Sunday, December 20, 2015

अङ्क १५ : नोभेम्बर-डिसेम्बर २०१५



सम्पादकीय : नोभेम्बर -डिसेम्बर २०१५

सन्दर्भ : असहिष्णुता

असहिष्णुता लिएर देशभरि नै बहस-चर्चा चलिरहेको छ। एकातिर मानिसलाई हत्या गर्नु, जिउदो जलाईदिनु,'घर वापसी’,'लभ जिहाद’, धम्की— बिजेपी, आरएसएस, सङ्घ परिवारको पक्षबाट धार्मिक अल्पसंख्यक माथि यस्ता घटनाहरू लगातार भइरहेको छ। अर्कोतिर चलिरहेको छ इतिहास विकृतिको सुनियोजित परिकल्पना। तर यी विरुद्ध प्रतिवाद पनि चलिरहेको छ अनि राष्ट्रिय पुरस्कार फर्काउनु, प्रतिवादी पत्रहरू पठाउनु, र  विरोध प्रदर्शनहरू भइरहेको छ।
कस्तो छ त यो असहिष्णुताको स्वरूप?  यस्तो छ- फरवरीमा प्रगतिवादी लेखक गोविन्द पानसारे, अगस्टमा एम.एम. कलबुर्गीको हत्या भयो। कारण यिनीहरूले कुसंस्कार र धार्मिक कट्टरवाद विरुद्ध आवाज उठाउदै थिए। गोरुको मासु घरमा भएको बहाना बनाएर दिल्ली नजिक दादरीमा महम्मद आखलाखलाई कुटेर हत्या गरियो। हिमाचल प्रदेश र कश्मिरमा पनि त्यस्तै कतिवटा घटना घट्यो। गोरुको मासु बिक्री र काट्नु माथि पनि कतिवटा राज्यमा निषेधाज्ञा जारी भएको छ। मुस्लिमहरूलाई बातबातमा पाकिस्तान पठाउने कुरा, हिन्दु संस्कृति अपनाउन पर्छ भन्ने कुरा, मुस्लिम र इसाईहरूलाई जबर्जस्ती हिन्दु बनाउने प्रयास जस्तै थुप्रै डरलाग्दो कार्यक्रम चलिरहेको छ सङ्घ परिवारको तर्फबाट। उनीहरूको हिन्दु भन्ने धारणा उच्च वर्ण ब्राह्मणवादी धारणामा आधारित भएकोले यसको असर दलित, आदिवादी, वा तथाकथित निम्नवर्गीय हिन्दुहरुले झेल्नुपरिरहेको छ।  स्थिति अहिले यती हदसम्म बढेको छ कि प्रख्यात गजल गायक गुलाम अलि धरी लाई पाकिस्तानको नागरिकको पहिचानमा प्रोग्राम गर्नबाट रोकिएको छ। इतिहासलाई विकृत गर्नु र दर्शनगत स्तरमा कट्टर हिन्दुत्ववादी विचार थप्नुको लागि शिक्षा र शोध प्रतिष्ठानहरूको उच्च पदहरूमा सङ्घले छानेका मानिसहरूलाई हाल्ने काम भइरहेको छ।
यसको विरुद्धमा प्रतिवाद पनि निक्कै भइरहेको छ। अहिलेसम्म प्राय ५० जना लेखक, बुद्धिजीवीहरूले सरकारी पुरस्कार फर्काइ सकेका छन्। देशविदेशबाट १३० जना विज्ञानीहरूले राष्ट्रपतिलाई प्रतिवाद पत्र पठाएका छन्। सठीक प्रकारले बहसको कुनै अवसर नरहेकोले असहनशीलताको एउटा माहौल बढिरहेको छ। जसको नतिजा अमिर खान वा ए आर रहमान आदिहरूको विवृतिमा पनि देखा पऱ्यो।  
तर देशभरिमा बनिएको भयंकर स्थितिलाई असहिष्णुताले मात्रै व्याख्या गर्न सकिँदैन। यसको राजनैतिक चरित्र निकै गहिरो छ। असहिष्णु त हामी पनि हुन्छौ। यस चलिरहेको व्यवस्थाले गर्दा नानीहरू शिक्षाबाट वञ्चित, युवाहरू कामबाट वञ्चित, मजदुरहरू अधिकार र सठीक ज्याला देखि वञ्चित, किसानहरू फसलको न्यायपूर्ण दाम देखि वञ्चित हुँदा असहिष्णु त हामी पनि हुन्छौ। केटीहरू बलात्कृत हुन्छन्, उनीहरू ढुक्क भएर हिड्ने उपाय छैन। चियाबगानको मजदुरहरू भोकमरी र कुपोषणले मरिरहेका छन्। पुर्खादेखि बसोबास गरेका मानिसहरू आफ्नै जल-जङ्गल-जमिनबाट विस्थापित भइरहेका छन् । जीवन जिउने न्यूनतम अधिकार र साधनबाट वञ्चित भएर बस्नुपर्ने र भ्रष्टाचारले भरिएका व्यवस्थालाई दिनहुँ झेल्नुपर्ने मानिसहरूका कतारमा उभिएर के हामी सोच्न सक्छौ सहिष्णुताको कुरा? यस्तो प्रकारको सहिष्णुताको पनि त अन्त हुनुपर्ने। 
तर शासकको तर्फबाट जुन असहिष्णुतालाई जबर्जस्ती सुचारुरुपले मानिसहरू माथि थोप्ने काम चलिरहेको छ, त्यो हाम्रो  असहिष्णुताको एकदमै विपरीत छ। यो असहिष्णुताको पछाडि लुकेको छ गहिरो राजनैतिक र दार्शनिक षड्यन्त्र। यस  वर्तमान समयमा अभिव्यक्तिको अधिकारलाई हनन गर्ने, चिन्ताको स्वतन्त्रतालाई रोक्ने, प्रगतिवादी संस्कृतिलाई कुल्चने काम चलिरहेको छ। अनि यी सबै कस्तो बेला भइरहेको छ? जब सामाजिक सुरक्षाहरू घटिरहेको छ, आमजनताको आर्थिक सङ्कट बढिरहेको छ, महंगाई, बेरोजगारी, भ्रष्टाचार र असमानताले आकाश छुने स्थितिमा पुग्न आँटेको छ। सँगसँगै नयाँ अधिकारको कुरा त छोडीदिनु होस्, सङ्घर्षको बाटोमा जितेको ऐनी अधिकारहरू पनि खोस्ने काम चलिरहेको छ। असहिष्णुता हामी पनि देखाउने छौ। समाजको आधारभूत समस्याहरूबाट आँखा फर्काएर, झुठो युद्धको डर बनाउदै, देशको सुरक्षाको बहाना गरेर अरूलाई थिचोमिचो, गोरुको मासु निषेध, लभ जिहाद, घर वापसीको बनावटी कथा फैलाउनु — यी सबै चाललाई उदाङ्गो पार्दै जनतालेनै देखाउने छन् आफ्नो असहिष्णुता— यो व्यवस्था प्रति।

मुनाफाको खोजीमा अमानवीय पुँजी

गुञ्जन राणा

"मृत्यु त अपरिहार्य हो, निश्चयनै कसैले पनि अमर हुने अमृत त पिएको छैनन् नै होला।” — यी थिए उत्तर बङ्गालको गोएंकाको अधिनमा भएको १४ वटा चिया बगानहरू मध्ये एउटा बगानको म्यानेजरको उत्तर, जब उनलाई बाग्राकोट चिया बगान (डन्कन्स)-मा हालैमा लामो अवधिसम्म बिरामीले गर्दा अनि राम्रो स्वास्थ्य सेवाको कमीले गर्दा भइरहेको श्रमिक मृत्युको बारेमा सोधियो। हिज आज यस्तो मृत्युको खबर निरन्तर आइ रहे पछि उक्त सत्यलाई म्यानेजरले सिधै नकार्दै आफ्नो जीवनको धान्नको निम्ति सबैले कोसिस गर्नु पर्छ भने अनि कसैले बन्दुक लिएर उसलाई खेदे उ निश्चय पनि आफ्नो जीवनको निम्ति दगुर्ने छ भनेर बताए। ठिकै हो चिया बगानको स्थिति यस काल्पनिक स्थिति भन्दा बेहेतर त छैन नै जसमा म्यानेजर चाही बन्दुक लिएर मजदुरहरूलाई खेदी रहेका छन्। 
सबैलाई थाह छ कि मृत्यु आउनेनै हो तर हाम्रो कोशिश सधैँ आफ्नो जीवनलाई दीर्घायु बनाउने रहन्छ, हामीले जीवनको पक्ष लिएनौं भने मृत्यु चाडै आउछ तर, यी मजदुरहरूको मृत्यु स्वाभाविक र अपरिहार्य होइन, यिनीहरूको मृत्युको मुख्य कारण हो अस्वस्थ्यकर अनि अस्वच्छ कामको वातावरणले गर्दा उब्जिएर छिप्पिएको बिमारी, अशुद्ध पिउने पानी र प्राय पौष्टिक गुणवत्तामा शून्य रहेको भोजन जुन तिनीहरू आफ्नो नगन्य कमाइलाई बचाउन भनी खान्छन्।   
डन्कन्स-गोएंकाको एउटा चिया बगान— गंगारामको पनि यस्तै कथा छ।  यस बगानको क्षेत्रफल ८०० हेक्टर छ यो चारवटा प्रमुख भागहरूमा बाडिएको छ। ती हुन् टुना, मुनि, गंगाराम अनि ताराबारी। टुना विभागमा जहाँ १५०० स्थायी मजदुरहरू काम गर्छन् भने २००० जना अस्थायी मजदुर छन्, बिघावाल २००-२५० छन् भने कर्मचारी १५-२० जना छन्। २००३ सालमा टुना विभागको स्थायी मजदुरहरूले ठिका मजदुरहरूलाई काममा लिने कुराको विरोध गर्दै हड्ताल गरे कारण तिनीहरू  स्वयंलाईनै कामको कमी हुने गर्थ्यो। वर्तमानमा मजदुरहरूलाई तिनीहरूको नयाँ म्यानेजरले थम्थमाइ रहेका छन् जसले अगस्टदेखि बन्द रहेको चिया बगानलाई फेरी खोल्ने बाचा गरे। यहाँ मजदुरहरूले मई देखि तलब नपाए पनि जुलाईसम्म निःशुल्क काम गरे। त्यसैले तिनीहरूले अगस्टदेखि काम गर्न छोडी दिएका थिए। 
बगान बन्द भएकै अवस्थामा पनि मईको तलब पाउदा मजदुरहरू तीन छक परेर उत्साहित पनि भए। बगान चलेको ६ दिनमै म्यानेजरले मजदुरहरूको जम्मै बाँकी पैसा तिरिदिने बाचा गरे तर बिस्तारै। मजदुरहरू यस्तो प्रकारको प्रगतिले गर्दा खुबै खुसी छन् र यस्तो कालो दिन फेरी फेरी आउदैन् होला भन्ने आशा गर्दैछन्। तर डन्कन्सको बाँकी १३ वटा बगानको अवस्था खुबै खराब छ र मृत्यको सङ्ख्या त कत्ति पुगी सकेको छ। अप्रेलमा भएको त्रिपक्षीय वार्ता पछाडि मजदुरहरूको ज्याला बढे पछाडि पनि डन्कन्सले मजदुरहरूलाई तलब दिएकै छैन। डन्कन्स गोएंका ग्रुपको जम्मा ७००० हेक्टर जमिनमा कमान फैलिएको छ जसमा ४०,००० मजदुरहरू आश्रित छन् र कम्पनीको वार्षिक आय २० करोड रुपियाँ छ। तर पनि उक्त कम्पनी वा अन्य कम्पनीहरूले मजदुरहरू प्रति देखाउने उदासीनता र दिने दासतुल्य ज्याला साथै अचानक अचानक बगान बन्द गर्नको निम्ति बदनाम छन्।  
जब म्यानेजरलाई यसको बारेमा सोधियो उनको ओठे जवाब थियो- डन्कन्स गोएंका ग्रुप डुब्दैछ र यदि यसले आफैलाई बचाउनु हो भने बगान र अन्य शिल्प जसमा पनि यसले निवेश गरेको छ त्यसबाट कमाउनु पर्छ। तर विडम्बना के हो भने डन्कन्स गोएंका ग्रुप आफैमा एउटा वृहत् कम्पनी हो र गंगाराम यस क्षेत्रको सबैभन्दा उब्जाउ बगान हो। म्यानेजरले आफ्नो दफ्तरको भित्तामा टाँगिएको प्रमाणपत्रहरू देखाए जसमा गंगारामलाई सबैभन्दा बेसी उब्जनी दिएकोमा सरहाना गरिएको थियो। एक वर्ष त तिनी आफै पनि छक्क परे जब प्रति हेक्टर २८ कुइन्टल पत्ती भएको थियो। त्यसो त गंगाराम जस्तै अन्य १५ वटा बगान भएको त्यत्रो ठुलो कम्पनी कसरि आर्थिक सङ्कटमा पर्न सक्छ त? यो यसकारण कि चिया कमानबाट कमाएको धन यिनीहरूले अन्य शिल्पमा खर्च गर्ने गर्छन् जस्तै गोएंकाले नै आफ्नो पुँजी सिमेन्ट व्यापारमा लगाएका थिए जो घाटामा पर्दा मजदुरहरूले त्यसको परिणाम भोग्नु पऱ्यो। यिनीहरू छिट्छिटो पैसा कमाउनलाई सट्टाबाजीमा पैसा लगाउछन् तर बगानको उन्नतिको निम्ति सोच्दैनन् कारण यिनीहरू कोर्पोरेट मालिकहरू हुन् जसको हातमा सत्ता छ, शक्ति छ, पुलिस छ। समय बितिसक्दा पनि ज्याला नपाएकोले हताश मजदुरहरू जब विरोधमा राजमार्ग अवरोध गर्दै थिए यस्तो बेलामा टाउकोमा हेल्मेट लाएर र हातमा लट्ठी लिएर पुलिस आइपुग्यो तिनीहरूको हड्ताल बिगार्न। आफ्नो कदम न्यायसंगत सम्झेर लडिरहेकी एकजना महिला मजदुरमाथि जब पुलिसले निर्ममतापूर्वक लाठीचार्ज गऱ्यो त्यसबेला तिनले प्रशासन र सरकारको मुखुटाभित्रको हिंस्र अनुहार देख्न पाइन्। 
२००१ देखिने राशिन वितरणमा अनियमितता चलिरहेको छ। हामीले भेटेका मजदुरहरू मध्येनै ५४ जनाको राशिन बाँकी थियो। म्यानेजमेन्टले सरकारलाई भनभान गरेर राशिन कार्ड हुने प्रत्येक मजदुरहरूको निम्ति ४ रुपियाँ को दरमा १ के. जी. चामल राहतको रूपमा बाड्न लगायो। तर  गरिबी रेखा देखि मुनिका यी मजदुरहरूले म्यानेजमेन्टको अर्जी बिनै सरकारको पी.डी.एस. द्वारा सस्तो राशिन पाउनु पर्ने होइन र? आफ्नो नानीहरूको पढाइको निम्ति पैसा बचाउनलाई मजदुरहरू जङ्गली सागपात सब्जीको रूपमा खाने गर्छन्, चियाको फुल पनि यिनीहरू खान्छन्— यो जाँदा जाँदै कि त्यसमा किटनाशकको रूपमा विष छरिएको हुन्छ कारण तिनीहरूको अन्य कुनै उपाय छैन। पिउने पानीको भयङ्कर समस्या छ। भएका कुवाहरू पनि धेरै टाढा छन् र पानी पनि कि त सुकेको हुन्छ कि धमिलो हुन्छ। पिउने पानीको कुरा गर्दा म्यानेजमेन्ट जहिले पनि नसुनेको जस्तै गर्छन् र अन्तमा राजी भने पनि फेरी त्यही अवस्था हुन्छ। महिला मजदुर भन्छिन् जहाँ एक्कै छिनमा हाम्रो आन्दोलन रोक्न पुलिस भ्यान आउँ सक्छ त्यहाँ पानीको गाडी आउँन सक्दैन? 
मजदुरको सामाजिक सुरक्षा प्रति बढ्दो समयसाथ खतरामा पर्दैछ। अस्पतालमा केही काम हुँदैन एउटै मात्र  सुविधा मजदुरहरू पाउछन्, त्यो हो कथंकाल कोही बिरामी भइहाले भने बगानबाट गाडीले बिमारीलाई उत्तर बङ्गाल अस्पतालसम्म पुऱ्याई दिन्छ। त्यसपछि खर्चको पैसा पनि म्यानेजमेन्टले प्रतिपुर्ती गरी दिंदैन जुन कानुनको विरुद्ध हो।
तर खैर, के कानुनी र मानवीयरूपले स्वीकार्य हो कि होइन त्यो सब वर्तमान समयको दासत्वको आधारमा उभिएको चिया बगानहरूमा चल्दैन, चाहे त्यो गुडरिकको होस् वा डन्कन्सको। एउटै कुरो मात्र चल्छ यहाँ त्यो हो अनादर, अत्याचारपूर्ण श्रेणीवद्धतामा चल्ने र नाफाको उद्देश्य लिएका मालिकको कोल्टे नीति। मजदुरहरू अन्य राम्रो कम्पनी वा सरकारले राम्ररी बगान चलाउन सके डन्कन्सले बगान नचलाएकै बेस भन्दैछन् तर जम्मै नाफामुखी, धन पिपासु मालिकहरू-“जुन जोगी आए पनि कानै चिरिएको” भने झैँ हुन्छन् त्यो सबैलाई थाह नै छ। त्यसैले यो नाफामुखी नीतिको संग्लो नै चुडाउनु जरुरी छ।
   

कविता : एक अवलोकन

करुणा लामा 

हामी देख्छौ— चिया बगानको हरियाली
हामी देख्दैनौ— बगानमा कुपोषणले भइरहेको मृत्यु
हामी देख्छौ— चिया बगानको सुन्दरता
हामी देख्दैनौ— हजारौँ मजदुरहरूको विरक्तलाग्दो जीवन
हामी देख्छौ— चिया बगानको मनोरम दृश्य
हामी देख्दैनौ— मजदुरका नानीहरू अनिश्चित भविष्य
त्यसैले मलाई लाग्छ हाम्रो लागि
मानवता भन्दा मनोरंजननै श्रेष्ठ रहेछ।

केरलाको चियाबारीमा 'पेम्बिल्ला ओट्रुमाई'

आर्या थोमस

हामीले हालैमा केरलामा एउटा ऐतिहासिक श्रमिक सङ्घर्ष देख्न पायौ।'पेम्बिल्ला ओट्रुमाई' अर्थात् नारी एकता भनेर आफूलाई परिचित गर्दै केरलाको मुन्नार जिल्लाको चियाबारीहरू देखि फैलिएको त्यो आन्दोलन देशभरि नै चर्चाको विषय बनिएको छ। प्रस्तुत छ आन्दोलनको प्रत्यक्ष अनुभवबाट एउटा रिपोर्ट।

