सड़क नाटक : एउटा अभिव्यक्ति
अम्बिका राई
सड़क नाटक एउटा यस्तो माध्यम हो जसद्वारा हामी समाजमा कैयौँ वर्षदेखि चली आई रहेको वा चल्दै गरेको स्थिति वा परिस्थिति सजिलोसँग दर्साउन सक्छौ, सँगसँगै भन्नसक्छौं हाम्रो सन्देश पनि। यो नाटक कुनै घरभित्र वा कुनै मञ्चमा होइन तर खुल्ला जगह, सड़क, आँगन, मैदानमा देखाइन्छ। यसमा कलाकारको मात्र प्रमुख भूमिका हुँदैन तर दर्शकहरूको पनि भूमिका हुन्छ। यसरी खुल्ला जगहमा नाटक देखाउँदा नाटक टोलीसंग लाइट अनि माइक जस्तो कुनै पनि साधन हुँदैन। उनीहरूको मुख्य हतियार हुन्छ उनीहरूको आवाज र यही आवाज लिएर जनता माझ पुग्ने उनीहरूको लक्ष्य। यही जोस अनि भावना लिएर लाली गुरासको प्रयास सड़क नाटक टोली "दृश्य समूह"को तर्फबाट हामी नाटकहरू लिएर दार्जीलिंगको धेरै ठाउँमा पुग्यौं। अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवसलाई नै मुख्य रूपमा केन्द्रित गर्दै हामीले हाम्रो पहिलो सड़क नाटकको आरम्भ ७ मार्च को दिन उत्तरबंग विश्वविध्यालयबाट गऱ्यौं। त्यसपछि ८ मार्चको दिन हामी त्यही नाटक लिएर खरसांग पुग्यौ, र क्रमैसंग दार्जीलिंग, कालेबुङ अनि टिस्टा बजारमा पनि हामीले नाटक प्रदर्शनी गऱ्यौं। नारी दिवस मनाइने खास उद्देश्य र यसको इतिहास बताउनको निम्ति हामीले सड़क नाटकको बाटो रोज्यौ। हामीले आफ्नो वरिपरि नै हेऱ्यौं भने पनि महिलाहरूमाथि भएको अत्याचार अनि शोषण देख्न सक्छौ। घर भित्र होस् या घर बाहिर महिलाहरू अझसम्म शोषित छन्। घरभित्र आफ्नो बाबा होस वा दाजु-भाइ-आफन्तद्वारा, कार्यस्थलमा मालिक होस या सहकर्मी द्वारा, हरेक ठाउँमा नारीहरू शोषित छन्। बलात्कार, कन्या भ्रुण हत्या, मानव तस्करी जस्ता खबरहरू आज हामी जुनै पनि खबरकाजगमा देख्न सक्छौ। बजारमा पुँजीपतिहरूको फायदाको निम्ति खुल्ला रूपमा बिक्री भइरहेको छ नारी। यही मूल-मन्त्र लिएर तिनीहरू आ-आफ्नो सामानहरू लिएर अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस मनाउनु होड़बाजी साथ बजारमा उत्रन्छन्। तर यो दिन मनाइने कारण भिन्न छ। संसार भरीका महिलाहरूले आफ्नो हक अनि अधिकारको निम्ति इतिहासमा लड़ाई लड़ेका थिए र उनीहरूले गर्दा नै आज नारीहरूले धेरै अधिकार प्राप्त गरेको छ। ती साहसी महिलाहरूको योगदानलाई स्मरण गर्दै हामी ८ मार्चको दिन नारी दिवस मनाउछौ। नाटकसँग सुहाउदो गीत पनि नाटकको बिच-बिचमा थियो —
“सुन आमा दिदी बहिनी,
सुन दाजु-भाइ हो
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?
छोरा अनि छोरी बिच
भेद कोऱ्यो कसले?
छोरी हिड्ने बाटो सबै
भत्काई दियो कसले?
