Wednesday, February 6, 2013

अंक २  जनवरी-फेब्रुवरी २०१३







यस अङ्कमा...

सम्पादकीय








सम्पादिका

संगीता खेवा


 सम्पर्क ठेगाना

धुनिराज छेत्री
तीनधरिया गोलाईपाखा
जिल्ला-दार्जीलिङ
पिनकोड-७३४२२३

इमेल

laaliguraas@gmail.com


फोन

08670846318
08509517490


फेसबुक

Tuesday, February 5, 2013

अङ्क २ ∙ सम्पादकीय


तर सम्बोधन कसलाई?

ल्याम्पपोस्टमाथि उभिरहेकी केटीले न्याय मागिरहेकी छिन्। दिल्लीमा सामूहिक बलात्कारको सिकार भएकी केटीको निम्ति न्याय, हिंसा र अत्याचार सहनु परेकी प्रत्येक नारीको निम्ति न्याय, अनि अन्याय र असमानतारहित संसारतर्फ बढ्नलाई सङ्घर्ष गरिरहेको समूहको निम्ति न्याय। यही आजका जनताको, विशेष गरी युवाहरूको माँग छ। तर यो केटीले को समक्ष यस्तो माँग गरिरहेकी छिन्? कसले उसको आवाज सुनिरहेको छ? यो ती लाखौँ मानिसहरूको आवाज जसले हामी एउटा स्वतन्त्र, समान र आत्मसम्मानले भरिएको संसार चाहन्छौ भन्ने माँग प्रतिध्वनित गरिरहेछन्।

     तर सम्बोधन कसलाई? राजनैतिक नेता भनाउदाहरू, सरकारको वार्ताकार-हरूलाई? स्व-घोषित जनता र देशको प्रतिनिधिहरूलाई? दिल्ली सामूहिक बलात्कारको घटना पछाडि यी समाजका ठेकेदारहरूको क कस्तो प्रतिक्रिया र टिप्पणीहरू थियो त्यसको एउटा सानो झलक यहाँ प्रस्तुत छ........

     राष्ट्रपतिको छोरा, र सत्तारुढ पार्टीको वरिष्ठ नेता अभिजित मुखर्जीले एउटा टेलिभिजन च्यानेलमा बोल्दै ती जम्मै प्रदर्शनकारी महिलाहरू जो पनि इन्डिया गेट अघि थुप्रेका थिए तिनीहरू एकदमै कृतिम सुन्दरताले भरिएको दुनियाँभरको लिप-घस गरेर रातिउधो डिस्कोमा नाचेर त्यसपछि सिधै इन्डिया गेट आएर बलात्कार विरुद्ध नारा लगाउछन् र वास्तविक दुनियासंग बेखबर हुन्छन् भन्ने वक्तव्य दिए। उक्त वक्तव्यको निम्ति उनले पछिबाट क्षमा पनि मागे।

     सी.पी.आई.एम. का नेता अनिसुर रहमानले प. बंगाल सरकारको बलात्कृत वा बिक्री भएकी महिलाहरूलाई क्षतिपूर्ति दिने निश्चयप्रति व्यंग कस्दै भने ‘‘हामीले संसदभवनमा मुख्यमन्त्रीलाई भन्यो कि तपाईँको शुल्क कति हो? बलात्कृत हुनलाई तपाई कति लिनुहुन्छ? कारण सरकारले त क्षतिपूर्तिको रकम राशि तपाईलाई दिईहाल्नेछ।"

     अनिसुरको यस्तो वक्तव्यको उत्तर दिँदै तृणमूल काँग्रेसका वरिष्ट नेता डा. काकोली घोषदस्तीदारले एउटा समाचार च्यानेलमा भने ‘‘एकवर्ष अघिको पार्क स्ट्रिट बलात्कार घटनालाई हेर्दा हामी के पाउछौ भने उक्त घटना एकदमै अर्कै सन्दर्भ भएको थियो। त्यो त बलात्कारको घटना ट्याक्कै थिएन, त्यो यौन कर्मी महिला र उसको ग्राहकमाझ भएको भुलबुझाई मात्र थियो। बलात्कार भने थिएन।’’

     आर.एस.एस. प्रमुख मोहन भागवत अनुसार बलात्कारको घटनाहरू भारतीय संस्कृतिको ह्रास र पश्चिमी संस्कृतिको प्रभावले बढेको हो। उनले भने ‘‘इन्डियाको शहरी इलाकामा यस्तो घटनाहरू घट्नु एकदमै लज्जास्पद कुरो हो। यो डरलाग्दो चलन हो। तर यस्तो घटनाहरू भारतको गाँउले इलाकातिर कहिल्ये हुने गर्दैन। तपाई देशको कुनैपनि गाउँ वा जङ्गलमा जानुहोस् त्यहाँ यस्तो सामूहिक बलात्कार र यौन अपराधहरू घटेको पाइन्दैन।’’। तर वास्तव यस्तो होइन, गाउँले इलाकामा ज्यादै बलात्कारका घटना हुन्छ। अझ थप्दै महिलाहरूले घरकै धन्धा गर्ने र पुरुषहरूले कमाई गरे उचित हुनेछ भनेर तीनले भने।

     देशव्यापी यौन अत्याचारको घटनाहरूलाई विशिष्ट रूपमा मध्य प्रदेशको सन्दर्भलाई केन्द्रित गर्दै टिप्पणी गर्न लाउदा भाजपाका नेता कैलाश बिजयभार्गीयले भने ‘‘एउटै शब्द छ –मर्यादा। जब मर्यादाको उलंघन हुन्छ, तब सिता-हरण हुन्छ। सबैजनाको निम्ति लक्ष्मणरेखा खिचिएको हुन्छ, त्यो लक्ष्मणरेखा जसले पार गर्छ, रावण छेउमै बसिरहेको हुन्छ र उसले सीताको हरण गरेर लैजान्छ।’’

