Friday, July 4, 2014

श्रद्धाञ्जली : ग्याब्रियल गर्सिया मार्केज


म्याजिक रियलिज्मको स्रष्टा, नयाँ दुनियाँको सपनाद्रष्टा


सन १९२७मा जन्मेका  ल्याटिन अमेरिकी तथा कलम्बियान लेखक ग्याब्रियल गर्सिया मार्केज ८७ वर्षको उमेरमा अप्रिल १७, २०१४ को दिन अन्तिम सास फेर्नुभयो। अन्तिम दिनहरुमा  केमोथेरापीले गर्दा जन्माएको एलझाईमारको बिमारीले उनी ग्रस्त थिए। एलझाईमारले उनको स्मृति क्षयलाई द्रुत बनाइ दिए। यो सम्झना र बिर्सना मार्केजको लेखको एउटा मुख्य स्तम्भ हो, त्यसैले उनको सम्झना- बिर्स्नको पागलपनमा पनि  अर्थ खोजी निकाल्नु स्वाभाविकनै हो। लेखक अन्तिम दिनहरुमा आफ्नो एक्लोपनमा हराउदै थिए जस्तो की उनको प्रख्यात उपन्यास “वान हण्ड्रेड यर्स अफ सोलिच्युड” (सय वर्षको एक्लोपन)-मा काल्पनिक शहर मकोंदोका वासीहरूले झेल्न परिरहेको थियो। चिलीको सुविख्यात लेखिका इसाबेल एलेण्डे नोबेल पुरस्कारद्धारा विभुषित विश्व साहित्यका यो महान् उपन्यासकार, कथाकार गाब्रियल गर्सिया मार्केजको बारेमा भन्नु हुन्छ— “एउटा तरिकाले उहाँले पाठकहरूमाथि विजय हाँसिल गर्दै, विश्वलाई पनि जित्नु भयो र विश्वलाई हाम्रा बारेमा बताउनु भयो। ल्याटिन अमेरिकाको बारेमा र हामी को हौँ भन्ने बारेमा बताउनु भयो। उहाँले लेखेका पानाहरूमा हामीले आफ्नो अनुहार देखेका छौँ।” इसाबेल एलेण्डे पुनः स्पष्टीकरण दिदै भन्नु हुन्छ—  "'गाबो'को (गाब्रियल गर्सिया मार्केज यो नामले नै चर्चित छन्) "वान हण्ड्रेड यर्स अफ सोलिच्युड" पढिसकेपछि मेरो कथा मलाई कसैले सुनाई रहेको जस्तो लाग्यो। "

सन् १९७६ मा उनको यो प्रख्यात उपन्यास वान हण्डेड यर्स अफ सोलिच्युड प्रकाशित भएको थियो। उनले सन् १९२८ मा भएको अमेरिकाको युनाइटेड फ्रुट कम्पनीले केरा बगानका श्रमिकहरूमाथि चलाएको नरसंहारको घटनामा आधारित कृति सर्वप्रथम प्रकाशित गरेका थिए। सबै केरा बगानका सबैजना मजदुरहरूलाई मारेपछि उक्त स्थानमा केवल सुकेको पातको डंगुरलाई हुरी बतासले उडाउँदा उराठ लाग्दो आवाज मात्र आएकोले सो पुस्तकको नाम नै उनले लिफ स्टर्म राखेका थिए। यसै उपन्यासको विकसितरुप वान हण्ड्रेड यर्स अफ सोलिच्युड कृति भएको विश्लेषकहरूको ठम्याई छ। पत्रकार भएकाले गार्सिया मार्केजका उपन्यासहरू पत्रकारिताबाट गहिरो ढङ्गले प्रभावित छन्। आजभोलि पूँजीवादी सञ्चारमाध्यमहरूले गाबोको प्रशंसा गर्दा उनीहरू वास्तवको धेरैवटा सच्चाई उल्लेख गर्न बिर्सिन्छन्। ती पूँजीवादी सञ्चारमाध्यमहरू मार्केज र क्युवाली क्रान्तिका नेता फिदेल कास्त्रोबीचको प्रगाढ मित्रतालाई पनि लुकाउन खोज्दैछन्।

