गुञ्जन राना
भोट पनि भन्दा भन्दै सकियो। परिणाम अहिल हाम्रो अघि छ। कमलको फूल पहाड़मा मात्र नभएर पूरा भारतमै फूल्यो। राष्ट्रियताको मुद्दालाई हल गर्ने एवं गोर्खाल्याण्डको सिमाना कोरिदिने आश्वासनले यहाँ जनताले पुरै बहुमतमा भोट दिएर भारतीय जनता पार्टीलाई जिताए। तर आश्वासनहरू कति पुरा हुन्छ कति हुँदैन— त्यो त हामीलाई थाहा छ। तर पनि विवादमा नफस्दै यो भन्न सकिन्छ कि बीजेपीले दिएको आश्वासन पूरा भए त्यो अति उत्तम हुनेछ। तर कुरा यो पनि हो कि बीजेपी-ले समतलमा गोर्खाल्याण्डको मुद्दालाई पन्छाउँदै सामान्य चली आएको मोदी विकाश मोडेल देखाएर नै भोट जुटाउने चेष्टा गऱ्यो। यहाँ सम्म की उनीहरूले (बीजेपी) उक्त आश्वासन नदिएको अनि अलग राज्य गोर्खाल्याण्डको पक्षमा नरहेको समेत बताए!
भोट जुटाउने प्रक्रियामा राजनैतिक दलहरूले के के गर्दैनन्! त्यही प्रक्रियामा पर्ने चतुर जालहरू मध्ये एक थियो गोर्खाल्याण्डको मुद्दा। आफ्नो अधिकार छुट्टै राज्यको मांग पूरा गर्नलाई बीजेपी जस्तो कट्टर हिन्दु दललाई समर्थन दिन जरुरी थियो कि थिएन त्यो एउटा प्रश्न नै छ। अब त स्थिति अझै चाखलाग्दो बन्न पुगेको छ। यस राज्यमा सीपीएमको स्थितिलाई अझै बिगार्दै बीजेपीले नयाँ शक्तिको रुपमा विकशित हुन आँटेको छ। भोटको प्रतिशतको हिसाबले त्यही नै भन्दछ। यस स्थितिमा राज्यको प्रधान विरोधी शक्ति अनि क्रमैसँग राज्यको सत्ता प्रति पनि बीजेपीले नजर हाल्नेछ। यस्तो स्थितिमा बाकी जम्मै राज्यको भोट जुटाउने लालचमा उनीहरूले गोर्खाल्याण्ड दिने आश्वासनदेखि अझै टाढा जान्छन होला ! जनताको मुद्दाहरूसित खेल्दै शासक वर्गले कसरी आफ्नो स्वार्थ पूरा गर्छन्, त्यो हाम्रो आँखा अघि स्पष्ट छ। तर भारतवर्षको समग्रतामा भएको बीजेपी-को जित अनि यहाँ दार्जीलिंगको जित अलग गरी हेर्न आवश्यक छ। मोदीको एवं भारतीय जनता पार्टीको जित जनताको विवेक एवं जनताले प्रतिनिधिलाई दिएको अधिकार होइन, बरु कोर्पोरेट, पुँजीपतिहरूले सोँचीसम्झी बुनेको एउटा जाल हो।
