Wednesday, September 7, 2016

अङ्क 18 : मई-जुलाई 2016


सम्पादकीय : मई-जुलाई 2016

हाम्रो पर्यावरण!

वाट्स्यापमा एउटा मेसेज आयो कि "एउटा मान्छेले एक दिनमा प्राय 3 लिटर अक्सिजन लिन्छन्। जापानको एउटा कम्पनीले हिसाब गरे अनुसार 1 लिटर अक्सिजनको दाम 700 रुपियाँ हो। त, 3 लिटरको दाम रु. 2100, यसको मतलब एक वर्षको खर्च पर्यो रु. 7,66,000 अनि एउटा मानिस यदि हरदर 65 वर्ष सम्म बाँच्यो भने अक्सिजनको खर्च हुन्छ प्राय 5 करोड रुपियाँ। अब, यही 5 करोडको अक्सिजन अहिले हामीले हाम्रो वरिपरि भएको रुखपात द्वारा निःशुल्क पाइरहेका छौ। त्यसैले आशा गर्छौँ कि तपाईँले यिनीहरूको आदर गर्नु हुनेछ साथै सङ्ख्यामा पनि यिनीहरूलाई बढाउनु हुनेछ।” 
5 जुन, विश्व पर्यावरण दिवस, धेरैवटा मेसेज, धेरै लेख, धेरै चर्चा तर जुन प्रकारको विकासको मोडेल देशले अप्नाई रहेको छ त्यो पर्यावरणको लागि त खुबै खतरनाक छ। जुन दरले मानिसको जनसङ्ख्या बढ्दैछ त्यो भन्दा द्रुतगतिमा रुखपात जङ्गलको सङ्ख्या घटी रहेको छ। गाउँ शहरमा र शहर नगरमा परिणत भइरहेको छ। जस्तो प्रकारले शहरीकरण बढ्दैछ, बाटोघाटो फराकिलो हुँदैछ तर त्यही अनुपातमा रुखपातको कटाइ चल्दैछ। सिलिगुडी बागडोगराको कैयौँ दशकदेखि विद्यमान रुखहरूको कटाइ फटाफट चलिरहेको छ एसियन हाइवेको नाममा। उत्तरायणको टाउनशिपको निम्ति चादमनी कमान उखेलियो रातारात त्यो सँगै कैयौँ रुखहरू काटियो र अन्तमा कंक्रिटको महल तैयार भयो जसले प्रदूषण बाहेक अरू केही दिंदैन। अर्कोतिर प्रदूषण सम्हाल्नको निम्ति चाहिएको रुखपात कम्ती हुँदै जाँदैछ। देशको सन्दर्भमा, विगतको 30 वर्षमा 23716 वटा औद्योगिक परियोजनाको लागि विशाल जङ्गल क्षेत्र हराइसकेको छ। हुनेखाने एउटै मानिसको घरमा दुई तीनवटा गाडी हुन्छ, प्रदूषणको अर्को कारण। 
पहाडकी रानी दार्जिलिङ, जहाँ मानिसहरू हावा-पानी बदलिनु, राम्रो स्वास्थ्य बनाउनुको निम्ति जाने गर्थे, त्यही पहाडकी रानीको दयनीय अवस्था देखेर मेरो मन कुडिएर आउँछ। दार्जिलिङको साघुरो बाटोहरू जम्मै मानिस र गाडीको भिडले खचाखच भरिएको छ। भूकम्पको केन्द्रमा स्थित आफूले थामिनसक्नु भारले थिचिएको पहाड दुखाइले चिच्याइरहेको छ। तर बिल्डिंग पछि बिल्डिंग बनाउने मानिसहरूले शायद यो आर्तनाद सुन्न सक्दैनन् कि? नत्र भने तिनीहरू आफ्नै चिहान किन खन्थे। सौदर्यको खानी दार्जिलिंगमा एउटा पनि पुतली देख्न नपाउनु कस्तो आश्चर्यजनक हो! यसैले त्यहाँको पर्यावरणको क्षय भएको बुझाउछ, कारण पुतली भनेको पर्यावरणको सूचक हो। पहाडको स्थिति भयावह हुँदै जादैछ भन्ने कुरामा अत्युक्ति हुने छैन। उत्तराखण्डमा के भएको थियो, कसरी बिर्सिन सक्छौँ हामी? 
त्यसैले यदि पर्यावरण दिवसमा केही गर्ने हो भने यी सबै विषयलाई रामरी नियाल्नु पर्ने छ र चाडो भन्दा चाडो काममा उत्रिनु पर्छ कारण चर्चा मात्रै गरेर केही हुने वाला छैन। पर्यावरणलाई हानि पुर्याउने ठुलठुलो परियोजनाहरू कर्पोरेट संस्थान र सरकार बाट तयार हुन्छ, त्यसलाई विरोध गर्नुपर्छ, रोक्नुपर्छ। अर्कोपट्टि, आफ्नै घर वरिपरि आफ्नै गाउँ घरमा पर्यावरण संरक्षणको बारेमा के गर्नु सकिन्छ त्यो सोचेर, त्यही अनुसार काम गर्नु थाल्नु पर्छ। नत्र भने चाडै हामी पनि किनेको अक्सिजनमा बाँच्न बाध्य हुनेछौं तर 5 करोड त सबैकोमा हुँदैन त्यसैले तिनीहरू मात्र बाच्नेछन् जसकोमा करोडौ रुपियाँ छ। यहाँ चाखलाग्दो कुरो के छ भने जसकोमा अहिले करोडौ रुपियाँ छ तिनिहरूनै आफ्नो स्वार्थपूर्तिको लागि पर्यावरणलाई दाउमा लगाई रहेका छन्, त्यसो त तिनीहरू आज पनि बाचिरहेका छन् भोलि पनि बाँच्नेछन् त हामी साधारण मानिसहरू आजै सचेत भएर किन पर्यावरणको रक्षाको निम्ति आवाज नउठाउनु? कारण भोलिको निम्ति आजै सोच्ने बेला आईसकेको छ।

मैले देखेको चे ग्वेभारा

अल्बार्टो ग्रानाडो

अल्बार्टो ग्रानाडो थिएँ अर्जेन्टिनीयन-कुबान बायोकेमिस्ट, डाक्टर, लेखक अनि वैज्ञानिक। वहाँ चे ग्वेभाराको 1952को मोटरसाइकल भ्रमणको साथी पनि थिएँ। 14 जुन चे ग्वेभाराको जन्मदिन थियो। चे ग्वेभारा लिएर जति हल्ला हुन्छ, वहाँलाई प्रोडक्टको विज्ञापनको हिसाबले उपयोग गरिन्छ, तर वहाँको जीवन अनि विचार के कस्तो थियो, त्यो बुझ्नको लागि हामीले यो लेख छाप्दैछौँ।

करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो। लाखौँका लागि त उ क्राइस्ट नै हो। उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन्। नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन्। तर, मेरा लागि चे केवल एक साथी हो, जसको नक्सा नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो। यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजसम्म अनुभव गरिहेको छु म। चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो। पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्योर। कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसथानामा भएको थियो। हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ। चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो। १७ वर्षीय यस केटाको अनुहारमा आफ्नो उमेर भन्दा बेसी उदासी र गम्भीरता ले भरिएको थियो। आँखा एकदमै चम्किलो तर, मान्छे भने अलि मैला मैला खालको। सम्पूर्णमा, उ एउटा प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो।
र, हामी खुबै मिल्ने साथी बन्यौँ। तर, चे सहज र सामान्य साथी भने थिएन। जिद्दी थियो, एकदमै जिद्दी। आफ्नो विश्वास र अडानमा एक छिट्टा यताउति नहल्लिने। उसले ठान्यो पछि ठान्यो, ठान्यो। माक्सवाद उसका लागि प्रथम र अन्तिम सत्य थियो। 
म उसलाई भन्ने गर्थेँ, 'साथी, बाँच्नका लागि सम्झौता पनि गर्नुपर्छ।' सम्झौता भन्ने शब्द सुन्नेबित्तिकै भडि्कने गर्थ्यो उ। सम्झौता, दासता, कायरता, पुँजीवाद, साम्राज्यवाद...चेले आजीवन घृणा गरेका शब्द हुन्। चे अर्कै तत्त्वले बनेको मान्छे थियो।
त्यो यात्रा जसले चेलाई चे बनायो
सन् १९५२ मा चे र म ल्याटिन अमेरिकाको भ्रमणमा निक्लने भयौँ। तिनताक अर्जेन्टिनामा हामी फुटबल र ट्यांगो नाच उत्कर्षमा पुगेको युगमा थियौँ। एक प्रकारले हेडोनिजम (भोग-विलासवाद) पनि उत्कर्षमै थियो। हाम्रो यो यात्राको उद्देश्य पनि साहसिक घुमफिर र रोमान्च नै थियो भन्न सकिन्छ। कमसेकम मेरा निम्ति त यस्तै थियो। सत्य, यो यात्राले चेको सोच र व्यक्तित्वमा भयानक उलटपुलट गराउला भन्ने मैले सोचेकै थिइनँ।
 मैले त्यतिबेला आठ सय डलरमा किनेको मोटरसाइकल ला पोदेरोसा चढेर निक्लियौँ हामी ल्याटिन अमेरिकाको यात्रा गर्न। यो मोटरसाइकल वास्तवमा ज्ञान र स्वतन्त्रता प्रतिको हाम्रो उत्सुकताको प्रतीक थियो।
अर्जेन्टिनाबाट चिली पुग्नेबित्तिकै हामीसँग भएको पैसा सकियो। अब हामी 'उठ् जोगी फट्कार छाला, जहाँ जाला त्यहाँ खाला' भन्ने स्थितिमा पुगेका थियौँ। तर, मान्छेहरूलाई हात लिन सक्ने चेको जादुमय कौशलका कारण हामी जहाँजहाँ पुग्यौँ, त्यहाँत्यहाँ हामीले मानिसका आतिथ्य पायौँ।
चिलीको लसएन्जेलस पुगेपछि भने ला पोदेरोसा हामीले मरम्मत गर्न नसक्ने गरी बिग्रियो। यो मोटरसाइकल हाम्रो प्राण थियो भने पनि हुन्छ। अझ, ला पोदेरोसासँग मेरो यति भावनात्मक लगाव थियो कि यसलाई यौटा कुनामा थन्काएर हिँड्नु मेरा निम्ति खुबै पीडादायी थियो। तर, यात्रा त पूरा गर्नु नै थियो। त्यसैले ढुङ्गा, घोडा, ट्रक, जे भेट्छ त्यसैमा सवार भएर हामीले अर्जेन्टिना, चिली, कोलम्बिया र भेनेजुएलाको यात्रा सम्पन्न गर्यौँच। ल्याटिन अमेरिकाको एकसरो भ्रमण गरिछाड्यौँ।
यस यात्राले हामीलाई ल्याटिन अमेरिकाले भोगिरहेको पीडा, अन्याय, असमानता र गरिबीसित भलिभाँती परिचित गरायो। अमेरिकी आधिपत्यले निम्बु निचोरे जस्तै शोषण गरेको थियो ल्याटिन अमेरिकालाई। यस यात्राले चेको अन्तरमा रहेको ज्वालामुखीलाई विस्फोट गराइदियो। अब चे शिरदेखि खुट्टासम्म तातो न तातो लाभा भएको थियो। म ठोकुवा गर्छु- यस यात्राले चेलाई चे बनाएको थियो।
यस यात्रामा परिआएका तितामिठा घटनाहरूको बयान गरिसक्नु छैन। हामी चिलीको इस्टर द्वीपमा पुगेका थियौँ, त्यहाँ महिलाको सङ्ख्या अत्यधिक थियो। एउटै मानिसका एघारवटासम्म पत्नी हुन्छन् रे भन्ने सुनेपछि हामी त्यता हानिएका थियौँ। अतिथिहरूको मानमनितो पनि गज्जबले गरे इस्टरवासीले। 
हामी जतिजति घुम्दै जान्थ्यौँ, त्यतित्यति हाम्रा मानिस माथि गरिएका अन्यायले हाम्रा आँखा खोल्दै जान्थे। अमेरिकाले चिलीमा चलाएको यौटा टिन खानीमा पुगेका थियौँ हामी। यस खानीमा काम गर्ने अधिकांश मजदुर सिलिकोसिस भनिने रोगले ग्रस्त थिए। सिलिका भनिने बालुवामा पाइने कणयुक्त हावामा सास फेर्दा फोक्सोमा नराम्रो क्षति गर्ने रोग हो यो। लगभग मृत्युको मुखमा पुगेका मजदुरहरूलाई अमेरिकाले यसरी रात-दिन जोतेको देखेर चे रिसले पागलजस्तै भएको थियो।
यसै यात्राका क्रममा सान पाब्लो भन्ने ठाउँमा कुष्ठरोगीहरूको बस्तीमा काम गर्न पुगेका थियौँ हामी। यस बस्तीमा जानलाई यौटा विशाल नदी तर्नुपर्थ्यो। नदी तर्नै नसक्ने गरेर उर्लिएको थियो। नदीपारि केही कुष्ठरोगीहरू हामीलाई पर्खिरहेका थिए। डाक्टर अर्थात् हामी (तर, चे डाक्टर भइसकेको थिएन) आउँदै छौँ भन्ने खबर पाएर उनीहरू भयङ्कर खुसी भएका थिए किनभने कुष्ठरोगीहरूको बस्तीमा डाक्टरहरू प्रायः जाँदैनथे। त, हामी वारि, उनीहरू पारि! रातको समय। 'म त तर्न सक्दिनँ, तँलाई मर्न मन लागेको छ भने तर्' भनेर म नदीको किनारमा लम्पसार परेँ। चेले अघिपछि नसोची पानीमा हामफाल्यो र पुग्यो पारि। किनारमा बसेका कुष्ठरोगीहरूले उसको यस्तरी स्वागत गरे, मानौँ उ उनीहरूको मसिहा थियो। मैले भने नदीमा पस्ने हिम्मत गर्न सकिनँ। ढुङ्गा चढेर पार गरेँ।
त्यस बस्तीका मानिसका उपचारमा हामी दिनरात खटियौँ। भोक-तिर्खा सब कुरो बिर्सेको थियो चेले। 'अब तिमी पक्का फिल्यान्थ्रोपिस्ट (परोपकारी) भयौ,' म उसलाई भन्ने गर्थेँ। 'फिल्यान्थ्रोपि्रस्ट भनाउँदाहरू ढोँगी हुन्छन्। म त क्रान्तिकारी हुँ,' ऊ हाँसेर भन्ने गर्थ्यो।
हाम्रो यो यात्रा नौ महिनापछि भेनेजुएलाको राजधानी काराकासमा पुगेर टुंगियो। तर, त्यस यात्राको धङधङी र त्यस यात्रामा हामीले हासिल गरेकेा राजनीतिक चेतना र क्रान्तिकारी प्रखरता भने जिन्दगीभर रहिरह्यो। म कुष्ठरोगसम्बन्धी थप अनुसन्धान गर्न काराकासमै बसेँ भने चे डाक्टरी पूरा गर्न बुएनस आयर्स गयो।
सन् १९५९ मा क्युबामा क्रान्ति सफल भएपछि चेले मलाई क्युबा बोलायो। क्युबा वास्तवमा मेरो सपनाको देश थियो। क्युबा यस्तो देश थियो, जहाँ मानिस वैज्ञानिक या कलात्मक दृष्टिले आफूलाई उन्नत बनाउन लागि परेका थिए। उता, सिङ्गो विश्व भने भोग/उपभोगबाहेक केही सोच्नै नसक्ने भएको थियो।
क्युबामा मैले सान्टिएगो स्कुल अफ मेडिसिन स्थापना गरेँ। लामो समयसम्म मैले यसमा काम गरेँ। हाल म क्युबामा रिटायर्ड जीवन बिताइरहेको छु।
चे ग्वेभारा स्वभावैले साहसी मान्छे थियो। ऊ कहिल्यै कसैसामु झुकेन। 'म कसैका अगाडि घुँडा टेक्ने मान्छे होइन। तिमीहरू केवल यौटा मान्छेलाई मारिरहेका छौ। म भनेकेा विचार हुँ,' बोलिभियामा हत्या गरिनुअघि उसले यसो भनेको थियो अरे। उसले सत्य बोलेको थियो, बिल्कुल सत्य। मैले सुनेअनुसार सिआइए समर्थित बोलिभियाली राष्ट्रपति रेने बारिएन्तोसले चेलाई मार्ने आदेश दिए पनि उसलाई गोली ठोकेर मार्न बोलिभियाली सैनिकले हिम्मत गर्न सकेनन्। अन्तमा एक मथ्थु अफिसरलाई पैसाको लालच देखाएर चेलाई गोली ठोक्न लगाइएको थियो रे।
उसको हत्या भएको दिन म दुई कारणले रोएँ। पहिलो- एउटा सबभन्दा नजिकको, सबभन्दा आत्मीय मित्रको वियोगले गर्दा। दोस्रो- १९५२ को यात्रा थाल्नुअघि 'तपाईँहरूका छोरालाई सकुशल फिर्ता ल्याउनेछु' भनेर चेका बाबा-आमालाई गरेको प्रतीज्ञा पूरा गर्न नसकेकोले गर्दा।
क्यास्ट्रोसँग खटपट परेका कारण उसले क्युबा छोडेको हो भन्ने एकथरीको भनाइलाई म स्वीकार गर्दिनँ। चे यति विशाल थियो कि उ न डाक्टरी पेसामा अटाउँथ्यो, न अर्जेन्टिनामा, न क्युबामा। उ सारा संसारमा क्रान्ति गर्न हिँडेको थियो।
म चेका दुई गुणबाट कायल थिएँ। उसको इमानदारी र नकारात्मक चिजलाई सकारात्मकमा रूपान्तरण गर्न सक्ने क्षमता। आजको युवापुस्ताले उसलाई किन अनुसरण गर्नुपर्छ भने उ आफूले सही र उचित ठानेको चिजका पक्षमा आजीवन लडेको थियो र त्यसैका लागि उ मर्यो पनि। समयसँगै धेरैभन्दा धेरै राष्ट्रहरू भ्रष्टहरूबाट शासित हुँदै जाँदा चेको क्रान्तिकारी व्यक्तित्व झन्झन् विशाल र महान् हुँदै गयो। उ यस्तो मानिस थियो हो, जो आफूले गरेको काममा आफ्नो भएभरको क्षमता लगाउथ्यो र जसको यो प्रवृत्ति सदा स्मरणीय र अनुकरणीय छ।




