Saturday, January 17, 2015

सम्पादकीय : नवेम्बर - डिसेम्बर २०१४

कस्तो हुनुहुन्छ ?

कस्तो छौ? प्रश्न सुन्दै आजकल प्राय नै ‘ठिकै छु’ भनेर मुश्किलले ओठमा मुस्कान ल्याई हिड्नथाल्छु। किनभने ‘राम्रै छु’ भनेर जोरसँग भन्नुमा एक प्रकारको दोधार भइरहेको छ। देशमा धुमधामले नयाँ सरकार आएको पनि केहि महिना बितिसक्यो, अनि एउटा वर्षको पनि अन्त हुनआँट्यो, यस्तो बेलामा यसो पछाडि फर्केर हेरौ हाम्रो दिनचर्या, हाम्रो जीवन हिड्ने बाटोलाई। 
पहाड होस् वा मधेश— जुन युवाले रोजगारको निम्ति गुजरात-महाराष्ट्र-तमिलनाडु अथवा मलेशिया-अरब गएर दैनिक १४ घन्टा खटेर पनि एकपल्ट बिरामी हुनु बित्तिकै सबै कुरो गुमाएर घर फर्कन बाध्य हुनु पर्छ— उसलाई थाहा छ, उ राम्रो छैन!
बिहानैदेखि रगतपसिना बगाएर खेतिपाती गरेतापनि जसको लागि नाफा टाढा भन्दा टाढा भइरहेको छ— त्यो गाउँलेहरू होस् वा रंगीचंगी विज्ञापनवाला प्लेसमेन्ट एजेन्सीहरूमा चक्कर लगाउदा हत्तुहैरान भएको भर्खर कलेज पास गरेको केटी अथवा सिभिक पुलिसको काम गुमाएको युवा होस्— उनीहरू पनि राम्रो भने छैनन्!
स्कुल-सर्विस कि प्राइमरी स्कुलमा चान्स लगाउनलाई बी.एड., बी. टी. गरेर बस्ने युवा-युवतीहरू होस् अथवा सिभिल सर्भिस पास गर्ने आशामा वर्षोदेखि किरायाको घरमा बसेर घरबाट पैसा माँग्दा लाज भइरहेको केटा केटी होस्, शपिंग मल, प्राइभेट नर्सिंग होम अथवा ठुलो अफिसको रिसेप्सनमा चाकरी गरेर महिनामा ५००० रुपियाँ हातमा पाउने केटी अथवा बजारमा सब्जीको भाउ सुनेर जसले भन्नुपर्दैछ — ‘होस्, एक किलो होइन, आधा किलो नै दिनुहोस्’— यी सबैजनालाईनै राम्ररी थाहा छ कि उनीहरू राम्रो छैनन्। 
तर प्रश्न के हो भने राम्रो नरहेतापनि भन्दा के पो हुन्छ र? अनि भन्यो भने पनि सुन्नेनै को छ र?
हाम्रो देशको सत्तामा बस्ने वा बस्नु खोज्ने पार्टीहरूका नेताहरूलाई राम्ररी थाहा छ कि हाम्रो देशको जनताका स्मरण शक्ति निकै कम छ। एउटा पार्टीको सरकारबाट वाक्कै भएर त्यसलाई बदलिएर अर्को पार्टीको सरकार ल्याएर फेरी हत्तु हुँदाहुँदै सोच्न थाल्छन् मानिसहरू— तब के पहिलाको सरकार नै राम्रो थियो? यस राज्यमा एउटा सरकार गए पछी अर्को सरकार ‘परिवर्तन’को नाममा आयो, यी दुइ भित्र तुलना चल्दाचल्दै हामी बिर्सिन्छौँ कि जुन भाजपा आज बिस्तारै उम्रिरहेको छ, उनीहरूले १९९९-२००४ सम्म सरकारमा रहंदा एकतिर आकाशछुने महंगाई, भ्रष्टाचार अनि अर्को तिर दङ्गा उक्साउनु जस्तो काम गरेको थियो। यी सब देखेरनै जनताले भोट दिएर कांग्रेसलाई ल्याएको थियो— जसको भ्रष्टाचारले पछी गएर सबै रेकर्डहरू भत्काई दियो। 
त्यही गुनासो र कर्पोरेट पुँजीको विज्ञापनको चम्किलो उपस्थितिले गर्दा आज फेरी केन्द्रको सत्तामा बसेका छन् नरेन्द्र मोदी। चुनाव अघिको महंगाई विरोधी, भ्रष्टाचार विरोधी स्लोगनहरू अहिले पछाडी सरिसकेको छ। नयाँ नयाँ म्याजिक जस्तै एक पछी एक नयाँ घोषणा गरिरहेका छन् नरेन्द्र मोदीले। उनले जम्मै संसारको पुँजीपतिहरूलाई आह्वान गर्दैछन् — प्रोडक्ट चाँही संसारको कुनै पनि ठाउँमा बेच्नुहोस्, तर ति तयार गर्ने काम इन्डियामानै गर्नुहोस्। मोदीको यो मोडेलको नाम हो— ‘मेक इन् इन्डिया’। यसले गर्दा हाम्रो देशको युवायुवतीहरूले राजगारको मौका पाउनेछन् रे। तर, संसारको विभिन्न देशको मालिकहरूले किन भारतमा आएर निवेश गर्ने? यदि यस देशमा सबभन्दा सस्तोमा आफ्नो श्रम दिने मानिस पाए भने उनीहरू निवेश गर्नसक्छन्, थप्नुहोस् सस्तोमा प्राकृतिक सम्पदाको आपूर्ति अनि लगामहीन ट्याक्स छुट। यस्तो मोडेल त हामीले पहिलादेखिनै चिन्छौं— सत्तामा बसेको पुरानो भाजपाको ‘इन्डिया साइनिंग’ वा कांग्रेसको ‘गरिबी हटाव’ अथवा यो ‘मेक इन् इन्डिया’ सबै एकै हो। 
यो मोडेलले गर्दा युवायुवतीहरूले जुन काम पाउनेछन् त्यो सबै नै ठेक्का प्रथामा वा ‘अप्रेन्टिस’को नाम दिएर बर्षोसम्म नाम मात्रको ज्यालामा काम हो। मालिकले चाहे भने कहिलेपनि कामबाट छटाई गर्नसक्छ, न्युनतम ज्याला वा श्रमिकको आवास-शिक्षा-स्वास्थ्य-दुर्घटना सम्बन्धित कुनै सामाजिक सुरक्षा दिने कुनै वाध्यता मालिकहरू माथि नरहोस् भनेर बदलिंदैछ देशको श्रम-कानुनहरू पनि। सिधा कुरा के हो भने आउने पुस्ताहरूलाई दिनमा अधिक भन्दा अधिक खटेर कम भन्दा कम ज्यालामा दिन गुजार्नु पर्ने स्थिति हुनेछ। 
त्यससित देशी-विदेशी ठुलो मालिकहरूको मुनाफाको निम्ति हाम्रो देशलाई उदाङ्गो पारेर बेचिनेछ खनिज सम्पदा, बनजंगल सम्पदा र जीव विचित्रता। जमिन र पानीको स्रोतहरूलाई निचोरेर खतम पारिन्दैछ द्रुत नाफाको आशामा। त्यसैपनि उपभोक्तावादको जमानामा धनी गरीब बीच गहिरो खाडल भइसकेको छ। सरकारको यस्तो नीतिले त जनतालाई झन् साह्रो गरिबी र भुकमारीको भुमरीमा हालिदिने छ। यसरी त न देशको मानिसहरूका पसिना-रगत चुस्नुको सिलसिला माथि रोक लाग्नेछ न मानिसको विकाशनै हुनेछ। ‘अच्छे दिन’ रे! बन्दैछ त एउटा ‘शक्तिशाली-विकसित’ भारत। 
के हामी यस्तै चाहन्छौं? 

डुवर्सको चिया श्रमिकहरू टुहुरा भएका छन्

ललित न्यासुर

एक समय थियो डुवर्समा, फ्याक्ट्री गेट अघि आवाज गुन्जन्थ्यो – “हाम्रो दाबी मान्नु पर्छ, मजदुरको रगत चुस्ने मालिक होसियार”। मालिकहरू डराउथे, मालिकले श्रमिकको कुरा मानेन अथवा मान्नु ढिलो गयो भने अफिस घेराउ, बगान बन्द, यति शक्तिशाली थियो युनियन, सानो थिए— स्कुल पडथे... थाहा छ सबै, आज, बगानमै नोकरी गरी रिटायर भएको पनि आठ वर्ष भइ सकेछ, ग्राच्युटी पाएको छुइन, प्रभिडेन्ट फण्डको पुरा रकम हाथ परेको छैन, डुवर्सको प्राय सबै चियाबगानमा यस्तै हालत छ, आजको मालिक युनियन र सरकारदेखि डराउदैन, आज उनीहरूको कुरा मजदुरले मानेन भने गेटमा ताला झूलिन्छ, बन्द बगानमा श्रमिक र उनको परिवारको हालत जे होस्— कुनै वास्ता छैन, ४ वटा बगान बन्द छ आजको दिनमा पनि, प्लान्टेशन लेबर एक्ट-१९५१ फोरिएर धुलो धुलो भएको छ, श्रमिकले पाउदै आएको सुविधाहरू बिस्तारै बन्द हुँदै जाँदैछ, प्रभिडेन्ट फण्डमा जमा भएको रकम मालिकलेनै खाँदैछन्, समयमा तलब र राशिन दिदैनन्, धेरै बगानमा झोड़ाको पानी पिउनु पर्ने बाध्यता छ, घर मरम्मती हुँदैन, वर्षा याममा घर भत्किएर मान्छे घाइते हुन्छ, अस्पताल छ डाक्टर छैन, औषधी छैन, कतिपय बगानमा हथोड़े डक्टरले उपचार गर्दा मान्छे मरिरहेका छन्, बन्द रहेको बगानमा भोजनको अभावले मान्छे मर्ने, कामको खोजीमा ठुलो शहरतिर जाने, अभावको फायदा लिई तस्करहरूले मानव तस्करी र नारी तस्करी गर्ने, युवतीहरूलाई वेश्यालयमा नरकको जीवन विताउनु पर्ने— यस्तो स्थिति उत्पन्न भइसकेको छ। चल्दै गरेको बगानमा पनि श्रमिकहरू आतङ्कमा जीवन बिताईरहेका छन्, कुनै पनि समय उनीहरूका बगानमा पनि ताला झुलिनु सक्छ। रोज बड़दैन, ९५ रुपियाँ दैनिक रोज छ। त्रिपक्षीय बैठक बसिन्छ तर फैसला हुँदैन, राज्यले केन्द्रीय श्रम मंत्री र वाणिज्य मंत्रीसम्मलाई गुहार मांगी रहेको छ, लोकसभामा बंगालका सांसद्हरूले तहलका मच्चाई रहेको छन्।
उत्तर बंगालमा लगभग ४५० चिया बगान छन् भने डुवर्समा मात्रै १५४ वटा बगान छन्, भोटाङको जम्मा १८ वटा दूर्गको ७ वटा विशाल विशाल दूर्ग डुवर्समा छन्, यस ठाउको नामकरण पनि दूर्ग (fort)-जोडेर डुवर्स भएको हुनु पर्छ— भन्ने गर्छन् जानकारहरूले। पूर्वमा आसाम सिमानाका सुनकोश खोला देखि पश्चिमको टिस्टा खोलासम्मको भोटाङको पाददेशमा पर्ने समतल क्षेत्रको नाम ‘डुवर्स’ कुनै कारणले होला— पुर्वजहरूले डुवर्सलाई तीन खण्डमा भाग गरेछन्, जस्तै— पूर्व डुवर्स (सुनकोश देखि तोर्षा खोलासम्म), मध्य डुवर्स(तोर्षा देखि डाइना खोलासम्म), अनि पश्चिम डुवर्स (डाइना देखि टिस्टा खोलासम्म)। भारत सरकारले यस डुवर्स क्षेत्रको निम्ति भोटाङ सरकारलाई वर्षेनी नियमित रूपमा खजाना तिर्दै आइरहेको छ।
इतिहासकारहरूका भनाइ छ— चियाको उद्योग शुरु हुनु भन्दा प्राय २५० वर्ष अघि देखि गोर्खाहरू यस डुवर्समा बसेका थिए, भोटाङका एक अवतारी लामा साबडुक नामग्याल नेपाल भ्रमणबाट फर्किंदा तत्कालीन नेपालका राजा रामशाहले भोटाङको सुरक्षाको निम्ति विष्णु थापाका जिम्मामा ५० गोर्खा परिवारलाई पठाएको रहेछ, उनीहरू प्रहरी भई यहीँ समतल क्षेत्र (आजको डुवर्स) मा खेतीबारी गरी बसेका रहेछन्। अंग्रजी सन् १८११ मा सोही अवतारी लामा पुनः नेपाल जाँदा त्यस घरीको राजा डम्बर शाहले पनि असंख्य प्रजाहरूलाई पठाएको कुरा इतिहासमा वर्णित छ।
डुवर्समा चियाको खेती शुरु भएको सन् १८९७ देखि को, पहिलो चिया बगान हो- ‘गजलडुबा चिया बगान’। इस्ट इण्डिया कम्पनीले यसरी नै चिया बगान बसाउँदै जाँदा नेपाल, झारखण्ड, बिहार र उड़ीसाबाट असंख्य मजदुर ल्याए, चिया स्थापनाकाल देखि यसो लगभग ढ़ेड़ सय वर्ष भएछ यी मजदुरहरू यहाँ बसेको। व्यवसायी र अन्य जातीहरू पनि केही पछिबाट आएका हुन्। तर, उनीहरू आज सामर्थ छन् भने चिया बारीमा खट्नेहरू शरणार्थीहरू सरह छन्- एक इन्च माटो आफ्नो नाउँमा छैन। जमीनको पट्टा नहुँदा सरकारी सहुलियतबाट पनि वन्चित छन् यीनिहरू। बगीचा श्रमिक ऐन १९५१ त बनियो जस अन्तर्गत पक्का घर, अस्पताल, शुद्ध खाने पानी, प्राथमिक शिक्षा, सलाना छुट्टी, तिर्पल, ओड़ने कम्बल, चप्पल दिनु पर्ने, शुरू शुरूमा मालिकहरूले दिने गरेको पनि थियो, मालिकको खर्च धेरै बड़ेर गयो, स्वदेशी मालिकहरूले यसलाई बहन गर्ने चाहेनन्। पछि पछि बगीचा ऐनलाई सरकारी नजरबाट लुकाएर पालन गर्नु छोडीयो, एक्कासि उनीहरूले श्रमिकहरूलाई पाउनु पर्ने हकबाट वन्चित गर्न लाग्दा पनि बगानमा रहेको युनियनहरू एकमुख हुन् सकेंनन्, यसैको फल भोग्न पर्दैछ आजको युनियन र श्रमिकहरूले, आज मालिकहरूका युनियन CCPA शक्तिशाली भएको छ, सरकारलाई हल्लाउने ताकत छ उनीहरूकोमा, कुरा-उनीहरूको पक्षमा नभए गेटमा ताला झुलिन्छ, हाहाकार भच्चाइ दिन्छ, संसारमा सबै भन्दा ठुलो गणतान्त्रिक देश- भारत, चिया उधोगको यस समस्यालाई समाधान गर्न सकेन भने ‘अच्छा दिन’ कसरी आउने?
चिया उत्पादन, विक्रिदर र मुनाफाको वर्षनी प्रकाशित तथ्यले बताए अनुसार मालिकहरूलाई घाटा छँदै छैन। चिया उधोगमा इमान्दारी पूर्वक, मन लगाएर मालिकहरूले ध्यान दिए, आफू मात्र बाँच्नु होइन, श्रमिकहरूलाई पनि राम्रो अवस्थामा बाँच्नु दिने सत-विचार मालिकहरूको मनमा पलाएन भने देश कसरी अघि बड़ने? 

