीलाई एक पल्ट सोच्नुमा बाध्य गराउछ कि एउटा बिध्यालयमा शिक्षक र छात्रवर्गको बिच कस्तो सम्बन्ध हुन पर्ने। के पढाई-लेखाई र अनुशासन बनाएर राख्नुको लागी शिक्षकहरूद्वारा छात्र-छात्राहरू सित मार-पिट, श्रेणी देखि बाहिर निकाल दिनु, परीक्षामा बस्नु देखि वञ्चित गराउनु या फेरी होमवर्क गरेर नआउने छात्राहरूलाई यती धेरै पिट्नु कि त्यो छात्रको मृत्यु सम्म हुनु। के यो उचित हो??

एउटा शिक्षकद्वारा एउटा छात्रलाई होमवर्क गरेर नल्याएकोमा ३०० पल्ट उठ-बस गराएर बेहोस बनाइ दिनु, एउटा अङ्ग्रेजी स्कुलमा नेपाली भाषामा बात गर्दा "म गधा हो" लेखेर छत्तीमा टालेर स्कुलमा घुमाउनु, शिक्षकद्वारा छात्रासित शारीरिक शोषण, एक दिन स्कुल अनुपस्थित हुँदा लगातार तिन दिनसम्म श्रेणी देखि बाहिर निकाल्नु र अरू छात्राहरूलाई पनि श्रेणीमा पढाएको कुराहरू बताउनु नदिनु— यस्ता धेरै घटनाहरू छन् जसले हामीलाई आफ्नो शिक्षा प्रणाली, शिक्षण संस्थाहरूको वातावरण अनि छात्र र शिक्षक बिचको सम्बन्धलाई सुरु देखि सोच्नु विवश गर्दछ। 

अधिकांश शिक्षकहरू यो बात सित परिचित छन् कि नानीहरूसित मार-पिट र दुर्व्यवहार गर्नु कानुनी अपराध हो। अन्तर्राष्ट्रिय अधिनियम १९८९ को तहत नानीहरूको अधिकारलाई विस्तृत रूपमा परिभाषित गर्दै प्रावधान गरिएको छ। जसलाई भारत सरकारले पनि स्वीकार गर्दै अनुच्छेद २८-२९ मा भनेका छन्— "नानीहरूको व्यक्तित्व, प्रतिभा तथा मानसिक अनि शारीरिक योग्यताहरूलाई पूर्ण विकास तथा स्कुलहरूमा अनुशासन लागु गर्ने तरिका र वातावरण नानीहरूको मानवीय सम्मानको अनुकूलमा हुन पर्छ।"

धेरै आमा-बाबा आफ्नो नानीहरूको माध्यमबाट आफ्नो अधुरो सपना पूरा गर्ने इच्छा राख्दछ। जो उनीहरू बन्न सकेनन्, आफ्नो नानीहरूलाई बनाउन चाहन्छन्। त्यसर्थ उनीहरूको लागि नानीहरूको इच्छा र चाहना अनि सपनाहरू केही महत्व राख्दैन। बिहान-बेलुका नानीहरूलाई रोबोट जस्तै चाबीले चलाउने अभिभावक अन्जानमानै नानीहरूको भोलापन खोसी दिन्छन। नानीहरू आफ्नो इच्छा-चाहना, आफ्नो भित्र भएको मस्ती र बदमाशी स्कुलमा आफ्नो साथीहरू सित बाड्दछन्, जस बारे अभिभावकलाई ज्ञात हुँदैन। 

किनकि स्कुलहरूमा सँगै पढने छात्र-छात्राहरू अलग-अलग परिवेश, वातावरण अनि संस्कारबाट आएका हुन्छन। यस्तो परिस्थितिमा नानीहरूलाई यो सोच्नु मुस्किल हुन्छ कि उनीहरू कसको पक्ष लिनु पर्ने। घरमा टीवी, पत्र-पत्रिका, कम्प्युटर अनि स्कुलको शिक्षक तथा साथीहरू आफ्नो छिमेकीहरू, आमा-बाबा र सहपाठी कसको बिचमा उनीहरू आफ्नो रोल मोडेल चुन्नु पर्ने?