घर, आँगन गाउँ आफ्नै
कैदखाना जस्तो भो...
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?
आँखा छोपी आकाशमा
हेर भन्ने को हो?
पाइला रोकी शिखरमा
चढ़ भन्ने को हो?
आफ्नै चेली नंग्याएर,
खुसी खोज्ने माइती हो...
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?
त्रास, लुट, अन्यायको
शहर बस्यो किन?
छल, झुट, भेद-भावको
शहर बस्यो किन?
तस्करी र बलात्कारको
खबर बाच्ने देश हो...
किन आँखा देखिँदैन,
किन कान बन्द भो ?
हाम्रो यो पहिलो नाटकको प्रदर्शनीपछि दर्शकहरूबाट जस्तो प्रतिक्रिया आयो त्यो प्रशंसनीय थियो। हामीलाई पनि यो लाग्यो कि हामी जुन मुद्दाहरू लिएर जनतामाझ गएको थियौ शायद धेरै हदसम्म उनीहरूले त्यो कुरा बुझे होलान। यहाँबाट हाम्रो टोलीले पनि अझ अघि गएर केही गर्ने प्रोत्सहान पायो। हामीले फेरी मई दिवसलाई केन्द्रित गर्दै अर्को नाटक गर्ने निश्चय गऱ्यौं। मजदुरहरूमाथि भइरहेको शोषणको सानो झलक अनि विशेष गरी चियाबगानको मजदुरहरूको स्थितिलाई दर्शाउनको निम्ति हामीले फेरी हाम्रो यात्रा सुरु गर्ने निर्णय गऱ्यौं। यसै क्रममा सफ्दर हास्मीद्वारा रचित नाटक “मशिन” बाट प्रेरित भएर यसै नाटकलाई अलिकति अनुसर्जित गर्दै हाम्रो नाटक टोली “दृश्यसमूह” फेरी एकपल्ट दर्शक माझ पुग्यो। मई दिवसलाई नै मुख्य रूपमा केन्द्रित गर्दै १ मई देखि ४ मईसम्म यो सड़क नाटक टोली फेरी आफ्नो दोस्रो चरणको यात्रामा निस्क्यो। क्रमैले हेऱ्यौं भने हामीले उक्त नाटक घूम, त्यसपछि दार्जीलिंग बजार, ताकदह (स्कुल धुरा, रासिन धुरा), ग्लेनबर्न, रङमुक अनि सिडर्सको जम्मा गरी ५ वटा गाउँ अनि अन्त्यमा खरसांगमा प्रदर्शन गऱ्यौं। प्रश्न उठ्छ मई दिवस किन?? सन १८८६मा अमेरिकाको हे-मार्केटमा लाखौ मजदुरहरू आफ्नो अधिकारको निम्ति लड़न सडकमा ओर्लिए। त्यस्ताक त्यहाँका मजदुरहरूलाई १९-२० घण्टा सम्म खठाउने चलन थियो। उनीहरू मांग थियो ८ घण्टा काम, ८ घण्टा आराम अनि ८ घण्टा मनोरञ्जन। यही मांगहरू लिएर उनीहरू सड़कमा उत्रिए अनि त्यहाँ ७ जना मजदुर शहीद भए। त्यही श्रमिकको खुनले लतपत भएको रातो लुगा नै मजदुरहरूको संग्रामको प्रतीक बन्नेछ र यस दिनलाई सधैँ मजदुर दिवस भनी स्मरण गरिनेछ भनेर पछि निर्णय लियो जुझारु शक्तिहरूले। नाटकमा हामीले चिया बगानको मजदुरहरूको स्थिति माथि प्रकाश पाऱ्यौं। पुँजीपतिहरूको नाफा कमाउने मुख्य श्रोत हो मजदुरहरूको श्रम। तर के ती मालिकहरूले कहिले सोच्छन् होला ती मजदुरहरूको बारेमा?? ८ घण्टा कामको लडाई हो मजदुर दिवस तर कुनै कुनै कमानमा मजदुरहरूलाई ९ घण्टा खटाइन्छ। कहाँ गयो ती मजदुरहरूको बलिदान?? मशिन जस्तो काम गर्छन् तर तलब भने इत्तिनै, “आजु लैजा भोलि फेरी आइज” भने जस्तो। आफ्नो घर जमिनसम्मको पर्जा-पट्टा छैन तिनीहरू सँग। यही प्रश्नहरू लिएर हामी फेरी जनता माझ पुग्यौ। यात्रा लामो थियो तर अनुभव राम्रो। नाटकको अन्त एउटा गीतबाट भयो—
बिसाउँदैन पाइला हाम्रो पुग्नु छ शिखरमा
मुक्तिको गीत गाउदै साथी....
