एडोल्फ हिटलरको उत्थान
थेन्दुप लामा
यसपालि हाम्रो देशको चुनावी नतिजा र नयाँ सत्ता आउनु साथसाथै नानाथरिका चर्चा राजनैतिक-सामाजिक-एकाडेमिक सर्कलहरूमा आउनथालेको छ। धेरै कुराहरू बद्लिनु पनि थालेको छ। जसरी बदलिएको थियो इतिहास—बारम्बार... १९२० को दशकमा इटालीमा मुसोलिनी, फेरी १९३० को दशकमा हिटलर, १९३० को शेषभागमा स्पेनमा आएको थियो एकाधिपत्यकारी फ्रान्को, पर्तुगालमा सालजार— जुन घटनाहरूलाई अतीत बनाउनुको निम्ति ४० वर्ष जस्तो लामो समय बित्यो! अनि त्यस बिचमा रह्यो तानाशाहीको रगतले भरिएको इतिहास— १९६५ मा सुकर्णलाई हटाएर सुहार्तो आएको थियो इन्डोनेशियामा। सुकर्ण कुनैपनि विप्लवी थिएन, तरैपनि वहाँको प्रस्थान पछि एक वर्षभित्र ६ लाख क्रान्तिकारी कम्युनिस्टको त्यहाँ हत्या भयो...
आजको भारत १९३३ को जर्मनी वा १९६५ को इन्डोनेसिया होइन। यस्तो केही घटना सायद यहाँ अहिले हुनेछैन, तर इतिहास नै त हाम्रो महान् शिक्षक हो। हामी इतिहासको पन्ना पल्टाउदै फासीवादको इतिहासलाई र जर्मनीमा हिटलरको उत्थानलाई हेऱ्यौं भने केही शिक्षा त प्राप्त गर्नै सक्छौँ। हुनसक्छ आउदो भविष्यलाई हेर्ने र झेल्ने मद्दत दिन्छ अतीतले !
सन १९३३ को जर्मनी को कुरा हो। यस भन्दा अघि त्यहाँ, जर्मनीमा वामपन्थीहरू निकै शक्तिशाली थिए। यहाँ अवश्य नै भन्नुपर्छ कि यो वामपन्थीहरू हाम्रो यहाँको तथाकथित औसरवादी ‘वामपन्थी’हरू झैँ थिएनन्, यिनीहरुले सत्तामा बसेर मजदुर-किसान-उत्पीडित राष्ट्रियताहरूलाई कुल्चने काम कहिल्यै गरेको छैनन्! त्यतिबेला त्यहाँको वामपन्थीहरू रोजा लुक्सेमबर्ग, कार्ल लिब्नेख्टले बनाएको क्रान्तिकारी पार्टीको निरन्तरतामा चलिरहेको पार्टीभित्र थिए। जे होस्, त्यतिबेला १९३२ को नोभेम्बर सम्म त्यही बामपन्थीहरूनै देशमा सबभन्दा शक्तिशाली राजनैतिक दल थियो। जर्मन पार्लामेन्ट ‘राइखस्ट्याग’-मा सन् १९३२ को हिसाब अनुसार दुईवटा कम्युनिस्ट पार्टी — SPD र KPD को जम्मा सिट थियो २२० वटा, हिटलरको नाजी पार्टी को थियो १९६ वटा। तर १९३३ पछि ठुल-ठुलो जमघट त टाढाको कुरा, खुल्ला सानो तिनो मिटिंग गर्नु पनि साह्रो पर्नथाल्यो। यस्तै चल्यो यस पछि १२ वर्ष... दोस्रो विश्वयुद्धमा हिटलरको, फासीवादको पराजय र हिटलरको आत्महत्या सम्म...!