आज शिक्षकवर्गको अघि छात्र-छात्राहरूको गुरु-शिष्य परम्परालाई बाँधेर राख्नु सबैभन्दा ठुलो चुनौती भएर जाँदैछन्। शिक्षण संस्थाहरूमा आफ्नो हुकुम-अनुशासन नभएको देखेर नै शिक्षकवर्ग विचलित भएर नै यस्तो कार्य गरी पठाउँछन् जो अमानवीय हुन्छ। धेरै शिक्षकहरूको भनाइ छ कि यदि छात्रहरू होमवर्क गरेर आउँदैन, समयमा स्कुल आउँदैन, पढाईमा ध्यान दिदैन र स्कुल अनुशासनलाई पालन गर्दैन भने पिट्नु आवश्यक पर्दछ। नानीहरूको मनोविज्ञान बुझ्ने मनोचिकित्सक भन्छन् कि- "हर एक नानी आइन्स्टाइन हुनु सक्दैन"! कक्षामा पढने सबै नानीहरूको बौद्धिक क्षमता अलग-अलग हुन्छन। सबै नानीहरूबाट एउटै जस्तो आशा राख्नु ठिक हुँदैन। धेरै पल्ट नानीहरू स्कुलमा हुने मारपिटले गर्दा आफ्नो व्यवहार (attitude)लाई नकारात्मक बनाउछन्। धेरै पल्ट नानीहरू होमवर्क, पढाई, परीक्षा आदिको डरले घरबाट भाग्दछन् अनि धेरै छात्रहरू असफल हुँदा आत्महत्या जस्ता कार्य समेत गर्दछन्। 

नानीहरूको राम्रो पालन-पोषण अनि शिक्षण, माता-पिता अनि शिक्षकबर्गको आपसी तालमेलले मात्र सम्भव हुन्छ। धेरै अभिभावकहरू प्रतिस्पर्धाको (competition) चक्करमा आफ्नो नानीलाई सधैँ हर क्षेत्रमा प्रथम नै ल्याउनु चाहन्छन। अनि कति अभिभावकहरू आफ्नो नानीहरूको गतिविधिलाई पूर्ण नजर अन्दाज गरेर स्कुल, कलेजको छात्रावास (hostel)को भरोसा छोडेर दुक्क हुन्छन्। नाबालक नानीहरूलाई मोबाइल, मोटरसाइकल अनि धरै मात्रामा गोजी खर्च (pocket money) दिने अभिभावकहरू यस कुरा बाट अन्जान हुन्छन् कि उनको नानीहरू जुन संस्थानमा पढीरहेका छन् त्यहाँ सबै नानीहरू एकै प्रकारको हुँदैन। नानीहरूमा यही देखि धनी-गरिब, उँच-निच अनि अहङ्कारको भावना विकसित हुन्छन। अन्तमा जरुरत यस बातको छ कि— शिक्षकहरूको साथ-साथ अभिभावकवर्गले पनि यस बातलाई ध्यानमा राख्नु पर्छ कि उनीहरूको नानीहरू कुन प्रकारको अपेक्षा गर्छन् उसको व्यवहार कस्तो छ? उसको मौलिक जरुरत के के हो? उसले पढाइको कति सम्म बोझ सहनु सक्छन्? कक्षामा सबै प्रथम मात्र हुन सक्दैन। नानीहरूलाई केवल डर देखाएर, धम्काएर, मार-पिट गरेर मात्र सुधार्नु सकिंदैन। त्यसको सट्टा उनीहरूसित साथी जस्तो व्यवहार देखाएर, उनीहरूको कुराहरू ध्यानपूर्वक सुनेर, उनीहरूलाई खुसी राखेर, उनीहरूलाई त्यही सुविधा-साधन उपलब्ध गराउनु पर्छ जसले उनीहरूको व्यक्तित्व, विकास, पढाई-लेखाइ अनि असल नागरिक बनाउनको लागि जरुरी हुन्छ।। 

कमलको फुल कि उनिउको फुल?