श्रमिक एकताको संग्रामी पथमा
नछेक पाइला हाम्रो,
बाँध तोडी दिन्छौं
नरोक सपना हाम्रो,
पर्खाल तोडी दिन्छौं
दबेका सुर हाम्रा,
जागी उठ्ने छन्
बाँधिएका संग्लो
चुडाली उठ्ने छन्
संग्रामी संग्रामी संग्रामी यो पथमा ...
आमजनता माझ आफ्नो विचार पुराउने माध्यम धेरै छन्। कसैले गीत द्वारा, कसैले कविता, कथा वा कसैले चित्र कोरेर यो काम गर्छन्। परम्परागत रूपमा चली आइरहेको नाटक भन्दा भिन्न हुन्छ सड़क नाटक। यो नाटक मञ्चमा गरिंदैन, नाटकमा चाहिने ध्वनि पनि कलाकारहरूले नै आफ्नो मुखबाट निकाल्छन्, त्यही कलाकार कहिले टेबल, चौकी, खोला, दैलो इत्यादि बन्छन्। यसकारण नै सड़क नाटक जुनै ठाउँमा पनि देखाउन सकिन्छ।
सामाजिक सन्देश फैलाउनको निम्ति भारतमा सदियौंदेखि नै नाटक एउटा प्रभावशाली माध्यम हो भन्न सकिन्छ। अनि सड़क नाटकको कुरा गरौं त १९ सौ शताब्दीदेखि त्यो चली आइरहेको छ। कैयौं शताब्दीको भारतीय परम्परासंग जोडिएको छ सड़क नाटकको इतिहास। भारतीय संस्कृतिमा कठपुतलीद्वारा देखाइने नाटकमा सुत्रधारको उपस्थिति, भारतीय लोकनाटकहरूमा बर्णनकारी वा न्यारेटरको भूमिका सड़क नाटकको परम्पराको सबुत हो। भारतमा जब कुनै कलाले शासक वर्गको स्वीकृति पाउदैन्थ्यो, त्यस्तो कलाले सड़क नाटकको रूप लिन्थ्यो। सड़कमा कुनै कलाको प्रदर्शनी गर्दा कलाकार अनि दर्शकहरू माझ सोझो वा सिधा सम्बन्ध बनिन्छ। विगतको दिनहरूमा यस्ता दर्शक समक्ष प्रत्यक्ष प्रदर्शनलाई ‘रहस’ भनिने गरिन्थ्यो। निर्दिष्ट रूपमा पंजाबमा देखाइने यस्तो नाटकलाई ‘रहस’ अनि ‘स्वंग’ भनिन्थ्यो। यसैलाई उत्तर प्रदेशमा ‘नौटंकी’ अनि बंगालमा ‘जात्रा’ भनिन्थ्यो।
बाहिरका देशहरूमा पनि यस्तो किसिमको कलाको अभ्यास गरिन्थियो। पछि गएर राजनैतिक कारणहरूले गर्दा यस्ता धेरै सड़क नाटकद्वारा शासकवर्गमाथि प्रतिवाद जनाइन थालियो, जो हाम्रो देशमा पनि भएको थियो। यस्तो प्रतिवाद जनाउनेहरू थुप्रै थिए। गेरिला थिएटर अफ सानफ्रान्सिस्को माईम ट्रुप, दा लिभिंग थिएटर, दा कार्निभालेस्क प्यारेडस् अफ ब्रेड एण्ड पापेट थिएटर — ती मध्ये केही हुन्। यसै क्रममा नेपालको कचहरी थिएटर (Kachahari theatre) पनि फोरम थिएटरबाट धेरै प्रेरित बनेका थिए। ल्याटिन अमेरिकाको आगस्तो बोअल (Augusto Boal) को नेतृत्वमा बनिएको थिएटर हो फोरम थिएटर— जसलाई 'थिएटर अफ दा अप्रेस्ड' पनि भन्दछ।
