Saturday, April 15, 2017

अङ्क 22 : मार्च-मई 2017


सम्पादकीय : मार्च-मई 2017

कालोलाई कालो, सेतोलाई सेतो!


लाली गुराँस प्रकाशन कालले पनि पाँच वर्ष पुरा गर्न लाग्यो। सन् 2012 मा प्रकाशित भएको लाली गुराँसले नयाँ विचार, नयाँ सङ्घर्ष अनि नयाँ समाजको सपनालाई निरन्तरता दिइरहेको छ। पाँच वर्षको हिड़ाइमा लालीगुराँसले पत्रिकाको रूपमा मात्रै सीमित नभएर न्यायिक सङ्घर्षहरूलाई साथ दिँदै, अधिकारको आवाजलाई दह्रिलो तुल्याउदै आएको छ र उचित समाज स्थापनाको निम्ति हाम्रो सामाजिक-सांस्कृतिक-राजनैतिक पाइलाहरू जारिनै छ। लालीगुराँस पत्रिका अब लालीगुराँस समूहको रूपमा परिचित भइसकेको छ।    
कस्तो समयबाट हामी गुज्रिरहेका छौँ त? कस्तो समय बिताउदै छन् त हाम्रा मानिसहरू, हाम्रा समाज अनि हाम्रा देशले? एक करोड़ पन्ध्र लाखको देश। मुट्ठीभर धनी, ज्यादातर गरीब । शिक्षित कम्ती, ज्यादातर अशिक्षित। बेरोजगार छन् असंख्य, भोलिको दिनमा रोजगारको उपाय पाउनेछन् भन्ने ग्यारेन्टी नहुनेहरूको सङ्ख्या करोड़ौं छ। रोजगारको मौका, सही ज्याला, सम्मानसित काम गर्ने अधिकार क्रमशै दुर्लभ भइरहेको छ। त्यसबाहेक पनि समाजमा छ अझै हजारौँ हेलचेक्र्याइ! 
समाजमा चलिरहेको जातिगत-लैङ्गिक-जातपात-राष्ट्रियताको असमानता र नानाथरिका वर्चस्वले समाजको सही विकासको बाटोलाई नै रोकिराखेको छ। हामी, केवल हामीमात्रै किन, प्रत्येक सचेत व्यक्ति वा समूहले नै आ-आफ्नो प्रकारले यस निस्सासिने स्थितिबाट मुक्ति खोज्दै प्रगतिको बाटो हिँड़्ने प्रयास गर्छन्, अनि यो बाटो युक्तिसङ्गत विचारले मात्रै बनिन सकिन्छ।
तर यस अग्रगतिको बाटो हिड़्न समाजको बहुमतको चासो रहे तापनि यस हिड़़ाइलाई रोक्ने प्रयास गर्नेहरू पनि लछ्याप्रै छन्। सङ्ख्यामा तिनीहरू मुट्ठीभर भए तापनि तिनीहरू सत्ताको बलले शक्तिशाली, पैसाको जोरले प्रभावकारी, आममानिसका अज्ञानता र असहायताको फाइदा उठाउने मिथ्याचारी हुन्। 
जसको उदाहरणहरू हामी चारैतिर देखिरहेका छौँ। जुन जुन कुराहरू आममानिसलाई चाहिन्छ, त्यसलाई पुरा गर्ने त कुरै छैन बरु त्यसको विपरीतमा टुङ्गो न फेदको हाँस्यास्पद कुराहरूले मानिसलाई फसाउनु, जोरजबरजस्ती गरेर मागलाई दबाउनु, लोभ्याएर जनतालाई बाटो विचलित गराउनु आदि नै यी स्वार्थी शासकहरूको कौशल हो। 
आफै हेर्नु होस् न, जब पनि यस क्षेत्रमा उत्पीड़ित राष्ट्रियताको निम्ति बेग्लै राजनैतिक संरचनाको मांग छ, तब जातजातको बोर्ड गठन हुँदैछ। जब दार्जीलिङ्गमा आमजनताले पिउने पानीको समस्याको समाधान खोजिरहेका छन्। तब त्यही भएको अलिकति पानीको स्रोत मानिने टाइगर हिल्समा कङ्क्रिटको टुरिस्ट लज बनाउने कुरा चल्दैछ! चिया मजदुरहरूलाई न्यूनतम ज्यालाको त कुरै छैन पाउनुपर्ने सहुलियतहरू समेत काट्ने षड़्यन्त्र भइरहेको छ! बगानहरू सुचारू रूपमा चलाउनको साटो बेपर्वाह भ्रष्टाचारी मालिकहरूलाई छुट दिँदै मजदुरहरूलाई राहत मात्रै दिएर स्थितिलाई सामान्य बनाउने प्रयास गर्दैछ। तर यी सबै अधिकारको मागहरू र त्यसप्रति हेलचेक्र्याइको परम्परामा एउटा हुनेहरू र नहुनेहरूको द्वन्द्व छ, युक्तिसङ्गत चिन्तन र कार्यन्वयन प्रक्रिया छ। समाजको अग्रगति यो युक्तिसङ्गत विचार-चिन्तन-मनन र सङ्घर्षको बाटोबाटै बढ़्दै जान्छ। शासकहरूको लागि यो प्रक्रिया खतरनाक हो। त्यस कारण तिनीहरू यस युक्तिसङ्गत विचारको जगलाई नै कहिलेकाहीँ, खासगरी तिनीहरूका सङ्कटको घड़ीमा चकनाचुर पार्न खोज्छन्। आजको समय त्यस्तै एक अनुभवबाट गुज्रिरहेको छ। 
देशको केन्द्र सरकारमा सत्तारुढ़ शक्ति एकैसाथ उग्र-साम्प्रदायिक र पुँजीपतिहरूको दलाल हो। तिनीहरू सत्तामा बसेदेखि नै यस युक्तिसङ्गत विचारमाथि आक्रमण भयानक रूपले बढ़ेको छ। यस शक्तिले स्वतन्त्रता संग्रामको बेलामा देशसँग विश्वासघात गऱ्यो तर आज यही शक्तिले न्यायिक अधिकारको आवाज उठाउनेहरूलाई देशविरोधीको स्ट्याम्प लगाउँदै कुल्चन्दैछन्। समाजवादी र नास्तिक विचार बोक्ने भगत सिंहलाई आफूझैँ उग्र-राष्ट्रवादी देखाउन खोज्छन, तिनीहरूको शहीद दिवसको तारिकहरू समेत बद्ली रहेका छन् र भ्यालेन्टाइन्स डे सँग दाज्ने प्रयास गर्दैछन्! यिनीहरू रोजगारको माँग सामु गो-हत्याको कुरा दोहोऱ्याउछन्, गलत आर्थिक नीतिको कुरा अगाड़ि देशप्रेमको देखावटी गर्छन्। सही विकास किन नभएको प्रश्न गर्दा अल्पसंख्यकप्रति घृणाको वाक्य उच्चारण गर्छन्। देशको जाति-धर्म-भाषा-संस्कृति र मानिसको इतिहासलाई मनपरी प्रकारले फेरबदल गरेर आफ्नै व्याख्या सिकाउन खोज्छन्!
हाँसउठ्दो लाग्छ, तर यो युक्तिसङ्गत विचार प्रक्रियालाई, त्यसको विकासलाई खतम पार्ने षड़्यन्त्र हो। यस्तो घड़ीमा कालोलाई कालो, सेतोलाई सेतो भन्ने आँट देखाउनु नै समयको आवश्यकता हो !
  