दक्षिण भारतकै सबैभन्दा ठुलो चिया बगान मुन्नारको कानन देवन हिल टि प्लान्टेसन २४००० हेक्टर भूमिमा फैलिएको छ र यहाँ १३००० श्रमिकहरू कार्यरत छन्। यहाँ जम्म ८३ वटा चिया बगानहरू छन्। देवीकुलम तालुकको कानन देवन हिल ११ जुलाई १८७७ मा पुन्जर रोयल परिवारद्वारा जोन डेनियल मुनरोटोलाई ब्रिटिस शासनकालिनमा वर्षको ३००० रुपियाँ साथै सुरक्षा राशि ५००० रुपियाँको दरमा भाडामा दिइएको थियो। १९६४ सालमा टाटा ग्रुप फिनले सँग साझेदारीमा आयो र यसरि टाटा-फिनले ग्रुपको जन्म भयो। पछि गएर केरला सरकारले यो जमिन कानन देवन हिल्स(भूमि अधिकरण) ऐन १९७१ को तहत लिएता पनि सरकार यहाँ अधिया मात्र थियो अनि भाडाको राशि चाहिँ त्यतिनै रह्यो। टाटा टि लिमिटेड १९८३ मा बनिए पछि कानन देवन हिल टि प्लान्टेसन गठन भयो र यो बगानको'स्वामित्व’ टाटाले यसमा काम गर्ने मजदुरहरूलाई'दिए' पछि टाटाले प्राय सित्तैमा सरकारी जमिनको लाभ उठाई रहेको छ। टाटालाई अझ यो आरोप पनि छ कि यतिका दिनहरूमा यसले हजारौँ एकर सरकारी जमिन तथा जङ्गल पनि आफ्नो कब्जामा पारि सकेको छ।  
२००५ मा त्यस्ताकका कानन देवन हिलका मालिक टाटा टि लिमिटेडले बिजनेस स्ट्यान्डर्डको १९ मार्च २००५को रिपोर्ट अनुसार एउटा फैसाला गऱ्यो कि “भाडामा लिएको १७ वटा चिया बगानहरूलाई छुट्टै नाम'कानन देवन हिल टि प्लान्टेसन लिमिटेड’ दिएर यसको स्वामित्व स्वयम् यसका मजदुरहरूको हातमा दिइनेछ।” टाटा टि लिमिटेडले जुन पछि गएर टाटा ग्लोबल बिभरेज लिमिटेड भएर कम्पनीको २८.५२% अंश दखल गरेको छ। अर्को ८.९५% अंश कानन देवन हिल टि प्लान्टेसन वेलफेयरको भागमा जान्छ र बाँकी ६०% अंश त्यहाँका कर्मचारीहरूको छ। देख्नमा राम्रो देखिए पनि यो केवल भ्रम मात्रै हो। कारण टाटा म्यानेजमेन्टले कानन देवन हिल टि प्लान्टेसनको चिया बनाउने र बिक्री गर्ने एकाई अलग गरिदियो। अब चिया उत्पादन एकाइले उब्जाएको नाफा बिक्री एकाइमा जान थाल्यो, यसरि उत्पादन एकाइलै यसले चिरकालीन सङ्कटमा डुबाई राख्यो। त्यसपछि टाटा टि ले बगान चलाउन एउटा कोअपरेटिभको पनि गठन गऱ्यो तर बिक्रीको एकाइ आफ्नै अधिनमा राख्यो, जसको अर्थ कोअपरेटिभले चिया पत्ति टाटा बाहेक अरू कसैलाई पनि बेच्न न पाउने भयो। 

कानन देवन हिल टि प्लान्टेसनको इतिहास
यहाँ चिया बगानको खेतीको शुरुवातसँगै बेसिजसो मजदुरहरू ब्रिटिसहरूद्वारा दासको रूपमा तामिलनाडुबाट ल्याइएको थियो। यहाँ तमिल र मलयाली भाषा दुवैको चलन छ। हिजअस्ति सम्म तिनीहरूको ज्याला ८०-८५ रुपियाँ थियो जुन अहिले १२ घन्टे कामको निम्ति भी.डी.ए. अनि अन्य सहुलियत लगायत रु. १७०-२३२ प्रतिदिन भएको छ। हप्ताको सबै दिन बिहान ६ बजी देखि लिएर बेलुकीको ६ बजी सम्म काम गर्छन् यहाँका मजदुरहरू। यिनीहरूले प्रतिदिन २१ केजी पत्ति टिपे मात्रै ज्याला पाउने गर्छन्। आफ्नो प्रतिदिनको ठिका भन्दा धेरै प्रति केजीको रु. १.५० को दरले यिनीहरू थप पैसा पाउछन्। सुपरभाइजरले यसैको निम्ति रु. ४ को दरले अनि स्टाफले रु. ६ को दरले तथा म्यानेजरले रु. १० को दरले थप पैसा पाउछन्।

बगान र मजदुरहरूको अवस्था
ज्यादा जसो मजदुरहरू ओभर-टाइम काम गर्छन् र दिनको ३००-३५० रुपियाँसम्म थाप्छन्। यदि तिनीहरूले ६० के जी पत्ति टिपे आफ्नो ठिका २० के.जी काटेर ३६ रुपियाँ बेसी पाउछन्। पत्तिको सिजनमा महिलाहरू बिहानको ५ बजीनै काममा निस्कन्छन् र राति ७ बजितिर फर्कन्छन्। मार्च, अप्रेल, मई, अगस्ट, सेप्टेम्बर र ओक्टोबर महिनामा ज्यादा जसो काम हुने गर्छ र ठण्डामा पत्ति हुँदैन। 
यदि कुनै कारणवश मजदुर काममा ढिलो भयो भने उसलाई त्यस दिनभरि काम गर्न दिइन्दैन अनि बिरामी भएर कुनै मजदुर घर छिटो फर्किए घन्टाको हिसाबले उसको ज्याला काटिन्छ। एकजना सुपरभाइजरको भनाइमा “छिट्टो भन्दा छिट्टो पत्ति टिप्नलाई मजदुरहरूलाई बाध्य गरिन्छ, कामको बिचमा राहत भन्ने कुनै वस्तु नै छैन, तिनीहरू चिया पिउदा पनि एउटा हातले पत्ति टिप्दै गरेका हुन्छन्। महिलाहरूलाई पिसाब फेर्ने समय पनि दिइन्दैन।”
खानेकुराको सहुलियतको हिसाबमा कम्पनीले प्रत्येक परिवारलाई महिनाको ७५ के.जी. चामल दिने गर्छ जसको दाम स्वरूप रु. ७५० तिनीहरूको महिनावारी ज्यालाबाट काटि दिन्छ। जम्मा हिसाब गर्दा त यो दाम बजारको दाम बराबरनै भएर आउछ अनि यो भन्दा सस्तो राशन त सरकारद्वारा नै पी.डी.एस. को माध्यमले वितरण गरिन्छ। वर्षेनी २०० रुपियाँ अनि एक दिनको ज्याला युनियनलाई बुझाउन पर्छ। “हामीले प्रत्येक सुविधाको निम्ति पैसा तिर्नु पर्छ यहाँसम्मकी हाम्रो गाई-वस्तु चराउनको निम्ति पनि १०० रुपियाँ जस्तो तिर्नु पर्छ। साधारण मजदुरका नानीहरू कम्पनीको स्कुलमा पढ्न पनि पाउदैनन्।”      
चिया गाछमा बारम्बार झुक्नु परेकोले धेरै जसो महिला मजदुरहरूको बच्चादानी बिग्री सकेको छ र धेरैले त ओपरेसन गरेर उक्त निकाली सकेका पनि छन्। कानन देवन हिल टि प्लान्टेसनको आफ्नै अस्पताल भए तापनि मजदुरहरूले केवल हप्ताको तीन दिन मात्रै निःशुल्क चिकित्सा लिन सक्छन्। पुरुष मजदुरहरूको कुरा गर्दा विषालु किटनाशकहरू जस्तै राउण्डप कुनै सुरक्षाबिनै छर्किनु परेकोले तिनीहरूको स्वास्थ्यमा ठुलो हानि परेको छ। धेरै मजदुरहरू क्यान्सरले पीडित छन् तर मजदुरको बिमारीसँग किटनाशकको सम्बन्धलाई कम्पनीले सधैँ नकार्छ। अर्को क्यान्सर बनाउने वस्तु जुन देशमा निषिद्ध छ, तर पनि कमानमा घरको छानोको रूपमा व्यवहार गरिन्छ, त्यो हो'एसबेसटोस’। अझ भयङ्कर त किटनाशकसँग मिसिएको पानी खोला नाला भएर कोची शहरको पानी वितरण केन्द्र भएर शहरको घर घरमा पुग्छ।

महिला मजदुरहरूले मौनता तोडे
यही मिर्मिरे बिहान देखिको रिमरिमे साँझको नियम ९ दिने हड्तालमा तोडिन गयो जब कानन देवन हिल टि प्लान्टेसनका १०,००० महिला मजदुरहरूले ४ देखि १३ सेप्टेम्बर सम्म काम बन्द गरी दिए। यसको सुरुवात पेरियभारा डिभिजनमा केही महिला मजदुरहरूद्वारा आइ.एन.टि.यु.सी.-को मिटिंगमा भयो जुन बोनसको मुद्दा लिएर भएको २ सेप्टेम्बरको साधारण हड्तालको निम्ति बोलाइएको थियो। मुन्नारको स्थानीय च्यानलले यसलाई प्रसारण पनि गऱ्यो। यसैलाई हेरेर ४ सेप्टेम्बरको दिन मुन्नारको वरिपरि भएको महिला मजदुरहरू मुन्नार जंगसनमा भेला भए। महिला मजदुरले मोबाइल फोन मार्फत क्याम्पेन गर्न थाले। तिनीहरू पुल्लीभासाल फ्याक्ट्री अघि एक दिनको निम्ति धर्ना दिए त्यसपछि ९ दिन सम्म सधैँ मुन्नार जंकसन अघि बिहानको ८ बजी देखि रातीको ८ बजी सम्म धर्ना दिए। पुरुषहरूलाई यसबाट टाढा राखियो। तिनीहरूले ट्रेड युनियनका १५० जना नेताहरूको नामको सूची जारी गरे जसले कानन देवन हिल टि प्लान्टेसन म्यानेजमेन्टबाट घर पाएका थिए। यस सूचीमा वर्तमान एमएलए एस. राजेन्द्रन, भुतपुर्व एमएलए ए. के. मानी अनि सुन्दरा मानिक्यम, ए.आइ.सी.टि.यु.-का नेता सी. ए. कुरियन अनि आइ.एन.टि.सी.यु.-का जी. मुनियांदीको नाम थियो।   
जब १ ओक्टोबर देखि मुन्नार जंकसनमा महिला मजदुरहरू अनिश्चितकालीन दिन-रात हड्तालमा बस्ने निधो गरे यसको बेला पुलिसले तिनीहरूलाई राति बस्नु देखि रोके अनि यसरि सङ्घर्ष जोडदार गरे... तिनीहरूलाई घातक परिणामको डर पनि देखाए। तर तिनीहरू किन पो मान्थे र?६ ओक्टोबरको दिन ट्रेड युनियनको दफ्तर कब्जा गरियो, ८ ओक्टोबर दिन कोची-धनुसकोडी न्याशनल हाइवे अवरोध गरियो। बुढी अनि युवा महिलाहरू आ-आफ्नो स-साना नानीहरूलाई चेपेर सधैँ जंकसन अघि धर्नामा बस्न थाले त्यो पनि कसैको सहायता बिनै। त्यसपछि स्थानीय मानिसहरू सहायताको निम्ति अघि बढे। गाडीवालाहरूले विभिन्न ठाउँबाट मजदुरहरूलाई धर्नाको स्थानमा ल्याउन पुराउन थाले, दोकाने, होटलचलाउने हरूले हड्तालीहरूको निम्ति निरन्तर चिया-चमेनाको व्यवस्था गर्न थाले। १५ सेप्टेम्बर तिर यो पहिलो पहरको हड्ताल सकिए पछि खबर छेउकै चारवटा बगानहरूमा फैलिएर गयो यसमा पहिलो थियो हेरिसन मलायलम लिमिटेड, जो ६००० हेक्टर जमिनमा फैलिएको छ र जसमा ७००० जना मजदुरहरू काम गर्छन्। अप्पर सुर्यानेली इस्टेटमा माहोल तातियो, छिट्टै पोपपारा, अन्यायीरंकल अनि पन्नियारमा पनि खबर फैलियो। तीन वटा मुख्य ट्रेड युनियनहरूले यो सङ्घर्षलाई सहायता गरे जस्तै गरेर हस्तक्षेप गर्न खोज्यो जुन यी महिलाहरूले सरासर खारेज गरी दिए। ज-जसले पनि यी आन्दोलनकारीहरूलाई सहायता गरेका थिए तिनीहरूले धम्की र आक्रमणको समुखिन हुन पऱ्यो।  

ट्रेड युनियनहरूको भण्डाफोर
केरलामा बेसी जस्तो कमानका मजदुरहरू सि.पी.आई.-को ट्रेड युनियन ए.आइ.टि.यु.सी वा काँग्रेसको आइ.एन.टि.यु.सी वा सी.पी.आइ.एम.-को सी.आइ.टि.यु. आदि सङ्गठनमा पर्छन्। तिनीहरूको सदस्यताको राशि सिधै ज्यालाबाट काटिनु र म्यानेजमेन्टबाट विभिन्न ट्रेड युनियनको छाप मारिएको कम्बल मजदुरहरूलाई बेचिनुबाट यी ट्रेड युनियनहरूको चरित्र चित्रण हुन्छ। जुनै पनि केन्द्रीय युनियनको प्रभुत्वलाई उक्त आन्दोलन भरिनै अस्वीकार गरियो। अझ १६ तारिखनै अन्य कमानहरू जस्तै थेनमाला, कोल्लाम इत्यादिमा पनि सङ्घर्ष चर्कियो, तिनीहरूले म्यानेजरलाई घेराउ गरे, अरालम फार्म मजदुरहरूले हड्तालको चेतावनी जारी गरे। समुद्री खानाको कारखानामा काम गर्ने अम्बलापुज्जा, कोमाना अनि कज्जाझमक मजदुरहरू विभिन्न मुद्दाहरू लिएर हड्तालमा उत्रेका छन्। मुन्नारका महिला मजदुरहरू छुट्टै ट्रेड युनियन बनाउने दिशातर्फ बढ्दै छन्।
पहिलो पहरको हड्ताल १३ तारिख सकिए पछि कानन देवन हिल टि प्लान्टेसन म्यानेजमेन्टद्वारा घोषणा गरिएको १०% बोनसको प्रस्तावलाई ट्रेड युनियनहरूले माने पनि हड्तालीहरूको माँग २०% बोनस र दिनको ५०० रुपियाँ ज्यालाको माँग जारिनै रह्यो, साथै खटिखाने महिला मजदुरहरूको सङ्घर्ष पनि मानिसहरू समक्ष आयो जस्तै पेम्बिल्ला ओट्रुमाई (नारी एकता) को नाराहरू पनि मिडियामा आयो। तिनीहरूले जम्मै ट्रेड युनियनलाई नकारे, म्यानेजमेन्टलाई घेराउ गरे साथै सीपीआइएम र काँग्रेस दुवै पार्टीलाई पनि खेदी पठाए। जब यी दुवै पार्टीका महिला सदस्यहरूलाई मध्यस्तता पठाइयो तब आन्दोलनकारीहरूले यिनीहरूलाई आफ्नो माँग पुरा नभइञ्जेलसम्म धर्नामा बस्ने सल्ला दिए। केरलाका मुख्यमन्त्रीले कानन देवन हिल टि प्लान्टेसन म्यानेजमेन्ट अनि ५ जना मजदुर प्रतिनिधि बिच बातचित गरेर २०% बोनसमा बात मिलाए।

पेम्बिल्ला ओट्रुमाई  (नारी एकता) जिन्दावाद
मुन्नारको हड्तालको मुख्य नेत्री गोमथीले भनिन् “महिला समितिको अध्यक्ष हुँदाहुँदै पनि पुरुष ट्रेड युनियनका सदस्यहरूले कहिले पनि मेरो कुरा मानेनन्। यसको कारण तिनीहरूको लिंगभेद गर्ने मानसिकता हो। त्यसैले हामी आफै सङ्गठित हुन चाहन्छौँ, त्यसैले हामी युनियनको विरुद्ध छैनौ तर म्यानेजमेन्टसँग तिनीहरूको सांठगांठ मन नपरेको हो।” तिनी अझ भन्छिन् कानन देवन हिल टि प्लान्टेसनको महिला मजदुरहरूलाई ट्रेड युनियन विरुद्ध खादा भएकोमा हेलाको सामना पनि गर्नु पर्नेछ। स्थिति निक्कै चर्को भै सकेको छ कमान तिर, नजर राख्ने र केरकार गर्ने व्यवस्था बढ्दै छ। यस्तो किसिमको दबाब र शङ्काको वातावरण बनाएर तिनीहरू महिला मजदुरहरूको चिया बगानमा निहित पितृसत्तात्मक र शोषणपूर्ण सम्बन्ध विरुद्ध स्वतन्त्र लडाइलाई अस्वीकार गरी रहेका छन्। यसैले महिलाहरू केन्द्रीय ट्रेड युनियनको प्रभावमा नआइकन सङ्गठित हुनु खुबै जरुरी छ। म्यानेजमेन्ट र स्थापित ट्रेड युनियनको आक्रमण डरलाग्दो छ, तर पनि तिनीहरू लड्न तैयार छन्।
केरला जस्तो राज्यमा ट्रेड युनियन मात्रै यस्तो सङ्गठन हो जसको अहिले पनि'बाम' धाराको चिनोको रूपमा समाजमा राम्रो पकड थियो तर अहिले तिनीहरूमा पनि भयको लहर उठेको छ, उनीहरूको पैताला मुनिको जमिन अस्थिर भएको छ भने माथिको आकाश झर्न आँटेको छ। तिनीहरूको भयको परिचयको नमुना दिँदै तिनीहरूले आन्दोलन गरिरहेका महिलाहरूलाई ढुङ्गा पनि हाने अनि आफैलाई'स्ट्राइक तोड्ने’ संज्ञा दिए। 
२६ सेप्टेम्बर प्लान्टेशन लेबर कमिटिको मीटिंग को एक दिन अघाडी २५ सेप्टेम्बरको दिन धेरैवटा क्रियाकलापहरू द्वारा मीटिंगमा दबाब हाल्न खोजे महिला मजदुरहरूले। यसैबिच सरकारी सूत्र अनुसार पी.एल.सी. ले मात्र १० रुपियाँ बढ्ता ज्यालाको प्रस्ताव राखेका छन् त्यो पनि १० के. जी. बढ्ता पत्ति टिप्ने शर्तमा, फलतः बातचित असफल भयो। भारतीय मजदुर सङ्घले औपचारिक रूपमा उक्त आन्दोलनबाट टाढै रहेर अर्कै रूपमा सङ्घर्ष गर्ने जानेको छ। 
पी.एल.सीले सेप्टेम्बर ओक्टोबरको बिचमा ५ पल्ट जसो भेटि सकेको छ तर यसले एकपल्ट पनि कुनै महिला मजदुरलाई भेटेका छैनन् बरु ट्रेड युनियनका प्रतिनिधिहरू सँग भने भेटघाट गऱ्यो। मुख्यमन्त्रीलाई जबसम्म आफ्नो दाबी पुरा हुँदैन तबसम्म अनिश्चितकालीन अनशनमा बस्ने धम्की दिन न हिच्किचाउने महिला मजदुरहरूको विपरीत केन्द्रीय ट्रेड युनियनहरू स-साना सहुलियत जस्तै अस्पतालमा नयाँ मशिन, कम्ती दाममा कम्बल इत्यादि लिएर निस्के। तिनीहरूले कतिपय ठाउँहरूमा त अरू मजदुरहरूलाई पेम्बिल्ला ओट्रुमाई विरुद्ध भड्काउने काम पनि गरे।
यस्तो अवस्थामा सरकारले मजदुर प्रतिनिधि अनि म्यानेजमेन्टलाई  १४ ओक्टोबरको दिन एउटा सम्झौतामा हस्ताक्षर गर्न लगाए जसमा राज्य भरीको विभिन्न उद्योगको मजदुरहरूको ज्याला निर्धारित गरिएको छ; चिया र कफी बगानका मजदुरहरूको दैनिक ज्याला २५० रुपियाँ देखि बढाएर ३०१ रुपियाँ, अलैची बगानमा हाजिर ३३० रुपियाँ, रबर बगानमा ज्याला बढाएर ३८१ रुपियाँ प्रतिदिन गरिएको छ। जम्मै सहुलियतहरू मिलाएर चिया र कफी बगानका मजदुरहरूको दैनिक ज्याला ४३६ रुपियाँ, अलैची बगानमा हाजिरा ४७८ रुपियाँ, रबर बगानमा ५५२ रुपियाँ प्रतिदिन भएको छ।

भविष्यको आशा
पेम्बिल्ला ओट्रुमाईका कार्यकर्ताहरूले भविष्यमा महिला मजदुरहरूको दह्रिलो सङ्गठन बनाएर जम्मै महिलालाई एकबद्ध गरेर आफ्नो जंगी लडाई अघि बढाउने आशा राखेका छन्। यस सङ्घर्षको सापेक्षता बुझ्नु हो भने केरला जस्तो ठाउँको पितृसत्तात्मक समाज व्यवस्थालाई नियाल्नु जरुरी छ जहाँ जहिले पनि नारीलाई सार्वजनिक भागेदारीबाट अक्षुन्न राखिन्छ। चिया बगानको एकदमै शोषणपूर्ण जीवनको चित्र सबै सामु उदाङ्गो पार्नु साथसाथै दलित महिलाहरूको यो आन्दोलनले राज्यमा व्याप्त विस्थापना र श्रमिकको अवस्थामा पनि प्रश्न चिन्ह लगाइदियो। यसलाई केरलामा भएको विशाल असंगठित महिला मजदुरको सङ्घर्ष सँग जोडेर हेर्दा जस्तै निजी अस्पतालहरूमा नर्सहरूले गरेको हड्ताल, खुद्रा व्यवापारमा महिला मजदुरहरूको सङ्घर्ष हामी देख्छौं कि नारीहरू आ-आफ्नो कार्यस्थलमा स्वतन्त्र रूपले निर्णय लिन र हकको निम्ति लड्न पछि हट्दैनन्।