विधानसभा चुनावमा 'नोटा' फ्याक्टर

कपिल तामङ

जनता र गणतन्त्र— यो दुइवटा शब्द राज्य सत्ताको प्रमुख कुराहरू हुन्। राज्यसत्ता, जुन पुँजीवादी तथा सत्ताधारी व्यवस्थाको हितमा काम गर्छ, त्यस सत्तालाई चलाउन गणतान्त्रिक स्तम्भहरू छन्, जसमा एक हो चुनावले बनाएको विधानसभा र लोकसभा जस्तो सभाहरू। चुनावबाट चुनिएका नेतृत्वहरूले जनताको आवाजलाई अघाडी लान्छ अनि जनताको हितमा नीतिहरू तयार गर्छ भन्ने दावा सुन्नमा आउँछ। कति राम्रो प्रक्रिया सोच्दा तर के साच्चै यस्तो हुन्छ र? पुँजीवादको हितको सुरक्षा यस राज्य सत्ताको प्रथम प्राथमिकता हो त्यसैले नीति, कार्य अनि सञ्चालन पनि पुँजीपतिहरूको हितमा नै हुन्छ। आज जनताको जुन प्रकारको गम्भीर स्तिथि छ त्यसले यस कुरालाई अझ स्पष्ट पर्छ। आम जनताको कुण्ठाहरू, विरोधहरूलाई कुल्चंदै अत्याचार अनि शोषणको यन्त्र बनेको छ गणतान्त्रिक राज्य सत्ता।
तर गणतन्त्रमा आस्था राख्न अनि मानिसहरूको “राम्रो दिन आउँछ” भन्ने आशालाई बरकरार राख्न प्रत्येक पाँच वर्षमा चुनाव हुन्छ। चुनावी प्रक्रिया जत्तिको खराब तरिकाले नै सञ्चालित किन नहोस तर जनतामा यो आश्वासन छ्याप-छ्याप्ती हुन्छ की चुनाव हाम्रो गणतान्त्रिक अधिकार हो अनि चुनावबाट राम्रो परिवर्तन आउँछ। तर इतिहास साक्षी छ की चुनावले आम खटिखाने जनताको जीवनमा खासै ठुलो परिवर्तन ल्याउदैन। यसले केवल मानिसहरूको विद्रोहको आगोमा पानी हाल्ने काम मात्रै गर्छ।
एउटा राज्य सत्तामा चुनिएका नेता अनि मन्त्रीहरूले मात्र नभएर नोकरशाही, न्यायपालिका, पुलिस-मिलिट्रीहरूले पनि चलाउछन्। जरुरी अवस्था र प्रेसिडेन्ट रुल भएको बेला पनि देश एकप्रकार राम्ररीनै चलिरहेको हुन्छ। जसले के बुझिन्छ भने चुनिएको सरकारले मात्र देश चल्दैन अन्य स्तम्भहरू पनि छन् जसलाई चुन्ने अधिकार आम जनतालाई छैन। त्यसले चुनावलाई गणतन्त्रको हतियार मान्नु सठीक नहोला। 
यस सन्दर्भमा 2016 विधानसभा चुनावको प्रसङ्गलाई हेरौ भने पश्चिम बंगालमा तृणमूल काँग्रेसले बहुमत भोट पाएर सरकार गठन गरेको छ। परिवर्तनको नारा लाउदै आएको तृणमूलले बंगलमा सी.पी.एम ले भन्दा कम्ती शोषण गरेको छैन। “जुनै जोगी आए पनि कानै चिरुवा” भने झैँ चुनावबाट चुनिएका नेता अनि मन्त्रीगण सबैले नै हताश अनि निराश बनाएको छ। जसको परिणाम स्वरूप पश्चिम बंगलमा नोटाले (नोन ओफ दि अबोभ) 1.5%; सङ्ख्यामा 8.29 लाख भोट पाए। जसको अर्थ 8.29 लाख मानिसहरूले यस व्यवस्थाबाट आफ्नो निराशा, हताशा अनि विद्रोह जनाएको छ।
पाँचवटा राज्यहरू मिलाएर 16,69,268 भोटरहरूले 2016को विधान सभा चुनावमा नोटामा भोट हाले। पश्चिम बंगलमा मात्रै 8,29,930 भोटरहरूले नोटा चुने भने आसाम, तामिलनाडु, केरेला अनि पुडीचेरी मिलाएर 8,39,365 भोट नोटामा आयो। नोटा चुनावी प्रतियोगीहरूमा चौथो स्थानमा आयो। 2014 को लोक सभा चुनावमा पाँच लाख भोट नोटामा आएको थियो जसको 2016 विधान सभा चुनावमा 60% बडोत्तरी भएको छ।
 यदि हामीले उत्तर बंगालको दार्जीलिंग अनि जलपाईगुडी जिल्लामा हेरयौ भने 33,72,930 भोटरहरूमा 75988 भोट नोटाले पाएको छ। राज्यको 1.5% भन्दा बढी यस भेगमा 2.5% भोट नोटाले पाएको छ। प्रश्न उठ्न सक्छ किन यो आर्टिकल? हामीले लालीगुराँसको पक्षबाट 2016 विधान सभा चुनावमा नोटाको प्रचार गरेका थियौँ। त्यसैले स्टाटिस्टिक्स छोडेर हाम्रो पक्षमाथि कुरा गरौँ।

नोटा जनताले कसैलाई पनि नचुन्ने आधिकार हो। धेरैले प्रश्न गरे की नोटामा भोट हालेर के हुन्छ? भोट हाल्न नजानु र नोटामा के भिन्नता छ? नोटा ले के ठुलो परिवर्तन ल्याउछ र? यस्ता हिच्किचाहट अनि सन्देह हुँदा हुँदा पनि नोटा मा 8.29 लाख भोट जानुले जनता भित्र जन्मिएका कुण्ठा अनि निराशालाई जनाउछ। नोटा कुनै परिवर्तनको बाटो होइन, न यसले चुनावी प्रक्रियामा कुनै परिवर्तन ल्याउछ न सरकारमानै परिवर्तन ल्याउछ। अघि भने झैँ खाली चुनिएका मन्त्री अनि नेताले मात्रै समाज अनि राज्य सत्तामा परिवर्तन ल्याउन सक्दैन किन भने सत्ता नै पुँजीवादको हितमा छ अनि पुँजीवाद खटिखाने जनता अनि मजदुरको शोषण गरेर मात्रै बाँच्न सक्छ। त्यसैले यस सत्ताको चुनावी प्रक्रियामा भागीदारी लिएर परिवर्तनको सपना देख्नु असम्भव छ। 
के आजको परिस्थितिमा चुनावी प्रतिनिधिहरूले जनताको लागि केही जितेर आउँछ जस्तो लाग्छ तपाईलाई? के तपाई लोकसभा वा विधानसभा वा राज्य सत्ता भन्नाले त्यो बुझ्नु हुन्छ? हाम्रो मत अर्कै छ। आजको परिस्थितिमा कुनै पनि प्रगतिशील उमेद्वारले जनताको विरोधको आवाजलाई मात्र अग्रसर गरेर लान सक्छ त्यो भन्दा बेसी केही गर्न सक्दैन। संसदीय चुनावबाट केही जित्न सकिन्छ भन्ने भ्रमलाई तोड्न अनि सङ्घर्षको बाटोमा मात्र समाधान हुन्छ भन्ने विचारलाई अघि लाने काम गर्न सक्छ।
त्यसो भए किन नोटा? किनभने चुनावी प्रक्रियाको समय मानिसहरू सम्म पुग्न यस सत्ताको विरुद्ध आवाज उठाउन नोटा एउटा माध्यमको रूपमा काम गर्छ। नोटाको प्रचार सँग हामीले जन-असन्तुस्टी, जन-उभार अनि जन-सङ्घर्षको आवाजलाई अघि लाने काम गर्नेछौँ। नोटा मात्रै किन भोट बोयकट वा भोटमा खडा भएर पनि हामी जन-सङ्घर्षको आवाजलाई अघि लाने काम गर्नेछौ। यदि परिस्थिति अनि संदर्भले त्यस्तो मांग गर्यो भने त्यसो गर्नु पनि हिच्किचाउन हुँदैन। मूल कुरा के हो भने चुनाव वा चुनावी प्रक्रियाबाट केही समाधान खोज्नु हैन तर जन-सङ्घर्षको आवाजलाई अझै बलियो बनाउदै लानु नै हाम्रो लक्ष्य हुनु पर्छ। 
कसैकसैले त चुनाव बहिष्कारको कुरा गर्छन्। कुनै क्षेत्रीय वा विकासको माग लिएर बहिष्कार त ठाउँ ठाउँमा कत्ति हुन्छ हुन्छ र यसको मतलब के हो भने यदि तिनीहरूलाई बिजुली, बाटो, रोजगार इत्यादिको प्रावधान गरिदियो भने तिनीहरू भोट मज्जाले दिनेछन् अनि यस चल्दै गरेको व्यवस्थासँग खुसीसँग चल्नेछन्।
यहाँ त्यस्तो कुरा नगरेर सामान्यतया भोट बहिष्कारको कुरा गर्दा हामीलाई थाहा छ कि आजको परिस्थितिमा भोट बोयकट गर्ने स्थितिमा जनता छैन अनि भोटमा खडा हुने प्रतिनिधि जसले जन-सङ्घर्षको आवाजलाई अघि लान्छ त्यस्तो प्रतिनिधिको कमीले गर्दा हामीले नोटाको प्रचार गरेका हौ। भोट वहिष्कार गर्नेहरू भोट प्रक्रियालाईनै ध्वस्त पार्ने कोसिस गर्छन्, किनभने तिनीहरू अनुसार चालु राज्यसत्ताले दिएको व्यवस्था स्वीकार्नु हुँदैन, बरु तिनीहरू आफ्नै छुट्टै व्यवस्था कायम गर्न खोज्छन्। 
बोयकट र भोटमा अनुपस्थित हुनुमा भिन्नता छ। अनुपस्थिति भन्नाले भोट दिनु नजानु हो जो एकदमै निस्क्रिय तरिका हो। हामी यी दुईवटै विचार सँग सहमत छैनौ। बोयकट भन्नाले भोटको दिन भोट हाल्न नजानु हैन तर यस व्यवस्थाले दिएको चुनाव अनि चुनावी प्रक्रियालाई विरोध गर्दै चुनाव हुने प्रक्रियालाई बाधा दिनु अनि हुन नदिनु हो। यस्तो परिस्थितिमा आज हामी छैनौ अनि भोट नहाली घरमा बसेर पनि कुनै प्रकारको संदेश, विरोध वा विचारको प्रचार हुँदैन त्यसैले नोटा नै सठीक उपाय हो।   
नोटा चाहिँ यस व्यवस्था भित्र भएको एउटा अप्सन हो, थुप्रै मानवाधिकार सङ्गठनहरूले यस 'कसैलाई पनि मनपरेन' भन्ने अप्सन भोट मेशिनमा हुनपर्छ भनेर लामोसमयदेखि सङ्घर्ष गरेर यस अधिकारलाई लागु गराउन बाध्य गराएका छन्। 
अब, चुनावको बेलामा एउटा बाटो हुनसक्छ हजारौँ आश्वासन दिएर जनताको भोट जुटाएर सत्तामा बसेर जनविरोधी नीतिहरू लागु गर्नु, जुन बाटोसँग हामी परिचित छौँ। अर्को हुनसक्छ सङ्घर्षको प्रतिनिधि भएर भोट माग्नु, अनि निर्वाचित भएपछि त्यही आवाजलाई दह्रिलो बनाउनको लागि काम गर्नु। यस्ता शक्तिहरूको तर्फबाट जनतालाई आश्वासन अन्ततः दिनुहुँदैन। यस व्यवस्थामा सत्तामा बसेर जनताको पक्षधर शक्तिको तर्फबाट कुनैपनि आधारभूत सकारात्मक काम गर्ने उपाय छैन, किनभने यो व्यवस्था पुँजीवादीहरू द्वारा चलाइएको व्यवस्था हो।
नोटामा चाहिँ उम्मेदवारहरूबारे असहमति देखाउन अप्सन मात्रै टेक्निकली दिइएको छ, त्यसलाई तन्काएर व्यवस्था बारे असहमति देखाउनु यस अप्सनको अर्थलाई विस्तृत गर्नु नै हो। ठोस कुरा सङ्घर्षको प्रतिनिधित्वको हो। कुनै उम्मेदवार त्यसरी पनि उठ्न सक्छ। नोटा द्वारा असहमति व्यक्त गर्नु र संघर्षशील उम्मेदवार द्वारा व्यवस्था बारे असहमति देखाएर सङ्घर्षलाई अघि बढाउनभित्र विरोध छैन। नयाँ विचार, नयाँ सङ्घर्ष अनि नयाँ समाजको कल्पना हामी गर्छौँ अनि यस विचारलाई अघि लाने बाटो नै हो सङ्घर्ष। चुनाव सकेपछिको यस बेलामा त झन् सङ्घर्षको लागि आवाज उठाउनु र शपथ लिन बाहेक अरू कुनै अप्सन छैन। 

