कपिल तामंग
आज फेरी माथिल्लो घरको माइला काकासँग तल्लो घरको कान्छा भाइ शहर जादैछ, काम खोज्दै। यसरी नै गाउँको युवा-युवतीहरू शहर-शहर जादैछन्— कोही मिस्त्रीको काम गर्न, कोही होटेल या अर्काको घरहरूमा भाडा माझ्ने काम गर्न त कोही सेक्युरिटी गार्डको काम गर्न। आज श्रमिक आप्रवासन एउटा ठुलो मुद्दा भएको छ। भारतको अधिकांश अञ्चलहरूमा चार मध्ये तीन घरमा नै एक या एक भन्दा बेसी सदस्य बाहिर काम गर्न गइरहेका छन्। तर के यो श्रमिक आप्रवासन आजको समयमा मात्रै प्रचलित हो र?
इतिहासलाई पल्टाएर हेर्दा आप्रवासन ता सदियौंदेखि चलिरहेको छ। पहिले प्राचीन कालमा खाना अनि बासस्थानको खोजीमा मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ जान्थे, पछि दास प्रथामा मालिकसंग दासहरू एक देश देखि अर्को देश जान्थे अनि उपनिवेशिक व्यवस्थामा दास व्यवस्थाको सट्टा ज्यालादारी मजदुरलाई प्रचलित गराए, जो ठाउँ ठाउँ गएर रब्बर, सिन्कोना अनि चिया बगानहरूमा काम गर्न थाले। ब्रिटिस शासनको बेला चियाबगानमा काम गर्न धेरै जगाहबाट मानिसहरूलाई ल्याएर पहाड अनि तराई र डुवर्स क्षेत्रहरूमा खटाउनु थाले। तर आजको श्रमिक आप्रवासनको मुद्दा भने त्यसबेलाको श्रमिक आप्रवासन भन्दा भिन्न छ। त्यसबेला उपनिवेशिक क्षेत्रहरूमा पर्ने मानिसहरूलाई जबर्जस्ती एक ठाउँ देखि अर्को ठाउँ काम गर्न पठाइन्थ्यो चाहे त्यो चियाबगान होस् या सिन्कोनाबगान। मानिसहरू काम गर्न जान्थे करले अनि डरले र आज स्वतन्त्र भारतमा पनि मानिसहरू एक देखि अर्को ठाउँ काम गर्न जांदैछन् करले अनि डरले— तर आजको कर हो निम्न आर्थिक स्थितिको सोचनीय अवस्था अनि डर हो असुरक्षित अनि अन्धकार भविष्य!
चिया बगानमा दिनभरि खटेर पनि दिनको ज्याला ९० रुपियाँ मात्र पाएको अनि बजारमा भने सबैकुराको दामले आकाश छोएको अनि आफ्नो ठाउँमा भने कामको हाहाकार मचेको यस्तै धेरै कारणहरूले गर्दा अन्य ठाउँ काम खोज्न जानु परेको छ भन्ने धारणा त जन साधारणमा पहिले देखि नै प्रचलित छ। बाहिर काम गरेर मानिसहरूले आफ्नो घरको आर्थिक अवस्थामा सुधार ल्याएको कुरालाई पनि नकार्न सकिंदैन। आज विश्व बजारमा प्रवासी श्रमिकले एउटा ठुलो भूमिका खेलीरहेको छ। विकसित देशदेखि लिएर गरिब विकासशील देशहरूमा प्रवासी श्रमिकको छ्याप-छ्यापती मांग छ।
भारतमा पनि असंगठित क्षेत्र (unorganized sector) बढिरहेको छ जसको मुख्य भागनै प्रवासी श्रमिकहरूले भरिएको छ। यसको मूल कारणहरू थुप्रै छन्— ती मध्ये एक कारण हो खेती अनि कृषिको गलत नीति। आज भारतको अधिकांश अञ्चल-हरूका जमिन अनि खेतीहरू प्रभावी नभइरहेकोले गर्दा मानिसहरू कामको आशामा शहर जादैछन् तर शहर गएर पनि तिनीहरू प्रवासी श्रमिकहरूको त्यो असीम सागरमा पस्छन् जहाँ तिनीहरूलाई जहिले पायो तब काममा लिइन्छ अनि नचाहेको बेला निकाली दिइन्छ। यसरी कुनै सुरक्षा अनि भविष्य बिना तिनीहरू आ-आफ्नो श्रम दिन्छन्। तिनीहरू कामको बजारमा अनिश्चितताको भुवरीमा फसिन्छन् कारण तिनीहरूलाई कुनै पनि कामको थोरै मात्र ज्ञान अनि सिप हुन्छ। ज्यादातर श्रमिकहरू कुनै दलाल वा ठेकेदारको हातबाट काममा लाग्छन्। अहिले त झन् नयाँ-नयाँ एजेन्सीहरू खोलिएको छ जसले तिनीहरूलाई काम दिने भरोसा दिन्छ अनि कम ज्यालामा ज्यादा श्रमको माँग गर्छ।