काँग्रेसले हालेको भ्रष्टाचारको छारोले जनताको आँखा टट्याउदै थियो, त्यति नै बेला भएभरको देशी सञ्चार माध्यमहरूले मोदीलाई काँधमा चडाएर डुलायो। किन नरेन्द्र मोदीलाई भारतको प्रधानमंन्त्री बनाउनलाई आतुर बने त सबै, त्यसको पनि जटिल कारणहरू छन्। वैश्विक पुँजी वा ग्लोबल क्यापिटलको धेरै लबिहरुबाट, अनेकौ एनआरआईको तर्फबाट मोदीलाई विकाश पुरुषको उपाधि दिइयो। अन्तर्राष्ट्रिय पुँजी र फिनान्स वा निवेशी पुँजीको आयातमा नाश भएको कारणले अहिले ठुलो पुँजीपतिहरू नाफा बनाइराख्नु पर्ने नैराश्य स्थितिमा छन्। काँग्रेसको नेतृत्वमा चलेको युपिएको दोस्रो चरणमा एक पछि अर्को कर्पोरेट लुटको लहर चलिनै रह्यो। कोर्पोरेटहरू र निवेशकहरूको अघि कुनै पनि राजनैतिक विकल्प नरहँदा, मिडियाको साहाराले तिनीहरूले मुद्दाको हावा फ्याँके। यो गर्नुमा सञ्चार माध्यम, विज्ञापनहरू सबै उत्कृष्ट रूपमा सफल बन्यो। मोदीको २००२ मा गुजरात जनसंहारले बनेको भिलेनको इमेजलाई सफा अनि राम्रो बनाउनलाई कर्पोरेट मिडियाले धेरै ध्यान दियो। उनीहरूको पार्टीको कार्यक्रममा भनिएको कुराहरू मध्ये मिडियाले केवल त्यही कुराहरू उचाल्यो, जो उनीहरूको हितमा थियो र जसले जनतालाई आकर्षित गर्दथ्यो, जस्तै— आर्थिक र औद्योगिक विकासको कुराहरू, तर अर्कोतिर बाबरी मस्जिदको ठाउँमा राम मन्दिर निर्माणको आश्वासन, भारतीय दण्डबिधिको धारा ३७० निर्मुलन, युनिफर्म सिभिल कोड जस्तो बहसको विषयहरू लिएर भने मिडिया चुपचाप नै बसिरह्यो।
सङ्घ परिवारले अघाडी राखेको प्रधानमंन्त्री पदप्रार्थी नरेन्द्र मोदीले पनि यो प्रचारसितै आफ्नो पार्फर्मेंस राख्दै गयो। इतिहासमा देखेको फासीवादी व्यक्तित्वहरू जस्तै नरेन्द्र मोदीले पनि आफूलाई सबैकालको, सबै ठाउँको र सबै प्रकारको मानिसको प्रतिनिधि हुँ भनेर उपस्थित हुने कोसिस गऱ्यो। उसले उत्तर भारतको हिन्दु क्षेत्र (काउ बेल्ट)-मा हिन्दुत्वको कुरा उचाल्दै गोमाताको शत्रु विरुद्ध आफ्नो रिस प्रकट गऱ्यो र, कर्पोरेट सेक्टर समक्ष आर्थिक विकासको गफहरू (गुजरात मोडेल आदि), मध्यम वर्गीयलाई आकर्षित गर्ने राम्रो प्रशासनिक व्यवस्थाको कुरा, सशस्त्र बलमा काम गर्नेहरूलाई नजिक तान्नलाई देश रक्षाको गरमागरम भाषण तथा गरिब जनतालाई प्रभावित गर्नलाई आफ्नो सानो उमेरको चिया बेचेको कथा सुनाउनमा पनि उसले बेर लगाएन!