चिया बगान हडताल

थेन्दुप लामा

विगत ११ अनि १२ नोभेम्बरको दिन ‘जोइन्ट फोरम’ (२३ वटा ट्रेड युनियनको संगठित मंच)-ले पहाड, तराई अनि डुवर्सको समस्त चिया बगान हड़ताल अनि १२ नोभेम्बरको दिन तराई-डुवर्समा आम हड़तालको आह्वान गयो। यो हड़ताल पहाड, तराई अनि डुवर्सको चिया बगानको श्रमिकहरूका निम्ति न्यूनतम मजदुरी अधिनियम (मिनिमम वेज एक्ट) अनि परिवर्तनशील महंगाई भत्ता (भी.डी.ए.) सरकारले लागु गर्नुपर्छ भन्ने माँगमा गरिएको थियो।
यस वर्ष ३१ मार्च, २०१४-मा पुरानो वेतन चुक्तिको म्याद समाप्त भयो। २०११ सालको वेतन चुक्तिमा पहाडका चिया श्रमिकहरूको ९० रुपियाँ हाजिरा तोकिएको थियो भने तराई अनि डुवर्सका श्रमिकहरूको वेतन ८५ रुपियाँ तय गरेको थियो अनि एक वर्षको अन्तरालमा ५ रुपियाँको दरले बढाउने जुक्तिले अहिले हाजिरा ९५ रुपियाँ छ। त्यस वेतन चुक्तिमा २०१२ सालको मई महिना देखि दैनिक मजदुरी श्रमिकहरूको निम्ति परिवर्तनशील महंगाइ भत्ता लागु हुने राज्य सरकार अनि मालिक पक्षबाट आश्वासन दिएका थिए। तर यसलाई लागु गर्न राज्य सरकार अनि मालिक श्रेणीले कुनै कदम उठाएनन्। 
१ अप्रिल २०१४ देखि नयाँ वेतन निर्धारण गर्नलाई श्रम दफ्तरद्वारा आयोजित त्रिपक्षीय बैठक पाँचपल्ट असफल भएको छ। सरकार अनि मालिक पक्ष केहि रुपियाँ बढाउने चाँजोमा छ भने २३ वटा युनियनको गठबन्धन जोइन्ट फोरम मिनिमम वेजको माँगमा एकमत छन्। यसरी बारम्बार श्रमिकहरूको हितको निम्ति मिनिमम वेज एक्टको माँगलाई सरकार अनि मालिकहरूले अस्वीकार गर्दा समस्त चिया श्रमिक जोइन्ट फोरमको अगुवाइमा आन्दोलन गर्न मैदानमा उत्रेको छ। आन्दोलनको रुपमा सरकार अनि मालिक पक्षलाई दवाव दिनुलाई जोइन्ट फोरमको नेतृत्वमा २६ जुन, २४-२५ जुलाई अनि १३-१४ अगस्तमा काम सुरू गर्नु अगाडी प्रत्येक चियाबगानमा विक्षोभ प्रदर्शन, गेट मिटिंग तथा पहाड, तराई अनि डुवर्सको विभिन्न ठाउँहरूमा संयुक्त जनसभा तथा जुलुस पनि गरेको छ। २० अगस्तमा असंख्य चिया मजदुरहरूका जुलुसले सिलिगुडीको सडक डाकेको थियो भने १३ अक्टोबरको दिन श्रमिकहरूले बगान बहिर आएर ४० वटा सरकारी आफिसमा प्रधानमन्त्री तथा मुख्यमन्त्रीको निम्ति मिनिमम वेज एक्टको अनुसार जायज वेतन ढाँचा लागु गराउनुपर्ने भनेर डेपुटेसन जमा गरे। सरकार पक्षबाट केहि पनि सकारात्मक विचार नपाउदा आन्दोलन एक पाइला अघि बढे अनि ११–१२ नोभेम्बरमा बगान हड़ताल अनि १२ नोभेम्बरमा आम-हड़ताल पनि पालन गयो। 

बगान हड़ताल अनि आम हड़ताल : प्रभाव अनि प्रतिक्रिया 
दुइ दिनको बगान हड़ताल पहाड, तराई अनि डुवर्सको सबै बगानमा नै सफलता पूर्वक पालन गयो भने केहि बगानहरूमा जोइन्ट फोरममा नरहेको सत्तासीन पार्टी तृणमूल कांग्रेसको ट्रेड युनियनले यस हड़ताललाई समर्थन गरेन।
 दार्जीलिंगको सबै बगानहरूमा फ्याक्ट्रीको चियापत्ती पेल्ने मेसिन चलेन, श्रमिकहरू काममा उपस्थित रहेन अनि कुनै तनावपूर्ण स्थिति सिर्जना नभएको खबर छ। त्यहाँ श्रमिकहरूले हड़तालको दिन व्यापक रुपमा गेट मिटिंग अनि जुलुश गरे। तराई अनि डुवर्सको बगानमा जसरी मालिकहरूले श्रमिकहरूलाई भोको पेट पार्न फ्याक्ट्रीमा ताला लगाएर सुइकुच्चा ठोक्थे त्यस्तै यी दुइ दिन श्रमिकहरूले आफ्नो हक र मर्यादाको लडाईको निम्ति फ्याक्ट्रीको गेटमा ताला लगाएर मालिकहरूलाई लोभको मुनाफा बढाउनुमा बाधा पुयाए। त्यहाँ पनि ज्यादातर बगानहरूमा श्रमिकहरूले गेट मिटिंग अनि जुलुस निकाले। जोइन्ट फोरमका नेता चित्त देले भने— हड़ताल सफल रह्यो कारण काममा कोहि पनि मजदुर गएन अनि चारवटै जिल्लाको बगानहरू बन्द रह्यो अनि अझ उनले भने कि यहाँबाट नै थाहा पाइन्छ तृणमूल कांग्रेसले चिया बगानहरूबाट प्रभाव गुमाउदैछ कारण तिनीहरूले श्रमिकहरूको चाहना र उमंगलाई पूरा गर्न सकेन। 
 नक्सलबारी चिया बगानमा तनावपूर्ण अवस्था रह्यो जब तृणमूल कांग्रेसका समर्थहरू बगानमा पत्ती टिप्न पस्दा जोइन्ट फोरमका समर्थकहरूले रोके तर दार्जीलिंग पुलिस अनि आर.ए.एफ. अर्धसैनिक बलको आगमनले स्थितीले ठुलो रूप लिनसकेन। सी.आई.टी,यु-को नेता गौतम घोषले भन्यो तराईको सबै ४९वटा बगान बन्द रह्यो अनि तृणमूल समर्थकहरू पनि आन्दोलनमा भाग लिए। करला भेली चियाबगानको तृनमुल टी प्लान्टेसन वर्कर्स युनियनको कार्यकर्ताले जोइन्ट फोरमले श्रमिकको हितमा आन्दोलन गरेको कारणले उनीहरूको युनिट पनि हड़तालमा सामेल भएको बताए। तर तृणमूल ट्रेड युनियनका नेता मिठु मोहंतले उनीहरूको झण्डा समातेर हड़ताललाई सघाउने उनीहरूको समर्थक होइन भने अनि बन्दको विरोध गरे। अर्को तृणमूल ट्रेड युनियनको नेता आलोक चक्रवर्तीले उद्योगलाई बन्दद्वारा केहि पनि नोक्सान नभएको अनि ज्यादातर फ्याक्ट्री चल्यो भनेर बतायो। अटल चियाबगान अनि मेरी भ्यु चियाबगानमा बन्दलाई विफल बनाउनुको निम्ति तृणमूल समर्थकहरू पुलिसको सहारा लिँदैथिए तर पुलिस अनि नेताहरूले त्यहाँको महिला श्रमिकहरूको कडा विरोधको सामना गर्नुपयो। विभिन्न स्रोतहरू अनुसार प्राय बगानहरूमा नै हड़तालको खास प्रभाव थियो। 
चिया मालिकहरूले बताए कि ४८ घण्टे बगान हड़तालमा उनीहरूलाई ३० करोडको नोक्सान भयो। 
१२ नोभेम्बरको १२ घण्टे आम हड़ताल पहाडमा पालन भएन कारण त्यहाँको शक्तिशाली ट्रेड युनियन डी.टी.डी.पी.एल.यु.-ले टुरिजमलाई बाधा नदिने अनि विद्यार्थीहरूको परीक्षामा पनि हड़तालको प्रभावले हानी पुग्ने बताएर हड़ताल नगर्ने निर्णयमा पुगे पनि बगान हड़ताललाई त्यस दिन पनि पालन गरे।
यो हड़तालमा केही बगानहरूको म्यानेजर बंगलोहरुमा काम यातायात चल्यो भने नोक्सान पूर्ति गराउन छुट्टीको दिन काम पनि लाग्यो जुन अस्वाभाविक हो।
प्राप्त रिपोर्ट अनुसार तराई अनि डुवर्समा आम हड़ताल सफल रहेको दाबी छ। १२ तारिकको दिन दार्जीलिंग जिल्लाको तीन महकुमामा आम हड़ताल पालन नभएता पनि यसै जिल्लाको सिलिगुडी महकुमामा व्यापक हड़ताल मच्चियो। जलपाईगुडी, अलिपुरद्वार, उत्तर दिनाजपुरको इस्लामपुर अनि चोपडा साथै कुचबिहारको मेख्लीगंज आम हड़तालको पूर्ण नियन्त्रणमा थियो।

बगान हड़ताल अनि आम हड़ताल : समीक्षा 
चिया बगानका श्रमिकहरूको वेतन वृद्धि अथवा मिनिमम वेजको जुन आन्दोलन चल्दैछ, त्यो एकदमैं न्यायसंगत लडाई हो। आजको महँगो युगमा पनि असंगठित क्षेत्रका श्रमिकहरू भन्दा कम ज्याला चिया श्रमिकहरूले पाउनु अन्यायपूर्ण अनि अमानवीय हो। इतिहास साक्षी छ जब जब मालिकहरू मजदुरमाथि क्रूर शोषण गर्छन् त्यति बेला मजदुरहरू आफ्नो मान-स्वाभिमानको निम्ति गर्जी उठेको छ र इतिहासलाई नयाँ दिशा दिएको छ। चियाबारी सङ्घर्षको इतिहासमा पनि इमान्दार ट्रेड युनियनको नेतृत्वमा मजदुरहरूको अटुट एकता अनि बलिदानको फल स्वरुप १९५५को आन्दोलनमा जित हासिल गरेको थियो। त्यसपछि विस्तारै नानाथरीका राजनैतिक उथलपुथलको साथसाथै अवसरवादी धाराको ट्रेड युनियनहरूले मजदुरहरूसँग भन्दा ज्यादा मालिकहरूसँग राम्रो सम्बन्द बनाउने नीतिले दिनदिनै श्रमिक आन्दोलन तहसनहस गर्दै कमजोर अवस्थामा पुयाइदियो भन्दा कुनै आपत्ति नहोला। त्यसैकारणले चिया क्षेत्रका श्रमिकहरूले अहिलेसम्म पनि आफ्नो श्रमको उचित मुल्य पाएका छैनन् अनि मालिकहरूको धेरै अत्याचार खप्नुपर्छ। मजदुर सङ्घर्षको कमजोरीले गर्दा नै आज श्रमिकको जीवन दयनीय अवस्थामा छ। 
चिया बगानमा अहिले उठेको आन्दोलनले फेरी श्रमिकहरू माथि नयाँ उमंग र जोसको बिउ छर्दैछ भने यस आन्दोलनलाई बचाई राख्न पनि श्रमिकहरूकै हाथमा छ। आज उठेको एकबद्ध आन्दोलन पनि श्रमिकहरूकै एकताको फल हो। किनभने सबैलाई थाहा छ ट्रेड युनियनहरूले श्रमिकहरूको आस्था गुमाउदै थिए। जोइन्ट फोरमको नेतृत्वमा चल्दै गरेको आन्दोलनले कुन दिशा पक्रिने हो त्यसको निष्कर्षमा अहिले नगएको नै ठिक हुन्छ किनभने विगतका वेतन चुक्तिमा पनि यी युनियनहरूले नै आसन ग्रहण गरेका हुन र त्यसको नतिजा श्रमिकहरूले कसरी भोग्दैछन् यो यहाँ यथार्थ छ। तर यो पक्कै भन्न सकिन्छ कि एकत्रित मजदुरहरूको दबाबले नै यस आन्दोलनलाई दिशा निर्देश गर्नमा पूरा मद्दत पुयाउछ।
अहिले जोइन्ट फोरमको वेज वृद्धिको आन्दोलनले जुन गति पक्रेर बगान हड़तालसम्म गरे यसको खास महत्व छ। आन्दोलनले हड़तालको रूप ल्याउनु त्यसको खास विशेषता छ। एउटा सर्वहारा नेताले हड़तालको विषयमा यसरी लेख्छन्- “हरेक हड़तालले पुँजीपतिलाई याद गराउछ कि ऊ होइन, तर मजदुर, त्यो मजदुर वास्तविक स्वामी हो, जसले अत्याधिक ठुलो स्वरमा आफ्नो अधिकारहरूको घोषणा गर्दैछन्। हरेक हड़तालले मजदुरलाई याद गराउछ कि उसको स्थिति असहाय होइन, किनभने ऊ एक्लै छैन। सामान्य शान्तिपूर्ण समयमा मजदुर कुनै संकोच बिना काम गर्छन्, मालिकको बातको विरोध गर्दैनन्, आफ्नो हालतमा पनि चर्चा गर्दैनन्। हड़तालको समयमा उनि आफ्नो माँगहरू ठुलो आवाजमा प्रस्तुत गर्छन्, मालिकहरूको आफ्नो सबै दुर्व्यवहारहरू याद गराउछन्, उनी आफ्नो अधिकारहरूको दावा गर्छन्, उनी केवल आफ्नो अनि आफ्नो मजदुरीको बारेमा सोच्दैनन्, तर आफ्नो सबै साथीहरूको बारेमा सोच्छन्, जसले ऊ सँगै औजार तल राखिदिएको छ अनि कुनै पीडाको चिन्ता नगरि मजदुरहरूको जितको निम्ति उठेका छन्”।
यस हड़तालले सरकार र मालिक पक्षलाई जोडदार रुपमा हल्लाएको छ साथै चिया बगान बाहिरका समाजले पनि हड़तालमा सहयोग पुयाउदा अज आन्दोलन मजबुत भएर गएको छ। यस स्थितिमा ट्रेड युनियनको आन्दोलनबाट बाहिर यसलाई सामाजिक आन्दोलनको रूप दिनु अति आवश्यक छ। अहिले सम्मको गतिविधिलाई मध्य नजर राख्दै जोइन्ट फोरमको सकारात्मक भूमिका उल्लेखनीय छ तर जोइन्ट फोरमले यो आन्दोलनलाई वास्तविक कस्तो रूप दिनेछ, मालिक र मजदुर बिचको निरन्तर चलिरहने सङ्घर्षलाई कस्तो स्थान दिनेछ, भविष्यमा यसको रणनीतिले कति सफलता हासिल गर्नेछ, मंच आफै कतिको बलियो छ? — यी सब प्रश्नको उत्तर हामी समय सापेक्ष नै पाउनेछौ। 

सोनाली चिया बगानमा सल्कियो भोको पेटले लगाएको आगो

मुक्ति सुनवार

डुवर्सको सोनाली चिया बगानमा रोकिएको वेतनलाई लिएर भएको झडपमा क्रुद्ध श्रमिकहरूको हातबाट २२ नवम्बरको दिन म्यानेजर राजेस झुनझुनवालाको हत्या भयो। यही केही महिना अघाडी जुनमा यो राज्यको अन्य प्रान्तमा नर्थब्रुक जुट मिलमा श्रमिकहरूको विक्षोभको वहिप्रकाश स्वरूप त्यहाँको सी.इ.ओ. ले प्राण त्यागे। तर के यी सब घटनाले केही बदलाव ल्याउछ? मालिकहरूले केही शिक्षा लिन्छ? सट्टाबाज मालिकहरूको बेहिसाब पुँजी थुपार्ने प्रक्रियामा केही लगाम लाग्यो त? 
विभिन्न स्रोतबाट नै प्राप्त खबर अनुसार, सोनाली चियाबगानको म्यानेजर राजेसको परिचय र उसको कार्यक्षमतालाई लिएर धेरैवटा विवादास्पद कुराहरू छन् जसमा राजेस विरुद्ध २००८ देखिनै धोखाधडी र प्राय ३० करोड रुपियाँको हिनामिनाको आरोप लगाइएको छ। राजेस विरुद्ध यी आरोपहरु पश्चिम बंगाल लगायत सिक्किम सरकारको पनि छन्।
सोनाली चिया बगानको मजदूरहरूले म्यानेजर राजेस झुनझुनवालाको हत्या गरे। पुलिस २ घण्टा पछि पुगे, अनि ७ सन्देहास्पद व्यक्तिहरूलाई पक्रे, जसमा ५ महिला अनि २ जना छात्र थियो। यस घटना पछि समाजको विभिन्न स्तरबाट धेरै आरोप श्रमिकहरू माथि आयो। प्लानटर्सहरूबाट झन् निकै नै यस्तो आरोप आयो, तिनीहरूले मुख्यमन्त्री स्वयमलाई यस घटनाको खोजबिनमा बस्ने अनुरोध सम्म पठाए। एक हिसाबले ठिकै पनि हो, व्यक्ति हत्यालाई कुनै पनि समस्याको समाधान मान्न सकिंदैन। तर हामीले यो हेर्न पनि जरूरी छ कि कुन परिस्तिथिमा यस्तो घटना घट्यो? अर्थात् किन अचानक श्रमिकहरूले यस्तो निर्णायक फैसला लिए?
सोनाली चियाबगान त साधारण चियाबगान होइन। यसको आफ्नै इतिहास छ। ३१ नम्बर राजमार्गको बाग्राकोटदेखि सात किलोमिटर भित्र छ यो बगान। सन् १९६०मा ब्रिटिसको हातबाट भारतीय मालिकको हातमा पयो यो बगान। त्यस पछि १९७२ मा खेम्का ब्रदर्सले यो चिया बगान लियो। बगानबाट हत्याउन सक्ने सबै पुँजी हत्याएर तिनीहरूले रूखो बगानमा श्रमिकहरूलाई निरास पारि लाखेटो कसे। यस्तो स्तिथिमा श्रमिकहरूले आफै यो बगान चलाउने निर्णय लिए। १९७३-१९८१ सालसम्म श्रमिक सहकारीमा (वर्कर्स को-अपरेटिभ) चलेको यो बगान, जसको बारेमा धेरैवटा राम्रा उदाहरणहरू रचिए पनि। बगान फेरी फुलेको देख्न साथ, मालिकले आफ्नो सम्पत्तिको दावी गर्दै कोर्टमा, श्रमिकहरूको यो अगुवाई गैरकानुनी हो भन्दै, मुद्दा हाल्यो। त्यस पश्चात् बगान फेरी उल्टो दिशामा हिड्न थाल्यो। श्रमिकहरूको को-अपरेटिभको समयमा जमा गरिएको कयौ लाख रुपियाँ पनि कहाँ हरायो हरायो! दीर्घकालदेखि श्रमिकहरूको प्रभिडेन्ट फण्ड र ग्रयाच्युटीको रुपियाँ पनि जमा गरेका थिएनन् मालिकले। फेरी वेतन दिइनुमा हेलचेक्राई हुन थाल्यो।
त्यहि परिस्तिथि चलिरहेको थियो अनि अक्टुबर अनि नवम्बर २०१४-को वेतन पनि तिनीहरूले पाएका थिएनन्, बारम्बार तिनीहरू म्यानेजर अनि मालिक कहाँ जाँदा पनि केहि भएको थिएन। तिनीहरूले आफ्नो वेतन पाउने आश्वासन समेत पाएका थिएनन्। त्यसरी नै तिनीहरू २२ नवम्बर पनि आफ्नो हक अनि अधिकार लिन म्यानेजर कहाँ पुगे, जब म्यानेजर वेतन दिन मानेन, तब— उत्तेजित, निराश, अनि आक्रोशित श्रमिकले म्यानेजर राजेसलाई घसिटेर, कुटेर घटना स्थलमै मारिदिए।
यो आक्रोशित श्रमिकहरूले गरेको घटना हो। र यो घटना श्रमिकहरूले झेल्नु परिरहेको स्थितिको अभिव्यक्ति हो, यो घटनाले यो पनि स्पष्ट पारिदिन्छ कि चिया बगानमा कस्तो प्रकारको दमन चलिरहेकोछ, जसले गर्दा श्रमिकहरूले यस्तो निर्णय लिन पयो। मालिकले वेतन दिईरहने भए अनि श्रमिकहरूले आफ्नो हक अधिकार नियमित रूपमा पाईरहने भए के यस्तो घटना घट्ने थियो होला?
यस घटनाको निरन्तरतामा जे हुन्छ, पक्रा पारेको श्रमिकहरूलाई जे गरिन्छ त्यसले भारतको अन्धो अनि बहुसंख्यक खटिखाने जनता विरोधी नीति अनि नियमहरूलाई अझ स्पष्ट पारि दिनेछ। जुन देशमा नियम पारित भइसकेको ७० वर्ष बितिसक्दा पनि मालिकहरूले त्यो नियम लागु गरेको छैन, अनि आश्चर्यको कुरा मालिकहरूलाई कहिले पनि यसको निम्ति जेल खट्नु पारेको छैन, त्यस देशमा श्रमिकहरूले यस्तो काण्ड गरेमा के हालत हुनेछ होला, त्यो हाम्रो कल्पना बाहिर छ। अनि देशको कानुन कहाँ हुन्छ जब, हजारौं मजदूर अनि उनीहरूको परिवारलाई लथालिङ्ग छोडेर मालिकहरू बगान बन्द गरेर भाग्छन्? चुंगथुंग चिया बगानको श्रमिक बाबु राम देवानको हत्यारा, बगान मालिक अजित अग्रवाललाई के यो देशको कानुनले कटघरामा ल्याउन सकेको छ?
यस्तै थोत्रे कानुन अनि परिस्तिथि बीच फसिरहेको छ यस देशको खटिखाने जनता। र यो घटना पनि यहि परिस्तिथि बीच उम्रिएको प्रतिक्रिया हो, र यसको समाधान सजाय होइन, अर्थनैतिक सुधार हो, जहाँ श्रमिकहरू पनि मान्छे झैँ बाँच्न पाउन्, जहाँ परिस्तिथिले तिनीहरूलाई यस्तो अमानवीय घटना घटाउन बाध्य नगरोस।