     आन्ध्र प्रदेश काँग्रेस कमिटिको सभापति बोट्सा सत्यनारयनाले दिल्ली बलात्कार घटनालाई सानोतिनो घटना भन्दै, ‘‘भारतले आधारातमा स्वतन्त्रता पाएको हो भन्दैमा नारीहरू पनि आधारातमा बाहिर सडकमा घुम्नुपर्छ?’’ भने। त्यस्तो रातबिरात एउटा प्राइबेट बसमा चढ्नु अघाडिनै त्यो केटीले पछाडिको अवस्था सोच्नु पर्ने थियो र बसमा नचड्नु पर्ने थियो भन्ने विचार पनि उनले दिए।

     पुडुचेरी सरकारको स्कुल शिक्षण मन्त्री टि. थियागराजनले यौन अपराधहरू कम गर्नको निम्ति छात्राहरूको स्कुलमा लाउने लुगामा परिवर्तन गरिनु पर्छ र छात्राहरूले अनिवार्य रूपमा ओवरकोट लगाउनु पर्ने हुनेछ।

     आध्यात्मक गुरु आसाराम बापुले १६ दिसम्बरको सामूहिक बलात्कारको सिकार भएकी केटी आफैँ पनि ती दोषी मानिसहरू जसले त्यस केटीसंग त्यस्तो बर्बर अत्याचार गरे, तिनीहरू जत्तिकै दोषी हुन् भने। केवल ५-६ जना मानिसहरू मात्र दोषी छैनन्। बलात्कारको सिकार भएकी त्यो केटी पनि ती बलात्कारीहरू जत्तिकै दोषी छिन्... ‘‘उसले ती मानिसहरूलाई दाजु भनेर उनीहरूलाई आफूमाथि अत्याचार नगर्ने बिन्ती गरेकी भए आफ्नो ज्यान र सम्मान जोगाउन सक्थिन्।... एउटा हातले ताली बज्छ र? मलाई त यस्तो लाग्दैन’’— मिडियाले यसरी बापुको वक्तव्यलाई उल्लिखित गरेको छ।

     यी वक्तव्यहरू त केही झलकहरू मात्र हुन् र कहिले काही साधारण जनताहरूको मुखबाट पनि उक्त वाक्यहरू हामी सुन्छौ तर यो आशा गरिएकै थियो कि हजारौँ मानिसहरू हातमा मोमबत्ती, मशाल लिएर, पानीको मुस्लो सहेर, आँसु ग्यास, लट्ठी खाएर पनि यी नेताहरूको भनाइको विरुद्ध उत्रिनेछन्। सयौँ, हजारौँ र लाखौमानिसहरूले इन्टरनेटको माध्यम वा सडकमा ओर्लेर यसको जरासम्म पुग्ने र समाधान खोज्ने जमर्को गरे, नाराहरू दिए, गीतहरू गाए यो बलात्कारी व्यवस्थाबाट मुक्ति पाउनलाई र हामी त्यही आवाजको पक्षमा छौं।

Sunday, February 3, 2013

दिल्ली बलात्कार र जनउभारको सन्दर्भमा केही विचारहरू


दिल्लीको बलात्कार घटनाले भारतलाई एकपल्ट हल्लाएर राखिदिएको छ। हजारों मानिसहरू सडकमा उत्रेर प्रदर्शन गरिरहेका छन्। यो जनउभार साँच्चैनै सराहनीय छ तर यस्तो घटना दिनहुँ देशभरी घटिरहेको हुन्छ जसमा कसैको आँखा पनि गएको छैन। 

     आज मध्यमवर्गीय देशवासी सडकमा उर्लेको छ तर यो केवल एउटा बलात्कारको मात्र कुरा हो र? कारण बलात्कार भन्ने कुरो त केवल एउटा नारीको सम्मानको हनन मात्र होइन तर युगौ देखि चलिआएको पितृसतात्मक समाजको नारीहरूलाई हेप्ने साधन मात्र हो। बलात्कार सभ्यताको सुरूवातदेखि मानिससंग जोडिएको छ। 

     पौराणिक तथा ऐतिहासिक तथ्यहरूमा यहाँसम्मकी धर्मग्रन्थको कथाहरूमा पनि बलात्कारको उल्लेख पाइन्छ। इतिहास कोट्याउँदै हेर्दा विजयी राजाले परास्त राजाको पत्नीलाई बलजफ्ती बिहे गर्ने, युद्धको पुरस्कारको रूपमा नारीलाई राख्ने, ऋण तिर्न नसक्दा आफ्नो चेलीलाई दिने, देवतालाई भेट स्वरूप बालिका चडाउने चलन हाम्रो इतिहास संग अभिन्न रूपले जोडिएको छ। 

     भारत पाकिस्तानको विभाजन हुँदा देशको नाममा, गुजरातमा भएको साम्प्रदायिक दंगामा धर्मको नाममा, उत्तर- पूर्व राज्यहरूमा आतंकवादी खतम पार्ने नाममा वा उडिसा झारखण्डमा मावोवादी नियन्त्रण गर्ने नाममा सदैव नारीहरू बलात्कृत भैरहेकै छिन्। त एउटा नारीलाई बलात्कार गर्नु भन्ने कुरो एउटा व्यक्ति विशेषको व्यातिगत इच्छामात्र नभएर यो समाजले उसलाई दिएको विशेष अधिकार हो। कारण यसो गरेर उसले आफ्नो शत्रुसंग बदला लिइरहेको हुन्छ। बाबु वा दाजु-भाई संग रिस भए छोरी बहिनी बलात्कारको शिकार हुन पर्छ। अथवा नारी आफैमा कुनै व्यक्तिव नभएर मात्र एउटा वस्तु मात्रै हो भन्ने कुरो यी घटनाहरूले दर्शाउँछ। 