चिया बगानका श्रमिकहरूको स्थिति, सङ्घर्ष अनि एकबद्धता माथि कन्भेन्सन गठित भयो चिया बगान सङ्ग्राम समिति

 प्रकाश विश्व

चिया बगानका श्रमिकहरूको स्थिति, सङ्घर्ष अनि एकवद्धता माथि सिलगडीको मङ्गल माइती भवनमा २२ नवम्बरको दिन एउटा कन्भेन्सनको आयोजना गरिएको थियो। उहिलेदेखि चिया बगानहरूका मजदुरहरूको गम्भीर अवस्था अनि हालैमा बाग्राकोट लगायत अरू चिया बगानको मजुदरहरूको कुपोषण अनि भोकमारीले भएको मृत्युको खबरले यो कन्भेन्सन प्रस्तुत गर्ने प्रयासलाई अझै गति दिएको थियो। यो मुद्धा लिएर केवल यस क्षेत्रमा मात्र होइन तर राज्य अनि केन्द्रीय स्तरसम्म यो मुद्दालाई पुऱ्याउन आवश्यकता महसुस हुँदै थियो। यही सन्दर्भमा यो सोचिएको थियो कि एउटा कन्भेन्सन द्वारा यस्तो एउटा समितिको गठन गर्न पर्ने छ जसमा श्रमिकहरूसँगै सामाजिक सङ्गठनको मानिसहरू, मानव अधिकार कर्मी, मिडियाको प्रतिनिधिहरू, बुद्धिजीवीहरू, कानुनी सल्लाहकार, सांस्कृतिक कार्यकर्ताहरू पनि हुनेछन्। चियाबारी मजदुरहरूका आजको स्थितिबारे एउटा सङ्क्षिप्त वर्णन कन्भेन्सनको निम्ति प्रस्तुत गरिएको प्रस्तावमा नै थियो--
“पहाड़-तराई र डुवर्सका चियाबगान मजदुरहरूका सङ्कटमाथि अनेकौँ बहसहरू भए पनि उनीहरूका अवस्था अझै उस्तै छ। सीतनिद्रामा पुग्नअघि कहिलेकाहीँ मूलधाराका सञ्चारमाध्यममा भोकमारी र कुपोषणले चियाश्रमिकहरूको मृत्यु भएका देखावटी प्रकट हुन्छन्, तर पनि मालिकहरू आफ्नो सनक छोड्दैनन्। बगानका मालिकहरूले यस्ता मानवीय व्यथालाई सायदै वास्ता गर्छन्, सट्टामा आफ्ना अविवेकी र खेलवाड़पूर्ण शोषण जारी राख्छन्। चियाबगानको अचानक तालाबन्दीले निर्धारित बोनस, असमयमा वेतन, भविष्यनिधि कोषको भुक्तान नगर्ने, भएका केही सहुलियतहरू पनि खोस्ने, अझ भनौं आतंकित माहौल सिर्जना गर्ने जस्ता घटनाले चियाबगानका मानिसहरूको जीवनलाई हताश तुल्याइदिएको छ। बन्द चियाबगानमा मजदुरहरूको मृत्युले दैनिक समाचारमा ठाउँ पाउन सक्छन्, तर यो व्याप्त अन्याय खुलेर अघि आउँदैन। हामी यसको प्रभाव मात्र देख्छौं, तर मृत्यको कारण खोज्ने वा त्यसको उद्घाटन गर्ने कार्य अझै उपेक्षित नै छ।
आसामपछि पश्चिम बंगाल भारतमै दोस्रो सर्वबृहत् चिया उत्पादक राज्य हो। आसाम र पश्चिम बंगालले भारतको कुल चिया उत्पादनको करिब ७० प्रतिशत योगदान दिन्छन्, जहाँ झण्डै १,५०० चियाबगानमा साढ़े दश लाख मजदुरहरू कार्यरत् छन्। भारतको कुल चिया उत्पादनमा पश्चिम बंगालको चिया बगानहरूले नै २१  प्रतिशतभन्दा अधिक योगदान दिन्छ। उत्तर बंगालमा दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्र गरेर प्राय २७६ चिया बगानहरू छन्, जहाँ लगभग ४,५०,००० मजदुरहरू काम गर्छन्। उत्तरी पश्चिम बंगालको अलिपुरद्वार, जलपाइगढ़ी र दार्जीलिङ जिल्लाका चिया बगानहरूमा दश लाखभन्दा अधिक मानिसहरू बसोबासो गर्छन्। अनेकौँ नयाँ चियाबगान र खरिदी चिया कारखाना (बटलिफ-टि फ्याक्ट्री)-हरूले मजदुरहरूका आधारभूत अधिकार खोस्छन्, तर उनीहरूले राज्य अर्थतन्त्रमा भने ठुलो योगदान पुऱ्याइरहेका हुन्छन्। नयाँ बगानहरू कोचबिहार र उत्तर दिनाजपुर जिल्लामा समेत खोलिएका छन्। न्यून मजदुरीले श्रमिकहरूलाई दयनीय अवस्थामा पुऱ्याएको छ, जबकि चियाको घरेलु मागले आकाश छोईरहेको छ अनि खुद्रा ब्राण्डको बजारमा प्रभावकारी र अत्यधिक मूल्य छ। दार्जीलिङको अधिकांश अर्थोडक्स जैविक चिया अतुलनीय मूल्यमा निर्यात गरिन्छ। 
आसाम अनि पश्चिम बंगालका दार्जीलिङ, तराई र डुवर्स क्षेत्रको चिया उत्पादनले ब्रिटिस शासकद्वारा शुरु गरिएको पहिलो ठुलो-पैमानाको पुँजीवादी उद्योगलाई प्रतिनिधित्त्व गर्दछ। बगानहरू औद्योगिक नोकरशाही संरचनामा आश्रित छन्, तर सँगसँगै यी चियाबगान मजदुरहरूका पूर्व-पुँजीवादी शोषणका अङ्ग पनि हुन्। बगानले ज्यालाको प्रथाले नै मजदुरहरूलाई काममा राख्थ्यो, तरैपनि श्रमिकहरूलाई नियुक्ति, काममा राख्ने र उपयोग गर्ने व्यवस्थामा अर्थनीति-अतिरिक्त तत्वहरू देखापर्थ्यो। 
विभिन्न बगान क्षेत्रमा मजदुरहरूका निर्दिष्ट सामाजिक एवं आर्थिक अधिकारका लागि भनेर द प्लान्टेशन लेबर एक्ट १९५१ (पीएलए) बनाइएको थियो। यो ऐनले ती मजदुरहरूको अधिकारलाई सम्बोधन गर्ने दाबी गरेको थियो, जसमध्ये अधिकांश आफ्नो मूलथलोबाट बाध्यतापूर्वक बगान क्षेत्रमा ल्याइएका लाखौँ बन्धित मजदुरका सन्तानहरू हुन्। यस ऐनअनुसार, उचित काम तथा बँचाइका आधारभूत अवस्था सुनिश्चित गर्ने दायित्व बगानका मालिकहरूको हो। यसैले उक्त ऐनमा मजदुरी संरचनाका दुई उपादान छन्-‘नगद उपादान’ र'गैर-नगद उपादान’। अहिले मालिकहरूले'गैर-नगद सहुलियत’-मा खर्च गरेको भन्दै न्यून नगद मजदुरीलाई ठिक  ठहर्याइरहेका छन्। तर मई, २०१३ मा पश्चिम बंगालको श्रम विभागले सबै २७३ चियाबगानलाई आधार गरेर प्रकाशित गरेको एउटा सर्वेक्षणले चियाबगानको पीड़ादायी अवस्था र मजदुरहरूको दुरवस्थालाई  देखाएको छ। चियाबगानहरूले'टी प्लान्टेशन लेबर एक्ट’-का प्रावधानहरूको निर्धक्क उल्लंघन गरिरहेका छन्। हाजिरा र राशिन वितरणको अवस्था कष्टदायी छ। क्रेच, उपचार सुविधा, एम्बुलेन्सहरू अब विगतका चीज बनेका छन्। अझ, यस क्षेत्रका धेरै चियाबगानहरूले मजदुरहरूको भविष्यनिधि कोषको राशि बुझाएका छैनन्, जो ७७ करोड़ रुपियाँभन्दा अधिक भइसकेको छ। उक्त रिपोर्टअनुसार, ४१ चियाबगानले २०१२-१३ मा भविष्यनिधि कोषको योगदानको एक रुपियाँ पनि बुझाएका छैनन्। धेरै बगानमा स्वामित्व र लीज कागजको समस्या छ। १७५ चियाबगानमा लेबर वेलफेयर अफिसर नै छैनन्। घरको सुविधा, घर मरम्मति भत्ता आदिको अवस्था शोचनीय छ। ९५,८३५ कर्मचारीलाई अहिलेसम्म घर दिइएको छैन। २००९ देखि २०१२ सम्म नयाँ घर मरम्मति र हेरचारका लागि नियोक्ताहरूले ५९,४९,०८,११२ रुपियाँ खर्च गरेका छन्। यसको औसत हिसाब गर्दा प्रत्येक वर्ष प्रत्येक मजदुरको हिस्सामा ८९३ रुपियाँ खर्च आउँछ, जो एकदमै नगन्य देखिन्छ। धेरै चियाबगानमा विद्युतीकरणको समस्या छ; गुणस्तर र मात्रा दुवैमा मजदुरहरूले पिउने पानीको आपूर्तिमा भीषण कष्ट झेलिरहेका छन्। २७३ चियाबगानमध्ये केवल १६६ मा अस्पताल छन्। यी १६६ मध्ये पनि ५६  चियाबगानमा मात्र स्थायी आवासीय डाक्टर छन्। अन्य ११० चियाबगानका अस्पतालहरू अस्थायी डाक्टरको भरोसामा छन्। 
बितेको एक दशक वा त्यसपछि, ठुलो सङ्ख्यामा कार्यबललाई प्रभावित गर्दै ६० भन्दा अधिक बगानहरू बन्द भएका छन् अनि बगान परित्यक्त गर्ने क्रम निरन्तर जारी छ। यसै अवधिमा बन्द चियाबगानका करिब १५००  श्रमिकको भोकमरीले मृत्यु भएको छ। अध्ययनले के दखाउँछ भने, बन्द चियाबगानका ७० प्रतिशत मानिसहरू क्रोनिक एनर्जी डेफिसेन्सी III -को अवस्थामा छन्। सरकारले तालाबन्द औद्योगिक एकाइमा बन्द चियाबगानका मजदुरहरूलाई वित्तीय सहायता (एफ.ए.डब्ल्यु.एल.ओ.आई.) योजनाको घोषणा गरेको छ, तर यो सुविधा बिघा वा अस्थायी मजदुरहरूलाई दिइएको छैन, जसको अनुपात स्थायी मजदुरहरूको तुलनामा दिनदिनै बढ्दैछ। सरकारका हातमा रहेका केही बगानहरू पनि निजीकरण गरिएको छ। 
बगानको उत्पादन कम देखाउने बहानामा मालिकहरूले मजदुरका अधिकार खोस्ने छुट पाइरहेका छन्। तर यो स्पष्टै छ-प्रबन्धन नीति, हेरचारमा लापरबाही जस्ता कारकहरू नै कम्ती उत्पादन पछिका कारणहरू हुन्।  अधिकांश चियाबगानमा अधिकतम पुराना चिया गाछ छन्, त्यहाँ कुनै नियमित गाछ उखेल्ने र नयाँ बिरुवा रोप्ने व्यवस्था छैन, जसको फलस्वरूप कम उत्पादन हुन्छ। अधिकांश चियाबगानमा दैनिक हाजिरा मजदुर सङ्ख्याको तुलनामा धेरै कम सङ्ख्यामा सब-स्टाफ र स्टाफ नियुक्त गरिन्छ। न्यून उत्पादकताका लागि मालिकहरू दायी भए पनि, २००५ मा प्रबन्धक र पश्चिम बंगाल सरकारद्वारा मजदुरहरूमाथि एउटा मजदुरीसँग जोड़िएको उत्पादन व्यवस्था थोपियो। आफ्नो दैनिक मजदुरी आर्जन गर्नको निम्ति बगानका मजदुरहरू पूर्व-निर्धारित चियापत्ती टिप्न बाध्य हुन्छन्। चिया मजदुरहरूले अहिले दैनिक मजदुरी १२२.५० रुपियाँ गरेर पाइरहेका छन्। तुलनात्मक रूपमा, महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार सुरक्षा (एमजीनरेगा) योजनाअन्तर्गत पश्चिम बंगालमा मजदुरहरूका लागि हाजिरा दर १७४ रुपियाँ रहेको छ अनि कृषि मजदुरहरूका लागि राज्य सरकारले तोकेको निम्नतम हाजिरा २०६ रुपियाँ छ। सङ्गठित क्षेत्रका अङ्गका रूपमा मान्यताप्राप्त बगानका मजुदरहरूले पाउने वेतन असंगठित क्षेत्रको हाजिराभन्दा पनि कम हुनु व्यावहारिक रूपमै एउटा खेदजनक अवस्था हो। उत्पादकतासँग जोड़िएको मजदुरी व्यवस्था चालु गरेको सन्दर्भमा, हामी भन्न सक्छौँ-चिया उद्योगमा दिइएको मजदुरी राज्यका वैधानिक कृषि निम्नतम मजदुरीभन्दा पनि धेरै कम छ। यसले वास्तवमा निम्नतम मजदुरीभन्दा पनि तल मजदुरी दिन सकिने एउटा व्यवस्थालाई स्थायीकरण गरेको छ, जो सर्वोच्च न्यायालयअनुसार'बेगारी मजदुर’ हो। यस व्यवस्थाले चिया बगानमा बाल मजदुरी प्रथालाई पुन: शुरु गरेको छ। उत्पादनको लक्ष्य पूरा गर्न काम सघाउनका लागि महिला मजदुरहरू आफ्ना सन्तान बगानमा ल्याउन बाध्य हुन्छन्।
 चियाबगान उद्योगका मजदुरहरूका ज्याला बारे न्यायसंगत ढाँचा विकास गर्ने कार्यलाई नियोक्ताहरूले उपेक्षा गरेका छन्, सरकार पनि उदासीन छन्। उनीहरूका वास्तविक मजदुरी-जो बढ्दो उपभोक्ता मूल्य मिल्दो  छैन-बितेको ५० वर्षभन्दा लामो समयदेखि बढ़ेको छैन, जसले मजदुरहरूलाई बढ्दो कष्ट, पलायन र अशान्तितर्फ धकेलिरहेको छ। 
मजदुरहरूलाई बगानमा जकडिएर राख्ने अर्को एउटा कारक हो-बगानका मालिकद्वारा अधीनमा राखिएको जमिनमाथि मालिकहरूको मनपरी। शताब्दीयौं अघिदेखि जरा गाड़ेर बसेका मजदुरहरूसँग उनीहरूका जमिनमा आफ्नो हक छैन, जसले गर्दा उनीहरू मालिकको दया र कम्पनीको घरमाथि आश्रित भएर बस्नुपर्दछ। खासगरी जतिबेला मजदुरहरू काम छोड्ने वा अवकाश लिने निर्णयमा पुग्छन्, त्यसबेला मालिकहरू यो कमजोरीको फाइदा उठाउँछन्। यस्तो मामिलामा, आश्रय यथावत राख्नको निम्ति छोरा-छोरी वा परिवारका अन्य सदस्यहरू बगानको काममा लाग्नु अपरिहार्य हुन्छ। 
चाखलाग्दो कुरा त के छ भने, यस्तो सङ्कट हुँदाहुँदै पनि मजदुर हड़ताल निकै कम्ती नै भयो, जबकि चिया उद्योगमा लक आउटको सङ्ख्याको कुनै हिसाब छैन। प्रथमपल्ट २०१४ मा, अन्य सहायक माँगसहित निम्नतम मजदुरी र भीडीएको कार्यान्वयनका लागि संयुक्त सङ्घर्ष शुरु भएको थियो। एक वर्षभन्दा लामो सङ्घर्ष र आठवटा त्रिपक्षीय बैठकपछि २० फरवरी, २०१५ मा एउटा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरियो। सम्झौताले मजदुरीमा पुरानै वेतन-वृद्धिको ढाँचा प्रदान गर्दछ-यसमा वर्षेनी हाजिरा वृद्धि हुनेछ र एप्रिल, २०१६ सम्म मजदुरहरूको हाजिरा दैनिक १३२.५० रुपियाँ पुग्नेछ। यद्यपि एउटा सरकारी अधिसूचनाअनुरूप'कर्मचारीहरूलाई भुक्तान गरिने मजदुरीको निम्नतम दर तय अनि संशोधन गर्ने विषयमा छानबिन र राज्य सरकारलाई सुझाउ दिन पश्चिम बंगाल राज्यका लागि एउटा निम्नतम मजदुरी परामर्श समिति’ गठन गर्ने घोषणा सम्झौतामा उल्लेख छ। समितिको रिपोर्ट कहिले पूरा गर्ने र सरकारलाई बुझाउने समय-सीमा सम्झौतामा उल्लेख छैन, तर समितिलाई दुई वर्षको कार्यकाल दिइएको छ। बाचा भङ्ग गरेको इतिहासलाई ध्यानमा राख्दा, कसैले पनि यो कानुनी प्रक्रियाको सम्भावना हेर्नु जरुरी छ”।
चिया कमानका मजदुरहरूको निम्नतम मजदुरीको प्रश्नमा सम्वेदनशील तथा सचेत भएर  समाज कर्मी सुखमान मोक्तान, जो बाग्राकोट चिया बगानका बासिन्दा पनि हुन्, उक्त कन्भेन्सनको अध्यक्ष बने। लाली गुरास पत्रिकाको सम्पादिका संगीता खेवा र समाज कर्मी अनि निवन्धकार अजय खड्काले कन्भेन्सनको सञ्चालन गरे। कार्यक्रम लाली गुरासद्वारा प्रस्तुत गरिएको एउटा गीतबाट आरम्भ भयो।   अनुष्ठानस्थल बाहिर आमिर सुनदासद्वारा चिया बगान श्रमिकको स्तिथि बारे सराहनीय इन्स्टलेसन-आर्ट थियो। कन्भेन्सनको लक्ष्य र विषय समाजकर्मी र वृत्तचित्र निर्माता अनि लाली गुरास सँग संलग्न शमीक चक्रबर्तीले प्रस्तुत गरे।
 कन्भेन्सनमा वक्ताहरूले विभिन्न दृष्टिकोण र विचारहरू प्रस्तुत गरे। वक्ताहरू थिए महेन्द्र पी. लामा (समाज कर्मी र शिक्षाविद), आर.बी राई (प्रगतिवादी चिन्तक), अभिजित मजुमदार (समाज कर्मी र प्राध्यापक), अजित रोय (प्राध्यापक, एन.बी.यू), अभिजित राय (समाज कर्मी), सौमेन नाग (निवन्धकार), किशोर सुनदास र टिका शर्मा (चिया श्रमिक, बाग्राकोट चिया बगान), प्रमोद गिरि (पत्रकार), मुनिश तामांग (प्राध्यापक, दिल्ली युनिवर्सिटी), शुभाशिस मुखोपाध्याय (प्राध्यापक, कोलकता युनिवर्सिटी), आइ. बी. गुरुङ (अवकासप्राप्त स्टाफ, कालचिनी चिया बगान) र अन्य पनि थिए। वक्ताहरूले चिया बगानको अवस्था बारेमा, सङ्घर्षको सम्भावना र चुनौती बारेमा अनि यो मुद्दालाई समाजभरि नै फैलाउने विषयहरूमा वक्तव्य राखे। अन्य धेरैले कन्वेन्सनलाई एक्यबद्धत्ताको संदेश पठाए जुन कार्यक्रममा पढियो। कार्यक्रममा बाग्राकोट चियाकमानको गोकुल थापा, लाली गुरास टोली र प्रख्यात कलाकार पुष्पन प्रधानले सङ्गीत प्रस्तुत गरियो। प्रदीप लोहागुन, दिलीप चौरासिया अनि राजा पुनियानीले कविता वाचन गरे। 
कन्भेन्सन द्वारा एउटा प्रस्ताव पारित भयो, जसले गर्दा'चिया बगान सङ्ग्राम समिति’ र त्यसको २१-सदस्यीय कमिटीको गठन भयो, जुनले राष्ट्रिय स्तरसम्म काम गर्नसक्छ। सुखमान मोक्तान यो कमिटीको कन्भेनर अनि शमीक चक्रवर्ती र अमिर सुनदास ज्वेन्ट कोअर्डिनेटर बने। मुनिश तामांग दिल्लीको निम्ति र शुभाशिस मुखोपाध्याय कलकताको निम्ति कोअर्डिनेटरको भूमिका निभाउनेछन्। रुपेश शर्माले प्रकाशन सचिव र अजय खडकाले कोषाध्यक्षको हिसाबले चुनिएका छन्। कमिटिमा मजदुर सदस्यको हिसाबले टिका शर्मा, किशोर सुनदास, भुपेन छेत्री, इन्द्रबहादुर गुरुङ, सतुराम कुजुर अनि चन्द्रमनि उराव छन्। यस बाहेक लाली गुरास पत्रिकाको सम्पादिका संगीता सुब्बा, सामाजिक-सांस्कृतिक कर्मी गुञ्जन राणा र कपिल तामंग, कवि राजा पुनियानी, दिलीप चौरासिया र प्रदीप लोहागुन, समाजकर्मी दीपेन तामंग, कलकताबाट प्राध्यापक र समाजकर्मी मुनमुन विश्वास अनि दिल्लीबाट समाजकर्मी नयनज्योति पनि कमिटिका सदस्यको रूपमा रहेका छन्। 
यो कमिटी छोडेर एउटा १५-सदस्यीय सल्लाहकार समितिको पनि गठन भयो जसमा प्राध्यापक महेन्द्र पी लामा, समाजकर्मी अभिजित मजुमदार, आर बी राई, अभिजित राय, मानवअधिकार कर्मी अभिरञ्जन भादुरी, निवन्धकार सौमेन नाग, प्राध्यापक अजित राय, तामस मजुमदार अनि स्वतःसिद्ध सरकार, बुद्धिजीवी सी बी घले, पी अर्जुन अनि एनोस दास प्रधान, राजेश भट्टाचार्य (प्राध्यापक, आइआइएम कोलकाता), पार्थ मुखर्जी (श्रमकानुन सम्बन्धित एडभोकेट, कलकाता हाइकोर्ट), कोलकाताको पत्रकार मुकुल दास छन्। कन्भेन्शनको प्रस्ताव र  पारित भएपछि, अध्यक्ष भाषणमा सुखमान मोक्तानले आउने कार्यक्रमहरू बारे सङ्क्षिप्त वक्तव्य राख्नुभयो। एउटा सामूहिक गीतले कन्भेन्शनको समाप्ति भयो। यो कन्भेन्सनले जुन ऊर्जा पुऱ्याएको छ, त्यसलेगर्दा चिया मजदुर सङ्घर्ष अझै अगाडी बढ्नेछ— यो हाम्रो दह्रिलो विश्वास हो।