एडोल्फ हिटलरको जन्म अस्ट्रियामा २० अप्रिल १८८९ मा भएको थियो। उनको बाल्यकाल र आरम्भिक युवा अवस्था निकै दुःख र अभावले भरिएको थियो। उनको प्रारम्भिक शिक्षा लिंज नामक स्थानमा भयो, तर उनी कहिलेपनि कलेज गएनन्। उनले १३ वर्षको हुँदै उनको बाउको मृत्यु भयो जो भन्सारका हाकिम थिए, परिवारको नाममा भएको थोरै सम्पति पनि उनको आमाको उपचारमा सकियो, त्यसपछि उनले आफ्नो जीविका चलाउनका लागि ज्यादै कष्टपूर्ण र तल्लो स्तरको कामहरू गर्न पऱ् यो... उनले हिउँ सोहोर्ने, कार्पेट कुट्ने, भारी बोक्ने, पोष्टकार्डमा रङ्ग भरेर बेच्ने जस्ता कामहरू गरे। तर चेष्टा गरेतापनि उनलाई विएनाको स्कुल अफ आर्ट र अन्य आर्ट अकादमीमा प्रवेश गर्ने अधिकार दिइएन। यो समय देखि नै उनले साम्यवादी वा कम्युनिस्टहरू अनि यहुदीहरूलाई घृणा गर्नुथाल्यो।
सन् १९१४ देखि प्रथम विश्वयुद्ध सुरु भएपछि भने हिटलरको जीवनमा नयाँ मोड सुरु भयो। त्यस विश्ययुद्धमा हिटलर सेनामा भर्ती भई बहादुरीपूर्वक लडे दुई पटक घाइते भए र दुई पटकनै आइरनक्रसद्वारा सम्मानित भए। त्यस विश्वयुद्धमा जर्मनीले नराम्रोसँग पराजित हुनुपऱ्यो जुन समाचार सुनेर उनी साह्रै दुःखी भए। त्यसपछि उनले राजनीतिमा प्रवेश गर्ने निश्चय गरे। प्रथम विश्वयुद्ध पश्चात्, पराजित जर्मनीले वर्सायको सन्धिमा हस्ताक्षर गऱ्यो। यसले गर्दा जर्मनीले आफ्नो भूमिको एक ठुलो भाग गुमायो, दोस्रो राज्यहरूमाथि कब्जा गर्ने पाबन्दी लाग्यो, उनको सेनाको आकार सीमित गराइयो र भारी क्षतिपूर्ति थोपियो। अर्कोतिर रुसको गृहयुद्धले कम्युनिस्टहरूलाई चाहिने सोभियत सङ्घको निर्माण गऱ्यो, इटालीमा बेनिटो मुसोलिनीले एउटा फासिस्ट तानाशाहको रूपमा "नयाँ रोमन साम्राज्य" बनाउने बाचा गर्दै सत्तामा कब्जा गरे। औपचारिक शिक्षाको कमीले गर्दा हिटलरले जति सक्दो फौजमै बस्ने सुरताल कसे। जुलाई १९१९ मा उनलाई फौजको रिकोंननाइसेन्स कम्यान्डोको इन्टेलिजेन्स एजेन्ट नियुक्त गरियो, जसको काम अन्य सैनिकहरूलाई जर्मन्स वर्कर पार्टीमा (DAP) पस्ने प्रोत्साहन दिनु थियो। DAP-को गतिविधिहरूमा निगरानी राख्दै गर्दा उनी एन्टोन द्रेक्स्लरको उग्रजातिवाद, यहुदी-विरुद्ध, पुँजीवाद-विरुद्ध अनि मार्क्सवाद-विरुद्ध विचारबाट प्रभावित भए। हिटलर सेप्तेम्बेर १९१९ मा जर्मन वर्कर्स पार्टी (DAP)-सँग जोडिए। पछि गएर १९२० मा पार्टीको नाम परिणत भएर न्यासनल सोसियलिस्ट जर्मन वर्कर्स पार्टी (NSDAP) हुन गयो, जसलाई नाजी पार्टी भनेर