ठेकेदार जसले काम दिन्छ तिनीहरूले पनि छेउ-छाउमा बसोबास गर्ने स्थानीय श्रमिकहरू भन्दा प्रवासी श्रमिकहरूलाई नै बेसी भागमा काम दिन्छन् कारण तिनीहरू सस्तो ज्यालामा काम गर्छन् अनि काम गर्ने ठाउँमा सामाजिक सम्बन्धहरू पनि राख्दैनन् जसले गर्दा तिनीहरूलाई बेसी काम गराउन अनि नियन्त्रित रूपमा सञ्चालन गर्न सजिलो पर्छ। महिला श्रमिकहरूको अवस्था झन् खराब छ— तिनीहरूलाई साधारण रूपमा पुरुष श्रमिक भन्दा कम ज्याला दिइन्छ। बिल्डिंग निर्माण उद्योगमा महिला श्रमिकहरूलाई आफ्नो लोग्ने वा पुरुष श्रमिकको सहायकको रूपमा हेरिन्छ अनि ज्यादा सिप नलाग्ने र साधारण कामहरूमा सीमित राखिन्छ त्यसर्थ ज्याला पनि कम्ती दिइन्छ। महिला श्रमिकहरू धेरै जगहहरूमानै असुरक्षित छन्। धेरै जस्तो उद्योगहरूमा स्त्रीहरूमाथि दुर्व्यवहार, कम ज्याला अनि यौन हिंसा जस्तो घटनाहरू घटीनै रहन्छ।
बसाइ सरेका यी श्रमिकहरू अनि तिनीहरूको परिवारहरूको अवस्था धेरैनै गम्भीर अनि सोचनीय हुन्छ। तिनीहरूलाई न कुनै प्रकारको स्वच्छ पिउने पानीको नै प्रबन्ध हुन्छ न टाउको लुकाउने छतको नै। ज्यादा जस्तो ती मजदुरहरू खुल्ला जगहमा प्ल्यासटिकको या चित्राको झोपडीहरूमा बसोबास गर्छन्। जबकि सरकारले कन्ट्रक्ट लेबर एक्ट (Contract Labour Act) पनि लागु गरेको छ जसको अनुसार कुनै पनि काम लगाउने ठेगेदारले आफ्नो कर्मीहरूलाई उपयुक्त बासस्थानको व्यवस्था पुराउन पर्छ। अस्थायी मजदुरहरू झन् पार्कमा या झोपडीहरूमा बस्छन् जहाँ न पानी न राम्रो जल-निकास व्यवस्थाको प्रबन्ध हुन्छ। खाद्य सर-सामानको दाम पनि तिनीहरूलाई महँगो पर्छ कारण धेरै जस्तो ती अस्थायी मजदुरहरूले राशन कार्डको सुविधा पाउदैनन्। स्वास्थको परिप्रेक्षमा हेर्दा ती श्रमिकहरूको स्तिथि अझ खराब छ तिनीहरू अस्वस्थ अनि मैला जगहमा बसो-बास गर्छन् अनि पेशागत खतरा अनि बिमारीहरूबाट ग्रसित हुन्छन्। जुन मजदुरहरू बिल्डिंग निर्माण या कोइला उद्योगहरूमा काम गर्छन् तिनीहरू विशेष गरेर पेशागत खतरा अनि फोक्सोको बिमारीहरूले ग्रसित हुन्छन्। काम दिने ठेकेदारहरूले सुरक्षा व्यवस्थाको प्रबन्ध राम्रो नगरेकोले दुर्घटना हुने सम्भावनाहरू धेरै हुन्छ। महिला मजदुरहरूलाई सुत्केरी बिदा (maternity leave) जस्ता सुविधाहरू पनि दिइन्दैन अनि नानी जन्माउन साथ काममा जबर्जस्ती खटाइन्छ। नानीहरूको लागी शिशुघर (creche) जस्ता सुविधाहरूको प्रबन्ध हुदैन जसको कारण नानीहरू आफ्नो आमा बाबासंग काम गर्ने ठाउँमा जान्छन् अनि बिमार हुन्छन्। ती नानीहरू शिक्षा देखि पनि बञ्चित हुन्छन्। जुन घरको पुरुष सदस्यले मात्र काम गर्न जान्छन् त्यस घरको पारिवारिक सम्बन्धको भार विशेष गरेर त्यस परिवारको स्त्री अनि नानीहरूलाई पर्न जान्छ। पुरुष सदस्यको अनुपस्थितिले परिवारमा मानसिक तनाउ अनि असुरक्षा हुन्छ। पुरुषको अनुपस्तिथिमा घरको स्त्री सदस्यले संसारिक अनि आर्थिक उत्पादनमा प्रत्यक्ष रूपमा भागीदारी लिन्छ अनि आफै निर्णय लिने र अन्य संसारिक सम्पर्कमा उन्नति गर्छ। तर त्यो थोपिएको स्वतन्त्रतालाई पनि पितृसत्तात्मक समाजले तिरस्कारको दृष्टिले हेर्छ। यस कारणले परिवारको स्त्री सदस्य अनि नानीहरूलाई प्रतिकूल परिस्थितिमा घर-गृहस्थीको श्रममा खट्न बाध्य गराई दिन्छ। घरको छोरा अनि छोरीहरूलाई झन् ठुलो उत्तरदायित्वको भार पर्छ। घरको काम, सानो भाइ-बहिनीहरूको देख-रेख अनि अन्य कामहरूले गर्दा तिनीहरू शिक्षा देखि पनि बञ्चित हुन्छन्। पछि तिनीहरू पनि घरको कोही सदस्यसंग काम गर्न शहर नै जान्छन्। यसरी तिनीहरूको जीवन पनि त्यही यातनामय श्रमको भुवरीमा हराउछ।
No comments:
Post a Comment