१९६०को समयमा संसारभरि नै साम्राज्यवादको विरुद्ध आवाज उठ्न थाल्यो तथा स्ट्रीट थिएटर पनि समाज परिवर्तनको मांग गर्दै अघि बढ्यो। चारैतिरको राजनैतिक क्षेत्रमा उथुल पुथुल देखिन थाल्यो। १९७० को समयमा पनि यस्ता कलाहरूको प्रदर्शनी क्रान्तिकारीहरूद्वारा गरिन सुरु भयो। कोहीबेला त कलाकारहरू माथि आक्रमण पनि हुन्थ्यो। यस्तै घटनामा कोलकाताका दुईजना सामाजिक कार्यकर्ताको मृत्यु भएको थियो, १९७२ सालमा 'थिएटर युनिट'को आशिस च्याटर्जी अनि १९७४ मा 'सिलुयेट'को प्रबीर दत्त। सन १९८९ मा मजदुरहरुका समर्थनमा सडक नाटक गर्दा दिल्लीको नजिक हत्या भयो ‘जन नाट्य मञ्च’को सफदर हाशमीको। यस्तो आन्दोलन भारतको अन्य राज्यहरूमा पनि फैलिएको छ। अर्कोतिर धेरै बेसरकारी सङ्गठन— non-governmental organizations (NGOs) -हरूद्वारा सड़क नाटकको प्रदर्शनी हुन्छ। तर उनीहरूको मुद्धा भने भिन्न — जस्तै परिवेश सम्बन्धित जागरण, एड्सबारे सचेतनता र परिवार नियोजन योजना इत्यादि। यसमध्ये बेसी नै नाटकीय गुणवत्ताको हिसाबले नराम्रो छ। कार्यकर्ता वा एक्टिभिस्ट सडक नाटक टोली आमतौरमा नाटक सकेपछी दर्शकको स्वेच्छाले दिएको चन्दा माथि निर्भर गर्छ, जब कि एनजीओहरूका निर्भरता रहन्छ डोनर एजेन्सीहरू प्रति, जसमध्ये विदेशी संस्थाहरू पनि छ।
सडक नाटकको कुरा गर्दै, त्यसको फर्म (रूप) लिएर गहिरोसँग विश्लेषण गर्दै हामीले चर्चामा ल्याउनुपर्छ बादल सरकारले यससित जोडिएको विचार अनि योगदानहरु। वहाँले गर्नुभएका काम धेरै नै प्रभावशाली रहेको छ। परम्परागत रूपमा चली आएको नाटकलाई नकारेर उनले नाटकलाई खुल्ला आकाश मुनि देखाउन ज्यादा रूचाए। शोषित जनतामाझ आफ्नो विचार नाटकको माध्यमद्वारा लैजाने इच्छा थियो बादल सरकारको। हामी पनि यो धाराबाटै प्रभावित छौँ। यसै पद्धतिले भएको केही नाटकको कर्मशाला द्वारा हामीले यस्तो नाटक बारे प्राथमिक पाठ र धारणाहरू पायौं। बादल सरकार बाहेक अरू कोहीपनि थिएटर व्यक्तित्वले स्वतन्त्रता-पश्चात् भारतमा थिएटरको वैचारिक र व्यवहारिक प्रश्नमा यस्तो गहिरो प्रभाव पारेको छैन। उहाँको नाटकहरूले नयाँ पुस्ताका सबै प्रमुख चिन्ता, चाहना र निराशा व्यक्त गर्नथाल्यो, यही यात्रामा ‘थर्ड थिएटर’को जन्म भयो।