चिया कथा

शमीक


त्यो शरद ऋतुको कुनै एक बिहान थियो। 
पेशोक चियाकमानको सुनमाया दिदीले हरियो पत्ती टिपेर घर चलाउने आशा त्यागिन्। गुरुङगाउँको घर-परिवार-समाज सप्पै छोड़ेर, छातीभित्र गुम्साएको दुख र हातमा पोकापंन्तरा बोकेर बाटो लागिन् र पुगिन् फुस्रो शहर गुड़गाउँ। 
उनलाई थाहै छैन, त्यहाँबाट केही घन्टाकै बाटो हिड़्दा आउँछ उसको चिया बगान मालिकको घर। घर त होइन, महल! चण्डीगढ़मा।  
 त्यो मालिक कहिल्यै पनि बगानमा आएका छैनन्। तर त्यसले कसलाई के फरक पर्छ र?
राज्यसभाको सत्रमा महिला अधिकारको सवालदेखि लिएर श्रम कानुन सुधार, आर्थिक वृद्धि वा देशको सुरक्षा— सबै कुरामा उसको सजिलोसँग पहुँच छ।
कानोवर दीप सिंह उर्फ के. डी. सिंह।
पुँजीको मालिक अनि राजनीतिको नेता, यसलाई बढ़़ो सुनौलो संयोग मान्दा हुन्छ। हरियाणाका करोड़़पति व्यक्ति, अलकेमिस्ट ग्रुपको बिगबोस्। 
बङ्गालकी मुख्यमन्त्रीले ठीकै चिनेकी थिइन्, उनलाई! पहिला झारखण्ड मुक्ति मोर्चाबाट उ राज्यसभा सदस्य भएको बेलामा भूतपूर्व मुख्यमन्त्री बुद्धदेब भट्टचार्यसँग उनलाई देखेर वर्तमान मुख्यमन्त्रीलाई लागेको थियो अरे, यिनी कुनै सज्जन व्यक्ति नै हुन्!
कस्तो रंगीचंगी राजनैतिक केरियर! अनि मुख्यमन्त्रीको मानिस नाप्ने नापदण्ड पनि कस्तो रमाइलो छ त! 
एकातिर लाखौं मानिसहरू अलकेमिस्टको जालमा फँसिरहेका छन्, अनि त्यसको मालिक बङ्गालबाट शासकदलको सांसद!
यिनीले दार्जीलिङका तीनवटा चिया बगानलाई चुसेर खोक्रो बनाई मजदुरहरूका ज्याला दिन ठप्प गरेका छन्। तरैपनि उनै प्रसिद्ध उद्योगपति अरे!
ब्लण्डर भएछ भनेर मुख्यमन्त्रीले तब नै बुझिन्, जब पर्दाफास भयो, उनको पार्टीका ठूल्ठूला नेताहरूको घुसखोरीको स्टिङ अपरेशन गराउनलाई यस के डी सिंहले नै पैसा दिएका थिए।
अब आएर त्यो मान्छेलाई मुख्यमन्त्रीले चिनिन् रे। यद्धपि सिंहको सांसद पद यथावत् नै छ।
उ विरुद्ध पुलिसले केस दिएको छ। तर हामीलाई त थाह छ, के डी झैँ हस्तीहरू सधैँ कानूनको, न्यायपालिकाको पहुँचबाहिर हुन्छन्। यो देश र राज्यमा यही सर्वोपरी यथार्थ छ, जहाँ ठूलाहरू कसैको पकड़मा आउनु गणतन्त्रकै हनन् हो। 
यसैकारण विजय माल्याहरू देशको पहुँच बाहिर छन्। के डी सिंहहरू राज्यको। तिनीहरूको निम्ति सेफ प्यासेजको कमी छैन।
सधैँ सेफ ह्याण्डमा रहन्छ तिनीहररूको व्यापारको साम्राज्य। त्यो पनि कानुनी-प्रशासनिक-राजनैतिक गद्दीमुनि सुरक्षित। 
सुनमाया दिदीहरूलाई यी तमाम गाह्रो कुराहरू के थाहा र? उनीहरूको सपना, पसिना र जीवनमूल्यको व्यापार गर्ने यी ठूला नेताहरूलाई राज्यले नै त संरक्षण गरिरहेको छ।
यता सुनमाया दिदीहरू भने चियाको बोटमा पैसा र जीवन दुइवटै नफुल्ने पक्का भएपछि गाउँबाट नै पलायन भइरहेकी छन्। उनीहरू पलायन हुँदा कहाँ कहाँ गड़बड़ी हुन्छ, जीवन, समाज र परिवारमा कस्तो असर गर्छ र छोराछोरीको भविष्यमा ग्रहण लाग्छ, न राज्यलाई थाहा हुने कुरा भयो न राज्यले संरक्षण गरिरहेको व्यापारीहरूलाई।
ट्राइडेण्ट भन्ने एउटा नयाँ कम्पनीले यी चियाबगानहरूका जिम्मेवारी लिएको छ भन्ने कुरा आयो। मौखिक कुरा। कुनै लेखाजोखा भएको छैन कतैपनि। के यो कम्पनी अर्कै कम्पनी हो? कि बेनाममा त्यही पहिलाकै मालिकको कम्पनी हो? 
उत्तर कतै छैन।
...
हामी साना मानिस हौँ। हाम्रो सपना तुच्छ छ, आशा नगण्य छ। त्यसैले हामी जटिल राजनीतिक समीकरणको रङ्गीचङ्गी हिलोमा बरू नडुबौं। 
गुड़गाउँको एक होटेलको मैला भान्साघरमा भाँड़ा माझ्ने सुनमाया दिदी, भान्साघरमा नै होलिन्। उनी चण्डीगढ़को त्यो महलअघि भीषण क्रोधसित उभिरहेकी पनि छैनन्। उनलाई सारा चलखेल पनि थाहा छैन। तर चिया टिप्ने सुनमायाले यति टाड़ो पुगेर माझ्ने भाँड़ा, कम्पनीको त्यो मालिक र मुख्यमन्त्रीबीच केवल रहस्य मात्र छैन। यस्ता कुराहरू छन्, जो नितान्तै ज्यानमारा छन्। 
...
ती कुरा छोड़ेर हामी बरु फर्कियौं तुङसुङको फ्याक्ट्रीतिर। 
पहाड़को काँखमा चियाबारीले घेरिएको अँध्यारो र शब्दहीन फ्याक्ट्रीमा अहिले मिसिन चल्दैन। छेउमा रहेको बालासन खोलाको एकोहोरो कलकल आवाज मात्र चलिबस्छ। दिनभरि। रातभरि।
अफिसको खातामा हिसाब लेख्दैगर्दा, पत्ती पेल्ने मिसिनबाट आएको आवाजमा खोलाको सङ्गीत मिसिँदा निक्कै रमाइलो लाग्थ्यो, आशिषलाई।
आशिष लामा। बगानको अफिसबाउँ। मारवाड़ी मालिकको बगानमा बङ्गाली अफिसबाऊको पुरानो चिनेको तस्वीर त जम्मै चियाबारी क्षेत्रभरि नै बदलिँदैछ। त्यस हिसाबले आशिष लामा त्यस्तो कुनै अपवाद त होइन। 
भर्खरै तीस वर्ष नाघेको आशिष, दार्जीलिङ सरकारी महाविद्यालयको केमिस्ट्री अनर्सको कोर्समा फाइनल ईयरमा पुगे तापनि त्यसलाई पुरा गर्न पाइरहेको थिएन, उसलाई अचानक काममा पस्नुपऱ्यो। 
तर काम चाहिँ आजकल छैन। 
फ्याक्ट्रीमा थुपारिएको छ, थुप्रै रेडी चियाको काटुन अनि यस अफिसमा जमेको छ धुलो, धुलो अनि धुलो। 
कामको मतलब अहिले कहिलेकाहीं कम्प्युटर खोलेर बकाया राशिको हिसाब अपडेट गर्नु र त्यसको प्रिण्ट आउट लिनु। दश करोड़ पुगिसकेको छ बाँकीको हिसाब। कुल तीनवटा बगानको। ज्याला र चिया मजदुरहरूका अरू पाउनुपर्ने सहुलियतको हिसाबले पाउनुपर्ने बाँकी राशि। यो कथा हो—‘दुतेरिया एण्ड कलेजभ्यालीटी इण्डस्ट्रीज प्राइभेट लिमिटेड’-को। 
सुनदह काटेर दार्जीलिङतर्फ जाँदा देब्रेतिर पहाड़को ओह्रालो डिलमा एकपछि अर्कोगर्दै आउँछ, दुइवटा बगान। ती दुइ बगानको नाममै कम्पनीको नाम। दुतेरियाकै चल्ती नाम धोत्रे। तेस्रो बगान पेशोक, जो अलिक पर, टिस्टाबजारको बाटोमा पर्छ। 
पहिले त यो बगान साह्रै व्यस्त थियो। बगानबाट पत्ती आउँथ्यो। त्यसपछि फ्याक्ट्री प्रोसेसिङ भएर दार्जीलिङको प्रसिद्ध अर्थोडक्स टी पुगिहाल्थ्यो देशविदेशमा। 
अफिसको भित्तामा ठूल्ठूला हरफले कोरिएको ‘इस्ट अर वेस्ट, मेक दुतेरिया द बेस्ट’तिर ट्वल्ल परेर हेरिरहन्छ आशिष। हातमा छ बाँकी हिसाबको प्रिण्ट आउट। डीएमलाई बुझाउन पर्छ भोलि बिहान। बिहानको गाड़ी चड़ेर घुमाउरो भत्किएको बाटोमा उकालो गएर पुग्नुपर्छ बजार, अर्थात् दार्जीलिङ शहर। फेरि छ बेलुकी फर्किनु। 
नयाँ डीएम। त्यसैले प्रिन्ट कागज बुझाउनैपर्ने छ। बुझाउनै पर्नेछ घटना-तथ्य-आँकड़ाहरू— सप्पै सप्पै। 
दुःख-निराशा-कुण्ठा-आशंकाको आँकड़ा हुँदैन। भए त त्यो पनि आशिषले बुझाउनेथ्यो! उसलाई त्यही हिसाबकिताबी कागज नै बुझाउनु छ। पहिला पनि कतिपल्ट बुझाएकै थियो। कुनै समाधान निस्किएन। यसपल्ट केही होला कि?
...
चिया बगानको जमीन सरकारको हो। कम्पनीहरूले त्यसलाई लीजमा लिन्छ। यसरी नै यी दुइवटा कमान पहिला गुडरिकको हातमा थियो, त्यसपछि टुब्रो, फेरि टुब्रोले नाम फेरेर अलकेमिस्ट भयो। एक दशक अघि। विगतका दुई वर्षदेखि चलिरहेको श्रमिकहरूको ज्यालाबारे निक्कै आनाकानीपछि पोहोरको अगस्टमा सिलगढ़़ी जोइण्ट लेबर कमिश्नर अफिसमा त्रिपक्षीय बैठक भयो।
अल्केमिस्टको प्रतिनिधिसँग भुइँफुट्टा ‘ट्राइडेण्ट’-भनिएको कम्पनीको प्रतिनिधि मिस्टर अग्रवाल पनि आए। अबदेखि बगान उनीहरूले नै चलाउने रे। उनीहरूले नै तिर्ने रे अल्केमिस्टको सप्पै बाँकी राशि। 12 किस्तामा। 
त्यही पलायो मजदुरहरूका आँखामा आशाको किरण! मालिकहीन बगानको विचल्ली परेका श्रमिकहरूले कमसेकम फेरि कुनै मालिक त पाए! यस्तो मालिक पाए, जसले बगान फेरि चलाउँछ अरे। बगान चलेपछि लथालिङ्ग बगानको जीवन फेरि ठिक हुन्छ अरे, फेरि फर्किन्छ खुशी— श्रमिकसित भएको आशा यही त थियो।
नयाँ मालिकको हातमा बगान हस्तान्तरणको औपचारिकता छोड़ेर, सबै ठामठिम भयो। किन भने हस्तान्तरणको कुरा प्रशासनिक हो, जुन सम्झौता केवल डीएम अफिसमा मात्रै हुनसक्छ। 
हस्तान्तरण त भइहालेको छैन, तर त्यही बैठकदेखि ती अग्रवाल नै हुन् यी तीन बगानका अलिखित मालिक अरे! 
उनको इ-मेल आउँछ। तर दुई वटा कम्पनीको नाममा। फोन आउँछ। तर पैसा चाँही त्यति आउँदैन। डीएम अफिसमा डाकिएको बैठकमा पनि आउँदैनन् नयाँ मालिक। केही समयपछि त न मेल आयो, न फोन आयो, न पैसा नै आयो।
श्रमिकहरू फेरि जिल्ल परे। डीएम कार्यालय धाउँदाधाउँदा हत्तु भए। बगान अचल नै छ, पैसा पाएको छैन। बगान खोल्ने न सुरसार छ, न मालिकको अत्तोपत्तो छ। 
यता बगान हस्तान्तरण औपचारिकरूपमा भएकै थिएन, उता सरुवा भए डीएम। 
त्यसपछि आएको नयाँ डीएमलाई त्यही हिसाबकिताबको फाइल पुऱ्याउन गइरहेको छ आशिष। पेशोक अफिसको अनन्त राईको पनि त्यस्तै काम छ। 
... 
अप्रेली रङ्गीन फूलहरू ढकमक्क छन्। लालीगुराँसका राता थुङ्गाहरूले नुहेको छ हाँगाहाँगा। पारिलो घाममा टल्किने कन्चनजङ्घाको ब्याकग्राउण्डमा ती नै फूल हेर्दै बङ्गाली टुरिस्टहरू जुन बाटो भएर गाड़ी कुदाउँदै लामाहट्टा तिर जान्छन, त्यसकै छेउमा छ पेशोक कमानको सुबे तामाङको घर। 
कन्चनजङ्घा होस् वा गुराँस, वा होस् टुरिस्टहरूका विस्मय-उच्छ्वास, त्यसले उनलाई जति छुन्छ, त्योभन्दा धेर बगानका हरिया पत्तीहरूले छुन्छ। किन भने सुबे तामाङलाई थाहा छ, मजदुरहरूका पसिना र रगतको सिँचाईपछि नै यी पत्तीहरू हरिया बनेका हुन्।
नयाँ पत्ती आइसकेको छ, बगानभरि नै। फर्स्ट फ्लश। कति महङ्गो बजार छ यसको। तर हिउँदमा गरिनुपर्ने कामहरू बगानमा केही गरिएकै छैनन्। न स्याहार गरिएको छ, न सुसार। न दबाई पानी भयो न फँड़ाई। कलमको काम पनि भएको छैन। जङ्गल र बनमाराले छाइसकेको छ जम्मै बगान। 
पहिला पनि बाह्र वर्ष बन्द थियो पेशोक चिया बगान। बन्दको बेलामा बगानको सिङ्गो फ्याक्ट्री आँखा अगाड़ि नै हावामा बिल्लियो। शेडदेखि जग, यहाँसम्मकि मिसिनहरू पनि खोलेर बेचिदिए ककसले। त्यतिखेर कसको पेटमा कति भोक थियो, कोसित कति लोभ थियो, कसको इशारा थियो, कसले आँखा थुनेर बसे? सुबेलाई यी कुरा सोच्दा पनि उथलपुथल हुन्छ। 
पहाड़े राजनीतिको चक्रव्यूहमा घुमिबस्नुको नतिजा सुबे तामाङलाई थाह छैन। बरु उसलाई थाहा छ— कति दिनको अन्तरालमा एउटै बोटमा नया पत्ती आउँछ। मौसम आर्द्र भएको बेला लोवर डिभिजनमा कति दिन पिछे ठिकैको पत्ती उम्रिन्छ अनि मजाले घाम भेटेको अप्पर डिभिजनमा कति दिन पिछे। चाय्ना बुशमा कति दिन र आसाम बुशमा कत्ति दिन पिछे— त्योपनि सुबे तामाङलाई थाहा छ। 
एक दशक अघि जब बगान खोलेको थियो, जोड़ियो धोत्रे-कालेजभेलीको कम्पनीसित, तब कस्तो खुशीको लहर चल्यो मजदुरहरू माझ! फ्याक्ट्री थिएन त के भयो, गाड़ीले पुऱ्याइदिन्थ्यो पत्ती धोत्रेको तुङसुङ फ्याक्ट्रीसम्म।
... 
लिफ शेडहरूबाट तुङसुङको फ्याक्ट्रीमा पत्ती आउँथ्यो घिर्लिङमा। त्यसपछि कम्पनीले घिर्लिङ बन्द गऱ्यो। खर्च ज्यादा भयो रे।
चियाबोटहरूको उमेर 50 वा 100 नाघेर जावोस्, तरैपनि बोटको अपरुटिङ भएन। रिप्लान्टेशन भएन। कमानको खाली ठाउँमा इनफिलिङ भएन। सहीप्रकारले पानीको व्यवस्था, दबाई छर्कने काम भएन। व्याङ्क लोनहरू स्याङ्कशन हुन्थ्यो भन्ने हल्ला चल्थ्यो, तर मालिकले बगानको काममा त्यो पैसा पठाउँथेन।
त्यसलेगर्दा बगान विकासको सवालमा म्यानेजर निर्देशहीन, एसिस्टेन्ट म्यानेजर-गार्डेन बाउहरू असहाय अनि मजदुरहरू अँध्यारोमा।
केवल बगान ‘नोक्सानमा चल्दैछ’ भन्ने हल्ला गुन्जायमान छ चारैतिर। बगान, अफिसदेखि लिएर ज्यालाको बैठक, विश्वविद्यालयको सेमिनारदेखि ऐनसभाको सत्र— सबै ठाउँमा त्यही नोक्सानीकै हल्लाखल्ला!
... 
अचम्भित हुन्छिन् सब्बु। सब्बु भुजेल। बगानको एकजना एसिस्टेन्ट म्यानेजर। बालासन खोलापारि धोत्रेको एकमात्रै डिभिजनको विशाल आलिसान बङ्गलोमा बसेर सब्बु सोच्छिन्, ‘किन चाँहि यो प्रोफेसनमा आएँ? टि म्यानेजमेन्ट कोर्स सकेपछि।’
अहिले बगानमा अँध्यारो घनीभूत हुँदैछ। अनिश्चित भविष्यले सवाल खड़ा गर्दैछ उनको केरियर अघि।
‘अब त जुनैपनि मालिक आउन्, ठुलो मुटु लिएर आउनुपर्छ। रातारात लाभ उठाउने लक्ष्य लिएर आउँदा हुँदैन,’— मनमनमा भन्छिन् सब्बु। आशाको किरणलाई उम्मिद गर्दै।
पहिले पहिले मिठाई बाँड़िन्थ्यो फर्स्ट फ्लशको बेलामा। त्यहाँदेखि नै शुरु हुन्थ्यो वर्षभरिको व्यस्तता। त्यसपछि सेकेन्ड फ्लश, बर्खाको टिपाइ, अटम फ्लश नाघेर आउँथ्यो हिउँदोको रित्तोपन। 
अहिले त जम्मै वर्षनै रित्तो छ।
... 
अहिले त्यही रित्तोपन च्यातचुत पारेर ‘रित्तो थाल’ जुलुसमा दह्रिलो आवाजसित हिड़ेका छन् यी तीन बगानका मजदुरहरू। पहाड़की रानी दार्जीलिङको अस्तव्यस्त बाटाहरूमा। तिनीहरू ढकढकाइ रहेछन् प्रशासनिक दफ्तर, श्रम अफिस, कोर्टको ढोका। घरि पहाड़बाट कुद्दै झरेर भेला हुन्छन् सिलगढ़ी कलेज छेउ श्रमबिभाग अफिस बाहिर। घरि टोलीसँग ट्रेन चढ़ेर पुग्छन् कलकत्ता, श्रममन्त्री सामु। 
यद्धपि उनीहरूले केही पाइरहेका छैनन्। पाएका छन् भने आश्वासन मात्रै पाएका छन्। उनीहरू ‘हेर्छु-गर्छु’ मात्र सुनेर फेरि फर्किएर जाने ठाउँ त त्यही अचल बगानको दिनदिनै झन् खाली, झन् शुन्य, झन् रित्तो हुँदै गरेको, कुइरोले घेरिएका बगानका घरहरू। बढ़्दै गइरहेको अभाव, नानीहरूको पढ़ाई लिएर अनिश्चितता, भविष्य लिएर दुश्चिन्ता, एक टुक्रा आँगनमा दुई-चारवटा पौधा, बेलुकी सस्तो जाँड़ अनि अशान्ति सधैँको साथी हुन् त्यहाँ।
...
बेलाबेला बगानमा कोही न कोही पुग्छन्। कि त मेडिकल क्याम्प लिएर। कि त राहत शिविर। अथवा कि त लाभदायक प्रस्ताव लिएर कुनै एनजीओ। कि त कुनै सरकारी स्कीम, अथवा कुनै बाटो बनाउने टेण्डर।
यस्ता बेलामा चासो देखाउनेहरू मध्ये कतिजना पार्टीको लागि खट्ने युवाहरू हुन्छन्। चाहे शासक पार्टीको होस् वा उनीहरूकै विरोधी। यिनीहरूले पार्टीमा पद, गोजीमा पैसा, यहाँसम्म कि आउने चुनावमा उठ्ने सपना सजाउँछन्! 
नयाँ मालिक आउने कुरा फैलिने साथ पर्दापछाड़ि जुन हिस्साको हिसाब चल्छ, त्यसमा न त उसले केही पाउँछ, न त उसलाई पत्तो नै दिइन्छ।
ट्राइडेन्ट कम्पनीका मालिक अग्रवालले सेटिङ गरेका छन् रे, पहाड़को शासकदलको नेताहरूसँग। यस्तो हल्ला छ। त्यसै हो भने पनि बगानका यी युवाहरूले त्यसको कुनै अंश हिस्सा पाउँछन् त? उसलाई यस्तो चलखेल बेको पनि पत्तो छैन। 
खेल त सधैँ माथि नै हुन्छ। माथिको लेभेलमा। माथिको पहाड़मा! 
...
यो खेल बगान मजदुरहरूको खेल होइन। मजदुरहरूले त बगानलाई बँचाउन पर्छ। आफुलाई बँचाउन पर्छ। यहाँका मानिसहरूलाई बँचाउन पर्छ। नानीहरूको भविष्य बँचाउनुपर्छ। 
तर खेलको नियमकानुन पहिल्यैदेखि तय छ। 
चण्डीगढ़ बस्ने महल मालिक। विदेशी कलेजबाट डक्टरेट डिग्रीवाला धनी मानिस। उनी चाँही किन कहिल्यै बगानमा नआए तापनि केवल पुँजीको ताकतले उ तीन-तीनवटा बगानका मालिक। हजारौं मानिसहरूका भाग्यनियन्त्रक। जो गरीबभन्दा गरीब मानिसहरूका सानो बचत पनि चोर्ने चिटफन्डमा घोटाला गरेर पनि मजाले खुल्ला घुमिरहेछन्। 
यो नै यस खेलको नियम हो! मालिकहरू, जसले कानुनको पन्नामा लेखिएको मजदुर अधिकारको कुरा जम्मै खोसिरहेका छन्, तरै पनि राज्यको, देशको कानूनले उनीहरूलाई छुँदैन। उनीहरूलाई पक्राउ गर्नु मानौँ ठूलो अपराध हो।
सन 1948मा मिनिमम वेज एक्ट लेखेतापनि यहाँका चिया श्रमिकहरूको लागि त्यो लागु नहुने इतिहास चाँही भारतवर्षको स्वतन्त्रता जस्तै पुरानो र मामुली भइसकेको छ। 
यो मालिकहरूको राज्य हो, श्रमिकहरूको होइन! यी कानून मालिकहरूको लागि हुन्, श्रमिकहरूको लागि होइनन्! जो अपराधी हुन्, शोषक हुन्, उनीहरूकै निजि सम्पत्ति रक्षा गर्न किन सधैँ तत्पर छ देशको पुलिस-प्रशासन-कानुन-संविधान?
...
के डी सिंहको घर अथवा अचेल सुनमाया दिदीको बसाई जुन हरियाणामा, त्यहाँ नै मारुती कारखानाका मजदुरहरूले न्यायिक र संवैधानिक अधिकारहरूको निम्ति सङ्घर्ष गरे। तर उनीहरूलाई नै झुटो केसमा फँसाएर पहिला जेल र त्यसपछि उम्रकैदको सजाय सुनायो अदालतले। 
मारुतीको सीइओ, सरकारी पीपी अनि न्यायाधीशहरूले जम्मै विचार प्रक्रियाको विभिन्न समयमा जुन जुन पनि बयान दिए, त्यसको निचोड़ थियो कि यो एक वर्ग युद्ध हो! यसो भएकोले श्रमिकहरूलाई छुट दिँदा विकासको शिकारमा निस्किएका लगानीकर्ता वा पुँजीका मालिकहरूमा गलत सन्देश जान्छ अरे!
त्यसो हो भने खटीखाने मानिसहरूमा कुन सन्देश जाँदैछ त? त्यसलाई लिएर त कसैको कुनै पर्वाह देखिएन। जब कि खटिखाने मानिसहरूका सङ्ख्या नै अधिकतम छ। उनीहरूको प्रतिक्रियालाई लिएर किन कुनै पर्वाह नै छैन? 
किन भने व्यवस्थाभित्र नै लुकेको छ धनी मानिसहरूको यस वेपर्वाहको रहस्य। पुलिस-प्रशासन-नोकरशाही-सरकार-ऐन-संविधानको घेराबन्दीमा सुरक्षित छ पुँजीको मालिक र उसको पुँजीको धड़्कनको लय।
...  
यी सप्पै कुरा सोच्दा रिङ्गटा लाग्छ धोत्रेको मनिनारायण प्रधान वा पेशोकको हर्कमान तामाङहरूलाई। आफूभित्र आत्मबिश्वास ल्याउन प्रतिज्ञा लिन्छन् उनीहरू। यो बगान वा बगानको फ्याक्ट्री तिनीहरू आफै चलाउन सक्छन् भन्ने विश्वास उनीहरू दुवैलाई आफ्नै उमेरका बुढ़ा चियाबोटका जराझैँ गहिरो छ। 
—‘सक्नुहुन्छ?’
—‘आपस्तमा झगड़ा हुँदैन?’
—‘फ्याक्ट्री चलाउने खर्छ जुटाउन साह्रो पो छ त!’
—‘मार्केटिङ कसरी गर्नुहुन्छ?’
अफसरहरूका प्रश्नभित्र लुकेको हुन्छ अवहेलना र व्यङ्ग्यहरू!
—‘सक्छौं! अनुमति दिनुहोस् न हामीलाई!’, यतिमात्रै उच्चारण गर्छन् दुवै। 
जो पुँजीको जोरले मात्रै मालिक बनेको छ, उसको हजारौं निकम्मापनको बावजुद पनि अफसरहरूले मालिकतिरै ढल्किएका हुन्छन्। 
—‘सक्नुहुन्छ?’ भन्ने प्रश्न आउँदैन तिनीहरूको लागि! तर यथार्थ त यही हो कि तिनीहरूले सकिरहेको छैनन्! 
फेरी त्यसको ठाउँमा रातारात आइरहन्छन् नयाँ नयाँ मालिक। उनीहरूसित न त बगान चलाउने कुनै योग्यता हुन्छ न त अनुभव। उनीहरू मालिक बन्छन् त केवल पुँजीको बलले। 
फर्स्ट फ्लशको हरियो पत्ती टिपेर बेच्दा मजदुरहरूले पनि केही पाउँछन् त। बगानको हेरचाह, स्यारसुसार पनि हुन्छ। फ्याक्ट्री चलाउन गाह्रो पनि हुँदैन। बगानको पत्ती, छेउको खोलाबाट निकालिने बिजुली, सबैप्रकारका काम थाहा हुने मजदुरहरू— सबै छन्। 
तर जबनै उनीहरूले आफ्नो सक्षमताबारे केही बोल्छन् तब यस्ता कत्ति हो कत्ति औपचारिक टालटुलहरू देखापर्दछन्। यद्यपी यी मजदुरहरूले आज बगान र फ्याक्ट्री आफ्नै हातमा चलाउने बाटो पनि सोचिरहेका छन्। 
त्यसो हो भने, के तिनीहरू एक्लै छन् त?
चिया क्षेत्रका विभिन्न ठाउँमा वर्कर्स कोओपरेटिभका सम्भाव्यताबारे पनि निरन्तर कुरा चलिबस्छ।
...
सिलगढ़ीको लेबर अफिसमा भेट भयो दिनाजपुरबाट आएका डङ्कन्स अधीनस्थ गोयालगछ बगानका श्रमिक-कर्मचारीहरूसित। धेरै वर्ष अघि बगान बनाउन आफ्नै जमीन दिएका थिए उनीहरूले। तर आज त्यही बगानको मालिक नै लापता छ। तीन वर्ष हुनआँट्यो, सबै ठप्प छ। फ्याक्ट्री श्रमिकहरूले नै चलाउन चाहन्छन्। उनीहरूसित त्यो सक्षमता पनि छ। तर...
यो ‘तर’ भन्ने शब्द आउँदै गर्छ आवर्ती दशमलव गणितझैं। चलिरहेको खोक्रो सिस्टमको निरस ओठको कुनाबाट! 
ठिक छ, कि त पुरानै मालिकले सुचारुरुपमा चलाउन् अथवा अन्य कुनै नयाँ मालिक नै आउन्। कि त सरकारले आफ्नै हातमा लिएर चलाउन् बगान र फ्याक्ट्री।
कुनै उत्तर छैन टेबुलको अर्कोपट्टिबाट!
अन्त यस्तो सम्भावना नै जब देखिन्न तब किन मजदुरहरूलाई चलाउन अनुमति नदिने?
जब पनि यो अन्तिम प्रश्न गरिन्छ, तब अकस्मात सशरीर, सपार्षद, सम्मान रक्षा गर्न टुप्लुक्क आइपुगिहाल्छन् सुसज्जित सहस्र अशोकस्तम्भ!
अचम्भित हुनबाहेक हामीसित कुनै विकल्प नै रहन्न।