कविता : मनको आवाज


प्रनित राई

अाज के भई रहेछ मेरो देशलाई
नेतालाई फुरस्त छैन दिल्ली भाग्नलाई,
त कति बिवश छन् भोकै मर्नलाई !
दिनभरि गर्नु छ दुःख सम्झेर रातिको भोजन
छोराछोरी सम्झेर अझै बगाँउछु पसिना,
तर केहि खान नपाउँदा, रून्छ यो मन!
न मनलाई छ सुःख न नै आत्मालाई
रीस उठछ यो कष्ठ देख्दा देैवलाई,
अझै बनाउँछ पशुतुल्य मालिकले हामीलाई !
भोजन, ओछ्यान त मालिकले दिएको होला पशुलाई
यस्तो वेवाहार देखेर तिम्रो डर लाग्छ मलाई,
दैवको हाय लाग्ला हैै बनाएर बन्दी हामीलाई !
भोटको बेला मेरो दुःख मालिक र नेताको
मेरो इच्छा, चाहना मुद्दा पार्टी र नेताको,
अन्तमा भुखमरि मेरो, सुःख सन्तोष मालिक र नेताको !
सुन्दैछु फेरि बनेको पार्टीको मुद्दा मेरो दुःख र वेदना
अब त भोट दिएर जितीउने चाहना,
भुखमरिले खरानी भई सके यो तिमी बुझ्न !
अान्दोलन के गर्नु दबाई दिन्छ हाम्रो मनको आवाज
सहनु छ सह्रेर बाँचौ,अहिले नहौ हताश,
बरू पछि भगवानलाई पोखौ हाम्रो विलाश !
अन्तमा यहि छ भन्नु मेरो तिमीलाई
गाउ कति गाउँन सक्छौ,
बनाएर तिम्रो खुसी मेरो दुःखको गीत
तर अस्तिव नै चैै नबेच्नु है,
अझै पछि धकेलदै हाम्रो जातिलाई

अरुन्धती रोयको लेखपढ्दा

लेखनाथ छेत्री

आफ्नु उपन्यासको लोकप्रियताबारे अरुन्धती रोयलाई अल-जजिरा टेलिभिजन च्यानलले सोधेकोको प्रश्नमा भनिन् कि जब एक लेखकबाट केही लेखिन्छ, उसलाई थाहा हुँदैन पाठकलाई कुन कुन कुराले  छुन्छ। अथवा पाठको कुन कुन कुरा पाठकले मनपराउँछन्। शायद थाहा हुँदैन, र नैं लेखन एक कला पनि हो, उनी यसो भन्छिन्। के लेखन त्यसो भए एक कला मात्रै हो? भन्ने कुरा मलाई अरुन्धतीबाट जानिरहन मन लागेन। उनीसंग संलग्न यस्तो कुनै पनि बहस कुनै किताब अथवा कुनै ईन्टरनेट साइटमा फेला पारिन। लेखन न बिचारमात्रैले पूरा हुन्छ, न कला मात्रले। म आफै पनि यस्तो धारणा राख्छु। 
सत्रह बर्षको हुँदा अरुन्धती घरबाट भागिन्। किनकि आमासंग उनको कहिल्यै पारा मिलेन। आफूजस्तै छोरी जन्माएकोमा आमालाई पछुतो लाग्थ्यो। दुई पर्माणु हतियारधारी देश कहिले मिलेर बस्न सक्दैन, आमासंग उनको सम्बन्धबारे अरुन्धती भन्छिन् । 
त्यसपछि आर्किटेक्चर पढिन्। तर काम गर्न थालिन् सिनेमामा पटकथा लेख्न। कमसेकम उनको लेखनको सुरुवात यहाँबाट भयो। तर लेखेका फिल्म त्यस्तो खास भएन। आफैलाई मामुली लागे। जब उपन्यास लेख्ने मन बनायिन् उनलाई बारबार लागिबस्थ्यो कि यो उपन्यास उनीबाट लेखिएका सिनेमाका पठकथाहरुभन्दा झुर निक्लिने छ। 
गड अफ स्मल थिङ्सले तर उनलाइ बुकर प्राइज जिताउने पहिलो महिला बनायो। अरबौंको संख्यामा यो उपन्यासको बिक्री भयो। सोल्हभन्दा ज्यादा भाषामा यसको अनुवाद भइसकेको छ। यसलाई  युनीभर्सिटीतिर लेक्चर गरिन्छ, यसमाथि कति बहस भइसकेको छ। असलमा भारतका अंग्रेजी किताब पढ्ने धेर मध्यम्बर्गिय पाठकले उनलाई केही महिनाभित्रमा नैं उनीहरुले खोजेजस्तो मसालेदार किस्सा लेखिदिने पपुलर फिक्सन लेखकहरुको कतारमा उभ्याइसकेको थियो। आज न्वाम चोम्स्कीले उनलाई यो समयको सबभन्दा शक्तिशाली राजनैतिक चिन्तक हो भनेर दावी गरिसक्दा पनि भारतमा कति पाठक उनको अर्को पपुलर फिक्सन पर्खेर बसेको छन्। उदेक लाग्छ। 
अरुन्धतीलाई त्यतिबेला भारतमा बिक्ने साहित्य अनि नबिक्ने साहित्यबारे थाहा भइसकेको थियो। उनी सेलिब्रेटी लेखक बन्न सक्थिन्। सस्तो एकदम फाल्तु कुरा लेखेर प्रचुर पैसा कमाउन सक्थिन्। टेलिभिजनको रियालिटी शोतिर जज बन्न कन्ट्र्याक साइन गर्न सक्थिन्। गड अफ स्मल थिङ्सले उनलाई यो बाटो खुला गरिदिएको थियो। तर अरुन्धतीले जुन फरक बाटो अप्नाइन्, त्यो बाटोले उनलाई अनेक विवादहरुमा फसायो। उनी आफ्नै पाठकहरुको दुश्मन भइन्। उनले आफ्नु लेखमा जुन कुरा पाठकले बुझुन् भन्ने अपेक्षा राखिन् ती सब बुझ्नुभन्दा ज्यादा उनलाई बुझ्न मान्छेहरुले उनको निबन्धहरु पढे। पब्लिक मोर्यालिटी हनन गरेको आरोपमा उनलाई यो बाटोले जेलसम्म पुर्यायो। 
१९९९मा केही महिना अमेरिका बसेर उनी जब भारत फर्किन्, उनलाई देश पहिलेजस्तो लागेन। देशमा माहोल अर्कै थियो। कारण थियो देशले भर्खरै पोखरानमा गरेको पर्माणु परिक्षण। भारत अब पर्माणु हतियार आफूसंग हुने विश्वका केही देशहरुको कतारमा थियो। अब देशलाई आफ्नु दुश्मनबाट कुनै खतरा छैन, टेलिभिजनको प्यानल डिस्कसनमा बसेका बम एक्स्पर्टहरु यस्तो दावी गरिरहेथे। मिडियाहाउस अनि राजनितीकर्मी यसलाई गौरवांकित गर्न यति धेरै लागेका थिए कि देश एक न्युक्लियर पावर स्टेट हुनुको उत्सव मनाइरहेको थियो। 

अरुन्धतीले देशसंग बम हुनुको खुशी मनाउन सकिनन्। कसैसंग पनि पर्माणु हतियार हुन सारा बिश्वको लागि खतरा हो, उनलाई बस त्यति थाहा थियो। यहीँ हुटहुटीले उनलाई पर्माणु बमको व्यापार गर्ने अमेरिकाको कुटनिती, भारतमा बम ल्याइनुको राजनैतिक कारण र आम मान्छेको पर्माणु बममाथिको धारणामाथि सोंच्न उक्सायो। 

उनले आफुलाई कुनै देशको नभएर सारा विश्वको नागरिक घोषित गरिन्। त्यो विश्व जसको हावा पानी, जमीन जंगल, पर्शुप्राणी सब कुराको आयु एक रिमोटको बटनमा कैद छ। 

" कल्पनाको अन्त"- पर्माणु हतियारबारे लेखिएको उनको एक लामो निबन्ध छापिएपछि एकाएक देशमा बहसको माहोल बनियो। बौद्धिकहरु परमाणु बमको प्रोस अनि कन्समाथि चर्चा गर्न अघि आउन थाले। तर " बम हाम्रो साथी हो, अनि पाकिस्तान हाम्रो दुश्मान" भन्ने धारणा आममान्छेमा हावी भएको बेला यसले खास प्रभाव पारेन। पहिलेचोटि एक देशद्रोहीको ट्याग लागिसकेको अरुन्धतीले तर अब फर्केर पछि नहेर्ने सोंचिसकेकी थिन्।

***
अफगानिस्तानको पहाडमा नब्बेताका जब पुँजिवादले सोभियत कम्युनिज्म विरुद्ध जेहाद जित्यो, अन्तर्राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन आयो। भारत जो आफूलाई एक नन एलाइन्ड देश भन्नमा गर्व गर्थ्यो, इजरायल अनि अमेरिकासंग हात मिलयो। कर्पोरेटहरुको हब बनिरहेको अमेरिकासंग हात मिलाएपछि, यिनीहरुको निम्ति भारतिय बजारको फाटक खुल्ला गरियो।

भारत सरकारले यहाँको हावा, पानी, जमीन जंगल हरेक प्राकृतिक संसाधनहरुको निलामी शुरु गर्यो। एमएनसीहरु यसको फायदा उठाउन भारतमा ओइरिए। 

यसको सबभन्दा व्यापक असर ती आधिवासी दलित अल्पसंख्यकहरुमा पर्यो जो युगौँदेखि जंगलमा बसोबास गर्दै आइरहेका थिए । माइनिङ गर्न, बाँध बनाउन अथवा  कल कारखाना बनाउनको लागि उनीहरुलाई आफ्नु ठाउँदेखि धपाएर शहरको झोपडपट्टीहरुतिर हुलियो। आज भारतसंग आन्तरिक रुपमा विस्थापितहरुको सबभन्दा ठूलो संख्या छ।

जब उनीहरु सरकार अनि एमएनसीहरुको स्वार्थको निम्ति आफ्नु ठाउँबाट विस्थापित हुन्छन्, यिनीहरु आर्थिक, सामाजिक, सांस्कृतिक अथवा हरेक प्रकारले उजाडिन्छन्। आफ्नो थलो, आफुले देवता मानेको जल जमीन अनि जंगल बचाउन उनीहरु जो अघिबाबाटै भोका छन्, भोकहड्तालमा बस्न एउटा क्रुर चुटकिला हुन्छ। दिल्लीको जन्तरमन्तरमा बसेको धरनाले उनीहरुको केही हुनेवाला छैन। 

प्रसंग आउँछ, भारतको नक्सलाइट विद्रोहको। यो आन्दोलन ती आदिवासी दलित समुदायको हो, जो आफ्नो पितृथलो, जल, जमिन अनि जंगल छोड्न तयार छैनन्। खनिज पदार्थ निकाल्न, बाँध बनाउन अथवा कारखानाहरु खोल्नको लागि सही वातावरण बनाउन प्रतिबद्ध सरकार मिलिटेरी, अथवा सलुवा जुदुम जस्तो प्राइभेट मिलिसिया लगाएर ती आदिवासीहरुको बस्ती जलाउन पठाउँछ। 
सबभन्दा व्यापक सुरक्षा संकट भनेर लेबल लगाइएका तिनीहरु मर्न त जिउँदै मरिसकेका हुन्छन्, बाँच्ने झिनो आशमा बन्दुक समाउन मजबुर हुन्छ्न्।
भारतको नक्सलाइट क्रियाकलापको केन्द्रमा बसेका ती आदिवासीहरुसंग सरकारले कहिल्यै संवाद स्थापित गर्न चाहेन। बात गर्ने झाँसा दिएर बोलाइएको कमरेड आजादको एन्काउन्टरबारे देश बेखबर छ। यिनीहरुसंग सम्झौतामा आउनु भनेको कर्पोरेटहरुले नोक्सानी झेल्नु हो। मुनाफाको लोभमा निम्त्याइएका ती कम्पनीहरुमा आफ्नु प्रतिबद्धता देखाउन सरकार नक्सलाइट क्रियाकलाप दबाउनको लागि कुनै कसर बाँकि छोड्न तयार छैन। 
रेड करिडोरको जंगल-जंगल ती तथाकथित भारतका आन्तरिक सुरक्षाका संकटहरुसंग चौधह दिन घुमेर संग्रह गरेको तथ्यहरुको आधारमा अरुन्धतीले तीन निबन्धको किताब ब्रोकन रिपब्लिक लेखेकी छिन्। यस किताबमा अरुन्धतीले रेड करिडोरबारे  निकालेको सार नक्सलाइटहरु इन्डियन स्टेट उखेल्ने मिशनमा छन् भन्ने धारणा पालेर बसेकाहरुलाई आपत्तिजनक जरुर लाग्ला, तर बेतुका बयानबाजी गरेर अरुन्धतीको खिल्ली उडाउन गाह्रो होला। पढ्दैजाँदा यस्तो लाग्छ।

१९८९ मा तत्कालिन भारतको प्रधानमन्त्री राजिव गान्धीले एकाएक सत्रौं सताब्दीको प्राचीन जामा मस्दिदको ताला खोल्ने प्रस्ताव लिएलगत्तै भारतीय जनता पार्टीले आफ्नु केन्द्रिय सभामा जामा मस्दिदलाई तोडेर राम मन्दिर निर्माण गर्ने एजेन्डालाई आफ्नु चुनावी मेनिफेस्टोमा सामेल गरायो। दिल्लीदेखि पटनासम्मको आडवाणीको रथ यात्राले भारतलाई दुई टुक्रामा बाँडिसकेको थियो। एकापट्टी हिन्दु बहुसंख्यक अनि अर्कोपट्टि अल्पसंख्यकमा मुस्लिम अनि दलित समुदाय। अयोध्या राम मन्दिर अजेन्डालाई लिएर आडवाणीले थालेको मिशनले हिन्दु बहुसंख्यकलाई आफ्नु वोटब्यांक बनाउन धेर समय लागेन। अघिल्लो चुनावमा मात्र एक लोकसभा सिट जित्ने भाजपा पछिल्लो चुनावमा 1८४ सिट जितेर प्रमुख विपक्षी दल भयो अनि अर्को चुनावमा सिधै सत्तामा आयो। 
त्यहाँदेखि यता लगातार भारतको संविधानको खिल्ली उडिरहेको छ। साम्प्रदायिक एकता बस एक युटोपिया छ।एकअर्कामा घृणा पैदा गरेर राजनीति गर्ने ट्रेन्ड आजसम्म सबभन्दा कुरुप भर्जनमा अभिव्यक्त छ। यसबीच भएको असंख्य साम्प्रदायिक दङ्गामा कति मान्छे मारिए, कति औरत बलात्कृत भए, कति बस्ती जलाइए, कति रेफ्युजी सेन्टरतिर विस्थापित भए र ती विस्थापितहरुको अवस्थाबारे बुझ्न कुनै सरकारी तथ्य छैन। 
आज बिजेपीको रेखदेखमा आरएसएसजस्ता कट्टर  हिन्दुवादी संगठनहरु भारतको अल्पसंख्यकहरु विरुद्ध घृणा फैलाउने काम गरिरहेका छन्। उनीहरुकै सक्रियतामा स्वातन्त्र भारतमा अनेक साम्प्रदायिक दङ्गाहरु भए, यसो भन्न कुनै सरकारी रिपोर्ट अथवा तथ्यहरुको संकलन गरिरहनु पर्दैन, कारण मुस्लिम अल्पसंख्यकहरुको हत्यापछि उनीहरुको संलग्नता उनीहरु आफै खुलेआम स्वीकार गर्छन्।

भारतमा सक्रिय हिन्दुवादी संगठनहरुमा नाइके यहीं आरएसएस हो जो हिटलरको एथनिक क्लिन्सिङ अनि स्टालिनको फासिवादबाट प्रेरित छन्। आरएसएसको बाइबल we or our nationhood defined मा एम एस गोवालकरले लेखेका छन्- 
Ever since that evil day, when Moslems first landed in Hindusthan, right up to the present moment, the Hindu nation has been gallantly fighting to shake off the despoilers. To keep up the purity of the race and its culture, germany shocked the whole world by her purging of its semitic race, the jews... race pride at its highest has been manufested there.... a good lesson for us in Hindusthaan to learn and profit by.
अरुन्धतीका यी तथ्यहरु यसो भन्न काफी छन्  कि यिनीहरुलाई नरोकिए भारत निकट भविष्यमा हिटलरको त्यतिबेलाको जर्मनीजस्तो आफ्नु खुनी अनुहारले संसारलाई तर्साउने अवस्थातिर दिनोदिन बढिरहेको छ। यसमा सबैभन्दा ठूलो समस्या यहीं छ कि यस्ता संगठनहरुहरु मान्छेमा दहसत फैलाउने काम गर्छन्, जबकी भाजपा जस्तो राजनैतिक पार्टी यो दहसतलाई भोटमा परिणत गर्नमा लाग्छ। जस्तोकि २००२को गुजरात दंगापछि त्यतिबेलाको मुख्यमन्त्री नरेन्द्र मोदी (जो आफै आरएसएसका प्रचारक हुन्) राज्यभरी गुजरात गौरव यात्राको नाममा मान्छेहरुमा मुस्लिम अल्पसंख्यकहरुमाथि घृणा फैलाउँदै हिँडे। गुजरात गौरव यात्राले त्यसपछि उनलाई प्रधानमन्त्री नबनुन्जेल गुजरातको सत्तामा राख्यो। गुजरात दङगापछि सबभन्दा पहिले प्रधानमन्त्री बन्ने सपना मुकेश अम्बानी र रतन टाटाले गुजरात बिजनेस समिटमा देखाएका थिए। यो कुराले भारतमा कर्पोरेट, हिन्दु राष्ट्रियवाद अनि राजनितीको सम्बन्धलाई बुझ्न अरुन्धती छोडेर कसैले नहेरेको एंगल दिन्छ। 
इस्लामिस्ट आतंक खतम गर्ने बहानामा अफ्गानिस्थान र इराकतिर अन्धाधुन्ध बमबारी गरेर संसारभरी दहसत फैलाउने अमेरिकाले भारतलाई दिएको दीक्षा यहीँ हो कि मुस्लिमहरु आतंककारी हुन्। यहीं दीक्षा आम मान्छेको चेतनासम्म हावी छ। यहीं दिक्षाको कारण भारतमा मुस्लिमहरुको हाल जस्तो छ, त्यस्तो छ। भारतमा मुस्लिमहरुमाथिको बढ्दो हिंसा अनि यसको प्रतिसोध लिने ध्येयले नयाँ नयाँ आतंकी संगठनहरुको जन्म दिइरहेको छ। अरुन्धती यसो भन्छिन्।