सन् १९९१ पछि, उत्तर-उदारीकरणको समय, प्रत्येक राजनैतिक पार्टीहरूले ठुलो व्यापार र वित्तसम्बन्धि संस्थाको फायदाको निम्ति घातक पोलिसीहरू लागु गरे। धेरै त्यस्ता 'सुधारहरू' जनताको आँखामा धुलो हालेर जटिल कागजपत्रद्वारा, लोकसभाको उपमार्ग बनाउने कोसिस गरेर, नोकरशाहीहरू सँग MoU हस्ताक्षर गरेर तथा चुपचाप पोलिसी बदलेर लागु गरियो। यो बाटोमा धेरै अरू देशहरू पनि हिडेका थिए, जस्तै १९८० र १९९० मा लाटिन अमेरिकी देशहरू, मार्गरेट थ्याचरको जमानामा ब्रिटेन, रोनाल्ड रेगनको राजमा संयुक्त राज्य अमेरिका।
यहीँ राजनैतिक कमजोरीको दुईवटा परिणाम आएको छ। प्रथमतः यसले भारतीय 'सुधार'लाई बितेको दश वर्षदेखि लालची र भ्रष्ट बनाएको छ। SEZ कानुन, खाद्यान्न नियन्त्रणको उदारीकरण, ग्यासको मूल्यमा परिवर्तन, सजिलै पर्यावरण अनि जँगलको क्लियरेन्स उपलब्ध गराइने, जस्तो धेरै नयाँ सुधारहरू लागु गरेर कर्पोरेट संस्थानहरूलाई ज्यादा प्राकृतिक सम्पदाहरू हत्याउन सजिलो बनाइन्दैछ।
दोस्रो कुरा के हो भने, सुधारवादी शक्ति, तिनीहरूको साँचो सहयोगी, निवेश अनि बृहत् पुँजीले एउटा यस्तो राजनैतिक शक्ति खोज्ने प्रक्रिया सुरु गरेको छ जसले तिनीहरूलाई विरोधीसँग लड्ने भरिपूर्ण सहयोग दिलाउन सक्छ। विशाल पुँजी अनि यसको सुधारवादी मित्रहरूको हिन्दुत्व शक्तिसँग धेरै मुद्दाहरूमा सामान्य विचार छ। दुवैले “बलियो राज्य”-मा विश्वास राख्छन् अनि पुलिस र मिलिटरी फोर्स बढाउने सुरमा छन्, दुवैले समाजलाई अराजनैतिक हुनुपर्छ भन्ने विश्वास राख्छन्, तर त्यसको वास्तविकता भने सत्ता विरुद्ध सबै प्रकारको विरोधलाई नाश गर्नु हो, अनि दुवै सामूहिक राजनीतिको शत्रु हुन्, खास गरी जाति अनि वर्ग सङ्घर्षको।
२००९ देखि २०१४-को यो पाँच वर्षभित्र के गुजरातमा साँचै त्यस्तो विकाश भयो, जसको उदाहरण सञ्चार माध्यमहरूले दिइरहन्छन्। आज गुजरातलाई फर्केर हेर्दा, धेरै त्यस्तो आंकडाहरू देखा पर्छ जसले हावामा बनाएको विकाशको नक्सा ध्वस्त पारिदिन्छ। जस्तै यही वर्षको युनेस्को-को रिपोर्ट अनुसार गुजरातमा प्रत्येक ३ आमाहरूमा २ एनिमिक हुन्छन्, यस्तो आंकडाहरू भरपूर छन्। तर यसको मतलब यो होइन कि गुजरात बाहेक अरू राज्यमा शिक्षा, स्वास्थ्य इत्यादिको अवस्था राम्रो छ। तर भन्न पर्ने एवं ध्यान दिन पर्ने कुरा यो हो कि गुजरातमा केही त्यस्तो असोचनीय कुरा यी पाँच वर्षमा भएको छैन कि यसको ढोल पिटेर भोट जुटाउन सकोस्। अर्को तर्फ न त यसपालि लोकसभा चुनाउमा बीजेपी कुनै आन्दोलन गरेर आएको हो। जसरी सिंगुर अनि नन्दीग्रामको आन्दोलनले बङ्गालको ३४ वर्षीय शासन ध्वस्त पाऱ्यो, त्यस्तो आन्दोलनको उत्थानबाट भएको जित त भाजपाको पक्कै पनि होइन। त्यसर्थ, यो जित जनताको विवेक होइन, साँच्चै बरु जनताको आँखामा धूलो हाल्दै बनाइएको स्थिति हो।
मोदी आफै अनि उसको पार्टी पनि कतिको साँचिलो छ त?