आफ्नो यस कृति र अरु कृतिहरुमा गर्सिया मार्केजले वर्तमान पुँजीवादको डरलाग्दो रूप देखेका छन्, जसले न केवल जमिन नष्ट गर्नसक्छ, सैनिकहरूलाई आदेश दिन सक्छ तर, जलवायु पनि आफ्नो नियन्त्रणमा लिन सक्छ। कम्पनीको यु.एस. एडमिनिस्ट्रेटरको हत्या पश्चात् श्री ब्राउनले भयंकर भुमरिलाई बोलाउछ जसले मकोंदो मात्रै न भएर नरसंहारको जम्मै चिन्हहरूलाई पनि धोएर लागी दिन्छ! त्यो हुरीले पाठकहरूलाई उपन्यासको प्रसिद्ध वाक्याशं पट्टि ठेल्छ, जाँहा बुएँडिया परिवारको अन्तिम मानिसले आफैलाई एउटा पढ्ने कक्षामा बन्जाराको भविष्यवाणी पढ्दै गरेको पाउछ—“सबैकुरा जे उसले जान्दछ वा जसको उसलाई माया छ ती हावासँगै उडी जानेछन् र मान्छेको स्मृतिपटलबाट सधैको निम्ति लोप भएर जानेछन् कारण जुन प्रजातिले १०० सय वर्षको एकान्तवास पाएका छन् तिनीहरूले पृथिवीमा दोस्रो अवसर पाउने छैनन्”। 

यो साम्राज्यवाद बारे शक्तिशाली कथा हो। ल्याटिन अमेरिका माथि वाशिंटनको उत्साह, फौजको कब्जाले गर्दा निरन्तर साम्राज्यवादी कब्जाको कोसिसहरु र जनताको प्रतिरोध र क्रान्तिको सिलसिला चल्दै रह्यो। हेनरी किस्सिंगरको आशीर्वादले १९७० को अन्त्यतिर यस्तै हुरी ल्यायो। यसबेला ओपेरेशन कोंडोर मार्फत देशभरि हत्याकाण्ड चल्दै थियो। त्यसपछि १९८० मा वाशिंगटनले ग्वातेमालामा मानवहत्याको समर्थन गऱ्यो, एल साल्भाडोरमा हत्यारा टोली पठाइयो र निकारागुआमा मान्छे मार्ने ‘स्वतन्त्रता संग्रामीहरू’ नियुक्त गरियो। 

सन् १९५० को समयमा ल्याटिन अमेरिका भरिनै तानाशाहहरूको दमनचक्रले जकडि रहेको थियो। कोलम्बियामा रोजास पिनिल्ला थियो। भेनेजुयलामा पेरेज जिमिनेज, पेरुमा ओड्रिया, त्रुजिल्लो सान्तो डोमिङ्गोमा, अर्जेन्टिनामा पेरो र क्युबामा बाटिस्टा थियो। दमन र ज्यानको जोखिमका कारण सो समयमा ल्याटिन अमेरिकी लेखकहरू निर्वासनमा बसेर कलम चलाइरहेका थिए। युरोप लगायत अन्य मुलुकहरूमा बसेर उनीहरू कलमजीवी भएर बाँचिरहेका थिए भने अर्को तर्फ ल्याटिन अमेरिकी तानाशाहहरूको विरुद्धमा जुधिरहेका थिए। लोकतन्त्रका खातिर लडिरहेका थिए। उनीहरूका लागि यसकारण पनि आफ्नो देश झन् असुरक्षित थियो। यसैप्रकारको घटना चिलीमा पनि घटेको थियो। मार्केजले अमेरिकाले चिलीको वामपंथी राष्ट्रपति साल्भाडोर एलेण्डेको सत्ता अपदस्त गरेकामा पनि कठोर विरोध जनाएका थिए। त्यसकारण उनलाई अमेरिका सरकारले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो। जब चिलीमा सैनिक कु भयो त्यहाँका नाम चलेका लेखक तथा कविहरू देश छाडेर जान बाध्य भएका थिए। नोबेल पुरस्कार विजेता विश्व प्रसिद्ध कवि पाब्लो नेरुदा अर्जेन्टिनामा पलायन हुन बाध्य हुनु भएको थियो। 

ल्याटिन अमेरिकाको निम्ति राजनैतिक हिंसा कुनै नयाँ कुरो थिएन तर यी देशहरूमा अहिले अर्कै प्रकारको दमनको रूप देख्न पाइयो। आतङ्क केवल आफ्नो विरोधीहरूलाई हटाउन मात्र होइन बरु जम्मै विकल्पहरूलाई पनि नष्ट गर्नु थियो। हजारौँ लाखौँ मानिसहरू संसारबाट हराए। हजारौँ जातिगोष्ठी जस्तै मकोंदो जस्तै पृथिवीको अनुहारबाट सधैको निम्ति हराएर गयो!

