Friday, July 4, 2014

सम्पादकीय : मई-जुन २०१४

श्रमनै समाज-सभ्यताको निर्माता हो

हाम्रो ‘लालीगुरास’ पत्रिकाको यो अङ्क मईको शुरुमानै 'मई दिवस अनि मजदुर वर्ग' माथि प्राथमिकता दिएर निकाल्ने कुरा भएतापनि हामी अलिकति ढिलो भयो। यो ढिलोको कारण खास के हो भने मईको शुरुमानै हामीले ‘मई दिवस’को उपलक्षमा हाम्रो सडक नाटक टोली ‘दृश्यसमुह’-को पक्षबाट चार दिने सडक नाटक अभियान राखेका थियौँ। त्यो कार्यक्रम पछि पत्रिकाको तयारीको काममा हामी लाग्यौं, तर त्यसपछि आयो हाम्रो ‘स्वाधीन’ देशको ‘गणतन्त्र’-को सबभन्दा ठुलो उत्सव चुनावको रिजल्टको क्षण! त्यसपछी नै पत्रिका निकाल्छौं किनभने त्यसमाथि पनि हाम्रो विचारहरू व्यक्त गर्नुपर्ने सोचेर अझै ढिलो भयो। तर यो कुरा साफ थियो कि शासनको भार यसपालि जसको हातमा नै जावोस्, आममानिसको जीवन ‘स्वाधीनता’को स्वाददेखि धेरै टाढै रहिरहन्छ। गलत आर्थिक नीतिको फलस्वरुप बेरोजगारी, काम गुमाउनु, कम ज्यालामा काम गर्न बाध्य हुनु जस्ता कुराहरू सहित मजदुर वर्गको सामाजिक असुरक्षा बढ्दै गयो। विगत वर्षहरूमा मानिसहरूको जीवन-जीविकामाथि आक्रमण क्रमैसँग बढेको छ। शहर र गाउँदेखि जनसङ्ख्याको एउटा ठुलो अंश आफ्नो वासस्थान अनि जीविका देखि विस्थापित हुँदै गइरहेको छ— गरिबी अनि समस्याग्रस्त त्यो जन भेल जीवन-जीविकाको खोजमा अन्य राज्य वा अर्को देशमा गई जुनैपनि प्रकारले बाँच्न चाहन्छ। शिक्षा र स्वास्थ्य जस्तो मौलिक सेवाहरूलाई निजीकरण गर्दाखेरी समाजको एउटा ठुलो अंश यी सेवाहरूबाट बञ्चित भइरहेका छन्। पुँजीको नाफा अभिमुखी आकाङ्क्षाले आममानिसलाई मानिस जस्तो बाँच्न अधिकार दिलाउने एकदमै विफल भएको छ— यो कुरा जति स्पष्ट हुँदैजान्छ, त्यति नै यस कुराबाट जनताको ध्यान हटाउन समाजको सत्ताधारी हिस्सा र उनको पिछलग्गु सरकार-प्रशासन-मिडिया-नोकरशाहीले आँखामा धुलो छर्किने एक पछि अर्को योजना र षड्यन्त्रहरू बुन्दै आइरहेको छ। 

मानिसको श्रमनै समाज-सभ्यताको निर्माता हो। हाम्रो यहाँ हेऱ्यौं भने मजदुर वर्गको त्यो भूमिका त अझै स्पष्ट हुन्छ। यहाँको बाटोघाटो, भवन, त्यसपछि चियाकमान, कुलैनबारी देखि लिएर प्रत्येक पाइला नै खटिखाने मजदुरको रगत-पसिनाले भिजेको छ। त्यसकारणले गर्दा मई दिवस इतिहासको पन्नामा त्यो प्रमाण लेख्ने दिन हो— छुट्टीको दिन वा औपचारिकताको दिन होइन, बरु एउटा शपथको दिन हो। 