     पितृसतात्मक समाजको नारीहरूलाई दबाउने सबै भन्दा उत्तम हतियारको रूपमा उभिएको छ बलात्कार र किनभने केटीहरूलाई सानै देखि ‘आइमाईको इज्जत सियोको टुप्पोमा हुन्छ’ भनेर सिकाईएको हुन्छ र कसैले पनि यो सियो भाँच्नु सक्छ र नारीको बाँच्ने आधारनै सकिन्छ। यसरी कैयों पीडितहरूले त आफ्नो ज्यान समेत दिनु पर्छ कारण यो समाजले फेरि उसैलाई बार बार त्यो घटनाको सम्झना गराउछ र उसलाई बाँच्नु गाह्रो पर्न जान्छ। नारी विरुद्ध कुनै पनि अत्याचार चाहे त्यो जस्तो सुकै रूपमा होस् लाई सदैव नदेखेको जस्तै गरिन्छ। एउटा परिवारमा आमाको स्थान, उसको परिवार र समाजले यहाँ सम्म कि उ स्वयंले सबैभन्दा तल मान्छ। यसको सबैभन्दा उत्तम उदाहरण हो कुनै पनि पुजा-आजामा नारीहरूले पुरुषहरूको (पिता, पति, छोरा, दाजु-भाई इत्यादि) मंगल कामनाको रूपमा गर्नु पर्ने बर्त राख्नुपर्ने तर नारीहरूको मंगलकामनाको निम्ति गरिने बर्त त आजसम्म सुन्न पाइएको छैन। नारीको यस्तो स्थान बनिनुमा समाजको गठन र विकासक्रमको मुख्य भूमिका हुन जान्छ। एउटा केटा र केटीले सानैमा पाउने शिक्षा र उनीहरूको लालन-पालन बेग्लै किसिमको हुन्छ। ‘यो संसार छोरा मान्छेको हो’ भन्ने आश्वासनहरूले ओत-प्रोत पुरुषहरूले नारीलाई केवल वस्तुको रूपमा हेर्नु कुनै अतियुक्तिको कुरा हुँदैन। रक्सीको झोकमा बाबाले आमालाई कुट्दा मन दुखाउने छोरा पनि जवान भएर कुटाई खानु औरतको भाग्यमै हुन्छ भन्न हिचकिचाउदैन कारण उ पुरुष बन्ने प्रक्रियामा हुन्छ। भुल गरे स्वास्नीलाई पड्काउनु पर्छ भन्ने धारणा अब उसको निम्ति अझ दृढ भइसकेको हुन्छ। र आफ्नो घरको आमा, स्वास्नी, छोरीलाई सम्मान दिन नसक्ने पुरुषले घर बाहिर बलात्कार गर्नु कुनै आश्चर्यको कुरो पनि होइन कारण उसलाई यसो गर्नुमा कुनै अफसोस् हुदैन र उसले सोच्छ कि यसो गरेर उसले आफ्नो पुरुसत्वको प्रमाण दिंदैछ। 

     एकापट्टि पितृसतात्मक समाजव्यवस्थाले नारीहरूलाई आफ्नो कब्जामा राख्नुको निम्ति धर्म, कर्म, इत्यादिको नाममा डर देखाएर हुन्छ कि धम्काएर हुन्छ आफ्नो स्वार्थ जहिले पनि पुरा गरेको छ भने अर्कोपट्टी पूंजीवादी व्यवस्थाले नारीहरूको झुठो स्वतन्त्रताको नाममा नारी शरीरको बजारीकरण गरिरहेको छ। आफ्नो शरीर माथि अधिकारको आडमा आफ्नो कुमारीत्व पनि बिक्री गर्न पाउने भन्ने कुराको वकालती यिनीहरू खुल्लारूपमा गर्छन्। त के नारीको स्वतन्त्रता केवल आफुलाई एउटा बिक्री हुने वस्तुको रूपमा प्रदर्शित गर्नु मात्रै हो? पुरुषको दाह्री खौरिने ब्लेड देखि लिएर जिन्स प्यान्टको विज्ञापनसम्म नारी शरीरलाई नचाहिँदो प्रकारले दर्शाएको हुन्छ। नारीहरूलाई एउटा तुच्छ विचारहीन, आत्मसम्मानहीन वस्तुको रूपमा प्रस्तुत गर्ने चलनले नारीहरूलाई झन् पछि ठेल्दैछ। 

     बलात्कारको मुख्य कारणहरू मध्ये नारीहरूको पहिरन पनि हो भन्ने कुरामा धेरै जना सहमत छन्। अब चारैतिर खबरकागज, टेलीभिजन, सिनेमा, नाच-गान इत्यादि सबैमा जस्तो प्रकारको पहिरन लाएर पनि नायिकाको चरित्र एकदमै बेदाग हुने, त्यही लुगा-फाट परिसस्तै मात्रामा बजारमा पाइने र त्यही लुगा केटीहरूले किनेर लाउदा चै केटीको चरित्रमा प्रश्न उठ्ने यो कस्तो खालको दोषारोपण हो जहाँ एउटा हातले मिठाई दिने र त्यो मिठाई खाएमा अर्को हातले थप्पड हिर्काउने। कि त अब जम्मै आधुनिक कपडाहरू बनाउनु र बिक्री निषेध गरिनु पर्ने कि त लुगालाई दोषी नमान्नु पर्ने। तर स्मरण रहोस् बुर्का लाउने देशहरूमा पनि बलात्कारको घटना भने पाइन्छ र घरेलु हिंसाको त कुरै न गरे पनि हुन्छ र १,२,३ वर्षको दुधे बलाखाहरूको बलात्कार पनि नौलो कुरा चाहिँ होइन। अर्को कुरो बलात्कारको शिकार भएको नारिमाथिनै व्याभिचारको आरोप लाउनुमा पनि समाज पछाडी हट्दैन। ‘केटीको इच्छा बिना यस्तो काम हुन सक्दैन’ भन्ने धारणा त विश्वप्रसिद्धनै छ। 
     