कविता

मजदुर
बिनम रनपहेँली

मजदुर-1

चियाको कलिलो पत्ताले,
नअघाएका भुड़ीहरू,
ताँत लागेर हिमाल चड़िरहेकाछन्,
हिज-आज।

समतलका कार्वन-मोनो-अकसाईड्,
धसिएका अनुहारहरू,
सफा हुन चाहन्छन,
पहाड़को मट्टी-तेलले,
अनुहार धोएर।

प्रमात्रा-यात्रिँकीको सिद्धान्तलाई,
अलि-अलि फलाक्ने मुखहरूवाट,
साईबेरीयन हुन्डी निस्केर,
बत्याईरहेछ यी तातो धुलोहरूलाई,
एउटादेखि अर्को झ्यालतर्फ।

कालो-कात्रो ओड़ेको बिहान,
तीन बज्दै ढोका-ढकाउन आईपुग्छ,
कचेरा पुच्छदै फाटेका पत्लुनहरू,
जिजीबिशाको महाग्रन्थ पल्टाउछ ।।


मजदुर-2

सिन्कोनाका रूखहरू आफै,
उख्लेर.,.बसाई सरिरहेछन्,..
एउटादेखि अर्को....
जगंल...तर्फ।

चर्को घामँले सुकेका पत्ताहरूलाई...
अब सुकाउनैँ पर्दैन,
कुनै भारमा तेर्साएर।

खोलाहरू हत्तारिदैँ,,.
ओह्रालो कुदिरहेछ...
कति सपना र आकांक्षाहरू..
बगाउदै...
अर्थात...
भ्वाङ्गै परेको जिन्दगीको...
सिम्फोनी गाउदै..।

एउटा नाटकको प्रोटेगोनिष्ट...
सधैँ चिच्याउदै खोजिरहेछ...
नाटक सम्राट..बालकृष्ण समलाई...
उसको..नाटकमा भएको रोलको..
बिषयको..दुई मुट्ठी गुनासो...

पोख्नलाई,.. ।।




तिमी आईपुग्ने दिन
भिमा राई 'तोलाछा'

प्रिय!
निष्पट रात
सधैँ झैँ जोखिमपूर्ण आभाष
सधैँ सधैँ भीषण अन्धकारले 
निलेको आकास
यहाँ अरल्लिनु, क्याप्चिनु, 
बक्क् पर्नुको विपरीत
गाउँको सिह्रान डाँड़ामा
एउटा जबर्जस्त राँको बाली 
राखिएको छ।
अँध्यारोलाई टुक्रा टुक्रा गर्दै
काल-कालमा छुट्टाउँदै
बाटोहरूका ढुङ्गा फुटाउँदैछ
नानीहरू सँगै छन्
अनि अचम्म मानेका छन्
हिजोसम्म दर्शक बनेकाहरू
आज थपिएका छन्

प्रिय!
त्यो अघि बलेको राँकोमा 
अझ धेर सिटाहरू थपिएको छ
उज्यालोको आकार ठुलो भएको छ
हाम्रा सबै नानीहरू
कुरूप रातसँग डराउन छाड़े
आज तिमी आईपुग्ने दिन
हामी त्यही राँको मन्तिर
भेला भएका छौं।




चिया समस्या र पर्यावरण सङ्कट

लीलाबहादुर छेत्री


डुवर्समा चियाउद्योगको इतिहास सन् 1874-75 देखि शुरु भएको हो। दार्जीलिङमा सन् 1859 तिर धोत्रिया चियाबारी स्थापना गर्ने डा. रिचार्ड हटन अहिलेको ओदलाबारी ग्रामपञ्चायत अन्तर्गत रहिआएको गजलडुबाट 1874 देखि शुरु गरेका हुन्। त्यसपछि पश्चिम डुवर्सकै फुलबारी चियाबारी मिस्टर पिलान्स-ले स्थापना गरेका हुन्। त्यसपछि मिस्टर नर्थ-ले मिस्टर क्रेसवेल-को स्वामित्वमा बाग्राकोट चियाबारी स्थापना गरेपछि डुवर्समा चियाद्योगको विकास द्रूत हुनथालेको हो। डुवर्सको माटोमा चियाउद्योग फस्टाएपछि स्वतन्त्रतापूर्वसम्म जुन अनुपातमा चियाबारीहरू स्थापना गरिए त्यही रफ्तारमा स्वतन्त्रतापछि पनि विभिन्न इलाकाहरूमा चियाबारीहरू स्थापित भए। 
यसरी डुवर्सको विशाल भूभागमा चियाउद्योग फैलिएपछि हजारौँ मानिसहरूले रोजगारको अवसर पाए। घना वनजङ्गल फाँड़्नमा श्रमिकहरू भित्र्याइए, खटाइए। यहींको माटोमा वर्षौंदेखि यता बसोबास गर्दैआएकाहरू पनि खटिए सुन्दर भविष्यको सपना लिएर। यस क्रममा कतिपयले आफ्नो जग्गा जमीन गुमाए। त्यसभन्दा धेरै गुमाए साझा सम्पत्ति यहाँका वन जङ्गल। आज देखापर्नथालेको पर्यावरणमाथिको सङ्कटको शुरुवात पनि डुवर्समा चियाद्योगको आरम्भसितै भएको हो। बाक्लो वन जङ्गल फाँड़ियो चियागाछ लगाउनलाई। यद्यपि जङ्गल फाँड़िए पनि चियाबारीको हरियालीले यहाँको पर्यावरणमाथि सोझै असर भने पर्न पाएन। तर यसको दूरागामी भविष्यमा अवश्यै पर्नेछ। अहिले पनि त्यसको लक्षणहरू देखापर्नथालेको छ। खानेपानीको स्रोत सुक्नु अनि वर्षायाममा अत्याधिक भूस्खलन आदिजस्ता प्राकृतिक आपदा यही वन जङ्गलको फँड़ानीको परिणाम मध्येका एक हो। 
आज डुवर्सका अस्सी प्रतिशतभन्दा धेरै चियाबारीहरू अव्यवस्थित छन्। सशक्त मानिने कम्पनीहरूकोधरि स्थिति खस्किदै गइरहेको छ। यसमा डुवर्सको 7,500 हेक्टर क्षेत्रफलमा फैलिएको डङ्कन्स (हाल डङ्कन्स-गोइन्का समूह) कम्पनी लिमिटेड अधीनस्थ सबै चियाबारीहरूको स्थिति अव्यवस्थित छ। त्यसमा पनि पछिल्लो विधानसभा चुनाउको मुखैमा आएर केन्द्र सरकारले अधिग्रहणको पासो फ्याँकेपछि अलिपुरद्वार जिल्लाका यही समूह अधीनस्थ चियाबारीहरूको स्थिति पेचिलो बन्दैगएको देखिन्छ। यसरी अव्यवस्थित बन्दैगएका चियाबारीहरूमा पछिल्ला दुई तीन वर्षदेखियता आगलागीका घटनाले जोर पक्रिन थालेको छ। हराभरा देखिने चियाबारीहरू खरानी बन्दैगएको देखिन्छ। जसले गर्दा हजारौँ आश्रित मानिसहरूलाई चिन्तित बनाउनथालेका छ। यस्ता घटनाले भविष्यमा पर्यावरणमाथि गम्भीर सङ्कट आइपर्ने निश्चित छ। चियाउद्योगको शुरुवात बाक्लो वन जङ्गल फाँड़ेर गरिएको हो। पछिल्ला केही वर्षसम्म अघिसम्म वन जङगल फँड़ानी गरिएको ठाउँहरूमा चियागाछको सुरक्षार्थ रुखको बिरुवा लगाउने गरिन्थ्यो। तर अहिले आएर त्यसरी रुख बिरुवा लगाइने क्रम ठप्प भएको देखिन्छ। त्यसको सट्टामा चियाबारीमा रुख काट्न शुरु गरिएको देखिन्छ। विशेष गरी अव्यवस्थित चियाबारीहरूमा अवैध रूपमा र बाध्यतावश रूख काट्ने क्रमले यतिखेर जोर पक्रिएको देखिन्छ। पूर्व डुवर्सका बन्द र अव्यवस्थित चियाबारीहरूमा यो क्रमले उग्र रूप लिनथालेको बताइन्छ।   
डुवर्सका अव्यवस्थित चियाबारीहरूमा य़सरी नै रूख काट्ने क्रम जारीरहे आउँदा दिनमा डुवर्सका अधिकांश भाग मरूभूमिमा परिणत हुने लगभग तय छ। किनभने डुवर्सको सम्पूर्ण इलाका चियाउद्योगले ढाकेको छ। डुवर्सको हरियाली चियाबारीमा निर्भर छ। यस बाहेक डुवर्सका चियाबारीहरू वन्य प्राणीको सुरक्षाको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। डुवर्स संलग्न पहाड़ी वन जङ्गल पात्लिँदैगएको कारण डुवर्सका चियाबारीलाई आश्रय बनाउन आउने गर्दछ। त्यसैले डुवर्सका चियाबारीहरू आश्रित मानिसहरूका आयको स्रोत मात्र नरहेर अब परितन्त्रको प्रमुख अङ्ग भइसकेको मानिन्छ। 
 आज डुवर्समा जति चियाबारीहरू सञ़्चालित छन् प्राय: सबै चियाबारीहरूमा सिञ्चाई कार्य बन्द छ। वर्षाको पानीको भरमा चियाउद्योग कायम राख्ने प्रयास गरिँदैछ। यस बाहेक श्रमिकहरूको निम्ति आपूर्ति गरिने खानेपानी योजना पुरै बन्द छ। त्यसैले चियाबारी इलाकाहरूमा सरकारी तथा गैर-सरकारी तवरमा खानेपानी योजनाको निम्ति कुवा खनेर जमीनबाट पानी निकाल्न थालिएको छ। यसो गर्नाले पनि जमीन सुक्खा हुनथालको छ। चियाबारीलाई हिउँदमा आगलागीबाट जोगाउने एक मात्र उपाय हो सिञ्चाई। तर सिञ्चाई कार्य बन्द गरिएपछि चियाबारीहरूमा आगलागी जोर पक्रिन थालेको देखिन्छ। खासै सुधार आउननसकेका चियाबारीहरू अनि केही वर्ष बन्दको स्थिति झेलेर सञ़्चालन भएका चियाबारीहरूमा सुकौरो अहिले ठुलो सङ्कट भएको छ। यसरी सुकौरोले गर्दा आगलागी हुनथालेको हो। यसरी चियाबारीमा हुने आगलागीको घटना य़स वर्ष भने फरवरी महिना पनि राम्ररी बित्न नपाई शुरु भएको छ। फरवरीलाई आगलागीको महिना मानिन्न। यसरी फरवरी महिनादेखिनै चियाबारीहरू आगलागी चपेटमा आउनथालेकोले मार्च, अप्रेल र मईजस्ता सुक्खा महिनाहरूमा यो प्रकोप बढ़्ने आशङ्का व्यक्त गरिँदैछ। विशेष गरी पूर्ण रूपले बन्द रहिआएको चियाबारीहरू यस्ता आगलीको चपेमा आउनसक्ने सम्भावना बढ़ी छ। किनभने यस्ता चियाबारीहरू अव्यवस्थित छन्। आगलागीका घटनाले जोर पक्रिनुका कारण, अव्यवस्था र सिञ्चाईको निम्ति पानीको अभाव अनि आममानिसहरूमा हुनपर्ने पर्यावरण चेतनाको कमी पर्यावरणसित सरोकार राख्नेहरू मान्छन्। त्यसमा पनि व्याप्त गतिरोधलाई प्रमुख कारण मानिन्छ। चियासमस्यालाई लिएर विभिन्न सरकारहरूमा यसरी नै उदासीनता रहिरहे आगलागीले अझ जोर पक्रिने लगभग तय छ। 
यसै वर्षको 6 मार्चको दिन डङ्कन्स-गोइन्कासमूह अधीनस्थ बाग्राकोट चियाबारीको 31 नम्बर सेक्सनमा भीषण आगलागी भएको थियो। त्यस आगलागीमा चार हेक्टर बराबरको जमीनको चियागाछ नष्ट भएको अनुमान लगाइएको छ। त्यसको लगत्तै भोलिपल्ट मदारीहाट खण्डको बन्द लङ्कापाड़ा चियाबारीमा अर्को आगलागी घटना भएको प्रकाशमा आएको थियो। लङ्कापाड़ा चियाबारीको ईस्ट डिभिजनको 20, 24 अनि 26 नम्बर सेक्सनको प्रायः 25 हेक्टरमा रहेको चियागाछ नष्ट भएको बताइएको छ। त्यस अघि 24 फरवरीको दिन बन्दापानी चियाबारीमा पनि त्यस्तै आगलागीको घटना भएको थियो। 5 मार्चमा डुवर्सको अर्को चियाबारी रामझोड़ामा आगलागी भएको थियो। जुन चियाबारी बन्द अहिले अवस्थामा छ। पहाड़का चियाबारीहरू पनि आगलागीको घटनाबाट खासै सुरक्षित देखिन्न। 
साना-तिना आगलागीको घटना पहाड़का चियाबारीहरूमा पनि भइरहेको सुनिन्छ। पहाड़का चियाबारीहरूमा आगलागी भए तराई डुवर्सको तुलनामा अझ बढ़ी भयानक हुने देखिन्छ। यसै क्रममा गत मार्च 16 को दिन विश्व प्रसिद्ध मकैबारी चियाबारको बङ्ग्लो आगोको चपेटमा आएर व्यापक क्षति भयो। यस्ता आगलागी अहिलेलाई ने डुवर्सको निम्ति चिन्ताको विषय भएको छ। आगलागीको घटनाबाट यस इलाकामा धेरै चियागाछ नष्ट भएको तथ्य अघि आउन थालेको छ। पहिले पहिले यस्ता आगलागीका घटनाहरू कमै घट्थे। अति सामान्य आगलागीलाई सहजै नियन्त्रणमा ल्याउन सकिन्थ्यो। तर पछिल्ला केही वर्षदेखि यता यस्ता घटनाहरूले उग्र रूप लिनथालेको कुरो उजागर हुनथालेको छ। किनभने आगोलाई नियन्त्रणमा ल्याउनलाई अग्निशमन विभागको सहज उपलब्ध रहन्न। भौगोलिक अवस्थानले पनि आगो निभाउनमा अड़्चन उनेगरेको देखिन्छ। 
डुवर्सका चियाबारीहरू छेउछाउ वन जङ्गल छ। जुन जङ्गलहरूमा विभिन्न कारणहरूले बर्सेनि आगलागी हुने गर्दछ। यी क्षेत्रहरूबाट चियाबारीहरू आगोको चपेटमा आउन गर्दछ। भविष्यमा आगलागीको घटनाबाट डुवर्सका चियाबारीहरू जोगाउन नसकिए त्यसको प्रत्यक्ष असर विशेष गरी आश्रित मानिसहरूमाथि पर्ने छ। किनभने आश्रित मानिसहरू चियाबारीहरूमा सुधार आउने कुरोप्रति आशावादी छन्। विभिन्न सहुलियत सुविधाको कटौतीलाई सहेर चियाउद्योग जोगाउने प्रयासमा छन्। यस बाहेक यस्ता आगलागीको घटनाबाट पर्यावरणविदहरू पनि चिन्तित देखिनथालेका छन्। 
कालान्तरमा डुवर्स मरुभूमिमा परिणत हुने होइन भन्ने पर्यावरणको संरक्षणलाई लिएर सक्रिय गैर-सरकारी संस्थाहरूले चिन्ता व्यक्त गर्नथालेका छन्। अर्कातिर चियाउद्योगमा देखापरेको गतिरोधका कारण डुवर्स संलग्न वन्य सम्पदाहरूको उत्तिकै नष्ट हुँदैआएको देखिन्छ। आयस्रोतको माध्यममा देखा परेको सङ्कटबाट पार पाउन आश्रित मानिसहरू वन्य सम्पदाको दोहन गर्न समेत बाध्य बन्दैगएको तथ्य उजागर हुनथालेको छ। यसैले डुवर्सका चियाउद्योगसित लाखौँ मानिसहरूको जीवनवृत्त मात्र सीमित छैन। यससित पर्यावरणको वैश्विक समस्या पनि जोड़िएको देखिन्छ। 