हाम्रो विचारमा —हाम्रो समाजको सम्भावित विकासको अघि बाधा बनेको छ वर्तमान समाजव्यवस्थामा रहेका विभिन्नखाले शोषण, उत्पीड़न, भेदभाव। समाजको शैक्षिक, सामाजिक, सांस्कृतिक पक्षहरूको सम्पूर्ण विकासको निम्ति विद्धमान व्यवस्थाको क्रान्तिकारी पुनर्गठन अनि एउटा नयाँ समाजतिरको यात्रा अपरिहार्य हो— जुन समाजमा कुनैपनि शोषण र उत्पीडन हुँदैन। यस स्थितिमा समाज जीवनको सबैक्षेत्रमा शासकवर्गको विचारको बढ्दो असर विरुद्ध हामी विकल्प समाजको भावनालाई प्रतिस्थापित गर्न चाहन्छौँ। यस विकल्पको खोजीमा हिड्नेहरूलाई त इतिहासको पन्नाबाट मई दिवसको इतिहास जान्न अत्यन्त जरुरी छ। त्यसोभए मात्रै पुरानो पन्ना नाघेर नयाँ पन्नामा नयाँ इतिहास लेख्न सकिन्छ। 

के हो त खासमा मई दिवस? १८ र १९औ शताब्दीको औध्योगिक क्रान्तिले विश्वमा पुँजीवादको जरालाई अझ दह्रिलो बनायो र यसले मजदुर श्रेणीको उत्पीडनलाई अझ तीक्ष्ण र घनिभूत तुल्याइदियो। मजदुर श्रेणी माथिको अवर्णनीय उत्पीडन र अन्यायले मालिक वर्गप्रति मजदुर वर्गमा तीव्र रिस र अविश्वास फैलिन थाल्यो जसबाट उन्नाइसौं शताब्दीमा विश्वका धेरै मुलुकहरूमा एकपछि अर्को मजदुर सङ्घर्ष र विरोधले अभिव्यक्ति पाउन थाल्यो। विरोध र सङ्घर्षको यही प्राथमिक कालमा मजदुरवर्गले अमेरिकाको सिकागो सहरमा आठ घण्टा कामको माग लिएर ओर्लिएको मजदुर आन्दोलनले व्यापक असर पायो। १ मई १८८६ मा लगभग ३५०००० को सङ्ख्यामा निस्किएको जुलुस र हड्ताल दबाउन प्रहरीले धेरै जना मजदुरको निर्मम हत्या गरिदियो। उक्त आन्दोलनको ८ जना नेताहरूलाई पक्राउ गऱ्यो जसमध्ये ४ जनालाई फाँसी र अन्यलाई जीवनकैदको सजाय सुनाइयो। यस आन्दोलनलाई दबाउन अमेरिकी सरकारले निर्मम उपाय प्रयोग गरेपनि यस आन्दोलनको प्रभाव सारा विश्वमा पर्नगयो। सन् १८८९ मा मजदुर वर्गको अन्तर्राष्ट्रिय सङ्गठनले के निर्णय लियो भने सन् १८९० को १ मई युरोप र अमेरिकामा शहीदहरूको सम्झनामा व्यापक सङ्ख्यामा विरोध प्रदर्शन र हडताल हुनेछ। ८ घण्टा काम र राम्रो स्वास्थ्य व्यवस्थाको मांगलाई फेरी प्राथमिकता दिइयो। सङ्घर्षमा मजदुरहरूको रगतले भिजेको लुगा मजदुर सङ्घर्षको नयाँ निशान ठहरिंदै मजदुर वर्गको रातो झण्डाको जन्म भयो। दुनियाँभरि नै श्रमिकवर्गको आफ्नै झण्डाको हिसाबले रातो झण्डाको आगमन भयो। अरू अरू पार्टीहरूले जतिनै रातो झण्डालाई उठाओस्, यो रातो झण्डा कुनै पार्टी विशेषको होइन तर समग्रतामा मजदुर वर्गको हो। मजदुर वर्गको आत्मसम्मान, अधिकार र उन्मुक्तिको प्रतीक झैँ यो दिनलाई पुरै संसारमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाइन्छ। केवल छुट्टीको दिन होइन, औपचारिकता मात्रै होइन, यो दिन सम्पूर्ण खटिखाने र मुक्तिकामी जनताको सङ्घर्षलाई ऊर्जा दिइरहने र शपथ लिने दिन हो। 

No comments:

Post a Comment