मनोज बोगटी
मलाई १० रुपियॉंको ठाउँमा ५० रुपियॉं दिऊँ लाग्यो। जीवनमा यस्तो कहिल्यै लागेको थिएन। म रिक्साको चक्कामाथि चढेको छु, कुनै बुढोमान्छेको खुट्टामाथि चढेको थिइनँ। भक्तिको मन बिसञ्चो थियो। मलाई थाहा छ उ पिरोलिरहेकी छन्। तर चॉंदनी चौक जानैपर्छ, र हत्तार छ।
ती बुढोको हाते रिक्सामाथि चढेर हामी पुग्यौं चॉंदनी चौक।
हामी उत्रिएपछि तिनको बुढो शरिरबाट पसिना पनि उत्रियो। लथपथ भयो तिनको शरिर। गाम्छाले निधार पुछेर भक्तिको हातबाट तीस रुपियॉं थापे अनि मुसुक्क हॉंसे।
बेसी पैसा पाएर हॉंसेका तिनी।
तर म हॉंसिन। न भक्ति नै हॉंसिन्। किन भने हामी दुवैले देखेका थियौं उसको कॉंध, जो गोरुको कॉंध हो भन्न वा ठान्न हामी पटक्क सक्दैनौं। उ मान्छे थियो। हामीजस्तै।
............
पहिलोपल्ट कोलकाता पुगेको थिएँ। कलकत्ता पुग्न पाइन। ढिलो भयो। म पुग्दा कलकत्ता कोलकाता भइसकेको थियो। सानी कॉंटकी महिला मुख्यमन्त्री छिन् पश्चिम बङ्गाल राज्यमा। त्यही राज्यको राजधानी। यो राजधानी ममता र व्यानर्जीहरूको मात्र। मलाई मेरो राजधानी जस्तो कहिल्यै पनि लागेन।
जस्तो कि मुख्यमन्त्री हाम्रो मुख्यमन्त्री हो भन्ने कहिल्यै लागेन। भक्तिलाई पनि लागेन। किन हँ?
झन्नै भक्तिकै हाइटकी मुख्यमन्त्रीको ठूलोठूलो नक्सा छ सडकका दुइकिनारमा। कुन सडक हो मलाई थाहा छैन। हिरोइन् नै थिइन् ममता व्यानर्जी कुनै दामी क्यामेराले बनिएकी। मदर टेरेजा होइनन् तर तिनको जस्तै सारी छ। सारी त छ तर बानी छ त टेरेजाको जस्तो? वाणी छ त टेरेजाको जस्तो?
कुन्नी है मलाई त थाहा नै छैन। देख्दा त तिनी चप्पल लगाउँछिन्, मानौं तिनी चप्पल लगाउनेहरूका साथी हुन्। सुतीका सारी लगाउनेहरूकी दिदी हुन्। दौरा सुरुवाल अथवा साइरन बजाएर खाल्डा परेको सडकमा कुदिबस्ने खॉंट्टी गोर्खाहरूको आमा चॉंही कसरी हुन?
कस्तो हॉंस उठ्छ भनेनी..!
राजधानीका मुख्यमन्त्री अचेल त दिनभरि लाइभमा हुन्छिन्, तिनको दलको रङ टल्किनेे च्यानलमा। दिनभर पेन्टिङ गर्छिन् अनि हकार्छिन्-‘कस्तो अभद्र पत्रकारहरू, फूल कुल्चिँदै हिँड्छ्न्। थप्पड हान्छु र पो..।’ त्यसपछि शुरु हुन्छ बङ्गाली विवाद। सम्पूर्ण विवादभित्र कतै हुँदैन हाते रिक्सा खेप्ने त्यो बाजेको पिल्सिएको कॉंध। उसले पसिना पुछ्ने गम्छा। अलिकति रुपियॉं पाउँदा हास्ने मुस्कान। र खालिखुट्टे कोलकोते सडकको अलकत्रे छालामा उसले कुल्चिने खाली खुट्टा।
तरै पनि तपाईँलाई थाहा छ? मुख्यमन्त्रीले गरीब नारीकी पेन्टिङ बनाउँछिन्।
पेन्टिङभित्रकी नारी हाते रिक्सा चलाउने बाजेको स्वास्नी हुन् र?
................
‘कति कमाउँनुहुन्छ?’
.......
‘कहॉं बस्नुहुन्छ?’
.......
तिनी बोल्दैनन्। अथवा यी प्रश्नहरूको उत्तर भन्दा तिनी पैसा पाउँदैनन्। कति निरर्थक प्रश्न गर्दैरहेछौं हामी कि यसको उत्तर दिने लोभ छैन हाते रिक्सा तान्ने ती बुढाहरूलाई।
‘रिक्सा तपाईँको हो?’
‘होइन’
‘कसको?
‘मालिकको?
हेर्नस् न जब बोले आवाज मन खाने थियो।
जाबो हातैले तान्ने रिक्सा पनि पो उसको होइन रहेछ।
आखिर कोलकाता कसको हो?
...........
भर्खर सडकको पेटीमा ओछ्यान उठ्दै थियो। किनारमा बोरा पट्याउँदै थिए उनीहरू। हामी ‘कहानी’ फिल्मको सुटिङ भएकै ठाउँ छेउछाउको सडक हुँदै हिँडिरहेका थियौं।
तेस्रोेपल्ट थिएँ म कोलकाता। कवि राजा पुनियानीको पछिपछि म। दोस्रोपल्ट पनि म राजा पुनियानीसित नै थिएँ। तेस्रोपल्टमा तिनले भने- ‘सुन्यौ मनोज, उनीहरूको घर भनेको नै यही पेटी हो।’
मैले हेरें छाना भनेको अलिकति कुइरो खेलिरहेको त्यही आकाश थियो। पलङ थियो ज्वेलरी दोकानको बन्द सटरअघिको खाली पेटी। उनीहरू आङ् तान्दै थिए। कोलकाताले आङ तानेको पहिलोपल्ट देखेँ। उनीहरूले आङ तान्दै गर्दा काला कागहरूले फ्यॉंकिएका समोसाहरू ठुँगिसकेका थिए। कागजस्तै चङ्खोहरूले उनीहरू उठ्न अघि के के ठुँगिसकेका थिए होलान्?