भारतको नानाथरिका आफ्नै लोक नाटक (indigenous folk theatre)— बलियो, र प्रत्यक्ष-जिउँदो छ, खटीखाने मान्छेहरूले यसलाई आत्मसाद गरेका छन् तर यसमा मेहनती जनताको जीवनको झलक छैन र कुनै खण्डमा अप्रासंगिक र धेरैजसो प्रतिक्रियावादी पनि हुने गर्छ— यो नै हाम्रो देशको फर्स्ट वा प्रथम थिएटर हो। अर्कोतिर मञ्चको थिएटर वा प्रोसेनियम थिएटर, जसलाई सहरको बुद्धिजीवीहरूले पश्चिमी देशहरूबाट ल्यायो, त्यसलाई सेकेन्ड थिएटर वा दोस्रो थिएटर भन्न सकिन्छ। यो थिएटरलाई शिक्षित र सचेत मानिसहरूका केही हिस्साले सामाजिक रूपमा महत्वपूर्ण र प्रगतिशील विचारलाई फैलाउनको निम्ति प्रयोग गऱ्यो र गर्न सक्छ, तर यो प्रकारको नाटक पैसा-निर्भर र सहर-केन्द्रित हुँदै गयो। अनि जतिनै यसको खर्च बढ्छ, त्यतिनै यो साधारण मानिसहरूसम्म पुग्न असम्भव हुन्छ। ऐतिहासिक क्रममानै हाम्रो देशमा परिवर्तनको थिएटरको रूपमा एउटा लचिलो, पोर्टेबल, मुक्त थिएटरको खाँचो थियो— जो 'तेस्रो थिएटर' को रूपमा उभिन थाल्यो।
बादल सरकारले चली आएको यस थिएटरको धारणालाई असन्तुष्टी जनाउदै प्रश्न उठाए। अरू अन्य ठाउँहरूमा पनि धेरैले प्रोसेनियाम मञ्च प्रति आपत्ति जनाए। तर बादल सरकारले आफूसँग त्यस प्रश्नको उत्तर पनि बोकेर आए। उनलाई भान भयो कि सिनेमा एउटा यस्तो माध्यम हो जसले थिएटर भन्दा ज्यादा कुरा भन्न सक्छ। तर त्यसमा एउटा कुराको कमी हुन्छ अनि त्यो हो कि सिनेमा प्रत्यक्ष प्रसारण गर्न सकिन्दैन। उहाँले भन्छन्—
"सञ्चार हरेक कलाको रूपमा आवश्यक छ; कलाकारले अभिनय, साहित्य, सङ्गीत, चित्रकलामार्फत अन्य मान्छेसम्म संदेश पुऱ्याउछ। तर सञ्चारको तरिकाहरू अलग छन्। एकजना लेखक लेख्छन्— कसैले उहाँको रचना पढ्दाखेरि उहाँलाई उपस्थित हुन पर्दैन। एउटै कुरा चित्रकार र मूर्तिकारको बारेमा पनि लागु हुन्छ। सिनेमामा फिल्म कलाकारहरूलाई फिल्म देखाउने बेलामा उपस्थित हुन पर्दैन। तर थिएटरमा, कलाकारहरूलाई दर्शकलाई संदेश दिने बेलामा उपस्थित रहनु पर्छ। यो एउटा मौलिक भिन्नता हो। थिएटर एउटा लाईभ् (जीवित) शो हो, सिनेमा होइन। रङ्गमञ्चमा, सञ्चार प्रत्यक्ष हो; सिनेमामा त्यो चित्रहरूको माध्यमबाट हुन्छ”।