अरुन्धती रोयको लेखनको एक वृहत पाटो हो वर्गबिभाजन। भारतसंग एकातिर संसारभरिका सबभन्दा धेर संख्यामा अरबपतिहरु छन्, अर्कोतिर प्रतिदिन बिस रुपैयाँभन्दा कम पारिवारिक आयमा जिवन धानिरहेका बिशाल निम्नवर्गिय समुह। यी दुइ बिचको यति ठुलो खाडल संसारको अरु कुनै ठाउँमा छैन। ह्युमन डेभलपमेन्ट इन्डेक्समा आज भारत संसारको एक सय पचास देशहरु भन्दा तल छ। भोकमरीमाथि संयुक्त राष्ट्रसंघको रिपोर्टले भारतको स्थितिलाई  साहारा-अफरिकाभन्दा जिर्ण देखाउँछ। 

यो स्थिति निर्माण हुनुको ठुलो कारण अरुन्धतीले भारतमा बढ्दो कर्पोरेट चलखेललाई बताएकी छिन्। कर्पोरेटहरु भारतका नयाँ शासक हुन्, उनी भन्छिन्। यी नयाँ शासक सरकार, विपक्ष, न्यायलय, चुनाव सबकुरामाथि हावी भएर यस्तो व्यवस्था निर्माण गरेका छन् जसलाई नकार्नु भनेको एक आम जिवन बाँच्नको लागि अरु कुनै विकल्प नराख्नु हो।यसले एक वर्गलाई उत्पादनको लागि कच्चा माल अनि अर्को वर्गलाई क्रेता बनाएर आफ्नु धन्दा चलाइरहेछ। 

कलाकार, फेस्टिबल, साहित्यिक समारोह, एनजीओ- यी सबलाई प्रायोजित गरिरहेका यी नयाँ शासकहरु धेरैलाई असल लाग्छ। तर यसो गर्नुमा उनीहरुको ध्येय पोटेनसियल रिवल्युशनरीहरुको खरिदारी गरेर कर्पोरेट टेकओभरसंग युद्ध गर्ने टेन्डेन्सी खतम गर्नु हो। एक नयाँ राजनैतिक चेतना, एक नयाँ कल्पनाले मात्र यो व्यवस्थाको अन्त गरेर नयाँ निर्माण गर्नसक्छ। अरुन्धती सोंच्छिन्। 

एकतर्फ एउटा यस्तो भारत छ जो देखिन्छ। एउटा यस्तो भारत जो शहरमा बस्छ। जोसंग शपिङमल छ। रोयल होटेलहरु छन्। लाउनलाई ब्रान्डेड कपडा छ। एउटा यस्तो भारत जो विकेन्डमा सिनेमा हेर्छ। जसको जिवन टेलिभिजन सिरियलमा जस्तो छ। रियालिटी शो अनि कुनै मध्यमवर्गीय पारिवारिक हिंसामाथि भएको खुलासा जसको मिडियाहाउसमा वहसको विषय बन्छ। एउटा यस्तो देश जसको प्रधानमन्त्री आठ लाखको लुगा लगाउँछन्। मार्क जुकरबर्गसंग फोटो खिच्छन् अनि फेसबुकमा अपलोड गर्छन्। ब्रिटेनको महारानीसंग भोज खान्छन्। 
यो एउटा यस्तो भारत हो, जसको नागरिक आफु यस्तो देशको हुनुमा गर्व गर्छन्। राष्ट्रियवादले ओतप्रोत उनीहरु आफैआफ भनिपठाउँछन् आइ लब इन्डिया। 

तर अर्को एउटा भारत पनि छ, जो देखिँदैन। अथवा देखाइँदैनन्। एउटा यस्तो भारत जसको किस्सा शहरमा बस्नेहरु देहातमा आधारित चरम बलिहुड फिल्ममा बेलाबेला हेर्छन्। तुरुक्क आसुँ पनि चुहाउँछन्। एउटा यस्तो भारत जहाँ भोकले पेठमा पटुका बेरेर सुतेका गरिबहरुलाई थाहा हुँदैन उनीहरु बिहान मरेका हुन्छन् कि जिउँदै हुन्छन्। एउटा यस्तो भारत जहाँ नांगो हुनु कुनै फेशन शोको जस्तो रवाफ होइन, मजबुरी हो। जहाँ बाली बिग्रेको खेतिवाला ब्यांकले कम इन्टरेस्टमा उसलाई उपलब्ध गराएको लोन फर्काउन नसकेर लाखौंको संख्यामा आत्महत्या गर्छन्। एउटा यस्तो देश जसको किसान देशको वार्षिक निर्यातको ग्राफ बढाउन अनि शहरको पेठ भर्न खेत जोत्छ तर भोकभोकै सुत्छ। एउटा यस्तो देश जहाँ आफ्नु आखैं अगाडी मान्छेहरुको बस्ने घर, पुजा गर्ने जल- जंगल, उब्जाउने खेत,  गीत गाउने खोला-नाला सबै टाटा-लाइफस्टायलवालाहरुको असिमित चहानाहरुको आपुर्तीको लागि उत्पादनको कच्चा मालमा परिणत हुन्छ।यहाँ बन्दुकको नोकअगाडि दबाएर सास फेरिरहेको कश्मीर पनि छ, अनि बन्दुक बोकेर सरकारसंग लडिरहेका विद्रोहीहरु पनि। सबभन्दा धेर त्यो भारत जसको कहिले केही सुनिएन। कहिले उनीहरुमाथि कुनै किसिमको बहस भएन।
एक भारतीय अंग्रेज़ी लेखकबाट लेखिने टिपिकल उपन्यास लेखिसकेर अरुन्धती एक फरक बाटोमा छिन् जहाँ उनको लेखन कल्पनामा नभएर तथ्यहरुमा आधारित छन्। आफ्नु पाँच नन फिक्सनको किताबमा अरुन्धती समाज अनि व्यवस्थामाथि कर्तव्यबोध गर्ने बौद्धिक, पत्रकार, लेखक, कलाकार, एक्टिभिस्ट अथवा जो कोहीलाई पनि देखिएको भारत अनि नदेखिएको भारतबिचको सिमानामा लगेर उभ्याउँछिन्, जहाँबाट देखिन्छ कि यी दुइ भारत आपसमा लडिरहेका छन्, जहाँ  देखिने भारत कम्फोर्टको लागि लड्छ अनि नदेखिने भारत केवल बाँच्ने अधिकारको निम्ति।

म किन फर्काइ रहेकी छु आफ्नो पुरस्कारहरू

अरुन्धती रोय
५ नोभेम्बर, २०१५
सन् १९८९ मा'In which Annie Gives it Those Ones' फिल्मको स्क्रिप्टको निम्ति पाएको राष्ट्रिय फिल्म पुरस्कार फर्काउँदा अरुन्धती रोयले यो विवृति लेख्नुभएका हुन्।  

प्रथमत कुनै पनि पुरस्कारले हाम्रो दक्षतालाई नाप्न सक्ने कुरोलाई म मान्दिन। म फर्काउन पर्ने पुरस्कारहरुमा १९८९ मा प्राप्त नेशनल अवार्ड (बेस्ट स्क्रिनप्लेको निम्ति)-लाई पनि सामेल गरेकी छु। म यहाँ स्पष्ट गरिदिन चाहन्छु कि मैले पुरस्कार फर्काउने निर्णय यस कारण लिएको होइन कि म त्यस कुरोबाट दुखी छु जसलाई मानिसहरू'बढ्दो कट्टरता’को संज्ञा दिंदैछन् र जसको जिम्मेवार वर्तमान सरकारलाई ठहरान्दैछ। 
सबैभन्दा पहिला पिटेर हत्या गरिनु. जलाएर मार्नु, गोली ठोकेर मार्नु वा नरसंहारको निम्ति'असहिष्णुता’ उचित शब्द होइन। दोस्रो कुरा हामीलाई पहिला बाटनै के हुनेवाला छ भन्ने कुराको सङ्केत छ। यसैले म यो भन्न सक्दिन कि भारी मतले विजयी भएर सत्तामा आएपछि सरकारले जे पनि गरिरहेको छ त्यसलाई देखेर म दंगदास परेकी छु। तेस्रो कुरा यी डरलाग्दा हत्याहरू अघाडी आउने बत्तर स्थितिको लक्षण मात्र हुन्। जीवन जिउने लायकको रहेन। जम्मै आवादी— करोडौं दलित, आदिवासी, मुसलमान अनि इसाई— आतङ्कको माहोलमा जिउन बाध्य भइरहेका छन्, कहिले र कहाँबाट हमला हुने हो कसैलाई थाह छैन। 
आज हामी यस्तो देशमा बस्छौ जहाँ उनीहरू'गैरकानुनी हत्या’-को कुरा गर्दा गाईको हत्या भएको बुझ्छन्, कुनै मानिसको होइन। घटनास्थलमा'फोरेन्सिक जाँचको निम्ति सबुत जुटाउने’ कुरा गर्छन् त यसको अर्थ फ्रिजमा राखेको खानासँग हुन्छ, पिटी पिटी मारिएको मानिसको लाशसँग होइन। हामी भन्छौ कि हामी धेरै अघाडी बढी सकेका छौ तर जब दलितहरूको हत्या गरिन्छ र तिनीहरूको नानीहरूलाई जिउदै जलाएर मारिन्छ तब को यस्तो निर्भीक लेखक छ जो मारिनु वा जलाइनुको भयबाट मुक्त भएर बाबासाहेब अम्बेडकर जस्तै खुलेर भन्न सकोस्,'अछुतहरूको निम्ति हिन्दुत्व आतङ्कको घर हो? कुन लेखकले आज यी कुराहरू भन्न सक्छ जुन सादात होसेन मान्टो ले'लेटर्स टु अंकल सेम’ मा लेखेका छन्? यस कुराको कुनै अर्थ छैन कि हामी केसँग सहमत छौ कि छैनौ। यदि हामीले निर्भय भएर बोल्ने स्वतन्त्रता पाएनौ भने हामी फेरी बौद्धिकरूपले शून्य समाजमा फर्किने छौ।
मलाई यस कुराको खुबै खुशी छ कि कुनै समय मैले एउटा राष्ट्रिय पुरस्कार पाएकी थिए जसलाई म आज फर्काउन पाउदै छु। यसले मलाई लेखक, फिल्ममेकर तथा शिक्षाविद्हरूले तैयार गरेको राजनैतिक मुहिमको हिस्सा बन्ने मौका दियो, उनीहरू सैधान्तिक शून्यता र सामूहिक बौद्धिकतामाथि भइरहेको हमलाको विरोध गर्दै छन्। मलाई लाग्छ आजको दिनमा कलाकार र बुद्धिजीवीहरू जे पनि गर्दैछन् त्यो अपरिहार्य र अद्वितीय हो। केही मानिसहरू यसलाई राजनीति भनी मान्दैछन्। तरपनि मलाई यसको हिस्सा बन्न पाएकोमा गर्व बोध भइरहेको छ। यो देशमा हिजआज जे पनि भइरहेको छ त्यसको निम्ति म लज्जित छु।
जानकारीको निम्ति यो बताई दिउ कि २००५ मा जब काँग्रेसको सरकार थियो त्यतिबेला मैले साहित्य अकादमी अवार्ड ठुकराई दिएको थिए। यसैले कृपा गरेर मलाई काँग्रेस बनाम भाजपाको बगमफुसे तर्कमा न तान्नु होला। कुरा यसभन्दा धेरै अघि बढी सकेको छ। 
धन्यवाद।

राष्ट्रिय स्वयंसेवक संघको ‘देशप्रेम’!

देशमा हिन्दु कट्टरवादीहरूका एकपछि एक पागलपनले गर्दा आमजनताको जीवनमाथि ठुलो असर परिरहेको छ। कुनै न्यूनतम युक्तिबोध, विचारबोध, इतिहास-विज्ञान-दर्शन वा विरासतको ज्ञानविहीन एक हुल मानिसहरूले पागलझैँ देशको मानिसहरूलाई अँध्यारो तिर तानेर लैजाने काममा हात हालेको छ जस्तो लाग्दछ। हालैमा कलकत्ताको साइन्स सिटी अघाडी उनीहरूले शान्तिपूर्ण प्रदर्शनमा सामेल विद्यार्थी-युवाहरू माथि भयानक आक्रमण गरे। विभिन्न सङ्गठन र कामहरूबाट उनीहरूको योजना स्पष्ट भइरहेको छ, तर जम्मै षड्यन्त्रको टाउकोमा छ राष्ट्रिय स्वयंसेवक सङ्घ वा आरआरएस। उनीहरूसँग जोडिएको अरू सङ्गठनहरू लगायत समग्र परिवारलाई सङ्घ परिवार भनिन्छ। विभिन्न भ्रान्तिपूर्ण प्रचारसँगै सङ्घ परिवारले आफूलाई देश भक्ति अनि देश प्रेमको मिसालको रूपमा जनता अघि प्रस्तुत गर्छन्। भारत माताको नारा लगाउँदै, सङ्घ परिवारले देशको युवा अनि खटीखाने जनतालाई देशको निम्ति बलिदान दिनु अनि कठिनाइहरू सहनु भनी सिकाऊछन्। आर.एस.एस. को देशभक्ति के हो, यो बुझ्नुको निम्ति इतिहास हेर्नु जरुरी छ, जब देश अङ्ग्रेजको कब्जामा थियो, तब विदेशी सभ्यता-संस्कृतिको विरोध गर्ने सङ्घले के कस्तो भूमिका निभाएको थियो त? स्वतन्त्रता संग्राम पश्चात् पनि उनीहरूले कस्तो कदम-रणनीतिहरू उठाए यो पनि हेर्नु एकदमै जरुरी छ। 
जब तिरंगा झण्डालाई राष्ट्रध्वजको रूपमा अपनाइएको थियो, तब आर.एस.एस.ले'गेरुवा झण्डा’लाई राष्ट्रध्वज बनाउँनु पर्छ भनेका थिए। उनीहरू अनुसार तीन सङ्ख्या अशुभ हो र यसैकारण तीन रङ्गको राष्ट्रध्वज हुनुहुँदैन अनि उनीहरूले आफ्नो-आफ्नो घरमा १४ अगस्त,१९४७ मा गेरुवा झण्डा लहराए। उनीहरूले संविधानको सट्टा मनुस्मृतिलाई कानुन बनाउँने आधार मानियोस् भन्ने प्रस्ताव पनि राखे। तर बिस्तारै बिस्तारै, जब देशभरि नै संविधान अनि राष्ट्रध्वजले स्वीकृति पाए तब उनीहरूले फेरी संविधान अनि राष्ट्रध्वजको पूरा जोरतोरले समर्थन गर्न थाले।
हिन्दु कट्टरवादी सङ्गठनहरू, उनीहरूको स्थापनाको समय देखि नै स्वतन्त्रता संग्रामको बेलामा आफ्नो नामको भूमिका लिएर अघि बढ़े। यहाँ सम्म कि सङ्घ परिवारले खिलाफत आन्दोलन अनि असहयोग आन्दोलनलाई पनि साफ रूपमा निन्दा गरेको थियो। गांधीद्वारा आन्दोलन रोकिएको कुरालाई नजरअन्दाज गर्दै आन्दोलनको असफलताको जिम्मेदार मुसलमानहरूलाई ठहराए। राष्ट्रवादी आन्दोलन जब अघि बढ़दै थियो त्यस समय सङ्घ ज्यादा जस्तै मौकामा उपस्थित थिएन अर्को तर्फ जब आन्दोलन आफ्नो चरम सीमामा थिएन त्यस समय सङ्गठनलाई तेजी सँग विस्तार गरियो। उत्तर भारतमा ३० को दशकको अन्तमा जब साम्प्रदायिक तनाव बढ़दै थियो तब सङ्घले यो क्षेत्रहरूमा जोरसँग प्रचार गर्न थाले अनि १९४२ को'भारत छोड़ अभियान’मा उनीहरूले आफूलाई टाड़ो राखे अनि'४६-'४७ को साम्प्रदायिक दङ्गाको बेलामा भागे पनि। उनीहरूको नजरमा स्वतन्त्रता संग्रामको बेला गांधी अनि कङ्ग्रेसले मुसलमान प्रति अलिकति ज्यादा झुकाव देखाएका थिए अनि यसै मुद्दालाई उनीहरू हिन्दु राष्ट्र निर्माणको निम्ति घातक सम्झन्थे। सङ्घको यस्तो विचारधाराको स्पष्ट उल्लेख सङ्घ अनि सावरकरको नजिक रहेको नाथूराम गोडसे द्वारा गांधीको हत्या, अनि यसैको प्रतिक्रियामा संघीहरूले हर्ष मनाउँदै मिठाई बाडेको कुराबाट स्पष्ट झल्किन्छ।
अङ्ग्रेज सरकारलाई आफ्नो लागि लेखेको दोस्रो दयापत्र (१४ नोवेम्बर,१९१३) मा हिन्दुत्वको प्रणेता सावरकर (कैदी न. ३२७७८) ले निम्नलिखित शब्द लेखेका थिए— “... म (अङ्ग्रेज सरकारको) संविधानको पक्षमा, भारत अनि बाहिर भटकेको नौजवानहरु, जो मलाई आफ्नो दिशानिर्देशक मान्दछन्, तिनीहरूलाई फेरी सही बाटोमा लिएर आउनेछु। म पुरा ताकत अनि बल लगाएर सरकारले जस्तो चाहन्छ उसको सेवा गर्नको लागि तयार छु। म हृदयदेखि बदली सकेको छु अनि भविष्यमा पनि मेरो व्यवहार यस्तै नै रहने छ। मलाई नछोडेर जेलमै राख्नुभयो भने केही पनि पाउनु हुने छैन। ताकतवर नै दयावान हुन सक्छ, त्यसैले म बाटो भुलेको छोरो, आमा-बाबा स्वरूप सरकारको ढोका छोडेर अरू कहाँ जान सक्छु? आशा गर्छु तपाईँ यस बिन्तीलाई ध्यानमा राख्नु हुनेछ।”
यो बताउनु जरुरी छ कि सावरकर अफ्नो बाकीको जीवन अङ्ग्रेजहरूलाई दिएको बचनमा नै अडिग रह्यो, अनि अङ्ग्रेज विरोधी सङ्घर्षलाई छोडेर, मुस्लिम विरोधी संधर्षमा कट्टर हिन्दुहरूलाई सङ्गठित गर्दै रह्यो।

अकुपाई यु.जी.सी

कपिल तामाङ

सरकारको शिक्षा बजेट घटाउने नीति सँग तालमेल राख्दै युनिभर्सिटी ग्रान्ट्स कमिशनले हिजअस्ती न्याशनल एलिजिबिलिटी टेस्ट बाहेक दिइने जम्मै छात्रवृत्तिहरू— जस्तै एस.टि./एस.सी. विद्यार्थीहरूको निम्ति राजीव गान्धी न्याशनल फेलोशिप, अल्पसंख्यक विद्यार्थीहरूको निम्ति मौलाना आजाद न्याशनल फेलोशिप तथा केन्द्रीय विश्वविद्यालयहरूमा दिइने छात्रवृत्ति इत्यादिलाई विश्वविद्यालयबाट खारेज गर्ने प्रस्ताव राखे पछि चारैतिर अशान्ति छाउन थाल्यो, अन्तमा धेरै सङ्ख्यामा विद्यार्थीहरू यु.जी.सी. को कार्यालय अघि धर्ना दिन पुगे।