गुञ्जन राना


भोट पनि भन्दा भन्दै सकियो। परिणाम अहिल हाम्रो अघि छ। कमलको फूल पहाड़मा मात्र नभएर पूरा भारतमै फूल्यो। राष्ट्रियताको मुद्दालाई हल गर्ने एवं गोर्खाल्याण्डको सिमाना कोरिदिने आश्वासनले यहाँ जनताले पुरै बहुमतमा भोट दिएर भारतीय जनता पार्टीलाई जिताए। तर आश्वासनहरू कति पुरा हुन्छ कति हुँदैन— त्यो त हामीलाई थाहा छ। तर पनि विवादमा नफस्दै यो भन्न सकिन्छ कि बीजेपीले दिएको आश्वासन पूरा भए त्यो अति उत्तम हुनेछ। तर कुरा यो पनि हो कि बीजेपी-ले समतलमा गोर्खाल्याण्डको मुद्दालाई पन्छाउँदै सामान्य चली आएको मोदी विकाश मोडेल देखाएर नै भोट जुटाउने चेष्टा गऱ्यो। यहाँ सम्म की उनीहरूले (बीजेपी) उक्त आश्वासन नदिएको अनि अलग राज्य गोर्खाल्याण्डको पक्षमा नरहेको समेत बताए!

भोट जुटाउने प्रक्रियामा राजनैतिक दलहरूले के के गर्दैनन्! त्यही प्रक्रियामा पर्ने चतुर जालहरू मध्ये एक थियो गोर्खाल्याण्डको मुद्दा। आफ्नो अधिकार छुट्टै राज्यको मांग पूरा गर्नलाई बीजेपी जस्तो कट्टर हिन्दु दललाई समर्थन दिन जरुरी थियो कि थिएन त्यो एउटा प्रश्न नै छ। अब त स्थिति अझै चाखलाग्दो बन्न पुगेको छ। यस राज्यमा सीपीएमको स्थितिलाई अझै बिगार्दै बीजेपीले नयाँ शक्तिको रुपमा विकशित हुन आँटेको छ। भोटको प्रतिशतको हिसाबले त्यही नै भन्दछ। यस स्थितिमा राज्यको प्रधान विरोधी शक्ति अनि क्रमैसँग राज्यको सत्ता प्रति पनि बीजेपीले नजर हाल्नेछ। यस्तो स्थितिमा बाकी जम्मै राज्यको भोट जुटाउने लालचमा उनीहरूले गोर्खाल्याण्ड दिने आश्वासनदेखि अझै टाढा जान्छन होला ! जनताको मुद्दाहरूसित खेल्दै शासक वर्गले कसरी आफ्नो स्वार्थ पूरा गर्छन्, त्यो हाम्रो आँखा अघि स्पष्ट छ। तर भारतवर्षको समग्रतामा भएको बीजेपी-को जित अनि यहाँ दार्जीलिंगको जित अलग गरी हेर्न आवश्यक छ। मोदीको एवं भारतीय जनता पार्टीको जित जनताको विवेक एवं जनताले प्रतिनिधिलाई दिएको अधिकार होइन, बरु कोर्पोरेट, पुँजीपतिहरूले सोँचीसम्झी बुनेको एउटा जाल हो।