यो चिन्ता आयो— कसरी सिनेमासँग प्रतिस्पर्धा गर्ने? के बजारी ग्रुप थिएटरको जस्तै बाटो अप्नाउन पर्छ, निर्भर गर्नुपर्छ नाटकको मञ्चको महँगो सेटमाथि? भव्य लाइट र महँगो वेशभूषा? स्टार कलाकारहरूमाथि? होइन।
उत्तर यसरी आयो— नाटकको खर्च घटाउने, थिएटर हेर्दा दिने मूल्य घटाउने, थिएटरलाई कलाको रूप दिने, जसले दर्शकहरूलाई केही शिक्षा दिन सकोस्— जो सिनेमाले दिन सक्दैन।
दुई प्रकारको मानिसको भेटघाट नभइन्जेलसम्म नाटकको कार्यान्वयन हुन सक्दैन। कलाकारहरू र दर्शकहरू एकै ठाउँमा, एकै दिनको एकै समयमा भेटछन् र एकसाथ केही बेर बिताउँछन्। प्रश्न यसरी उठ्छ— त के हामीले हाम्रो दर्शकलाई टाढ़ामा राख्दा ठिक हुन्छ? अर्कै स्तरमा? वा अँध्यारोमा? तिनीहरू त हामीलाई भेट्न आएको होइन र? के तिनीहरू थिएटरको एउटा अंश होइन र?
यसै सन्धर्भमा कुरा आयो— प्रोसेनियाम थिएटर (मञ्चको थिएटर) बनिएको तरिका नै गलत हो। दर्शकहरूलाई एक तर्फ मात्र राख्नुको मतलब हो दर्शकहरूलाई कलाकार वा कलादेखि टाढो लैजानु। के उनीहरूलाई चारैतर्फ राखिन सकिँदैन?
कुनै कला मञ्चमा देखाइयो भने कलाकारहरू उचा दर्जाको जस्तो देखिन्छ अनि दर्शकसंग समानताको भावना रहन्दैन। के कलाकार अनि दर्शकहरू एउटै स्तरमा बस्न सक्दैनन्? कलाकारहरूले अँध्यारोमा बसेर हेरीरहने दर्शकको अनुहारको भावना वा प्रतिक्रिया (expression) के कस्तो छ भनेर पनि त बुझ्न सक्दैनन् !
के दर्शकहरूलाई पनि उज्यालोमा राख्न सक्दैन, जसमा कि कलाकारहरुले पनि दर्शकहरूलाई देख्न सकोस्। प्रत्यक्ष साक्षात्कार नै थिएटरको मूल मन्त्र हो र यही नै शक्ति। १९७० को दशकमा जब चारैतर्फ राजनैतिक होड़बाजी चलिरहेको थियो र अशान्तिको भावना थियो, त्यस समयमा केही व्यक्तिहरुले बादल सरकारसँग उनको यात्रामा जोडिन पुगे।
तिनीहरूले प्रोसेनियम नाटकको प्रदर्शन त्याग्नुपर्ने बहस उठाउदै आँगनमंचको धारणा ल्याउन थाले अनि नाटकमा धेरै परिवर्तनहरु आयो— थिएटर देखि भ्रमलाई च्यातेर अलग गर्दै वास्तव-आधारित प्रदर्शन हुनुथाल्यो— दर्शकको एकदमै बीचमा !
