Friday, July 4, 2014

वर्ल्ड कपको नाममा विस्थापन...

सुमेन्द्र तामाङ



"हामीलाई वर्ल्ड कप होइन, हाम्रो अधिकार चाहिन्छ,
 हामीलाई वर्ल्ड कप होइन, आफ्नो घर चाहिन्छ" 

— यी शब्दहरू अहिले हरेक बेघर भएका ब्राजिलका गरिब नागरिकहरूको नाराहरूमा गुंजीरहेको छ। तर FIFA सँग मिलेर ब्राजिल सरकारले धमा-धम ज्यानमारा, अत्याचारि नीतिहरू अपनाइरहेको छन् औ वर्ल्ड कपको समारोह 'सफल' बनाउनुमा लागीरहेका छन्। जुन १२, २०१४ वर्ल्ड कप ! ४ वर्षमा एकपल्ट आउछ यो सुनौलो चाँड, ५० भन्दा ज्यादा सर्वश्रेष्ठ देशहरू आ-आफ्ना उत्कृष्ट टोली लिएर भाग लिन्छन् यसमा। संसार भरीका दर्शकहरूको निम्ति प्रत्येक खेल रोमाञ्चक औ महत्वपुर्ण हुन्छ। यस समय सबैभन्दा मिल्ने साथीहरू पनि आफ्नो प्रिय दल लिएर मुखा-मुख पर्छन्। यस पाली ब्राजिलमा फिफा वर्ल्ड कपको हावा चलिरहेको छ— कसैको निम्ति सामान्य कुरा तर कसैको निम्ति जीवन-मरणको कुरा हो यो वर्ल्ड कप! ब्राजिल स्वयम् वर्ल्ड कपको इतिहासमा एक ठुलो नाम हो। ब्राजिलले अन्तर्राष्ट्रिय फुटबललाई पेले देखि लिएर जिको, सक्रेतिस, रोमारिओ, ...रोनाल्डो, रिवालदो, रोबोटो कार्लोस, रोनाल्डिन्हो, नेमार जस्ता विशिष्ट खिलाडीहरू प्रदान गरिसकेको छ। ती खिलाडीहरुमध्ये कतिजनाले पनि यसपाली विरोधमा आवाज उठाएकाछन्। 

यसपाली त वर्ल्ड कप भन्ने यो ठुलो बाजार ब्राजिलमा लागिरहेको छ। ब्राजिल— जो BRICS देशहरूमध्ये एक हो अर्थात् ठुलठुला पुँजीवादीहरूको निम्ति प्रशस्त रूपमा पुँजी निवेश गर्ने नयाँ ठाउँ र भविष्यको नयाँ बाजार। त्यसर्थ ब्राजिल यो व्यवस्थाको निम्ति "तरुण तारा " हो। भारत पनि BRICS (Brazil, Russia, India, China, South Africa) देशहरूमध्ये एक हो! तर ब्राजिलको वर्तमान स्तिथि हेऱ्यो भने अर्कै कुरा थाहा पाइन्छ। विगत एक साल देखि ब्राजिलमा वर्ल्ड कपको उत्तेजना भित्र गरिब दुखीहरू बेघर भइरहेका छन्। ब्राजिलमा वर्ल्ड कपको निम्ति ठिक हिसाबमा भन्नु भने १३.३ बिलियन डलरको पुँजी निवेस भइरहेको छ। यसको निम्ति पुँजीको साथ-साथ जमिनको पनि आवश्यकता हुन्छ, स्टेडियमहरू तयारी भइरहेको छ, एयरपोर्टहरू बनिन्दैछ— तर वर्ल्ड कपको निम्ति ब्राजिललाई 'सुन्दर' बनाउने काम छोडेर जनताको सशक्तिकरणको निम्ति काम केही भएको छैन। गरीब जनताको हितमा केही काम भएको छैन, उल्टा गरिब दुखी जनताहरूलाई ब्राजिलको 'सुन्दरीकरण' (Beautification)को नाममा विस्थापित गरिंदैछ। देशको फुटानी राख्नुको निम्ति देशको जनतालाईनै ढण्ठा, बन्दुक, गोलीको सहारा लिएर आतंकित गरिंदैछ। ब्राजिलमा HUMAN DEVELOPMENT INDEX को आंकडा हेऱ्यो भने देशको स्थिति थाहा पाइन्छ, देशको धन अल्पसंख्यक धनीहरूको हातमा छ, गरिबी दिनदिनै बढिरहेको छ। यस्तो आर्थिक औ सामाजिक असन्तुलनमा वर्ल्ड कप हरे!! गरिब दुखीलाई बेघर बनाएर, नानी, केटा-केटी, बुढा-बुढीहरूलाई पिटेर, गोली चलाएर वर्ल्ड कप! वर्ल्ड कपको सफलताको निम्ति ब्राजिल सरकारले गरिब असहाय जनतालाई बेघर बनाईरहेछ— वर्ल्ड कपको सुनौलो खेलसंग जोडिएको तितो सत्य यही हो ! 