काँग्रेसले हालेको भ्रष्टाचारको छारोले जनताको आँखा टट्याउदै थियो, त्यति नै बेला भएभरको देशी सञ्चार माध्यमहरूले मोदीलाई काँधमा चडाएर डुलायो। किन नरेन्द्र मोदीलाई भारतको प्रधानमंन्त्री बनाउनलाई आतुर बने त सबै, त्यसको पनि जटिल कारणहरू छन्। वैश्विक पुँजी वा ग्लोबल क्यापिटलको धेरै लबिहरुबाट, अनेकौ एनआरआईको तर्फबाट मोदीलाई विकाश पुरुषको उपाधि दिइयो। अन्तर्राष्ट्रिय पुँजी र फिनान्स वा निवेशी पुँजीको आयातमा नाश भएको कारणले अहिले ठुलो पुँजीपतिहरू नाफा बनाइराख्नु पर्ने नैराश्य स्थितिमा छन्। काँग्रेसको नेतृत्वमा चलेको युपिएको दोस्रो चरणमा एक पछि अर्को कर्पोरेट लुटको लहर चलिनै रह्यो। कोर्पोरेटहरू र निवेशकहरूको अघि कुनै पनि राजनैतिक विकल्प नरहँदा, मिडियाको साहाराले तिनीहरूले मुद्दाको हावा फ्याँके। यो गर्नुमा सञ्चार माध्यम, विज्ञापनहरू सबै उत्कृष्ट रूपमा सफल बन्यो। मोदीको २००२ मा गुजरात जनसंहारले बनेको भिलेनको इमेजलाई सफा अनि राम्रो बनाउनलाई कर्पोरेट मिडियाले धेरै ध्यान दियो। उनीहरूको पार्टीको कार्यक्रममा भनिएको कुराहरू मध्ये मिडियाले केवल त्यही कुराहरू उचाल्यो, जो उनीहरूको हितमा थियो र जसले जनतालाई आकर्षित गर्दथ्यो, जस्तै— आर्थिक र औद्योगिक विकासको कुराहरू, तर अर्कोतिर बाबरी मस्जिदको ठाउँमा राम मन्दिर निर्माणको आश्वासन, भारतीय दण्डबिधिको धारा ३७० निर्मुलन, युनिफर्म सिभिल कोड जस्तो बहसको विषयहरू लिएर भने मिडिया चुपचाप नै बसिरह्यो।

 सङ्घ परिवारले अघाडी राखेको प्रधानमंन्त्री पदप्रार्थी नरेन्द्र मोदीले पनि यो प्रचारसितै आफ्नो पार्फर्मेंस राख्दै गयो। इतिहासमा देखेको फासीवादी व्यक्तित्वहरू जस्तै नरेन्द्र मोदीले पनि आफूलाई सबैकालको, सबै ठाउँको र सबै प्रकारको मानिसको प्रतिनिधि हुँ भनेर उपस्थित हुने कोसिस गऱ्यो। उसले उत्तर भारतको हिन्दु क्षेत्र (काउ बेल्ट)-मा हिन्दुत्वको कुरा उचाल्दै गोमाताको शत्रु विरुद्ध आफ्नो रिस प्रकट गऱ्यो र, कर्पोरेट सेक्टर समक्ष आर्थिक विकासको गफहरू (गुजरात मोडेल आदि), मध्यम वर्गीयलाई आकर्षित गर्ने राम्रो प्रशासनिक व्यवस्थाको कुरा, सशस्त्र बलमा काम गर्नेहरूलाई नजिक तान्नलाई देश रक्षाको गरमागरम भाषण तथा गरिब जनतालाई प्रभावित गर्नलाई आफ्नो सानो उमेरको चिया बेचेको कथा सुनाउनमा पनि उसले बेर लगाएन!

सन् १९९१ पछि, उत्तर-उदारीकरणको समय, प्रत्येक राजनैतिक पार्टीहरूले ठुलो व्यापार र वित्तसम्बन्धि संस्थाको फायदाको निम्ति घातक पोलिसीहरू लागु गरे। धेरै त्यस्ता 'सुधारहरू' जनताको आँखामा धुलो हालेर जटिल कागजपत्रद्वारा, लोकसभाको उपमार्ग बनाउने कोसिस गरेर, नोकरशाहीहरू सँग MoU हस्ताक्षर गरेर तथा चुपचाप पोलिसी बदलेर लागु गरियो। यो बाटोमा धेरै अरू देशहरू पनि हिडेका थिए, जस्तै १९८० र १९९० मा लाटिन अमेरिकी देशहरू, मार्गरेट थ्याचरको जमानामा ब्रिटेन, रोनाल्ड रेगनको राजमा संयुक्त राज्य अमेरिका।