राजनैतिक मूल्यको हत्या

छेवाङ योञ्जन

व्यक्ति, समाज र राजनीति
पोलिटिक्स इज ए डर्टी गेम’, ‘अबुइइइ आइ डोन्ट लाइक पोलिटिक्स’, ‘छ्या राजनीतिको कुरा नगर न यार’— मैले आजसम्मको पत्रकारिता जीवनमा सबैभन्दा धेर सुन्न पाइएको डायलग यही हो। हाम्रा धेर जसो युवाहरूका प्रतिक्रिया स्वरूप सुन्न पाउने ब्रान्डेड डायलग यही हो। एकातिर विध्वंशकारी राजनीतिले समाजलाई धुझा धुझा बनाइरहेको अवस्था छ। अर्कोतिर हाम्रै युवाहरू भने राजनीतिदेखि भागिरहेका छन्। यति बेला ठ्याक्क मलाई हृदयचन्द्र सिंह प्रधानको ‘सोझा’ निबन्धको ताजा स्मरण भइरहेको छ। जब हामी चुप बस्छौँ अनि आफ्ना जिम्मेवारीदेखि भाग्छौँ। यसैले समाजमा हामीले एउटा स्पेस छोड़िरहेका छौँ। जुन स्पेसमा हाम्रै मौनताबाट उब्जेका दानवहरूले आफ्ना रासलीला देखाउने गर्छन्। समाज, राजनीति वा जुनै पनि क्षेत्र होस् जब चेतनाले आफ्नै मुख बन्द गरेर बस्छ तब त्यहाँ राक्षसको जन्म हुन्छ। जसले युगौसम्म मौन चेतनामाथि आफ्नो विध्वंशकारी राज गरिरहन्छ। यसैले सोच्नुहोस् सुरुको तीनवटा डायलग हाम्रा निम्ति कति खतरनाक छ?
समाज परिवर्तनशील छ। प्राकृतिक रूपले नै समय अनुसार समाजमा परिवर्तनहरू भइरहन्छ। यसैले परिवर्तनशील समाजमा सकारात्मक र नकारात्मक दुवै थरीका प्रभावहरू देखा पर्छन्। यही परिवर्तनशील समाजको धरातलमा नै राजनीति उभिएको छ। राजनीति समाजको आत्मा हो। यसैले राजनीतिले समाजको प्रत्येक गतिविधि र गतिशीलतालाई मार्ग निर्देशन गरेको छ। 
विश्वमा समाज विहीन राजनीति त होला तर राजनीति विहीन समाज छैन। आम मान्छेले श्वास फेर्नुदेखि सपना देख्नु समेतमा राजनीति विद्यमान छ। कारण हामी जुन समाजमा बाचेका छौँ त्यो समाजको सामाजिक चेतना र वातावरणले मान्छेको मन अनि मस्तिष्कमा गहिरो प्रभाव पारेको हुन्छ। यसैले मान्छेले देख्ने सपना अनि व्यक्तिगत इच्छाहरूमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा राजनीतिले प्रभाव पारेको हुन्छ। 
एउटा व्यक्तिले यदि हिंसक सपना देख्छ भने त्यो उनी बाँचेको समयको सामाजिक चेतनाको उपज हो। त्यस थरीका सामाजिक चेतना उनको समाजको हिंसक राजनीतिले नै विकास गरेको हुन्छ। जस्तै आतङ्कवाद। आतङ्कवादीहरू हिंसामा विश्वास राख्छन्। किनभने उनीहरूले विकास गरिरहेको राजनीति नै आतङ्ककारी छ। फलस्वरूप उनीहरूको सामाजिक चेतना नै हिंसक छ। यसैले एउटा सिङ्गो आतङ्कवादीले केवल हिंसक सपना मात्र देख्छ। मर्नु र मार्नु नै उनीहरूको उद्देश्य हुन्छ। 
यसै कारण, व्यक्तिको सपना र उद्देश्य उनी बाँचेको समाजको चेतना अनि राजनैतिक गतिशीलताले सृजना गर्छ। यदि कुनै पनि मानिसले आफूलाई राजनीतिदेखि अलग ठान्छ भने त्यो उनको मुर्खता मात्र हो। मानिस सामाजिक प्राणी भएको कारण आफू बाँचेको समाज अनि त्यो समाजलाई परिरहेको राजनैतिक प्रभावहरूबारे बुझ्नु जरुरी छ। व्यक्ति, समाज र राजनीतिबीचको अन्तर्सम्बन्धको सारतत्व बुझुन् भन्नु नै यो पहिलो अनुच्छेदको आशय हो।  

मूर्ती र मौन समाज
सुरुकै पङ्क्तीमा भनिसकेको छु कि समाज परिवर्तनशील छ। तर यसै परिवर्तनशील समाजको धरातलमा रहेको हाम्रो राजनीतिमा भने किन परिवर्तन देखा पर्दैन त? हो म यहाँ दार्जिलिङ पहाड़को राजनीति मूल्य र गतिविधिहरूबारे चर्चा गर्ने प्रयास गरिरहेको छु। 
अर्द्धशताब्दी लामो छ दार्जिलिङ पहाड़को राजनैतिक इतिहास। यो हाल्फ सेन्चुरीमा अनेकौँ वैश्विक परिवर्तनहरू देखिसक्यौँ हामीले। पहिले आधुनिक उपकरणहरूको कल्पना समेत गर्नुसक्ने थिएनौँ। अहिले हात हातमै पृथ्वी बोकेर हिँड़िरहेका छौँ हामी। तर हाम्रो राजनैतिक गतिविधि, मूल्य र सोचमा भने कुनै प्रकारको परिवर्तन आएन। यस्तो हुनुको प्रमुख कारण हो हामी हाम्रो सामाजिक जिम्मेवारीदेखि टाढ़ा बस्नु। हामीले हाम्रो समाजलाई केवल जङ्गलबीचको हावाघर जस्तो मात्र ठानिरहेका छौँ। न त हामीसँग सामाजिक सङ्कल्प छ। न त हामीले आफ्नो राजनीतिक जिम्मेवारी नै बोध गरेका छौँ। राजनीतिक समाजको आत्मा त हो। तर हाम्रो समाजमा भने राजनीतिक प्रेतआत्मा विद्यमान छ। जसले केवल आम मान्छेलाई तर्साउने, दुख दिने, र थरिथरिका राजनैतिक रोगहरूले ग्रस्त बनाउने काम मात्र गरिरहेको छ। 
भन्नु नै हो भने हाम्रो राजनीति नै दूरदर्शी छैन। यसैले हाम्रो सामाजिक चेतना सीमितदर्शी भएको हो। यस्तो सीमितदर्शी समाजमा बाँचिरहेको कारण नै हामीले सपना पनि देख्न छोड़िसकेका छौँ। सपना विहीन मान्छेहरू निष्क्रिय हुन्छन्। उनीहरूलाई समाजसँग कुनै प्रकारको सरोकार रहँदैन। सपना नै नभएपछि उनीहरूमा केही गर्छु भन्ने गतिशीलता हुँदैन। 
आज आएर दार्जिलिङको सामाजिक स्थिति पनि सोही अवस्थामा पुगेको छ। न त दार्जिलिङले अग्रगामी सोच राख्छ। न नै हिंसक राजनैतिक प्रतिकार नै गर्छ। हामी मान्छे त हौँ तर मूर्तीजस्तै भएका छौँ। हामी मूर्तीजस्तै मान्छेको मूर्ती झैँ मौन समाज बनेको छ। त्यो मौन समाजलाई जो कोहीले पनि आफ्नो स्वार्थपूर्तिका निम्ति प्रयोग त गर्छन् नै। यसैले अहिले दार्जिलिङ राक्षसी राजनेताहरूको खेलाउना भइरहेको छ। तर हामी प्रतिकार गर्दैनौँ। किन कि हामी मूर्ती हौँ। हाम्रो समाज मौन छ। 

राजनीति कि सामाजिक दलाली
किन मूर्ती बन्यौँ हामी? किन मौन छ हाम्रो समाज?— तपाईँ आफैलाई यो प्रश्न सोध्नुहोस्। यसको उत्तर खोज्ने प्रयास गर्नुहोस्। हामी दार्जिलिङे हौँ। फेसनेबल छौँ। झ्याम-अप गर्छौँ। साथी-भाइसँग रमाइलो गर्नमा व्यस्त हुन्छौँ। दैनिक जस्तै रक्सी पसलमा अड्डा मार्छौँ । डाक्टर इन्जिनियरहरूको डिनर पार्टी लाइफ बेग्लै छ। आनन्दमय कफी मिट छँदैछ। कलेजको क्यान्टिन गफ उत्तिकै मिठो। रकिङ फ्रेसर्स वेलकम छँदैछ। सप्पै सप्पैमा एडभान्स छौँ हामी। तर यी सप्पै सप्पै कुराहरूदेखि हामीले हाम्रो सामाजिक अनि राजनैतिक मूल्यलाई भने टाढ़ा राखिरहेका छौँ। यस्तो फिल हुन्छ कि हाम्रा निम्ति समाज केही पनि होइन। राजनीति हाम्रो विषय होइन भन्ने सोचले नै आज हामी समाजदेखि टाढ़िँदै गइरहेका छौँ। 
कलेज सकेका युवाहरू कामको खोजीमा भौतारिरहेका छन्। नोकरी गर्नेहरू होम टु आफिसमा व्यस्त छन्। अवकाश ग्रहण गर्नेहरू आफ्नै सामाजिक प्रतिष्ठाको होड़मा छन्। साहित्य लेख्नेहरू आपासी गुटबाजीमा नै अल्झिरहेका छन्। सामाजिक कार्यकर्ताहरू प्रशासनिक बोझ उठाउनुमा नै मख्ख छन्। तर कसैले पनि बुझ्न चहाँदैनन् कि राक्षसी राजनीतिको कारण नै हाम्रो समाजमा यी तमाम विसङ्गतीहरू देखापरिरहेका छन्। 
राजनीति भनेको सामाजिक सिस्टम हो। जसको हातमा गतिशील समाजको लगाम हुन्छ। तर हामी भने दश प्रतिशत चाटुकार र स्वार्थी मानिसहरूको हातमा सारा सिस्टम सुम्पेर आफूलाई राजनैतिक जिम्मेवारीदेखि हटाइरहेका छौँ। राजनीति भनेको विमल गुरुङहरू, हर्कबहादुरहरू, आरबी राईहरूले मात्र गर्नुपर्छ भन्ने रूढ़िवादी सोचले ग्रस्त छौँ  हामी। यसै रूढ़िवादी सोचले हामीलाई मूर्ती बनाएको हो। राजनीति भन्नसाथ तर्सिने प्रवृतीले हामीलाई राजनीतिबारे गम्भीरता साथ सोच्न नै दिँदैन। 
राजनीति भन्नसाथ हामी एउटा दल अनि झन्डा मात्र बुझ्छौँ। यो गलत सोच हो। सुरुमा पनि भनेको छु। राजनीति भनेको समाजको धरातलमा उभिएको तत्त्व हो। यो समाजको आत्मा हो। तर झन्डा र दल कुनै पनि समाजको आत्मा बन्न सक्दैन। अझ दार्जिलिङको जस्तो दश प्रतिशत हुनेखानेहरूले नब्बे प्रतिशत हुँदा खानेहरूमाथि गरिरहेको गतिविधिलाई त पटक्कै राजनीति भन्न मिल्दैन। चाहे विमल गुरुङ होस् वा हर्कबहादुरहरू उनीहरूले केवल सामाजिक दलाली मात्र गरिरहेका छन्। हामी मूर्ती हौँ। हाम्रो समाज मौन छ। त्यसैले उनीहरूले आफ्नो सामाजिक दलालीलाई अझ सक्रिया र सशक्त बनिरहेका छन्। 
यही सामाजिक दलालीलाई नै हामीले राजनीतिको स्थान दिएका छौँ। उनीहरूले हाम्रा सामाजिक मौनताको फाइदा उठाउनुसम्म उठाइसके। हामी यसैलाई राजनीति ठानिरहेका छौँ। उनीहरूले हाम्रा मौनतामाथि टेकेर राजनीतिक मूल्यको हत्या गरिरहेका छन्। हामी उनीहरूलाई मौन समर्थन दिइरहेका छौँ। दार्जिलिङको अवस्थामा सचेत र अचेत दुवै दोषी छन्। 
अब निर्णय हाम्रो हातमा छ। यो समय राजनीतिको मुकदर्शक बन्न होइन। सामाजिक दलालीको हिंसक अनुहारलाई बहसको तहमा ल्याउने जिम्मेवारी आम दार्जिलिङेहरूको काँधमा छ। अब पहाड़मा स्वतन्त्र रूपमा राजनैतिक चर्चाको थालनी हुनु जरुरी छ। राजनीति मेरो विषय होइन भन्दै दश प्रतिशत औसरवादीहरूको हातमा आफ्नो समाज दान नगरौँ। सोचौ दार्जिलिङ यो निर्णायक मोड़ हो। अब हामीले आफै भित्रका हिटलरहरूलाई चिन्न जरुरी छ। किन कि जबसम्म हामी मौन बस्छौ तबसम्म हामीले नै सामाजिक अनि राजनीतिक मूल्यको घाँटी रेटीरहेका हुनेछौँ।

सिरिया युद्धले बल्दैछ

विशाखा सेवा

रासायनिक ग्यासको उपयोगले, वा हवाई हमलाले सिरियामा नानीहरू लगायत असंख्य मानिसको मृत्युको फोटोहरू इन्टरनेट, पत्रिका वा टिभीमा हेर्दै हामी अचम्भित हुन्छौँ! के चल्दैछ त सिरियामा? के हो यसको इतिहास?

