Friday, April 26, 2013

दुधियाको इतिहास

बादल विश्व



ग्रामीण बुढा-पाकाद्वारा पाइएको जानकारी अनुसार, वर्तमान दुधियाको उत्तर पश्चिमबाट एउटा सानो खोला बालासन नदीमा मिसिन आइपुग्छ। जसलाई दुधे खोला भनी पुकारिन्थ्यो र अहिले पनि यो यसै नामले प्रचलित छ। यही दुधे खोलाको नामबाट वर्तमान दुधियाको नाम ‘दुधिया’ भनी नामकरण गरिएको रहेछ। उक्त खोलामा कमेरो माटो बगाएर ल्याउँदा खोला नै दूध खै सेतो रङ्गको देखिने भएर नै उक्त खोलाको नाम दुधिया रहेको थियो भनेर गाउँले बुडा-पाकाहरू जनाउदछन्। 

सन् १९५० भन्दा पहिले यस क्षेत्रमा (वर्तमान दुधियामा) मानिसहरू बसो-बासो गर्दै आएको कुनै प्रकारको प्रमाण नभएको र चारैतिर जङ्गल अनि घारी मात्र भएको उक्त क्षेत्रका केही वयोवृद्ध व्यक्तिहरूको भनाइ छ। यहाँ ६०-को दशक देखि मात्र मानिसहरूको बिस्तारै बसो बासो गर्न थालेको कुरा त्यहाँका स्थानीय बुढा-पाखाहरुले बताउँछन्। जसको लिखित होइन केवल प्रमाण मात्र प्राप्त छ।

यस ठाउमा मानिसहरू पंखाबारी, सोनादा, रंगबुल, रम्फू र नेपालको ओखल ढुँगा अनि अन्य ठाउँबाट पनि कामको खोजीमा आएका थिए। कयिपय मानिसहरूलाई रामवरण थापा भन्ने एउटा व्यक्तिले ल्याएका थिए। कतिपय आफैँ पनि आएर उसको पट्टाभएको  जमिनमा बसो-बासो गर्न थालेको र उसकै जमिनमा कुत अनि अधियाँमा*१ खेती बारी गर्न थालेको बुढा-पाकाद्वारा जानकारी पाएको छ। रामवरण थापा एउटा जमिनदार जस्ता भै सकेको थिए त्यसैकारणले गर्दा उसको जमिनमा जति पनि बसेको छन्, त्यसलाई जमिन्दार-भित्ता भनिन थालिए। यहाँको डाक घरको वर्तमान नाम जमिन्दार भित्ता नै भनेर जानिन्छ। 

पहिले आउनेहरु जमिन्दार रामवरण थापाको जमिनमा बसिसकेका थिए। तर पछि आउनेहरु यता उता भट्की रहेका थिए। तिनीहरू आफ्नो परिवारसँग आएका थिए। आफ्नो परिवारको निम्ति स-सानो झोपडी बनाएर मरदहरु कामको खोजीमा हिड्थे भन्ने तथ्य त्यहाँका केही ज्यूँदो इतिहासहरूले बताएका छन्।

तिनीहरू कामको खोजीमा सुकुना, पंखाबारी, पानी-घट्ट जस्ता ठाउँमा गएका र बक्खु लगाएर गोजीमा भातको डल्ला र हातमा चिया च्यापेर हिडेको तर पनि काम नपाएको जस्तो घटना अनि आर्थिक जीवनबारे त्यहाँका बुडा-पाकाहरूले जानकारी गराउँछन्। त्यही दुःख पिडा निरन्तर रूपले चलीरहदा, सही नसक्नु भए पछि, पीडित व्यक्तिहरूको झुण्ड बनाई केही व्यक्तिहरूले मिलेर पंखाबारी चिया बगानको जमिनमा दखल गरी बस्ने निर्णय लिएका थिए। त्यसरी नै लग भग २० देखि ३० परिवार जमिन दखल गरेर बस्दा पंखाबारी चिया बगानका मालिकले पुलिस चौकीमा केश लगाइदिए जसपछी  उनीहरूलाई पक्डेर कानुनी कार्वाही गरियो।

जानकारी अनुसार सन् १९६८ साले भल-पहिरोमा दुधिया बलासनमा ठुलो भेल आउँदा सबै घर, जमिन खेती बारी सबै बगाएर नास पारेको थियो ।फेरि पछि त्यही जमिन मानिसहरूले दखल गरी बसो बासो गरेको अनि कालान्तरमा जमिनको पट्टा आ-आफ्नै नाममा गरेको बूढ़ा-पाका जानकारी गराउँछन्। भने कतिका जमिन भने ६८ सालको प्राकृतिक विपदा पछि अहिले सम्म पट्टा नपाएको जानकारी पाइएको छ । त्यस समयमा राजनैतिक सोच अनि सङ्घर्षमा धेरै सक्रिय रहेका केही जीवित इतिहास सरह व्यक्तिहरूको यही भनाइ छ । 

यहाँ बिस्तारै स्कुल, स्वास्थ्य केन्द्र, पञ्चायत, अइ सि डी एस, एस.एस.के, जस्ता सरकारी दफ्तरहरु खोलिन थालिए। अनि बिस्तारै आर्थिक सुधार पनि हुँदै गएको कुरा गाउँलेहरू बताउँछन्। बिस्तारै पसल- बजार, बाटो- घाटो, गाडी-घोडा बढेर जानुसहीत स्थानीय मान्छेहरूको पनि जनसङ्ख्या बढ्दै गएको थाहा पाइएको छ । यहाँ हालमा ३ वटा आई.सी.डी.एस, २ वटा एस.एस.के, स्थापित भइसकेको छ। 

(*१: अधियाँ: जमिनमा खेती गरिसकेपछी फसल उठाउँदा जमिन मालिक अनि कृषक माझ फसल आधा-आधा हिस्सामा बाडिने चलन।) 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...