     यसरी प्रतिपल समाजले नारीको दोष र खोटहरूलाई कोट्याईरहेको हुन्छ। यसको विपरित फेरि यही समाजको मानिसहरूले बलात्कार एकदमै घिनलाग्दो अपराध हो र दोषीहरूलाई कडा सजाय हुन पर्छ भन्ने माँग पनि गर्छ र यो माँग गर्ने मानिसहरूले यो व्यवस्था एकदमै चोखो र बलात्कार जस्तो घटना चाँही बाहिरको चिज हो जुन साह्रै नराम्रो छ भनेर ठान्छन् तर यो व्यवस्थाले प्रतिदिन बलात्कारी जन्माइरहेको हुन्छ चाहे त्यो बलात्कार बिहेको नाममा होस् वा प्रेमको नाममा। बिहे गरे पछि एउटा पुरुष र स्त्रीको संसर्गलाई बलात्कारको नाम दिन सकिंदैन चाहे त्यो सम्भोग बल्जफ्तिनै किन नहोस्। स्त्रीलाई निजि सम्पत्तिको रूपमा हेर्ने पुरुषहरूको निम्ति आफ्नो पत्नीमाथि बल देखाउनु के गाह्रो काम हो र फेरि यसको कुनै सुनुवाई हुनेछैन कुनै सजाय हुने छैन भन्ने कुरो पनि तिनीहरूलाई थाहै हुन्छ। 

     कानुनहरूको संशोधनको कुरा गर्ने हो भने त यति लामो सुची बनिन्छ कि क भनौ। राती उधो त्यो केटी किन घर बाहिर थियो? यसैले त्यसको बलात्कार भयो भन्ने वक्तब्य पनि जही तही सुन्नमा आउँछ। घरको कुखरा-बाख्रा सियालले खाइदेला भन्ने डरले खोरमा थुने झै नारी पनि खोरमा थुनिनु पर्ने र पुरुषहरू चाहिँ सियाल जस्तै शिकारको खोजीमा राती डुलीहिड्ने सादृश्यता पनि यहाँ पाइन्छ। फेरि घरमै पनि नारीहरू कत्तिको सुरक्षित छन् भन्ने प्रश्न पनि अत्यन्तै जटिल छ त यहाँ प्रश्न केवल रोकथामको छैन तर कसरी बलात्कार जस्तो अपराधलाई समाजबाट हटाउनु पर्ने हो, यसमाथि पनि छ र यो तब मात्र सम्भव छ जब प्रत्येक मानिसले नारीहरूलाई पनि आफु सरह मानिस ठान्छ र उसलाई पनि आत्मसम्मान साथ बाँच्ने अधिकारबाट वन्चित गर्दैन। 

     हाम्रो कानुन अनुसार देशको सबै नागरिकहरू, चाहे त्यो पुरुष होस् वा स्त्री एकै हो तर यो केवल किताब सम्म मात्रै सिमित छ कारण यदि साँचैनै नागरिकहरू मध्ये समानता भएको भए नारीहरू पनि निर्धक्क साथ बाच्न पाँउथे होलान्। घर, स्कूल-कलेज, कार्यालय, अस्पताल, बस, ट्रेन इत्यादिमा नारीले घरि घरि यौन अत्याचार, बलात्कारहरू सहन पर्ने थिएन होला। यसैकारण प्रत्येक चेतनशील नागरिकले नारीलाई पनि बराबर दर्जा दिनु पर्ने हो तब मात्र यो संसार बाँच्ने योग्य स्थान बन्नेछ। आधी आकाश नारीहरूले आधी धरतीमाथि पनि अधिकार पाउनु पर्छ।
संगीता खेवा

Saturday, February 2, 2013

लाजको सामर्थ्य


‘राष्ट्रिय लज्जा’ लाज,— यो अनुभूति आज धेरै भारतवासीले गर्दैछन्, बलात्कृत केटीको मृत्युमा। हालसम्म बलात्कारलाई विशेष गरि एउटा जघन्य अनि विकृत अपराधको रूपमा प्रकाशित गरियो, एउटा विचलनपूर्ण व्यवहार जो हामी बसेको समाजबाट जन्मेको त नहुनु पर्ने। त्यसो भए किन सम्पूर्ण समाजले यो लाज आभास गर्नु? यसले यही दर्शाउँछ कि यो लाजको भावनाले ओत-प्रोत समाजले यस्तो समास्याको गम्भीरतालाई लुकाउछ जसले गर्दा यसमा निहित दानवीय अपराधको पर्दा फास नहोस् र यसलाई शक्त कानुनी नियमको आवश्यकताको मुद्दा बनाएर धमिल्याइ दिन्छ। लाज भन्ने कुरो समाजसंग अभिन्न रूपले जोडिएको छ। 

     मार्क्स भन्छन्— लाज क्रान्तिकारी भावना हो। लाजले आत्मनिरीक्षण गराउछ, यसले आफू प्रतिको प्रतिरोध कम गराउछ। सायद अब भारतीयहरू आफ्नो समाज, परिवार, संस्थान, दैनिक जीवन, मुल्य, आफ्नो सभ्यता, आफ्नो सामान्य प्रकृति र आपसी सम्बन्धहरू निहार्न र त्यहाँ पितृसत्तात्मक वर्चस्व खोज्न इच्छुक छन्। भारतीय समाज जहाँ नारीप्रतिको हिंसा सामान्य कुरा हो, अनि जहाँ स्त्रीप्रतिको माया पितृसत्तात्मक छ, आज केहि कम भएको देखा पर्दैछ। तर उक्त भनाइ किटान गरेर भन्न सकिँदैन—यो स्वयमको स्तुति गरेझैं हुन्छ। आज स्त्रीप्रतिको हिंसा केवल बाहिरी समस्या हो र यो हाम्रो सामाजिक आदर्श देखि भिन्न कार्य हो भनेर भन्न सकिन्दैन। जब फ्रान्ज फानोनले फ्रेन्च उपनिवेशवादको आतंकलाई उजागर पारे, सात्रेले भनेका थिए कि फ्रेन्चहरू, जो धेर जसो उदार र मानवीय विचार भएका मानिसहरू हुन्छन्, उनीहरूले आतंक फैलाउनु लाज महसुस गर्नुपर्ने। यसरी नै बलात्कारको निम्ति यो पुलिस र त्यो मिनिस्टर भन्दै औला उठाउन भन्दा र कसैलाई दोष्याउनु भन्दा, सम्पूर्ण समाजले आफैलाई आत्मनिरीक्षण गरे के पत्तो लाग्छ भने यो त एउटा यस्तो समाजव्यवस्थाको उपज को जो एकदमै पितृसत्तात्मक छ, जहाँ पुरुषको आधिपत्य छ अनि महिलाको अधीनता।