यहीँ राजनैतिक कमजोरीको दुईवटा परिणाम आएको छ। प्रथमतः यसले भारतीय 'सुधार'लाई बितेको दश वर्षदेखि लालची र भ्रष्ट बनाएको छ। SEZ कानुन, खाद्यान्न नियन्त्रणको उदारीकरण, ग्यासको मूल्यमा परिवर्तन, सजिलै पर्यावरण अनि जँगलको क्लियरेन्स उपलब्ध गराइने, जस्तो धेरै नयाँ सुधारहरू लागु गरेर कर्पोरेट संस्थानहरूलाई ज्यादा प्राकृतिक सम्पदाहरू हत्याउन सजिलो बनाइन्दैछ।

दोस्रो कुरा के हो भने, सुधारवादी शक्ति, तिनीहरूको साँचो सहयोगी, निवेश अनि बृहत् पुँजीले एउटा यस्तो राजनैतिक शक्ति खोज्ने प्रक्रिया सुरु गरेको छ जसले तिनीहरूलाई विरोधीसँग लड्ने भरिपूर्ण सहयोग दिलाउन सक्छ। विशाल पुँजी अनि यसको सुधारवादी मित्रहरूको हिन्दुत्व शक्तिसँग धेरै मुद्दाहरूमा सामान्य विचार छ। दुवैले “बलियो राज्य”-मा विश्वास राख्छन् अनि पुलिस र मिलिटरी फोर्स बढाउने सुरमा छन्, दुवैले समाजलाई अराजनैतिक हुनुपर्छ भन्ने विश्वास राख्छन्, तर त्यसको वास्तविकता भने सत्ता विरुद्ध सबै प्रकारको विरोधलाई नाश गर्नु हो, अनि दुवै सामूहिक राजनीतिको शत्रु हुन्, खास गरी जाति अनि वर्ग सङ्घर्षको।

२००९ देखि २०१४-को यो पाँच वर्षभित्र के गुजरातमा साँचै त्यस्तो विकाश भयो, जसको उदाहरण सञ्चार माध्यमहरूले दिइरहन्छन्। आज गुजरातलाई फर्केर हेर्दा, धेरै त्यस्तो आंकडाहरू देखा पर्छ जसले हावामा बनाएको विकाशको नक्सा ध्वस्त पारिदिन्छ। जस्तै यही वर्षको युनेस्को-को रिपोर्ट अनुसार गुजरातमा प्रत्येक ३ आमाहरूमा २ एनिमिक हुन्छन्, यस्तो आंकडाहरू भरपूर छन्। तर यसको मतलब यो होइन कि गुजरात बाहेक अरू राज्यमा शिक्षा, स्वास्थ्य इत्यादिको अवस्था राम्रो छ। तर भन्न पर्ने एवं ध्यान दिन पर्ने कुरा यो हो कि गुजरातमा केही त्यस्तो असोचनीय कुरा यी पाँच वर्षमा भएको छैन कि यसको ढोल पिटेर भोट जुटाउन सकोस्। अर्को तर्फ न त यसपालि लोकसभा चुनाउमा बीजेपी कुनै आन्दोलन गरेर आएको हो। जसरी सिंगुर अनि नन्दीग्रामको आन्दोलनले बङ्गालको ३४ वर्षीय शासन ध्वस्त पाऱ्यो, त्यस्तो आन्दोलनको उत्थानबाट भएको जित त भाजपाको पक्कै पनि होइन। त्यसर्थ, यो जित जनताको विवेक होइन, साँच्चै बरु जनताको आँखामा धूलो हाल्दै बनाइएको स्थिति हो।