मोदीको कुरा जब आउँछ, हामीले उसलाई गोधरा-उत्तर गुजरातको दङ्गा अनि निर्मम हत्याकाण्डबाट अलग राखेर हेर्न मिल्दैन। किन कि मोदी त्यही भाजपाको नेता हो, जुन पार्टीले लालकृष्ण आडवानीको नेतृत्वमा राष्ट्रिय स्वयंसेवक सङ्घ र विश्व हिन्दु परिषदको राजनैतिक आवाजको रूप लिएर बाबरी मस्जिद ध्वस्त बनाए। धर्मको नाममा दङ्गा लगाएर अल्पसंख्यक मुस्लिमहरू मारेर हिन्दु भोट जुटाउने पार्टी हो भाजपा। साम्प्रदायिक दङ्गा, धार्मिक कट्टरवादले जन्म दिएको दलबाट यो देशको जनताले के अपेक्षा राख्न सक्छ? रामको नारा लगाउँदै बाबरी मस्जिद भत्काउनेहरूबाट अझ धेरै धार्मिक दङ्गा बाहेक अरू केही आशा राख्न सकिन्दैन।
मोदी कोर्पोरेटहरूको निम्ति लूट्ने हात हो भने समाजको अल्पसंख्यकहरूको निम्ति हुनुपर्ने सामाजिक परिवर्तनहरूको बाधक हो। मोदीले आफ्नो भोटको शिविरहरूमा यो घोषणा गरेको छ कि कोर्पोरेटहरूलाई ऋण, जमिन, बिजुली इत्यादि सबैमा मद्दत दिइनेछ। सामाजिक वेलफ्यर अनि गरिब जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य इत्यादिको कुरा नगरेर, गरिब मजदुरहरूको पसिना र खूनले महल बनाउने मालिकवर्गको मद्दत गर्छु भनेर घोषणा गर्ने नेता कहाँको राम्रो हो र?
भाजपा एवं मोदीलाई एउटा अवसर दिइनुपर्छ भन्ने पनि जनताको सामान्य विचार छ। तर भाजपालाई त यो देशको जनताले धेरै चोटि अवसर दिइसकेको छ। सन् १९९६ मा १३ दिनको सरकार र त्यसपछि सन् १९९८ मा १३ महिनाको, र फेरी सन् १९९९-२००४ मा भाजपाको नेतृत्वमा NDA-को जमाना अन्तर्गत भारतले सबभन्दा खराब जनविरोधी, नव-उदारीकरणको नीतिहरू देख्यो। कुख्यात एनरण कम्पनीलाई ल्याउनुदेखि प्रमुख पब्लिक सेक्टरहरूमा विनिवेश गर्ने विनिवेश मन्त्रालय सम्म स्थापना गरे। खुद्रा व्यापार क्षेत्रमा १००% FDI (विदेशी प्रत्यक्ष निवेश) गराउने पहल NDA सरकारले नै सबभन्दा पहिले २००२ मा गरेको हो। भाजपाको मजदुर सङ्गठन 'भारतीय मजदुर सङ्घ'का महासचिव हँसमुखभाइ दावे स्वयमले पनि यिनीहरूको श्रम विरोधी नीतिहरूको आलोचना गरेका थिए। यस बाहेक झुटो हतियार घोटाला अनि कार्गिल कफिन घोटाला पनि उनीहरूका हातबाट नै भयो। भाजपा सरकार केवल १३ दिनको लागि आउँदा पनि कतिको ज्यानमारा नीतिहरू ल्याए त्यो भुल्न सकिन्दैन। विभिन्न कम्पनीहरूको निम्ति प्रवेशद्वार खोलिदिए भाजपाले। देशमा जब सबै क्षेत्रहरूमा सरकारी निवेशको जरुरत छ, शिक्षा, स्वास्थ्य जब आधा जनताको हात बाहिर छ, तब विनिवेशको मन्त्रालय खोल्नु कहाँको विकाशको कुरा हो?