मलाई लाग्यो पेटीमा सुत्नेहरूको निधार नै ठुँगिसकेका थिए होलान्।
अब उनीहरूले सफा गर्नेछन् टीनको चुल्हा र पकाउनेछन् हाम्रो निम्ति चिया। हामी पिउनेछौं माटोको गिलासमा तातोतातो चिया। र चिया पिउँदै हेर्नेछौं कोलकाता अनि कोलकाता। दुइवटा कोलकाता। सॉंच्ची नै दुइवटा कोलकाता। जुन एउटा कोलकोताले अहिले हामीलाई माटोको गिलासमा चिया पिलाउँदै थियो अर्को कोलकाता मस्त सुतिरहेको थियो। वाह! क्या कोलकाता!
नेपालका पत्रकार साथी बसन्त बस्नेतलाई जस्तै मलाई पनि कहानीको याद आयो। कहानी, विद्या वालनले संघर्ष गर्नु परेको दुइवटा कोलकाता, अर्थात फिल्म। कहानीले कोलकाताको दुइवटा अनुहारबारे बोलेको छ। कहानीले देखेजस्तो दुइवटा कोलकाता राजा पुनियानी, म, बसन्त बस्नेत, निशान्तले एकैसाथ देखिरहेका रहेछौं। किन हँ?
सॉंच्ची नै बसन्त बस्नेतले भइँमुनि कुदिरहेको कोलकाता देख्नु पर्ने तर देखेछन् ठेला तानिरहेको कोलकाता। अथवा हाते रिक्सा खेपिरहेको कोलकाता। अथवा खास कोलकाता।
..................
राजा पुनियानीले रिक्सामाथि कविता देखे। रिक्सा वा रिक्सा चलाउनेहरू सबैको निम्ति प्याकुप्याकु आवाज मात्र। जो बजाउनै पर्छ। अथवा उनीहरू बजाउनको निम्ति मात्र हुन्। तर कोलकातामा त प्याकुप्याकु बिनाको रिक्सा खेप्ने मान्छेे हुँदारहेछन्। जसको चक्का भनेको आफ्नै खुट्टा हुँदोरहेछ। इञ्जिन भनेको आफ्नै जीउ। जसको खुट्टा खाली छ अनि कॉंधमा मैलो गाम्छा। पेटमा के छ कसले देख्छ?
गाम्चा भिर्छ र निस्कन्छ उ। जसले सधैँ पुछ्छ वास्तविक कोलकाताको अनुहार अथवा निधार। कवि हिँड्यो भने उप्किँदै झर्दोरहेछ कोलकाताको अनुहारमा लिपेको माटो। र छर्लङ्ग हुँदोरहेछ एउटा पौराणिक कोलकाता, जो अङ्ग्रेजकालमा साम्राज्यवादी विचारको लट्ठी टेकेर उभिएको थियो। उभिएको थियो कोलकाता, वरिपरिका कोलकाताहरूको छिलेको छालामाथि।
अझ उस्तै रहेछ कोलकाता।
..............
हन्टर खाएर कवि निशान्तले पनि कोलकातालाई त्यसरी नै चिनेछन् जसरी मैले चिनिरहेको थिएँ। निशान्त हिन्दी र बङ्लामा कविता लेखेर चर्चित छन्। तर तिनले कोलकातालाई चिन्न 32 वर्ष लगाएछन्। जब तिनले कोलकाता चिने त्यउता सबैलाई भन्दै आएका छन्— ‘कोलकाता चिन्न हाते रिक्सा नै काफ्फी रहेछ।’
तिनले लेखेका छन्—
1. कोलकाता
अर्थात...
...हाते रिक्सा।
2. मेरो घरमा एउटा पोष्टर छ
पोष्टरमा मान्छेको कॉंधमा लादिएको छ मान्छे नै
त्यसैको मुन्तिर
त्यही मान्छेलाई कॉंडादार खम्बामा बॉंधेर यमराज
कोर्रा लगाइरहेको छ
त्यही डर देखाउँदै बाबुले
कहिल्यै बसाएनन् मलाई हाते रिक्सामा।
के सॉंचो बोल्थे त बाबा?
अथवा जो म सोंचिरहेको छु
त्यही सोंच्थे त बाबा?
जब देख्छु हाते रिक्सा
म मेरो छोरालाई किन सम्झाइबस्छु
घरको कुनामा टॉंगिएको यमराजको त्यही पुरानो पोष्टर?
3. कोलकाता
अर्थात
हाते रिक्सा।
.........
के ममता व्यानर्जी हाते रिक्सामा चढेका छन् अनि देखेका छन् तिनको शरिरबाट कसरी कोलकाता गन्हाउँछ? जब तिनले मेरो घरको आँगनमा आएर भनिन्-‘दार्जीलिङलाई म स्वीट्जरल्याण्ड बनाउँछु।’ म हाते रिक्सा चलाउने ती नै बुढोको कॉंध सम्झिन्छु। र सम्झिन्छु मुख्यमन्त्रीले लगाउने चप्पल ती नै हाते रिक्सा चलाउले बुढोहरूको छाला टेक्ने बुट भन्दा तीखा छन्।
No comments:
Post a Comment