वर्ल्ड कपमा दार्जीलिंगको चिया सँग सुरु हुने हरेक दिन ...
अब भारत त वर्ल्ड कपमा उत्तीर्ण हुन नसकेता पनि भारतबाट चिया चाँही यस पाली ब्राजिल जाने भएको छ। हो, ब्राजिल वर्ल्ड कपका हरेक दिनहरू मकैबारी चियाबारीको उच्च गुणको चियाले सुरुवात गरिनेछ ! त्यहाँ हरेक क्याफेटेरियाहरूमा मकैबारी चिया पाइनेछ। दार्जीलिंग चियाको फेरी एकपल्ट मज्जा लिनेछ वर्ल्ड कप खिलाडी, अफिसियलहरूले। हुन त दार्जीलिंगको चियाको यस्तो अन्तर्राष्ट्रिय प्रस्तुति प्रथम पल्ट त भएको होइन, पहिले २००८ को बेइजिंग अलिम्पिकसमा पनि यसले जादु देखाइ सकेको नै हो ! तर यस्तो अन्तर्राष्ट्रिय मान्यता पाएर पनि दार्जीलिंग चियाबगानको मजदुरहरूको स्तिथिमा केही सुधार आएको छैन, यो जस्तोको त्यस्तै छ। ९० रुपियाको खर्चमा मजदुरहरू कसरी चलिरहेको छन्— त्यो मजदुरहरूलाई नै थाहा छ ! यो ९० रुपियाँको खर्चमा नानीहरूलाई पाठशाला पठाउनु, लुगा किनिदिनु, बिरामी भए दबाई किन्नु, घरको सौदा गर्नु र अन्य कामहरू गर्दा श्रमिकहरूको दातबाट पसिना निस्कन्छ! त्यसमाथि दिनदिनै बजारमा सामान-सामग्रीको भाव आकाश छुन लागिसकेको छ। साग सब्जी त सुनको भावमा बिक्रि हुने अवस्था आइपुगेको छ। अधिकतम चिया बगानहरूमा जीवन चलाउनुको निम्ति न्यूनतम सुविधाहरू पनि छैन। त्यसमाथि बेसरकारीकरणको हावा चलेको चलेकै छ पहाडमा। बंगाल सरकारले विगत दिनहरूमा जानीबुझी सरकारी चियाबगानहरूमा सुविधाहरू घटाएर त्यहाँका मजदुरहरूको बेसरकारी मालिकहरू तर्फ झुकाव बढाउने प्रक्रिया चलाईरहेको छ। आफ्नै घरको पर्जा पट्टा पनि छैन कमानका बासिन्दाहरूसंग। त्यसमाथि मुनाफा घट्यो, अफ सिजन भयो र मजदुरहरूले आफ्नो अधिकारहरू लिएर आवाज उठाए औ सङ्घर्ष गर्ने बाटोमा लागे भने यी मुनाफाखोरी अमानवीय मालिकहरू कारखाना बन्द गरेर भागने गर्छन्, त्यसपछि के?... त्यसपछि कमानका श्रमिकहरूको भोक्कै हुने स्थिति आइपुग्छ— यस्तो प्रचार वा अफवाह पनि सधै नै मौजुदा छ। यस्तो स्तिथिमा सङ्घर्ष गर्नु पनि श्रमिकहरू संकोच मान्छन्। कति त काम खोज्ने क्रममा दिल्ली, मुम्बई, कोलकता जस्ता अन्य ठुल-ठुला शहरहरूमा जान्छन्। काम खोज्ने शृंखलामा कति केटीहरू त तस्करी जस्तो भयंकर जालहरूतिर पर्छन्, वेश्यावृत्ति गर्न वाध्य हुन्छन। काम गरे पनि नहुने काम नगरे पनि नहुने स्तिथिमा परेको छन् कमानका मजदुरहरू। यस्तो दरिद्र दृश्यमा दार्जीलिंगको चिया ब्राजिल वर्ल्ड कपमा चलाईने हरे! वर्ल्ड कपमा सबैले दार्जीलिंगको चिया होइन तर कमानको मजदुरको नुनिलो पसिना, बाफिलो खुनको मिश्रण पिउने छन्— होइन र? 