चाय गरम : चिया श्रमिकहरूको सङ्घर्षको तथ्यचित्र

कपिल तामाङ


दार्जीलिङ-तराई-डुवर्सको चिया श्रमिकहरूको अवस्था अनि सङ्घर्ष, उत्तर बङ्गालको अञ्चलहरूमा नै सीमित छ अनि यसको यथार्थ बारे बाकी संसार सधैँ प्राय अज्ञात हुन्छन्। चिया बगानको कालो यथार्थ, त्यहाँको शोषण अनि अत्याचारले चियाको बुट्टाहरूले झैँ गहिरो जरा गाडेको छ। यहाँका कम-बेसी ११ लाख मानिसहरू चिया उद्योगसँग सम्बन्धित छन् अनि तिनीहरूका पुस्ता-पुस्ताले झेल्दै आएका शोषण-अत्याचार उत्तर बंगालको चिया बगानहरू भित्रै दबिएको हुन्छ। अहिलेको यस्तो महँगाईमा पनि चिया श्रमिकहरू ९०/९५ रुपियाँको हाजिरामा कसरी आफ्नो घर-संसार चलाइरहेका छन् त? यसको उत्तर हामीले चिया बगानका श्रमिकहरूको स्थितिलाई नियालेर हेरौं भने राम्ररी बुझ्न सक्छौँ। ब्रिटिस कालदेखि नै श्रमिकहरूको श्रमको मूल्य मलिकपक्ष, सरकारपक्ष अनि युनियनको त्रिपक्षीय बैठकमा कुनै नीति बिना निर्धारित गरिन्छ— जसको वैधता तीन वर्षसम्म रहन्छ, जसले गर्दा श्रमिकहरू त्यस ज्यालामा आफ्नो श्रम दिन बाध्य हुन्छन् र आश्चर्यजनक ढङ्गले यो प्रथा आजसम्म चलिरहेको छ।
२०१४ को मार्च महिनामा नयाँ कुरा देखा पयो। तर यसपालि भने सधैँ झैँ त्रिपक्षीय बैठकमा ज्याला निर्धारण हुन सकिएन। १९४८ मा भारत सरकारले न्यूनतम ज्याला ऐन (मिनिमम वेज एक्ट) पारित गयो। तर त्यो उत्तर बंगालको चिया उद्योग क्षेत्रमा भने कहिले पनि लागु गरिएन। आज श्रमिकहरूको दबाउले हो या परिस्थितिको मांगले भनौं, चिया बगानका सबै युनियनहरू एकत्रित भएर जोइन्ट फोरमबाट न्यूनतम ज्याला ऐन लागु गर्ने मांग लिएर बाटोमा ओर्लिएका छन्। यस फोरममा सत्ताधारी पार्टीको युनियनहरू संग्लग्न छैनन्, र यस फोरमको तर्फबाट सरकारपक्षलाई दबाउ दिइरहेका छन्। यस्तो परिस्थितिमा एक्टिभिस्ट फिल्ममेकर्सको टोली ‘क्यानभास’ले एउटा तथ्यचित्रको माध्यमबाट यस विषयलाई जनता सामु लैजाने प्रयासमा “चाय गरम” भन्ने तथ्यचित्र बनायो।
“क्यानभास” हो सक्रिय सामाजिक कार्यकर्ताहरूको तथ्यचित्र बनाउने समूह। समाजमा घट्दै गरेको नाना अन्याय-असमानता-अत्याचारलाई दर्शाउने तथ्यचित्र बनाउछ क्यानभासले। समाजको साधारण जनता तथा खटिखाने मानिसहरूमाथि शासकवर्गको निरङ्कुश आक्रमणको विरुद्ध प्रतिवाद गर्दै संसारलाई यथार्थबोध गराउने चेष्टामा सक्रिय रहन्छ क्यानभास। यस सिद्धान्तमा उभिएको क्यानभासले चिया बगानको खटिखाने श्रमिकहरूको आवाजलाई अझै प्रगाढ अनि प्रचार गर्ने संकल्प लिएर “चाय गरम” नामक तथ्यचित्र बनायो। यस तथ्यचित्रको निर्माणमा कमानका श्रमिकहरू, विभिन्न सङ्घर्षसँग जोडिएका मानिसहरू, विद्यार्थीहरूको सक्रिय भूमिका रहेको छ। क्यानभासले नेपाली, बंगला, हिन्दी र अङ्ग्रेजी— यी चारैवटा भाषामा उक्त तथ्यचित्र बनाएर विभिन्न भाषा बोल्ने मानिसहरू समक्ष पुग्ने कोसिस गरेको छ। 
त्यस तथ्यचित्रमा चियाबगान अनि चिया बगानका श्रमिकहरूको ऐतिहासिक पृष्टभूमि देखि लिएर चियाबगानको ऐतिहासिक सङ्घर्षको विस्तृत विवरण दिदैं आजको सोचनीय अवस्था अनि आजको सङ्घर्षको तथ्य सबैको सामु स्पष्ट पार्ने चेष्टा गरिएको छ। ब्रिटिस शासनकालमा तराई अनि डुवर्सको क्षेत्रहरूमा राँची, बस्तार, राउरकेला अनि छोटानागपुरबाट अनि दार्जिलिंग पहाड क्षेत्रमा भने नेपाल अनि अञ्चलहरूबाट दासको रूपमा मानिसहरूलाई ल्याएर चिया उत्पादन गर्न हेतु खटाइएको जानकारी पनि हामी यस तथ्यचित्रमा पाउन सक्छौँ। भारत स्वतन्त्र भएतापनि यहाँका मानिसहरू भने दासत्वमै बाँचिरहेका छन्। समय बित्दै जाँदा पुँजीवाद फस्टाउन थाल्यो, नयाँ-नयाँ कल-कारखानाहरूको निर्माण हुन साथ चिया बगानका मालिकहरूले चियाबाट भएको नाफा अनि बगान चलाउने पैसा नयाँ कल-कारखानाहरूमा निवेश गर्न थाले जसको कारण चिया बगानको अवस्था दिन प्रतिदिन बिग्रन थाल्यो। मालिकहरूले यो मूल कारणलाई नकार्दै चिया उद्धयोग सङ्कटमा छ भन्दै बहाना गर्न थाले। एक पछि अर्को चिया बगानहरू बन्द हुन थाल्यो अनि जुन बगानहरू खुला थियो ती बगानहरूको अवस्था पनि कमजोर हुन थाल्यो। चिया बगानलाईनै आफ्नो संसार भनी चिनेका चिया श्रमिकहरू भने भोकमरी अनि कुपोषणको शिकार बन्न पुगे। मृत्युको किलकिलेमा झुन्डिरहेको चिया श्रमिकहरू यसरी नै बाँचिरहेका थिए, तर आज अत्याचारले सीमा नाघेको छ... जसको विरुद्ध सबै चिया श्रमिकहरू एकत्रित भएर बाटोमा ओर्लिएर आफ्नो हक अनि अधिकारको मांग गरिरहेका छन्। इतिहास हेर्यौ भने थाहा पाउनेछौं, कि पहिले पनि चिया श्रमिकहरूले धेरै सङ्घर्षहरू गरेका छन्— जसमा १९५५-को मार्गरेट होपको गोलीकाण्ड एउटा ऐतिहासिक घटना हो। यसपालिको सङ्घर्षको मूल मुद्दाको रूपमा चिया उद्धयोगमा न्यूनतम ज्याला निर्धारण औ लागु गर्ने अनि परिवर्तनशील महँगाई भत्ता (variable dearness allowance) दिने कुरा उभिएको छ। यी मुद्दाहरूलाई प्रमुखता दिएर विभिन्न चियाबगान साथै शहरहरूमा पनि यो तथ्यचित्र देखाउने काम चल्दैछ। हालैमा कलकत्तामा पनि यसको प्रदर्शन भएको थियो जहाँ धेरैवटा तप्काका मानिसहरू र विभिन्न कार्यकर्ताहरू भेला भएर चिया बगानको यो मुद्दाको समर्थन गरे र आ-आफ्नो विचारहरू व्यक्त गरे।
श्रमिकहरूको उक्त मुद्दाप्रति सरकार अनि मालिकपक्षबाट भने कुनै प्रकारको सकारत्मक प्रतिक्रिया देखापरेको छैन। फेब्रुवरी महिना देखी छल-फल भइरहेको छ, तर न्यूनतम ज्याला निर्धारणको विषयमा आजसम्म कुनै निष्कर्ष निस्केको छैन। धेरै पल्ट त्रिपक्षीय बैठक असफल भए पछि श्रमिकहरू बाटोमा ओर्लेका छन्। ११-१२ नवम्बर सबै चिया बगान हडताल अनि १२ नवम्बर आम- हडताल सफल भएपछि सरकार अनि मालिक पक्षप्रति दबाउ बढेकोछ। तर सङ्घर्ष अझै जारी छ अनि श्रमिकहरूको दृढ संकल्प देख्दा यो सङ्घर्ष सफल हुन्छ भन्ने आशा सबैको छ। 

दासत्व आज पनि?

प्रियांका प्रधान

हाम्रो देश एउटा स्वाधीन देश हो, देशको संविधान देखि लिएर ठुल्ठुला नेताहरू पनि यस्तै भन्छन्। प्रत्येक साल १५ अगस्ट दिल्लीमा भव्य समारोहको आयोजना भारतले स्वाधीनता पाएकोमा नै गरिन्छ। स्कुल, कलेज, अफिस सबै छुट्टी हुन्छ, हामी पनि एक दिनका लागि भए पनि आराम साथ घरमा बसेर छुट्टी मनाउछौं। तर यस स्वाधीन भारतका नागरिकहरू के साँच्चैनै स्वाधीन छन् त?
‘वक फ्री फाउन्डेशन’ नामक एउटा मानव-अधिकार सङ्गठनद्वारा प्रकाशित रिपोर्ट अनुसार भारतमा १४३ लाख मानिसहरू दासत्वमा बाँचिरहेका छन्! उनीहरू हुन त यसै देशका स्वाधीन नागरिकहरू हुन् तर उनीहरूको स्वाधीनता खोसिएको छ। यस रिपोर्टमा स्वाधीनताको परिभाषा पुरानो पारम्परिक दासत्व भन्दा भिन्न छ— जहाँ मानिसहरूलाई सांग्लोमा राखिन्थ्यो र अन्य कसैको निजी सम्पत्ति जस्तो बजारमा किन-बेच गरिन्थ्यो। 
‘आधुनिक स्वाधीनता’ भन्नाले के बुझिन्छ भने, एउटा व्यक्तिले अन्य कुनै व्यक्तिलाई आफ्नो अधीनमा राख्नु, जसले गर्दा उसको आफ्नो निजी स्वाधीनता, स्वेच्छा— केही रहँदैन र उसको यस अवस्थाबाट अर्को व्यक्ति (मालिक)-को मुनाफा, स्वार्थपूर्ति हुन्छ। आधुनिक दासत्वकै भरमा संसारका ५८ देशहरूबाट कम से कम १२२ वटा सामानहरूको उत्पादन गरिन्छ। इन्टरनेशनल लेबर ओर्गनाइजेसन (ILO)- को अनुमान अनुसार प्रति वर्ष १५० बिलियन डलर त यसरी जबर्जस्ती गराइने श्रमको गैरकानुनी मुनाफाबाटनै कमाइन्छ।
भारतमा दासत्वको निक्कै गहिरो छाप परेको छ। प्राय: १२० करोडको जनसङ्ख्या भरिनै आधुनिक दासत्वको विभिन्न रूप पाइन्छ जस्तै पुस्ता-पुस्तादेखि ऋणको बोझ मुनि दबिएर प्राय दासकै अवस्थामा धेरै मानिसहरू बाँचीरहेका छन् या भनौ मरिरहेका छन्, देह-व्यापारको लागि मानव तस्करी र जबर्जस्ती गराइने विवाह पनि यसै अन्तर्गत पर्छन्। आधुनिक दासत्वबाट तल्लो जातका मानिसहरू दलित, धार्मिक अल्पसंख्यकहरू, प्रवासी मजदुरहरू भने सबैभन्दा ज्यादा प्रभावित छन्। यिनीहरू प्राय इँटा भट्टी, कार्पेट फ्याक्ट्री, लुगाको कारखाना, घरेलु काम-काज, खनिजको खुदाई र कोही बेला सङ्गठित भिख-मांग्ने गिरोह पनि यसभित्र पर्छन्। यस्ता धेरै रिपोर्टहरू पनि पाइन्छ जहाँ प्राय नारीहरूलाई कामको लोभमा ठुला-ठुला शहरमा लगेर कि त वेश्यावृत्तिमा धकेलिदिन्छ कि जबरजस्ती पैसामा बेचेर बिहे गराइदिन्छन्। यस्ता पैसामा किनेर दुलही भित्राउने चलन हरियाणा, पंजाब इत्यादि राज्यहरूमा धेरै पाइन्छ, जहाँ पुरुष-स्त्रीको अनुपात धेरै कम छ। कति इलाकाहरूमा चाहिँ यस्ता धार्मिक अनुष्ठानहरू गरिएको पाइन्छ जहाँ नारी हरुलाई यहाँ सम्म कि सा-साना केटीहरूलाई भगवानको नाममा पुजारीहरूको यौन-तृप्तिको निम्ति चढाईएको पाइन्छ। प्रत्येक ८ मिनेटमा एउटा नानी लापत्ता हुन्छ र उ पनि यस्तै दासत्वको दलदलमा फसिन्दै जान्छ।
२०१४ मा ग्लोबल सर्भे इन्डेक्सले १६७ वटा राष्ट्रहरूमा गरेको अध्ययन अनुसार संसारका सबै राष्ट्रहरूमा नै कम-बेसी दासत्वको छाप पाइन्छ भनेको छ। मिडल इस्ट, आइसल्याण्ड, लुक्सेमबर्ग, आयरल्यान्ड आदि देशहरूमा भने प्राय प्रवासी मजदूरहरूनै अमानवीय स्थितिहरूमा बिल्डिंग बनाउने कारिगर, रसायन कारखानाहरूमा काम गर्छन्। दासत्वमा बाँचिरहेका मानिसहरूको सङ्ख्यालाई हेर्ने हो भने भारतले प्रथम स्थान ओगेटेको छ। आधुनिक दासत्व आधुनिक मानव समाजको लागि कालो दाग हो, मानवताको नाममा कलंक हो। यस समाजको जहाँ एउटा मानिसको फाइदाको लागि, उसको मुनाफाको लागि, इच्छापुर्तिको लागि अर्को मान्छे वा समुदायलाई यति बिघ्न शोषण गरिन्छ, पुस्ता-पुस्तादेखि शोषण गरिंदैछ कि उसलाई आफ्नो शोषण, शोषण होइन तर जीविका चलाउने माध्यम जस्तो लाग्छ र यस्तो अमानवीय, दयनीय अवस्था पनि सामान्य लाग्छ। त्यसैले प्रत्येक मान्छेले आफ्नो स्थिति राम्ररी बुझ्ने बेला आएको छ, र यो सोच्ने बेला आएको छ कि कतै हामी पनि त यस घृणित आधुनिक दासत्वको भागीदारी बनेका छैनौ?

टिस्टाको बाँधले मानिसहरूको जीवन सुक्यो!