मोदी आफै अनि उसको पार्टी पनि कतिको साँचिलो छ त?
मोदीको कुरा जब आउँछ, हामीले उसलाई गोधरा-उत्तर गुजरातको दङ्गा अनि निर्मम हत्याकाण्डबाट अलग राखेर हेर्न मिल्दैन। किन कि मोदी त्यही भाजपाको नेता हो, जुन पार्टीले लालकृष्ण आडवानीको नेतृत्वमा राष्ट्रिय स्वयंसेवक सङ्घ र विश्व हिन्दु परिषदको राजनैतिक आवाजको रूप लिएर बाबरी मस्जिद ध्वस्त बनाए। धर्मको नाममा दङ्गा लगाएर अल्पसंख्यक मुस्लिमहरू मारेर हिन्दु भोट जुटाउने पार्टी हो भाजपा। साम्प्रदायिक दङ्गा, धार्मिक कट्टरवादले जन्म दिएको दलबाट यो देशको जनताले के अपेक्षा राख्न सक्छ? रामको नारा लगाउँदै बाबरी मस्जिद भत्काउनेहरूबाट अझ धेरै धार्मिक दङ्गा बाहेक अरू केही आशा राख्न सकिन्दैन।

मोदी कोर्पोरेटहरूको निम्ति लूट्ने हात हो भने समाजको अल्पसंख्यकहरूको निम्ति हुनुपर्ने सामाजिक परिवर्तनहरूको बाधक हो। मोदीले आफ्नो भोटको शिविरहरूमा यो घोषणा गरेको छ कि कोर्पोरेटहरूलाई ऋण, जमिन, बिजुली इत्यादि सबैमा मद्दत दिइनेछ। सामाजिक वेलफ्यर अनि गरिब जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य इत्यादिको कुरा नगरेर, गरिब मजदुरहरूको पसिना र खूनले महल बनाउने मालिकवर्गको मद्दत गर्छु भनेर घोषणा गर्ने नेता कहाँको राम्रो हो र?

भाजपा एवं मोदीलाई एउटा अवसर दिइनुपर्छ भन्ने पनि जनताको सामान्य विचार छ। तर भाजपालाई त यो देशको जनताले धेरै चोटि अवसर दिइसकेको छ। सन् १९९६ मा १३ दिनको सरकार र त्यसपछि सन् १९९८ मा १३ महिनाको, र फेरी सन् १९९९-२००४ मा भाजपाको नेतृत्वमा NDA-को जमाना अन्तर्गत भारतले सबभन्दा खराब जनविरोधी, नव-उदारीकरणको नीतिहरू देख्यो। कुख्यात एनरण कम्पनीलाई ल्याउनुदेखि प्रमुख पब्लिक सेक्टरहरूमा विनिवेश गर्ने विनिवेश मन्त्रालय सम्म स्थापना गरे। खुद्रा व्यापार क्षेत्रमा १००% FDI (विदेशी प्रत्यक्ष निवेश) गराउने पहल NDA सरकारले नै सबभन्दा पहिले २००२ मा गरेको हो। भाजपाको मजदुर सङ्गठन 'भारतीय मजदुर सङ्घ'का महासचिव हँसमुखभाइ दावे स्वयमले पनि यिनीहरूको श्रम विरोधी नीतिहरूको आलोचना गरेका थिए। यस बाहेक झुटो हतियार घोटाला अनि कार्गिल कफिन घोटाला पनि उनीहरूका हातबाट नै भयो। भाजपा सरकार केवल १३ दिनको लागि आउँदा पनि कतिको ज्यानमारा नीतिहरू ल्याए त्यो भुल्न सकिन्दैन। विभिन्न कम्पनीहरूको निम्ति प्रवेशद्वार खोलिदिए भाजपाले। देशमा जब सबै क्षेत्रहरूमा सरकारी निवेशको जरुरत छ, शिक्षा, स्वास्थ्य जब आधा जनताको हात बाहिर छ, तब विनिवेशको मन्त्रालय खोल्नु कहाँको विकाशको कुरा हो?