खटीखाने श्रमिक वर्गको स्तिथि ...
चाहे त्यो ब्राजिल नै होस् वा दार्जीलिंगको चियाकमान— श्रमिकहरूलाई जहिले पनि, जहाँ पनि शोषण, उत्पीडन, थिचोमिचो बाहेक केही पनि दिदैन यो पुँजीवादी व्यवस्था। श्रमिकहरूको खुन र पसिनाले चल्छ यिनीहरूको मशिन। ब्राजिलमा वर्ल्ड कपको निम्ति धमाधम काम चलिरहेको छ। फुटबल स्टेडियमहरू एक पछि अर्को बनिन्दैछ। एउटा स्टेडियममा १९०० भन्दा ज्यादा मजदुरहरू नियुक्त गरिएको छ। कार्यस्थलमा जरुरी सुरक्षाको निम्ति केही पनि प्रावधान छैन। दिनमा ८ घण्टा भन्दा ज्यादा काम गराइएको खबरहरू पनि आएको छ। कार्यस्थलमा काम गर्दा गर्दै मजदुरको मृत्यु भएको काण्डहरू पनि सुन्नमा आएको छ ब्राजिलमा, स्टेडियमको छतमा काम गर्दा माथि बाट झरेर मरेको कुरा पनि आयो हालैमा। वर्ल्ड कपको नाममा सुन्दरीकरणको निम्ति श्रमिकहरूलाई यस्तो अमानवीय व्यवहार गरेको उचित त होइन तर यो कुनै नयाँ कुरा पनि होइन। संसार भरि यस्ता काण्डहरू कति हो कति घटीसकेका छन्। हालैमा कोलकाताको प्रसिद्ध साउथ सिटी मलमा एक जना श्रमिक माथि चढेर ब्यानर लगाउदै गर्दा हात चिप्लेर ३ तला बाट झऱ्यो र घटनास्थलमै उसको मृत्यु भयो। कुनैपनि सुरक्षाको व्यवस्था त्यहाँ थिएन ! यस्ता पेशागत खतराको दुनिया भरको खबरहरू त खबरकागजमा पाइन्छ। कति मजदुरहरूको पेसाले त उसको शारीरिक सन्तुलन पनि बिगारी दिन्छ! तर ब्राजिलमा होस् वा दार्जीलिंगमा श्रमिकहरू यसरी नै जीवन र मरणको बिचमा परिरहेको छन्। दार्जीलिंगको चिया कमानहरूमा किरा मार्ने औषधीहरू छर्किंदा पंजा, मुख छोप्ने सामग्रीहरूको कमीले मजदुरहरूको स्वास्थ्य बिग्रेको हामीले सुनेकै छौं। कति दुखलाग्दो कुरा हो — मालिकले दार्जीलिंगबाट चिया ब्राजिलमा पुऱ्याउनु सक्छ तर कमानको श्रमिकलाई बर्खामा गम-बूट, खाना पकाउने दाउरा, ग्र्याचुइटि भने दिन सक्दैन। चाहे त्यो ब्राजिल होस् वा अरू कुनै पुँजीवादी देश— मजदुरको पसिना, खुन बेचेर नै  मालिकहरूले आफ्ना महल बनाउँछन्। तर यी नाफाखोरहरूको लोभ यति मात्रै होइन, अहिले त विभिन्न खेलहरू जस्तै फुटबल, क्रिकेट, बास्केटबल इत्यादि त भयो भयो... स्वास्थ्य व्यवस्था, शिक्षा व्यवस्थाहरू धरी यी ज्यानमाराहरूको निम्ति मार्केटको मैदान भएको छ। 