शंकर विश्वकर्मा

पहाडकी रानी भनेर चिनिने दार्जीलिङलाई तिस्ता नदीको प्रसिद्धिले पनि चिनिन्छ। सिक्किमको सो-ल्हमो लेकबाट शुरू हुने तिस्तालाई दार्जीलिङ अनि सिक्किमको गंगा पनि भनिन्छ। यसले धेरै परिवारहरूको जीविका चल्छ। तिस्ताको बगरमा बस्ने, प्राय सबैले यसले बगाएर ल्याएको बालुवा अनि ढुङ्गा बेचेर आफ्नो जीविका चलाँउछन्। तिस्तामा गरिने राफ्टिंग पनि जीविकाको अर्को स्रोत हो। यो राफ्टिंगको जीविका नै अब खतरामा परेको छ।  तिस्ता नदीमा राफ्टिंग १९९१-मा शुरू गरियो। अहिले यो पर्यटनको केन्द्र बिन्दु बनेको छ। पहिले राफ्टिंग प्राइवेट कम्पनी परिचालित थियो, तर अहिले यो तिस्ता रंगीत रिवर राफ्टिंग वेलफेर असोसिएसन द्वारा परिचालित हुँदैछ। तिस्ताको छाल— सबै तब्काको राफटर्स, नौलो वा प्रशिक्षित, जवान वा बुडो सबैको लागि अनुकूल छ। 
तर एन.एच.पि.सि. [National Hydro Power Project] को परियोजना अन्तर्गत बनिएको बाँधको निर्माणले गर्दा अहिले तिस्ता नदी आफ्नो गति गुमाएको छ। यस्ता बाँध २७ माइलमा एउटा अनि कालिझोरामा अर्को बनिएको छ। अहिले तिस्ता छाल बिहिन रहने पोखरी जस्तो बनिएको छ। अब राफ्टिंग गर्न आउने पर्यटकहरूले तिस्ताको छालको मजा उठाउन पाउँदैनन। ३०० भन्दा बेसी व्यक्तिहरू जसले राफ्टिंग-सम्बन्धित कामहरु सँग जोडेर तिस्ताबाट आफ्नो जीविका चलाउँदथे, तिनीहरू अहिले बेरोजगार बनेको छन्।
तिस्ताको मास्तिर अझ धेरै बाँधहरू बनिन्दैछन। पूरा तिस्ता भरि नै बाँध बनिए भने, तिस्ता राफटिंग गर्ने लायक हुँदैन, त्यसैले राफ्टिंगसँग जोडिएका सबै व्यक्तिहरू अब प्रशासनको भरमा छन्। उनीहरू भन्छन्— प्रशासन अनि एन.एच.पि.सी-ले उनीहरूको जीवन धान्ने औजार हत्याए पछि अर्को विकल्प पनि दिनु पर्छ। तिनीहरूले प्रशासन अनि एन.एच.पि.सी दुवैलाई यो ढुःख सुनाए पनि तिनीहरूबाट केही विश्वासपूर्ण प्रतिक्रिया फेला परेको छैन। ‘हामी कुनै पनि क्षतिपूर्तिको चुक्तिमा सहमत छौ, पढेकोहरूलाई काम वा व्यवसाय घाटा भएकोमा आर्थिक क्षतिपूर्ति’— तिस्ता रंगीत रिवर राफ्टिंग वेलफेर असोसिएसनका सह सचिव रोशन भुजेलले भने। 
आफ्नो आवाज गुन्जाउँनलाई, तिनीहरूले तिस्तामा डुबेकाहरूलाई उत्थान गर्ने कामलाई पनि अस्विकार गरे, यदि तिनीहरूको माँगहरूलाई अब पनि नसुनिए, तिनीहरूले तिस्ता रंगीत रिवर राफ्टिंग वेलफेर असोसिएसनले रम्बीमा रहेको एन.एच.पि.सि.-को दफ्तर घेराउ गर्ने तय गरेका छन्। तिस्ताको राफ्टिंगले धेरैजनालाई पालेको छ तर चाडै यहाँका मानिसहरूले आफ्नो जीविका गुमाउने छन्, यसैले बाँध निर्माणको विरुद्ध वा क्षतिपूर्ति नदिने सरकार र कम्पनी विरुद्ध आवाज उठाउनु जरुरि छ। एउटा संयुक्त सङ्घर्षले मात्र हामी यो लडाई जित्न सक्छौं। यसैले हाम्रो सङ्घर्षको नदी पनि तिस्ता जस्तै नसुकोस।

डार्विनको विकासक्रमको नियम र पोपको वक्तव्य

  संगीता खेवा

(हालैमा रोमन क्याथोलिक चर्चको प्रमुख पोप फ्रान्सिसले ‘पोंटीफिसियल एकाडेमी अफ साइन्स’ मा एउटा वक्तव्य मार्फत् ‘बिग ब्यांग थ्योरी’ र ‘डार्विनको ‘इभुलुशन थ्योरी’ साँचो हो भनेर मानिलिएका छन्। यसैलाई लिएर यो चर्चा)

विज्ञान र धर्म परस्परमा विपरीत भए पनि समाजको चल्नुमा यी दुवै तत्वहरूले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यी दुवै तत्वहरू विकासक्रमको प्रक्रियाबाट गुज्रेका पनि छन्। धर्मको मेरुदण्ड ‘सर्व-शक्तिमान ईश्वर’-माथि अगाध विश्वास हो भने, विज्ञानको प्रयोगद्वारा प्रमाणित सत्य। ईश्वरको कल्पना त झन् पुरातन कालमै भएको थियो। हजारौँ वर्ष अघाडी जब मानिसहरू संसर्ग प्रत्यक्ष प्रकृतिसँग थियो जब तिनीहरू दिनमा जङ्गलमा शिकार गरेर खान्थे र रात परे पछि गुफामा शरण लिन्थे। त्यतिबेला सामान्य प्राकृतिक घटनाहरूलाई बुझ्न पनि तिनीहरू असमर्थ थिए। 
प्राकृतिक आपदाहरू जस्तै जङ्गलमा डढेलो लाग्नु, पैह्रो जानु, बिजुली चम्किनु, जोडले पानी पर्नु, भुइचालो आउनु इत्यादिको कारक तत्व तिनीहरूको आदिम मगजको परिधि बाहिर थियो। तिनीहरू डराउथे र सोच्थे कि पक्कै पनि यस्तो रोक्नै नसकिने आपदाहरू पछाडि कुनै अदृश्य शक्तिको हात हुनुपर्छ र यसरी एउटा शक्तिशाली ईश्वरको कल्पना मानिसहरूले गर्न थाले। त्यतिबेला मानिसहरूले यी ईश्वरहरू मुर्त रूप दिए जस्तै आगो, पानी, हावा इत्यादिको रूपमा........
यही समयमा विज्ञानले पनि फेरी बामे सर्दै थियो। ढुङ्गाको औजार बनाएर शिकार गर्नु अरू पनि स-साना हतियारहरू बनाएर दैनन्दिनको कामलाई सजिलो बनाउन थाले मानिसहरू। यसरी छेव-छाउको वस्तुहरू प्रयोग गरेर हतियार, औजार बनाउन सक्नु मानिसको निम्ति ठुलो उपलब्धि थियो। यसले तिनीहरूको शारीरिक ऊर्जाको बचत त गयो नै बरु मानिसलाई मानसिक कसरत गर्ने मौका पनि दियो। तर आगोको उत्पत्ति गर्न सक्नु मानिसको विकासमा माइल खुट्टी भयो। जब मानिस स्वयम्ले आगो बाल्न सिक्यो त्यतिबेला धेरै कुराहरूमा परिवर्तन भयो। अब उसको निम्ति आगो एउटा परम शक्ति रहेन। यसरी नै कालान्तरमा उसले प्रकृतिलाई अझ बुझ्दै गयो र अहिलेसम्म मानी आएको ईश्वरको अस्तित्वमा पनि प्रश्नचिन्ह लाग्न थाल्यो। कैयौँ वैज्ञानिकहरूले आफ्नो सम्पूर्ण जीवनकाल प्रकृतिको रहस्यलाई बुझ्नमा लगाए। मानिसहरूले ईश्वरको मूर्त रूप हराए र कहीँ एउटा सर्वशक्तिमान छ जसले सबैलाई बनाए र सबैलाई सधैँ हेरी रहेका छन् भन्ने धारणा प्रचलनमा आउन थाल्यो। यहाँ ईश्वरको भूमिकामा पनि फेर-बदल भयो पहिलेको ईश्वर बर्बर, रिस्सा, दण्ड दिने खालका थिए भने आधुनिक ईश्वर शान्त, ममतापूर्ण, क्षमा गरिदिने भए। अघि डरको आधारमा उभिएको धर्म अब विश्वासको घडेरीमा अडिएको थियो ईश्वरको प्रिय हुने र मृत्यु पश्चात् स्वर्ग जाने लोभले मानिसहरूलाई ईश्वर र धर्म सँग जोडेर राख्यो। अमूर्त ईश्वरको कल्पनाले तीव्र रूप लियो। पृथिवीको उत्पत्ति र विकासको धेरैवटा अवधारणाहरू हामी धर्ममा पनि पाउछौं र विज्ञानमा पनि। बाइबलको ‘जेनेसिस’ अध्यायमा यो संसार र यसमा भएको समस्त जीव सृष्टिकर्ता परमेश्वरले ६ दिनमा बनाइएको हो भनेर लेखिएको छ। जम्मै जिउदो प्राणीहरू ईश्वरले बनेका हुन, यी प्राणीहरू अचानक पैदा भएका हुन् र यिनीहरू सृष्टि गरिएको क्षण देखिनै अपरिवर्तित छन् भन्ने धारणालाई ‘क्रिएशनिस्ट थियोरी’ भनिएको छ। अर्को यस्तै धारणा अनुसार यो पृथ्वी धेरैपल्ट धेरैवटा महासङ्कटहरूमा ध्वस्त भएपछि फेरी ईश्वरद्वारा नयाँ संसार सृष्टि गरिएको हुन्। यहाँ पोपको वक्तव्यको चर्चा गरिएको कारणले क्रिस्चियन धर्मको कुरो गरिएको छ, तर अन्यान्य धर्महरूमा पनि पृथिवी र जीवनको उत्पत्तिबारे आ-आफ्नै व्याख्याहरू छन्। अर्कोपट्टि विज्ञानको दृष्टिकोणले हेर्दा पृथ्वी र अन्य ग्रहहरूको उत्पति महाकाशमा भएको एउटा शक्तिशाली विस्फोट ‘बिग ब्यांग’- द्वारा भएको हो भनिन्छ जुन वैज्ञानिकहरूले प्रमाणित पनि गरेका छन्। चार्ल्स लिल भन्ने एकजना भू-तत्वविदको भनाइ अनुसार पृथ्वी बनिने क्रमलाई प्राकृतिक शक्तिहरूको बिस्तारो, स्थिर प्रभावले असर पारेको छ। तर यो प्रक्रिया यति बिस्तारो हुन्छ कि एउटा मानिसको जीवनकालमा यसलाई अनुभव गर्न सकिन्दैन जबकि यो परिवर्तनको प्रक्रिया चलिरहेको छ र चलीरहने छ। पृथ्वीको सृष्टि पछि यहाँ जीवनको उत्पति बारे पनि धेरैवटा मतहरू बनिन्दै-भत्किन्दै गए। सातौं शताब्दीसम्म मानिसहरू सजीव प्राणीहरू निर्जीव वस्तुबाट अचानक पैदा हुन्छ भन्ने विश्वास गर्थे। एपिकुरस, अरस्तु, थेल्स, न्युटन र डिकार्थसम्मले यही धारणा मान्ने गर्थे। यहाँ सम्म की सोलौ शताब्दीमा पनि भ्यान हेल्मोंटले भन्ने वैज्ञानिकले मैला लुगा र गहुँको पराल २१ दिनसम्म अँध्यारो भाँडामा राखे त्यहाँबाट मुसाको उत्पत्ति हुन्छ भनेका थिए। प्रथम पल्ट जीवनदेखि जीवन आउँछ भन्ने कुरोको पुष्टि सत्रौं शताब्दीमा फ्र्यान्सिसको रेडीले गरे। रेडीले गरेको मासु र झिंगाको प्रयोग त खुबै प्रसिद्ध भयो पनि। अठारौं शताब्दीमा एबे स्पालान्जीले पनि रेडीको प्रयोगलाई समर्थन गर्दै अन्य प्रयोगहरू गरे। यसै धारणालाई अझ गहकिलो बनाउन उनाइसौ शताब्दीमा लुइस पास्त्युरको आविर्भाव भयो। पातलो नली जस्तो मुख भएको दुईवटा काँचको पात्रहरूमा चिनी-पानीको मिश्रणलाई उमालेर राखियो प्रथम पात्रको मुख भाचियो र दोस्रोलाई जस्ताको त्यस्तै राखियो। तीन-चार दिन पछाडि पहिलो पत्रमा मज्जाले ब्याक्टेरिया फस्टाएको र दोस्रो पात्रमा भने जीवनको कुनै चिन्ह न भेटिएकोले यो तथ्य प्रमाणित भयो की कुनै पनि सजीव प्राणी निर्जीव पदार्थबाट उत्पन्न हुन सक्दैन। कमसेकम अहिले संसारमा भएको वायुमण्डलमा त यो कुरा असम्भव हो।
तर करोडौं वर्ष अघाडी जब पृथ्वी बिस्तारै सेलाउदै थियो त्यति बेला बज्रपात, परा-बैगुनी किरण, विकिरण, रेडियो सक्रिय पदार्थहरूको परस्परको प्रतिक्रियाले कुनै अजैव पदार्थबाट प्रथम जैव पदार्थको उत्पत्ति भयो। हेकलको उक्त भनाइको सत्यतालाई पछि गएर हेल्डेन, ओपारिन, मिलर, युरेले तथ्यहरू दिएर समर्थन गरे। यसरी १०-२० करोड वर्ष अघाडी भएको बिग ब्यांग पछाडि कसरी प्रथम जैव पदार्थको उत्पत्ति भयो र कसरी यही जैव पदार्थदेखि एककोषकीय प्राणी हुँदै जटिल प्राणीहरू भू-तलमा जन्मिदै र नासिंदै गए यी सबैको प्रमाण आज उपलब्ध छ। प्राणीहरूको विकासको क्रम वा नयाँ प्रजाति बनिनु र नासिनुको प्रक्रियालाई हामी समक्ष राखिदिने व्यक्ति थिए ‘चाल्स डार्विन’। गेलापेगोस द्वीपमा पाएको अचम्भ प्राणीहरूको नमुनालाई नियाल्दा डार्विनले जीवको विकासक्रमको एउटा यस्तो साचो पाए जसले यत्रो वर्षको कालो रहस्यको ताला खोल्न सक्षम भयो। आफ्नो कामको निष्कर्षलाई प्रथमपल्ट १८५९ मा उनले किताबको रूप दिए। उक्त किताबले त्यस समयको समाजमा ठुलो हलचल ल्याएको थियो कारण त्यस्ताकका मानिसहरूको मानसिकताले विकसित रूप लिएको थिएन र यत्रो ठुलो छलांगको निम्ति तिनीहरू तयार थिएनन्। त्यस बेलाको मानिसहरूको जीवनमा धर्म र पाद्रीहरूको प्रत्यक्ष हस्तक्षेप थियो। डार्विनको थियोरीले चर्च/ बाइबलको हाकाहाकी विरोध गयो, यसैले क्याथोलिक चर्चले कहिले पनि डार्विनको थ्योरिलाई मान्यता दिएन तर अचम्भको कुरो के सुन्नमा आयो भने २७ अक्टोबर २०१४को दिन रोमन क्याथोलिक चर्चको प्रमुख पोप फ्रान्सिसले ‘पोंटीफिसियल एकाडेमी अफ साइन्स’ मा एउटा वक्तव्य मार्फत् ‘बिग ब्यांग थियोरी’ र ‘डार्विनको ‘इभुलुशन थियोरी’ साँचो हो भनेर मनिलिएका छन्। भेटिकनको इतिहासमा यो एउटा ठुलो पाइला हो। तर यो भन्दा दशकौं पहिला १९५० मा पनि १२ औ पोप पियसले ‘बिग ब्यांग’ र विज्ञानले दिएको पृथ्वीको उत्पत्तिबारे अन्य मतहरूको विरोध नगर्ने सल्लाह दिएका थिए। 
आफ्नो वक्तव्यमा पोपले अझ भने— “जब हामी ‘जेनेसिस’ को सृष्टि पढ्छौं त्यतिबेला ईश्वरलाई जादुगर जस्तै कल्पना गर्ने भुल गर्छौ, जसले आफ्नो जादुको छडी घुमाएर सबै कुरोको निर्माण गरे। तर यस्तो हुँदैन।” पोपले ईश्वरलाई जादुगरको रूप नदिए तापनि सौरजगतको सृष्टि हुनुभन्दा अघाडी नै ईश्वरको अस्तित्वको ठाउँ राखिदिए। डार्विनको विकासक्रमको नियमलाई अंगाले पनि पोपको उक्त स्वीकारोक्ति र वर्तमान वैज्ञानिक अनुसन्धान भने मेल खाँदैन। धर्म र विज्ञानलाई सँगसँगै राख्न खोजिए पनि यहाँ ईश्वरलेनै मानिसको सृष्टि गरेको हो भनिएको छ। यसरी एकापट्टि वैज्ञानिक तथ्यहरूलाई पनि महत्व दिँदै र अर्कोपट्टि भने वैज्ञानिक अनुसन्धानहरूलाई नजरअन्दाज गर्दै ईश्वरले नै सबैकुरो बनायो भन्दै चर्च आफै विभ्रमित भइरहेको छ। बरु यस्तो वक्तव्य दिनु पछाडिको कारण विज्ञानसँग धर्मको विभेदलाई अलि कम्ती गर्नु हुनसक्छ। धर्मले कि त विज्ञानसँग मुख घुमाएर एकदमै छुट्टै हुन सक्छ, यसो गर्नाले उनीहरूको डरलाग्दो खति हुनेछ , कारण धर्मको अस्तित्वको लागि विज्ञानको स्वीकृति अत्यन्त जरुरी भएर गएको छ, कि त विज्ञानसँग ताल मिलाउनलाई यस्तै वक्तव्यहरू दिनु पर्छ। अन्तमा, डार्विनको थियोरी अनुसार “विकासक्रम स्वतःचालित प्रक्रिया हो, जसलाई कुनै पनि ‘सृष्टिकर्ता शक्ति’-को आवश्यक्ता पर्दैन। यो एकदमै बिस्तारो छ, निर्मम छ र नियमबद्ध रूपले चल्छ र चलिरहेको छ। र यो नै सत्य हो।”

समसामयिक : वर्धमान विस्फोट अनि...