     यो लाजले मुख्यधाराको मिडियालाई पनि सोच्न कर लागाएको छ। भारतको मुख्यधाराको दैनिक डा टाइम्स अफ इण्डियाले यसरी लेखेको छ "दिल्लीमा भएको सामूहिक बलात्कार पिडिताको सिंगापुरको एउटा आस्पतालमा शनिबार बिहान मृत्यु भयो। यस २३ वर्षीय निर्भाया (टि।ओ।आइ। –ले दिएको नाम)-को निधनले हामीलाई धेरै दुखित तुल्याएको छ साथै हामीलाई उसको पीडाको मूल कारणहरू खोज्न बाध्य गराएको छ—त्यो हो हाम्रो पुरुषप्रधान समाजमा नारीप्रति आदरको कमि" (दिसम्बर ३०, २०१२)। नारी प्रति अनादर, पुरुषप्रधान समाज, एकदम ठीक आवाज उठदै छ। र त्यही आवाज सुनिँदैछ पनि। मिडियाले त झन् सबै समक्ष प्रस्ताव पनि राखेको छ कि, आज हामी प्रतिज्ञा गरौ हामी नारीप्रतिको हिंसाबाट आफैलाई टाडा राख्नेछौ। तर यहाँ एउटा समास्या छ। यो "प्रतिज्ञा"-ले फेरि हाम्रो ध्यान यो समाजमा निहित आन्तरिक शक्तिको सम्बन्धबाट टाडो लाँदैछ जसले यो समाज बनिएको छ, त्यो शक्तिको प्रदर्शन र आधिपत्य जो धेरै पुरुषहरू स्त्रीको दमन गरेर गर्दछन्। अब मानिसहरू आत्ममनन गर्दैछन्। उनीहरू आफै जम्मै सम्बन्धहरू मिलाउदैछन् -- दुइ र दुइ एकै साथ राख्दैछन्। उनीहरू भित्रबाट महसूस गर्दैछन् कि क्यापिटल पनिसमेन्ट र मृत्यु दण्डले त केवल समाजलाई ढाक्ने काम मात्र गर्छ, यसको चरित्र मात्र लुकाउछ। "भारतकी छोरी" -ले गर्दा आज बिस्तारै भारत आफै पनि दोषीरहेको कुरा अघि आउदैछ।सम्पूर्ण परिवार, पुरुषवादका स्तम्भहरू, परिवारको सबै स्त्रीहरू, पितृसत्ताका पिडितहरू—अहिले यो बलात्कारको खबरले उब्जाएको विरोध हेर्दैछन र आफु पनि प्रेरणा पाएर प्रश्नहरू राख्दैछन् अनि बलात्कारको रोकथाम मात्र समस्याको समाधान होइन भन्न खोज्दैछन्। 

भारतको उदय
अब प्रश्न छ कि; के यो लाज पुरुषतन्त्रको विरोधमा आन्दोलन सुरु गर्ने केन्द्र हुन्छ? कि यो पनि एउटा ‘बलात्कारको लडाई’ बनेर भारतको थुप्रै लडाईहरू जस्तै ‘छुवाछुतको लडाई’, ‘गरिबीको लडाई’, ‘जातिको लडाई’ झैँ एउटा भएर जान्छ। मलाई त झन् लाग्दैछ ‘बलात्कारको लडाई’ पनि छिटो नै हाम्रो "कडा एडमिनिस्ट्रेटर" नरेन्द्र मोदीको शब्दकोषमा पर्नेछ –जो प्रधानमन्त्री बन्ने चेस्टा गर्दैछन्। मैले आफैलाई सक्की देब्रेपन्थी त भइ पठाएको छुइन भनेर डराए पनि त मैले धेरै प्लेकार्डहरू मा देखे त्यसमा लेखिएको थियो – यौन आतंकवादलाई रोक। बलात्कारलाई यौन आतंकवादसँग तुलना गरिँदैछ, एउटा बम ब्लास्ट जस्तै। यहाँ बलात्कारलाई बाहिरिकरण गरिंदैछ, जस्तै आतंकवाद सीमापारबाट एउटा नराम्रो दुश्मन आएर हाम्रो राम्रो समाजलाई आक्रमण गरेको जस्तै। 

     मैले चेतन भगतले भनेको सुने –यो कसरी ‘नयाँ भारतको उदय’ हो ---कसरी युवा श्रेणीले यो सभ्य समाजमा बसेर फ्यातुलो कानुन र यस्तो नराम्रो घटनाको विरोध नगरेको। "नयाँ भारत", "भारतको उदय" को तर्फबाट अपराधीहरूलाई मृत्युदण्ड "क्यापिटल पनिसमेन्ट" दिनुपर्छ भनेर हामी एउटा अत्यन्तै राम्रो समाज र भारतीय मुल्यको दन्ते कथालाई साँचो बनाउन खोज्दैछौ। के ‘भ्रस्टाचार विरोध’ पछि ‘बलात्कार विरोध’ भारतका ज्ञानी माथिल्लो मध्यम वर्गका मानिसहरूको नयाँ मुद्दा बनेको छ? यो लाजले मध्यम वर्गको आत्मविश्वास र आक्रामकतालाई कम गरेको छ। 