मुहम्मद अली : प्रतिवादको अर्को नाम

नुमा सुब्बा

[मुहम्मद अलीको मृत्युले मानिसहरूलाई उसको जो फ्रेजर अनि जोर्ज फोरमेन विरुद्ध भएको ऐतिहासिक बक्सिंग प्रतियोगिताको याद दिलाउछ होला तर उनको रेसिजम र युद्ध विरुद्ध बलियो आवाज पनि उल्लेखयोग्य छ। तर मुहम्मद अली अहिले आएर संसारको सबैभन्दा उत्कृष्ट खेलाडी मात्र भएर रहे उनको राजनैतिक अडानलाई मजाले छोपेर उनलाई निक्रिस्ट अनि जन उपभोग्य वस्तु बनाएर अघि राखियो]
“पुतलीझैँ उड्नु, मौरीले झैँ चिल्नु” यो प्रसिद्ध भनाइ मुहम्मद अली को हो। उनी एक होनाहार मुक्का योद्धा (बक्सर) मात्र नभएर, एक्टिभिस्ट पनि थिए। उनलाई 20औ शताब्दीको खेल जगतमा महत्त्वपूर्ण र ख्यातिप्राप्त व्यक्तित्वको रूपमा लिइन्छ। उनको करियरको शुरुवातदेखिनै अलीलाई रिंग बाहिर र भित्र पनि प्रेरणादायी र विवादास्पद खेलाडीको रूपमा लिइन्थ्यो। 
उनको जन्म 17 जनवरी 1942 मा लौइस्विल्ले, केन्टकीमा भएको हो। मुहम्मद अलीको पहिलाको नाम थियो कसियास मर्सिलुसक्ले जुनियर। आफ्नो प्रिय साइकल चोरी हुँदा 12 बर्षिया क्ले, लौइस्विल्ला प्रहरी अधिकारी जो मार्टिन कहाँ चोर लाई पक्राउ गर्न भनी पुगे। मार्टिन एक बक्सिंग प्रशिक्षक थिए। दुखी भएका केटाकेटीलाई पहिले लड्न सिक्नुपर्छ भनी क्लेलाई प्रेरणादायी सुझाउ दिए। 18को हुँदा क्ले ले आठवटा हार अप्नाई, सय वटा जीत हासिल गरिसकेका थिए। करिएरको शुरुदेखि नै 6फुट 3इन्चको क्ले ले आफ्नो शक्तिशाली ज्याब्स, खुट्टाको तीव्र गतिको संयोजन र निरन्तर ब्रग्गदोसियो र आत्मा पदन्नतीको कारणले “लौइस्विल लिप” को उपनाम सन्1960 ओक्टोबेर29 मा नै कमाइ सकेका थिए। यस्तै गरेर क्लेले फरवरी 25, 1964मा हेभी वेट चाम्पियन सोंनी लिस्टोंन(1932-1970) विरुद्ध जीत हसिल गरे। उनले पहिलो पटक आफ्नो “टाईटल शोट” प्राप्त गरे। सातौ राउण्डको शुरुमै घन्टीको जवाब दिन लिस्टों असफल रहे। र विश्वको हेभी वेट चाम्पियन क्ले बने। 
यसरी 1964मा उनको नाम कसियास मर्सिलुस क्ले जुनियर हुँदा उनी विश्वको हेभी वेट चाम्पियन बने। त्यसपछि अचानक नँया र अनौठो नाम भएको मानिसको रूपमा त्यो प्रतिष्ठा एक राजनैतिक अडानमा प्रस्तुत भयो। उनी क्ले नभएर अब मुहम्मद अली भइसकेका थिए। उनको अनुसार कसियास मर्सिलुस क्ले जुनियर एउटा कमारो या दासको नाम हो। जुन नाम उसले छानेको थिएन अनि त्यो उसलाई अब चाहिदैन। उनी आफ्नो स्वतन्त्र नाम मुहम्मद अली बाट चिनियोस भन्ने चाहन्थे। 
अप्रिल28, सन्1967मा अलीले यु.एस, आर्मी मा आफूलाई स्थापित गर्न इन्कार गरे। जसको कारण आफ्नो मेहेनत र पसिनाले कमाएको हेभी वेटको टाइटल, उ बाट खोसियो अनि आफ्नो करियरको पराकास्टमा उनलाई तीन वर्षसम्म बक्सिंग खेलबाट प्रतिबन्धित गरियो। तर आफ्नो सबै कुरा जोखिम मा राखी, दृढ संकल्पका साथ उनले आफूलाई भियेतनाम युद्धदेखि बाहिर राखे। 
लौइस्विल्ले को फेयर हाउसिंग र्यालीमा उनले आफ्नो कुरा यसरी सार्वजनिक गरे “किन तिनीहरूले मलाई वर्दी हालेर, मेरो घरदेखि 10000 माइल टाढा पठाई, भिएतनाम का काला मानिस हरूमाथि बारुद र गोली चलाउनु भन्दैछन् जबकि लौइस्विल्लेका तथाकथित निग्रोहरूलाई अझै पनि कुकुर जस्तै व्यवहार गरिन्छ र साधारण मानव अधिकारका कुराहरू पनि दिन अस्वीकार गरिन्छ। केवल गोरो छाला भएको मालिकहरूको को बर्चस्वलाई विश्वमा कायम राखी राख्नका लागि, एउटा गरिब देशलाई जलाउन चाहन्न र त्यहाँका मानिसहरूको हत्या गर्नका लागि यस सरकारलाई मदत गर्न 10000 माइल टाढा कदापि जादिन।” उनले अझ भने कि “अब यस्ता खराब कुराहरूलाई अन्त गर्ने दिन आइसक्यो। मलाई त्यस्तो अडान लिनको बद्ली करौडौ डलरको नोक्सानी हुने चेतावनी आएको छ। तर मैले भनिसके र फेरी भन्दैछु कि मेरो मानिसहरूको साँचो शत्रु यही छ। जो आफ्नो न्याय, स्वतन्त्रता र समानताको लागि लडीरहेका छन् तिनीहरूलाई बन्दी बनाएर, म मेरो धर्म, मान्छे वा आफैलाई ग्लानी गराउने काम कहिले गर्ने छैन। । यदि मेरो विचारमा यस युद्धले मेरा 22मिलियन मान्छेहरूलाई स्वतन्त्रता र समानता दिलाउन सक्ने थियो भने, तिनीहरूले मलाई यसरी ड्राफ्ट गर्नु पर्ने स्थिति आउने थिएन, म भोलिनै युद्धमा सामेल हुने थिए। म मेरो विश्वास माथि खडा भएर गुमाउनु केही छैन। यसैले म जेल जान तयार छु। आखिर हामी चार सय वर्ष सम्म पनि त जेलमै थियौ।” यसरी यो कालो शक्तिको मात्र दाबी होइन, यो एउटा बयान पनि हो, अन्तर्राष्ट्रिय एकताको बयान जसले थिचोमिचो मा परेकाहरूलाई सामूहिक प्रतिरोधको बाटो देखाउछ। 
उनलाई 20जुन 1967मा ड्राफ्ट नमानेको आरोपमा दोषी ठहरईयो। उनलाई $10000 को जरिमाना सहित 5 वर्षको जेल कैदको सजाय सुनाइयो। यति मात्र नभएर उनलाई तीन वर्षसम्म बक्सिंगमा प्रतिबन्द लगाइयो। यस दौरान पनि उनले भियेतनाम युद्धको विरुद्ध कलेज अनि क्याम्पसहरूमा प्रचार गरिरहे। 
 जब 1967 मा डा. मार्टिन लुथर किंगए भियेतनाम युद्ध विरुद्ध आवाज उठाए, त्यतिबेला मुख्य धाराका प्रेस र आफ्नै सल्लहाकारबाट पनि उनी आलोचित भए र उनलाई “विदेशी” मुद्दाहरूमा नबोल्ने सल्लाह दिइयो तर डा. किंगले आफ्नो अडानलाई न्यायसंगत ठहराउदै जन साधरणलाई भने-“ मुहम्मद अलीले भने झैँ हामी सबै काला, गहुगोरो र गरिब छौँ- अनि हामी सबै एउटै शोषणयुक्त समाजका शिकार हौ।”
जब नेलसन मण्डेला लाई “रबेन ऐलंड” मा कैद गरिएको थियो तब मुहम्मद अलीले उनलाई त्यस जेलमा कुनै भित्ताहरू नभएको महसुस गरायो भनेर उनले भने। 
जब लाउनदेस काउन्टी, एलाबामामा स्टुडेन्ट नन-भायोलेन्ट कोअर्डिनेटिंग कमिटी (SNCC) को कार्यकर्ताहरूले 1965 मा स्वतन्त्र राजनैतिक दलको गठन गरे त्यतिबेला प्रथम पल्ट यस दलले आफ्नो चिन्ह कालो प्यान्थर राखे अनि यसको मुनि स्लोगन लेखे मुहम्मद अलीको भाषामा “ हामी सबैभन्दा महान् हौ।”
जब बिली जीन किंगले खेलको क्षेत्रमा महिलाहरूको समान अधिकारको कुरा गर्दै थिइन्, मुहम्मद अलीले तिनलाई भनेका थिए, “बिली तिमी रानी हौ।” यस वाक्यले तिनलाई साहसी हुनुको आभास दिएको थियो तिनले बताइन्। 
प्रश्न छ कसरी? कसरी उ यस्तो विप्लवी विचार ल्याउन सफल भए? छोटकरीमा उत्तर यो हो कि उ अमेरिकाको विरुद्धमा खडा हुन सके...अनि विजयी भएर निस्किए। मुहम्मद अलीले यस्तो संस्कृति भएको देशमा जहाँ खेलकुद र हिंसा दुवैलाई पूजा गरिन्छ, जहाँ काला खेलाडीलाई त खुब सराहना गरिन्छ तर कालो छालालाई भने अपराध मानिन्छ, सशक्त हुनु के हो र साहसको परिभाषालाई सबैमाझ प्रचलित गरिदिए। उनको सडकको भाषण होस् वा रिंग भित्रको लडाई उनले सदा सत्य बोले परिणामको चिन्ता कहिले गरेनन्। 
उनी 26 अक्टुबर 1970मा बक्सिंग रिंग भित्र फेरी फर्किए। अर्को केही वर्ष सम्म मुहम्मद अली अमेरिकाको सबै भन्दा लोकप्रिय र सबै भन्दा प्रसंसनीय व्यक्तित्व बनी रहे। सन् 1984मा अली पार्किन्सन बिमारीको शिकार बने र खेल जगत बाट अवकाश ग्रहण गरे। 
पार्किन्सनको बिमारीले अलीलाई डरलाग्दो क्षति गयो उनी हिँड्न र बोल्न नसक्ने भए तर उनी आजीवन मानवताका संरक्षक भइरहे।   
जुन 3 मा 74 वर्षको उमेरमा अलीको मृत्यु भयो। लगभग 100000 जना मानिसहरू लौइस्विल्लेमा उनलाई बिदा भन्न भेला भएका थिए। संसारले उनलाई बक्सिंगको निम्ति साथै काला अनि शोषित मानिसहरूको निम्ति आवाज उठाउने साहसी योद्धाको रूपमा याद गर्ने छन्। 

भारतमा आधुनिक दासत्व


प्रियशिखा राई

दासत्वको इतिहास पल्टाएर पूर्व समयदेखि आधुनिक समयसम्म यो लगभग हरेक संस्कृति, राष्ट्रियता र धर्ममाझ फैलिएको छ। तर यसको सामाजिक, आर्थिक र कानुनी ढाचा भने विभिन्न ठाउँ र समय अनुसर भिन्न-भिन्न रहेको छ। दासत्व अथवा गुलामी दमनको सबैभन्दा खराब रूप हो जहाँ एउटा मानिसको कुनै पनि प्रकारको स्वतन्त्रता हुँदैन। आफ्नो शरीर लिएर होस् वा काम लिएर। पुँजी भएको मान्छेले नभएकोलाई पुँजी वृद्धि गर्ने एउटा यन्त्रको दर्जा मात्र दिएर निरन्तर शोषण गर्दै आएको इतिहास छ। यस व्यवस्थालाई समय अनुसार शासक वर्गले आकार दिदैं आएको छ र यस्तो दमनको शिकारहरू पनि एकै रूपमा शोषित हुँदै आएका छन् र भइरहेका छन्। शाषक वर्गको पनि केवल नाम र अनुहार बदलिएको छ, पहिला दास मालिक थिए भने आज पुँजीवादी छन्।
जब-जब अत्याचार र शोषण भएको छ आवाजहरू एक भई हक र अधिकार खोज्दै बाटोमा ओर्लिएकै छ। दासत्वको विरुद्ध पनि लडाई 16-17 शताब्दी देखि नै शुरु भएको हो। अफ्रिका-अमेरिकाको दासत्व खिलाफ 1688-को जर्मन टाउन क्वेकर प्रोटेस्ट पहिलो ठुलो विरोध थियो। लडाई जारी नै रह्यो। यसरि कैयौँ वर्षसम्म चलेको गुलामीको खिलाफ मानिसहरूले निरन्तर लडाई गरे फल्स्वरूप उन्नाइसौं शताब्दीमा आएर विभिन्न राष्ट्रहरूले दासत्व रद्द गर्ने ऐनहरू पारित गरे। 20 औ शताब्दीमा युनाईटेड नेसंन्सले वैश्विक दासत्वको खिलाफ विभिन्न घोषणाहरू गरे। यसै क्रममा भारतले पनि 1843 मा दासत्वमाथि Indian Slavery Act, 1843 द्वारा निषेध लगाए। 
आजको दिनमा विश्वभरि प्राय हरेक राष्ट्रमा दासत्वको खिलाफ कानुन छ। तर अरू अन्याय र शोषण विरुद्ध कानुन पारित गर्दैमा त्यसको अन्त र नयाँ बिहानी नआए जस्तै, दासत्व पनि अन्त भएको छैन। अहिले पनि विश्वभरि नै यो व्यवस्था चली रहेको छ। गरीब मानिसहरूको खून, पसिनाको बदलामा पुँजी एकत्र गरी नै रहेको छ। त्यसैले मालिकवर्गको पुँजी गठनको लागि दासत्वलाई सामाजिक ढाचाको परिवर्तन सँगै अलिकति घटबढ गरेर जारी राखिएको छ। आधुनिक गुलामी विश्व भरि बाध्य श्रम, मानव तस्करी, व्यावसायिक यौन शोषण, बाल श्रम, घरेलु सेवा, आदिको रूपमा जारी छ। अनि यो सुची अझ लामो बनिन सक्छ। 
2013 साल देखि गालअप र वाल्क फ्री फाउंडेशन-ले वार्षिक वैश्विक सर्वेक्षण सञ्चालन गरेर वैश्विक दासत्व सूचकांक प्रकाशन गर्दै आएको छ। 2016-को विश्व दासत्व सूचकांकको निष्कर्षमा 167 राष्ट्रहरूमा 45.8 मिलियन मानिस आधुनिक दासत्वका शिकार भएर बाँचीरहेका छन्। यो रिपोर्ट अनुसार यी राष्ट्रहरू मद्धे जनसङ्ख्याको अनुपातमा सबैभन्दा बेसी दासत्वको सङ्ख्या उत्तर कोरियामा छ, त्यस पछि क्रमैसँग उज्बेकिस्तान, कम्बोडिया, भारत र कतार छ। जनसङ्ख्याको अनुपातमा भारत चौथो स्थानमा रहेता पनि निरपेक्ष दासत्व तथ्याङ्कले भारतमा सबै भन्दा बेसी दासत्वको चलन छ। भारत पछि चीनमा (3.39 मिलियन), पाकिस्तान (2.13 मिलियन), बांग्लादेश (1.53 मिलियन) र उज्बेकिस्तान (1.23 मिलियन) दासहरू रहेको पाइन्छ। यी 5 वटा राष्ट्रहरूमा विश्वभरिको सम्पूर्ण दासत्वको 58% मानिस बसोबास गर्छन्।
गालअप र वाल्क फ्री फाउंडेशन-ले भारतका 15 वटा राज्यहरूमा (देशको 80% जनसङ्ख्या) यो सर्वेक्षण गरे। भारतको 1.4% जनसङ्ख्या आधुनिक दासत्वमा बाँचीरहेका छन्। यो सङ्ख्या केही देश जस्तै निदरल्यांड, क्युबा, स्वीडेन, पोर्तुगल, ग्रीस र अन्य धेरै राष्ट्रहरूका सम्पूर्ण जनसङ्ख्याभन्दा पनि बेसी हो। दोस्रो स्थान ग्रहण गरेको चीनमा आमूल फरक छ जहाँ 18.35 मिलियनको तुलनामा केवल 3.39 मिलियन मानिस दासको जीवन बिताई रहेका छन्।
विश्व दासत्व सूचकांक रिपोर्ट अनुसार दुई वर्षभित्र भारतमा दासत्व 4.1 मिलियन सङ्ख्याले वृध्दि भएको छ। यसको मतलब हो कि 2014-2016 भित्र हरेक दिन 5,616 मानिस दासत्वमा परिरहेका छन्। भारतमा विश्वभरि रहेको हरेक प्रकारको आधुनिक दासत्वको पालन गरेको पाइन्छ। ती हुन् बन्धित श्रम, बाल श्रम, बाध्य विवाह, घरेलु सेवा, वंश दासत्व, व्यावसायिक यौन शोषण, मानव तस्करी इत्यादि। सबैभन्दा खराब अवस्था ईटा बनाउने कारोबारमा छ जसमा धेरै सङ्ख्यामा बन्धित श्रम र बाल श्रम छ। देशको कर्पोरेट वर्गका पूर्वाधारको सुधार, कहिले नटुंगिने आवास स्तरको वृद्धि, हरेक दिन जसो नयाँ कम्पनी, नयाँ ब्रान्ड, नयाँ प्रोडक्ट, नयाँ उद्द्योगहरूको अनियन्त्रित, अनियमित र असन्तुलित मांगहरू पूर्ण गर्नको कारण यी उद्योगहरूमा 'रक्तपातपूर्ण इँटा' उत्पादन् जारी रहेको हो। 
 भारतमा 1976-मा नै बाध्य श्रम त रद्द गरियो तर अहिले ग्रामीण क्षेत्रबाट गरिबहरूलाई कामको लोभमा फसाएर दासत्वमा हाल्ने चलन प्रचलित छ। तिनीहरूलाई धनी-मनिहरू कहाँ घरेलु सेवाको लागि, वेश्यावृत्ति, इटा उद्द्योग, कपडा एकाइहरू र ठुल-ठुला कृषि उद्द्योगमा लगेर बेचिन्छ। महाराष्ट्रमा ऋण दासत्वको व्यापक ढङ्गमा चलन भएको रिपोर्ट छ खास गरी अनियन्त्रित उद्योग जस्तै निर्माण, कृषि, खानी र इटा उद्द्योगहरूमा। केही आदिवासी सामुह मध्ये बिहा-बटुल, उत्सव, अन्त्येष्टिहरूका लागि ऋण लिने चलन प्रचलित छ जसको कारण तिनीहरू ऋण दासत्वको शिकार बन्न पुग्छन्। मानिसहरूलाई अव्यवस्थित रूपमा काम गर्न बाध्य गरिन्छ र उल्लंघन गरेको खण्डमा तिनीहरू गम्भीर रूपमा शारीरिक हिंसाको शिकार पनि बन्न पुग्छ। सरकारी आंकडामा भारतभरि 3,00,000 भन्दा अधिक बाध्य श्रम भेटिएको छ। घरमा काम गर्ने पेशामा त झन् कामको घण्टा निश्चित हुँदैन, समयमा वेतन पाउदैनन्, घर-बार जाने प्रबन्ध राम्रो हुँदैन र कसै-कसैले शारीरिक र यौन हिंसाको शिकार पनि बन्न पुग्छन्। सरकारी आंकडा अनुसार 3 मिलियन नारीहरू व्यावसायिक यौन कार्यमा संग्लन छन् र यी मद्धे 1.2 मिलियन 18 वर्ष भन्दा कम्ती उमेरका हरू छन्। लगभग आधा सङ्ख्या महिलाहरूको बिहे करकाप र उनीहरूको सहमति बिना हुन्छ र यस सम्बन्धभित्र उनीहरूबाट तलबबिनाको श्रम लिइन्छ। National Crimes Record Bureau को रिपोर्ट अनुसार 2009-2015 को अन्तरालमा भारतमा मानव तस्करी 92% ले बढेको छ।
केन्द्र सरकार ले भर्खरै सङ्गठित begging rings , बाध्य वेश्यावृत्ति र बाल श्रम जस्ता दासत्व खिलाफ प्रस्तावहरूमा सहमति त जनाए तर यो गएर कता टुंगिन्छ त्यो नै धमिलो छ। वाल्क फ्री फाउंडेशन-ले केन्द्र सरकारलाई निजी काम दिनेहरूका निम्ति सठीक नीति बनाउने सल्लाह दिए जुन द्वारा बाध्य श्रमको आपूर्तिकरणमा जाँच राख्न सम्भव हुन्छ। तर यो अवस्था सुधार्न सरकारबाट कुनै पनि गम्भीर चेष्टा देखा परेको छैन। हालत प्रत्येक साल झन् खराब हुँदै गई रहेको विभिन्न निष्कर्ष र रिपोर्टहरूद्वारा प्रतिबिम्बित भई रहेको छ। ऐनद्वारा दासत्वको अन्त घोषणा गर्नु आँखामा पर्दा लगाएर अघाडीको चित्र वर्णन गर्नु सरि हो। यसको पहल जटिल छ तर असम्भव भने छैन। हरेक क्षेत्र जहाँ दासत्व चलिरहेको छ त्यसको खुलासा गरी चारै दिशाबाट त्यसको खिलाफ विरोधको सङ्गठित र चर्को आवाज उठनैं पर्छ। 

बगान चालु तर मजदुरहरूको ज्याला र सहुलियत ठप्प— अलकेमिस्टको चिया बगानहरूमा अचम्मको स्थिति!