इतिहासको पन्नाबाट : युद्ध कसरी शुरु भयो त?
सिरियामा राष्ट्रपति बशर अल-असद विरुद्ध 6 वर्ष अघि शुरू भएको शान्तिपूर्ण विरोध अहिले गृहयुद्धमा परिणत भयो, जसमा अहिलेसम्म 3 लाख मानिसको मृत्यु भएको छ। यस गृहयुद्धमा जम्मै देश बर्बाद भइरहेको छ अनि संसारको ठूलठूला शक्तिशाली देशहरू पनि आपस्तमा लड़िरहेको देख्न पाइन्छ।
सङ्घर्ष शुरू हुनु अघि बेरोजगारी, व्यापक भ्रष्टाचार, राजनीतिक स्वतन्त्रताको अभाव अनि राष्ट्रपति बशर अल-असदको दमन विरुद्ध निराशा छाएको थियो। अरबको देशहरूमा सत्ता विरुद्ध शुरू भएको विद्रोह 'अरब स्प्रिङ'ले प्रेरित भएर मार्च 2011मा सिरियाको दक्षिणी क्षेत्रमा लोकतन्त्रको समर्थनमा आन्दोलन शुरू भएको थियो। असद सरकारले यस आन्दोलनलाई कुल्चन क्रूरता देखाउदा जम्मै सिरियामा नै विरोध-प्रदर्शन शुरू भयो अनि  बशर अल-असदको राजीनामाको माग उठ्यो। 
आन्दोलन लगातार बलियो हुँदै गयो अनि विरोधिहरूले हतियार उठायो। शुरुमा यी हतियारले आफ्नो सुरक्षा र त्यसपछि सरकारी बलहरूलाई खेदाउन थाल्यो। असदले यस विद्रोहलाई ‘विदेश समर्थित आतङ्कवाद’को संज्ञा दिएर यसलाई कुल्चँदै फेरि देशमा आफ्नो नियन्त्रण कायम गर्न खोज्दै थियो भने विद्रोहिहरूले पनि निर्णायक  लड़ाईको तयारी गरे। 2012 तिर सिरियामा गृहयुद्ध जोरतोरले हुनथाल्यो भन्दा हुन्छ। सयौँ विद्रोही गुटहरूले एक समानन्तर व्यवस्था स्थापित गऱ्यो, अनि यस लड़ाई असद र विरोधीहरूको मात्रै नभएर यस लड़ाईमा क्षेत्रीय र संसारको ठुलो ताकतहरू, जस्तै ईरान, रूस, सऊदी अरब र अमरीकाको सिधा हस्तक्षेप देखापऱ्यो। यिनीहरूले  असद अनि उनको विरोधीहरूलाई सैन्य, वित्तीय अनि राजनीतिक समर्थन दिनथाल्यो। सिरिया संसारका एक छद्म युद्ध मैदान भैदियो।
शिया बनाम सुन्नी
बाहिरको यी देशहरूमाथि सिरियामा साम्प्रदायिक भेदभाव उक्साउने आरोप पनि छ।  सुन्नीबहुल सिरियामा राष्ट्रपति बशर अल-असद शिया हुन्, अनि यस सङ्घर्षमा शिया बनाम सुन्नीको पनि स्थिति बनिहाल्यो। शिया बनाम सुन्नीको खाड़लले गर्दा अत्याचार झन् बढ़्यो, र मानिसहरूको मृत्यु मात्रै होइन, सम्पूर्ण समुदायहरू बिच बनिएको मुठभेड़ रोक्न सम्भावना नै देखापरेन। जिहादी ग्रुपहरुले पनि यस विभाजनलाई उपयोग गर्न थाल्यो। हयात ताहिर अल-शमले अल कायदासँग जोड़िएको सङ्गठन अल-नुसरा फ्रन्ट सित गठबन्धन बनाएर सिरियाको उत्तरी-पश्चिमी राज्य इदलिब-माथि नियन्त्रण कायम गऱ्यो।
इस्लामिक स्टेटको प्रसार
अर्कोतर्फ कथित इस्लामिक स्टेटले उत्तरी र पूर्वी सिरियाको धेरै क्षेत्रमाथि कब्जा गऱ्यो। यता सरकारी बलहरू, विद्रोही गुटहरू, कुर्दिश विद्रोहीहरू अनि रूसी हवाई हमलाहरूसँग अमरीकी नेतृत्ववाला गठबन्धन देशहरूका सङ्घर्ष शुरू भयो। ईरान, लेबनान, इराक़, अफगानिस्तान र यमनबाट हजारौँको सङ्ख्यामा शियाहरू सिरिया आर्मीको तर्फबाट लड़्न पुगे, उनीहरूको ‘पवित्र जगहʼ रक्षा गर्न। असदलाई साह्रो भयो, उसले आफ्नो नियन्त्रण हासिल गर्न विद्रोहिहरूले कब्जा गरेको क्षेत्रहरूमा सेप्टेम्बर 2015 देखि हवाई हमला शुरू गरे। 
रुस-ले असदलाई खुल्ला साथ दियो
रुसको भनाई के छ भने हवाई हमला केवल आतङ्कवादीहरूमाथि हुँदैछ, जब कि अर्कोतिरबाट यस हमला पश्चिमी देशहरूको समर्थनवाला विद्रोही ग्रुपहरूमाथि हुँदैछ भन्ने आरोप छ। 6 महिना वाद रुस प्रेसिडेन्ट पुतिनले उनीहरूका मिशन पुरा भइसक्यो भन्दै सिरियाबाट आफ्नो सैन्यबल फिर्ता हुनेछ भन्ने सूचना दिएका थिए। वास्तवमा, रुसी सहयोगले गर्दा नै विद्रोहिहरूको कब्जामा डिसम्बर 2016 देखि रहेको एलप्पोमा असदले फेरि नियंत्रण कायम गर्नसकेको थियो। 
अमेरिकाले विरोधीहरूलाई सहयोग गर्दैछ
अमरीकाले सिरियाको यस स्थितिको लागि जिम्मेवार असदलाई नै ठहऱ्याउँछ। 2014 देखि अहिलेसम्म अमरीकाले सिरियामा धेरैपटक हवाई हमला गरिसकेको छ। सुन्नीबहुल सऊदी अरबले दिलोज्यानले ईरान (शियाबहुल) विरुद्ध सिरियामा विद्रोहिहरूलाई सहयोग गर्दैछ। सऊदी अरबले इस्लामिक स्टेटलाई पनि असद विरुद्ध सहयोग पुऱ्याउदै छ। तुर्कीले पनि असद-विरोधीहरूलाई समर्थन दिँदैछ। 
संयुक्त राष्ट्रअनुसार विगतको पाँच वर्षमा कमसेकम 2.5 लाख मानिसको मृत्यु भएको छ। अगस्त 2015 पछि यूएनले त मृत्युको सङ्ख्या अपडेट गर्नै छोड़्यो! कसैले 3.21 लाखको मृत्यु, कसैले त 4.7 लाख मृत्युको कुरा गर्छ। 50 लाख मानिसलाई सिरियाबाट भाग्नु पऱ्यो, जसमा महिला र नानीहरूको संख्या धेर छ।  
कहिले अन्त हुने त यस्ता सङ्कटहरू?

खुशीयाली घटेको घटेकै छ, असमानता बढ़ेको बढ़ेकै छ !

निकिता लामा

संसारका जम्मै देशहरू मध्ये भारतले एक प्रमुख दुखी देशको दर्जा हासिल गरेको छ। आकड़ा अनुसार, यहाँसम्म कि पाकिस्तान वा बङ्गलादेश भन्दा पनि भारतमा खुशियाली कम्ती नै छ!  

संयुक्त राष्ट्रले पेश गरेको वर्ल्ड ह्यापीनेस रिपोर्ट 2017-अनुसार भारतको क्रम 122 छ, जब कि विगत वर्ष भारतको स्थान 118 मा थियो। चीन, पाकिस्तान, नेपाल वा इराक जस्ता देशहरू पनि भारतभन्दा अगाड़ि नै छन्।  यस रिपोर्टअनुसार नर्वे संसारको सबभन्दा खुशीयालीको देश हो। त्यसपछि क्रमैले डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड अनि त्यसपछि  फिनल्यान्ड। अर्कोतिर, सेन्ट्रल अफ्रिकन रिपब्लिक यस तालिकाको सबभन्दा तल छ। 
भारतको छिमेकी आठवटा देशहरू अर्थात् सार्क देशहरू मध्ये पाकिस्तान 80 नम्बरमा, भुटान 97मा, नेपाल 99मा, बङ्गलादेश 110मा अनि श्रीलङ्का 120औ स्थानमा छ। माल्दिभ्सको आँकड़ाहरू यस तालिकामा छैन। त्यसोभए, सार्क देशहरूमध्ये सबभन्दा दुखी देश भारत नै हो!
यो तालिका बनिन्छ आय, आयु-सम्भाव्यता (life expectancy), सामाजिक सुरक्षाहरूलाई मानिसहरूले कतिको महत्त्व दिन्छन्, व्यक्ति-स्वतन्त्रता अनि  समाजको उदारतामाथि। यस रिपोर्टमा अझ प्रतिव्यक्ति आय, सामूहिक विश्वास अर्थात् सरकारी कामहरू र व्यापारहरूमा भ्रष्टाचारहीनता, अनि सामाजिक-आर्थिक असमानतालाई पनि गनिन्छ। हाम्रो देशमा यी सबै मापदण्डको हालत कस्तो नराम्रो छ, त्यो त हामी सबैलाई नै थाहा छ। यसै सन्दर्भमा आइपर्छ अझै एक रिपोर्टको कुरा।  
अमेरिकाको फोर्ब्स म्यागजिनले संसारका अरबपतिहरूको तालिका प्रत्येक वर्षझैं यसपालि पनि हालैमा प्रकाशित गऱ्यो। भारतको मुकेश अम्बानी संसारको 33औ धनी मान्छे हो, उसको सम्पत्तिको परिमाण 1,51,299 करोड़ रुपियाँ! जब कि 26 करोड़ भारतीयले महिनामा 2400 रुपियाँ कमाउछन्! अदानी ग्रुपको स्थापना गर्ने गौतम अदानीको सम्पत्तिको परिमाण 42,410 करोड़ रुपियाँ। अम्बानी र अदानी दुवैजना हाम्रो देशमा सत्तारुढ़ भाजपाको खास पृष्ठपोषक हुन् भन्ने कुरा त हामी सबैलाई नै थाहा छ! 
मोबाइल वालेट पेटीएमको मालिक विजय शेखर शर्माको स्थान 1567मा छ भने उसको जम्मा सम्पत्ति 8,481 करोड़ रुपियाँ हो। फोर्ब्सअनुसार, नोटबन्दीको निकै फायदा पेटीएमले उठाएको छ। यस तालिकामा 814 औ स्थान लिएर प्रवेश गरेको छ आचार्य बालकृष्ण, जो योग गुरु रामदेवको साथी र पतन्जली आयुर्वेदको 97% सेयरको मालिक हो। उसको जम्मा सम्पत्तिको परिमाण 1631 करोड़ रूपियाँ हो।  
यस तालिकामा सर्वोच्च स्थानमा लगातार चौथोपटक आएको छ माइक्रोसफ्टको प्रमुख बिल गेट्स। अमरिकी प्रेसिडेन्ट डोनल्ड ट्रंप 544 औ स्थानमा छ, उसको सम्पत्ति 3.5 बिलियन डलर। अमेरिकामा अरबपतिको सङ्ख्या 565 जना हो भने चीनको 319 जना, जर्मनीको 114 जना र त्यसपछि अरबपतिको सङ्ख्याको हिसाबले चौथो स्थानमा भारत छ, 101 जना अरबपति लिएर! जुन भारतमा 57 जना अरबपतिको हातमा जति सम्पत्ति छ, कुल जनसंख्याको तल्लो स्तरको 70% को हातमा पनि त्यतिनै छ! 
देशमा जहाँ यति धेर सम्पत्ति भएको मानिसहरू छन् अर्को तिर धेरै सङ्ख्यामा साधारण जनतालाई भने दिनमा 20 रु. कमाउनु पनि गाह्रो छ। सरकार बदलिदै गर्छ, तर देशको खुशियाली हराउदै जादैछ भने असमानताको खाड़ल दिनदिनै बढ़िरहेको छ!

रुसी नोभेम्बर क्रान्ति शतवार्षिकीमा रुस, हंगेरी रोमानिया र पश्चिम जर्मनीका मानिसहरू भन्छन्— "समाजवादी व्यवस्थामा हुँदा जीवन असल थियो"

सुमित्रा तामाङ

यस वर्ष रुसी क्रान्तिको शतवार्षिकी हो। सन 1917मा नोभेम्बर क्रान्तिले गर्दा रुस देशमा संसारको प्रथम समाजवादी व्यवस्था कायम भएको थियो। त्यसपछिको अवधिमा निकै उथलपुथलको ओह्रालोउकालो बाटो भएर त्यस व्यवस्थाको पतन पनि भयो। त्यसमाथि गहिरो र विस्तृतरूपमा चर्चा र समीक्षाको आवश्यकता त छदैछ। तर सयवर्ष अघि यस व्यवस्थाको स्थापना सितै धेरै अभूतपूर्व घटनाको साक्षी भएको थियो त्यसताका संसार। शिक्षा-स्वास्थ्य-रोजगार-वासस्थानको प्राथमिक कुराहरूको समाधानदेखि लिएर विचार-दर्शन-विज्ञान-खेलकुदमा सराहनीय विकास भएको थियो पछौटे रुस देशमा, समाजवादी कार्यक्रमहरूका कार्यन्वयनबाट। 