जुन व्यवस्थामा हरेक सामान कुनै मूल्य तिरेर मात्र प्राप्त हुन्छ त्यस्तो व्यवस्थाभित्र उनीहरूले एउटा यस्तो कला लिएर आए जो सबैले निःशुल्क प्राप्त गर्न सक्थ्यो। थर्ड थिएटर एउटा उथुल-पुथुलको समयमा जन्मिएको हो र यसको स्थान, समय, कलाकार र आवाजमा राजनैतिक धारा बग्छ। यस्तो थिएटर आन्दोलनको रूप लिएर अघि आउछ र यसलाई मात्र एउटा पेसाको रूपमा कोहिले लिन सकिंदैन। थिएटर मात्र गर्न चाहनेहरू वा थिएटरद्वारा आफ्नो घर चलाउनेहरूले शायद यो प्रकारको थिएटर गर्न सक्दैनन् होला। जो यस व्यवस्थामा केही परिवर्तन गर्न सकिन्छ भन्ने भावना लिएर अघि बढ्छ, वा यो थिएटरलाई परिवर्तनको साधनको रूपमा लिएर आउछ— तिनीहरूको लागि बनिएको हो थर्ड थिएटर।
अब यो जम्मै धारणा बादल सरकार र अरूहरूले कहाँबाट प्रेरित भएर सृजना गऱ्यो त्यसको तालिका पनि लामो नै छ। भारतीय परम्परागत लोकनाट्य जस्तै— जात्रा, तमाशा, भावाई, नौटंकी, कथकली, छौ र मणिपुरी नृत्य आदि देखि लिएर केही पश्चिमी प्रयोगात्मक थिएटर द्वारा पनि उनीहरू प्रेरित भए। जोन लिटलवुड (लन्डन), युरी ल्युबिमोव (मास्को), सिनोहार्नी क्लब थिएटर अनि जारीको प्यान्टोमाईम (प्राग) र पोल्याण्डको व्रोकलामा ग्रोटोस्कीको प्रस्तुतिहरू द्वारा उनी प्रभावित थिए। जार्जी ग्रोटोस्कीको ‘पुओर थिएटर’ को धारणालाई बादल सरकारले आत्मसात गरेर आफ्नो नाटकमा अनुसृजन गर्न चेष्टा गर्नु भयो— जहाँ ब्याकग्राउण्ड म्युजिक, लाइट, सेट र पोशाक जस्तै अरू आर्ट फर्म र प्रविधि देखि तत्वहरू लिनुको सट्टामा नाटकलाई अझै 'पुओर' वा गरिब बनाउनु— जसमा कलाकारको नमिलाएको शरीर नै सिमाना हो, जहाँ नाटकको जरासम्म, यसको आधारभूत रितिनिती सम्म पुग्ने प्रयास गरिन्छ।
यो नयाँ थिएटर एकतिर अभिनयमाथि, कलाकारको शरीरमाथि पुरै निर्भर गर्छ, र अर्कोतिर दर्शकको कल्पनामाथि। अभिनेता र दर्शक यस्तो नजिकै रहेकोले गर्दा मेकअप पनि अब अनावश्यक बन्छ। जुन महँगो वस्तुहरू थिएटरमा चलाईन्छ ती सबै वस्तुलाई त्यागेर हामी अघि बढ्यौ। सड़क नाटक कुनै पनि स्थितिमा गर्न सकिन्छ। हामीले सजिलोसँग यो नाटक टोलीलाई जुनै स्थानमा पनि लैजान सक्छौ। हाम्रो नाटक निःशुल्क हेर्न सकिन्छ। आ-आफ्नो इच्छाले जसले जति दिनु सक्छ दिए पनि हुन्छ। यसरी ‘फ्री थिएटर’को जग हामी माझ स्थापित हुन सफल बन्यो। यस थिएटरको माध्यमले हामीले आफ्नो विचार दर्शकको अगाडी राख्यौं र दर्शकहरुका प्रतिक्रियाबाट प्रेरित भएर यो नाटक अनि नाटकसँग जोडिएको विचार र संदेश लाई धेरै टाडो सम्म अघि लैजान चाहन्छौं।
No comments:
Post a Comment