प्रकाश बिश्व

विगत २ अक्टोबर वर्धमान जिल्लाको खागडागढ भन्ने ठाउँमा विस्फोटकाण्ड अनि त्यसपछि भएको घटनाहरूको परम्पराले गर्दा यस राज्यमा एउटा नयाँ र गम्भीर स्थिति उपस्थित भएको छ। यो विस्फोटमा दुइजनाको तत्काल मृत्यु भयो, र अरूहरू घाइते भयो... यो विस्फोटको घटना जुन कोठामा भयो, त्यसको तल्लो कोठामानै तृणमूल कङ्ग्रेसको पार्टी अफिस थियो। स्वाभाविक रूपमानै यो घटना सँग उनीहरूका जुडावको प्रश्न उठ्छ। अनि यसरी घटनाको क्रम अघि बढ्दै गयो... पुलिसको पक्राउको सिलसिला, फेरी सिआईडी, अनि त्यसपछि केन्द्र सरकार द्वारा सिआईडीको जाँच प्रति अनास्था व्यक्त गर्दै एनआइए (न्याशनल इन्भेस्टिगेशन एजेन्सी)-लाई यस घटनाको जाँचको लागि लगाउनु इत्यादि। यहाँको शासकदल तृणमूल काँग्रेसको विरुद्ध मुस्लिम कट्टरपन्थी शक्तिहरूलाई मद्दत दिने आरोप आइरहेको छ अनि अर्को पटी एनआईएको जाँचको क्रममा नाना किसिमको मुस्लिम कट्टरपन्थी शक्तिहरूका नाम आइरहेको छ। 
अब गाह्रो कुरा के हो भने मेनस्ट्रिम मिडियाको एक अंशले जुन प्रकारले यो कट्टरपन्थीहरूको कामलाई विरोध गर्दैछन्, त्यसले गर्दा यहाँको अधिकांश मानिसको मनमा कट्टरपन्थी कार्यकलाप  र अल्पसंख्यक समुदाय एउटै हो भन्ने भ्रम फैलिँदै जाँदैछ। अल्पसंख्यक मुस्लिम-बहुल क्षेत्रहरूमा कट्टरपन्थी कार्यक्रमहरू दीर्घकालदेखिनै चलिआएको भनेर बढी चढाई गरेर भनिएको रिपोर्टहरूले पनि क्रमश प्रकाश पाउँदैछ। यो पनि स्पष्ट छ कि यस्तो घटना कुनै पृथक् घटना होइन। शासकहरूका कुनै कुनै अंशको यसको पछाडि मद्दत रहनु पनि अस्वाभाविक कुरा होइन। यस्तो घटनाहरूको सठीक कारण के हो भन्नु अहिले निकै मुस्किल नै छ तर यसको पछाडि मुस्लिम कट्टरपन्थीहरूका जति हात रहने सम्भावना छ त्यो सँगसँगै हिन्दु कट्टरपन्थीहरूका षडयन्त्र पनि हुनसक्छ, अल्पसंख्यक विरुद्ध घृणा फैलाउने यो तरिका हामीले इतिहासमा धेरै पल्ट देखेकाछौं। 
वर्तमान समाजको चल्दैगरेको व्यवस्थामा जुन भयानक उत्पीडन भित्र खटिखाने मानिसहरूले दिन गुजारा गर्दैछन्, शासकवर्गले सधैनै त्यही उत्पीडनलाई निरन्तर राख्न चाहन्छन्। यसको निम्ति शाषकवर्गले जसरी एकतिर चुनाव-अदालत-पुलिस-मिलिटरीको उपयोग गर्छन्, त्यसरीनै धर्मको आधारमा, जातपातको आधारमा मानिसहरूलाई छुट्टाउन पनि खोज्छन्। यसैले धार्मिक सङ्गठनहरूको माध्यमबाट शोषित मानिसहरू भित्र विभाजनलाई क्रमिकरुपले बढाउने काम गर्छन्  उनीहरू। शासकवर्गको स्वार्थ पुरा गर्ने काममा धर्म लिएर साधारण मानिसको मनमा जुन  विश्वास, आवेग, असहायता छ त्यो सबैलाई उनीहरूले सजिलोसँग प्रयोग गर्छन्। यसरी नै के हिन्दु, के मुसलमान के नाजी—सबै कट्टरवादले आफ्नो जनाधार तयार गर्छन्। 
भारतलाई हिन्दुराष्ट्र बनाउनको निम्ति यो देशमा लगभग ९० वर्षदेखि आरएसएस (राष्ट्रिय स्वयमसेवक सङ्घ) अनि उनीहरूद्वारा सञ्चालित विश्व हिन्दु परिषद, बजरंग दल, बिजेपी, एभीविपी लगायत अन्यान्य शाखा सङ्गठनहरूले लगातार उग्र-हिन्दुत्वको विष छर्किन्दै आएको छ। एकातिर पराधीन भारतमा ब्रिटिशहरू अघाढी आत्मसमर्पण, गान्धीको हत्या, साम्प्रदायिक दंगा, बाबरी मस्जिद ध्वंस र त्यही ठाउँमा जुनसुकै प्रकारले राममन्दिर बनाउँने चेष्टा जारी राख्नु, ओडीसामा इसाई पादरी अनि तिनको नानीलाई जिउँदो जलाइदिनु, गुजरात दंगामा पहिलादेखि योजना बनाएर मुसलमानहरूका जनसंहार अनि अर्कोतिर विभिन्न धार्मिक सेवा र गठनात्मक कार्यक्रम द्वारा समाजको प्रत्येक स्तरमा हिन्दु आधिपत्य स्थापना गर्ने प्रयास उनीहरूका तर्फबाट जारी छ। केन्द्रमा मोदी सरकार आएपछि यो जम्मै कार्यक्रममा अझै गति आएको छ। अनि यसको प्रतिक्रियामा मुस्लिम कट्टरवादको आधारभूमि पनि मजबुत हुँदै जाँदैछ। उनीहरूको तर्फबाट एकपछि अर्को हमला-विस्फोट-आतङ्कको घटना त्यसको प्रमाण हो। यसरी वर्धमानको खागडागढ त्यो तालिकामा जोडिएको नयाँ एउटा नाम हो। 
हिन्दु कट्टरवाद लगायत सबै प्रकारको कट्टरवादलाई नै तीव्र विरोध गर्नुपर्छ। कट्टरवाद कहिले पनि साधारण मानिसको साथी हुन सक्दैन। वर्धमान विस्फोटको घटनाको सन्धर्भमा यस राज्यमा मुसलमान कट्टरपन्थीहरूको षडयन्त्रको कामकाज अलि अलि देख्न थालिएको छ। हामीलाई यस्तो लाग्दछ कि यो घटना पछि जम्मै घटनाक्रमलाई योजना बनाएर एक धार्मिक विरोधाभासतिर तानेर लैजाने कोसिस चलिरहेछ, जसले गर्दा साधारण मानिसको जीवनको आधारभूत माँगहरू  देखि जनतालाई चुकाउन सकियोस्। अनि यसले गर्दा बिग्रिन्दै जान्छ गरिब खटिखाने मुसलमानहरूको जीवनको हालत। साम्प्रदायिक विभाजनको यो राजनीति अनि यसको पछाडि रहेको षडयन्त्रकारीहरूलाई तीव्र धिक्कार र विरोध जताएर, केन्द्र वा राज्य सरकार – जो पनि होस्, उनीहरूको नराम्रो भूमिकालाई उदाङ्गो पार्दै प्रगतिवादी र समाजको शुभचिन्तकहरूको  आवाजलाई बलियो गर्नु पर्छ।  

'होक कलरब'को लहर

सुमेन्द्र तामाङ

हालैमा जादबपुर विश्वविद्यालयको नाम खबरकागज मिडिया, तिर निकै आइरहेको छ। हो ठिक सोच्नु भयो, मैले “होक  कलरब” बारेमै कुरा गरेको हो। “होक  कलरब” हालैमा विद्यार्थीहरूको असन्तुष्टिको अर्को नाम भएर आइरहेको छ। “होक  कलरब” एउटा नयाँ आशाको ज्योति भएर आइरहेको छ, यो सत्तामा बसेकोहरूको निम्ति चेतावनीको रूप पनि भएर अघि बड़ी रहेको छ। “होक  कलरब” खासमा एउटा बंगला गीतबाट लिएको शब्दहरू हो, जसको अर्थ हो 'कोलाहल मच्चोस' वा समुहको सम्मिलित व विचित्रता भरी आवाजहरू उठोस्। हालैमा भएको जादबपुर विश्वविद्यालयको आन्दोलनको मुख्य स्लोगन यो नै थियो... जो चारैतिर आगो जस्तो फैलियो। 
असलमा के भएको थियो? तपाईहरूलाई राम्ररी थाहा छैन होला। हजारौं विद्यार्थीहरू र समाजको विभिन्न भागको नागरिकहरू किन सडकमा ओर्लिन बाध्य भए?यी सबै प्रश्नहरू तपाईको दिमागमा चलिरहेको होला।
अगस्त महिनाको २८ तारिख, जादबपुर विश्वविद्यालय आर्ट्स फ्याकल्टीको वार्षिक ‘फेस्ट’को बेलामा इतिहास विभागकी एउटी छात्राले विश्वविद्यालयका कतिपय छात्रहरूबाट आफु उत्पीडित भएको र आफ्नो एकजना पुरुष साथीले कुटाई खाएको कुरो बारे सिकायत गरेपछि यो जम्मै घटनाको सुरुवात भयो। विश्वविद्यालय अथोरिटीको उदासीनता र त्यो छात्रा प्रति नराम्रो व्यवहारको विरुद्ध अनि सामान्य रुपले क्याम्पसमा लैङ्गिक उत्पीडन विरुद्ध सक्रिय भूमिका अथोरिटीले लिनुपर्छ भनेर आन्दोलन बलियो रूप लिनथाल्यो। यहाँको विरोधको आवाज बिस्तारै अरू ठाउँमा पनि फैलिंदै गयो। यसै बिच अन्य विश्वविद्यालयबाट पनि विद्यार्थी यस सङ्घर्षमा ओर्लिएर आउदै थिए विस्तारै। 
१७ आगस्त बिहानको कुरा हो, लगभग ४०-५० विधार्थीहरू धर्नामा थिए। यस भन्दा अघि पनि RAF अनि कलकत्ता पुलिस निरन्तर क्याम्पसमा अड्डा मारी रहेको थियो। तर त्यो रात भने ३-४ गाड़ी RAF अझै थपियो। भी.सी.-को घेराव भएको केवल ८ घण्टा भएको थियो। सङ्घर्षको गीत चलिरहेको थियो एवं विधार्थीहरू आधा निन्द्रा, भोकै पेट धर्नामा बसिरहेका थिए। बिहान लगभग १.३० बजी देखि पुलिस द्वारा विद्यार्थीहरू माथि बत्ती बन्द गरेर लाठीचार्ज शुरू भयो। सबै RAF को सैनिकहरू युनिफर्ममा थिएनन्। ५० मिनेटसम्म लाठीचार्ज चल्यो। ३७ जना विद्यार्थी गिरफ्तार भए र ५० जाना भन्दा ज्यादा घाइते भयो। 
प्रतिबाद अझै बढ्नु थाल्यो। बिहान एउटा याली भयो त्यसमा ७००० जना विद्यार्थीहरूले भाग लिए। त्यसको भोलिपल्ट १५००० जना मिलेर याली भयो। १९ तारिक भने ‘होक  कलरब’-को निम्ति विद्यार्थीहरू औ समाजका विभिन्न भागबाट सचेत मानिसहरू सडकमा ओर्लिए। ६०-७०,००० विरोधीहरू जम्मा भए, डरैलाग्दो पानी झरीमा पनि विद्यार्थीहरू र अन्य सचेत मानिसहरूको उत्साहको कमी थिएन। याली लगभग १४ किलोमिटर लामो थियो, लक्ष्य राज भवन...! यो आन्दोलन अहिले पनि भीसीको राजीनामाको मांग लिएर चलिरहेको छ। जम्मै देश र विदेशबाट यो आन्दोलन प्रति समर्थनको सन्देश आयो, सक्रिय रुपमा भागीदारी लिएर अरु ठाउँहरूबाट असंख्य मानिसहरुले सहभागिताको हात बटुलीदियो जादबपुरको जुझारु साथीहरु प्रति। यहाँ पनि उत्तरबङ्ग विश्वविद्यालयमा यो आन्दोलनको समर्थनमा विद्यार्थीहरु ठुलो जुलुस निकाल्यो  र सिलगढी, जलपाईगढी, कुचबिहार, अलिपुरद्वारमा पनि प्रदर्शन स्वतस्फूर्त रुपले भयो। जादबपुरको विद्यार्थीहरूको यो उभार लिएर धेरै कुरा भन्नुपर्ने थियो। तर यहाँ हामीले बरु यो समयभरी नै ठाउँठाउँमा भइरहेको विद्यार्थीहरुका आन्दोलन र उनीहरुका गुनासोको प्रतिबिम्ब प्रति पाठकको दृष्टि आकर्सित गर्न चाहन्छौं। यस अघाडी पनि छात्रछात्राहरूका विरोध हामीले देखेका थियौं। जुलाईमा सिक्किम गभरमेन्ट कलेजको सेमिस्टर फीस तीन-चार गुणा बढेकोमा विद्यार्थीहरूले मानव संसाधन विकाश मन्त्रालय कार्यलयसम्म गएर विरोध जनाए। जब मानव संसाधनसँग बातचित अघाडी बढेन तब विद्यार्थीहरूले बाटो अवरोध गर्ने तय गरे। यतिबेला भने पुलिस साथै इन्डियन रिजर्भ बटालियनका मानिसहरूले विद्यार्थीहरू माथि बर्बर लाठीचार्ज गरे। विरोध तीन दिनसम्म यथावत् रहदा पुलिसले १४४ धारा पनि लगायो। तर अन्तमा सरकारलाई फीस वृद्धिको फैसलालाई हटाउनु पयो। 
होक कलरब अब केवल जादबपुरको लडाई थिएन। क्याम्पस डेमोक्रेसीको आवाज भइसकेको थियो। क्याम्पस डेमोक्रेसीको यो आवाज पुरा भारतमा गुन्जियो। सेप्टेम्बरमै हिमाचल प्रदेशको प्राय १२० वटा कलेजहरूबाट २००० विद्यार्थीहरू र हिमाचल प्रदेश विश्वविद्यालयबाट ५३० जाना विद्यार्थीहरूले फीस वृद्धि विरुद्ध धर्ना दिए। तिनीहरूले भी. सी.-लाई क्याम्पसभित्र छिर्न दिएनन् र यहाँ पनि पुलिसले विद्यार्थीहरूमाथि लाठीचार्ज गयो र १४४ धारा पनि लगायो। ४०० जना विद्यार्थीहरू जसमा ६५ जना महिला विद्यार्थीहरू पनि थिए, गिरफ्तार गरिए र तिनीहरूमाथि अपराधिक केस लगाइयो। “विद्यार्थीहरूले १५,००० रुपियाँ फोनमा खर्च गर्छन् र दिनको २०० रुपियाँ मल रोडमा खर्च गर्छन्”— मुख्य मन्त्रीको उक्त भनाइको पनि विद्यार्थीहरूले जोडतोडले विरोध गरे। यहाँ निम्न परिवारका विद्यार्थीहरू पनि पढ्छन् भन्ने कुरालाई एकदमै भुलेर गरेको मुख्य मन्त्रीको यस्तो टिप्पणीको घोर निन्दा विद्यार्थीहरूले गरे। 
नोवेम्बरकै कुरो हो— पंजाब विश्वविद्यालयको विद्यार्थीवर्गले फीस वृद्धि, शोधकर्ताहरूको निम्ति होस्टेलको व्यवस्था र महिला विद्यार्थीहरूको निम्ति समयको पाबन्दिलाई हटाउनको निम्ति क्याम्पसमा शान्तिपूर्ण रूपमा भेला भएर विश्वविद्यालयको गेट अवरोध गरेका थिए, यतिकैमा पुलिस आएर तिनीहरूलाई धम्काउन थाले प्रतिउत्तरमा विद्यार्थीहरू पनि बोले यही निहुँमा टियरग्यास र लाठीचार्ज शुरू भइहाल्यो। २७ जना विद्यार्थीहरू माथि अपराधिक केस लगाइयो। यसरी नै बनारस हिन्दू विश्वविद्यालयमा पनि जब विद्यार्थीहरूले १९९७ देखि बन्द भएको छात्र मतदान हुनु पर्छ भन्ने मुद्दामा आवाज उठाए त्यहाँ पनि पुलिसले लाठीचार्ज गरे र कतिपय विद्यार्थीहरूलाई गिरफ्तार पनि गरे। १८८ जना विद्यार्थीहरूलाई “कम उपस्तिथि”- को नाममा सेमिस्टर परीक्षामा बस्न देखि रोक लगाएको मुद्दामा प्रेसिडेन्सी विश्वविद्यालयको विद्यार्थीवर्गले जोडतोडले आन्दोलन गर्दैछन्। परीक्षाको केवल तीन दिन अघाडीमात्रै परीक्षामा बस्न नपाइने कुरा सुनेर तिनीहरू हतास भए। कर्तिपक्षको यस्तो दबावपूर्ण र अगन्तान्त्रिक पहलको विरोध गर्न यहाँका विद्यार्थीहरू दृढ छन्। 
‘शिक्षाको स्तर बढाउन’ जबरजस्ती छात्रहरूलाई कक्षामा बाधेर मात्र हुँदैन, रिक्त स्थानमा नयाँ शिक्षकहरूको नियुक्ति, कक्षा र प्रयोगशालाहरूको राम्रो देखभाल पनि जरुरि छ भन्ने किटान विद्यार्थीहरूले गरे।  एकापट्टी सरकारले सक्रियरूपमा नव-उदारवादको नीतिहरू उच्च शिक्षामा हाल्न खोज्दैछ, कर्तिपक्ष र पुलिस ज्यादा भन्दा ज्यादा विद्यार्थीहरूको आवाज दबाउनलाई अघि बढ्दैछ भने अर्कोपट्टी पैसा र शक्तिको बलमा शाषक पार्टीको गुन्डाहरूले कलेज तिर विद्यार्थी युनियनहरू आफ्नो कब्जामा लिएर बसिरहेको छ। जहाँ पनि गणतान्त्रिक रूपमा विद्यार्थी मतदानको प्राविधान थियो यस्तो कलेजहरूमा पनि एकतन्त्रवादी “लिङ्डो कमिटीको रेकोमेन्डेशन” लागु गर्ने कोशिश गरिंदैछ। तरपनि विद्यार्थीहरूले हार मानेका छैनन् यसैले चारै तर्फबाट एक पछि अर्को विद्रोहको आवाजहरू सुन्नमा आइरहेको छ। क्याम्पस डेमोक्रेसीको आवाज एउटा तरंग झै अघि बढी रहेको छ। शिक्षाको बजारीकरण विरुद्ध हजारौ निर्दोष स्वरहरू एकदिन गर्जिने छ। सङ्घर्ष बिना उन्नति हुँदैन। 
Frederick Douglass ले भने झै —
I didn’t know I was a slave unit 
I found out I couldn’t do the thing I wanted. 
My freedom is in shackles
त्यसैले विद्यार्थी समाज आफ्नो स्वाधीनताको निम्ति लड्नु पर्छ, सङ्घर्ष गर्नु पर्छ। आफुलाई बाधेको साँग्लोहरू तोडेर अघि आउनु पर्छ। आजको मौनता भोलिको निम्ति खतरनाक हुनसक्छ। सङ्घर्षले नै भोलि बद्लिन सक्छ।
होक होक होक कोलोरोब
होस् होस् होस् कोलाहल... 