शमीक

अलकेमिस्ट भन्ने शब्द प्राचीन युगको अलकेमि बाट आएको हो, जसको अर्थ हो ‘धातुलाई बदलिने कौशल’। तिनीहरूले विभिन्न धातुलाई बदलिएर सुन बनाइदिने सपना देखाएको थिए। हामी नयाँ तौरले जुन ‘अलकेमिस्ट’लाई चिन्दैछौँ, तिनीहरू दस हजार करोडको एउटा कम्पनी हो, थुप्रै व्यापारहरू सितै तिनीहरूको हातमा दार्जीलिङ पहाडको चिया बगानहरू पनि छन्। पहिला तिनीहरूको नाम थियो टुब्रो, अहिले, अलकेमिस्ट। मालिकको नाम के डी सिङ। तृणमूल काँग्रेसबाट राज्यसभाको सांसद।
अलकेमिस्ट ग्रुपको हातमा दस-बाह्र वर्षदेखि पश्चिम बंगालमा तीनवटा चियाबगान छ। एउटा हो पेसोक चिया बगान— जुन टिस्टाबजार नजिक छ। अरू दुईवटा हुन् सुनादा-रङबुल भएर ओह्रालो जाँदा आउने कलेजभेल्ली, त्यसपछि बालासन खोलाको वरिपरि छरपस्टिएको धोत्रे चिया कमान। जम्मा तीनवटा चिया बगानको 2075 हेक्टरभरि 7 वटा डिभिजनमा स्थायी श्रमिकको सङ्ख्या 2544। त्यसबाहेक अझै तीन हजार जस्तो बिघा मजदुर पनि यस बगानहरूमा काम गर्थे।
बगानहरू चालु नै छ। तर अस्थायी मजदुरहरूको कुरा त छोडिदिनुस्, स्थायी श्रमिक मध्ये पनि ज्यादातर अहिले बगानमा काम गरिरहेका छैनन्। मजदुरहरू तलब पाइरहेका छैनन्। ज्यालाको अंशको हिसाबले पाउनुपर्ने कुरा र सुविधा-सहुलियतहरू पनि पाइरहेका छैनन्। पोहोरको दशैँ बोनस लिएर जुन टालटुल शुरू भएको थियो, त्यो नै बढ्दै बढ्दै अहिले समस्या शिखरमा पुगेको छ। श्रमिक-कर्मचारीहरूको पाउनुपर्ने आर्थिक बकाया राशिको परिमाण हो 1.72 करोड, त्यससित दवाईको बिल, दाउराको पैसा, छाता, चप्पल आदि अनि अवकाशप्राप्तहरूको ग्र्याचुइटिको बकाया जोड्दा यही राशि 5 करोड पुग्छ। केही महिना अघिसम्म मजदुरहरू जुन अलिकति भए पनि आर्थिक सहायता पाउदैथिए, हालैमा दुई महिनादेखि त्यो पनि ठप्प भएको छ।
सङ्ख्यामा निकै कम्ती मजदुरहरू पत्ती टिप्ने काममा हिडीरहेका छन्। थुप्रैले बाटो बनाउने काम, सय दिनको काम, नदीमा गिटि कुट्ने काम गरेर दुइछाक जुटाउने कोसिस गरिरहेका छन्। धेरैजना टाढा परदेशमा पनि गइसकेका छन्। सरकारको श्रम विभागले बोलाएको दुईवटा त्रिपक्षीय मिटिंगहरूमा सबै बकाया राशि बटुल्ने समय सीमा दुई पल्ट तय भएतापनि मालिकपक्षले ती गरेका छैनन् अनि हालैमा मिटिंगमा उपस्थित हुनु वा श्रमविभागको अफसरहरूको फोन उठाउनु पनि बन्द गरेका छन्। मजदुरहरूलाई थाहै छैन, कहाँ जाँदा समाधान हुनेछ, अचम्मको के छ भने श्रम विभागको अफसरहरूलाई पनि त्यो थाहा छैन हरे— मजदुरहरूलाई तिनीहरूले त्यस्तै भनेका छन्!
मजदुरहरूले विधानसभा चुनाव अघि चुनाव बहिष्कारको निर्णय लिएका थिए, त्यतिबेला बकाया फर्काउने आश्वासन पनि पाइएको थियो, त्यसपछि कैयौँ पक्षबाट दबाउ आएकोमा चुनाव वहिष्कारको निर्णयबाट तिनीहरू हट्नु पयो अनि बकाया राशिहरू पनि पाइएन। चुनावी राजनीतिको समीकरणमा जुनसुकै ध्रुबीकरण होस्, मजदुर युनियनहरूको माथिल्लो स्तरमा जुनसुकै विन्यास बसोस्, तर बगानको धरातलमा मजदुरहरू एक भईकन सम्पूर्ण युनियनहरू संयुक्त भएर जोइन्ट एक्शन कमिटी गठन गरे। आन्दोलनको विभिन्न कार्यक्रम निरन्तर चलिरहेको छ र त्यससित चलिरहेको छ मजदुरहरूको दिग्भ्रमित भागदौड— कहाँ जाँदा समाधान हुन्छ? कसले समाधान गरिदिन्छ? त्यसको खोजीमा!
अलकेमिस्ट ग्रुपको चिया बगानहरुबाट ‘अर्थोडक्स टि’ र ‘चायना टि’ भन्ने प्रकारको पत्ती जर्मनी, अस्ट्रिया, सिंगापुर, साउदी र अमेरिकामा निर्यात हुन्छ भन्ने कुरा तिनीहरूको वेबसाइटमा छ। ठण्डा महिनाहरुमा पत्ती टिप्ने काम बन्द रहेपछि, मार्च देखि मई महिनासम्म पहिला पत्ती (फर्स्ट फल्स) टिपाइ हुन्छ, त्यही फर्स्ट फ्लसको चिया पत्तीको भाउ अन्तर्राष्ट्रिय बजारमा सबभन्दा बेशी छ। त्यसको 15-20 दिन पछि सेकेन्ड फ्लसको पत्ती टिप्ने काम शुरु हुन्छ। मजदुरहरूले सोचे, फर्स्ट फ्लस त गयो गयो, कम्ती मजदुर अनि हेरचाह र कम्ती बर्खाले गर्दा यसपालि पत्ती टिप्ने काम राम्रोसँग भएन। तर सेकेन्ड फ्लसमा निश्चयनै मालिकपक्ष ध्यान दिन्छन् होला! तर खै त! त्यसको पनि नामोनिसान छैन!
चिया उद्योग नोक्सानमा चलिरहेको छ भन्ने कुरा लिएर मालिकहरू जति नै हल्ला गरोस्, यथार्थ चाहिँ अर्कै छ। 277 वटा चिया कमान मध्ये मुट्ठीभर बगान मात्रै बन्द छ। कतिपय बगान ठण्डा महिनामा बन्द हुन्छ, किनभने त्यसबेला पत्ती उम्रिन्दैन। धेरै मालिकहरू बगान बन्द गरेर त्यसबेलाको खर्च जोगाएर झन् बेशी मुनाफा लुट्न खोज्छन्। फलस्वरूप मजदुरहरूले पाउनुपर्ने कुरोहरू बाकी राख्नु र बगानको हेरचार लिएर डरलाग्दो हेलचेक्र्याइँ चलिरहन्छ। अलकेमिस्टको बगानहरू त्यसको स्पष्ट प्रमाण हो। पोहोरसाल डंकनस्-गोयेंकाको बगानहरूको खण्डमा पनि हामीले त्यस्तै देखेका थियौँ। दीर्घकालदेखि ती बगानहरूको स्थिति डामाडोल रहेपछि पोहोरको अप्रेल देखि मालिकले श्रमिकहरूको तलब र सहुलियतहरूको आपूर्ति बन्द गरिदियो र कुनै लक आउट नोटिस बिनै बगान छोडेर सुइकुच्चा ठोक्यो! त्यसको निकैबेर पछि मजदुरहरूको रगतपसिना सँगै टिस्टा-तोर्सा-लिस-घिसबाट अनेक पानी बगिसकेपछि सरकार-प्रशासन-न्यायपालिकामा अलि अलि हलचल शुरू भयो। अहिले कतिवटा बगान खोलिएको छ, यद्धपी ज्यादातर फ्याक्ट्री खोलिएको छैन, पाउनुपर्ने बाँकीहरू लिएर टालटुल चलिरहेको छ, अनि सातवटा बगान त अहिलेसम्म बन्द नै छ। केन्द्र सरकारको अधिग्रहण, उच्च न्यायालयको मुद्दाहरू, सरकारको उदासीनता, बगान खोल्ने बन्द गर्ने आशंका, बिना-चिकित्साले गर्दा मृत्यु, पिउने पानीको लागि हाहाकार, रासिन वितरणमा डरलाग्दो अव्यवस्था, काँचो पत्ती टिपाइ लिएर अराजक स्थिति अनि अर्कोतिर चुनाव पछि निश्चयनै केही न केही समाधान हुनेछ भन्ने आशा लिएर बाँचीरहेका छन् डुवर्सका तथाकथित ‘डंकन नगरी’का सातवटा चिया बगानका बासिन्दाहरू।
हामी अलकेमिस्टको बगानहरू लिएर कुरा गर्दागर्दै डंकनसको कुरा आइहाल्यो किन? बगान पनि बन्द छैन, तर मजदुरहरूको ज्याला र सहुलियतहरू बन्द छ— खुल्ला र बन्दको लुकीचोरीको यस्तो मोडेललाई यदि डंकन देखि अलकेमिस्ट... अनि यस्तो अझै थुप्रै मालिकहरूले नाफा कमाउने बाटोको हिसाबले लिन थाले भने त यो सबभन्दा खतराको विषय बनिनेछ! मजदुरहरूले ज्याला र सहुलियतहरू केही पाउनेछैनन्, न त पाउँनेछन् बन्द बगानको निम्ति निर्धारित ‘फाउलाई’ भत्ता! अलकेमिस्टको बगानहरूलाई हेर्दा के साफ छ भने— सबै बगानहरूमा पुरानो बोटको (50 वर्ष भन्दा बेशी उमेर भएको बोटको उत्पादकता कम्ती हुन्छ) सङ्ख्या नै बेशी छ, त्यसलाई उखेलेर नयाँ बोट रोप्नु, बगानभित्रको खालि ठाउँ भर्नु, सही मल र किटनाशकको प्रयोग, सिँचाईको राम्रो व्यवस्थापन— यी सबैको नै हालत दयनीय स्थितिमा छ। जम्मा 2075 हेक्टर जमिन मध्ये 995.23 हेक्टर प्लान्टेशन एरियामा पर्छ, अपरुटिङ र रिप्लान्टेशन भएको छ 20.45 हेक्टरमा, इनफिलिङ 2.27 हेक्टरमा, इरिगेशन 180.07 हेक्टरमा, ड्रेनेजको व्यवस्था छ 150 हेक्टरमा। फलस्वरुप उत्पादकताको दर निकै नै कम्ती छ। पहाडमा हरदर उत्पादकता 500 केजी/हेक्टर हुनुपर्ने रहेछ। कलेजभेल्लीमा उत्पादकता 540 केजी/हेक्टर रहेतापनि धोत्रेमा 406 केजी/हेक्टर मात्र रहेछ, पेसोकमा त झन् कम्ती, 335 केजी/हेक्टर मात्रै रहेछ। यी आँकडाहरू तीन वर्ष पुरानो हो, सरकारी रिपोर्टमै प्रकाशित भएको थियो। त्यसपछिको स्थिति त झन् बिग्रिँदै गएको छ।
धोत्रे र कलेजभेल्लीको बगानहरूमा मजदुरहरूले बगानको सञ्चालनमा यस्तो नराम्रो परिस्थिति कहिल्ये पनि सुनेका थिएनन् हरे। तर माथिको आँकडाहरूले नै देखाउँदैछ आजको परिणतिको रसायन। पेसोक बगान यद्धपी आज भन्दा एक दशक अघिसम्म प्राय: 12 वर्षको निम्ति बन्द थियो। त्यतिबेला नै बगानको फ्याक्ट्री, अस्पताल, गोदाम— सबै खतम भइसकेको थियो। अहिले यहाँ टिपेको पत्तीलाई लामो बाटो अतिक्रम गरेर पुर्याेउन पर्छ धोत्रे बगानको तुमसुङस्थित फ्याक्ट्रीमा। तीनवटा बगानको एउटा मात्रै फ्याक्ट्री चालु छ, धेरैजसो चिया बोट एक सय वर्ष पुरानो छन्, अन्ततः तीन वर्षदेखि किटनाशक प्रयोग भएको छैन— यसरी नै लडबढाउँदै चलिरहेका छन् अलकेमिस्टको बगानहरू।
चिया बगानका मालिकहरूले बगानको नाफा अन्य व्यापारमा ‘साइफनिंङ’ गरेर, बगानलाई देखाएर बारम्बार विभिन्न प्रकारको लोन जुटाएर, लिलामी बजारलाई झुक्क्याएर अन्य नाना किसिमले चिया पत्ती बिक्रीको व्यापार गरेर बगानको हिसाबमा गडबडी गर्दै एक अभूतपूर्व लुटपाट चलाइरहेका छन्। यस देशमा उदार आर्थिक नीति पसे पछि चिया बगानहरूमा यस्ता सट्टाबाज मालिकहरूको सङ्ख्या निकै बढेको छ, जसले बगान किनेर त्यसपछि बगानलाई झुत्रो बनाएर छोडेर जाँदैछन्। अर्कोतर्फ चिया बगानको असङ्गठित क्षेत्रको हिसाबले द्रुतगतिमा बढिरहेको छ नयाँ बगान र बटलिफ फ्याक्ट्रीको व्यवस्था। खेतीपातीको जमिनहरूलाई बदलिएर चिया बगान बनाउनु र बाहिरबाट किनेको पत्ती द्वारा फ्याक्ट्री चलाउने दायित्वहीन असीमित नाफाको बन्दोबस्त! भारतको घरेलु बजारमा चियाको अभूतपूर्व खपत वृद्धिले गर्दा यही मोडेललाई नै अहिले मालिकहरूले मनपराउँछन्।
अर्कोतर्फ पुरानो एस्टेट बगानहरूमा बढिरहेको छ बिघा मजदुरहरूको सङ्ख्या, घट्दैछ बगानको हेरचार र श्रमिकहरूको लागि व्यय। चिया उद्योग जस्तो एउटा ठुलो सङ्गठित उद्योगमा अहिलेसम्म निम्नतम ज्याला लागु भएको छैन! मजदुरहरूले पाउनुपर्ने रासिन, चिकित्सा सुविधा, छाता, जुत्ता, कम्बल, दाउरा, क्रेच आदि सहुलियतहरूको प्रावधान रहेतापनि ती सबै नदिने तालिका लामो देखि अझै लामो भइरहेको छ। के सरकारले चुपचाप बसीबसी हेर्नेछन् ऐनको यस्ता डरलाग्दो उल्लंघनहरू? मजदुरहरूले विरोध देखाउने बित्तिकै खुब क्षति हुँदैछ भनेर आवाज उठ्न थाल्छ, बगानमा काम गरेर पोसाउदैन भनेर मजदुरहरू अन्य कामको खोजीमा जाँदा ‘एबसेन्टिजम्’को सङ्कट भयावह हुँदैछ भनेर हल्ला फैलाउँछन् मालिकहरू— तर किन चाँहि सरकारले एउटा राम्रो मनिटरिङ सिस्टम, वा मालिकहरू ऐन उल्लंघन गर्दा सजायको व्यवस्था गर्न सक्दैनन् त?
उहिलेको युगमा चिया श्रमिकहरूलाई टाढा देशहरूबाट ‘चियाको बोटमा सुन फल्छ’ भनेर हुलकाहुल ल्याइएको थियो। सुन बनाउने व्यापारी अलकेमिस्टहरूले मजदुरहरूको रगतपसिना र कमानको हरियो पत्तीबाट सुनलाई निचोरेर निकालिसकेका छन्। बगानमा रहिरह्यो दमित, हेलित र शोषित मजदुरहरूको आर्तनाद मात्रै।

पेम्बिला ओरूमाई, रित्तो गाउँ अनि प्रकृति गिरी

लेखनाथ छेत्री

चाडबाडको रंग लगभग चढिसकेको थियो । हर्कबहादुर छेत्रीको राजीनामाले बढेको रक्तचाप थाम्न नसकेर कालेबुङबाट पदयात्रा थालेको बिमल गुरुङको बचन अनुसार नौ हजार किलोमिटरमा नौ सयपनि पुरा गरिसकेका थिएनन् ।बाटोबाटै उनले बन्द चियाकमानका मजदुरहरूको लागि मुफ्त रासन बाड्ने घोषणा फेसबुकबाट गरे। मलाई हाँस उठिरहेको थियो । 
बिमल गुरुङ बिधानसभा चुनावको लागि बन्द चियाकमानका मजदुरहरूको चिसो चुल्होमा आफ्नो रोटी सेक्न चाहन्छन्, यो कुरा स्पष्ट थियो। मलाई यसकारण हाँस उठिरहेको थियो। किनकि सत्तालाई आफु उभिने ठाउँ चाहिन्छ। सत्ताको लागि उभिने सबभन्दा उपयुक्त ठाउँ हो आम मान्छेको भोक, रोग, अनि शोक। सत्ताले हाम्रो समस्याको समाधान कहिले ठिकसँगले गर्दैन। बरु हामीलाई सपना देखाउछ। यहि सपनाको वरीपरी हामी घुम्छौ। सत्ताको आश्रय लिन्छौ। यहि आश्रय सत्ताको लागि भोटबैंक भइदिन् । 
ठिक यहिबेला दक्षिण भारतको मुन्नारले मेरो ध्यान खिचिरहेको थियो। आइमाईहरूका एक झुण्डले एक आन्दोलन सुरु गरेको थिए – पेम्बिला ओरूमाई। चियाबगानका मजदुरहरूको पसिना, उमेर अनि रगतको सोझो हिसाब मागिरहेका यो आन्दोलनले उनीहरूको समस्या माथि कारोबार गर्ने ट्रेड यूनियन अनि राजनैतिक पार्टीहरूलाई अस्विकार गरिरहेका थिए। यो आन्दोलन विशुद्ध रुपले मजदुरहरूबाट अनि मजदुरहरूको लागि थियो।
मलाई लाग्छ कि कुनै पनि कुरामाथि आम मान्छेको धारणा चलिरहेको राजनैतिक बहस, मिडिया लेखन यस्ता कुराहरूले तय गर्छ। विगत तिन चार दशकदेखि जातीय पहिचानमा आधारित राजनिति हामीमाथि हावी छ । यो निश्चय नै एक महत्वपूर्ण विषय हो, तर अहिलेलाई समस्या समधानको निम्ति आजको खाँचो भनेको बेखबर जनमानसको धयान यतातिर खिच्नु हो। बहसको एउटा ठुलो स्पेस यही कुराले मात्र हडप्नुले गर्दा अन्य कतिपय कुराहरूले राजनैतिक डिस्कोर्समा ठाउँ पाएनन्। चियाबगानमा मजदुरहरूको अवस्था यसको एक नमुना हो। जब मिडियाले बन्दचियाकमानमा मान्छेको आवश्यकता भन्दा ज्यादा दार्जीलिङ चियाले विश्व बजारमा पाएको मुनाफालाई समाचारको हेडलाईन बनाउनमा रुची देखाउछ, आम मान्छेको धारणा यही कुराले निर्धारित गर्छ। आज दार्जीलिङ चियाको प्रसिद्धिमाथि धाक पिट्ने आम मान्छे अथवा तथाकथित बौद्धिक समुह चियाबगानको श्रमिकहरूको जिर्ण अवस्थाबारे बेखबर छन्। लेखनमा यो कुरा लगभग छैन बराबर छ।
डुवर्सको माटोसँग खेलेर हुर्केका कवि प्रदिप लोहागुन अनि टिमले लाग्छ यो कुरा ठिकसँग बुझेको छन्। चाड बाडको समय बन्द कमानले पारेको असर, घर, छोडेर कमाउन परदेश लागेका नौजवान, अनि कमान बीच नियास्रो छोडिएको 'रित्तो गाउँ' — उनले क्यामेरामा खिचेको छन्। 
सि बि एस एसको कलकत्ता कन्भेन्सन बाट फर्किंदा सिलिगुडीबाट बिजनबारी सम्म चडेको गाडीमा मेरो पछाडी एक महिला थिईन् जो लगातार बोलिरहेका थिईन् अनि बाँकि यात्री उनलाई सुनिरहेका थिए। थाहा लाग्थ्यो कि उनि गायिका प्रकृति गिरीको आफन्त हुन् प्रकृती सँग अघिल्लो दिन डुवर्सको एउटा ठाउँमा सांगीतिक कार्यक्रम गरेर घर फर्किएकी हुन् । 
कार्यक्रम अन्य ठाउँहरू जस्तो धेर संख्यामा मान्छेहरू नआएको, साउण्ड सिस्टमले ठीकसँग कम नगरेको, आएका मान्छेहरू जस्तै उतौलो गीतमा पनि रमाउन अथवा थप्पडी, मार्न नजानेको यस्ता अनेक गुनासोहरू उनि पोखिरहेकी थिइन्। 
मलाई भने कलकत्ता कन्भेन्शनमा हामीसँग भाग लिन गएका डुवर्सका ती मजदुरहरूको नक्शा याद आइरहेको थियो जसले सियाल्दाह नजिक एउटा होटेलको कोठामा हामीसंगै बसेर बंगला न्युज च्यानलमा कमान बन्द भएपछि भोकमरी अनि समयमा उपचार नपाएर मर्ने दुइ छिमिकीहरूको समाचार अनि त्यसपछि राजनैतिक पार्टीहरू बीच चलेको बहस एकोहोरो भएर हेरिरहेका थिए।