तर कुनै पनि व्यवस्थाको सफलता त्यस व्यवस्थाभित्र बसेका आममानिसहरूको जीवनको मान, दिनहुँ जीवनको अनुभव, नीति-योजना निर्माणमा भागीदारी, गणतन्त्रको व्यवहार, सामूहिक सशक्तिकरण आदि कुराहरू माथि निर्भर गर्छ।
आजको संसारमा अनि नोभेम्बर क्रान्तिको शतवार्षिकीको बेलामा ती अनुभवहरूलाई पछि फर्केर हेर्नु जरुरी छ। भूतपूर्व समाजवादी देशहरूमा हालैमा गरिएको धेरै जस्तो समीक्षाले साबित भएकै छ कि रसिया अनि पूर्वी युरोपेली देशका धेरै जस्ता मानिसहरूले उनीहरूको जीवन प्रतिक्रान्ति र पुँजीवादको पुनस्थापन भन्दा अघिनै असल थियो भनी सोच्छन्। देशमा समाजवाद रहदा तिनीहरूको धेरै समस्याहरू समाधान हुनेगर्थ्यो, जस्तै— निःशुल्क शिक्षा, स्वास्थ्य सम्बन्धी सुरक्षा, सामाजिक सुरक्षा,  हरेकको लागि बिदाको बन्दोबस्त इत्यादि। तर पछि पुँजीवादको पुनस्थापनले यी सबै क्षेत्रबाट आम जनताको जीवनमा एउटा अचम्मको परिवर्तन ल्यायो, जस्तै— सामाजिक असमानता, गरिबी, बेरोजगारी, सबै क्षेत्रमा आमजनताबाट हक छिन्नु, सुविधाहरू सार्वजनिक देखि निजी हुँदै गयो।
मार्च 2016 मा ऑल रसिया पब्लिक ओपिनियन सेन्टरले सर्वेक्षण गरेका थिए र तिनीहरूको आँकड़ा अनुसार 64% भन्दा ज्यादा जति रुसीहरूले भविष्यमा रेफरेन्डम भयो भने सोभियत युनियनको समाजवादी ढाँचाको पक्षमा भोट दिने बताए। यो आँकड़ामा 47% जनता 18-24 वर्ष भित्रका थिए भने 76% मानिसको उमेर 60 वर्षको आसपास थियो। आँकड़ा अनुसार केवल 20% रुसी नागरिकहरूले मात्र सोभियत युनियन बनाई राख्नलाई अस्वीकृति दिँदै भोट दिएका थिए। यही बिच, मार्च 2016 मा लेवाडा सेन्टरले गरेको एउटा सर्वेले देखाएका छन् कि 51% भन्दा ज्यादा जस्ता रुसीहरूले संयुक्त सोभियत समाजवादी संघ(USSR)को पतन हुन देखि रोक्न सकिन्थ्यो भने, 56% भन्दा ज्यादा रुसीहरूले सोभियतसंघको पतनमा खेद प्रकट गरेका छन्।  ज्यादा जस्तो रुसीहरूले सोभियत युनियन अनि समाजवादको जागृतिलाई स्वागत गर्न तैयार छन्। अघाड़ीको वर्षको चुनावमा पनि एक्कै किसिमको परिणाम देखा परेको थियो। 2013 मा रसियन पब्लिक ओपिनियन फाउन्डेसनले गरेको सर्वेक्षणबाट यो पत्ता लागेको छ कि 60% जस्तो रुसीहरू सोचदछन् सोभियत युनियन हुँदा  समाजमा खराब भन्दा असल पक्षनै धेर थियो। त्यही सर्वेक्षणमा 43% मानिसहरूले कम्युनिस्ट बिचारलाई फेरी स्वीकार गर्नमा खुशी व्यक्त गरे भने 38% मानिस खुशी थिएनन्।
जून 2009 मा जर्मनीमा गरिएको एक सर्वेक्षणबाट पत्ता लगेको छ कि 57% पश्चिमी जर्मनहरूले जर्मन डेमोक्रेटिक रिपब्लिक (समाजवादी पूर्वी जर्मनी) लाई असल भनेका छन्। 49% ले भने जी.डी.आर-मा खराब पक्ष भन्दा असल पक्ष धेरै थियो र केही कठिनाइ भए पनि त्यति बेलाको जीवन असल नै थियो भनेका थिए।
सन 2010 मा रोमानियन इन्स्टिच्युट फर इभेलुयेशन एण्ड स्ट्रेटेजी-ले गरेको सर्वेक्षणमा 41% उत्तर दिनेहरूले बताए कि यदि चेसेस्कु-ले राष्ट्रपति पदको लागि उठेको भए उसैलाई भोट दिने छन्। 63% सहभागीले भन्यो तिनीहरूको जीवन समाजवादको समयमा एकदम असल थियो, र 23% ले त्यस बेला जीवन खराब थियो भने। 68% ले भने कि समाजवाद एउटा असल विचारधारा हो तर यो सही तरिकाले लागु गर्न सकिएन। 2014 मा आई.एन.एस.सि.ओ.पी रिसर्च पोलले प्रदर्शन गरेका छन् कि 44.4 % उत्तरदायी विश्वास गर्छन् कि तिनीहरूको जीवन समाजवादमा हुँदा धेरै राम्रो थियो। हंगेरीको पेउ रिसर्च सेन्टरको खबरअनुसार, अप्रेल 2010 मा 72% हंगेरियनले भनेका छन् कि समाजवादको समय भन्दा अहिलेको मानिसहरूको आर्थिक अवस्था धेरै खराब र कमजोर छ। खाली 8% ले मात्र अहिले जीवन असल छ भने र 16% ले जीवन जस्तोको त्यस्तै छ भने।  

किन नारी ‘देशको’ संस्कृतिको संग्रहालय ? ... अनि भारतमाताको सन्दर्भमा

गुञ्जन राणा


पाश्चात्य समाजको प्राथमिक दौढ़हरूमा लैङ्गिक अन्तरसम्बन्ध बुझाउनलाई संस्कृति र प्रकृतिको डाइकोटमिलाई नै आधार मानिन्छ। यही हो ‘देकार्त’को प्रकृति र संस्कृतिको, युक्ति अनि भावनाको, व्यक्तिगत अनि सार्वजनिकको दोहोरो सिद्धान्त, जँहा नारीहरूलाई प्रकृतिको नजिक मानिन्छ अनि पुरुषलाई संस्कृतिको छेउ। नारीहरूलाई धेरै प्रकारको भावुकता देखाउनेको रूपमा हेरिन्छ भने पुरुषलाई तर्कको अधिकारीको रूपमा। नारीले व्यक्तिगत कुरो सम्हाल्छिन् भने पुरुषले बाहिरी कुरा। यही दोहोरो सिद्धान्तले समाजको वर्गीकरणलाई नियन्त्रण गर्दछ। किनभने उहिले देखिकै युक्तिलाई दार्शनिकहरूले जहिले पनि सबैभन्दा उच्च स्थान दिएका छन् भने भावुकतालाई घरको काम जस्तै तुच्छ र मामुली मानेका छन्। 
तर जुन संस्कृतिमा नारीहरू संस्कृतिको अभिन्न अङ्ग हो, त्यस खण्डमा यसरी हेर्दा हुँदैन। खासगरी, ‘भारत’को संस्कृतिमा, नारीहरू त्यसको भागीदार नै थियो। यो ‘संस्कृति’ भन्ने शब्द पनि शासकको इशारामा चल्ने र फेरिने बिम्ब वा अलङ्कार जस्तै हो। संस्कृतिको अध्ययन गर्दा यसलाई अमूर्त वस्तु जो प्रतिपल परिवर्तित र परिमार्जित हुँदै गइरहेको देखिन्छ। 
उदाहरणको रूपमा, रामको भावुक र नम्र अनुहारलाई यी हिन्दुत्ववादी शक्तिहरूले एउटा डरलाग्दो शक्तिशाली सुडौल मांशपेशी युक्त पुरुषको रूपमा प्रस्तुत गर्छन्। यसैले जसकोमा हेरफेर गर्ने प्रावधान छ, उसले संस्कृतिको कुन तत्त्व राख्ने र कुन वहिष्कार गर्ने निर्णय गर्छ। यही प्रतिष्ठित तत्वहरू पछि गएर सत्यमा परिवर्तित हुन्छ र संस्कृतिको यात्रा चिरकालदेखि अपरिवर्तित चलिरहेको जस्तो देखिन्छ। अर्को उदाहरण हो राष्ट्रिय संग्रहालयमा किन चुनिएको ऐतिहासिक वस्तु मात्रै राखिन्छ र अरु कुराहरूको ठाउँ कतै हुन्छ जहा साधारण जनताको आँखा पुग्दैन। 
यसको मुख्य कारण शासन गरिने जनताको निम्ति एकै किसिमको सांस्कृतिक परिवेश बनाउने षड़यन्त्र हो, जसले गर्दा शासन गर्नुमा सुविधा होस्। यसैले गर्दा प्रत्येक सिनेमा रिलिज हुनु अघि सेन्सर गरिन्छ, प्रत्येक पेन्टिङ्ग वा किताब माथि सेन्सर हुन्छ। कुन कुरोलाई जनताको संस्कृति बनाउने कुनलाई हटाउने त्यसको विचार गरेर चलाकी साथ शासकहरू हरेक क्षेत्रबाट भुल जानकारी दिन्छन् र मानिसको मगज यही हाबे जाबे थांगने कुराहरूले भरिन्छ। 
भारतमा सांस्कृतिक राष्ट्रवादको जन्म औपनिवेशिक भारतमा नै धेरैवटा शक्तिशाली तत्वहरू बीचको अन्तरसम्बन्धले बनिएको हो। ती तत्त्वहरू मध्ये ब्रिटिश औपनिवेशिक शक्ति प्रमुख हो र साथसाथै थियो सङ्ख्यामा बढ़दै गरेको उदारवादी मध्यम वर्गीयह, जो खासमा सुधारवादी र हिन्दु पुनरुत्थानवादी थिए। यो अन्तरसम्बन्ध वा वार्ता शासक वर्गको पुरुष र शासित वर्गको पुरुष बीच थियो। इतिहासमा हामी पाउछौ कि 19 शताब्दीको बङ्गालमा जत्ति पनि सुधारकहरू थिए, तिनीहरू पुरुष थिए, तर अचम्भको कुरा सुधारको विषय वस्तु चाँहि जहिले पनि नारीहरू सम्बन्धित हुने गऱ्यो। सत्तीप्रथाको कुप्रभाव, बाल विवाह इत्यादि थियो विषयहरू अनि यस विषयमा विचार, विमर्श, तर्क, कोर्ट केस, टिपणीको विषयले स्थानीय खबर कागज ड्याम्मै भरिएको हुन्थ्यो। उल्लेखनीय छ, लता मनिले आफ्नो किताब (Contentious Traditions) मा लेखेकी छिन् कि सुधारको निम्ति नारीहरू न विषय थिए न त वस्तु नै। यी सुधारको विषयवस्तु नारीहरूसँग कहिले सम्बन्धित त थिए तर नारीलाई जोड़ेर कहिल्ये भएनन्। 
वास्तवमा ब्रिटिशहरू र स्थानीय पुरुषहरूको अहङ्कारले भरिएको पौरुषको अन्तरसम्बन्धले यस समझदारीमा पुऱ्यायो कि नारी चाहिँ संस्कृतिको संग्रहालय हुनेछिन् र यसलाई जगेरा गर्ने ठेक्का लिनेछिन्। यही संस्कृतिले भोलिको दिनमा भारत राष्ट्रलाई जन्म दिनेछ। 
यस्तो संस्कृतिको व्याख्यानमा नारीको आफ्नो कथा,  उसको कष्ट, जीवनको भोगाइको बारेमा केही पनि हुँदैन। नारीहरूको दुख-कष्ट, आफू जन्मेको गाउँ ठाउँ छोड़ेर नँया घरमा आएपछि पनि ससुरालीको अत्याचार अन्यायको बयान त्यसैले दन्त्यकथा तथा लोकगीत र लोरीहरूमा मात्रै पाइन्छ।  
औद्योगिक क्रान्ति पश्चात् सांस्कृतिक राष्ट्रियतावाद पश्चिमी देशहरूको लागि जरुरी हुँदै गइरहेको थियो। कारण एकै किसिमको देखिने माल सामान किन्नको निम्ति उपभोक्ताको विकासशील बजारको जरुरत पऱ्यो। एउटा एकनासे संस्कृतिको खाँचो पऱ्यो। जँहा सबैले एउटै कुरो उपभोगको चाहना बोकोस्, जुन यी उद्योगपतिहरूले उत्पादन गरिरहेका थिए। जब ब्रिटिश र ब्रिटिशको संस्कृति भारत भित्र पस्यो त्यति बेला ब्रिटिशको एकेश्वरवादी पुरुषतान्त्रिक संस्कृति र विविधताले भरिएको बहुदेववादी स्थानीय संस्कृतिको द्वन्द्व भयो। मध्यम वर्गीय ‘बाबु’हरूले भारतको संस्कृतिको महत्त्व ब्रिटिशहरूलाई सम्झाउने जिम्मा लियो। ब्राह्मण पुरोहितहरूले नँया शासकहरूको निम्ति शास्त्रको उल्था गर्न थाले। मध्यवित्त हिन्दुहरू जो शासकहरूको कृपामा हुर्किरहेका थिए अब आफैलाई शक्तिशाली र अङ्ग्रेजहरूको समान सम्झन थाले। तिनीहरूले सुधारको कुराहरू गर्न थाले। विधवा विवाह बाल विवाहको निर्मुलन, सती प्रथाको अन्त इत्यादि मध्यवित्त उच्च श्रेणी हिन्दु सुधारवादीहरूको पेवा हुन थाल्यो। यी सुधारवादीहरूद्वारा गरिएको सुधारको माँग खासै गरी नारीहरूको निम्ति लाभदायक थियो भन्न गाह्रै छ। कारण यदि हामीले रजस्वला भएपछि नारीले बिहे गर्ने वा नगर्ने विषयमा सहमतिको तर्क हेऱ्यौ भने थाह पाउछौँ कि फुलमोनिको घटनामा कोर्टको समग्र सुनवाई प्रक्रियामा यो विषयमाथि कहिले छलफल नै भएन। उक्त घटनामा फुलमोनी भन्ने एक जना केटीको, जसको उमेर यौन क्रियाको लागि कम्ती नै थियो, यौन क्रियामा बलजफ्ती सङ्लग्न गराउदा उसको पतिको हातबाट उनको मृत्यु भएको थियो। उक्त घटनाको चर्चाको विषयवस्तु भने अर्कै थियो। दैनिक खबर कागजमा के चर्चा चल्दै थियो भने, भारत जस्तो उष्ण कटीबन्द इलाकामा नारीको शरीर कहिले यौन क्रियाको योग्य हुन्छ वा उष्ण कटिबन्द इलाकामा नारीको रजस्वला हुने उमेर कति हो? उच्च श्रेणीको हिन्दुहरूमा ‘गर्भाधान’ खुबै महत्त्वपूर्ण विषय थियो। यसको अर्थ थियो एउटा नारी प्रथमपल्ट रजस्वला भएपछि उसलाई छिटोछिटो बिहे गरिदिनु पर्छ जसले गर्दा उसले गर्भाधान गर्नु सकोस, यसो नगरेको खण्डमा त्यस नारीको गर्भ दुषित भएर जाने धारणा थियो। हिन्दु पुर्नजागरणको पक्षधारीहरूले आफ्नो निजी मामिलामा विदेशीहरूले दखल दिएको रुचाउदैन थिए। यिनीहरूको धारणामा यसको सकारसँग कुनै लेनादेना थिएन।  हामीले यदि अर्को उदाहरणको रूपमा सतीप्रथाको चर्चा हेऱ्यौ बने देख्छौ की सतीप्रथाको उन्मुलनको कुराले त्यति बेला नारीहरूलाई मर्यादा बढ़ाएन, बरू घटाएको थियो। उत्तर उपनिवेशवादका शोधकर्ताहरूको अध्ययन अनुसार पहिले सतीप्रथा खुबै कम्ती मात्रामा चलनमा थियो। उच्चस्तरीय जातहरूमा अनि केही क्षत्रिय श्रेणीमा सतीप्रथाको चलन थियो। यी सुधारकहरू स्वयम् पनि उच्च श्रेणीको मानिस हुनाले यिनीहरूले आफ्नो मालिकसँग विधवा नारीको यस प्रकारको नृशंश हत्याको विरोधमा कदम लिने अनुरोध गरे। तर जस्तो सतीप्रथा हटाउने कानुन लागु भयो, सतीप्रथा घट्नु त होइन झन् बढ़ेर पो गयो। यसको कारण थियो, जस्तो सतीप्रथाको उन्मुलनको कानुन लागु भयो, उस्तै निम्न श्रेणीका हिन्दुहरू जो पहिला सतीप्रथासँग युक्त थिएनन् तिनीहरूले पनि यो प्रथा अप्नाउन थाले। तिनीहरूले सोचे की सतीप्रथाको चलन  अप्नाउदै तिनीहरूले हिन्दु जाती व्यवस्थाको स्तरमा माथिल्लो श्रेणीतर्फ बढ़्ने छन्। किनभने ब्राह्मण र क्षत्रियहरूले सती दहन गर्नेगर्थे, निम्न श्रेणीका हिन्दुहरूले उनीहरूको अनुसरण गरेर आफै पनि उच्च श्रेणीको दर्जामा आउने चेष्टा गर्न थाले। 
जब सुधारवादीहरूको बात उनीहरूको शासकले मानेनन्, त्यति बेला तिनीहरूले बुझे की तिनीहरू केवल व्यापार गर्न मात्र आएका थिएनन् तर तिनीहरूको उद्देश्य भने स्थानीय जनतामाथि शासन गर्नु थियो। सिपाही विद्रोह पछाड़ि हिन्दु पुनर्जागरण शक्तिहरूको पुरा उदय हुन थाल्यो। ब्रिटिशहरूको अत्याचारी शासनले वाक्क भएको पुनर्जागरण दलले खुल्ला रूपमा सतीप्रथा र बाल विवाह तिनीहरूको आफ्नो परम्परा हो वा ‘जातीय’ परम्परा हो भनेर हल्ला गर्न थाले, अनि ब्रिटिश सरकारले तिनीहरूको संस्कारको बारेमा केही जान्दैन थिए र यसो गर्दा आधुनिकतावादी हस्तक्षेपले तिनीहरूको आफ्नो परम्परा प्रदुषित हुँदैछ भन्ने आरोप लगाए। 
एकनासे ब्रिटिश औद्योगिक संस्कृतिको विरोधिता गर्नुको लागि, एकनासे ‘भारतीय’ संस्कृतिको खाँचो परेको थियो। तर नाना थरिको संस्कृति गाभिएकोले गणतन्त्र अराजक हुनुसक्ने हुनाले पुनर्जागरणवादीहरूले ‘राष्ट्रिय संस्कृति’ माथि विशेष ध्यान दिनु थाले। तिनीहरू ब्रिटिश सरकारको दमनकारी शासनको अघि आफैलाई शक्तिविहीन दुर्बल महसुस गर्थे, जसले गर्दा तिनीहरूको आफ्नो संस्कृतिको झन् साह्रो खाँचो पर्न थाल्यो। ब्रिटिशहरूले तिनीहरूको घरको मामिलामा धरी दखल दिएको पुनर्जागरणकारीहरूले ट्याक्कै सहनु सकिरहेका थिएनन्। जे भए पनि दिन ढलेपछि यिनीहरू आफ्नो घरमा राजा हुन्थे, र घरको नारीहरू हुन्थे दास। जहाँ भारतीय पुरुषले ब्रिटिशको र नारीले भारतीय जनताको भूमिकामा खेल्थे। आफ्नो घरलाई बचाउनु यिनीहरूको आफ्नै अस्तित्वको लागि अत्यन्तै जरुरी भएर गयो। त्यसैले अरूको पहुँचदेखी टाढ़ा भएको नारी (हुनु त सतीप्रथा उन्मुलन र बाल विवाह रोकको कानुन लागु भइसकेको थियो, तर पनि स्थानीय पुरुषहरू यसलाई मान्नु उत्सुक थिएनन्) स्वतन्त्र हुन लागेको देशको ‘आमा’ भइन्। नारी शरीरलाई देशको शरीरसँग दाँजो गरियो साथै देशको आमा बनाइयो नारीलाई। 
नारी अब संस्कृतिको संग्रहालय भइन्। स्थानीय मानिसहरू सुट र बुट लगाउन थाले तर नारीहरूलाई आफ्नो संस्कृतिक पोशाक साड़ी बाहेक अरू केही लगाउँदा सदा बाधा दिइयो कारण नारीहरूलाई ‘भारतीय संस्कृति’को संग्रहालय हुनुपऱ्यो, भिन्नभिन्न स्थितिमा। कोलकातामा प्रिन्टिंग टेक्नोलोजीको विकासले गर्दा सस्तो क्यालेण्डर छाप्न थालियो र त्यससित तब भारतमाताको नक्शाले पनि स्वीकृति पाउदै गयो। यसरी स्थानीय र विदेशी पितृसत्ताको सर-सल्लाहले एकनासे पवित्र नारीको निर्माण गरियो जसलाई ‘भारत माता’को उपाधि दिइयो र जसको रुपरङ्ग एकदम परिमार्जित थियो। अरू कुनै रूप भएको भारत माताले ठाउँ नै पाएन। गोरो छाला भएको उच्च्कुलिन भारत माताको यसरी इतिहासमा पदार्पण भयो। 
यो निर्माण कार्य अहिलेसम्म चल्दैछ, भाजपा सत्तामा आएपछि त झन् यसले डरलाग्दो गति पक्रेको छ। जहिलेपनि कसै न कसैको कुनै न कुनै विचार, कार्य र गतिविधिले यिनीहरूको ‘राष्ट्रवाद’लाई चोट पुऱ्याइ राखेकै हुन्छ। यिनीहरू राज्यको शक्ति प्रयोग गरेर शताब्दी पुरानो केही उच्च कुलिन/ वर्गीय मानिसहरूको कल्पनाको ‘राष्ट्रवाद’ हामी माथि थोप्दैछन्। राष्ट्रवादको विभिन्न पहलुहरू नियाल्नु जरुरी छ। देशलाई एउटा खोक्रो मानचित्रसम्ममा मात्रै सीमित राखे यो ‘देश’ अमूर्त भएर जान्छ। देश त मानचित्र मात्रै होइन, यसमा बस्ने मानिसहरूलाई लिएर पो देश बनिन्छ त! देशलाई केवल झुठो गौरवको कुरासँग जोड़ेर मानिसभन्दा छुट्टै होइन तर देशमा बस्ने मानिसहरूको दुख-कष्ट, असन्तुष्टिको आवाजसँगै देश भनेर सबैलाई बुझाउने जिम्मा आज राजनैतिक कार्यकर्ता साथै विद्यार्थीहरूको काँधमा छ। विद्यार्थीहरूको यही आवाजलाई दबाउनको निम्ति आज केन्द्र सरकारले विभिन्न विश्वविद्यालयहरूको अन्त:विषय विभागहरू (Interdisciplinary departments)-लाई बन्द गरेर वा पैसाको कटौती गरेर (टी आई एस एस को वुमन स्टडिज विभाग बन्द हुने कगारमा छ, यसै क्रममा जे यु को स्कुल अफ वुमन स्टडिज पनि बन्द हुन् आँटेको छ। जे एन यु लगायत अन्य धेरैवटा विश्वविद्यालयहरूको एम.फिल. र पी.एच.डी.-को सिटहरू क्रमशै घटाइन्दै लगिँदैछ) उक्त कामलाई अझै दुष्कर बनाई दिएको छ। यसलाई मोदी सरकारको ब्रम्हाश्त्र भन्न सकिन्छ— “जहाँबाट विरोधको आवाज आउदैछ त्यस प्राणीको टाउकै काटि देउ।”
यसैले अब होस्, धेरै भयो! ब्राह्मणवादी, पितृसत्तात्मक, जातिवादी अनि असंवेदनशील भारतलाई लालनपालन नगरौँ!


