Friday, April 26, 2013

अङ्क ३ ∙ सम्पादकीय




जसले हामीलाई सपना देख्न सिकाएको छ


पत्रिकाको यो अंक निस्कने बेलामा चारैतिर प्रकृति अत्यन्तै सुन्दर भएको छ। मानौ जुन संदेश हामी लालीगुरास पत्रिकाद्वारा दिन चाहन्छौ त्यो नयाँ विचार, नयाँ सङ्घर्ष, नयाँ समाज निर्माणको स्वप्न लिएर हाजिर भएको छ यो प्रकृति। प्रकृति - पहाडमा ढकमक्क फुलेको लालीगुरास र तराई, डुवर्समा छपक्क रक्तिम पलाश र शिमल आगो जस्तै बल्दै एक्कैचोटी प्रेम र विद्रोहको बाचा लिँदैछ। त्यो विद्रोह जो पृथ्वीप्रतिको प्रेम, प्रकृतिप्रतिको प्रेमले ओतप्रोत भएर आफूलाई अनि आफ्नो वरिपरीलाई क्रमबद्ध रूपमा सजाएर राख्नलाई तत्पर छ। तर प्रकृतिको यो शिक्षा हाम्रो समाजमा कहाँ छ र? बाल्यकालदेखि हामीले सिकेकाछौँ प्रकृति हाम्रो शिक्षक हो र पृथ्वीको पाठशालाबाटै मानिसले मानव सभ्यताको इतिहास बनाएको छ। प्रकृतिको नियमनै मानव सभ्यताको अग्रगतिको बाटो हो भनेर बारम्बार प्रमाणित भइरहेकै छ। तर कोही मानिस कुनै क्षणको निम्ति यो नियमलाई भुल्छन् र यसलाई अस्वीकार गर्दै मानिसको निरन्तर अग्रगतिको स्वाभाविक गतिलाई रोक्न चाहन्छन्, त्यसले केवल साधारण मानिसको विपद मात्र बढाउदैन तर जसले प्रकृतिको नियमलाई अस्वीकार गर्न खोज्छन् त्यसको विरुद्धमा साधारण मानिसमा उप्जेको असन्तुष्टि र विद्रोहले तिनीहरूको अस्तित्वमा पनि प्रश्नचिन्ह लाग्छ। 

     जब यहाँ प्रकृति यति सुन्दर छ, टाढा-टाढाबाट मानिसहरू प्रकृतिको सुन्दरताले मन्त्रमुग्ध भएर यहाँ आइपुग्छन्, ठिक त्यत्तिनै बेला ‘लाफिंग’ जंगलमहल देखि ‘स्माइलिंग’ दार्जीलिंगसम्मको धर्ती सेनाबाहिनीको गह्रौँ बुटले थर्कि रहेको छ त्यो के प्रकृतिको पक्षमा न्यायसंगत छ? जुनै विरोध भए पनि, क्षमतामा भएको पार्टीहरूबीच व्याप्त भाँजोको अनुहार जस्तोसुकै भए पनि मानिसहरूको अस्तित्व र अधिकारलाई त्यो बुटले दबाउन खोज्दा के त्यो दबिन्छ र? 

     चिया बगानमा अहिले हरियो पालुवा पलाएको छ, यो समयमा चियाबारी हरियो रङ्गले पोतिएको छ, त्यही हरियो मुना टिप्न जुन मानिसहरूले रगत-पसिना बगाइरहेका छन्, तिनीहरूको जीवनमा के कहिले हरियाली आउने छैन? तिनीहरूको जीवन चाहिँ कालो अन्धकारमै बित्नेछ? होइन, प्रकृतिले यसो भन्दैन उसले त भन्छ कि यस्तो शोषणले भरिएको व्यवस्था धेर दिन चल्न सक्दैन। 

     यसरीनै शोषणहीन समाजको सपना देखेरै त संग्राममा समिल भएका थिए भगत सिंह। देशको गरीब मानिस, खटी-खाने श्रमिक-किसानहरूको मुक्ति भएन भने स्वाधीनताको अर्थनै के रहन्छ र भनी तिनले भनेका थिए। यही मार्च महिनामा ब्रिटिसहरूको हातबाट शहीद भएका थिए तिनी। 

     भेनेजुएलाको राष्ट्रपति हुगो चाभेज जसको हिजो-अस्ति देहान्त भयो उनले प्राकृतिक उपहार खनिज तेलको प्रयोग कोर्पोरेट लुटाहाहरूको लोभ मेटाउन होइन तर त्यहाँका साधारण मानिसहरूको जीवन स्तर बढाउनलाई गरे। साम्राज्यवादको विरुद्ध तिनको योगदानलाई हामीले स्मरण गर्नै पर्छ। 

     अर्कोपट्टी बङ्गलादेशतर्फ हेर्नुहोस्— इतिहासको भुललाई सुधार्नलाई त्यहाका युवावर्ग सडकमा ओर्लेका छन् र व्यापक विरोध गर्दैछन्। तिनीहरू गीत गाउदैछन्, चित्र बनाउदैछन् अनि जसले धर्मको नाममा समाजलाई विषाक्त गर्न खोज्दैछन्, तिनीहरूको विरुद्ध भयङ्कर विरोध प्रदर्शन गर्दैछन्। 

     भर्खरै मात्र हामीले अन्तर्राष्ट्रिय नारी दिवस मनायौँ। नारी दिवस मनाउनुको खास आशय नारीको समान अधिकार र पितृसत्ताको विरोध हो। तर यो दिवसले दिएको नारीको स्वतन्त्रता र न्यायको आवाज आज धमिलिएको छ र यसको सट्टा स्वतन्त्रताको अर्थ नारी शरीरको प्रदर्शन हो भनेर कराउँदैछन् पुँजीवादका रक्षकहरू। तिनीहरू जसरी सुन्दर हुन सिकाउछन्, जसरी सम्पूर्ण हुन सिकाउँछन्, जसरी आधुनिक हुन सिकाउँछन् त्यो सबको पछाडी लोभ बाहेक अरू केही छैन। सरकारले पनि यी कोर्पोरेटहरूको नाफा कमाउने नीतिलाई सहायता गर्दैछ। पुँजीवादले विकासको नाममा नाना थरीको उपायहरू गरिरहन्छ र देखावटी गर्न नारीहरूलाई समान अधिकारको कुरा गर्छ, वास्तवमा नारीको समानताको कुरा आज पनि खोक्रो र नाममात्रको छ कारण पुँजीवादले आफ्नो फाइदाको निम्ति पितृसत्ताको धेरैवटा रूपलाई समेटेर चली रहेको छ। हामी यी दुइटै चिजको नाश चाहन्छौँ। नारीहरूले जसरी आफ्नो शिर माथि आधी आकाश पाइरहेका छन् त्यसरीनै आफ्नो खुट्टा मुनि आधी धर्ती पनि पाउनु पर्ने हो। 

     वर्षको यो समय जब प्रकृतिले उत्सव मनाइरहेको छ, यही बेलानै मानिसहरूले प्रकृतिको विरुद्ध बढ्दै गरेका आफ्नो पाइलाहरू रोक्न पर्छ अनि यो जम्मै मानिसहरूको कर्तव्य हो जो स्वयम् प्रकृतिको छात्र हो र इतिहासको रचयिता हो। आउनुहोस् पत्रिकाको यो अंक प्रकृतिको युवा उन्मादलाई समर्पण गरौँ जसले हामीलाई सपना देख्न सिकाएको छ।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...