केरलामा प्रथम सबै-महिला ट्रेड युनियनको पंजीकरण

विवेका गुरुङ

धेरै वर्षको पितृसत्तात्मक आधिपत्यलाई चिरेर आशाको घाम झैँ झुल्किएका छन् केरलाका खजिकोट नामक स्थानका महिला श्रमिकहरू। पोहोरसाल केरलाको मुन्नार जिल्लाको चियाबारीहरूमा महिला मजदुरहरूको जुझारु सङ्घर्ष हामीले प्रत्यक्ष गरेको थियौँ। यस वर्ष केरलाकै अर्को ठाउँमा सबै महिला ट्रेड युनियन गठनको कुरा निकै चाखलाग्दो छ। खजिकोटका महिला श्रमिकहरूले जनवरी 2016-मा आफूलाई सरकारी रूपमा दर्ता गरेर पेंकुट्टू नामक सङ्गठन आज भारतको पहिलो सबै-महिला ट्रेड युनियन (all-women trade union) बन्न पुगेको छ। 
2010 मा एस.एम. स्ट्रिट-मा नारीहरूको लागि बनाइएको शौचालय बन्द गर्ने सरकारको आदेश हुँदा पी. भि.जि. नामक महिलाले आफ्नो अरू महिला साथीहरूलाई गठित गरी यस्तो आदेशको पूर्ण रूपले विरोध गरे। यसरि उनीहरूको सङ्घर्षको गाथाको शुरुवात भयो। उनीहरूको लडाइको सफलता स्वरूप सरकारले शौचालय बन्द नराख्ने र साथै अझै 10 वटा त्यस्ता शौचालयको निर्माण गरी दिए।
समय बित्दै जाँदा पेंकुट्टूको सदस्यहरूको सङ्ख्या बढ्दै गयो र यस कुरामा चाखलाग्दो के छ भने यी सदस्यहरू विभिन्न श्रम क्षेत्रसँग सम्बन्धित थिए, जस्तै घरेलु सेवा, सफाई कर्मचारी, वस्त्र सिलाई र पसल, इत्यादि। यसो हुनाले पेंकुट्टूले नारीहरू सम्बन्धित श्रम क्षेत्रमा हुने समस्याग्रस्त मुद्दाहरूलाई चर्चामा ल्याउन सफल भए र वकिल अनिय्मा मायारथको भनाइ अनुसार यो नै उनीहरूको सबैभन्दा राम्रो र फाइदाजनक कुरा हो। आज पेंकुट्टूद्वारा महिलाहरू आफूलाई झेली रहेका समस्याहरूको संयुक्त रूपमा विरोध गर्न सक्छन्। नारीलेनै आफ्नो समस्या रामरी बुझ्न सक्छ भन्ने कुरो त सबैलाई थाहा छ। र उनीहरूको समस्याको समाधान केवल एकजुट भएर मात्र हुन्छ भन्ने कुरा डिसेम्बर 2014 मा पाँच जना युनियनका महिला मजदुरहरूले कपडाको रिटेल सेक्टरमा हड्ताल गरे। 
कुनै पनि ब्रेक बिना 8-12 घन्टासम्म उभिएर ड्युटी गर्न पर्थ्यो सेल्स डिपार्टमेन्टमा काम गर्ने महिलाहरूले। उनीहरूलाई एक्कैछिन बस्ने सम्म अनुमति थिएन। यो हड्ताल 100 दिन भन्दा ज्यादा दिनसम्म चल्यो अनि सयौँ विरोध प्रदर्शनकारीले यसलाई समर्थन गरे। अन्त्यमा तिनीहरूको दुईवटा माँगहरू पुरा गरियो। केरेला शोप्स एण्ड कमर्सियल एक्ट, 1960 लाई संशोधित गरेर सेल्समा खटिएको व्यक्तिले अब केही क्षण बस्ने अनुमति पाए। ‘सित्तैमा केही पनि पाइन्दैन, कि त त्यसको लागि काम गर, कि त लडाई गर भने’ झैँ पेंकोट्टूको लागि पंजीकरणको प्रक्रिया ठुलो चुनौती भएर आयो। यो असंगठित क्षेत्रको सबै महिला ट्रेड युनियनलाई पंजीकरण दिने पक्षमा व्यवस्था थिएन तर धेरै तर्क-वितर्क गरेर अन्य सङ्गठन जस्तै SEWA आदिको उदाहरण दिएर मात्र पंजीकरण कमिटिले जनवरी 2016 मा उक्त ट्रेड युनियनलाई पंजीकरण दियो भनेर वकिल अनिय्मा मायारथले बताइन्। 
आज यो युनियनमा 10000 जना सदस्यहरू छन् जसमा कपडाको रिटेल सेक्टर, नर्सिंग सेक्टर, आगनवाडी अनि कुदुम्भाश्रीका मजदुरहरू छन्। पेंकोट्टूले अहिले त पुरुष मजदुरहरूलाई पनि आफ्नो सङ्गठनको सदस्यता दिँदै छन्। तर 75% कार्यकारिणी सदस्य भने महिलानै रहने छन्। यिनीहरूको यो कष्टदायक यात्राको फल तर यिनीहरू देशभरिको मानिसहरूको प्रशंसाले पाए अनि देशभरिको मजदुरहरूको निम्ति यिनीहरू उदाहरण भए। 
यहाँबाट सबैभन्दा ठुलो पाठ लिनुपर्ने के हो भने महिलाहरूको समस्या टुक्रा टुक्रामा होइन तर समग्रतामा बुझ्नु पर्छ। सबै महिला ट्रेड युनियनको सदस्यहरूको विविधताले गर्दा यसले विभिन्न समस्याहरूको राम्रो समाधान गर्न सक्यो, महिला मजदुरहरूको समस्यालाई उनीहरूको अवस्थादेखि अलग पारेर हेर्न सकिन्दैन। त्यसैले यो पहललाई नारीवादी दृष्टिकोणबाट पनि हेर्न सकिन्छ, कारण समस्या समाधान गर्ने उद्देश्यले यी महिलाहरूको जीवन र अनुभवलाई केरकार गर्ने मौका पाए यी महिलाहरूले। त्यसैले महिलाहरूको आफ्नो अधिकार र स्वाभिमानको लडाइमा यो पहल महत्त्वपूर्ण छ।

पहाड-तराई-डुवर्सको चिया बगानहरूमा मेडिकल क्याम्पको एक अवलोकन

डा. पुण्यब्रत गुण

मार्च महिनाको अन्तिम साता अनि मई महिनाको प्रथम सातामा श्रमजीवी स्वास्थ्य उद्ध्योग, चिया बगान संग्राम समिति तथा अन्य संस्थाको सामूहिक प्रयासमा डुवर्सको हन्टापाडा, गेरगण्डा, दुम्सीपाडा अनि बन्दापानी चिया बगानमा मेडिकल क्याम्प सम्पन्न भयो। मई महिनाको अन्तमा फेरी श्रमजीवी स्वास्थ्य उद्ध्योगका डाक्टरहरूले दार्जिलिंग जिल्लाका कतिपय चिया बगानहरूमा मेडिकल क्याम्प गरे। 23 मई तराईमा अवस्थित गंगाराम चिया बगानमा, 24 मई पहाडको तिन्धरिया, 25 मई मार्गरेट्स होप, 26 मई धोत्रे-बालासन, 27 मई पेशोक अनि 28 मई जलपाईगुडी जिल्लामा पर्ने बग्राकोट चिया बगानमा क्याम्प गरियो। व्यवस्थापना कतै चिया बगान संग्राम समितिले सघाए भने कतै यो जिम्मेवारी नेपाली संस्कृतिक पत्रिका लालीगुराँसले लियो। 

 हन्टापाडा, गेरगण्डा, दुम्सीपाडा अनि बन्दापानी- दुवार्सको यी चारवटा चिया बगानहरूमा क्याम्प राख्दा हामीले देखायौं कि जस्तो प्रकारको उच्च रक्तचापको समस्या यहाँ बढेको छ त्यो दक्षिण बंगालको समतल ईलाकाको मानिसहरू भन्दा कयौँ गुना बेसी छ। त्यसैले यसपालिको क्यापममा पहिलाबाटै ठिक गरिएको थियो कि हामी 26 वर्ष भन्दा उभोको जम्मै रोगीहरूको रक्तचाप नापेर त्यसलाई दर्ज गर्ने छौँ। 6 दिनको क्याम्पको अन्त्यमा हामीले निम्नलिखित तथ्य फेला पार्यौं—


माथिको तालिकामा यो स्पष्ट देख्न सकिन्छ कि पहाडको रोगीहरू मद्धे उच्च रक्तचापको समस्या खुबी बेसी रहेको छ। श्रमजीवी स्वास्थ्य उद्ध्योगका संगठकहरू, हृदयरोग विशेषज्ञ, कम्युनिटि मेडिसिन विशेषज्ञ इत्यादि मिलेर एउटा विस्तृत सर्वेक्षणको परिकल्पना गरिएको छ जसमा दक्षिण बंगालको ग्रामीण अनि शहरी क्षेत्र अनि उत्तर बंगालको समतल नै पहाडी ईलाकाहरूमा उच्च रक्तचापको प्रादुर्भावको तुलना, उच्च रक्तचाप सँग त्यस ठाउँको खानपानको सम्बन्ध तथा अन्यान्न आर्थिक सामाजिक विषय लिएर अध्ययन गरिने छ। 
श्रमजीवी स्वास्थ्य उद्ध्योगको संगठकहरूको अर्को परिकल्पना चिया बगानहरूको युवा-युवतीहरूबाटै स्वास्थ्यकर्मीहरूको एउटा वाहिनी पनि हो जसले विभिन्न साधारण स्वास्थ्य सेवा दिनुको साथसाथै उच्च रक्तचापको समस्यालाई सम्हाल्न सकोस् साथै मानिसहरूलाई उच्च रक्तचाप देखि बाँच्नको निम्ति आवश्यक उपायहरू बताउन सकोस्। कारण पहाडका बासिन्दाहरूको मृत्यु कारण सोध्दा प्रायले नै सेरिब्रल स्ट्रोक वा हार्ट अट्याक भन्यो जुन उच्च रक्तचापसँग सिधै सम्बन्धित छ। यसैले उच्च रक्तचापलाई नियन्त्रण गर्न सके धेरै जनालाई अकाल मृत्यु देखि बचाउन सकिने थियो होला। अनि यही हाम्रो प्रयास हो।