उन्नति, सुन्दरताको नाममा विस्थापनको उदाहरण मार्फत हामी ब्राजिलमा १७०,००० परिवारहरू भन्दा ज्यादा बेघर भएर उठिबास भएको कुरा देख्न सक्छौ। सुन्दरता र उन्नतिको नाममा विस्थापन भएको कुरा यो पहिलो पटक पनि होइन। ब्राजिलमा यो विस्थापनको विरुद्ध निक्कै विरोधहरू भइरहेछ, हालैमा मजदुरहरू सङ्घर्ष गर्दै विरोध गर्न निस्कन थालेका छन्। यसपालि वर्ल्ड कपमा फुटबल बाहेक गरिब मजदुर जनताको आक्रोश पनि देख्न पाइनेछ ! 

त्यसो भए ...
श्रमिकहरूलाई जही पनि सधैँ नै थिचो-मिचो, शोषण, उत्पीडन भइरहन्छ। चाहे त्यो बङ्गलादेशको लुगा उत्पादनको श्रमिक होस् वा अमेरिकाको कारखानाको श्रमिक नै होस्। श्रमिकहरूको श्रम शक्तिले यिनीहरू ढिकुटी भर्छन्। यो व्यवस्थाले त कुनै पनि समयमा श्रमिकहरूको हितमा काम गर्ने होइन नै, बरु न्यूनतम ज्याला कसरी घटाउनु अथवा खर्च घटाउनु र नाफा सर्वोच्च कसरी गर्नु भन्ने यिनीहरूको लक्ष्य कहिले पनि बदलिने छैन। नयाँ-नयाँ बजार खोज्ने क्रममा पुँजीवाद यति हदसम्म पुगीसकेको छ कि यसले मानवसभ्यतालाई खतरामा हालीरहेको छ। संसारको विभिन्न देशहरूमा यो व्यवस्थाको विरुद्ध आवाज उठीरहेको छ। पुँजीवाद स्वंय पनि विगत समयमा हामीले हेऱ्यौं भने आफै-आफ आर्थिक सङ्कटमा परिसकेको छ कारण पुँजीवाद आफै-आफमा एउटा सङ्कट हो! यी सबै समस्याहरूको समाधान यो वर्तमान व्यवस्थामा हुन सक्दैन। श्रमिकहरूको आत्म-स्वाभिमानले केवल सङ्घर्षबाट मात्रै प्राप्त हुन सक्छ। यसैले यो पुँजीवादी व्यवस्थाको अन्त द्वारा नै एउटा वर्गविहीन व्यवस्थाको जन्म हुनेछ र यसको निम्ति दुनियाभरिका मजदुरहरूले सङ्घर्ष गर्नु जरुरी छ। 




No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...