विगतका केही महिना देखि धेरै विश्वविद्यालयका विद्यार्थीहरू अनि शोधार्थीहरू युनिभर्सिटी ग्रान्ट्स कमिशन (UGC) अघि धर्नामा बसेका छन्। कारण, २१ अक्टोबर २०१५ को एउटा बैठकमा यु.जी.सी को अध्यक्ष वेद प्रकाशले नन नेट फेलोशिप (non-net fellowship) खारिज गर्ने निर्णय लिए। धर्नामा बसेका विद्यार्थीहरूले फेलोशिप नहटाउने मात्र नभएर बढ्दो महंगाइसँग मिल्दो फेलोशिपको राशि बढाउने अनि सबै केन्द्रीय अनि राज्य विश्वविद्यालयहरूमा लागु गर्ने माँग  गरेका छन्।
वर्तमानमा  केन्द्रीय विश्वविद्यालयका शोधार्थीहरू जुन कुनै प्रकारको छात्रवृत्ति जस्तै जुनियर रिसर्च फेलोशिप (JRF) का योग्य छन् तिनीहरूले छात्रवृत्तिको रूपमा ५,०००/ (एम.फिल.)-को निम्ति अनि ८,०००/ (पि.एच.डी)-को निम्ति पाउछन्। यो योजना पनि थोरै विश्वविद्यालयहरूमा मात्रै सीमित छ। धेरै जसो विश्वविद्यालयको कार्यव्यवस्थाको सोचनीय अवस्थाहरूले धेरै जस्तो विद्यार्थीहरू यस्तो योजना देखि वञ्चित छन्। विशेष गरी नारी अनि आर्थिक अवस्था कमजोर भएको छात्रहरुलाई त झन् उच्च शिक्षाको निम्ति शोध कार्यमा लाग्नु असम्भव जस्तै देखिन्छ। यो फेलोशिपलाई पनि खारेज गर्नु भनेको सरकारले सरासरी उच्च शिक्षाबाट हात निकाल्नु  हो अनि अझै  शिक्षाको  निजीकरण तर्फ अघि बढ्नु हो। विद्यार्थीहरू माथि, यस सरकारको भयङ्कर हमलालाई अलिकति निहालेर हेर्दा भारत र वल्ड ट्रेड ओर्गानाइजेसनको (WTO) लेनदेनलाई पनि मध्यनजरमा राख्नु पर्छ हामीले।'मेक इन इण्डिया'को लागि उच्च शिक्षाको आवश्यकता नै के छ र? यसले सस्तो श्रम त अवश्य पनि बढाउछनै। जसको सहायताले ठुल्ठुला पुँजीपतिहरू मुनाफाको पहाड खडा गर्छन्। यस प्रकारका जनता विरोधी पोलिसीहरुले शिक्षालाई महँगो सामग्रीमा परिणत गरी दिने काम गरी दिन्छ। 
विद्यार्थी, शिक्षक अनि समर्थकहरूबाट घोर विरोध प्रदर्शनी भए पश्चात् भने यु.जी.सी पछि सरेको छ। मानव संसाधन विकाशमन्त्री स्मृति इरानीले आश्वासन दिनु भएको छ की फेलोशिप रहने छ अनि सबै विश्वविद्यालयहरूमा लागु हुनेछ तर वास्तविकता अर्कै छ, धर्ना बसेका छात्राको भनाइ अनुसार तय भएको फेलोशिप केही दिनलाई मात्रै हुनेछ अनि डिसेम्बरमा अर्को बैठकले फेलोशिप जारी राख्ने वा नराख्नेमा फेरी छल-फल गर्नेछ। अझै फेलोशिप'मेरिट’मा हुने कुरा चल्दै छ। कुन हिसाबले मेरीटको नाप-तोल हुन्छ त्यसको कुनै निर्दिष्ट जानकारी छैन तर यो पक्का छ कि धरै विद्यार्थीलाई यसले प्रभाव पर्ने छ अनि फेलोशिप देखि वञ्चित गर्ने छ। 
२२ अक्टोबर देखि भेला भएका विद्यार्थीहरूलाई भेट्न वेद प्रकाशले आफ्नो सेक्रेटरीलाई पठाए जसले कुनै प्रकारको जिम्मा लिन नलिने बताए। पछि, विद्यार्थीहरू ४ दिन ४ रात धर्नामा बसे पछि तिनी आए तर कुनै प्रकारको आश्वासनको सट्टा छात्र नेतृत्वहरूलाई धम्काए अनि धैर्य भएर बस्ने सुझाव दिए। धेरै दिनदेखि बसेका ती छात्रहरूले पुलिसको लाठी खाए, डिसेम्बरको जाडो खादै कति घाइते भए त कति बिरामी, तर पनि ती छात्रहरू आफ्नो माँगमा अडिग छन् अनि सङ्घर्ष जारीनै छ। शिक्षाको अधिकार हनन अनि शिक्षाको निम्ति सरकारको बजेट घटाउने सबै षड्यन्त्र रोक्नलाई देशभरि विद्यार्थी सङ्घर्ष अत्यन्त जरुरी छ।



पिंजरा तोड : सङ्घर्ष अझ जारी छ

अम्बिका राई

दिल्लीबाट शुरू भएको यो “पिंजरा तोड” आन्दोलन केवल दिल्लीमा मात्र सीमित रहेन अब। देशको धेरैवटा महाविद्यालय अनि विश्वविद्यालयमा पनि पिंजरा तोड्ने क्रम शुरू भएको छ। लगभग ३-४ महिना अघि शुरू भएको हो यो आन्दोलन। छात्रावास अनि  पेयिंग गेस्ट (पि.जि)- मा बस्ने महिलाहरू माथि थोपिदिएको झुटो सुरक्षाको विरोध हो यो'पिंजरा तोड’। प्राय सबै छात्रावासमा महिला विद्यार्थीहरूको निम्ति छात्रावास पस्ने अनि निस्कने समय निर्धारित गरिएको हुन्छ। कारणवस् कुनै महिला तोकिएको समय भन्दा पाँच या दस मिनट ढिलो भयो भने उसलाई छात्रावासमा पस्न दिइन्दैन वा उसले आफ्नो अभिभावकलाई छात्रावास प्रबन्धक अघि ल्याउनुपर्ने हुन्छ। तर सँगै पढ्ने पुरुष साथीहरूमाथि भने यस्तो कुनै नियम लागु हुँदैन।
लखनऊको राम मनोहर लोहिया न्याशनल ल युनिवर्सिटी (RMLNLW) मा पनि यस्तै एउटा घटना घट्यो। २२ नोभेम्बेर २०१५ को दिन एउटा छात्रा छात्रावास पस्नुमा १५ मिनट ढिलो भएको थियो। उसको हात  भाँचिएको कारण उ डाक्टर कहा गएकी थिई। तर छात्रावास प्रबन्धकले उसलाई भित्र पस्न दिएन। यो घटनाको विरोध गर्दै महिला विद्यार्थीहरू प्रबन्धक अनि अथोरिटिको विपक्षमा उठे। केही शिक्षक अनि पुरुष विद्यार्थीहरू पनि उनीहरूको साथमा खडा भए। प्रबन्धकले भने कि “नारीहरू प्रकृतिको शिकार हुन् त्यसैले तिनीहरूलाई भित्रै राख्नु पर्छ” (Women are the victims of nature and hence should be put inside)। उनको यस्तो बयानले ती छात्राहरू आक्रोशित बने। प्रबन्धकको यस्तो बयान अनि छात्रावासको नियमको विरोध गर्दै उनीहरू उप-कुलपतिकोमा पुगे। यो विषयमा छलफल गरेर उप-कुलपतिले एउटा निर्णय लिए। RMLNLW को छात्रावास खोल्ने समय बिहानको ५:३० देखि बड़ाएर ६:३० बनाइदिए अनि बेलुकी छात्रावासको गेट बन्द गर्ने समय ९:३० देखि १०:३० गरिदिए। अनि त्यो छात्रालाई पनि छात्रावासमा बस्ने अनुमति दिए। यसरी लखनऊको RMLNLW का विद्यार्थीहरूले केही हदसम्म पिंजरा तोडेर देखाई दिए।
पिंजरा तोड आन्दोलनले फेरी अर्को मुद्धा उठाएको छ। त्यो हो लाईब्रेरी बन्द गर्ने समय। कुनै कुनै महाविद्यालय अनि विश्वविद्यालयको लाईब्रेरी एकदमै छिटो बन्द गरिन्छ। यसको विरोध गर्दै दिल्लीका विद्यार्थीहरूले लाईब्रेरी बन्द गर्ने समय तोकिएको भन्दा बेसी गर्ने माँग उठाए। आन्दोलनमा उत्रेकाहरू सेन्ट्रल लाईब्रेरी अघि रात भरि बसे। उनीहरूले आफ्नै लाईब्रेरी बनाए। सबै जाना आ-आफ्नो किताब लिएर सडकमा पढ़न बसे। कसैले गीत गाए त कसैले “पिंजरा तोड”-को नारा लगाए। 
एक तर्फ जहाँ “पिंजरा तोड”-ले छात्रावास अनि पि.जि. हरूबाट यी सबै नियम हटाउने माँग उठाइरहेको छ अर्को तर्फ मानव संसाधन विकास मन्त्री स्मृति इरानीको बयानले त अझ हलचल मचायो। उनको बयान यस प्रकार थियो “मलाई लाग्दैन कि भारतमा नारीहरूलाई कस्तो लुगा लगाउने, कसरी लगाउने, को सँग भेट्ने, कतिबेला भेट्ने निर्देश गरिन्छ।” जहाँ हरेक एउटी नारीलाई सानो हुदा देखि युवती भइन्जेलसम्म उसको जीवनको हरेक पाइलामा घर अनि समाजले के गर्नु पर्ने हो वा होइन, कसरी बोल्नु, कसरी हिड्नु, कस्तो लुगा लगाउनु भनेर सिखाउछ त्यहाँ इरानीको यस्तो बयान सुन्न पाउनु आश्चर्यजनक हो। इरानीको यस्तो बयानको विरोध गर्दै “पिंजरा तोड” का कार्यकर्ताहरूले उनको निम्ति विश्वविद्यालय अनि महाविद्यालयका'रूल बुक’हरूको पार्सल बनाएर उनलाई उपहार स्वरूप पठाउने निर्णय गरे। यती मात्र नभएर २४ नोभेम्बेरको दिन उनीहरूले स्मृति इरानीको दफ्तर अघि बसेर सोही'रूल बुक’-हरू बाट महिलाहरू निम्ति बनाएका नियमहरू पढेर पनि सुनाए। २६ नोभेम्बरको दिन पिंजरा तोडले दिल्ली कमिशन फर वुमनका अध्यक्ष स्वाती मालीसंग दोस्रो मिटिंग राखे। उनीहरूको पहिलो मिटिंग १३ अक्टोबेरको दिन भएको थियो। उनीहरूले देश भरि छात्राहरू माथि घटेका घटनाका कथा अनि कागजहरू साथै जम्मा १०० जति गुनासो (Complaints) दर्ज गराएका छन्। 
धेरै पिंजराहरू बनिएका छन् अनि धेरै पिंजराहरू तोड्नु बाकी नै छ। यस आन्दोलनका कार्यकर्ताहरू यसरि आफ्नो कुरा कुना कुनामा गुन्जायमान गराउदैछन्:- 
‘युनिभर्सिटी हमारी बन गई खाप
बापरे बाप, बापरे बाप
पेट्रियार्की का खोल दे पोल
पिंजरा तोड, पिंजरा तोड
चलो महिलाओ कि आजादी कि ओर 
पिंजरा तोड पिंजरा तोड’ !
[नेपाली अनुवाद]
‘युनिभर्सिटी हाम्रो भएछ खाप, 
बापरे बाप, बापरे बाप 
 पेट्रियार्कीको खोलि दिउ पोल
पिंजरा तोड, पिंजरा तोड
हिड नारीहरूको आजादी तिर 
पिंजरा तोड, पिंजरा तोड'!


कविता : राजनीति?

उदय सुब्बा गोर्खा

आकाशवाणी र दूरदर्शनको
आवाज भएर
गाउँ गाउँमा राम्रो दिन
पुगिसके पनि 
गाउँको दुर्दिन हटेको छैन
समाचार पत्रहरूको 
अक्षर भएर
बस्ती बस्तीमा राम्रो दिन 
पसिसके ता पनि 
बस्ती बालाहरूको दुर्दशा
उस्तै छ।
कसरी भनूँ म 
नहरहरूबाट कुलो बगेर
खेतका गरा गरामा 
सुदिन
भरिसक्यो भनेर 
जबकि
बेमौसमको वर्षा र खड़ेरीले 
सखाप पारेपछि जिजीविषा र सपनाहरू 
किसानको खपि नसक्नु दुख
रूखका हाँगा हाँगामा
शव बनेर झुण्डिनु उत्तिकै छ
देशले नयाँ वर्षको उत्सव
मनाइरहेको बेला
किसानको घरमा
मृत्युको शोक धुन
बजेको बजेकै छ।
आफ्नो मनको कुरा
सुनाउने सरकारले 
किसानहरूको मनको कुरा
बुझ्नै सकेन
देशको विकाशदर
जी.डी.पी.-मा राख्नेहरूले 
दिन दिनै बढ़्दो गरिबीको हिसाब 
लगाउनै सकेन।
समय पनि कति निठूर हुँदोरहेछ-
न यसले किसानको मर्म 
बुझ्न सकेको छ
न यसले शोषकहरूको कर्म/कुकर्म
बुझ्न सकेको छ
न यसले शाषकहरूको धर्म/अधर्म नै बुझेको छ
कतै समयले पनि किसानहरूको
दुरावस्थामाथि
राजनीति गरेको त हैन??  

'आजकेर उत्तर'




लाली गुरासको तर्फबाट आगस्ट २०१५मा प्रकाशित भएको थियो दार्जीलिङको नयाँ पिढीको कविहरूका नेपाली कविताको बङ्गला अनुवाद सङ्कलन'आजकेर उत्तर'। अर्थात्'आजको उत्तर'।

त्यो सङ्कलन प्रस्तुत गर्ने प्रयास किन लाली गुरासले उठाएको थियो, त्यसको व्याख्याको रूपमा हामी सङ्कलनको भूमिका बाट अलिकति उद्धरण दिनसक्छौ—
"पहाड-तराई-डुवर्सको अतुलनीय ल्याण्डस्केपले सजाएको दार्जीलिङको जिउभरी आकाशछुइने पहाड, खुशीले बग्ने नदी र उकालीओराली बाटो, क्षितिजसम्म चियाबगान, अनि गहिरो जङ्गलहरूको कुनाकुनामा जुनबेला कोही अवकाश मनाउने आउछन्, ठिक त्यतिबेला नै त्यही माटोमा उभिएर कोही कोही लेखिरहेका छन् जीवनको दिनचर्या। ती कविताहरुबाट कतिवटा छानेरै यो सङ्कलन। 
यो कविताहरू लेख्नुभएका छन् आजको पिढीको दार्जीलिङको युवा कविहरु। यो उत्तरपिढीले नै आज उत्तर हिमालयको काँखमा मानिसका मुटुभित्र बोकिरहेको रिस-माया-दुख-अभिमान-आशा-आकाङ्क्षा-सपनाहरुलाई कविताको भाषा र छन्दमा प्रतिध्वनित गरिरहेका छन्। आर्थिक-सामाजिक-राजनैतिक-सांस्कृतिक-राष्ट्रियता आधारित उत्पीडन अनि सङ्कटको अगाडि उभिएर यी कविताहरू नै हो उत्तर पहाडको उत्तर पिढीको'आजको उत्तर'।“    

यो सङ्कलन प्रकाश भएपछि कलकत्ता, सिलगढी, आलिपुरद्वार वा बहरमपुर— थुप्रै ठाउँसम्म पुग्यो यो पत्रिका। बङ्गाली पाठकहरूको विभिन्न अंशले एकदमै सराहनीय रूपले यो प्रयासलाई स्वागत गऱ्यो।'अनीक' पत्रिका बङ्गला भाषामा सत्तरीको दशक देखि प्रकाशित हुँदैछ। त्यो पत्रिकाले यो सङ्कलनबाट कतिवटा कविता छानेर छापियो र एउटा समीक्षा पनि आफ्नो पत्रिकामा प्रकाश गरेको छ। त्यो समीक्षाको नेपाली अनुवाद हामी प्रस्तुत गर्दैछौं।


ब्रिटेनको गोरो साहेबहरूले यस देशमा बस्दाखेरि “होम वेदर”को खोजीमा बादलको देश दार्जीलिङमा आफ्नो कब्जा कायम गरेको थियो। साहेबहरुलाई अनुकरण गर्दै देशी साहेबहरूले पनि त्यतिबेला देखिनै दार्जीलिङमा बसोबासो गर्ने विभिन्न संस्कृतिको मानिसहरूलाई समतलको प्रजा भनेर सोच्न थालेको थियो। त्यसले गर्दा समतलको बंगालीहरूको दृष्टिमा जम्मै दार्जीलिङ-मिरिक-कालिम्पोङ एउटै सजातीय संस्कृतिको अंश हो—विभिन्न भाषा-संस्कृतिको अस्तित्व त्यहाँ हराएको छ अज्ञानता र अपरिचितताको एउटा दुर्भेद्य पर्दाको पछाडि। 
जुन सराहनीय संस्कृतिको विचित्रतापूर्ण किस्ती बोकेर दार्जीलिङको बंगला बाहेक अरू भाषाको संस्कृति कर्मीहरू उपस्थित भएकाछन, उनीहरूका त्यो फुर्तिलो र दह्रिलो उपस्थितिलाई बंगाली पाठक सामु परिचित गराउने आयोजन गरेको छ दार्जीलिंग जिल्लाको सांस्कृतिक समूह “लाली गुरास” (रातो रोडोडेन्ड्रन)-ले। आजकेर उत्तर (आजको उत्तर) कविता सङ्कलनमा जम्मा १५ जना कविको कतिपय कविता अनुदित भई सङ्कलित गरिएको छ। लामोसमयदेखि चलिरहेको बन्चना, आर्थिक र सांस्कृतिक आक्रमण अनि आक्रान्त आत्ममर्यादा बाट उठेको न्यायसंगत माँगको अभिव्यक्ति बोकेका कविताहरू धारिलो औजारझैँ आफूलाई व्यक्त गरिरहेका छन्। यद्यपि कविताहरूमा स्निग्धताको उदार उपस्थितिले पनि पाठकको दृष्टि आकृष्ट गर्न नसकेको होइन। 
कालेबुंगको नेपाली कविले, भर्खरै मात्र यौवनमा पदार्पण गरेका छन्, उसको कवितामा हतियारको गह्रोपन तर शैलीमा सुललीत छ।  
ठ्याङ्ग ठ्याङ्गको हिर्काइहरुमा
बेलाबेला ढुङ्गाबाट 
आगोको झिल्का उप्जिदा लाग्दो हो,
...त्यसरी नै निस्कदो हो आगो
हिरोसिमाहरुमा बम खस्दा
... ठ्याङ्ग ठ्याङ्गको हिर्काइहरूमा
उसँगै हल्लियो उ उभेको धरातल
उसँगै हल्लियो धमीरासरीको सत्ताको मस्तिष्क।
विद्यार्थी नेपाली युवा लेखनाथ छेत्रीको दृष्टिकोण समकालीन र विश्वजनीन पाइन्छ— 
प्यारासिटमलको मुफ्त ट्याबलेट बोकेर
कुनै स्वास्थ्यकर्मी नआइपुगेको ठाउँ
कसरी आइपुगे सोनु निगम? 
कवियत्री भीमा राई'तोलाछा’ चियाबारी माथि लेख्दा अचम्मको विवरणमुलक छन्—
इप्सिताहरु
सधैँ कमान जान्छन्
पत्ती तोड़्‌न
कलम काट्न
छुट्टीमा झिँझा दाउरा खोज्न जङ्गल पस्छन्ए
काबिहानै गहुँ र मकैका सातु होप्च्याएर
गत्तिलो भारी घॉंस ल्याइवरी
गोठका धन्धा सिद्ध्याउँछन्।
यो सङ्कलनको अर्को खास विशिष्टता हो, प्रत्येक कविको परिचय, तिनीहरूका पेसा र लेख्ने झुकाव बारे अनुवादकहरूको टिप्पणी। कविहरूका फोटो रहेकोले परिचयहीनताको पर्दा सजिलोसँग च्यातिन्छ यहाँ। अनुवादकहरूले लेखेको कवि परिचयबाट हामी थाहा पाइहाल्छौं कि जुन कविहरुको कविता हामी पढीरहेका छौँ, उनीहरूको हरदर उमेर २८ वर्ष रहेको छ—कतिले  भर्खरै ३० हिउदो पार गरेकाछन्। 
चाखलाग्दो आवरण चित्र र छरितो आकारको कविताको यो किताब एकदमै सराहनीय छ। अनुवादहरू पनि एकदमै अनौठो। आवरण चित्र अमिर सुनदासले बनाएका छन्। अनुवादक राजा पुनियानी र शमीक चक्रवर्ती। सहायतामा टीका'भाइ’, लेखनाथ छेत्री अनि संगीता सुब्बा। राजा पुनियानी, टीका'भाइ’ अनि लेखनाथ छेत्री यो कविता सङ्कलनमा लेख्ने कविहरु पनि हुन्। यो किताबको प्रथम संस्करण सकिएपछि एक महिना भित्र नै दोस्रो संस्करण प्रकाशित भएको छ। यो किताबको बहुल प्रचारको आशा छ। 
आजकेर उत्तर
दार्जीलिङको नयाँ पिडीको कविहरुका नेपाली कविताको बंगला अनुवाद सङ्कलन। 
प्रकाशक—लाली गुरास, दार्जीलिङ। २० रुपियाँ।