सबैलाई थाहा छ। यो राजनैतिक पार्टीको प्रथम विश्वयुद्धको पछि निर्माण औ निक्कै उन्नति भइरहेको थियो। यो पार्टीको अडान कम्युनिस्ट, युद्ध पछिको वेइमर प्रजातन्त्र औ वर्सायको सन्धिको विरोधमा थियो। यसको उद्देश्य साम्यवादी औ यहुदीहरूबाट सबै अधिकार खोस्नु थियो कारण उनीहरूको घोषित मान्यता थियो कि साम्यवादी र यहुदीहरूको कारणले नै जर्मनीको हार भएको हो। जर्मनीको हारलाई लिएर हिटलरभित्र जुन घृणाको भावना थियो, त्यो अन्य हजारौँ जर्मनवासिहरूको भावनासँग मिल्थ्यो। यही कारणले गर्दा नाजी पार्टीको सदस्यहरूमा देशप्रेम छ्याप-छ्याप्ती भरिएको थियो। प्रथम विश्वयुद्ध हारे पछि जर्मनीको आर्थिक स्थिति खराब भइसकेको थियो, जसको कारण नाजी दलको नेता हिटलरले आफ्नो ओजस्वी भाषणहरूद्वारा देशको अर्थव्यस्था ठिक गर्ने कुरा गरे। पहिलो विश्वयुद्ध भन्दा पहिला उनलाई कसैले चिन्दैन थिए, तर १९२२ आउदाँ आउदै उनले एउटा विशाल जनसमर्थन थुपारेर निक्कै शक्तिशाली व्यक्ति भएर उभ्रे। हिटलरले पार्टीको प्रथम दिनहरू देखिनै आफू राम्रो वक्ता भएको फाइदा उठाउदै, पार्टी छोड्ने धम्की दिएर भए पनि आफूलाई पार्टीको नेता बनाउने कुरा गर्थे। पार्टीको राजनैतिक सिद्धान्तहरूमा हिंसाको प्रयोग अथवा हिंसा गर्नु सक्नेहरूलाई भर्ना गराउने चाहना राख्नेहरूमा पनि हिटलर एक थिए। १९२० को दशकमा पार्टीको चुनावी युद्धमा हिटलरले वक्ता र संगठकको रूपमा भाग लिए औ धेरै मात्रामा विरोधी दलहरूसँग हिंसात्मक झडपमा भाग लिए। उनले स्वस्तिकलाई आफ्नो दलको चिह्र बनाए जुन हिन्दुहरूको शुभ चिह्र मानिन्छ। समाचारपत्रहरू द्वारा हिटलरले आफ्नो दलको सिद्धांतहरूको प्रचार जनतामाझ गरे। खैरो रङ्गको पोशाक लगाएको सैनिकहरूको टुकड़ी तैयार गरियो। सन् १९२३ मा हिटलरले जर्मन सरकारलाई उखालेर फ्याक्ने प्रयत्न गरे तर यसो गर्नमा उनी सफल हुन सकेनन्। २० फरवरी, १९२४ मा हिटलरमाथि “राष्ट्रद्रोहि” को मुकदमा लगाइयो र पाँच वर्षको कैदको सजाय सुनाइयो। जेलखानामा उनले मीन कैम्फ ("मेरो सङ्घर्ष") नामक आत्मकथा लेखे। यसमा उनले नाजी दलको सिद्धांतको विवेचना गरे। उनले लेखे की आर्य जाति अन्य सबै जातिभन्दा श्रेष्ठ र जर्मनहरू आर्य हुन्। आर्यले नै विश्वको नेतृत्व गर्न पर्छ। यहूदीहरू सदैव नै उनीहरूको संस्कृतिमा रोड़ा भएका छन्। जर्मनहरूलाई साम्राज्यविस्तारको पूर्ण अधिकार छ। फ्रांस औ रुस सँग लडाई गरेर जर्मनहरू जीवित रहनको निम्ति भूमि प्राप्ति गर्न पर्छ। पछि १९२० दशकको अन्तिम अनि १९३० दशकको सुरूवाती सालहरूमा नाजी पार्टीले हिटलरको चतुरताद्वारा धेरै प्रसिद्ध भयो र १९३३ मा वेइमर प्रजातन्त्रमा एक प्रभावकारी शासक शक्ति भएर उभिन सफल भयो। जेलबाट छुटेको केही समय पश्चातनै हिटलरले जर्मनी पनि विश्वव्यापी आर्थिक मंदी को चपेटमा आएको कुरो थाहा पाए। आंकड़ा हेऱ्यौं भने १९३०-३२ में जर्मनीमा बेरोजगार मानिसहरूको सङ्ख्या निक्कै बढेर गएको थियो। संसदमा नाजी दलको सदस्यहरूको सङ्ख्या २३० पुग्यो। १९३२ को चुनावमा हिटलर राष्ट्रपतिको निम्ति निर्वाचित भएनन्। जर्मनीको आर्थिक दशा बिग्रिँदै गयो र विजयी देशहरूले उसलाई सैनिक शक्ति बढ़ाउने अनुमति दियो। हिटलरले जनताको असंतोषको फायदा उठाउदै व्यापक लोकप्रियता हासिल गरे, उनले फेरी चुनाव लड़ने फैसला गरे। हिटलरको नाजी पार्टीबाट सन् १९३३ मा हिटलर जर्मनीको चान्सलर बन्न पुगे। यसपछि नै सुरु भयो हिटलरको दमन चक्र। उनले साम्यवादी पार्टीलाई अवैध घोषित गरीदिए औ यहुदीहरूको नरसंहारको सिलसिला सुरु भयो। हिटलरले राष्ट्रलाई स्वावलंबी हुने आह्वान गरे। हिटलरले डॉ. जोज़ेफ गोयबल्सलाई आफ्नो प्रचारमंत्री नियुक्त गरे, जसको प्रचारको तरीका थियो वारम्बार झुटलाई दोहर्याउँदै त्यसलाई नै विश्वास गराउनु! उनले नाजी दलको विरोधी व्यक्तिहरूलाई जेलखानमा हाली दिए। कार्यकारिणी औ कानुन बनाउने जम्मै शक्ति हिटलरले आफ्नो हातमा लिए। १९३४ मा उनले आफैलाई सर्वोच्च न्यायाधीश घोषित गरे। त्यही वर्ष हिंडनबर्गको मृत्यु पश्चात् उनी राष्ट्रपति धरी बन्न पुगे। नाजी दलको आतङ्क जनजीवनको प्रत्येक क्षेत्रमा छायो। १९३३ देखि १९३८ सम्म लाखों यहुदीहरूको हत्या गरियो। नवयुवकहरूमा राष्ट्रपतिको आदेश पूर्ण रूपले पालन गर्ने भावना भरि दिइयो औ जर्मन जातिको भाग्य सुधार्नको जिम्मेवारी हिटलरले सम्पूर्ण रूपले आफ्नो काँधमा लिए।
हिटलरले १९३३ मा राष्ट्रसंघ छोड़ी दिए र भविष्य युद्ध र साम्राज्य बढाउनको कुरा ध्यानमा राखेर जर्मनीको सैन्य शक्ति बढाउन थाले। प्राय: जम्मै जर्मन जातिलाई सैनिक प्रशिक्षण दिन थालियो। राज्यको सम्पूर्ण अधिकार र शक्ति आफ्नो हातमा लिएर उनी निरङ्कुश र तानाशाही शासक बने। हतियार र सेनाका सङ्ख्या बढाएर सामरिक हिसाबले जर्मनीलाई शक्तिशाली बनाएर शत्रु राष्ट्र लगायत अन्य थुप्रै राष्ट्रहरूलाई घुडाँ टेक्न बाध्य पारे। एक जमानामा उनको नाम सुन्दा संसार थर्किन्थ्यो।