बंगलुरुमा महिला गार्मेन्ट मजदुरहरूको संघर्ष

संगीता खेवा

यो वर्ष मई दिवस आउन अघाडीनै बंगलुरु अनि छेउछाउको ठाउँ जस्तै मुद्दुर, रामनगर, निलामाग्ला अनि श्रीरंगपत्तनममा अप्रेल 18 अनि 19 मा प्राय जसो 3.5 लाख लुगा बनाउने महिला मजदुरहरूले ठुलो आन्दोलन गरे। यो आन्दोलनको मुख्य कारण केन्द्र सरकार द्वारा पी. एफ. निकाल्न नपाइने निर्णयको विरोध थियो। मजदुरहरूले काम रोकेर, बाटो अवरोध गरेर अनि “ मोदी गे धिक्कारा” (मोदी मुर्दाबाद) जस्तो नारा लगाएर आफ्नो विरोध जनाए। आगो जस्तो घामको पर्बाह नगरीकन यी मजदुरहरूले सरकारद्वारा मजदुरहरू माथि गरिएको अन्यायको ओठे जवाब दिए। पी. एफ. सम्बन्धित सुधारलाई वापस लिइयोस् भनेर यहाँका मजदुरहरूले दुई दिनसम्म काम ठप्प राखे अनि बंगलुरुबाट बाहिर जाने मुख्यबाटो अवरोध गरे। आसपासको ईलाकामा पनि मजदुरहरूले यस्तै बाटो अप्नाए। सारा शहरमा धुम मच्चियो। सरकार अनि पुलिसलाई भइरहेको घटनाको धुईपत्तो थिएन। अनि यसलाई कसरी सम्हाल्नु भन्ने कुरामा त झन् तिनीहरू दिशाहीन थिए कारण सरकारको अर्को पट्टि साहसी र जुझारु युवा महिला मजदुरहरू थिए। एक जना मजदुरको भनाइ अनुसार यदि तिनीहरू चुपो लागेर कामबाट निस्केर धर्नामा बसेको भए तिनीहरूले मिडियाको यस्तो आकर्षण पाउन सक्ने थिएनन्। सोचे जस्तै पुलिसले त्यसपछि अन्धाधुन्ध लाठी चार्ज शुरु गरे, आँसुग्यास फ्याके अनि कतिवटा फायरिंग पनि गरे। सबैजसो पुरुष पुलिसको टोलीले यी निहत्ये महिला मजदुरहरूलाई कुट्नु सम्म कुटे। यस्तो निर्मम र बर्बर आक्रमणको अघाडी पनि तर मजदुरहरूले हार मानेनन्, पुलिसको लठ्ठीले तिनीहरूको लक्ष्य र संकल्पलाई भाँच्न सकेन। यिनीहरूको साहसले मोदी सरकारलाई घुडा टेक्नु लगायो अनि सरकारले अहिलेको लागि पी. एफ. सुधारको निर्णयलाई फिर्ता लियो। 
यहाँ यो कुरा खुबै आश्चर्यजनक रह्यो कि पुलिसले किन यस्तो बर्बरता साथ यी मजदुरहरू माथि आक्रमण गयो त? यस्तो उत्तरमा पुलिसले ढुङ्गा फ्याकेको र बसहरू जलाएको आरोप लगायो तर कारण त सहज थियो कि कुनै पनि बुर्जुवा पार्टीको सरकारले मजदुरहरूको यस्तो उभारलाई सहन गर्न सक्छ र? उनीहरूले चाडो भन्दा चाडो यो जनउभारलाई कुल्चनुको लागि मात्रै अफ्नो वफादार सेवकको प्रयोग गरेका थिए। फलस्वरूप मजदुरहरू गम्भीर रूपले घइते भए। त्यसपछि पनि पुलिसले हजारौँ मजदुरहरूमाथि झुठो मुद्दा हाल्यो अनि फ्याक्ट्री देखिनै दुई तीन दिन पछाडि धेरैजनालाई गिरफ्तार पनि गयो। 
एकापट्टि राज्य सरकार अनि पुलिसले सार्वजनिक रूपमा बयान दियो कि यो हिंसाको मुख्य कारकहरू ‘बाहिर’-का मानिसहरू थिए, लुगा फ्याक्ट्रीका मजदुरहरूको यससँग कुनै लेनादेना छैन। तर अर्को पट्टि चाहिँ 19 तारिक पछाडि प्राय 280 जना मजदुरहरूलाई पुलिसले खुबै घातक अपराधको निहुँमा पक्राउ गयो जसमा मान्छे मार्ने प्रयास, हतियार राख्ने अपराध साथै गैरकानुनी रूपले भेला हुने अपराधहरू छन्। धेरै कष्ट गरेर कतिपय मजदुरहरू बेल लिन सफल रहेका छन् भने धेरैजना अहिले पनि जेलमै छन्। राज्य सरकारले यी जम्मै केसहरू फिर्ता लिने बाचा त गरेको छ, तर यसमा कत्तिको सच्चाई छ त्यो त समयले नै बताउछ। 
कर्नाटकामा लुगा बनाउने कारखाना बंगलुरु अनि छेउछाउको ईलाकामा केन्द्रित रहेको छ। प्राय 5.5 लाख मजदुरहरू यहाँको 1500-2000 युनिटले गठित कारखानामा कार्यरत् छन्। जसमा 90% मजदुरहरू महिला मजदुरहरू हुन्। कोयम्बटोर, तिरुप्पुर, इरोड, सलेम, नामक्कल इत्यादि ठाउँमा तमिलनाडु सरकारले ‘मंगलसूत्र स्किम’ शुरु गरेको छ, जसमा गाउँ गाउँबाट महिला मजदुरहरूलाई ल्याएर फ्याक्ट्रीकै ससाना कोठाहरूमा राखिन्छ अनि दिन रात काममा जोताएर केही वर्ष पछाडि मंगलसूत्र दिएर बिदा गरिन्छ ताकी यी केटीहरूको बिहे हुन सकोस्। यस्तै किसिमको केन्द्र सरकारको अर्को योजना अनुसार उडीसा, झारखण्ड इत्यादि ठाउँहरूबाट केटीहरूलाई बंगलुरुको लुगा फ्याक्ट्रीहरूमा काममा लगाइन्छ जहाँ होस्टेलको नाममा यिनीहरूलाई एकप्रकारले बन्दी बनाएर सानो कोठामा बोरा खदाइ गरेर राखिन्छ। यिनीहरूलाई केवल फ्याक्ट्रीबाट होस्टेल र होस्टेलबाट फ्याक्ट्री लगिन्छ। जस्तो प्रकारको अवस्थामा यी मजदुरहरू काम गर्न बाध्य छन् त्यो अमानवीय, शोषणपूर्ण र निर्मम छ। 8 घन्टे कामको लडाई धेरै अघि लडेर लिई सकेको सयौँ वर्ष पुग्दा पनि यी मजदुरहरूले आज पनि काम, ओभरटाइम, आउने जाने समय मिलाएर प्राय 17 घण्टा जस्तो काममै बिताउने गर्छन्। कामको अवस्था झन् तर्साउने सपना जस्तो छ यहाँ। यी मजदुरहरूले स्वच्छ पिउने पानी शौचालयको व्यवस्था धरी पाउदैनन्। एकपल्ट फ्याक्ट्री भित्र पसे पछि यिनीहरूले बाहिरको संसारसँग कुनै प्रकारको सम्पर्क राख्न सक्दैनन् कारण यहाँ मोबाइल फोन वर्जित हुन्छ। म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासमा वर्णन गरिएको कामको वातावरण सित यहाँको स्थिति ठ्याक्क मिल्छ फरक यतिनै छ की त्यो आजभन्दा प्राय 100 वर्ष अघाडीको स्थितिको वर्णना थियो र जुन आजसम्म पनि सत्य साबित भइरहेको छ। त्यही माथि पनि यी मजदुरहरूले आफू नारी भएको पापको सास्ती खप्नु परिरहेको छ, कसरी? यिनीहरूको कामको धेरै समय आफू भन्दा उचा पदमा रहेको पुरुष सुपरभाइजरद्वारा गरिने शारीरिक र यौन अत्याचारको सामना गर्दैमा व्यर्थ हुन्छ। आफू माथि थोपिएको कामको ठिका जसलाई पुरा गर्न नसकेको खण्डमा तलब काटिने धम्की, शौच गर्न जाने अनुमति नपाउनु, अरूबाट शारीरिक र मानसिक अत्याचार सहेर काम गर्नु पर्ने स्थिति एकदमै चल्तीमा छ। नाथे 7000 रुपियाँ महिनाको चाकरीको लागि यी मजदुरहरूले पशुतुल्य अवस्था सहनु पर्छ। कुनै प्रकारको भेटघाट तथा युनियनको कुरा सुन्ने बित्तिकै ती मजदुरहरूलाई बिदा गरिन्छ र भएन भएन भने त्यो युनिटनै बन्द पनि गरी दिन्छ मालिक। कारण एउटा युनिट बन्द हुँदा करोडौको मालिकको के जान्छ र? यस्तो कारखानाले बजारमा मजदुरहरूको समय, श्रमशक्ति, ज्याला, तिनीहरूको सामयिक शक्तिको चोरी गरिरहेको छ अनि यिनीहरूको आत्मसम्मानलाई नाङ्गो परिरहेको छ। यी मजद्र्हरूले दिनरातको पसिनाले संसारको दामी दामी कपडाको ब्रान्ड तैयार गर्छन् जस्तै एइच एण्ड एम, पिएर कार्डिन, एलेन सोली, ग्याप, जेसी पेनि, जारा, ब्ल्याकबेरी, नाइकी, टमी हाइलफिगर, लाकोस्टे, बेनेटन इत्यादि। 
30-35 जना मजदुरको दलले प्रत्येक 40 सेकेन्डमा एउटा सर्ट बनाउछन् अनि 70 जना मजदुरले 1 मिनटमा एउटा कार्गो प्यान्ट तैयार गर्छन्। यस्तो कामको चापमा यिनीहरूले पानी पिउने र शौच जाने फुर्सद सम्म पाउदैनन्। जहाँ एउटै H&M को स्कर्टको दाम $25 छ त्यहाँ एउटा मजदुरले दिनमा कतिवटा यस्ता स्कर्टहरू बनाउछन् होला तर पैसा कति पाउछन्!!
पी. एफ. एउटा संचय गर्ने स्किम हो जसमा कर्मचारीको बेसिक ज्यालाको 12% जम्मा हुने गर्छ जुन राशि मालिक र कर्मचारी दुवैले मिलेर भर्छन्। अहिले सम्मको नियम अनुसार एक जना मजदुर दुई महिनासम्म बेकरी भए उसले आफ्नो जम्मै पी. एफ. को राशि निकाल्नु सक्थ्यो। तर 10 फरवरीको नोटिसमा सरकारले उक्त राशि निकाल्नु सक्ने सर्तलाई संशोधित गर्दै भन्यो कि -कर्मचारीले केवल पी. एफ. को आफ्नो संचय मात्र निकाल्न सक्नेछ र बाँकी पैसा 58 वर्ष पुगेर रिटायरमेन्ट पछाडि मात्र पाइने छ। कमचारीको जुन 12% बेसिक ज्यालाको अंश मालिकले भर्छ त्यसको पनि 3.67% मात्रै पी. एफ. मा जम्मा हुनेछ र बाँकी 8.33% पेन्शन फण्डमा जानेछ। मजदुरको यस्तो हालतमा जहाँ पी. एफ. नै यिनीहरूको एकमात्र सहारा हो जुन प्रत्येक पाँच वर्षको अन्तरालमा बेकारी भएको खण्डमा निकाल्न सकिन्थ्यो त्यही पी.एफ. पनि यिनीहरूले अप्रेलको अन्त्यसम्म याचिका नदिएको खण्डमा आधा रकम मात्र पाउने अनि बाकी चाही रिटायर भएर मात्रै पाउने नियम सरकारले निकाले पछाडि यी मजदुरहरू यस्तो उग्र रूप धारण गर्न बाध्य भए। 
राज्य र केन्द्र सरकारले पक्कै पनि यसमा कसैको अदृश्य हात छ, नत्र महिलाहरू कसरी यस्तो उग्र हुन सक्छन् भन्ने टिप्पणीहरू गरे तापनि यो त साच्चै हो की यस्तो अवस्थामा काम गरेर पनि दुखको समयको निम्ति बचाएको पी.एफ. को रु. 40000- 50000 पनि चोरी दिँदा कसको दिमाग ततिन्दैन? पाँच वर्ष काम गरेन भने यिनीहरूले ग्राच्युती पनि नपाउने भए। यस्तो खबर देखि अत्तालिएर मजदुरहरूले युनियनहरूलाई पनि चाडो भन्द चाडो यसको विरोध प्रदर्शन गर्नु पर्ने आवश्यकता जनाए र त्यहाँबाट पनि ढिलाइ हुँदा चाहिँ यी महिला मजदुरहरू आफै सडकमा उत्रे। 
आजभन्दा 14 वर्ष अघाडी 24 जुलाई 2002 मा पनि पी. एफ.-कै मुद्दा लिएर लुगा बनाउने मजदुरहरूले आन्दोलन गरेका थिए। जब बेकारी भएका मजदुरहरूलाई पी. एफ. कार्यलयबाट पी. एफ. निकाल्ने फर्म दिन अस्वीकार गरियो। 10,000 युवा महिला मजदुरहरूले सडक अवरोध गर्दै विरोध प्रदर्शन गरे। त्यहाँ कुनै युनियन थिएन, कुनै नेता थिएन। त्यही भिडबाट वक्ताहरू जन्मिए, भाषणहरू दिइयो। त्यस दिन पनि अहिले जस्तै प्रश्नहरू उठेको थियो, अहिले जस्तै पुलिसले लाठीचार्ज गरेको थियो। 
मोदीद्वारा नेतृत र सङ्घ परिवारद्वारा चलित केन्द्र सरकारको नवउदारीकरण र वैश्वीकरणको नीतिनै यस्तो सङ्घर्षको कारण हो जहाँ देशी-विदेशी पुँजीको संरक्षण गर्न सरकारले यी मालिकहरूलाई मजदुरको शोषण गर्ने खुला लाइसेन्स दिई रहेको छ र यही मालिकहरूको स्वार्थ रक्षाको निम्ति सरकार दिनरात सजग छ। देशमा श्रम कानुन हुँदा हुँदै पनि मजदुरहरूको हालत बत्तर छ। ‘मेक इन इण्डिया’ को सुनौलो मखुटो भित्रको भयानक लक्ष्य मजदुरहरूलाई दास बनाउनु हो। त्यसैले यो सङ्घर्ष खटिखाने मानिसको भित्रको आगो हो र सास लिनु जस्तै यो आन्दोलन पनि अवश्यम्भावी र स्वाभाविक थियो।  


'नुइ देबु' : रातभरी सडकमा फ्रान्सको जुझारू जनता

प्रकाश विश्व

प्राय तीन महिनादेखि फ्रान्समा मजदुरहरूको अभूतपूर्व आन्दोलन चलीरहेको छ। लाखों मान्छे सडकमा ओर्लिएर, नारा-जुलुस गर्दै, ठाउँ ठाउँमा स्ट्रिट फाइट र रातभरि सडकमा बसेर 'नुइ देबु' (Nuit debout) भन्ने आन्दोलन चलाइरहेका छन्। नुइ देबउ 31 मार्च देखि शुरु भएको एउटा सामाजिक आन्दोलन हो जुन प्रस्तावित श्रम कानुनमा सुधार ‘एल खोम्री ल’ (El Khomri law) को विरोधमा जन्मिएको आन्दोलन हो। यस आन्दोलनको मुख्य लक्ष्य एल खोम्री बिल र यसका प्रतिनिधिहरूलाई फ्याक्नु हो। 31 मार्च देखि उता विरोधकारी हरूले पेरिस को Place de la République मा राती राती भेला भए। खासमा नुइ देबु आन्दोलनको शुरुवात 23 फरवरी 2016 मा फ्रंकोस रुफिनको [जो कि एउटा लेफ्ट विंग जर्नल ‘फकिर’ को संस्थापक हो अनि ‘मेर्सी पाट्रों’ (Merci Patron)*भन्ने डक्युमेन्ट्रीको निर्माता हो] नेतृत्वमा डाकिएको एउटा मिटिंग बाट भएको थियो। 
यो मिटिंग बोलाउनु पछाडि रुफिनको उद्देश्य त्यस ठाउँमा रहेका अरू पनि सक्रिय विरोधकारीहरूलाई एकजुट पार्नु थियो। यसमा नोट्रे-डामे-देश-ल्यंडे (NOTRE-DAME-DES-LANDES) नामक प्रस्तावित एरपोर्टको विरोध गर्दैगरेका मानिसहरू, गुडइएर टाएर कम्पनीका श्रमिकहरू अनि शिक्षामा संशोधनको विरोध गर्दैगरेका शिक्षकहरू थिए। त्यस सभमा भागलिने एक जना अवकासप्राप्त ड्राइभरले भने—  “त्यस जन सभामा हामी 300-400 मानिसहरूले भाग लिएका थियौँ अनि सबैजना सोचिरहेका थियौँ कि कसरी सरकारलाई तर्साउन सकिएला? त्यसपछि हामीले अर्को ठुलो विरोध प्रदर्शनीपछाडी घर नजाने निर्णय गऱ्यौँ।” मिटिंगमा उपस्थित सबैजनाले पेरिसको प्लेस दि ल रिपब्लिक ओगट्ने निर्णय गऱ्यौँ र 31 मार्च 2016 मा  त्यस सभामानै 'एल खोम्री बिल'को विरुद्ध 31 मार्च प्लेस दे ला रिपब्लिक अकुपाई गर्ने निर्णय भएको थियो। 

'नुई देबोउ' को शाब्दिक रूपान्तरण 'UP ALL NIGHT', 'STANDING NIGHT' अनि 'RISE UP AT NIGHT' हो। फ्रान्सको राजनैतिक सांस्कृतिमा यो शब्दको ठुलो असर छ। किनभने सोसियलिस्ट एन्थम "The Internationale"  को पहिलो शब्द पनि 'देबु' नै हो, जसको अर्थ हो ‘उठ जाग’ ("Arise…!")।
2011 को ग्रेट रिसेसनको बेला धेरैवटा विकसित  देशहरूमा कोर्परेट लोभको विरुद्ध धेरैवटा जन आन्दोलनहरू सुरु भयो। स्पेनमा 15-M वा इन्दिगनादोस (INDIGNADOS) भन्ने आन्दोलनले बृहत् प्रदर्शन र सार्वजनिक स्थानहरू कब्जा गर्ने काम गयो जसले पोदेमोस (PODEMOS) जस्तो राजनैतिक पार्टी जन्मायो। अमेरिकामा अकुपाई बल स्ट्रिट भयो जतिबेला प्रदर्शनकारीहरूले म्यानहटनको जुकोटी पार्क कब्जा गरेका थिए। त्यतिबेला यी सब आन्दोलनहरूले फ्रान्सलाई पनि असर गरेको थियो, फलस्वरुप ला-डिफेन्समा (LA-DEFENSE) नोवेम्बर 2011मा जन आन्दोलन भएको थियो। यद्यपि 2016 भन्दा अघि यस्तो आन्दोलनहरूको असर धेरै नै कम्ती थियो। फ्रेन्च प्रवक्ता पिएरे हस्की भन्छन्- “फ्रान्स त्यसरी पछाडीनुको कारण प्रेसिडेन्ट फ्रंको होल्लंडे (Francois Hollande) थियो। 2011, 2012 मा जब एक पछि अर्को अकुपाई आन्दोलन चल्दै थियो जस्तै स्पेनमा पोदेमोस गठन हुँदै थियो, फ्रान्स बद्नाम निकोलस सारकोजीको बद्लीमा एउटा सोसियलिस्ट प्रसिडेन्ट होल्लंडेलाई निर्वाचित गर्न पछाडि लागि परेका थिए। 'जब चुनावबाटै समाधान हुन सक्छ भने अकुपाई आन्दोलन किन?' भन्ने मनस्तिथि बोकेर हिडीरहेको थियो फ्रान्स त्यतिबेला।"
तर होल्लंडेको सरकारले बाचाहरु पुरा गर्न सकेन अनि फ्रान्सका जनतालाई निराश बनायो। होल्लंडे सरकारमा आउँदा बेकरीहरूको सङ्ख्या 9% थियो भने 2016 मा बढेर 10.6% भयो। 25%ले युवा बेकरी सङ्ख्याको गति बढेको छ। अहिले आएर पाँच मध्ये चार भोटर 2017 को चुनावमा होल्लंडेको फेरी चुनावमा खडा हुनुको पक्षमा छैनन्।
होल्लंडेको सरकारले बेकरी समस्याको समाधान गर्न श्रम बजारमा उदारीकरणको नीतिलाई उचित ठाने। श्रम मन्त्री मरियम एल खोम्रीको 'एल खोम्री बिल'ले देश भरीका श्रम कानुनमा फेर बदल गर्ने अनि कम्पनीहरूलाई श्रमिकहरूको कामको अवधि हप्ताको 35 घण्टा भन्दा धेर बढाउने, ओवर-टाइमको हाजिरमा कटौति हुने इत्यादि कुराहरू लागु हुने नीतिहरू बनाए। तर यो बिलले जनताबाट ठुलो आघात खानु पयो। 
जनताले ठुलो जन-विरोध अनि आन्दोलनले यसको जवाब दिएका छन्। 9 मार्चमा पहिलो प्रदर्शनी भयो पछि 31 मार्चमा सब भन्दा ठुलो विरोध प्रदर्शनी भयो जसमा 390,000 मानिसहरूले भाग लिएका थिए। अनि त्यो खाली त्यो बिलको विरुद्धमात्र नभएर सरकारको सबै नीतिहरू प्रति नै जन-विरोधको आवाजको प्रतिध्वनी थियो।
नोवेम्बर 2015को प्यारिस आक्रमण पछि जन- प्रदर्शनीहरूमा सरकारी रोक लागेपछि पनि मानिसहरूले प्रत्येक दिन 6 बजी उता जन सभाहरू (assemblée générale) राखे। जसमा हातका इसाराहरूले जन मत दिने (जस्तै सहमत हुँदा टाउको माथि हात राखेर अनि असहमति जनाउँदा हात CROSS गर्ने) प्रक्रियाहरू चलाए। 11 अप्रिलको बिहान पुलिसले भेला भएर विरोध जनाइ रहेका मानिसहरूलाई समाते अनि तिनीहरूले बनाएको ब्यरिकेट पनि तोडी दिए तर समातिएकाहरूलाई रात हुनु अघि नै छोडी दिए। चाडै यो आन्दोलन फ्रान्सका विभिन्न शहरहरूमा साथै छिमेकी देशहरूमा पनि फैलियो।
14 अप्रिलमा प्रेसिडेन्ट होल्लंडेले Place de la République मा विशाल स्क्रिनमा भिडियो मार्फत् मिडियामा श्रम कानुन संशोधन नगर्ने बाचा गरे। यस साक्षत्कार पछाडि पुलिस को भनाइ अनुसार प्राय 300 जस्तो विरोधकारीहरू प्रेसिडेन्टको घर तर्फ लागे र यसलाई रोक्न पुलिसले बल प्रयोग गरे फलस्वरुप थुप्रै बिल्डिंग, ब्यांक इत्यादि तोडफोड भयो अनि आन्दोलन देश भरि फैलियो। 
त्यसको फलस्वरूप रेलवे देखि लिएर  रिफ़ाइनरिहरूसम्ममा कामकाज प्रभावित भएको छ। देश भरीमा मजदुर सङ्घर्षको आवाज गुन्जीरहेको छ। प्यारिस जस्तो ठाउँमा पनि अनिश्चितताको माहौल छाइरहेको छ, सडकहरुमा रातो झण्डा लहराउँदै छ। फ्रान्सको यस्तो माहौलको असर यूरोपको जम्मै देशमाथि पनि परेको छ। 
मई दिवसको दिन विभिन्न शहरहरूमा प्रदर्शनकारीहरूलाई सम्हाल्नु पुलिस-प्रशासनलाई निकै चर्को परेको थियो। अझै पनि अन्दोलन जोडतोडले चलिरहेको छ। हामीले यो सङ्घर्ष अनि आन्दोलनलाई राम्ररी निगरानी राख्नु जरुरी छ तर साथै यो कुराहरूलाई पनि ध्यानमा राख्नु जरुरी छ कि किन यस्तो ठुलो आन्दोलनको खबर भारतीय मिडियाले देखाइरहेका छैनन्? 
किनभने यो कर्पोरेट मिडियालाई थाहा छ कि भारतमा पनि श्रमिकहरूको हालत त्यतिकै  सोचनीय अवस्थामा छ। मालिकहरूको स्वार्थमा श्रम कानुनमा सुधार अनि श्रमिकहरू माथि शोषण यहाँ पनि त्यतिकै छ। सरकारको नयाँ नयाँ कदमहरू मजदुरवर्ग माथि अझै डरलाग्दो आक्रमणको सङ्केत दिंदैछ। कर्पोरेट मिडियाले त त्यस्ता श्रम कानुनहरू लागु गर्ने परिस्तिथिलाई जन्माउने कोसिस गरिरहेको छ। ‘मेक इन इंडिया’ जस्ता नीतिहरूको प्रचार त्यसको उदाहरण हो। पत्रकारितामा पनि जुन प्रकारको शोषण छ त्यसको डरले पनि यी मिडियाहरू फ्रान्सको खबर देखि बेखबर हुने ढोंग गरिरहेका छन्। कारण एउटा पत्रकारको कामको अवधि 6-8 घण्टा हुनु पर्नेमा 10-12 घण्टासम्म खट्नु पर्छ त्यसैले कहाँ देखाउन सक्छ र यी कर्पोरेट मिडियाहरूले त्यस्तो खबर। तर यो जन-विरोधको आगो केवल फ्रान्समा मात्र सीमित रहने छैन। फ्रान्स पुँजीवादको सङ्कटको परिणाम हो। भारतमा पनि यस्तो जन-विरोधहरू सल्किन थालेको छ। अब कहिले ठुलो विस्फोट हुन्छ त्यसको तयारी गर्नु पर्ने बेला आएको छ।