संस्कृति र परम्परामाथि पुँजीवादको अतिक्रमण


लीलाबहादुर छेत्री 

सांस्कृतिक भूमण्डलीकरणको जालोमा फसाएर श्रमजीवीवर्गलाई मानसिक दासताको भारी बोकाउने र पसिना चुस्नमा कुनै कसर बाकी नराख्ने पुँजीवादी व्यवस्थाले पछिल्ला केही दशकदेखि यता आफ्नो रणनीतिमा परिवर्त्तन ल्याएको देखिन्छ। प्रत्यक्ष उपनिवेशवादी रणनीतिबाट पछि हट्नै पर्ने स्थिति अघि आए पछि यस रणनीतिको अवलम्बनतिर पुँजीवाद ढल्किएको हो। रणनीतिका पाटोहरू जस्तोसुकै भएपनि त्यसले श्रमजीवीवर्गकै खेदोपाइलो गरिआएको र उनीहरूकै खुन पसिनामा मात्रै लहलह भएर झ्याङ्गिएको यो पुँजीवादले विभिन्न माध्यम हुँदै अहिले आएर अपनाएको रणनीति हो मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्ने निहूमा पसिना खुन चुस्ने नयाँ र सहज मार्ग। जसलाई श्रमजीवीवर्गको पसिना चुस्नसम्म आइपुग्ने केही घुमाउरो मार्ग मान्नसकिन्छ। पुँजीवादी व्यवस्थाको विभिन्न एजेन्टहरूद्वारा अहिले यो कार्य विश्वमै सम्पन्न भइरहेको देखिन्छ। पूर्वदशकहरूमा सत्ता, शक्ति र सीमित शाषण क्षेत्रद्वारा होस् या विभिन्न स्तरका एजन्टहरूद्वारा अहिलेको यो नयाँ मार्ग अवलम्बन गर्नमा पुँजीवादी व्यवस्था उद्धत देखिन्छ। धेरैले यसलाई सामन्ती व्यवस्थाकै अर्को स्वरूप समेत मानेका छन्। पुँजीवादी व्यवस्थाको आधुनिक तथा अत्याधुनिक स्वरूप दुवैले नै श्रमजीवीवर्ग (जो संसारको विभिन्न क्षेत्रमा रहेर आफ्नो मौलिक परम्परा र संस्कार संस्कृतिको अनवरत गतिसितै प्रगतिपथमा अघिबढ्ने प्रयासमा सङ्घर्षरत छन् )माथि आफ्नो विरोधीसमेतलाई अमानवीय तरिकाद्वारा परास्त गर्दै सांस्कृतिक भूमण्डलीकरणको पासो फ्याक्दै आएको हो। अहिले आएर भने यो पुँजीवादी व्यवस्थाले श्रमजीवीवर्गको विभिन्न मौलिक संस्कृति र परम्पराहरूको संरक्षण गर्ने निहूको नयाँ धारिलो हतियार एउटा हातमा लिएर अनि अर्को हातमा भने पुरानै सांस्कृतिक भूमण्डलीकरणक लिएर आक्रामक शैलीमा अगाडि बढिरहेको देखिन्छ । जसलाई पुँजीवाद व्यवस्थाको विरोध गर्ने तप्का र समाजवादका हिमायतीहरूले चर्चा गर्दै श्रमजीवीवर्गलाई सचेत गराउने प्रयास शुरु गरेको देखिन्छ। 
शुरुशुरुमा पुँजीवादले सांस्कृतिक भूमण्डलीकरणद्वारा विभिन्न मौलिक संस्कृति र परम्परालाई जरैदेखि उखेलेर एउटै लहरमा उभ्याएर आफ्नो बजार व्यवस्थालाई दह्रिलो बनाउने कैयौ कुप्रयास गरेको हो र यस दिशामा यो पुँजीवाद सशक्त र सफल पनि देखिॅदै आएकोछ। विशेष गरी मौलिक परम्परा र संस्कृतिमा स्वतः:स्फूर्त जिउने वर्गलाई असभ्य र निम्नस्तरको जीवनशैलीमा जिइरहेको भ्रममा धकेल्ने वातावरण सृजना गर्ने असङ्ख्या संशाधनहरूलाई विश्वव्यापीकरण पनि गरिरहेको देखिन्छ। अहिले आएर यो रणनीतिमा केही फेरबदल गरी विभिन्न वर्गका मौलिक संस्कृति र परम्पराको संरक्षणको नौटङ्की देखाउॅदै आममानिसहरूलाई उसरी नै लुट्ने र चुस्ने कामलाई जारी राखेको देखिन्छ। विभिन्न सञ्चारमाध्यमको अत्याधिक प्रयोग गर्नु पुँजीवादको प्रकृति हो । मौलिक परम्परा र संस्कृतिमा घुलमिल हुँदै जिउनेहरूलाई अत्याधुनिक जीवनशैलीको प्रलोभन र आशक्ति देखाएर प्रभावित बनाउॅदै आएको छ। यस व्यवस्थादेखि निरपेक्ष रहने सञ्चारमाध्यम र सञ्जालहरूलाई पनि वशमा ल्याउने षढयन्त्रमा उत्तिकै सक्षम रहॅदै आएको देखिन्छ। शुरुमा महानगरतिर हाबी भइसकेको यो पुँजीवाद व्यवस्था र मानसिकता यतिखेर यही सञ्चार र अरू विभिन्न माध्यम हुँदै ग्रामीण इलाकासम्म पनि पुऱ्याइसकेको देखिन्छ। यस्ता कार्यमा अहिले मर्चेन्ट क्यापिटलिस्ट पोलिसी अर्थात् व्यापारमा आधारित पुँजीवाद व्यवस्था अग्रसर देखिन्छ। जसको उद्धेश्य हो श्रमजीवर्गबाट पसिना चुसेर तेब्बर चौबर मुनाफा कमाउनु अर्थात् श्रमजीवीवर्गलाई दासत्वको मानसिकताबाट बाहिर आउने अवसर नदिनु । यसका धेरै उदाहरणहरू छन् । 
हाम्रो समाजमा वर्षौदेखि यता सम्पन्न गरिॅदै आएको केही धार्मिक अनुष्ठान र सांस्कृतिक चाड-पर्वहरूलाई अचेल मर्चेन्ट क्यापिटलिस्टहरूले सरासर तारो बनाउन थालेका छन्। ठुला महानगरदेखि लिएर सहरबजार र शहरी इलाकातिर मर्चेन्ट क्यापिटलिस्टहरू सक्रिय देखिन्छ । प्रमुख या सह-प्रायोजकको भूमिकामा अघि आएर प्रायोजनाको भूमिका निर्वाह गर्नथालेको छ। पुँजीवाद मानसिकतामा ठुला व्यापारी र ठेकादारीदेखि लिएर साना व्यापारी र ठेकादारसमेत मौलिक संस्कार र परम्पराको संरक्षणको बेडा थामे झैँ गर्न अघि आएको देखिन्छ। साम्यवादी दृष्टिकोणमा हाम्रो समाजमा सम्पन्न गरिने प्राय:जसो अनुष्ठान वा चाड पर्व र महोत्सवहरू सामन्तवादी पुँजीवादमा रिङेरै हुर्किॅदै आएको मानिए तापनि त्यसमा बढी मौलिकताको रङ घोलिॅदै आएको देखिन्छ। जसले श्रमजीवी वा निम्नवर्गलाई त्यस्ता चाड-पर्व र महोत्सवहरूले प्रदान गर्ने सामाजिक मूल्य र मान्यतामा प्रत्यक्ष खलल आउनथालेको कुरो प्रकट हुनथालेको छ। 
ठूल्ठूला पण्डालको निर्माण र आयोजनामा सम्पन्न गरिने विभिन्न समुदायका मौलिक चाड-पर्व र महोत्सवहरूमा व्यापारमा आधारित पुँजीपतिहरू प्रमुख तथा सह-प्रायोजकको भूमिकाको निर्वाहमा लागिपर्न थालेपछि निम्न (विशेष गरी श्रमजीवी) वर्गका त्यस्ता आयोजनाहरूमा रहिआएको प्रत्यक्ष भागीदारीको महत्त्व र मान्यतालाई कमजोर हुनथालेको देखिन्छ। त्यसरी श्रमजीवीवर्गको भागीदारीको महत्त्वलाई गौण पारेपछि आफूहरू यस क्षेत्रमा शीर्षस्थ रहने कोसिसमा पुँजीपतिहरू जुट्नथालेका हुन्। आफ्नो मौलिक चाड-पर्व र महोत्सवहरूलाई अक्षुण्ण राख्नलाई अनुदान सङ्ग्रह र सामूहिक कार्यमा एकजुटता देखाउने वर्गलाई यो प्रक्रियाले निर्बल पार्न थालेको देखिन्छ। नेपाली संस्कार संस्कृतिमा पनि यसले जरो गाडिसकेको देखिन्छ। देउसी भैलो,शक्तिपूजा चाड-पर्व र संस्कृतिक महोत्सवहरू आदि जस्ता महत्त्वपूर्ण मानिएका मौलिक परम्परा पनि सम्पन्नहरूकै सिॅयालमनि सीमित रहनथालेको देखिन्छ। जसलाई पुँजीवाद मानसिकताको रूपमा फलाउने फुलाउने काम भइरहेको ज्वलन्त उदाहरणको रूपमा चर्चा गर्नसकिन्छ। यो मानसिकताको शिकार हुनबाट मौलिक संस्कृतिको गरिमालाई जोगाउन आउदा दिनमा गाह्रो पर्ने सम्भावना प्रबल भएर जादैछ।

बन्दी उडान


टीका'भाई'

जसो-तसो म आफै पनि खाना बनाउन सक्छु। तर श्रीमतीको हातले पकाएको खानाले मात्र मन, पेट र मुखलाई तुष्टी दिन्छ। एस्तो तृप्ति संसारको कुनै होटल वा कुनै भोजमा भेटिन्न। यस्तो आनन्दको मात्र आशा राख्नु भनेको लैङ्गिक दोष हो। बेला-बखत मैले पकाएको खानाले पनि त्यही तृप्ति दिन्छ दिँदैन तर कोसिस गर्छु। धेरैमा केही चोटि स्वाद मानेर उनले पनि खाईदिँदा आफै मक्ख परेको पनि याद छ। मैले मिठो मानेर खपाखप खाना खाँदा हेरीबस्छिन् अनुहार। आफूले पकाएको खाना अरूले मिठो मानेर खाइदिँदाको पनि अर्को स्वाद रहेछ। यो चाँही धेरै कम मात्र बटुलेको छु। स्कुल पढ्दा, घरदेखि टाडो बस्दा आमाको हातले पकाएको खानाको सम्झना अद्भुत हुन्थ्यो। यो सबै कुरा हुन्छ त एउटा घरभित्र हुन्छ।
घरदेखि उडेर टाढा पुगेका दाजु-भाइ, दिदी-बहिनी, साथीहरू हेर्छु अनि तिनको ठाउँमा राखेर कल्पना गर्छु आफूलाई। कसरी बसेका छन्?- खाना खानु नि सक्छन् के?- उनीहरूले मनमा घरको स्वाद र तिर्सनालाई कसरी मारेर बस्छन् होला?
खाली हुँदैछ अचेल कमान, बस्ती, शहर।
आफ्नो ठाउँमा फल्ने दुख र दुख दिईबस्ने सपना बाहेक अरूथोक भेट्दैनन्। संसारभरि कै गरिब मुलुकका मानिस, तरुनी-तन्नेरी परदेशकै सपना देख्छन्। छ वर्ष-दस वर्ष-पन्द्रह वर्ष। उता खट्यो, ज्याला घर पठायो। 
उताबाट विदेश घुम्ने पर्यटकहरू धेर यता आउँछन्। यताबाट उता पसिना चुहाउन मात्र जान्छन्। ऋण लियो, जमिन बेच्यो, वा दुखले थुपारेको सम्पति हाल्यो परदेश लाग्यो फेरि उही दुख। त्यो चक्रको न अन्त देखिन्छ, न त्यसको साटो कुनै समाधान। न कुनै अधिकारको दाबी न कुनै महान् सहुलियत। परिवारको पेट अनि आफ्नै सपनाको पखेटाले उडीरहन्छ। जुन घर र जुन स्वादको सपना देखिन्छ त्यही घर र स्वादको मूल्य तिरेर उडीहिड्नु पर्ने।
तिसको नजिकतिर मैले नि सोचेँ यहाँ गर्न सकिने केही छैन। लागौँ कि परदेश। पहाडे गाउँ-बस्ती छिट्टै ओछ्यान पस्छ तर पिर पसेको घर निकै रातसम्म जागो बस्छ। सल्लाह हुन्छ राति। के गर्ने होला?-यतै काम खोज्ने कि के गर्ने?- भन्नुसाथ् जान मिल्ने ठाउँ या सुविधा कहाँ हुन्छ? कुन ठाउँले दैलो उघारेर'आइज कमा जा!’ भनेर उभिदिएको छ र? बाहिरिएर कमाउने चाँही कति?'मन तुलबुल गरे! कुनै निर्णय नलिनु! सोच्ने समय राख्नु या ठुलाबाट सल्लाह लिनु!’-सबैतिरबाट आएको कुरो यति नै। आफ्नो पखेटा काटेर घर बसेँ। तर घर नै बस्नु पनि ठुलो कुरा कहाँ हुन्छ? तलाव जमेको जस्तो जीवनमा कुनै सिर्जनात्मक हलचल या तुफान छैन भने त्यो काम लाग्दैन। केही गर्नुलाई पखेटा चाहिन्छ नै। तर हामी डुल्नु, घुम्नु, निस्किनु यो बाध्यताको साटो अरू महान् सपना भएन। न हामीले नयाँ देश र ठाउँ भेट्यौँ, न हामीले कुनै महान् अभियानकै हिस्सा। हामी बाहिरिनु या आफ्नै ठाउँमा जम्नु यी दुवैमा खास अन्तर भनेको एउटा-घरको तृष्णा र आफ्नो प्रियसितको साथ।
तर'साग-सिस्नु’ भन्दा परको अरू ठुलो सपनाको आख्यान कसरी लेख्नु? हाम्रो पखेटा, उडान र आकाशको आकारलाई बढाउने कसरी?
खानाखाईसकेपछी, लुगा-लगाई ऐना अघि पुग्दा देवकोटाको एउटा बिचारा'मदन’ भेट्छु, जसले मुना छोडेर भोट जाने आँट नै गरेन। 
तर यो मेरो प्रश्नको उत्तर होइन।

पाठकको पत्र

सेवामा,
      सम्पादिका, 
      लाली गुरास-पत्रिका,
      खरसाङ

संगीता जी नमस्कार,
राष्ट्रिय, आन्तराष्ट्रिय एवं आंचलिक हिसाबले वर्तमान भई आएका सर्वहारा वर्गको दमन, शोषण अनि अतिवादी/कट्टरपन्थीहरूद्वारा समाजमा व्याप्त बनाएको अराजक स्थितिको विरोध तथा चेतनाको फिलिंगो लिएर देखा पर्दै गरेको'लाली गुरास’ को क्रिया कलापले हामीलाई उत्साहित तथा गर्वान्ततित तुल्याएको छ। लाली गुरास आम जनतासित पुगिसकेको छ त्यसको प्रमाणस्वरूप अचेल हरेकको चर्चा साथै पुस्तक पसलतिर लाली गुरासको खोजाईले व्यक्त गर्दछ साथै मूल्य पनि कम रहेकोले पत्रिका लीनलाई कोही हिचकिचाउदिनन्। लाली गुरासले भन्न खोजेको अनि गर्न खोजेको आमूल सामाजिक परिवर्तनको सहयात्री हामी यतातिर पनि छौ भन्दा हर्ष लागेको छ।
म पेशाले एक उच्चतर विधालयमा शिक्षक हुँ अनि म मेरो आगत विद्यार्थीमा तपाइहरूले भन्न खोजेका समसामयिक विषय बस्तु, अन्यायको विरोध, जाति/धर्म/लिङ्ग आदि बारे कट्टरता, वैश्विक स्तरमा सर्वहारा मानिसको स्थिति आदि बारे बताउने गर्छु अनि विद्द्यार्थीहरूको दृष्टिकोणमा पनि कहीँ कतै परिवर्तन भएको अनुमान लगाएको छु। यो तपाइहरूकै प्रयास हो। तपाइहरूलाई धन्यवाद।
लाली गुरासमा निरन्तरता कहिले नटुटोस। तपाइहरूसित यहाँका हामी छौ तपाइहरूलाई हरतरफले सहयोग गर्न बस् लाली गुरास फूलि रहोस् पहाड़ भरी परिवर्तनको हुँकार लिएर।
नरेश कटुवाल
सोनादा, दार्जीलिङ

दार्जीलिङ्गे चेखव

राजा पुनियानी 

हल्लाले हल्लिएपछि
'अब हुने भयो राज सरको मूल्याङ्कन', कवि कर्ण विरह फेसबुकमा फ्यास्स फुरे। शब्दराज राजनारायण प्रधान सधैंलाई हराउनुभएको हल्लाले हुइँहुइँ हल्लियौं हामी। शोकाकुलहरूले व्याकुल लहरहरू लेख्तै गर्दा कर्णले चाहिँ आक्रोशजस्तै व्यंग्यजस्तै एक तिखो हरफ उफारे। बितेरमात्र मूल्याङ्कन हुने चलनलाई कसिलो थप्पड चड्याए। राज सर कहाँ छन्? कस्तो छन्? जिउँदो हुँदा विरलैले सोध्यौं। उनी बितेर गएपछि उनीमाथि सम्झाउनी लेख्ने मीठो होड चलेको छ। दार्जीलिङका जन्डा कवि केवलचन्द्र लामाले त हल्का विनोदी मुडमा भने पनि,'सरमाथि म पनि लेख्तैछु। मेरोबाट यति नै है भाइ।' उनको निधनले सबैलाई झकझकाइदियो। यही निहुँमा धमाधम भाषाको चमत्कारको खोजी हुँदैछ। संवादको दैलो उघ्रेको छ। 

मक्ल्क्क विचार। सर्लक्क भाषा। चिटिक्क आकार। सिनिक्क व्याकरण। चटक्क भनाइ। मटक्क टुंग्याइ। राजनारायणको भाषा। उनको शिल्प थारो छैन। विचार बाँझो छैन। शब्द भकभकिन्थेन। शैली लंगडाउँथेन। खासमा राजनारायणको भाषा हो खास भाषा। खाँट्टी भाषा। जनभाषा। जीवनको बान्की परेको। कलाको जलप चढेको भाषा। सिम्पल राजनारायणको गालामा हाँस्दाखेरि डिम्पल बस्थ्यो। सिम्पल राज–गद्यको गालामा पनि सौन्दर्यको डिम्पल बस्छ। छोऊँछोऊँ लाग्दो। हेरूँहेरूँ लाग्दो। पढूँपढूँ लाग्दो। 