दिल्ली हाई-कोर्टको राय : नारी सम्बन्धित फैसलामा पितृसत्ताको छाप

 अम्बिका राई

बलात्कार! फेरी अर्को बलात्कारको खबर... हरेक दिन कुनै न कुनै ठाउँमा बलात्कार भएको खबर सुन्नमा आउँछ। सोझो शब्दमा भन्ने हो भने बलात्कारको अर्थ हो बलजफ्ती कसैको सामान चोरेर लानु। कसैसँग बलजफ्ती यौन सम्बन्ध राखेमा त्यसलाई बलात्कार भएको मानिन्छ। आज हेरौं भने ३ महिनाको शिशु होस् वा ६० वर्ष पुगेको वृद्ध नारी— सबै यो भयानक घटनाको शिकार बनिरहेछन्। अझ यो सब पछि पनि सोही नारीलाईनै दोषी देखाउने चलन छ। कहिले शिकार बनेको नारीको पहिरनमा प्रश्न उठ्छ त कहिले उसको चरित्रमा। थानामा गएर रिपोर्ट गयो भने कति रिपोर्टहरू दर्जनै गरिन्दैन , दर्ज गरिएको रिपोर्ट (F.I.R) हरूको पनि राम्रो तरिकाले छान-बिन गर्ने चलन छैन। धेरै जस्तो घटनाहरूमा बलात्कारीहरू खुल्लारूपमा स्वतन्त्रपूर्वक घुमी रहेको पनि पाइन्छ!!
यसै संदर्भमा २०१० साल, दिल्लीको मजनुको टिला भन्ने ठाउँमा भएको घटनालाई हेर्न सकिन्छ, जहाँ शारदा नामक ६५ सालको वृद्ध नारीको बलात्कार गरी हत्या गरिएको थियो। उक्त घटनाको दोषी ४९ वर्षीय आच्छे लाललाई १० सालको निम्ति जेलमा राख्ने निर्णय भएको थियो। मृत शारदाको पति अनुसार आच्छे लाल उनको घरमा बिहान ८ बजी आधा बोतल जस्तो रक्सी लिएर आएका थिए। रक्सी खाई सक्ने साथनै उनी आफ्नो पत्नी अनि आच्छे लाललाई घरमा छोड़ेर बाहिर निस्किएका थिए। पछि घर फर्किंदा आफ्नो पत्नीलाई मृत अवस्थामा पाएको साथै दोषीलाई अर्को कोठामा बेहोशीको हालत पाएको देखेर तिनी दङ्ग परे। पोस्टमोर्टेमको रिपोर्ट अनुसार शारदासंग बलात्कार गरिएको थाहा लाग्यो। सोही घटनाको छान बिन गरेर फेरी यसै सालको नवेम्बर महिनामा फेरी अर्को सुनुवाइ भयो। जसको अनुसार दिल्ली हाई-कोर्टले यो निर्णय सुनायो कि यदि कुनै नारीको मेनोपोज (रजोनिवृत्ति) भई सके पछि बलात्कार भयो भने त्यसलाई बलात्कार मानिंदैन। अनि बलात्कृत शारदाको यौनाङ्ग बाहेक शरीरको अरू कुनै पनि अङ्गमा कुनै प्रकारको चोट नभेटेको कारण यसलाई जबरजस्ती गरिएको यौन होइन भनेर भनियो। यो कहाँको न्याय हो? बलात्कार त कसैको उमेर हेरेर गरिन्दैन। तब न्यायको तराजुमा नाप तोल गर्दा उमेरको किन यस्तो महत्व? यहाँ यो कुरो स्पष्ट छ कि यो राय अनुसार, कुनै नारीको बलात्कारलाई उसको प्रजनन क्षमता सित जोडिएको छ, जब एउटा नारीले प्रजनन गर्ने क्षमता हराउछ तब के उसको शारीरिक र मानसिक पिडा कम भएर जान्छ? के उसले भोग्नु परेको प्रताडना उसको प्रजनन क्षमतामा भर पर्छ? जहाँ यस्तो कालो कानुन बनिन्दैछ त्यहाँ पितृसत्ताको कस्तो डरलाग्दो पकड होला भनेर अन्दाज लगाउन सकिन्छ। बलात्कार एउटा दण्डनिय अपराध हो र कुनै पनि बलात्कारीले दण्ड त अवश्यनै पाउनु पर्छ। बलात्कार कति हदसम्म एउटा यौन कार्य हो र कत्तिको पितृसत्तात्मक बर्चस्वको अभिव्यक्ति? यहाँ उमेरको सीमा तान्नेको के अर्थ छ र? वर्ल्ड हेल्थ अरगनाईजेसन अनुसार एक तिहाई (१\३) बलात्कारको शिकार बनिएको मानिसहरूको शरीरमा कुनै पनि प्रकारको निशान (दाग) पाइन्दैन। प्रश्न यो उठ्छ कि यस्तो घटनालाई कोर्टले कसरी नजर अन्दाज गर्न सक्छ जसले गर्दा कसैले आफ्नो ज्यान गुमाई रहेको छ। मृत नारीको छेउमा नै दोषीलाई पनि बेहोशिको हालतमा पाइए तापनि किन दोषीलाई दोषी हो भनी प्रमाण गर्न सकिएको छैन? कानुन कसको पक्षमा छ त? कोर्टले यो निर्णय सुनायो कि दोषीलाई थाहा थिएन कि उसको यस्तो कठोर सम्भोगले ती नारीको मृत्यु हुन्छ र यही आधारमा कोर्टले अन्तिम निर्णय दोषीको पक्षमा नै सुनायो। त के दोष त्यो नारीको थियो कि उ एउटा मातेको पुरुषसंग घरमा एक्लै थिई? वा दोष त्यो पतिको हो जसले आफ्नो पत्नीलाई त्यस व्यक्तिसँग घरमा छोड़ेर गयो? 
यौन हिंसालाई लिएर जुन प्रश्नहरू हामी माझ उत्पन्न भइरहेको छ, दिल्ली हाई-कोर्टको यस्तो निर्णयले अझ थप धेरै प्रश्नहरू हामी माझ उब्जाएर गएको छ। जहाँ समाजमा बलात्कार जस्तो घटनाको सङ्ख्या दिन प्रतिदिन बढी रहेछ, दिल्ली हाई-कोर्टको यस्तो निर्णयले त झन् यो बड़दो सङ्ख्यालाई कहाँ सम्म लाने हो? बलात्कार विरुद्ध कानुनलाई अझ बलियो बनाउनु पर्ने सट्टामा यो कस्तो नियम बनिन्दै छ? हाम्रो व्यवस्था सुति रहेछ, किन?

किस अफ लभ प्रोटेस्ट : सङ्घ परिवारको घृणाको प्रेमलाई विरोध गरौँ

[मूल रचना : नयनज्योती र सुभासिनी, कार्यकर्ता, क्रान्तिकारी नवजवान सभा, अनुवाद : निकिता लामा] 