यी विश्वविख्यात साहित्यकारले सन् १९८२ मा सय वर्षको एक्लोपनको लागि नोबेल पुरस्कार प्राप्त गर्नु भएको थियो। उनको अर्को सुप्रसिद्ध पुस्तकहरूको नाम Love in the Time of Cholera, Chronicle of a Death Foretold and 2005's Memories of My Melancholy Whores लगायतका १५ भन्दा बढी चर्चित कृति रहेका छन्। 

मार्केजलाई जादुगरी यथार्थवादी (म्याजिक रियलिज्म) लेखक भनिन्छ। मार्केज म्याजिक रियलिज्मको विषयमा भन्नु हुन्छ— ल्याटिन अमेरिकाको इतिहास... तानाशाहहरूको चक्रब्युह, रोमान्टिक क्रान्तिकारीहरू, लामो समयसम्मको भोकमारी, बिरामी द्धन्द यी सबैनै म्याजिक यथार्थवादभित्रका तत्वहरू हुन। तर उनी भन्छन् म मेरा वरिपरिका यथार्थलाई कथा वस्तुमा उन्छु त्यसकारण म यथार्थवादी चाँही हुँ। 

उनी संधै बामपंथी थिए। गाब्रियल गर्सिया क्युबाका पूर्व राष्ट्रपति फिदेल कास्त्रो तथा क्युबाली जनताको अभिन्न मित्र हुनुहुन्थ्यो। मार्केजले कास्त्रोलाई आफ्नो सर्वश्रेष्ठ सम्पादक भनेका थिए। क्युबाली सशस्त्र युद्धको समयमा उनले युद्ध पत्रकारकारुपमा आफ्नो भूमिका निभाएका थिए। उनी क्युबालाई मन पराउँथे। उनी क्युबामा बसे र पछि पनि धेरै पटक क्युबाको भ्रमण गरिरहे। क्युबाली क्रान्ति सम्पन्न भएपछि उनले हावानामा फिल्म इष्टिच्युटको स्थापना गर्ने जिम्मेवारी पाएका थिए। उनको वामपंथी दृष्टिकोणको कारण कोलम्बियामा बस्न उनलाई अनेकौँ समस्याहरू आईपरिरहेकोले कोलम्बियामा बस्न नसक्ने भएपछि ज्यानको खतराबाट जोगिन देश छोडेर मेक्सिकोमा आप्रवासी हुन गएका थिए। उनी मेक्सिको भन्दा बाहेक अरू देशहरूमा पनि बसेका भएपनि लामो समयसम्म र मृत्यु नभएसम्म त्यहीँ बसेका थिए। 

सबैभन्दा बढी हण्डर खाएर, सबैभन्दा ठुला समस्याहरूबाट गुज्रेर, सबैभन्दा दरिद्रका दिनसित जुझ्दै, वेश्यालयको वेश्याहरूलाई टुलुटुलु हेर्दै, कोठा भाडा तिर्न नसकी निकालिएपछि कफी शपमा एक कप कफी किनेर पिउँदै रात कटाउने यी नै हुन् २० सौं शताब्दीका महान् वामपन्थी धाराका चर्चित लेखक गाब्रियल गर्सिया मार्केज। उनले हामीलाई हारसितै बाँच्न सिकाए। उनको समयको अन्य लेखकहरू जस्तै उनी कहिले पनि हताश, निराश भएनन्, आफू-केन्द्रित र तीतोपन उनको जीवनमा आएन तर उनी सधैँनै खुसी, हाँसोले भरिएका हुन्थे र जीवनको रसले भरिएको उन्मादना उनको कृतिमा पाइन्छ। “हामी सबै एक्लै छौँ”— तर यो सत्य दुखी हुनुको निम्ति होइन बरु यसलाई स्वीकारेर चल्नुको निम्ति हो। उनले लगातार हामीलाई के भनी बसे भने अरू कल्पनाको जगत सम्भव छ। यसैले गर्सिया मार्केजले १९८२ मा साहित्यको लागि नोबेल पुरस्कार पाउँदा दिएको भाषणको अन्तिम पंक्ति फेरी एकपल्ट सोची हेरौं— 
“Faced with this awesome reality that must have seemed a mere utopia through all of human time, we, the inventors of tales, who will believe anything, feel entitled to believe that it is not yet too late to engage in the creation of the opposite utopia. A new and sweeping utopia of life, where no one will be able to decide for others how they die, where love will prove true and happiness be possible, and where the races condemned to one hundred years of solitude will have, at last and forever, a second opportunity on earth.”

No comments:

Post a Comment