हाम्रो मई दिवस पालन

निकिता लामा

'अब दिन वो प्यारा आया है...'— यो गीत गाउँदै प्रत्येक ठाउँमा हामीले यसपालिको मई दिवस पालन कार्यक्रम शुरू गरेका थियौँ। गीत मई दिवस मजदुरहरूको दिन भनी सारा विश्वमा नै मनाइने गरिन्छ, यो दिन मजदुरहरूको सङ्घर्षले पाएको हक र अधिकारहरू को प्रतीक हो।  1 मई को दिन मजदुरहरू को लागि निकै महत्त्वपूर्ण दिन हो।  इतिहासको पन्नामा छ मई दिवसको कहानी। सन् 1886 को 1 मई अमेरिकाको शिकागो शहरको हे मार्केटमा श्रमिकहरू भेला भएका थिए एउटा सम्मानजनक जीवनको मांग लिएर— आठ घण्टा काम, आठ घण्टा बिश्राम, अनि आठ घण्टा मनोरन्जनको अधिकार। यस आन्दोलनलाई कानुनीरूपले स्वीकृत गराउनुको लागि भेला भएको त्यस लडाइमा कैयौ मानिसहरूको मृत्यु भयो। अनि त्यो लडाइलाई सङ्गठित गर्ने ‘अपराधमा’ बम फ्याकेको आरोप लगाएर सातजनालाई फाँसी र एकजनाको आजीवन कारावासको सजाय भयो, पछि गएर 4 जना वीर श्रमिक नेतृत्वलाई फाँसी भयो— एन्जेल्स, फिसर, पर्सन्स, स्पाइस। 
मई दिवस मजदुरहरूको पुँजी अनि मुनाफा कमाउने चक्रव्यूहको विरुद्ध लडाई हो। मजदुर वर्गको सङ्घर्ष आज मुन्नार देखि बंगलुरुसम्म, मानेसरदेखि होन्डासम्म अनि संसारभरिनै अमेरिका देखि फ्रान्स र पाकिस्तान देखि बङ्गलादेश फैलिएको छ। यो सङ्घर्ष संसारभरिनै चलिरहन्छ जब सम्म एउटा यस्तो समाज बनिन्दैन जहाँ मानवताको बास हुन्छ मानिसहरू प्रेमको सुर्योदयको लागि बाच्नेछन्। 
यसै दिनलाई पालन गर्दै यसपालि हामी चिया बगान सङ्ग्राम समितिले आयोजना गरेको कार्यक्रमहरूमा भागीदारी लिँदै 30 अप्रिल देखि 2 मई सम्म  डुवर्सको ठाउँ ठाउँका चिया बगानहरूमा हिड्यौं। यो मई दिवसमा चिया बगान सङ्ग्राम समितिले मिनिमम वेज, फ्रिन्ज बेनिफिटको राम्रो वितरण, कामको सुनिश्चितता साथै मजदुरहरूको निम्ति आत्मसम्मानपूर्ण जीवनको नारा लगाए। हाम्रो लालीगुराँस टोलीको गीत सँगसँगै थियो हाम्रो नाटक टोली दृश्यसमूहको सडकनाटक प्रस्तुति ‘विश्वकर्मा’।   प्रथम दिन हामी बाग्राकोट गयौँ, जुन धेरै समय बन्द भए पछि हिजस्ती खोलिएको थियो। फ्याक्ट्री त अझै बन्दनै थियो। चरम सङ्कटमा परेर यहाँका मानिसहरू कामको खोजीमा टाढा टाढा पलायन हुँदै जाँदैछन्। बग्राकोटकै गोकुल सिंग थापाको गीतको बोलले भने झैँ “घरबार छोडेर लै लै गएछ केरेला” यहाँको निम्ति घाम जत्तिकै सत्य छ। हाम्रो सडकनाटक विश्कर्माको उद्घाटन यही बगानबाटै भयो।  
त्यसै पनि श्रमिक श्रेणीको अस्तित्व कतै पनि छैन। स्कुल पाठ देखि लिएर खबर मध्यम कतै पनि छैन। यहाँका बगानका श्रमिकहरूको अवस्था त अझ खराब छ। बन्द चिया बगान खोलिने आशा त होइन बरु चल्दै गरेकै बगानहरू पनि एक एक गर्दै बन्द हुँदै छन्। सामाजिक सुरक्षा त परै जावोस्, प्राणको सुरक्षा पनि मजदुरहरूलाई दिनु मालिक आनकानी गर्दैछन्। यसैले अलिक उन्नत जीवनको आशामा यहाँका मानिसहरू सुदुर ठाउँहरूमा जादैछन्।  
हामी यी कमानहरूमा जानु को मूल उदेश्य त्यहाँका मजदुरहरूलाई आफ्नो हक र अधिकार बारे जागरुक गराउनु र आफ्नो क्षमता को बोध गराउनु थियो। यो नाटक कलकताका स्वभाव कोलकाता भन्ने नाटक दलको हो, जसमा एक जना जुट मजदुरको कथा छ, जुट मिल बन्द हुनु र त्यसपछि पलायन भई अन्य ठाउँहरूमा गएर खटीखाने मजदुरहरूलाई लिएर लेखिएको हो। यसलाई अलिकति फेरबदल गरेर जुट मिलको सट्टा बन्द चिया बगानको श्रमिक बनाउदा र अरू सान्धर्भिक परिवर्तन गर्दा कुनै पनि समस्या भएन कारण श्रमिकहरूको समस्या र तिनीहरूमाथि शोषण सबै ठाउँमा एउटै हो। नाटकमा उद्योगहरूको स्थिति बन्द भए पछि के कस्तो हुन्छ र  पलायन भई काम गर्न गएका मजदुरहरूले खप्नु परेको अवस्थालाई दर्शाइएको छ, कसरी भोको पेट बसी बसी काम गर्नु पर्छ र अर्काको हेपाई सही पैसा कमाउनु पर्छ, परदेशमा सहनु परेका पिर र मर्का, मालिकको हेपाई,  कम वेतन, बस्ने असुविधा इत्यादिहरूलाई यस नाटकमा राम्ररी दर्शाइएको छ। मजदुरहरूलाई कसरी मालिकहरूले शोषण गरी मुनाफा कमाउछन् र मजदुरहरू मालिकको मुनाफाको लागि कतिको खटिनुपर्छ यी सबै कुराहरू यस नाटक मा दर्शाइएको छ। पहिलो दिन बाग्रकोटमा नाटक प्रदर्शन गयौ, नाटक खुल्ला सडकमा भएको थियो नाटक सँग-सँगै कविता वाचन र जोस पूर्ण गीतहरू पनि गाएर त्यसदिन मई दिवस पालन गऱ्यौ।  कविगण मनोज बगोटि, प्रदीप लोहगुन, उमेश परियारले समस्याले ग्रसित श्रमिकहरूको कविता सुनाए भने हाम्रा साथी कलाकार अमिर सुन्दासले परिवर्तनको गीत गाए। मजदुरहरू तथा स्थानीय मानिसहरूले खुसी साथ हाम्रो कार्यक्रममा भाग लिए तथा आफ्नो वक्तव्य पनि राखे। त्यहाँ निकै मजदुरहरू र अन्य दर्शकहरू पनि भेला भएका  थिए र आफ्नो परिस्थितिलाई नाटकसँग दाज्न सकेकोमा नाटकसँग जोडिएको महसुस गरे।  


दोस्रो दिन 1 मई, मा हामी बीरपाडा अन्तर्गत डंकनको बन्द चिया बगान दुम्सिपारामा कार्यक्रम लगेर गयौ र बेलुकी पाखा 5 बजीतिर हामीले अन्य समस्त प्रोग्राम साथ नाटक पनि प्रदर्शन गऱ्यौ। स्थानीय मजदुर र सचेत मानिसहरूले उत्साह साथ कार्यक्रममा भाग लिए, मई दिवसको ऐतिहासिक महत्वको बारेमा वक्तव्य राखियो, गीत प्रस्तुत गरियो साथै प्रदिप लोहगुन द्वारा निर्मित लघु चलचित्र “रित्तो गाउँ” को मंचन पनि गरियो। मई दिवस को महत्वलाई दर्शकहरू बिच पुर्याउदै हामीले त्यहाँ नाटक प्रदर्शन गऱ्यौ र त्यहाँ पनि दर्शकहरूले नाटक धेरै मनपराए र घर देखि टाढा गई आफ्नो परिवार पाल्ने मजदुरहरूको दुखलाई अनुभव गरे। तेस्रो दिन 2 मई मा हामी दिउसो दुम्सीपाडाको छेउमै अर्को बन्द चिया बगान हन्टापाडामा गयौ प्राथमिक पाठशालाको  ग्राउण्डमा नाटक प्रदर्शन गऱ्यौ। हन्टापाडाको कार्यक्रम भने त्यहाँका मानिसहरूको उत्सुकताले गर्दा त्यत्तिनै बेला तय गरिएको थियो। बेलुकी पख गारोपारा चिया बगानमा गयौ, त्यहाँ नयाँ अनुभव हामीले समेट्न सक्यौ र मजदुरहरूको दुखलाई अझै नियालेर पुष्टि गर्न सक्यौ। त्यहाको अनुभव साँचीनै प्रेरणादायक थियो। कार्यक्रम सकिएर पनि छेउछाउका कयौ युवायुवतीहरूले गीत गाउदै हाम्रो सुरमा सुर थप्यो। यस पालीको मई दिवस को उपलक्षमा मजदुरहरू बिच गई उनीहरूको सङ्घर्षलाई प्रोत्साहन दिँदै र हामी सबै पनि  यो सङ्घर्ष को एक हिस्सा हौ भन्दै हामीले मजदुर दिवस पालन गऱ्यौ। मई दिवस अमर रहोस्!



फिल्म रिभ्यू : वृत्तचित्र "नबोल्दा नबोल्दै..." — बोलिपठाएको सजीव कथा!

टिका 'भाइ'





मेरा मित्र शमीक चक्रवर्तीले फोन गरेर कालेबुङ आउने खबर दिए। राजनैतिक कर्मी समीक वृत्तचित्र निर्माण, पत्रिका प्रकाशन अनि कम्युटरसम्बन्धित काममा पनि निपुण छन्। ‘गोर्खाल्याण्ड आन्दोलन’-लाई बुझ्ने अनि यसको छेउ कुनाबारे अन्यत्र पनि जानकारी होस् भन्ने हेतुले इनकै सक्रियतामा अनि क्यानभासको ब्यानरमा ‘क्वेस्ट अफ मदरल्याण्ड’ निर्माण भएको थियो जो नेपाली, अङ्ग्रेजी अनि बङ्गला तिनभाषामै प्रस्तुत गरिएका थिए। अरू पनि केही काम क्यानभासद्वारा भएको थियो। यसचोटी कालेबुङ आउँदा उनले हेराए ‘नबोल्दा नबोल्दै!’ शुरूदेखि अन्तसम्म यो वृत्तचित्र हेरेपछी मनमा धेरै कुरा उठे अनि गए। तत्काल यसबारे केही लेख्ने सोच बनाएको थिएँ तर लेख्ने फुर्सद निकाल्नु केही समय लाग्यो।
क्यानभास् अनि रेप्टाईल्सको संयुक्त प्रस्तुतिमा निर्मित वृत्तचित्र ‘नबोल्दा नबोल्दै’ दार्जीलिङका चिया मजदुरहरूको दैनन्दिन जीवनको कहाली लाग्दो जीवनको धेरै निकट उभेको छ। केरलाको एक अन्तर्राष्ट्रिय फिल्म महोत्सवको निम्ति चयन भएको र प्रदर्शित यस वृत्तचित्रको निर्माण धेरै सामान्य अनि कम खर्चालु भएपनि यसको विषय अनि सम्पादनले वृत्तचित्रलाई गहकिलो तुल्याएको छ। वृत्तचित्र निर्माणको पारम्परिक तरिकाहरूभन्दा भिन्न, बनेकै कारण यसमा कृतिमताभन्दा धेर स्वाभाविकता छ। यसलाई हेर्दा ‘चियाबगान’-को जीवनमाथिका विभिन्न सवाल र सङ्कटहरू मनमा चित्र आउँछ अनि जान्छ। सायद ‘नबोल्दा-नबोल्दै’ शीर्षक राखिनुको कारण पनि वृत्तचित्रले कुनै नियोजित धारणा र उत्तर प्रस्तुत नगर्नुले गर्दा हो। यस वृत्तचित्रको प्रस्तुतिलाई काव्यिक मान्दा हुन्छ। विषयहरू निर्धारित अनि निश्चित नभएर चियाबारीका विभिन्न पक्षहरूलाई बिस्कुन जस्तो छरपष्ट देखाईदिएको छ र यसमा वृत्तचित्र अवलोकन गर्ने दर्शकका निम्ति चियाबारीको समस्या हेर्ने, समस्या बुझ्ने अनि जवाब खोज्ने स्पेस पनि दिन्छ।
 एक चियाबारी मजदुर महिलाको साँझ-बिहान अनि मेलोमा बित्ने जीवन वरिपरीका घटनाक्रमहरूको सजीव चित्रसहित कमानको जीवनका विभिन्न पक्षहरूको सूक्ष्म चित्रणले वृत्तचित्रलाई बलियो तुल्याएको छ।  नाटकीयता भन्दा धेर स्वाभाविक घटनाचित्र, स्वाभाविक सम्वाद, साँचो अनि काँचो प्रस्तुतिले वृत्तचित्र हेर्दा कुनै वृत्तचित्र हेरिरहेको नभएर म कुनै चियाबगानमा घुम्दैछु अनि त्यो चियाबगानको शुख-दुखसित परिचित बन्दैछु भन्ने भावले ओतप्रोत गरिदिन्छ।
एउटा विकट कमान छ, त्यहाँ पुग्ने बाटो राम्रो छैन, रोगिलाई बोकेर सडकसम्म पुराउनु पर्दछ, त्यहाँको जीवन र दुख बुझ्न, मालिक-अधिकृत-नेताहरू कोही-कोही पुग्दैन। त्यहाँ एक मजदुर महिलाको जीवन र संसार छ। बेला-बखत चियाबारी समस्या लिएर स्वाभाविक कुराकानी अनि चियाबगानका मजदुरहरूको आफ्नो मन्तव्यलाई पनि देख्न सकिन्छ। यस वृत्तचित्र केवल एक एजेन्डा वा मुद्दामा केन्द्रित प्रस्तुति नभएर समग्रमा चियाबारी सङ्कट र मजदुर समस्याबारे आजको समाजलाई उठेको एक सवाल हो। जस्तो दयनीयता, दुख पीडा वा सङ्कटहरू छन् त्यससित जसो-तसो ज्युन नै पर्ने जस्तो जीवन छ मेहनतकस चियाबारी मजदुरहरूको। देशको यो उद्धयोगमा मजदुर ऐन या सरकारको कुनै ठोस योजना या सुरक्षाले काम गर्दैन तर यसलाई त्यागेर अलग संसार र जीवनको कल्पना पनि गर्न नसक्ने चिया बगानका मजदुरहरूका जीवन-सङ्कटको वास्तविक समाधान के?– बेला-बखत तनखा बढ्नु, बोनस बढ्नु अनि कहिले घट्नु, मुनाफा घट्ने सम्भावना देख्दा कमान बन्द गरिनु अनि मजदुरहरूलाई कुनै राहत बिना बेसहारा जीवन बिताउन छोडिदिनु। यस्ता धेरै कथाहरूले भरिएका छन् तर पनि ‘चुपचाप’ छन् कि लाग्छ। युवा-युवतीको औसत पढाई पछि गाउँ छाडेर टाढा काम खोज्न जानु अनि कमाई राम्रो हुनेहरूले घर अलि व्यवस्थित गऱ्यो, नसक्ने वा कम पढेकाहरू बाहिरी शहरतिर पनि उस्तै यातनापूर्ण जीवनकै हिस्सा बन्दैछन्। चियाबारीको उराठिलो जीवनमा ‘नबोल्दा-नबोल्दै’ निस्किने सुस्केरा, अनिश्चयता, दयनीयता आदिको सफल चित्रण बनेको छ यो वृत्तचित्र।







शैक्षिक प्रतिष्ठानहरूमा किन उथलपुथल?