अक्टोबर महिनाको अन्ततिर, “सङ्घ परिवार”-का युवा सङ्गठनले कालिकटमा एउटा क्याफे तहस-नहस पारि दिए, कारण त्यो क्याफे युवा केटा र केटीहरूको ‘डेट’ गर्ने ठाउँ थियो। जब कोचिमा युवक युवतीहरू भेला भएर सार्वजनिक ठाउँमा प्रेम देखाएर उक्त घटनाको विरोध गर्न थाले त्यति बेला सङ्घ परिवारका धेरै युवाहरू साथै पुलिस मिलेर ती प्रदर्शनकारीहरूलाई कुट्न थाले। देशको अन्य थुप्रै प्रान्तहरूबाट पनि कोचिको प्रदर्शनकारीहरूको समर्थनमा युवा-युवतीहरू सङ्घ परिवार र पुलिसको विरोध गर्दै सड़कमा ओर्ले र यस विरोधलाई नाम दिइयो “किस अफ लव”। सबै प्रचलित मिडिया र सोसियल नेटवरकिङ्ग द्वारा बड़ो रफ्तारसँग उक्त विरोध प्रदर्शनको घटना फैलिन थाल्यो जसले समाजमा दुईवटा ध्रुवको सृष्टि गयो चाहे त्यो व्यक्तिगत होस् वा संगठनिक, जसले कतिलाई यसको विरोधमा खडा गयो र कतिले यसको साथ पनि दिए।
प्रथम त यो कुरा ध्यानमा राख्नु पर्छ कि सङ्घको आपत्ति केटाकेटीले आफ्नो प्रेम समाजिक रूपमा दर्साएको मुद्धालाई लिएर मात्र होइन बरु प्रेमलाईनै लिएर हो। हालैको क्यालिकटमा क्याफे तोडफोडको घटना होस् वा महाराष्ट्र, अहमदाबादमा दलित युवकद्वारा ब्राह्मण परिवारको केटीलाई प्रेम गरेको अपराधको सजाय स्वरूप उसलाई दुई टुक्रा पारेर मारिदिएको घटना, ब्यांग्लोरमा केटीहरूलाई पबमा कुटेको कुरा होस् वा मुम्बईको पार्कमा बसिरहेको केटा-केटीहरूलाई लाजमर्दो बनाएको कुरा नै होस्। यी सबै कामहरूमा मानिसहरूको निजी र सार्वजनिक दुवै जीवनमा गेरुवा गार्ड सङ्घ परिवारको हस्तक्षेप बढी रहेको छ त्यसरीनै जसरी आई.एस.आई.एसले इराकमा काम गरी रहेको छ। श्री राम सेना वा बजरंग दल वा युवा मोर्चा वा जुनसुकै दलनै किन नहोस् पहिलो प्रश्न त यही आउछ कि के सङ्घ परिवारले तय गर्ने छ कि कसले-कसलाई-कहिले-कहाँ- एक अर्कालाई प्रेम गर्नु पर्छ? तिनीहरू देशभरिनै विभिन्न धर्म र जाती माझ हुने विवाहको विरोध गर्दैछन् र यसलाई नाम पनि दिएको छ “लव जिहाद” साथै “लिभ ईन” जस्तो निजी सम्बन्ध र जीवनमा पनि दखल दिंदैछन्। तर उनीहरूको मुख्य विरोध भने आफ्नो देशको ती नारीहरू प्रति हो जसले आफ्नो इच्छा र स्वीकृतिले कसै सँग मित्रता वा प्रेमको सम्बन्ध राखछ, उनीहरूको मुख्य उदेश्य भने परिवार अनि सामाजिक सङ्घद्वारा नारीको शरीर अनि लैंगिकतालाई नियन्त्रनमा राख्नु हो। 
आर.एस.एस जन्मदेखिनै उच्च मराठी जातिको पुरुषहरूको सङ्घ हो जसको नेतृत्व चितवन ब्राहमन पुरुषहरूले गर्छन् जसले वर्ण प्रथालाई अघि बढावा दिन्छ र खुल्ला रूपमा स्त्री जातिप्रति घृणा पैदा गराउने कुरा गर्छ। केरेलामा कुनै पनि जातिको पहिलो नानी नम्बोदरी ब्राह्मणकोबाट नै हुनु पर्छ भन्ने धारणाले ब्राह्मणहरूलाई अन्य समुदायको महिलाहरूलाई बलात्कार गर्ने अधिकार दियो। गोलवाकर, आर एस एसको एकजना ठुलो नेताले तल्लो जतिको मानिसहरूको स्तर सुधार्नु हो भने पशुहरूमा जस्तै संकरणको नियम अप्नाउनु पर्छ भन्दै उक्त प्रथाको समर्थन गरेका थिए। जन्मदेखिनै एउटा केटीलाई आ-आफ्नो घरमा कैद भएर बस्नु पर्ने, पितृ सम्पतिमाथि नारीहरूको कुनै अधिकार हुनु हुँदैन, अरू त के कुरा आफ्नै शरीरमा पनि नारीको आफ्नो हक हुनु हुँदैन र यहाँसम्म कि कसरी लुगा लाउनु पर्ने कुरामा पनि उसले आफै निर्णय लिनु हुँदैन भन्ने कुराको सङ्घले जोडतोडले समर्थन गर्छ। २१ सौ शताब्दीमा देशको विवेकमा यदि कुनै दाग छ भने, त्यो हो जुन सङ्गठनको घेरामा स्त्री जातिको सहभागिताको नियम छैन त्यसले देशमा शाषण गरिरहेको छ। कोही पनि स्त्री आर.एस.एस. सङ्गठनको सदस्य हुन सक्दैन, तर नारीहरूलाई सङ्गठित गर्नलाई यिनीहरूको अन्य सङ्घहरू भने अवश्यनै छ। जहाँ एकातर्फ नारी जातिको बराबर हिस्सेदारीको बातचित समाजका चलिरहेको छ, त्यहीँ अर्को तर्फ परिवारको र पुरुष जातिको नारी शरीरमाथिको नियन्त्रण र जाति आधारित शोषणको विरुद्ध आवाज पनि चारै तर्फबाट उठ्दैछ र यो शोषण र दुराचार समाजमा निहित नराम्रो तत्व हो भन्ने कुरा पनि चिन्हित हुँदैछ। यस्तो बेलामा फेरी सङ्घले पनि नयाँ-नयाँ प्रकारले नारी र किनारीकृत लिङ्गहरूलाई साथै सानो जातिलाई दमन गरी आफ्नो मुट्ठीमा राख्ने कोसिस गर्दैछ।
मिडियाद्वारा प्रचार-प्रसार भएकोले विरोधको रूपमा पब्लिक अघाडी “किसिंग”-को खबर त बारम्बार आइरहेको छ, तर कोचिको क्याफेमा आर.एस.एस. को सदस्यहरूले तहस-नहस पारेको अनि अहमदनगरमा दलित युवाको हत्या गरिएको कुरा भने फैलिन पाएको छ। यदि कुनै मानिस विरोधको एउटा प्रकारसँग सहमत छैन भने पनि (जस्तै भारत यसको लागि अहिले तैयार छैन इत्यादि) यसको खास उद्धेश्य राजनैतिक विरोधनै हो भन्ने कुरोलाई नकार्न सकिन्दैन। भारतमा आर.एस.एस फासिवादी शक्ति हो जसले पुँजीपतिहरूसंग हात मिलाउन खोज्दैछन्, बी.जे.पी.- लाई अघाडी राख्दै वा भनौ बी.जे.पी. द्वारा। जब ७ नोवेम्बरमा मानेसर, हरियाणामा ४०० जना महिला मजदुरहरूले अस्ति फ्याक्ट्री अघाडी गैरकानुनी कामबाट निष्कासनको विरुद्ध हड्ताल गर्दै थिए त्यतिबेला तिनीहरूमाथि कतृपक्षको गुन्डाहरू र बी.जे.पी. सरकारको पुलिसले नराम्रो प्रकारले हमला, प्रताडित र यौनाचार गरे, तर पनि ती महिलाहरूले रातभरि बस्ने साहस जुटाए। एकजना नारी मजदुरलाई जब उसको पतिले भन्यो कि-“ यस्तो कुराको लागि भारत अहिलेनै तयार भएको छैन” तब उसले जोड दिएर भनिन् कि आफ्नो हकको लागि लड़नु स्वाभाविक हो, आत्सम्मानसाथ बाँच्नको निम्ति अत्याचार विरुद्ध उठ्ने पर्छ चाहे त्यो फ्याक्ट्रीमा होस् वा शहरको बाटो होस् वा सा-सानो बजार गाउँनै किन नहोस्। पुँजीपति समर्थित सङ्घ परिवारको संस्कृतिक-राजनैतिक दुवै प्रकारको हमलाबाट बाँच्नको निम्ति सबै एक भई तर्क र सङ्गठित विरोध गर्ने पर्छ। 
आर.एस.एस अनि मोरल पुलिस (जसले अहिले जहीँतहीँ राज्यको पुलिसको सक्रिय सहभागिता पाउदैछ)-ले कहिले पनि गणतान्त्रिक तर्क-वितर्कको माध्यमले समाजमा आफ्नो विचार स्थापित हुने मौका पर्खेन तर आफ्नो विचार फैलाउनलाई क्रूर शारीरिक शक्तिको सहायता लियो। हत्या-हमला-तोडफोड-बमबारी, दंगा फैलाउनु र अन्य कामहरूले यिनीहरूको गान्धीको हत्या देखि लिएर बाबरी मस्जिद भत्काउनु अनि गुजरातमा दंगा लगाउनु जस्तो प्रथालाई आजसम्म यथावत् राखेको छ। यस्तो कुराहरूको विरोध नगरी बस्नु भनेको आउदो दिन वा भविष्यलाई अन्धकारमा धकेल्नु हो। जब देशको कुना-कुनाबाट मानिसहरू जो प्रचण्ड हेलचेक्राइको वातारणबाट उन्मुक्त हुन खोज्दै सडकमा ओर्लिन्दैछन् तब विरोध गर्ने सबै मानिसहरू विरोधको तरिकासँग सहमत नहुन पनि सक्छन् कारण यी तरिकाहरू सबैजना मिलेर एउटै समयमा बनाइएको होइन। 
संसारभरिनै आन्दोलनको पारम्परिक तरिकाहरू बद्लदो समय साथ-साथ आज हामी समक्ष आइरहेको छ। त्यो याली र घेराऊ होस् वा नारा लगाउनु र भित्तामा चित्र बनाउनु होस्, बाटो अवरोध-पिकेटिंग-धर्ना वा गाडी भाडा बढे बापत बस-ट्राम जलाएर किन नहोस्। समयको साथ-साथ केही पारम्परिक तरिकहरूले आफ्नो अस्तित्व हराउदै जादैछ, जबकि नयाँ तरिकाहरू दैनन्दिन जन्मदैछ। शताब्दी देखिनै विरोधको तरिकाहरू कुनै नियममा बाधिएका छैनन् न नै यिनीहरू सबै सांगठनिक देब्रे पन्थिहरूद्वारा सृष्टि गरिएका हुन्। जब मनोरमा देवीको बलात्कार र क्रूर हत्याको विरोधमा मणिपुरका मैरानि सङ्गठनका महिलाहरू नाङ्गो भएर ‘इन्डियन आर्मी रेप अस’ भन्दै- सड़कमा ओर्लिए तब कुनै पनि सामाजिक मर्यादाहरूले उनीहरूको वर्षौ देखि दबिएको तीव्र आक्रोशलाई छेक्न सकेन। जब टुचनिसिया वा तेलेन्गाना अनि अरू क्षेत्रका मानिसहरूले आफ्नो शक्तिशाली शत्रु विरद्ध सबैको सामु आत्मदाह गर्ने तरिका अप्नाए, भारतमा जुट मिल अनि गारमेन्ट इन्डस्ट्रीका मजदुरहरूले वर्षौंदेखि खप्दै आएको मध्यकालीन शोषणलाई तोड़दै रिस र आक्रोशले मालिक वा म्यानेजरलाई जिउँदै जलाई दिए, यस्तो विरोधहरूलाई पनि केवल यसको तरिका हेरेर गलत भन्न सकिन्दैन। जस्तै चौरी-चौरामा अहिंसावादी आन्दोलन चली रहेको बेला केही आन्दोलनकारीहरूले अङ्ग्रेजी शाषकको हिंसाको बदला प्रतिहिंसा गर्दा जम्मै आन्दोलनलाईनै गलत भनेर बिचमै जनताको साथ छोडिदिनुले त्यस्ताकको मानिसहरूको सङ्घर्षमा ठुलो क्षति पुयायो। 
हाम्रो देश नारी स्वतन्त्रता र पितृसत्ता विरुद्ध सचेतनतामा एकदमै पछाडिएको छ जसले गर्दा यस विरुद्धको सङ्घर्षलाई देशको प्रगतिशील गणतान्त्रिक आन्दोलनसित सोझै जोड्न सकिन्छ। यसैले गर्दा नै सडकमा चल्ने घुसखोरीलाई मान्यता दिएको कुरामा मौन दर्शक हुन्छन्, समाज अत्तालिएर कहालिन्दैन जब खुल्लमखुल्ला पुरुषहरू बाटोमा पिसाब गर्छन् (नारीले गर्न सक्दैनन्), तर सार्वजनिक रूपमा प्रेम दर्शाए भने समाजले यसको घोर भर्त्सना गर्छ, समाजमा हाहाकार मच्चिन्छ। जुन समाजमा प्रेम वा यौनताको कुराहरू भयङ्कर पाराले दबाइएर राखिएको छ, जहाँ समाज र राज्यले मानिसको निजी र सामाजिक जीवनमा लगातार यसको प्रत्यगामी नियमहरू लादी रहेको छ अनि विशेषगरी जब सङ्घ परिवारले सांगठनिक र हिंसक रूपले दमन गरी रहेको छ, यति बेला विरोधको निम्ति निश्चित रूपमा सार्वजनिक रूपले प्रेमको प्रदर्शन गर्नु पनि एउटा ‘राजनैतिक  कदम’ हो। जब दाह्री पाल्दैमा कुनै व्यक्तिलाई आतकंकारीको संज्ञा दिइन्छ र उसलाई सताइन्छ तब यसको विरोधमा दाह्री पाल्नु पनि ‘राजनैतिक कदम’ हो। जब सानो जातिका मानिसहरूलाई अछुत वा घृणित भनेर छुट्याइन्छ तब आफ्नो परिचय बताउनु पनि ‘राजनैतिक कदम’ हो। जब सडकमा बुर्खाबिना हिड्ने महिलाहरूमाथि फतवा जारी गरिन्छ तब बुर्खा फ्याकी आफ्नो अनुहार देखाएर हिड्नु पनि ‘राजनैतिक कदम’ हो।
कोचिमा भएको ‘मोरल पुलिसिंग’ -को घटनाको विरुद्धमा भएको विरोधको या तरिकाले सङ्घ परिवारको नीति र कामलाई पनि उदाङ्गो पारेको छ। यदि सङ्घ आफ्नो प्रत्यगामी ‘सदाचार’-लाई फैलाउन र मध्यकालीन समाजतन्त्रको स्थापनाको लागि चलिरहेको शोषणकारी नीति त्यागेन भने मोरल पुलिसिंगको मुख्य मोहन भागवतको मुखैमा यस्तो आधुनिक विरोधको स्वरूप स्वतः उभ्रेर आउनेछ। हाम्रो देशमा तालमेल मिलाएर चलिरहेको सङ्घ परिवार र कर्पोरेट सेक्टरहरूले देशको करोडौ मानिसहरूको गणतान्त्रिक महत्वकांक्षालाई निमोठ्ने काम गर्दैछ यसैले एकजुट सङ्घर्ष गर्ने समय आएको छ— खाना र नौकुरीको, त्यसरीनै कमुनलिजम, नारी आन्दोलन, लैगिक भेदभाव र जाति बिच छुवाछुतको आन्दोलनलाई गाभेर तिनीहरू विरुद्ध डरलाग्दो चौतर्फी हमला गर्नु पर्छ।
नयाँ प्रकारको स्वतः विरोधहरूको जन्म हुँदैछ र यस्ता विरोध जनाउँदै आजको युवा युवतीहरू सड़कमा ओर्ली रहेका छन् चाहे त्यो १६ दिसम्बरमा दिल्लीमा भएको ‘ग्यांग रेप’ होस् वा जादबपुर विश्वविद्यालयमा होक-कोलोरबको रयाली वा हालैको केरेलाको मुद्दाको समर्थन गर्दै देशको चारै कुनाबाट आएको आवाजनै किन न होस्। यस्ता विरोधहरू प्रविधिकीको विकासले गर्दा एक जग्गा देखि अर्को जग्गामा तत्क्षण पुग्ने गर्छन्। यो नयाँ चलनको शक्ति र सीमिततालाई बुझ्नको निम्ति यो जान जरुरी छ कि कसरी यी स्वतः स्फुर्त विरोधहरू धैर्य र लगातार परिश्रमको फलस्वरूप पाएको सचेतनता र सांगठनिक राजनैतिक कदमको पुरक हुन सक्छ। युवा र विद्यार्थीहरूको सङ्घर्ष र प्रतिदिनको सङ्घर्षमा लागि परेको खटिखाने मानिसहरू र समाजमा दबिएर बसेका मानिसहरूको सङ्घर्षमा कस्तो अन्तर्सम्बन्ध छ त्यो बुझ्ने प्रश्नहरूले देशमा रहेको आजको प्रगतिशील देब्रेपन्थी आन्दोलनहरू समक्ष एउटा ठुलो चुनौती खडा गरिदिएको छ। युवा र विद्यार्थीहरू द्वारा देखाइएको यस्तो स्वतः विरोधहरूको हामी प्रशंसा गर्छौ र यसैले आज हामी जो पनि समाजको प्रगतिशील परिवर्तनको निम्ति काम गर्दैछौं विरोधको तरिकालाई लिएर तर्क नगरेर यस्तो विरोधको समर्थनमा उभिनु पर्छ र यही हाम्रो कर्तव्य हो। 

हिन्दी सिनेमा अनि नारी : ‘मर्दानी’मा एक नजर

गुञ्जन राणा

आजकल निकै कमर्सियल वा पपुलर हिन्दी चलचित्रहरू, समाजमा निहित समस्या, उत्पीडनमा आधारित हुन्छन्। एक समय थियो, जब अमिताब बच्चनको “एन्ग्री यंग म्यान”-को चरित्रले धेरै सामाजिक मुद्दाहरूलाई उठाएको थियो। कमर्सियल चलचित्र मध्ये यस्ता धेरै चलचित्रहरू छन्, पुरानो होस् वा नयाँ, यस्ता चलचित्रहरूको कमी भने छैन। देशको गरिबीमा लट्पटिएको जनता, खाद्यान्न बिहिन जनता, स्वास्थ्य सेवाहरू नपुगेको गाउँ, नारी उत्पीडन इत्यादि। सबै विषयहरूलाई चलचित्रले धेरै पल्ट लाखौँ दर्शकहरू अघाडी पछारेको छ। तर यसै बिच त्यस्ता चलचित्रहरू पनि छन्, जसले यी मुद्दाहरूलाई गलत निवेदन साथ दर्शक समक्ष राखेका छन्। अनि तुलनामा यी बेठिक निवेदन लिएर आउने चलचित्रहरूनै असलमा लोकप्रिय अनि सङ्ख्यामा बेसी हुन्छन्। किन भने यस्तो चलचित्रहरूले कहिले पनि समाजको स्थापित तथ्य, विचार, सोंच, धारणा आदिलाई ठेस पुयाउदैनन्। बरु उल्टो, यी स्थापित विचार, धारणा आदिलाई अझ बडी साहस दिन्छन्। 
चलचित्रहरूको विषय बनेको धेरै विषयहरू मध्ये, म केवल एउटा विषयलाई यहाँ चर्चामा ल्याउन चाहन्छु। अनि त्यो विषय हो, नारी उत्पीडन अनि शोषण। नारी उत्पीडन अनि शोषण आधारित चलचित्रहरूको कुरा गर्दा पनि, धेरै चलचित्रहरूलाई हामी यस तालिकामा गाभ्न सक्छौ। मेह्बूब खानद्वारा निर्देशित ‘मदर इन्डिया’ होस्, वा हालैको बहुप्रचलित प्रदिप सर निर्देशित ‘मर्दानी’। यस्ता धेरै चलचित्रहरूमा समाजमा निहित नारी उत्पीडन अनि शोषणलाई चलचित्रको मूल मुद्दा बनाइएको छ। तर ‘मदर इन्डिया’ अनि ‘मर्दानी’-मा हामी एकै प्रकारको विश्लेषण पाउदैनौ। कस्तो प्रकारले मुद्दा उठाएर त्यसलाई उपस्थित गरेको छ त्यसमा धेरै अन्तर हामी पाउछौ। ‘मदर इन्डिया’-मा एउटी आमाले आफ्नो पतिको अनुपस्तिथिमा आफ्नो छोरालाई हुर्काउछ, त्यस बिच आमाले धेरै समस्याहरूको सामना गर्नु पर्छ। यसमा समाजको नारी प्रतिको दृष्टिकोण देखाइएको छ, तर अन्तमा जसरी आमालाई एउटा असल भारतीय नारीको मूर्ति झैँ स्थापित गरिएको छ त्यो अति निन्दनीय छ। आमा, छोरी, स्वास्नी, दिदी (अरू जुनै पनि नारीको सामाजिक सम्बन्ध)- बाट समाज द्वारा निर्धारित, अपेक्षित सेवा हुन्छ, जुन सेवा नारीहरूले उताराधिकारमा पाएका हुन्छन्, त्यही सेवा, अनि जिम्मेदारीलाई निभाए एउटा असल नारी बनिन्छ भन्ने जुन सोंच, त्यसलाई ‘मदर इन्डिया’-ले चुनौती दिन सकेन। असलमा समाजमा स्थापित ‘लैंगिक भूमिका’ (Gender Role) नै वर्षौ देखि चली आएको नारी उत्पीडनको अभिव्यक्ति हो। नारी उन्मुक्तीको लागि यस भूमिका अनि नारीको सुसज्जित चरित्रलाईनै हामीले तोड्नु पर्छ। यो रूढ़िवद्धता तोड्ने प्रक्रिया, हालैको निर्मित चलचित्रहरूमा हामी पाउछौ। ‘मर्दानी’-मा पुलिस वर्दीमा बन्दुक समात्दै उपस्थित भएको रानी मुखर्जीले यसको प्रमाण दिन्छ। तर के नयाँ चलचित्रहरू पनि यो रूढ़िवद्धता तोड्न सफल बनेका छन्? अथवा शिथिल सामाजिक स्तिथिमा यस्तो हावाको लहरहरूले के कस्तो सन्देश लगेर जादैछ? अनि राजनैतिक ढङ्गमा रूढ़िवादको शिकार बनेको जनताको कस्तो प्रतिक्रिया छ त? अनि हाम्रो अडान कस्तो हुनुपर्ने हो? 
नारी अनि हिन्दी सिनेमा
सिनेमा वास्तविकताको प्रतिरूप हो, अनि एउटा यस्तो हथियार पनि हो जसले वास्तविकतामा परिवर्तन ल्याउन सक्छ। पपुलर सिनेमाले सिनेमाको यो संज्ञा भुले पनि, अझ सिनेमालाई कलाको प्रकारको रूपमा लिने धेरै यस्ता व्यक्तित्वहरू छन्। 
हिन्दी सिनेमामा, प्राय नारीहरूलाई स्थापित रूढ़िवद्ध चरित्रमा सीमित राखेको हुन्थ्यो। नारीलाई एउटा अति परिवार समर्पित आमा, सति सावित्री पत्नी, आज्ञकारी छोरीको रूपमा मात्र प्रस्तुत गरिन्छ, एवं जुन समाजको स्थापित नियम हो। हिन्दी सिनेमामा अभिनेत्री अभिनेताको वरी परि घुम्छ, अभिनेता केन्द्रित हुन्छ हिन्दी सिनेमा। उधारानार्थ कुनै पनि हिन्दी चलचित्र लिनूहोस, पुरानो या नयाँ, ‘करण अर्जुन’-को दुई भाइ छोरा बिना अपाङ्गो बनेको आमा, जसले छोराहरूलाई केवल बदलाको प्रेरणा दिन सक्छ, अनि अन्तमा त्यही छोराहरूको पौरुष बलको भरमा नै चलचित्रको सुखद अन्त हुन्छ।
तर अभिनेत्री केन्द्रित चलचित्र पनि हामी आजकल देख्न सक्छौ। तर यसलाई पनि, युक्तिवादी भन्न सकिन्दैन। जब अभिनेत्री केन्द्रित चलचित्र बन्छ, अथवा अभिनेत्रीले जब चलचित्रको पुरै भार उठाउनु पर्छ, तब एउटा नारीलाई पौरुष चरित्र भएको भिन्नै मान्छे बन्नु पर्छ। यसको मतलब यो हैन की पौरुष चरित्र एक मात्र पुरुषहरूको अधिकार हो, तर किन अभिनेत्रीलाई चलचित्रमा प्रमुख भूमिका निभाउदा उसलाई अभिनेता हुन पर्छ। अभिनेत्री अथवा नारीलाई आफ्नो चरित्र छोडेर पुरुषको चरित्र अप्नाउनु पर्छ। अनि यसलाई उल्टो प्रकारले हेर्दा नारीको कोमल, ममतापूर्ण एउटा चरित्र पनि कहाँबाट बनिन्छ? निश्चयनै समाजको रूढ़िवद्ध लैङ्गिक कामको विभाजनले गर्दा। यसलाई तोड्नु छ, तर नारीलाई पुरुष बनाएर हैन।
‘मर्दानी’- एक झलक
यस चलचित्रलाई नारीवादको तर्कहरूले वार गर्दा, प्रथम त यसको शीर्षकले वारको चोट भोग्छ। ‘मर्दानी’ नै किन? मर्दानी त् ‘मर्द’-को चरित्र हो, एउटा पुरुषको चरित्र हो। एउटा नारीले बन्दुक बोकेर पुलिसको काम गरे, किन उसको कामलाई मर्दानीको चरित्र दिनु। अथवा के यो चलचित्रले यो भन्न खोज्दैछ की पुलिसको काम, अथवा शारीरिक कामहरू केवल पुरुषहरूको काम हो? नारीहरूको काम घर भित्र सीमित हुन्छ? होइन भने, नारीहरूले केही शारीरिक काम गयो भने, त्यसलाई पौरुष कामको संज्ञा किन दिइन्छ? 
यस चलचित्रले पनि त्यही कालो चलनलाई पन्छाउँन सकेन। तर पनि पुरुषको जगामा, मर्दानीमा हामी पुलिसको ड्रेसमा बन्दुक खेलाँउदै एउटी नारी पाउछौ, यो प्रशंशनिय छ। 
अरू धेरै हिन्दी चलचित्रको केन्द्र बिन्दु हुन्छ, एउटा इमान्दार पुलिसको हिरोपन्थी, अनि अन्तमा जीत। त्यस्तै छ मर्दानी पनि, केवल पुरुषको सट्टा हामी मुख्य भूमिकामा महिला पाँउछौ। अरू अन्य हिन्दी चलचित्र झैँ, जसले लैङ्गिक भूमिकाको अदल बदल गयोस, मर्दानीमा पनि फिल्मको मुख्य केन्द्र बन्नलाई, नारीलाई पुरुष हुन परेको छ। यहाँ दुई वटा मुख्य कुरा आउछ, एउटा नारीको आफ्नै विशेष चरित्रहरू हुन्छ, कोमल, ममतापूर्ण, लजालु इत्यादि, यी चरित्रहरू सँगै नारीहरू चलचित्रको मुख्य पात्र बन्नु पर्छ, तर के यो चरित्रहरू पनि समाज को त्यही रूढ़िवद्धता कै फल त होइन? यी चरित्रहरू के नारीहरूको असल चरित्र हो? यदि समाजमा पहिले देखिनै लैङ्गिक असमानता नभएको भए, नारीहरूको कस्तो चरित्र हुनेथियो? फेरी प्राकृतिक रूपले नारीहरूले पाएको आमा हुने सौभाग्यले पनि त तिनीहरूलाई केही विशेष चरित्र दिन्छ। त्यसो भए कुन प्राकृतिक अनि कुन समाज निर्मित चरित्र हुन् त?  यो सब प्रश्नहरूनै छन्। 
मर्दानीमा रानी मुखर्जीको यस्तै भूमिका छ, तर यस चलचित्रमा थुप्रै चाखलाग्दो कुराहरू छन्, जस्तै चलचित्रको शुरुमा नै रानी मुखर्जीले, आफूले पर्खी रहेको गाडी आए पछि, आफ्नो सहकर्मी पुलिसहरूलाई भनेको कुरा। रानी मुखर्जीले भन्छ- ‘हामी ठुल ठुलो गुण्डा-चोरहरूलाई त ठिक पार्न सक्छौ, तर घरको मामलामा हामी कम्जोर हुन्छौ’। अथवा यहाँ रानी मुखर्जीले, आफ्नो नारी अस्तित्वलाई पछि सारेर, आफ्नो कामले बनेको परिचयलाई आफ्नो परिचय भनेको छ। एउटा नारी आफ्नो घर गृहस्तिको घेराबाट निस्केर आफ्नो कामको परिचय लिनु, यो पनि प्रशंशनिय छ। 
तर यस्तै फुटकर डाईलगहरू बाहेक अरू केही हामी यस चलचित्रमा पाउदैनौ। अरू अन्य हिन्दी चलचित्र झैँ, एउटा इमान्दार पुलिस, डीपार्टमेन्टबाट जसलाई निकाली दिन्छ, तर स्वतन्त्र रूपमा त्यो पुलिसले शोध चलाई बस्छ, अनि अन्तमा पुलिसको जित हुन्छ। एउटा नाथे इमान्दार पुलिस जसलाई भारत जस्तो देशमा कमिला समान कुल्चीइन्छ, त्यहाँ, एउटा पुलिसले सबै समाधान गरिदिन्छ भन्ने विचार भने भारतीय पपुलर सिनेमामा पुरानो हुँदैन।
अर्को सिनेमाको प्रतीक्षामा....  