प्रारम्भिक आक्रोश 
प्रारम्भिक विरोधहरू यो लाज अनुभव गर्ने अन्तरमनन् को निम्ति भएको थिएन। प्रारम्भिक विरोधहरूमा धेरै आक्रोश थियो। त्यो आक्रोशको लक्ष्य थियो – शिला दिक्षित, गृहमंत्री, दिल्ली पुलिस, त्यहाँका निजी बस चालकहरू । यो आक्रोशले पहिला बाहिरी कुराहरूलाई औला ठढाउने काम गर्यो। यो मुख्यरुपले आफैलाई प्रश्न गर्ने खालको थिएन। प्रारम्भमा, यो बलात्कारप्रतिको विरोध – समाजमा रहेको पुरुषवादको दमनको विरोध थिएन। वास्तवमा बलात्कारलाई बाहिरी तत्व मानियो। सभ्य समाज देखि बाहिर, यसलाई एउटा अपराध, अपराधिक घटना वा भनौ भने यसलाई बलात्कारीको मनोविज्ञानबाट बुझ्ने चेस्टा गरियो, सामाजिक सम्बन्धको पृष्टभूमिबाट होइन। बलात्कारलाई एउटा अपराधीको मनोविज्ञानको फल दर्शाइयो तर यसलाई ‘पुरुषवादको समाजमा रहेका दमन’-को रूप दिइएन। 

     यसोसले "बलात्कारको रोकथाम" मा सामाजिक रूपान्तरणको कुरै आएन। यो त कुनै पनि अधिकारिक सङ्गठनको जिम्मेवारी वा दोष देखाएर पाउन सकिन्छ। तब नेता र पुलिसले यो समस्याको समाधान निकाल्नु पर्ने हो भन्ने कुरा सुन्न पाइन्छ। यसले समाजमा रहेको पुरुषवाद जसको अस्तित्व नकार्ने सकिन्दैन, त्यसलाई सबै दोषबाट मुक्त गरिदिन्छ। र साचोँ समाजलाई लुकाउँछ। यो उद्देश्य पाउनुको निम्ति यसले (समाजले) यहाँ ठुलो नाटक सृष्टि गर्नुपर्छ, अत्यन्त भावुक अनि आआफ्नो अनुहार लुकाउन बलात्कारीलाई मृत्यु भन्ने मन्त्र जप्दै यथार्तलाई बादलले ढाक्नुपर्छ। "बलात्कारीलाई फाँसी देउ " अनि समाजलाई यतीकै छोडिदेउ---यही हो लक्ष्य। यो मिथक राम्रो समाजलाई प्रश्न गर्नु हुँदैन। 

     त्यसैले यहाँ नारीप्रति हिंसा सधै हुँदैन। नारीप्रति हिंसा त एउटा दुर्घटना हो ---यो कहिले हुन्छ, को सँग हुन्छ थाहै पाइँदैन। नारीप्रतिको हिंसा यसरी यहाँ आकस्मिक असाधारण घटना बनाइन्छ। यो घटना १६ डिसेम्बर २०१२ –को राति घट्यो। यो घटना प्रत्येक दिन घट्छ, अर्थात् त्यहि दिन अर्कै ठाउँमा, सम्भवतः प्रत्येक घन्टामा घट्छ—तर जम्मै घटनाहरू भिन्न-भिन्नै हुन्। यी जम्मै घटनाहरूलाई दोषीहरूको पृष्टभूमि हेरेर व्याख्या गर्न सकिन्छ। उनीहरू झुपड-पट्टीमा बस्थे। त्यो बस जसमा त्यो केटी छाडेको थियो, त्यसको लाइसेन्स थिएन। तिनीहरू त्यस्तै किसिमका मानिसहरू हुन्। समाज यहाँ आफै न्यायाधीशको रूप लिन्छ अनि आफैलाई दोषबाट मुक्त राख्छ। यहाँ के अदृश्य राखिन्छ भने समाजले गर्दा नारीप्रति गरिएको हजारौं हिंसा, बलात्कार जो समाजको अभिन्न हिस्सा भइसकेको छ चाहे त्यो— नारिभ्रुण हत्या होस्, सतीप्रथा, दहेजले गर्दा मारिएको स्त्री, यौन अत्याचार, मेट्रोमा केटीहरूलाई जिस्काउने, विवाहभित्र बलात्कार देखि इज्जतको निम्ति मृत्युसम्म, यसको सुची निकै लामो छ। हिंसामात्र होइन--- यहाँसम्म कि नारीप्रतिको मायामा पनि पुरुषवादको दखल पाउनसक्छौ। एउटी उचित स्वास्नी, असल छोरी, आदरणीय स्त्री, आदर्श भारतीय नारी, महान आमा— यस्ता विचार, प्रवित्ति र झुकावले नारीहरूलाई सधैँ संकटतिर धकेलीरहेको हुन्छ, उनीहरूको आत्मविश्वास कम गराउछ अनि सधैँ डर र चिन्ता बनाइरहन्छ। यस्ता कुराहरू त झन् कहिले-काहीं घटेको अपराधहरू भन्दा डरलाग्दो हुन्छन्।

     यो आक्रोशले यी जम्मै कुराहरूलाई नदेखेको जस्तै गर्यो। तरै पनि यो आक्रोशले हामीलाई लज्जित भएको भावना दियो। यो लाजले पुरुषप्रधान समाजमा नारीमाथि पुरुषको शोषणको विरोधमा सडकमा, परिवारमा र ओछ्यानमासम्म आन्दोलन शुरु गर्न सक्छ। यसले समाजको समिक्षा गराउन सक्छ। यसले नारीलाई आफ्नो बुनियादी सुरक्षाको हक देखि अघि बढेर आफ्नो शक्ति, इच्छा, सोच अनि आफ्नो यौनतालाई स्वतन्त्र रुपमा उपयोग गर्नुमा सहायता पुर्याउन सक्छ। 

     आज यो पुरुषप्रधान समाजमा नारीहरू स्वतन्त्र छैनन्, उनीहरू बाँधीएका छन्। नारीलाई सानो बालकजस्तै असमर्थ बनाउन यो समाज अघाडी छ। भोलि गएर यो आन्दोलन सफल भयो भने पनि सायद यो कुरा बदलिँदैन होला। बरु यसले त अझै नारीप्रतिको असमर्थता बढाउनमा सहायता गर्नेछ। नारीहरू ‘सुरक्षित’ र ‘असमर्थ’ हुनेछन्। उदाहरणको निम्ति दिल्ली पुलिसले नारीहरूलाई यौन अत्याचारबाट बचाउनको निम्ति खट्छ भने पुलिसद्वारा भनिएको थुप्रै "के गर्न सकिन्छ र के गर्न सक्दैन" पनि नारीहरूले मान्नु बाध्य हुनु पर्छ। यस्तो उपायहरूले समाजमा नारीहरूको अंशग्रहण लाई प्रोत्साहित गर्छ कि गर्दैन?