राजनारायणका साहित्यिक सहयात्री गुरु इन्द्रबहादुर राईले भने,'लेखाइमा भाषा होस् त राजको जस्तो जिरे खोर्सानीझैं तिक्खर।''नौ नामी नेता'को भूमिकामा डा. कुमार प्रधानले भने,'राजको उत्कृष्टता यहाँको शैलीमा छ।' कवि विचन्द्र चित्तका शुद्ध राजनारायणलाई लेखनकलाका बुद्ध देख्छन्। नयाँ पुस्ताका प्रतिभावान् कथाकार छुदेन काविमो राजलाई गुरु मान्छन्। राज सर बितेपछि उनले लेखे,'एउटा सुन्दर डायरी, अब कहिल्यै पढ्न नपाइने भो।' समालोचक डा. दिवाकर प्रधानले लेखे,'उहाँको अध्ययन चानचुने छैन।' कवि मोहन ठकुरीले लेखे,'शब्दकोश छेउमा राखेर पढ्नुपर्ने भाषा उहाँको छैन। यो पहाडे खहरेजस्तो बग्छ।' पत्रकार देवेन्द्र भट्टराईले लेखे,'दार्जीलिङे राजनारायण कस्तो लेख्छन् भने सिकारीले मट्यांग्रा हुइँक्याएजस्तो।' राजनारायण प्रधानमाथि थेसिस लेख्दै गरेका प्राध्यापक विनेश प्रधान अरन्ठिन्छन्,'राज सरको गद्य सबैले राम्रो छ भन्छन्। तर के कारणले गर्दा, त्यो खोजिएको छैन।'राज रहस्य खोतल्दै धेरैले धेरै थोक भने पनि यो रहस्य अझ रहस्य नै हो। 

न विचार उधारो लिन्थे न त भाषा सापटी। जे लेख्थे, आफ्नै पाराले लेख्थे। जस्तो लेख्थे, जनताको कुरा लेख्थे। लेख्थे, मक्ख पार्थे। लेखेपछि लेखेका कुरा जनताको पारिदिन्थे। जनताको मनमा राज गर्ने राजनारायण भए। सखा–लेखकहरू भने जनतालाई ऐंठन पार्ने एलियन। राजनारायण थिए सक्कली लेखक। नेपाली साहित्यको खेतमा अर्ग्यानिक लेखनका आरम्भिक बीउ। जुन बीउ फुटेको छ टुसाएर। यता भारतमा विचन्द्र, दिवाकर प्रधान, छुदेन काविमो राजनारायणको गर्विलो संसार छन्। उता नेपालमा राजकुमार बानियाँ राजनारायणकै अर्का अवतार छन्। 

लो प्रोफाइलमा हाई प्रोफाइल लेखक
राजनारायणलाई लाग्थ्यो, पाठकलाई खुवाउनु हो भने सरल लेख्नुपर्छ। मान्छेले बोल्ने भाकामा। बुझ्ने भाषामा। उनका एक एक लेख भए हट–केक। उनी भए साहित्यका माइकल ज्याक्सन। ज्याक्सनले देखाए मुन-वाक। राजले देखाए राज-वाक। समाजका भक्कानोहरू, हिक्काहरू, खोकीहरू, ऐंठनहरू, आइय्याहरू, आत्थाहरू, भौंप्वालहरूदेखि उनको लेखनीले कहिल्यै मुख फर्काएन। बुझ पचाएन। वरिपरिकै लोकल विषय टिपे। टिपेर समाजलाई नै दिए। समाजमा घाउ छ। देखे। देखेको माने। घाउको झ्वामझ्वाम एक्स-रे खिचे। रोगअनुसार ठ्याकठ्याक दबाई पनि सुझाइदिए। 

कोही नाटक खेलेर हिरो भए। कोही गीत गाएर। कोही फुटबल खेलेर। राजनारायण लेखेरै दार्जीलिङका हिरो भए तर रहे चुपचाप। अदेख। अखोज। दार्जीलिङको साहित्याकाश झलमल्ल पार्ने लेखक अँध्यारो कुनामा बसेर कलमको टुकी बालिरहे। उनी थिए लो प्रोफाइल राख्ने हाई प्रोफाइल लेखक। विचन्द्रले लेखे,'उनी आफैँले आफैँलाई चिनेनन् पनि, जानेनन् पनि। धेरैचोटि उनी मर्दै बाँच्दै गरे।' उनी किन यसो गर्थे, यसका धेरै धेरै सिद्धान्त होलान्। उनी पुरस्कार, लबीबाजी, चाप्लुसीको टुमौटे संस्कारदेखि सदा टाढा रहे। एक ठाउँ राजनारायणले भनेका छन्,'त्यत्रो अजंगको लेख्ने देवकोटाले पुरस्कार पाएनन्, बरु तिरस्कार पाए। मैले पनि लेखाइबाट पुरस्कार मिल्छ कि भनी लोभिएर लेखिनँ। कसैलाई तेल धसेर, लबी गरेर, सुटुक्कै चोरबाटो भएर, आफू पुरस्कृत हुने घटिया चालचलनदेखि मैले आफूलाई बाह्रहाते टाँगो पर्तिरै राखेँ।' पुरस्कारको घिनलाग्दो खेलबाट बाहिर रहन उनलाई सघायो रक्सीले। निःस्वार्थी राजले आफूबारे, आफ्नोबारे, आफन्तबारे क्यै कुरा गर्दैनथिए। 

लबीबाजीदेखि कति तर्किन्थे, त्यसको एउटा उदाहरण एउटा घटना छ। दाज्यू भोटु प्रधानले फरेनबाट फाइन आर्टमा डिप्लोमा गरेका हुन्। यता निकै सम्मान पाउनुपर्ने। पाएनन्। यही गम बोक्थे उनी। दार्जीलिङे कथाकार गुप्त प्रधानले एक दिन भनेछन्,'उसो भए तपाईँ नै किन लेख्नुहुन्न उनीबारे?'उनले भनेछन्,'थेत, भाइले आफ्नै दाज्यूको बढबिढाइ गरेछ भन्छ नि।' गुप्तले भनेछन्,'तपाईँ लेख्नुस् बुँदाबुँदामा। त्यसैलाई उकासेर लेखेपछि म मेरो नाममा छपाऊँला नि त।' उनले भनेछन्,'विचार गर्छु।' निकै दिनपछि भेट भएछ।'लेख्नुभो?' सोधेछन्।'भाइ मैले लेख्नै सकिनँ हौ। एग्ज्याजेरेट हुन्छ होला सोचेर नि।' भनेछन्। 

राजका निबन्ध, कथा, जीवनी, समालोचना पढ्नेहरू उनको चामत्कारिक सरलता देखेर छक्क पर्छन्। बिछट्ट सुन्दर भाषाको कालिगढी देखेर फुरुक्क पर्छन्। पाठक रमाउँछन् जब भेउ पाउँछन्, नेपाली भाषा कत्तीसम्म सुन्दर हुनसक्ने रहेछ। राज थिए भाषाका जादुगर। यस्ता जादुगर जसले म जादुगर हुँ कहिल्यै भनेनन्। आत्मप्रदर्शनको ढोलझ्याम्टा पिटेनन्। आत्मश्लाघाको शंख फुकेनन्। उनी थिए सच्चा लेखक। आफूलाई लेखकभन्दा पनि बढी आममान्छे भएको दावा गरिरहे। यसैले पनि उनी भए पाठक संसारको सर्वोच्च पुरस्कारका प्रापक। अकादमीय पुरस्कारले उनको गल्ली चोरिरह्यो। संघसंस्थाले उनको अनुहार बिर्सिरह्यो। उनी फटाफटी लेखिरहे। जनताको मनमा सुतुसुतु घुसिरहे। यही थियो उनको जित। जीवनको गीत। अकादमीहरूदेखि पर। हल्लाहरूदेखि टाढा। उनी हाल्थे फर्म र कन्टेन्टमाझ मिल्दो बाटो। भाषा र विचार सुहाउँदो पुल। उनी थिए शब्दका कालिगढ। भाषाका इन्जिनियर। 

पपुलर वा पप लेखनका हस्ती राजनारायण पनि थिए। पप लेखनमा प्रकाश कोविद, सुवास घिसिङहरूको नाम पहिलो लहरमा आउँछ। राजनारायणको नाम पनि आउँछ। तर उनी थिए दामी पपुलर लेखक। उनको लेखनी बजारु, सस्तो र घिसापिटा होइन। उनी ठहरिए सिरियसली पपुलर लेखन गर्ने लेखक। उनको लेखनले समाजलाई होसियारी गराइरह्यो। हँस्यौली-ठट्यौलीको कुनाकाप्चाबाट पनि जरुरी सन्देशको फित्कौली हानिरह्यो। 

राज सिग्नेचर स्टाइल
पहिले फुरुक्क सर्कायो। लगत्तै गललल हँसायो। चिरिक्क चिमोट्यो। किक्रिक्क निमोठ्यो। तनक्क तन्क्यायो। फरक्क फर्कायो। बुरुक्क उफाऱ्यो। र लास्टमा प्लित्त चिप्ल्यायो। यही थियो राजनारायणको सिग्नेचर स्टाइल। 

रसियाली कथाकार चेखवको समकक्षी शैली। चेखवको सबाल्टर्न पात्रहरू मूल पात्र भएका कथाहरू'भान्का’,'लाटी’,'छेपारा’,'कारिन्दाको मृत्यु’ पढ्दा यस्तै फिल हुन्छ। राज यस्तै केही गर्न खोज्थे नेपालीमा।'काली केटी' यसको दर्बिलो उदाहरण। बङ्गलादेश नाकाबाट ल्याइएकी काली केटी राजनारायणको लेखनीको हंश भयो। समाजको दलित तब्काको प्रतिनिधि पात्र मान्दा हुन्छ काली केटीलाई। राजनारायणको घरकी सेविका। उसलाई राजनारायणको कलमले सबैको मुटु र गिदी दुवैतिर हुलिदियो। पत्रकार विमल राईले लेखे,'कालीलाई माध्यम बनाएर हामीतिर छड्याएको उनको छड्केले हाम्रो मुटुमै भेट्छ।' केवलचन्द्र विश्वकै सर्वहाराको प्रतिनिधि पात्र मान्छन्'काली केटी'लाई। कालीलाई अमर पात्र बनाउने अमर सर्जक मान्छन् राज सरलाई। राजनारायण छोपिएको, हेपिएको, चुसिएको मान्छेको स्केच बनाउँछन्। उनीहरूको त्यो अवस्थाको चित्रण गर्छन्। हँसाउँदै झसंग पनि पार्छन्। चेखव पेसाले थिए चिकित्सक। राजनारायण थिए कमर्स शिक्षक। चेखवको वर्ल्स क्लास व्यंग्य र राजनारायणको दार्जीलिङे व्यंग्यमा छमकट्टै समानता छ विषय र पात्र-पात्राको। दुवैको क्राफ्ट सिम्पल छ। सिम्पल भएर पनि छ कालजयी। 

राजनारायणको भाषामा कतिसम्म चुम्बकशक्ति थियो भने एउटा चित्रकारलाई पनि उनकै भाषामा लेख्ने बनाउन सक्थ्यो। निकै अघि डुवर्सपुत्र चित्रकार÷मूर्तिकार अमिर सुन्दाससँग उनको चिठी संवाद भएछ। राजनारायणले लेखेछन्,'प्रिय अमिर, कस्तो छौ?नक्सा बनाउनु थियो। बनाउँछौ?-माया गर्ने, राज।' अमिरले लेखेछ,'सर, पत्र पाएँ। भक्कु रमाएँ। नक्सा बनाउँछु। कहाँ भेट्नु? कैले भेट्नु? आदर गर्ने, अमिर?'

काली केटी
राज सर काली केटीको कथा लेखेर फेमस भए। तर उनले उनकै घरमा काली केटीजस्तै पछिबाट गोरी केटी पनि राखे। डुवर्सकी। उनीबारे राज सरले नलेखी बिते। गोरी केटीबारे उनले लेखेका भए कस्ता लेख्थे होलान्। के लेख्थे होलान्, अमिरलाई लागिरहन्छ। दलित सुन्दरी। सोह्रवर्षे ख्रिस्तान केटी। नाम रिचेल। 

गणेशलाल सुब्बाको किताब बेच्न गए अमिर। दार्जीलिङको घरमा। अमिरले राज सरलाई भन्यो, ऊ त मेरी बैनी। अमिरले बैनीलाई भनिराख्यो,'यो घर नछोड्नू। अमिरले बयान गर्नै नसकिने दुःख पाएकी बहिनी रिचेललाई भनिराख्यो, तिमी यहाँ खुसी रहन्छौ। 

सरोकारी सर्जक
उनकै साहित्यिक डफ्फाका केही यात्रीले साहित्यमा प्रतिबद्धतालाई अछूत ठहर गर्दै थिए। उनीचाहिँ यही प्रतिबद्धताको प्रतिमानको घडेरी हाल्दै थिए। 

समाजमा के हुँदैछ, कसो हुँदैछ, गहिरो हेक्का राख्थे। कलम घोटिन्थ्यो घन्टौं कागजको एकोहोरो कारखानामा। समाजबाट कटेर लेखिएको एउटै पनि बगम्फुसे लेख आएन। मान्छेबाट टाढिएर रचिएको एउटै हाउडे गफ आएन। मान्छेले कति कन्निएर पनि नबुझ्ने उरन्ठ्याउलो-बट्यारिलो-पट्यारिलो खाले केही लेखेनन्। लेखे त बस् एकल हल्का पठनमै पानी परेपछिको आकाशझैं छर्लङ्ग बुझिने निबन्ध, कथा, जीवनी, समीक्षा, व्याकरण। राजनारायण थिए सामाजिक सरोकारी सर्जक। लेखकीय प्रतिबद्धताका परिचायक। निष्ठुरी, घोसे र एकलकाँटे हुनुको आरोपको जवाफमा राजनारायणले भनेछन्,'कसरी म त्यस्तो? भरिया, कुल्ली, मेहतर, हजाम, मोचीजस्ताहरूसित धरि नाठिठ्एर खानपान, उठबस गर्ने म कसरी निष्ठुरी। मलाई जे मन लाग्छ, त्यही गर्छु।'
किनाराको आवाज भट्याउने कवि मनप्रसाद भन्छन्,'राजनारायण सामाजिक सरोकारका लेखक हुन्। गम्भीर लेखनमात्र गरिरहेका भए सायद गम्भीर पाठकले चिन्थे होलान्। आमपाठकबाट टाढै रहन्थे होलान्। तर गम्भीर पाठकदेखि लिएर आमपाठकसम्म उनको पहुँच छ। यही उनको ठुलो प्राप्ति हो। हाइट पनि।'नेपाली अकादमी पत्रिका'को सम्पादकीयको एकांशलाई राजनारायण प्रधानको लेखन दर्शनको सारांश मान्दा हुन्छ,'भाषा दरिद्र छ भने साहित्यिक कृति राम्रो हुन सक्दैन। यसको अर्थ यो होइन शब्द-चातुरी नै सर्वस्व हो। कला जसले महत्वपूर्ण विचार बोकेको छैन, त्यो केवल पाखण्ड हो।'

राज र रक्सी
हरिभक्त कटुवाल, अगमसिंह गिरीपछि रक्सीबाज लेखक भनेर (बद) नाम लेखकको फेहरिस्तमा परे राजनारायण।'सधैँ बर्चहिलमा भेट हुन्थ्यो। बिहानै मगमग गनाउने भइसकेका हुन्थे', उनका समकालीन कथाकार समीरण छेत्री प्रियदर्शीले फोनमा भने। राजनारायणले आफैँ भने,'आईबी सर लागे चुचुरोतिर, म लागेँ भट्टी पसलतिर।'

सिलगढीको एउटा गल्लीमा अमिरलाई तीनचोटि भनेछन्,'तिमी पुलिस हेर ल।' कोकाकोला किनेर अमिरलाई दिए। फेरि मागे। आधा हाले। लोकल रक्सी र कोकाकोलाको कोक्टेल खाए। कार्यक्रम, सभा, गोष्ठीतिर विरलै उपस्थिति दर्ता गराउने राजनारायण गइहालेको खण्डमा पनि निस्किहाल्ने। छेउको भट्टीपसल खोजेर अड्डा जमाइसकेका हुने। मनप्रसाद लख काट्छन्, राजनारायणले रक्सी खाएको गुनिलो पक्ष पनि थियो। ठाउँठाउँ, गाउँगाउँ र गल्लीगल्लीका भट्टीपसलतिर बरालिँदा त्यतैबाट समाजलाई छिचोलेर चिन्थे। नजिकबाट हेर्थे। लेख्ने कच्चा माल टपक्-टपक् टिप्थे। उनको रक्सी दर्शन गणितज्ञ, खगोलविद् र कवि उमर खय्यामको रक्सी दर्शनसँग मिल्थ्यो जुल्थ्यो। हरिवंश राय बच्चनको'मधुशाला'सँग हातेमालो गर्थ्‍यो। 

रुबाइगुरु खय्यामले एक ठाउँ लेखे,'यो हरियो हाँगामुनि हातमा छ कविताको किताब र रक्सीको कचौरा, रोटीको टुक्रासँग छ तिम्रो साथ।' राजनारायणले जीवन र लेखनलाई यस्तै दार्शनिकताको हल्का उडान उड्न दिए। उनी न लेखनमा भारी भए, न त जीवनमा। भारी कुरालाई हल्का भनिदिने उदेकिलो कौशल उनको रक्सी दर्शनमै पनि लुकेको थियो कि। कसैमाथि हाबी नभएको सादा जीवन जीएर साहित्यमा कतै हाबी भएनन्। उनको यही सादापनले नै उनको शैली पछ्याउने बटुवाहरूको गोहो छाडिराखेको त पक्कै हो। 

बच्चनले'मधुशाला'को पहिलो भागमा लेखेका यो अंश राजनारायणकै लागि लेखेझैं लाग्छ:'धर्मग्रन्थले सबै जलाइसक्यो जसको भित्री ज्वाला र मन्दिर मस्जिद गिर्जा तोडसिक्यो, ऊ हो मतवाला र पण्डित, मोमिन, पादरीहरूको डोरीलाई चुँडिसक्यो र गर्नसक्छ आज उसैको स्वागत मेरो मधुशाला।'उनले रक्सी अम्मल खान्थे। उनको कलमले कैल्यै अम्मल खाएन।'जति नै माते पनि साहित्यमा उनी सिन्सियर लेखक हुन्' भन्छन् गुप्त प्रधान। 

आमा लेखक
कला जीवनका लागि कि जीवन कलाका लागि, यो कन्फ्युजन राजनारायणको लेखनले कहिल्यै भोगेन। उनी कलालाई जीवनको पक्षमा उभ्याउने समाजका शब्द-सिपाही थिए। कहिले उनी पात्रलाई डोऱ्याउँथे त कहिले पात्रले उनलाई डोऱ्याउँथे। तर जसैले डोऱ्याए पनि पाठकचाहिँ सधैँ सुमुसुमु पछ्याउँछ उनको ठमठम हिँडेको शब्दयात्रा। 

पूर्णेको जूनजस्तै टहटह बोल्थे उनका रचना। हाइवेको लरीझैं हुइँकिन्थे उनका वाक्य। सागरको ढेउझैं उर्लन्थे उनका विचार। गान्धीदेखि हिटलर, सांकृत्यायनदेखि देवकोटा, लेनिनदेखि लिंकन सबैलाई दार्जीलिङ भित्र्याउने श्रेय उनलाई नै जान्छ। जनताले बुझून् भनी उनी जटिलभन्दा जटिल विषयलाई पनि सरलभन्दा सरल शब्दखाजा बनाएर खुवाउँथे। जनताले खान्थे। पचाउँथे। हाँस्थे। गम्थे। ढुक्क हुन्थे। राज थिए जनताका आमा लेखक। 

लेखक सबै छन् तर भाषालाई लिएर यत्तिको जागो बस्ने लेखक सबै छैनन्। भाव बोक्ने गच्छे भएको लबज टिप्न उनी बकुल्लाले माछा ढुकेझैं गर्थे। शब्दको चातुरीले विचार ओझेल नपरोस् भनेर उनको लेखनी कुखुरे निद्रा सुत्थ्यो। विचारको पाण्डित्याइँले शैली नओइलोस् भनेर हमेस्सी उनको लेखनी हातमा पानी लिएर बस्थ्यो। उनी थिए कला र विचारको बिहे गराइदिने सच्चा साहित्यिक अभिभावक। जनताले जान्नुपर्ने विभूतिहरूबारे लेखिदिने अथक लेखक। 

कवि केवल राजनारायण बोरिङ व्याकरणलाई रोचक बनाउने प्रतिभा हुन् भन्छन्। विश्वकै श्रेष्ठ लेखकहरूको सूचीमा राजनारायण प्रधानलाई पार्ने आग्रह राख्छन् उनी। राजनारायणले काली केटीलाई सम्बोधन गरेर एक ठाउँ लेखेका छन्,'म मरेँ भने तँ रुन्छेस् काली?' दुनियाँ रोयो। काली केटी पनि रोई। साहित्यलाई सुविधासम्पन्न एलिट वृत्तको घेरोबाट फुत्काए। सर्वहाराको पेवा बनाइदिए। जनताको मनमा राज गर्ने राजनारायणको मूल्याङ्कन अब कहिले हुने हो? काली केटीले यसको उत्तर खोज्नुपर्ने हो।