सम्पादकीय : अगस्ट-सेप्टेम्बर २०१४

प्रतिक्रियाको र प्रतिवादको दुनियाँ

देशमा नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सरकार आए भने देशको श्रमजीवी मानिसहरूको जीवनमाथि आक्रमण झन् बढ्नेछ— यी कुरामाथि पहिलादेखि नै कुनै सन्देह थिएन। सत्तामा बस्नु बित्तिकै त्यसको प्रमाण हामी दिनहुँ भेटिरहेका छौं। अहिले आएर किन देशी-विदेशी पुँजीपतिहरूको सरकारलाई नरेन्द्र मोदीले अप्नाएको कठोर कदमहरूको खाँचो पऱ्यो? यो प्रश्नको उत्तर खोज्दा देशभित्र मात्रै सीमित रह्यौ भने समस्याको जम्मै चित्र हामी देख्न सक्दैनौं। मोदीको सरकार जुन झुकावहरू लिएर उपस्थित भएको छ त्यसलाई स्पष्टरूपमा फासीवादी झुकाव भन्न सकिन्छ। इतिहासमा— पुरै संसारको इतिहासमा यस्तो फासीवादको जन्म बारम्बार भएको छ अनि त्यसको विरुद्धमा प्रगतिवादी मानिसहरूको वीरतापूर्ण सङ्घर्षको पनि एउटा सुनौलो परम्परा छ। सरकार र कर्पोरेट संस्थानहरूले एक-अर्कासँग मिलेर फासीवादलाई जन्म दिन्छन् त्यतिबेला, जब पुँजीको मालिकहरूले आफ्नो पुँजी निवेशमा डरलाग्दो सङ्कटलाई सामना गर्न पर्छ अनि निवेशी पुँजीको (फिनान्स कापिटल) तर्फबाट सबभन्दा सङ्कीर्ण राष्ट्रियतावादी अनि सबभन्दा आतङ्कवादी एकाधिपत्यको रूपमा फासीवादको उपस्थिति हुन्छ। हामी जम्मै संसारको हलचल हेर्यौं भने यसको ठिक व्याख्या भेट्न सक्छौं। 
वैश्यिक पुँजीको नजरमा भारत त महत्वपूर्ण छदैछ— त्यसकारणले पुँजीवादको सङ्कटको डरलाग्दो पञ्जा यहाँ पनि पर्न थाल्यो अनि कैयौँ समस्याले पीडित देशी-विदेशी पुँजीको मालिकहरूले नरेन्द्र मोदीद्वारा नै उनीहरूको स्वार्थ पुरा हुन्छ भनी ठानेर उनलाई जिताउन आफ्नो पुरै शक्ति लगायो र प्राथमिक सफलता पनि प्राप्त गऱ्यो। संसारको विभिन्न देशमा, विभिन्न क्षेत्रमा सँगसँगै पुँजीको निवेश-सम्बन्धित सङ्कट, मानिसहरूका विरोध-विद्रोह र जनताको जुझारु शक्तिको उभ्याईसितै नानाथरीका फासिस्ट शक्ति पनि उभिन थालेको छ।
हालैको युरोपेली युनियनको चुनावमा यो प्रतिबिम्बित भएको छ। केही वामपन्थी-प्रगतिशील-मध्यवामपन्थी शक्तिहरूको जितको साथसाथै डरलाग्दो वृद्धि भएको छ नव -नाजी शक्तिहरूको पनि। फ्रान्सको ‘फ्रन्ट न्याशनल’ देखि लिएर डेनमार्कको ‘पिपल्स पार्टी’ वा ग्रीसको ‘गोल्डेन डन’ देखि हंगेरीको ‘जब्बिक’— युरोपेली युनियनको प्रतिनिधिमण्डलमा विभिन्न देशहरूमा यस्ता कमसेकम ९ वटा नव-नाजी शक्ति निर्वाचित भएका छन्... यीमध्ये कसैको हातमा स्वस्तिक चिह्नको नक्सा कोरिएका छन्, कसैले घुसपैठीहरूलाई निकाल्नको निम्ति भाइरस उपयोग गर्ने कुरा गरिरहेकाछन्, कसैले त देशदेखि सबैजना मुसलमान मानिसहरूलाई धपाउने बात धरी उठाउदैछन्— कत्तिको भनाई के छ भने—“असलमा युरोप सेतो मानिसहरूको निम्ति हुनपर्ने, एउटा देश हुनुपर्ने एउटा विशुद्ध रगतको मानिसहरूको”!
फासीवादी झुकाव छोडेर तानाशाहीको कुरा गरौँ भने अफ्रिका देखि ल्याटिन अमेरिका, दक्षिण-पूर्वी एसिया देखि मध्यपूर्व — तानाशाहीको विरुद्ध विरोधको आगोमा जल्दैछ भने सेना, साम्राज्यवादी शक्तिहरूका मद्दतले झन् बलियो तानाशाही, र शोषण-दमन आजको विशिष्टताको रूपमा अगाडी आएको छ। मिश्र तर्फ हेर्नुहोस्— लामो समयदेखि तानाशाही गर्दै आएको होसनी मुबारकलाई ताहरीर स्कोयरमा भएको विशाल जन आन्दोलनद्वारा सत्ताच्यूत गरेपछि पहिला सेनाले सत्ता पक्रियो, त्यसपछि मुस्लिम ब्रदरहुड भन्ने पार्टी सत्तामा आए तापनि उनीहरूलाई सत्ताच्युत गरेर सेनाले सत्तालाई आफ्नो जकडमा लिएको छ— जसको नतिजा कहिले व्यापक राजकीय दमन, कहिले आन्दोलनमा भाग लिने ‘अपराध’को दण्ड स्वरूप पाँच सय भन्दा बेसी मानिसलाई फाँसीको आदेश, कहिले पत्रकारहरूलाई बिना-कारवाही नै जेलमा थुनिदिनु— चरममा पुगेको छ तानाशाहीको अनुहार अनि यसैगरी जुन मजदुरवर्गले ताहरीर स्कोयर आन्दोलनमा ठोस भूमिका निभाएका थिए, उनीहरूमाथि सत्ताले निर्मम आक्रमण गर्दै भयावह नीतिहरू लादेको छ। यो चित्र ट्युनिसिया देखि लिएर बाहरिन— सबै ठाउँमा नै एकैजस्तो छ। लिबिया वा सिरिया जस्ता ठाउँमा साम्राज्यवादी शक्तिहरूका मद्दतले विद्रोही गुठहरूलाई जन्म दिइरहेको छ, इराकमा उफ्रिरहेको छ विरोधी आतङ्कवादी गुठ— यी सबै नै हो सत्ताको विन्यासमा हेरफेर ल्याउनलाई देशी-विदेशी पुँजीपतिहरूका नानाथरीका ब्लुप्रिन्ट। ठोस कुरा के हो भने उनीहरूका बर्चस्वलाई अझै तीव्र गर्नु, खटिखाने मानिसको आवाज, प्रतिरोध र आर्जन गरेको अधिकारहरूलाई तोडमरोड गरेर मुनाफाको पहाडलाई झन् ठुलो पार्नु नै यी पुँजीपतिहरूको अन्तिम लक्ष्य हो। 
तर यो चित्र जत्ति नै धमिलो होस्, शासकहरू वा मालिकवर्गको पकड जत्ति नै बलियो बनोस्, खटिखाने मानिसहरूका प्रतिरोध र विकल्पको सोचमा नै अल्मलिरहेका छ जम्मै संसार। यस्तो होइन कि श्रमजीवी मानिसको मुक्ति आन्दोलनले अहिले नै एउटा स्पष्ट लक्ष्य देख्न सक्छ, तर सँगसँगै यो पनि साँचो हो कि जसरी एक दशक अघि ‘पुँजीवाद नै दुनियाको अन्त हो’ भन्ने कुरा संसार भरि नै फैलिएको थियो— त्यो कुरा पनि डरलाग्दो रूपले ध्वस्त भइसकेको छ। मालिकवर्गको आँखाको पुतली आजको पुँजीवादी व्यवस्थालाई आज हजारौँ प्रश्नचिह्नको अगाडी सम्मुखिन हुन परेको छ । 
पर्यावरण बाहेक यो संसारको सबै सम्पदाको स्रोत हो श्रमशक्ति। पुँजीवादी उत्पादन व्यवस्थाद्वारा यो काम जम्मै संसारमा सङ्गठित भइरहेको छ। तर जसले यसलाई सञ्चालन गरिरहेकाछन्, उनीहरूका यो कामको चालिकाशक्ति (driving force) मानिसको प्रयोजन मेटाउनु होइन, त्यो हो व्यक्तिगत मुनाफा सृष्टि गर्नु। त्यो तर्फबाट हेर्यौं भने वर्तमान पुँजीवादी व्यवस्था बहुसङ्ख्यक साधारण मानिसको प्रयोजन र स्वार्थको विरोधी हो। तर यो विषय झन् जटिल हुँदैजान्छ किनभने पुँजीपतिहरूले उनीहरूका मुनाफालाई अझै बेसी उत्पादनको लागि पुनःनिवेश गर्दछन्। व्यक्तिगत उपभोग भन्दा उनीहरूका धेरै बेसी ध्यान पुँजी र मुनाफालाई निरन्तर बढाउनमा रहन्छ। मानवसभ्यताको इतिहासमा मानिसको प्रयोजनलाई मेटाउनको निम्ति एउटा सङ्गठित प्रक्रियाको हिसाबले पुँजीवादले अहिलेसम्म नै एउटा ठुलो समयकालदेखि मानिसको श्रमशक्तिको उपयोग र प्राकृतिक सम्पदा माथि बर्चस्व कायम गर्दै आएको छ। यो नियमवद्ध शोषण-लुटको व्यवस्थाको अन्त केवल खटिखाने जनताको राज कायम गर्ने बाटोबाट नै आर्जित हुनसक्छ। 
अनि त्यो बाटोमा हिड्दा सैद्धान्तिक कुराको निर्जिवताले होइन, जीवनको जीवन्तताले त्यसको प्रमाण दिइरहेकाछन् संसारका मानिसहरू— अमेरिकामा अकुपाई वाल स्ट्रीट आन्दोलन देखि लिएर अरब वसन्त, युरोपको देशहरूमा रंगीविरंगी प्रतिवाद-प्रतिरोधहरू, ग्रीसमा आर्थिक मन्दीको विरुद्धमा, तुर्कीमा तथाकथित् ‘विकास’ विरुद्ध, ल्याटिन अमेरिकामा नव-उदारवादको नयाँ नयाँ आक्रमण विरुद्ध अभूतपूर्व आन्दोलनहरू उभ्रीरहेको छ। यी लडाइहरूमा खटिखाने मानिसको भागीदारी र भूमिका त छदैछ, त्यससित मजदुरवर्गको आफ्नो सङ्घर्षको विभिन्न सुनौलो इतिहास पनि अहिलेको समयमा नै बनिरहेको छ। बङ्गलादेशको गार्मेन्ट मजदुरहरू राजमार्गमा ओर्लीएका छन्, दक्षिण अफ्रिकाको खानी मजदुरहरूले गोली खाँदै प्राण दिंदैछन्, ग्रिस-अर्जेन्टिनाको श्रमिकहरूले कारखाना आफ्नो हातमा लिँदै आफुलेनै चलाइरहेका छन्, चीनको मजदुरहरूले युनियनको आडमा आफैले एक पछि अर्को हड्ताल आयोजन गरिरहेका छन्, अमेरिका देखि लिएर धेरै देशहरूमा आप्रवासी मजदुरहरूले उनीहरूका ज्याला र सम्मानको लागि बलियो आवाज उठाइरहेका छन्— यस्तै हो अहिले दुनियाँको कुनाकुनाबाट आइरहेको विरोधको ताजा नक्साहरू। 
यस्तो होइन कि अहिले नै बदलिनेछ संसार। तर पुँजीवादले, मालिकवर्गले जसरी आफ्नो वर्चस्व र शोषणलाई निर्विवाद र चिरस्थायी गर्न चाहन्छ— त्यसको जबर्दस्त जवाफ दिँदै प्रतिरोधको बाटोमा हिडिरहेका छन् संसारको ठाउँठाउँमा मजदुरहरू। सच्चा गणतन्त्रलाई खोज्दै बाटो हिडिरहेका जनताले स्वाभाविक रूपमा नै आन्दोलन र आन्दोलनको सङ्गठनभित्र गणतन्त्रको नानाथरीका विचित्र व्यवहार आत्मसात् गरिरहेका छन्। अकुपाई आन्दोलन देखि ग्रीसको ’सिरिजा’, ब्राजिलको परिवहन श्रमिक देखि थाइल्यान्डको विद्रोहीहरूले आन्दोलनको दिशा, स्लोगन, रूप र गणतन्त्रको व्यवहार लिएर नानाथरीका सिर्जनात्मक अनुशीलन गर्दैछन्— त्यसको पुनरावलोकनले पनि हामीलाई विकल्प लडाई र समाज निर्माणको सङ्घर्षमा प्रेरणा र तत्व पुर्याउनेछ। आमजनताको बित्त-सम्बन्धी लडाइहरू, तानाशाही विरुद्ध सङ्घर्ष, साम्राज्यवादी आक्रमण विरुद्ध आन्दोलनको साथसाथै समाजको विभिन्न अंशको सङ्घर्षहरू— लैङ्गिक अत्याचार र असमानताको विरुद्ध, प्रान्तीय यौन परिचयको मानिसहरूका अधिकार स्वीकृतिको मांगमा, पर्यावरण लिएर विभिन्न सर्तको पक्षमा, उत्पीडित राष्ट्रियताको अधिकार लिएर विभिन्न विचित्रतापूर्ण सङ्घर्ष पुरै संसार भरिनै फैलिएको छ र बन्दैछ— यी सबै नै हो हाम्रो शिक्षाको स्रोत, हाम्रो हिडाईको प्रेरणा।