सामाजिक दोष ?
उसो भए यो लाजको भावनालाई कसरी अगाडि बढाउने? के नारीवादीहरू सरकारसँग मिलेर कडा कानुन बनाउने काम गर्ने? एउटा राम्रो कडा कानुनको निम्ति शुरूवातमा नारिवादिहरू नारीप्रति भइरहेको हजारौ घटनाहरूको व्याख्या र विवरण दिन सक्छन् जस्तै-बेहुलीलाई जलाउने, दाइजोको निम्ति मृत्यु, यौन अत्याचारहरू इत्यादि इत्यादि। । नारिवादिहरू एउटा कडा कानुन बनाउनको निम्ति धेरै तथ्यांकहरू दिन सक्छन। तर के यो अहिलेको युग जहाँ कानुन र कुटनीति एउटा सरकारको फाइदाको निम्ति बनाइन्छ, त्यहाँ पुरुषतन्त्रलाई नाप्ने र दोषीले सजाई र पीडितले न्याय पाउन सक्छ? यदि हामीले यति धेरै पुलिस सुरक्षा माग्यौ भने नारीहरूलाई कर लाग्दैन होला यस्ता धेरै नियमहरू पालन गर्न जुन "तिमीहरूकै सुरक्षाको निम्ति" भनेर पुलिसले तयार पार्नेछन्।

     आज थुप्रै आवाजहरू शक्त कानुन, चाडो न्याय, बलात्कारीलाई कडा भन्दा कडा दण्ड, र एउटा बलियो देश हुनु पर्छ भनेर कराउदैछन्। सम्भवतः एउटा ‘तकनिकले युक्त’ अनि ‘सुरक्षा केन्द्रित’ समाधान चाँडै आउदैछ होला। नभए यो मुद्दा पनि १९ सौ शताब्दीदेखि चलिआएको एउटा " अधुरो सामाजिक सुधार " बन्नेछ। जसरी सतिप्रथाको विरोध, विद्वाले फेरि वैवाहिक जीवन अप्नाउन सक्ने ,छुवाछुतलाई हामी सामाजिक खराबी मान्छौं त्यसरी नै नारीप्रति हिंसा पनि सामाजिक खराबी भनेर चिनिनेछ। साँच्चै यो "सामाजिक खराबी" नै हो। तर के छुवाछुत जस्तै नारीहरू प्रतिको हिंसा पनि एउटा राम्रो समाजमा हानिकारक वृद्धि हो जस्तो गान्धीले सोच्थ्यो होला? या यो समाजको अभिन्न अंग हो?

     आज यो लाज, यो आन्दोलन एउटा कुशल नीति बनाउने, शक्त कानुन बनाउने विचारविमर्श तर्फ मात्र जान हुँदैन। यहाँ अझै कडा आक्रोश चाहिन्छ, यो लाज लाई दर्शाउन, यो समाजको आलोचना गर्न। आज यो आक्रोशलाई संकुचित पारेर—मंत्री, पुलिस, कडा कानुनसम्म मात्र सिमित नराखेर हामीले ती मुद्दाहरूपनि उठाउन पर्नेछ जहाँ नारीप्रति हिंसा र बलात्कार स्वयं सरकारले गराउँछ। उत्तरपूर्व र जम्मुकश्मीरको खबरहरू हेर्नुहोस्। अथवा राजस्थान राइफलले कुनान पोशपोरामा ३० जना महिलाको बलात्कार गरेको खबर। अथवा खैरलंजी मा एउटी दलित महिलाको बलात्कार र मृत्यु। यस्ता घटनाहरूको सुची धेरै लामो छ। यी घटनाहरू आकस्मिक, नराम्रो नीति र सामाजिक भ्रष्टाचारको फल होइन। यो त स्वयं सरकारले पितृसतात्मक हिंसाको माध्यमबाट आफ्नो शोषण चलाउन जानीबुझी चलाएको रणनीति हो।

सरोज गिरी 
(अनुवाद : पारस दाहाल)

Friday, February 1, 2013

चेली-बेटी बेचबिखान : एउटा सर्वेक्षण


चेली-बेटी बेचबिखान वा नारी तस्करी वर्तमान समयमा देशव्यापी मात्र नभएर विश्वव्यापी समस्या भएर अघि आइरहेको छ। विशेषगरी एसियाका देशहरू नारी तस्करीमा प्रसिद्ध छन् जस्तै कम्बोडिया, भियेतनाम, थाईल्याण्ड, नेपाल, बङ्गलादेश इत्यादि। यसै सन्दर्भमा भारतको अवस्थापनि साह्रै ठिक छैन। देशभरबाट तस्करी गरिएको चेलीहरू मुम्बई, कोलकाता, कानपुर, पुने इत्यादि स्थानमा ल्याइन्छन् र त्यहाँबाट कयौँ केटीहरू विदेशतिर पनि बेचिन्छन्। अस्ति-अस्तितिर खबरकागजमा तस्करीको कुराहरू पढेको अहिले त यस्तो तस्करी आफ्नै घर-आँगनमा आइपुग्यो। पहाडका गाउँ-बस्तिबाट नियमित रूपमा चेलीहरू बिक्री भैरहेछन्। 

     कहिले विवाहको झुठो आश्वासनमा फँसेर, कहिले काम गरेर दुई पैसा कमाएर घरमा सघाउ पुऱ्याउने आशाले, अचिना ठाँउमा बिरामी नानीलाई उपचार गराउन जानाले वा त्यसै घुम्न जाने रहरले। यी केटीहरू (नाबालिक र बालिक दुवै) लाई बेच्ने दलालहरू पनि फेरि टाढाका हुँदैनन् हिज-आज। यस्ता दलालहरू आफ्नै गाउँको, पल्लो गाउँको दाजु-भाई, काका-मामा, दिदी-बहिनी, फुपू— यहाँसम्म कि आफ्नै बाबु पनि हुनसक्छन्। 

     त यहाँ प्रश्न के उठ्छ भने किन चेलीहरूको बिक्रीबट्टाले द्रुतगति लिइरहेको छ? यस्ता तस्करिहरूको खास कारणहरू के के हुन् त? र कसरी यस्तो अमानवीय कार्यकलापलाई रोक्न सकिन्छ? 