सुमेन्द्र तामङ

'Perhaps, you pronounce this sentence against me with greater fear than i received it'

यी शब्दहरू इटालीको महान् दार्शनिक, कवि अनि विचारक गियारदोनो ब्रुनोले भनेको हुन्। गियारदोनो ब्रुनो 16 औ शताब्दीका सर्वश्रेष्ठ चिन्तकहरू मध्ये एक हुन्। उहाँले समय, विज्ञान र विचारको प्रगतिशीलता र परिवर्तनलाई बुझेका थिए। त्यसबेला रोम साम्रज्यको निरन्तर रुढीवादी सोचलाई चुनौती दिएर, वैज्ञानिक तथ्यहरूलाई प्राथमिकता दिने गर्थे, ब्रुनो। रोम साम्रज्यको आखाको छारो भएका थिए उनी। ब्रह्माण्ड अपरमित छ र यसको केन्द्र पृथ्वी? त के अरू केही पनि हुन सक्दैन भनी मान्थे ब्रुनो।  यसैले यही सोच र विचारले गर्दा ब्रुनोलाई मध्यान्हको उज्यालोमा हजारोँ मानिसको अघि ज्युदै जलाएर मारियो, रोमको क्याथोलिक चर्चले। तर त्यो सोच र विचार भने त्यही जलेको आगो झैँ संसार भरि फैलिएर गयो। सन् 1600 मा केवल, ब्रुनोलाई जलाईएन, त्यस दिन विचार र बोलीको अधिकार माथि पनि हमला भएको थियो। रोम साम्रज्यले आफ्नो 'धार्मिक सत्य' लाई थोप्नु र बचाउनुको निम्ति विज्ञान, सोच र बोली माथि हिंसात्मक र वर्चस्वको थप्पा लगाई दियो। त्यस दिन देखि गियारदोनो ब्रुनोलाई स्वतन्त्र सोच र बोलीको अग्रदुत मानिने गरिन्छ। उहाँले विज्ञान र समाजको प्रगतिको निम्ति आफ्नू ज्यान समेत त्यागी दिए र उहालाई यो पनि थाहा थियो कि यो बलिदान त्यसै खेरो जाने छैन भनेर र इतिहास साक्षी छ, ब्रुनोको बलिदान त्यसै खेरो गएन पनि। 
'Freedom of thought and speech' को कुरा गर्दा भारतमा धेरै हल्ला-खल्ला भइरहेको छ। भारतको विभिन्न ठाउँहरूमा धार्मिक, अर्थनीतिक र वैचारिकरुपमा कट्टरवादी वर्चस्व भइरहेको छ। काश्मिर देखि तमिलनाडु र मणिपुरदेखि गुजरात चारै दिशामा स्वतन्त्र सोच र वाणी माथि निरन्तर हमला भइरहेको छ। 'बोल्नु पनि पिर र नबोल्नु पनि पिर' भने झैँ भारत को राजनैतिक र सामाजिक हालत अहिले धेरै सोचनीय अवस्थामा आइपुगेको छ। ठाउँ-ठाउँमा व्यक्तिगत रूपमा बोक्सी हत्या 'witch hunt' भइरहेको छ। हैदेराबाद विश्वविद्यालयमा रोहित वेमुलाको संस्थागत हत्या 'institutional murder' पछि देशभरिनै रिस र प्रतिरोधको भक्कानो र आवाजहरू उठेको छ, उठेको छ भन्नु त भारतको क्रान्तिकारी इतिहासलाई हेला गर्नु जस्तो हुन्छ तर पनि रोहित वेमुलाको त्यो शोषित पीडित कथा र आत्महत्याको चिठीले गर्दा आन्दोलनको स्थर निक्कैनै माथि पुगेको छ। यस दमन र शोषणको गाठोलाई तोड्ने प्रयासमा देशभरि विभिन्न विश्वविद्यालयहरूमा, विभिन्न ठाउहरूमा, गल्ली-गल्लीहरूमा प्रतिरोधको तरंगहरू उठिरहेको छ। दिल्ली स्थित जवाहरलालनेहरू विश्वविद्यालय एउटा यस्तो ठाउँ हो जहाँ व्यक्तिगत र सामूहिक स्वतन्त्रताको प्रश्नहरू धेरै दशक देखि नै चली आइरहेको हो। जे. एन. यु मा स्वतन्त्र विचार र वाणीको अधिकारको निम्ति, विगत तीन महिना देखि निरन्तर आन्दोलन भइरहेको छ। सङ्घ परिवारको कट्टरवादी -फासिवादी विचारधारालाई विरोध गर्दै, विद्यार्थीहरूले आन्दोलनको बाटो लिएको छ। क्याम्पसमा बढ्दो दमनकारी र वैचारिक वर्चस्वको विरोधिताबाट शुरु भएको यो आन्दोलन आज देशभरि नै एउटा नयाँ बिजुलीको रूपमा अघि आइरहेको छ। फेब्रुअरी 9 तारिक अफज़ल गुरुको फासी माथि सांस्कृतिक कार्यक्रमबाट शुरु भएको वार्तालाप 2 हप्ता भन्दा ज्यादाको 'mass hunger strike' मा आएर उभिएको छ। RSS-BJP-VHP-ABVP को गणत्रन्त्र माथि बारम्बार हमलाको कारणले गर्दा, कट्टरवादी-फासिवादी-रुढीवादी को विरोधिताको रूपमा भारतवर्ष भरिनै यस्ता राज्य विरोधी आन्दोलनहरू डढेलो लागेझै सल्की रहेको छ। जे.एन.युका विद्यार्थीहरू, कतिपय शिक्षकहरू र यस आन्दोलनलाई समर्थन गर्ने समस्त मानिसहरूलाई 'anti national' र 'sedition' को ट्याग लगाई दिइसकेको छ यस मोदी सरकारले। प्रश्न गर्नु को फल हो यो, केवल प्रश्न मात्र होइन अफ्ट्यारो र सत्ता, पुँजी विरोधी प्रश्न गर्नुको फल हो यो। कन्हैया कुमार, उमर खालिद, अनिर्बन भट्टर्चार्य र अन्य विद्यार्थी अनि राजनैतिक कर्मीहरूलाई थुनी दियो, यो गणत्रन्त्र देशको प्रतिनिधिहरूले। आफ्नू हक र अधिकारको निम्ति जे.एन.यु का विद्यार्थीहरू र शिक्षकहरू अनिशितकालिन भोक हड्तालमा बस्नु बाध्य भए। भोक हड्तालमा कति धक्मीहरू आए, कति जना त हस्पतालमा भर्ना पनि भए। जे.एन.यु का यी विद्यार्थी र शिक्षकहरूलाई आतङ्कवादीको उपाधी पनि दिइयो। कति जना विद्यार्थीहरूको घरमा धम्कीको पत्र पनि पठाइयो। 'भारत माता कि जय' नभन्नु अब भारत विरोधी हुनु थियो। फेब्रुअरी 14 को दिन कन्हैयाको पटियाला कोर्टको सुनवाईको दिन बि.जे.पीको एम.एल.ए, ओ.पी शर्माको नेतृत्वमा कालो कोर्ट लगाएका (lawyer) संघीहरूले, कोर्ट बाहिर धर्ना गर्दै गरेका विद्यार्थीहरूलाई पिट्नु सम्म पिटे। अर्को तर्फ, जे.एन.यु को प्रवन्धनले High Level Enquiry Committee (HLEC) को गठन गयो। HLEC को रिपोर्ट अनुसार उमर, अनिर्बन र मुज्जेब गत्तो लाई युनिवर्सिटीबाट निकाली दियो भने कन्हैयाले 10,000 रुपियाँको जरिनामा दिनु पयो। HLEC को यही निर्णयको विरोध गर्दै आमरण भोक हड्तालको घोषणा गरेको थियो। 2 हप्ता भन्दा ज्यादाको भोक हड्ताल पछि उच्च न्यायालयले HLEC को निर्णयलाई स्टे अर्डर दियो। अहिले जे.एन.यु का विद्यार्थीहरू अझै आन्दोलन तर्फ जाने र यस फासिवादी विचारधारालाई विरोधिता गर्ने संकल्पमा अघि बढी रहेका छन्। 


यो त भयो दिल्ली च्याप्टर, कलकत्ताको जादवपुर विश्वविद्यालयमा पनि ABVP-BJP-RSS को हमला चली नै रहेको थियो। जे.एन.यु आन्दोलनको समयनै जादवपुर विश्वविद्यालयको विद्यार्थीहरू माथि ABVP का गुण्डाहरूले हमला गरिरहेका थिए। जे.यु क्याम्पसलाई ध्वंस पर्ने आशा बोकेर जे.यु को गेट नम्बर 4 मा संघी हरू र विद्यार्थी हरूको लगभग 1 घण्टा सङ्घर्ष भएको थियो त्यसबेला। त्यसबेला जे.यु का शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूसित मिलेर मानववन्धन बनाएर क्याम्पस भित्र यी संघीहरूलाई छिर्नु दिएनन् र यस कुराले मानौं तिनीहरूको इज्जतमा आघात लागेको थियो। मई 6 तारिकको दिन ABVP को सदस्यहरूले ( हुन् त, जे.यु मा ABVP कुनै युनिट छैन ) विवेक अग्निहोत्रीको 'Buddha in a Traffic Jam' भन्ने चलचित्रको प्रदर्शन गयो। यो चलचित्रको विषय लिएर कुरा गर्न जादा गुगल मा यसको रिविउ मात्रै पढे हुन्छ, जे होस् यो चलचित्र जुन सुकै विचारधारामा आधारित् भए ता पनि, यस चलचित्रलाई हेर्ने वा प्रदर्शन गर्ने सबैको समान हक छ। यही नै हो सोच र वाणीको स्वतन्त्रता, जसको निम्ति हामी सबै लडी रहेका छौ। स्वयम् विवेक अग्निहोत्री पनि थिए त्यो दिन जे. यु क्याम्पसमा। अग्निहोत्रीले 40 मिनेट को वक्तव्यमा धेरै उल्टा पाल्टा शब्द र लजिकहरू बोले, जे .यु को विद्यार्थीहरू माथि अनावश्यक इल्जामहरू पनि लगाए। जे.एन.यु को आन्दोलनलाई 'anti-national', देशद्रोही बताए। तर पनि, ठिकै थियो आफ्नू मत र विचार राख्नु सबैको हक हुन्छ। अर्को तर्फ, जे.यु का विद्यार्थीहरूले पनि मुजफ्फरनगर बाकी है भन्ने साम्प्रदायिक दंगामाथि बनाइएको वृत्तचित्र प्रदर्शन गर्ने निर्णय लियो र यो विद्यार्थीहरूको बराबर हक हो। तर, ABVP का सदस्यहरूले विद्यार्थीहरू माथि हमला गयो। यिनीहरूको अनुसार, जे.यु का विद्यार्थीहरू मार्क्सवादी र आतङ्कवादी विचारधारा बोकेका सामाजिक किराहरू अरे! जे.यु को केटी हरू वेश्याहरू अरे! यसैले जे.यु लाई यस्तो दर्शनबाट मुक्त गराउने यिनीहरूको कर्तव्य हरे ! 4 जना ABVP को सदस्यहरू माथि मोलेस्टेसनको चार्ज पनि गरियो तर त्यो भने चार्ज को चार्ज नै भएर गयो, परिणाम भन्ने केही पनि आएन शायद भारतको न्यायपालिका यस्तै नै छ होला, मान्छे मरीसके पछि मात्रै हेयारिंग को डेट आउने ! मई 9 तारिक को दिन फेरी ABVP-BJP-RSS को कर्मीहरूले जे.यु हमला गर्ने कल दिए। यिनीहरूको उदेश्य जे.यु भित्रै आएर विद्यार्थीहरूलाई कुट्ने, केटिहरूलाई बलात्कार गर्ने अनि जे.यु मा आतङ्क फैलाएर ABVP को युनिट गठन गर्ने थियो। त्यस दिन क्याम्पस बाहिर तीन वटा ब्यरिकेड लगाएको थियो, पुलिसले। ब्यरिकेड को यस तर्फ भने विद्यार्थीहरू स्लोगन दिँदै अनि अर्को तर्फ भने संघीहरू हात-हातमा कट्टी बोकेर। यस्तो खतरनाक स्थितिहरूसंग गुज्रिनुपर्ने अवस्था आइसकेको छ अहिले, जहाँ निरन्तर धम्की, खतरा छ समस्त जनतालाई, प्रश्न गर्नु मनाइ छ यहाँ तर पनि प्रश्नले नै त विद्रोहको बाटो गोडछ। अहिले पनि जे.एन.यु, जे.यु र समस्त प्रश्न गर्ने मगजहरूलाई निरन्तर धम्की आइनै रहेको छ तर लडाई जारी नै छ, जारी नै रहने छ। 
सोक्रेट्सले प्रश्न सँग नै विद्रोह शुरु हुन्छ भने झैँ अहिले भारतवर्षमा सत्तामा बस्नेहरूको कुरा नसुन्नु र तिनीहरूको विचारधारा नमान्नु भनेकोनै भारत विरोधी हुनु हो। जे.एन,यु र जे.यु को मूल कुरा यही नै थियो। हिप्नोटाइज गरे झैँ सत्तामा बसने फासीवादका चम्चाहरूले भनेको कुरा मान्यो भने देश प्रेमी, नत्र देशद्रोही यही नै हो अच्छे दिन मोदी ज्यु ले भनेको। राष्ट्रवादको नाममा यहाँ बिजिनेस चली रहेको छ, राष्ट्रवादको मुकुट ओडेर यहाँ धार्मिक हिन्दु कट्टरवादीहरूले हिंसा, रगत र ज्यानको होली खेली रहेको छ। दार्जिलिंग-तराई-डुवर्समा कति वटा बगान बन्द छ, कति श्रमिकहरूको जीविका खत्तम भई रहेको छ, कति केटा केटीहरू पढ्न पाएका छैनन्, दिनहुँ युवा युवतीहरू पलायन भएर घरबार छोडेर केरेला, दिल्ली, बंगलुरु, दुबाई इत्यादि जानु परि रहेको छ ! यस्तो कुरा, यस्ता समस्याहरू मा खोइ त यिनीहरूको राष्ट्रवाद, यिनीहरूको देशप्रेम। पुरै देश भरि नै हालत यस्तै छ, खान नपाएर भोकले ज्यान गुमाउनु पर्ने देश भई सकेको छ भारत, केटीहरू एकलै दुक्लै हिड्दा सौ पल्ट सोच्न बाध्य हुनु पर्ने देश भई सकेको छ भारत, किसानहरूले ऋणको ब्याज तिर्न नसकेर आत्महत्या गर्नु पर्ने स्तिथिमा पुराउने देश भई सकेको छ भारत, विद्यार्थीहरूलाई प्रश्न न गर्नु दिने देश भइसकेको छ भारत। यी सबै कुरा मा खोइ यी संघी र कांग्रेसीहरूको राष्ट्रवाद र देश प्रेम। राष्ट्रवाद र देशप्रेम भनेको देशमा बस्ने मान्छेहरूको बारेमा सोच्नु, माया गर्नु र एक अर्कालाई दुख पीडामा साथ दिनु पो हो त प्रश्न सोध्नु बन्द गरी दिनु होइन। राष्ट्रवाद र देशप्रेम भनेको देशको गरिब दुखीलाई सामाजिक र अर्थनैतिक सुरक्षा दिनु पो हो त यिनीहरूलाई भोकै मर्नु होइन, देशप्रेम र राष्ट्रवाद भनेको सबैलाई हक र अधिकार दिनु पो हो त त्यसलाई चिर फार गर्नु होइन। यी संघी परिवारले हिन्दु कट्टरवादको हात पक्रिएर देशको विद्यार्थी, आदिवासी, दलित, मजदुर वर्ग सबैलाई बेची खाई रहेका छन्। बस्तारमा आदिवासी-दलितहरूमाथि निरन्तर हमला पनि यही फासिवादी- पुँजीवादीहरूको षड्यन्त्र हो। यी सबै कुरा लिएर मिडियाको पनि ठुलो भूमिका छ, तर धेरै जसो मिडिया हाउसहरूले साचो खबर नदिएर जनतालाई अँध्यारोमा हाल्ने काम गर्छ र 'मिडिया ट्रायल' गरेर नै अपराधी घोषित गरी दिने काम गरिदिन्छ। हामीले यो कुरा अर्नब गोस्वामीबाट बुझ्न सक्छौ। मिडिया-पुलिस-प्रशासन मिलेर जनतालाई अन्धकारमा राखने कुचक्र चलाई रहेको छ। विरोधको आवाजहरूलाई बमले हुन्छ कि 'भारत विरोधी' को हतियारले हुन्छ निरन्तर दमनको सांग्लोमा राखने प्रयास चलाई नै राखेको छ। BJP-ABVP-RSS र समस्त सङ्घ परिवारको बाटो र विचारधारामा हिड्ने हो भने भारत हिटलर को जर्मनी र मुस्सोलिनी को इटाली भन्दा पनि भयंकर र हिंसक देशमा परिणत हुने छ। यस अन्धकार भविष्यबाट निक्लनु छ भने  सबै मिलेर लडाई लड्ने पालो आइसकेको छ। एकजुट भएर, एक साथ भएर।