कतिहदसम्म हृदयहीन हुन सक्छ र उपभोक्तावादी संस्कृति ?

संगीता खेवा

दैनन्दिन बढ़्दै गरेको छाला तस्करीको विषयमा लेखिएको एक रिपोर्टअनुसार नेपालको दुर्गम क्षेत्रहरूबाट नारीहरूलाई कामको नाममा बहलाई-फुस्लाई भारत छिराएर पहिला त तिनीहरूलाई देह व्यापारमा लगाउछन् साथै तिनीहरूको अङ्ग-प्रत्यङ्ग र छाला समेत चोरेर बिक्रि गरी दिन्छन्।

मलाई थाह छ सानो हुँदा हेरेको त्यो हिन्दी सिनेमा जसमा एक जना विकृत नारीले आफ्नो धोकेबाज पतिको बदला लिनुको लागि प्लास्टिक सर्जरीको सहारा लिएकी थिइन्। रातारात राम्री भएर फर्किए पछि उसले आफूले मन परेको सबै काम गर्न सक्छिन्। पहिला नराम्री भएको बेलामा घरेलु, लजालु डराइरहेको त्यस नारीले सुन्दर रूप पाए पछि अचानक कताबाट हो कताबाट आत्मविश्वासले परिपूर्ण हुन्छिन्। त्यही सिनेमा हेरेको देखि मैले प्रथम पल्ट कुनै पनि विकृत, कुरूप मानिसलाई शल्यक्रिया गरेर सुन्दर र बिल्कुलै अर्कै व्यक्ति बनाउन सकिने रहेछ भन्ने धारणा उत्पन्न भयो। 
तर खासमा के हो यो प्लास्टिक सर्जरी? किन यसको जरुरत छ? र यसको भविष्य कतातर्फ गइरहेको छ? वास्तवमा प्लास्टिक सर्जरीको उद्देश्य भीषण रूपमा जलेको वा अन्य कारणले विकृत भएको शरीरलाई अन्य ठाउँको छाला लगाएर सुन्दर बनाइदिनु हो। ज्यादातर गम्भीर रूपले जलेको रोगीहरूको निम्ति यो खुबै राम्रो उपचार हो। तर बिस्तारै यो प्रक्रिया उपचार नभएर धनीहरूको निम्ति सौन्दर्यकरणको उपकरण भएर गइरहेको देखिन्छ। यसरी उपचारको निम्ति सृष्टि भएको कुरा उपभोक्तावादको अङ्गमा परिणत भएको छ भन्नुमा कुनै अतिशयोक्ति हुँदैन। प्लास्टिक सर्जरी बिस्तारै कस्मेटिक सर्जरीको पर्यायवाची भइसकेको छ। 2015-2019 को आंकड़ाले भन्छ यस वैश्विक कस्मेटिक सर्जरी औ सर्विसको बजारको व्यापार लगभग $20 बिलियन छ भने 2019 सम्ममा यो व्यापार $27 बिलियन पुग्नेछ। 
माथि उल्लेख गरे झैँ आफ्नै शरीरको छाला लगाउनु कुनै असुविधा नभए ता पनि अर्काको छाला वा अङ्ग लगाउनु हो भने अङ्ग दान गर्ने र अङ्ग ग्रहण गर्ने व्यक्तिको रगतको नमुना मिल्नु अति जरुरी छ, नत्र भने नयाँ अङ्गलाई ग्राहकको अङ्गलाई नकारी दिन्छ। त्यसैले अनुहारको घाउलाई पुर्नुको लागि ज्यादाजसो फिला वा त्यस्तै कमुलो छालालाई काटेर अनुहारमा लगाइन्छ। तर कालो, गहुगोरो छालालाई गोरो बनाउनु हो भने त गोरो छालानै चाहिन्छ। 
यति बेला चाहिँ शिकार हुनथाल्यो गोरो छाला भएको पछौटे गाउँठाउँको नपढ़ेको गरीब नेपाली नारीहरू! कहिले तिनीहरूलाई भनेरै वा कहिले नभनेर तिनीहरूको छाला तस्करी हुन लगियो। यसरी छाला तस्करहरूले कालो छाला भएको धनी मानिसहरूको गोरो हुने सपना साकार गरिदियो। 
दिनोदिन बढ़्दै गरेको छाला तस्करीको विषयमा लेखिएको एक रिपोर्टअनुसार नेपालको दुर्गम क्षेत्रहरूबाट नारीहरूलाई कामको नाममा बहलाई-फुस्लाई भारत छिराएर पहिला त तिनीहरूलाई देह व्यापारमा लगाउछन् साथै तिनीहरूको अङ्ग-प्रत्यङ्ग र छाला समेत चोरेर बिक्री गरी दिन्छन्। धेरैवटा घटनाहरूमा अङ्ग हराएको पीड़ित स्वयंले पछि एजेन्टको काम गरेको देख्नमा आएको छ। 
‘किड्नी ब्याङ्क अफ नेपाल’ नामले कुख्यात काब्रेपालचोकको मानिसहरूमा अङ्ग बिक्री चलन खुबै बेसी मात्रामा देख्न पाइएको छ। यस्ता तस्करहरू गाउँकै मानिस भएको हुनाले अरू मानिसहरूलाई आफ्नो छाला वा अङ्ग बिक्री गरेर केही पैसा कमाउने लोभ देखाउनु यी एजेन्टहरूको निम्ति खुबै सजिलो हुनेगर्छ। उदाहरणस्वरूप, किड्नी ब्याङ्क निवासी प्रेम बासगाई भन्ने मानिसले पहिला रु. 20,000 आफ्नो किड्नी बेचेका थिए, त्यति बेला उसलाई किड्नी फेरी पलाई हाल्छ भन्ने आश्वासन दिइएको थियो। तर पछि त्यो पैसा सकिए पछि तिनी आफै एक जना तस्कर भए। गाउँको अरू मानिसहरूलाई पनि किड्नी बेच्ने सल्लाह दिएर सफल पनि भए र बिस्तारै छालाको तस्करीमा सरे। प्रत्येक छालाको सेम्पलको लागि बासगाई रु. 30,000-50,000 सम्म पाउछन् र जसकोबाट छाला लिइएको छ त्यसलाई रु. 5,000 मात्रै दिन्छन्। यसरी नाफाको सबैभन्दा बेसी अंश आफै राखेर न्यूनतम राशि बिक्रेताहरूलाई दिइन्छ। 
अमेरिकामा छाला तन्तुबाट एल्लडर्म तथा अन्य यस्तैखाले वस्तु उत्पादन गरिन्छ। यी उत्पादन पुरुष लिङ्गको साइज बढ़ाउने, महिलाको स्तन साइज बढ़ाउने, ओठ समायोजन गर्ने, आगोले डढ़ेको भाग छोप्नेजस्ता काममा प्रयोग गरिन्छ। उत्तर अमेरिकाले वैशिक कस्मेटिक सर्जरी बजारको 45% अंश ओगटे तापनि यो प्रभाव बिस्तारै एशियामा सर्दै जादै छ। एशियानै अब कस्मेटिक सर्जरीको राजा हुने रहेछ भन्ने आंकड़ा छ। चीन र भारतमा झरी च्याउ जस्तै कस्मेटिक सर्जन र क्लिनिकहरू साथै मेडिकल टुरिजम उम्रेका छन्। विज्ञान र प्राविधिकको उन्नति साथ-साथै सौन्दर्यकारणको बजारले गर्मी पक्रिदै गइरहेको छ। 
एशियाको कुरा गर्दा कस्मेटिक सर्जरीको सबैभन्दा डरलाग्दो चलन दक्षिण कोरियामा रहेको छ। यहाँ कस्मेटिक सर्जरी लुगा वा जुत्ता किनेको जस्तै साधारण कुरा मानिन्छ। कस्मेटिक सर्जरीको विज्ञापन दिँदै गरेका ठुला ठुला होडिंगहरू शहरमा देख्न पाइन्छ। पैसा भए जो कोही पनि सुन्दर हुन सक्छ भन्ने कुरा कस्मेटिक सर्जरीले पुरा गरी दिएको छ। हलिवुड वा बलिवुडमा धारावाहिक र विज्ञापनमा खेल्ने अभिनेत्रीहरूमा प्रायले नै कस्मेटिक सर्जरीको सहारा लिइसकेका हुन्छन्। यही युवतीहरूको सुन्दरताको अनुसरण गर्दै साधारण नारीहरू पनि सुन्दर  हुने चक्करमा पर्छन्। 
पहिला यो सुविधा भारतमा थिएन तर क्रमशः यो चलन भारतमा पनि सर्दैछ। नारी सुन्दरताको असम्भव मापदण्ड पाउनको निम्ति अलिक पैसा हुने मानिसहरू यस्तो सर्जरीको चक्करमा पस्छन्। डिमान्ड बढ़े पछि सप्लाई पनि बढ़्नु पऱ्यो र सौन्दर्य चर्चाको यस्तो डरलाग्दो बजारीकरणको मार भने गरीब नारीहरू पर्छ। विशेषगरी देह व्यापारमा तस्करी भएको नारीहरूको शरीरबाट छाला पनि चोरी भएको देखिएको छ। 
यस्तै मुम्बईको एउटा वेश्यालयबाट भागेर आउन सफल भएकी एकजना पिड़ितको बयान अनुसार प्राय ड्रग्स दिएर नारीहरूलाई मताएर यिनीहरूको छाला काटिने गरिन्छ भएर बताएकी छिन्। धेरैवटा यन्त्रणा र अत्यचार सहदै बस्नु परेको हुनाले आफ्नो ढाड़बाट ठुलो छालाको अंश चोरी भएको कुरा यी नारीहरू चाल पाउदैनन्। भागेर आएकी उक्त पीड़ितले पनि धेरै पछाड़ी मात्रै आफ्नो ढाड़को छाला चोरी भएको चाल पाएकी थिइन् त्यो पनि अर्की एउटा महिलाको ढाड़मा आफ्नो जस्तै घाउको डाम देखेर।  धेरैवटा यन्त्रणा र अत्यचार सहदै बस्नु परेको हुनाले आफ्नो ढाड़बाट ठुलो छालाको अंश चोरी भएको कुरा यी नारीहरू चाल पाउदैनन्।अर्की महिलाले 20 वर्ग इन्च छाला 10 हजार भारुमा बिक्री गरेकी रहिछन्।  दलालमार्फत् छाला बेचेकी उनी सोही दलालबाटै यौन व्यवसायमा पनि सहभागी भइन्। दलालले उनलाई प्लाष्टिक सर्जरीको लागि छाला बिक्री गरिने जानकारी गराएको बताएका थिए। मुम्बईको नर्कबाट भागेर आएपछि पनि यी महिलाहरूले आफ्नो गाउँ ठाउँमा काम पाउदैनन् र अन्तमा फेरी नेपालकै थमेल स्थित मसाज पार्लरमा काम गर्न बाध्य हुन्छन्।
यस्ता पार्लरमा दक्षिण एशियाली मुलुकका ग्राहकको बढ़ी चाप हुन्थ्यो। उनीहरू मसाजभन्दा पनि यौन सन्तुष्टिको लागि आउँथे! विशेषगरी भारतबाट आउने पर्यटकको यहाँ घुइचो हुन्छ सधैं। भारतीय पर्यटकको निम्ति लस भेगास भनिने थमेलको बाटो घाटो 11 बजी उता झलमल्ल बल्ने गर्छ।
यस्ता धेरैजना पीड़ितहरू नेपालको दुर्गम क्षेत्रहरूमा छ्याप छ्याप्ती छन्। छाला बिक्री गर्ने एजेन्टहरू पनि खुबै चतुरता र निपुणता साथ आफ्नो काम गर्छन्। एजेन्टहरू यी केटीहरूलाई भारत-नेपाल बोर्डरसम्म लान्छन्। त्यहाँबाट अर्को एजेन्टले तिनीहरूले भारत छिराउछन् र अर्को एजेन्ट भएकोमा लगेर जान्छन्। यो तेस्रो एजेन्टले भने छाला निकाल्ने व्यवस्था मिलाउछन्। केही तुच्छ मूल्यबोध भएको डाक्टर र विश्वविद्यालयको छात्रहरू पनि मिलेका हुन्छन् यस कालो धन्धामा। 
नेपालमा अङ्ग बेच्नु गैरकानुनी छ साथै ‘ट्रान्सप्लान्टेशन अफ ह्युमन ओर्गेन्स एण्ड टिसु’, 2014 ले भारतमा उत्तक र अङ्गको बिक्रीलाई गैरकानुनी मान्छ। यस कानुन अनुसार केवल नामांकित दानकर्ताहरूबाट मात्रै उत्तक र अङ्ग लिन सकिन्छ। तर भारत र नेपाल दुवै देशमा नक्कली कागजपत्र बनाउनु कुनै गाह्रो काम होइन। अतएव अङ्ग ट्रान्सप्लान्ट गर्दा आफ्नो इच्छाले दान गरेको बनाउन जाली कागजपत्र बनाउनको निम्ति पढ़े लेखेको गधाहरूको जरुरत पर्छ कारण बिक्रेताहरूलाई आफ्नो अङ्गको मूल्य र सबै प्रक्रियाको केही पनि जानकारी हुँदैन। भनिन्छ की गोरो छालाको दाम दिल्ली र मुम्बईको बजारमा प्रति 100 वर्ग इन्च को दाम 50,000-1,00,000 सम्म छ। बजारमा छालाको दाम खुबै बेसी भए तापनि बिक्रेताहरूले धेरै कम्ती दाम पाउने गर्छन्। गरिबीको मार सहनु नसकेको हुनाले छाला बिक्री खुबै बढ़िरहेको छ। यति कम्ती पैसामा आफ्नो त्यस्तो अमूल्य अङ्ग-प्रत्यङ्ग बेच्नु परेको नारीहरूकोमा पैसा सकिए पछि यही एजेन्टहरू तिनीहरूलाई देह व्यापारमा लगाइदिने काम गर्छन्। यो बजारमा यस्तो कुनै वस्तु वा सेवा छैन जुन यहाँ पाइन्दैन। यहाँका मसाज पार्लर देह व्यापारको अड्डा मानिन्छ। छाला चोरी भएको वा छाला बिक्री गरेको नारीहरूले यहाँ पनि धेरै कम्ती ग्राहक पाउछन्। यहाँ पनि सुन्दरताकै कुरा आउँछ। यसरी देह व्यापार र अङ्ग बिक्री साथसाथै चलिरहेको देखिन्छ। कहीँ कहीँ त लाशबाट धरी छाला चोरी भएको सुनिएको छ। 
उपभोक्तावादी संस्कृतिले जसरि मानव जीवनको मूल्यलाई दिनदिनै घटाइरहेको छ, सुन्दरताको होड़मा उत्रेको धनी मानिसहरूको इच्छा पुरा गर्न अझ कतिजना गरीब र लाचार नारीहरूले आफ्नो शरीर दिनु पर्ने हो? त्यसमा ठुलो प्रश्नचिन्ह छ!