     दार्जीलिंग जिल्लाको सोनादा, रङ्गबुल र जोरबङ्लातिर सर्वेक्षण गर्न जाँदा यस्ता बेच-बिखानको थुप्रै सम्भवत कारणहरू सामुने आयो। सर्वेक्षणमा स्कुल, कलेजका अध्यापक-अध्यापिका र छात्राहरू, राजनीतिसँग जोडिएको मानिसहरू अनि सडकमा हिडिरहेका वा दोकानेहरूसित प्रश्नहरू गरिएको थियो। धेरैजसो अध्यापक-अध्यपिकाको भनाइमा गरिबीले गर्दा, स्कुलको पढाई बिचमै छोडेर बसेकोले, आमा-बाबु अशिक्षित भएकोले, तस्करी गर्दा पक्रिएका मानिसहरूको विरुद्ध कडा कानुन भए मानिसहरू यस्तो काम गर्न डराउथे होला तर देशमा यस्तो कठोर सजायहरू नभएकोले यस्ता दलालहरूले ढाडस पाइरहेका छन्। र सबैभन्दा बेसी मोबाइल र इन्टरनेटले गर्दा केटीहरू यस्तो जालमा फँसिरहेका छन् कारण फोनमा वा इन्टरनेटमा साठी भएको अन्जान व्यक्ति सित भेट्न वा बिहे गर्न जाँदा धेरै केटीहरू बिक्रीबट्टामा परेका छन्। 
साधारण मानिसहरूसित कुराकानी गर्दा अर्को बलियो मत के आयो भने चेलीहरू बेच-बिखान हुनुमा स्वयम् तिनीहरूनै दोषी हुन्छन्। पहाडमा पश्चिमी सभ्यताको प्रादुर्भावले फेशनलाई पराकाष्टमा पुऱ्याएको छ। फेशनको निम्ति, राम्रो-राम्रो लुगा लाउन, नक्कल पार्न र नयाँ नयाँ उपकरण बोक्न केटीहरू यौन-व्यापारमा लाग्छन् र कतिजना त बेचिन पनि पुग्छन्। उता कतिपय विद्यार्थी र युवाहरूसंग बातचित गर्दा के पत्ता लाग्यो भने केटीहरू प्रायः सरकारी नोकरी गर्ने आर्मी युवकहरू प्रति आकर्षित हुन्छन् कारण सरकारी नोकरी भएको युवकहरू सित तिनीहरू आफ्नो भविष्य सुरक्षित देख्छन् र यसैको फाइदा उठाएर कतिपय दलालहरू आफैँलाई आर्मी भनेर केटीहरू फसाउँछन्, विवाहको झुठो आश्वाशन दिएर यिनीहरू ती निर्दोष केटीहरूलाई अनन्त अन्धकारमय संसारमा ठेली पठाउँछन्। 

     यसरी बेरोजगारी पनि बेच-बिखानको मुख्य कारणहरू मध्ये पर्छ। फेरि छात्रहरूको भनाइमा भने केटीहरू घरको दुख भुज्ने हुन्छन् र आर्थिक रूपले स्व-निर्भर हुन र अलिकति कमाई गरेर परिवारलाई सघाउ-पगाउ गर्ने उद्देश्यले काम गर्न बाहिर जाने हुदाँ बेचिन पुग्छन्। तर उक्त बातचितमा नाबालिक केटीहरूको यौन-उत्पीडन र बिक्रीको बारेमा प्राय सबैजना मौन रहेको पाइयो। 

     यी जम्मै बातचितहरूबाट नारी तस्करीमा बेसी जस्तो नारीहरूकै भुल हुन्छ भनेर देख्नमा आयो। नारीहरू प्रति भइरहेको यौन हिंसा, बलात्कार, बिक्री बट्टामा कतै न कतै नारीहरूकै दोष हुन्छ कारण कतिपय मानिसहरू नारीको इच्छाबिना बलात्कार हुन सक्दैन पनि भन्न हिच्किचाउँदैनन्। यसैकारण बेचिएको चेली कुनै कारणवश आफ्नो गाउँ-ठाउँमा फर्केर आए पनि समाजले उसको वहिष्कार गर्छ र उसलाई पहिलाको जस्तै माया र सम्मान दिंदैन र यही कारणले धेरैजसो केटीहरू नचाहेर पनि त्यही भुँवरीमा फँसिरहन्छन् र अन्त्यमा पशुसरह मर्छन्। 

     नारी बेच-बिखानको बजार बृहत् देखि वृहतम भइरहेको छ कारण संसारभरिको पुँजी यौन बजारमा खनिएको छ र यसमा ठुल्ठुला महारथीहरू संग्लन छन्, यसैकारण कानुनी रूपमा यसलाई रोकथाम गर्ने कुनै जमर्को ससार पक्षबाट गरिएको देख्न्दैन बरु यौन-कार्यलाई कानुनी मान्यता दिने जस्तो मांगहरू उठ्दैछ जसले नारी तस्करी निश्चित रूपले बढ्नेछ। यसकारण आजको दिनमा यो समस्यामाथि गम्भीर रूपले विचार गर्नु अत्यन्त आवश्यक भएको छ।

प्रियांका प्रधान र संगीता खेवा

[ यो एउटा सर्वेक्षणको रिपोर्ट मात्र हो यस विषयमा पत्रिकाको आउदो अंकहरूमा निश्चय पनि विस्ताररुपमा चर्चा गरिने छ। स.]