१९३०-मा अमेरिकी लेखक सिन्क्लर लिविसले नोबल पुरस्कार पाए, अनि १९३५ मा तिनले “It Can’t Happen Here”, -भन्ने व्यङ्ग्य उपन्यास लेखे, यो उपन्यासको आधार थियो अमेरिकामा राजनीतिज्ञ अनि गुण्डाहरू बिच भइरहेको सम्झौता, अनि विश्व स्तरमा बढ्दै गरेको फासीवाद। यस उपन्यासको केन्द्रमा रहेको चरित्र थियो बेरजेलियुस विनद्रिप उर्फ बज्जे। बज्जे अमेरिकी राजनीतिज्ञ हुन्छ, जसले आफ्नो चुनाउको बाचाहरूमा आर्थिक विकाश, अनि सामाजिक परिवर्तन भन्दै वास्तवमा अन्धजातिवाद अनि कट्टरवादी मान्यताहरूलाई प्रभुत्व दिन्छ। उ राष्ट्रपति हुन्छ अनि प्रशासनको पूरा नियन्त्रण आफ्नो हाथमा लिई सेनाको दमनले एक दलीय सरकारको स्थापना गर्छ।

 यो उपन्यासको शीर्षकले अमेरिकी मतदाताहरूको आत्मासन्तुष्टिलाई व्यंग्य हानेको छ, जसले महसुस गर्थे कि अमेरिका जस्तो गणतान्त्रिक देशमा यस्तो सत्तावादी सरकार कहिले बन्न सक्दैन। यो उपन्यास लेखिएको लगत्तैपछि त्यस्तो केही नघटे पनि, लगभग १० वर्ष पछि लिविसको डरलाग्दो सपना साँच्चै पूरा भयो, जब अमेरिकी जनता आफैले बनाएको राष्ट्रपति हेनी ट्रोमेनको शासन आयो, तब अमेरिकाले सत्तावादी, एक दलीय सरकार अनि दमनकारी शासनको स्वाद पायो। १९४७-मा ट्रोमेनले एक पछि अर्को नीतिहरू लियो जसले मानव अधिकारहरू भङ्ग गऱ्यो, जसले प्रशासनिक नियन्त्रण पुरै हाउस अफ कमेटी अन अमेरिकन एकटिभीटिसको हातमा सुम्पीदियो, जसको फलस्वरूप १९५० को दशकमा म्याककार्थी काल सुरु भयो। रिपब्लिकन सेनेटर म्याककार्थीले कम्युनिस्टहरु र उदारवादी विरुद्ध एक निर्दयी अभियान निम्त्याएको थियो जसले गर्दा लिलियन हेलम्यान जस्तै प्रख्यात लेखक र चार्ली च्यापलिन जस्तो व्यक्तित्वहरू विरुद्ध पनि आक्रमण सञ्चालित भयो।

भारतीय संविधानको धर्म-निरपेक्षतालाई हनन गर्ने शक्तिहरू अघि बढ्दा यस्ता साहित्यिक कृतिहरूले हाम्रो प्रतिवादको दायित्वलाई झस्काउँछ। बीजेपी फासीवादी हो वा होइन, त्यसको लागि विशेषज्ञहरू छन्। तर भाजपाको कुराहरूले अनि तिनीहरूको कार्यकर्ताहरूको कामले भाजपामा पनि फासीवाद झुकाउ भएको भान हुन्छ।

विज्ञापन, कोर्पोरेट हाउस, अनि ठुला-ठुला पुँजीपतिहरू मोदीलाई विकाश पुरुष बनाई अझ बढी लुट मचाउने स्वार्थमा सफलतापुर्वक हिडीरहेको छ। निवेशी पुँजीले (फिनान्स क्यापिटल) जब निवेशको जग्गा पाउँदैन तब त्यसले फासीवादको रूप धारण गर्छ। र फासीवादले तत्कालीन गणतन्त्र पनि आफ्नो स्वार्थको निम्ति भत्काउन सक्छ। अब मोदी सरकारले पनि के कस्तो नीति ल्याउने हो, अनि गणतन्त्रलाई कहाँ पुऱ्याउने हो— त्यो प्रश्न त छदैँछ !