Unholy होली !

अम्बिका राई

हिन्दुहरूको हजारौँ चाड़ मध्ये मनाइने एउटा प्रमुख चाड़ हो ‘होली’। सानो हुँदा देखि नै केवल टि.भि-मा मात्र देखेकी थिए होली खेलेको। आफैले भने कहिले नि नखेलेको होली। गाउँमा बाह्रै मासे चिसो भएको कारण होला कसैकोमा होली खेल्ने आँट नभएको। तर होली किन मनाइन्छ भन्ने कुरा पनि त्यति बेला थाहा थिएन। पछि गएर सुन्नमा के आयो भने ‘असत्य’माथि ‘सत्य’को जितको प्रतीक अरे होली! कस्तो ‘असत्य’माथि कुन सत्यको जीत हो यो रङ्गको त्योहार? आजसम्म मलाई थाहा छैन!
ठण्डा महिनाको अन्तमा वसन्त ऋतुको आगमन र रङ्गीचङ्गी फुलहरू फुल्ने बेलामा यस्तो रङ्गीन चाँड़ त आनन्दकै होला। एकअर्कालाई खुशीसँग रङ्गले स्वागत जनाउँदै यो रङ्गीन चाँड़ मनाउन रमाईलै हो भनेर मनमा एउटा धारणा अहिलेसम्म बोकिरहेको थिएँ। तर केही प्रश्न आएर उभियो जब यसको इतिहास थाहा भयो मलाई। समाजमा धेरै यस्ता चाँड़हरू त्यसको इतिहासबाट छुट्टिएर एउटा मामुली चाँड़को रूपमा सामाजिक-सांस्कृतिक परम्पराको रूपमा देखापर्छ, र जनताले त्यसलाई मनाउँछ पनि। मुख्यतः बहुमतको वा आधिपत्यकारी समुदायका परम्पराहरूले एक प्रकारका सहमति जम्मै समाजमा क्रमैसँग तयार गरेको छ। त्यसलाई मनाउनु वा नमनाउनु त आ-आफ्नो पसन्दको कुरा हो, तर सचेत, शिक्षित मानिसको हिसाबले त्यसको इतिहासलाई एक पल्ट फर्केर हेर्नु चाखलाग्दो कुरा नै हो। त्यसरी नै होलीको इतिहासलाई हेरौँ यस लेखमा।
‘होली’को नाम यसपालि पहिलोपल्ट ‘होलीका दहन’ भनेर सुन्नमा आयो। सबै कुराजस्तै देशको केन्द्र सरकारमा आसीन उग्र हिन्दु साम्प्रदायिक सत्ताको प्रभाव छुट्टीको क्यालेन्डरमा पनि आइपर्दा यसपालि ‘होली’को सट्टामा‘होलीका दहन’ आयो। तर के हो यो चाहिँ?
‘होली— ए फेस्टिवल टु कोम्मेमोरेट बहुजन बर्निंग’ भन्ने किताबमा के. जमनादास भन्नुहुन्छ कि एक जना बहुजनलाई जलाएको खुशीमा छुट्टी मनाईने दिन हो होली! उनी भन्नु हुन्छ कि यी सबै कथाहरू हिरण्यकश्यप सँग कुनै न कुनै प्रकारले जोड़िएको छ। यी धेरै कथाहरू मध्ये नरशिमाले प्रह्लादको ज्यान बचाएको कथा भने सबैभन्दा बहूप्रचलित छ। नरशिमालाई विष्णुको अवतर पनि मानिन्छ। हिरण्यकश्यपको छोरा प्रह्लाद भने नरशिमाको सबै भन्दा ठुलो भक्त थियो। हिरण्यकश्यपलाई आफ्नो छोरा नरशिमाको भक्त भएको मनपरेन। उसले आफ्नै छोरालाई मार्ने प्रयास गरे। हिरण्यकश्यपले आफ्नो बहिनी होलिकालाई यो कामको निम्ति बोलाई पठाए। उसले प्रह्लादलाई एउटा लुगाले छोपेर आफ्नो काखमा राखे अनि आगोको बिचमा बसे। प्रह्लादलाई नरशिमाले बचायो तर होलीका भने त्येही आगोमा जलेर मरी। यही होलीका मरेको दिनलाई होलीका दहन नाम दिएर रमाउने गर्छन्। एउटी बहुजन महिलाको मृत्युको खुशी!
कस्तो अचम्मको इतिहास! दुर्गापूजा, दसेराहरू लिएर पनि यस्ता कथाहरू छन् जसमा अनार्यहरूमाथि आर्यहरूको विजययात्राको कहानी निहित छन् अरे! रावण अनार्यहरूको प्रतीक, असुर आदिवासीहरूका राजा थियो भन्ने चर्चाहरू अचेल निकै आउँदैछ। हामीलाई थाहा छ कि विभिन्न जाति-धर्म-भाषाको विचित्रताले भरिएको यस देशमा बहुमत र आधिपत्यवादी विचारले सधैँ आफूलाई सर्वश्रेष्ठ देखाउन खोज्छन्। यो परम्परा उहिलेदेखि आजसम्म जारी नै छ। दुर्गापूजा, दसेरादेखि होली— सबै नै त्यसको एकएकवटा प्रतिबिम्ब हो, जसको स्रोत थियो इतिहासमा भएको उत्पीड़ितहरूमाथि दमनको कथा। विजयीहरूको तर्फबाट सामाजिक-सांस्कृतिक परम्परा अथवा चाँड़को रूपमा त्यसलाई मानिनुपर्छ भन्ने माहौलले विस्तारविस्तारै छोपियो पराजितको इतिहासलाई र समाजभरी नै सर्वजनिक मान्यता दिइयो विजयीको, शासकको, बहुमतको, आधिपत्यकारीको विचारलाई। होलीका दहन पनि त्यसकै उदाहरण हो।
होलीको अतीतदेखि आएर अब वर्तमानमाथि बरु चर्चा गरौँ।
होलीको कुरा गर्दा वृन्दावनको बहु प्रचलित ‘लाठ मार’ होलीको बारेमा त चर्चा हुनैपर्छ। ‘लाठ मार’को मतलब हो‘लौरोले हिर्काउनु’। यो प्रथा केवल वृन्दावनमा मात्र देख्न सकिन्छ जहाँ होलीको दिन लौरो लिएर पुरुषहरूलाई हिर्काउनु सक्छ। तर केवल मनोरञ्जनको रूपमा। यो ‘लाठ मार’ होली हेर्नको निम्ति देश विदेशका मानिसहरू हरेक वर्ष वृन्दावन आउछन्। सुन्नमा कति अचम्मको कि सधै तल्लोदर्जाका ठहरिएका नारीहरू यस ‘लाठ मार’ होलीमा पुरुषहरूलाई देखावटीको लागि भए तापनि हिर्काउछन्। तर वास्तवमा के हुन्छ त?
हामी सबैजनाको अनुभव छ कि यो रङ्गको चाँड़ भित्र लुकेको छ धेरै कालो यथार्थ। होलीको रङ्गको माहोलमा धेरै महिलाहरू यौन हिंसाको शिकार हुन्छन्। होलीको रङ्ग लगाउन भनी धेरै जसोले महिलाहरूको गुप्त अङ्गमा छुने गर्छन्। यति मात्र होइन, टाड़ैबाट पनि पिचकारीले गुप्त अङ्गहरूमा ताकेर हिर्काउने चलन छ।
यस साल वृन्दावनको यही रमाइलो होली हेर्न गएका दुई जना महिला पत्रकार अनि फोटोग्राफरसँग पनि यस्तै किसिमको घटना घट्यो। आफूसँग घटेको घटनाको विवरण गर्दै पत्रकारले भनिन्— “एउटा साधुले मेरो छात्तीमा हेरिरहेको थियो, मैले केही गर्न अघि नै उसले आफ्नो कुहिना मेरो छात्तीमा दलेर गयो। एउटा साधु भएर पनि यस्तो!!” यतिमात्र होइन, एक छिन पछि एक हुल केटाहरू उसको पछि लागे अनि पिचकारीले रङ्ग हान्न थाले। केही समय वाद उसको शरीर भतभति पोल्न शुरू भयो। ऊ त्यहाँबाट भागी। उसको एक जना साथीबाट उसले थाहा पायो की त्यो पिचकारी भित्र केवल रङ्गको पानी होइन तर केमिकल मिलाएको हुन्छ, जसले गर्दा केमिकल लागेपछि शरीरको छाला काटिने गर्छ अनि पिचकारीको पानीले छोएको ठाउँमा पोल्ने गर्दछ।
फेरी यस्तै किसिमको घटना फोटोग्राफरसँग पनि घट्यो। “म होलीको फोटो खिच्न भनी पुरा तयारीमा गएकी थिए,आफ्नो क्यामेरालाई पानी देखि बचाऊनको निम्ति पनि तयार। पहिरन पनि एकदमै सोझो, सलवार अनि दुपटा। तर त्यहाँ भएका मानिसहरूको मानसिकता देखि बाच्नको निम्ति भने केही तयारी गरेकी थिइन। म आफ्नो दुई साथीहरू सँग नन्दगाउँ पुगे। त्यति बेला नै एक हुल केटाहरू आएर हामीलाई घेरे। उनीहरूले एकपछि एक रङ्गले भरेको बाल्टी हामी माथि खनाए, पिचकारीको पानीले मेरो गुप्त अङ्गमा हाने अनि एकजनाले त मेरा गुप्त अङ्गमा हाथले छोएर पनि गए। मैले केही बुझ्न सकिन।” त्यहाबाट भागेर उसले एउटा घरको छतमा उभिएर तल सड़कमा हुँदै गरेको घटना हेरी रही। त्यहाँ भएको प्रत्येक महिला सँग पुरुषहरूले यस्तै प्रकारको व्यवहार गरिरहेका थिए, त्यो चाहे 8 वर्षकी  बालिका होस् वा 60 वर्षको वृद्ध आइमाई। त्यही बेला अचानक पछिबाट एउटा हाथ आएर उसको छात्तीमा छोयो। उसले त्यो हाथ पक्रेर पछि फर्की, त्यहाँ दुईजना युवक उभीएर हासी रहेको थियो। उसले ठुलो आवाजमा कराएर त्यस युवकको उसलाई छुने हिम्मत कसरी भयो भनेर सोद्धा, दिप्तीले जवाब पाई— ‘‘तिमी होलीको दिन यहाँ उभीरहेकी छौ,तिमीलाई के लाग्छ यहाँ अरू के हुन सक्छ?’
तर होलीको दिन कसैसँग रिसाउनु पनि त भएन, होइन र?! कारण ‘बुरा ना मानो होली है’ को अति मिठो ट्याग लिएर आउँछ यो चाँड़! के भयो र कसैले हाम्रो गुप्त अङ्गमा छोएर गए पनि। वर्षमा केवल एकपल्ट त यो चाँड़ मनाउनु पाउँछ र यती रमाइलो त गर्न पाइन्छ होइन र? तपाईहरूलाई के लाग्छ??
माथिको वृन्दावनको घटनाहरूको वर्णन मैले किन लेखे यहाँ?
हाम्रै वरिपरि होलीको दिन यस्ता घटनाहरू त कत्ति हो कत्ति घट्छन्। थुप्रै केटीहरू-आइमाईहरू त्यसलाई चुपचाप मानिलिन्छन्, आवाज पनि उठाउछन् होला कतिजनाले। तर यी माथिको घटनाहरूको वर्णन पढ़दा जति घिनलाग्दो अनुभूति हुन्छ, त्यति नै घिनलाग्दो अनुभव हुन्छ यस्ता घटनाको शिकार भएकी हाम्रा गाउँ-शहरकाहरूलाई। ती अनुभवलाई तपाईहरूसमक्ष राख्नलाई नै माथिको वर्णन राखे। 
इतिहासको स्रोतलाई छोड़ेर हेर्दा होली त सबैको निम्ति रमाइलो चाड़ नै हुनसक्थ्यो, तर केही पुरुषहरूले यस दिनलाई पनि पितृसत्ताको झलक देखाउने दिनको रूपमा लिन्छन्। परम्परा र संस्कृतिको नाममा हरेक वर्ष हजारौँ महिलाहरूसँग यस्तो घटना घट्छ। केही महाविद्यालय अनि विश्वविद्यालयका छात्राहरूलाई त होलीको दुई दिनसम्म होस्टलबाट बाहिर निस्कने अनुमति दिइँदैन। होलीको दिन महिलाहरू घरबाट निस्किनु कमसेकम दुई-तीनपल्ट सोच्नुपर्छ। चाँड़को रमझममा लुकेको यस्ता नराम्रा घटना जहाँ कुनै मानिस यौन उत्पीड़नको शिकार बन्न पुग्छ, यस्ता घटनाको विरोध गर्न जरुरी छ, होइन र?