१९३०-मा अमेरिकी लेखक सिन्क्लर लिविसले नोबल पुरस्कार पाए, अनि १९३५ मा तिनले “It Can’t Happen Here”, -भन्ने व्यङ्ग्य उपन्यास लेखे, यो उपन्यासको आधार थियो अमेरिकामा राजनीतिज्ञ अनि गुण्डाहरू बिच भइरहेको सम्झौता, अनि विश्व स्तरमा बढ्दै गरेको फासीवाद। यस उपन्यासको केन्द्रमा रहेको चरित्र थियो बेरजेलियुस विनद्रिप उर्फ बज्जे। बज्जे अमेरिकी राजनीतिज्ञ हुन्छ, जसले आफ्नो चुनाउको बाचाहरूमा आर्थिक विकाश, अनि सामाजिक परिवर्तन भन्दै वास्तवमा अन्धजातिवाद अनि कट्टरवादी मान्यताहरूलाई प्रभुत्व दिन्छ। उ राष्ट्रपति हुन्छ अनि प्रशासनको पूरा नियन्त्रण आफ्नो हाथमा लिई सेनाको दमनले एक दलीय सरकारको स्थापना गर्छ।
यो उपन्यासको शीर्षकले अमेरिकी मतदाताहरूको आत्मासन्तुष्टिलाई व्यंग्य हानेको छ, जसले महसुस गर्थे कि अमेरिका जस्तो गणतान्त्रिक देशमा यस्तो सत्तावादी सरकार कहिले बन्न सक्दैन। यो उपन्यास लेखिएको लगत्तैपछि त्यस्तो केही नघटे पनि, लगभग १० वर्ष पछि लिविसको डरलाग्दो सपना साँच्चै पूरा भयो, जब अमेरिकी जनता आफैले बनाएको राष्ट्रपति हेनी ट्रोमेनको शासन आयो, तब अमेरिकाले सत्तावादी, एक दलीय सरकार अनि दमनकारी शासनको स्वाद पायो। १९४७-मा ट्रोमेनले एक पछि अर्को नीतिहरू लियो जसले मानव अधिकारहरू भङ्ग गऱ्यो, जसले प्रशासनिक नियन्त्रण पुरै हाउस अफ कमेटी अन अमेरिकन एकटिभीटिसको हातमा सुम्पीदियो, जसको फलस्वरूप १९५० को दशकमा म्याककार्थी काल सुरु भयो। रिपब्लिकन सेनेटर म्याककार्थीले कम्युनिस्टहरु र उदारवादी विरुद्ध एक निर्दयी अभियान निम्त्याएको थियो जसले गर्दा लिलियन हेलम्यान जस्तै प्रख्यात लेखक र चार्ली च्यापलिन जस्तो व्यक्तित्वहरू विरुद्ध पनि आक्रमण सञ्चालित भयो।
भारतीय संविधानको धर्म-निरपेक्षतालाई हनन गर्ने शक्तिहरू अघि बढ्दा यस्ता साहित्यिक कृतिहरूले हाम्रो प्रतिवादको दायित्वलाई झस्काउँछ। बीजेपी फासीवादी हो वा होइन, त्यसको लागि विशेषज्ञहरू छन्। तर भाजपाको कुराहरूले अनि तिनीहरूको कार्यकर्ताहरूको कामले भाजपामा पनि फासीवाद झुकाउ भएको भान हुन्छ।
विज्ञापन, कोर्पोरेट हाउस, अनि ठुला-ठुला पुँजीपतिहरू मोदीलाई विकाश पुरुष बनाई अझ बढी लुट मचाउने स्वार्थमा सफलतापुर्वक हिडीरहेको छ। निवेशी पुँजीले (फिनान्स क्यापिटल) जब निवेशको जग्गा पाउँदैन तब त्यसले फासीवादको रूप धारण गर्छ। र फासीवादले तत्कालीन गणतन्त्र पनि आफ्नो स्वार्थको निम्ति भत्काउन सक्छ। अब मोदी सरकारले पनि के कस्तो नीति ल्याउने हो, अनि गणतन्त्रलाई कहाँ पुऱ्याउने हो— त्यो प्रश्न त छदैँछ !
No comments:
Post a Comment