यही नै हो हिटलरको सफलता र जितको कथा। त्यो अति नकारात्मक, कालो र घृणास्पद छ। उनले लोकतन्त्र मासे, प्रेस स्वतन्त्रता खोसे, विरोधीहरूलाई सफाई गर्ने अभियान चलाए, विरोधीहरूलाई जेलमा कोचरे, यातना दिए, नागरिकता खोसे, चिसो हावापानीमा अभ्यस्त युद्धबन्दीहरूलाइ तातो घाममा उभ्याए डेढ मार्च गरी घोडाको तबेलामा आठ हजारभन्दा बढी रुसी कैदीको हत्या गरे। उनले साठी लाखभन्दा बढी यहुदीहरूको हत्या गरे हरे। उनीहरूमध्ये अधिकांशलाई ग्याँस च्याम्बरभित्र निस्सासिन बाध्य पारेर मारे, यहुदीहरूको सम्पति जफ्त गरे, यहुदीहरूको जागिर खोसे, यहुदीहरूलाई मताधिकारबाट वञ्चित गरे, यहुदीहरू अध्यापक, डाक्टर, वकिल केही पनि हुन नपाउने कानुन बनाए। उनले जर्मनीलाई युद्धमा होमे। खासगरी सन् १९३५-३६ को आसपास उनले विभिन्न युरोपेली मुलुकहरूमाथि धावा बोल्न थाले। त्यसैको परिणाम स्वरूप दोस्रो विश्वयुद्ध आरम्भ भयो जुन युद्धमा लेखाजोखा गर्न नसकिने गरी जनधनको क्षति भयो। अनुमान गरिए अनुसार ५ करोडभन्दा बढी मानिसहरूले ज्यान गुमाए ३ करोडभन्दा बेसी मानिसहरू घाइते र अपाङ्ग भए। त्यसै युद्धमा जर्मनी युद्धमा नराम्ररी हार्न पुग्यो। रुसी अमेरिकी ब्रिटिस सेनाहरू बर्लिनसम्म आइपुगे, तिनीहरूले बर्लिनलाई घेरा हाले। शत्रु सेनाबाट निर्ममतापूर्वक मारिने डरले उनी महलभित्र लुके। आफूले आत्महत्या गर्नु एक दिन अघि आफ्नो प्रेमिका इभासँग उनले बिहे गरे। बिहेको उपहारको रूपमा उनले इभालाई क्याल्सियम साइनाइड नामक विषको क्याप्सुल दिए। मर्ने दिन उनले आफ्नो प्यारो कुकुर ब्लानडोलाई गोली ठोकेर मार्न लगाए। आफ्नो दुई सेक्रेटरीलाई पनि विषको गोली दिए र पछि इभासँगै कोठामा पसी आत्महत्या गरे। उनले आफैलाई मुखभित्रबाट वा मुखको तालुमा गोली ठोके भने इभाले विषको गोली खाइन्।
केही मानिसहरूलाई केही दिनको निम्ति मूर्ख बनाउन सकिन्छ तर सबै मानिसहरूलाई सधैको निम्ति मूर्ख बनाउन सकिन्दैन। इतिहास अन्तसम्म मानिसहरूले नै लेख्नेछन्, फासीवादले होइन, तर फासीवादले पाइला चाल्दा गणतन्त्रको के स्थिति हुन्छ, त्यो पनि ध्यानमा राख्न पर्ने कुरा हो— समाजमा मानिसहरू माथि आक्रमण भएकोले प्रतिरोध अवश्य हुन्छ— यो कुरा सधैको लागि सत्य होइन, आत्मसमर्पण पनि केही क्षणको विशिष्टता हुनसक्छ। तर यो केही क्षणको नै प्रश्न हो— उभिनु नै पर्छ प्रतिवादी आवाजलाई, यसरी नै बोलाउछ इतिहासको पन्नाले बारम्बार— नयाँ समय, नयाँ सङ्घर्ष र नयाँ बेरिकेडमा आमजनतालाई सामेल हुने आह्वान गर्दै....
No comments:
Post a Comment