Friday, April 26, 2013

चिया बगानको दिन-चर्या-सन्दर्भ : मेरियनबारी चिया बगान

गुञ्जन राणा


चिया बगान, सुन्दामा सुन्दर सुन्दर हरियो चियाका बुट्टा आँखामा आउछ। दार्जिलिंग जाने बाटोका ठुल ठुला होरडिंगहरूमा लह-लह चियाको बुट्टा अनि पत्ति टिप्दैगरेका केही सु-सजित महिलाहरूले त झन् चिया बगानको अर्कै नक्सा हाम्रो दिमागमा तयार गरिदिएको छ। बाटो यता-उता को हरियो चियाको गाछ हेर्दै मग्न हुनेहरू मध्ये कसले सोच्लान् यही विश्व स्तरीय चिया उधोगको अभिन्न अङ्ग ती श्रमिकहरू श्रमिक नियमको प्राथमिक अधिकारहरू देखि पनि बन्चित छन्। विज्ञान र प्रविधिकिले चरम विकाश गरी सक्यो, बजार सहर अनि सहर महानगरमा परिणत भै सक्यो, यतिकोमा कल्पना गर्न पनि सम्भव हुन्न कि खटिखाने श्रमिकहरू हक एवं अधिकारहिन भै बाचिरहेछन्। यति सम्म कि तिनीहरूलाई मै दिवसको छुट्टी दिईन्छ,तर भोलि भने तिनीहरूलाई फेरी ९ घण्टा त्यही हरियो गाजमा जोताइन्छ, खै विश्वका श्रमिकहरूले आफ्नो ज्यान दिई जितेका ती अधिकारहरू? आज बाँची भोलि फेरी त्यही बगानमा काम गर्न जान ती श्रमिकहरूकलाई कति खान अनि कपडाको जरुरत हुन्छ तिनीहरूलाई केवल त्यति दिई जिउदो राखिन्छ। शिक्षा नपाए, औ गाउँ छोडेर पलायन हुन् नपाए, पुस्ता-पुस्ता त्यही बगानमा होमिन्छन्। न त त्यहाँ समय-सामयिक खबर पुग्छ, न त विश्वको सामान्य ज्ञान नै। श्रमिकहरूको कानमा त गुन्जन्छ केवल स्टाफ डाक्ने साइरनको ती-ती, घन्टाको टिंग-टिंग अनि काम्दारिको किचिंग किचिंग। ‘कमाने’ उपनाम पाएका यी श्रमिकहरूको जीवन साँचै अलग हुन्छ। बिहान देखि साझ सम्म सिमाबिहीन खटाई, अनि बेलुकी रक्सीमा चुर्लुम्भ डुबेर सुताई। 

मेरियन बारी चिया बगानमा पनि बगानको सबै विशेषता पाइन्छ। यहाँ पनि श्रमिकहरू उतिकै शोषित छन्। १५ दिनमा २ के.जी गहुँ अनि चामल पाइन्छ, अनि बिगाह(अस्थायी)हरूलाई घर दिइन्दैन। ३८० स्थायी अनि ५०० अस्थायी श्रमिक भएको यस बगानमा बगानको भूभागको हिसाबले हो भने अझ ४०० स्थायी श्रमिक थप्न पर्ने ४२ वर्षीय बगानको स्थायी श्रमिक मिना छेत्रीले बताए। यहाँ श्रमिकहरूलाई धेरै कम जमिनमा अटाएको कारणले खेती गर्ने जमिन पनि छैन, औ बजारको महँगो साग सब्जी किनेर खान बाहेक श्रमिकहरूकोमा अरू केही विकल्प छैन।



बितेको दशकमा ६६ जनालाई स्थायी बनाए पश्चात् यहाँ एक जनाको पनि स्थायिकरण भएको छैन। परिवारमा स्थायी श्रमिक भए मात्र परिवारको अर्को सदस्य स्थायी हुन्छ। अर्कोतिर बगानमा काम गरेको वर्षौ बित्दा पनि बिगाहवल(अस्थायी श्रमिक)-हरू स्थायी हुदैनन। घरमा यदि कोही बगानमा काम गर्ने भएन भने घर खाली गर्नु पर्दछ। श्रमिकहरू कसैकोमा घर-जमिनको पर्जा पट्टा छैन।

श्रमिकहरू स्थायी अनि अस्थायी मात्र नभएर ३ नम्बर, ४ नम्बर, ५ नम्बर श्रमिक सम्म विभाजित भएका छन्। स्थायी श्रमिकले सहुलियतहरू नियमित रूपमा पाउछन् भने अस्थायी अथवा ३ नम्बर श्रमिकहरूले कम सहुलियतहरू पाउछन् औ त्यो पनि बेसी अन्तरालमा। ४ अनि ५ नम्बर श्रमिकहरूले त झन् केही पाउदैनन्। स्थायी श्रमिकहरूको घरको मर्मति बगानबाट हुन्छ भने अस्थायी श्रमिकहरूको घरको मर्मति बगानबाट हुदैन।

बगानमा चिकित्सालय छ, तर धेरै श्रमिकहरूसँग कुरा गर्दा त्यहाँबाट दवाईहरू केही नपाएको असन्तुष्टि सुन्न पाईयो। सरकारी अस्पताल रेफेर गरिएको खण्डमा खर्च भएको रकमको ५० प्रतिशत हिस्सा बगानले तिर्ने अनि मातृत्व हक छुट्टी ३ महिना पाउछ भन्ने कुरा सुनिए पनि त्यही बगानको एक स्थायी श्रमिक कौशिला सँग कुरा गर्दा उनले मातृत्व छुट्टी केवल ४५ दिन अनि ५० प्रतिशत रकम पनि नपाएको थाहा लाग्यो।

पाठशालाको नाममा त्यही छेवैमा प्राथमिक पाठशाला छ, पानीको नाममा बगानले खनईदिएको तिरतिरे धारा, जहाँ दिनमा दुईपल्ट पानी आउँछ। महिला श्रमिकहरूले त झन् भारी माथि सुपारी पनि बोक्नु पर्छ, पुरुष जतिकै बगानमा खटेर पनि घरको सबै काम गर्नु पर्छ। महिलाहरू बिहान ४ बजे उठेर घरको सबै काम काज सिध्याएर बगान आफ्नो श्रम बेच्न जान पर्छ। शिशुहरूको लागि क्रेच छ, तर घरमा भने नानी आफैले हेर्न पर्छ। धेरै महिलाहरूले बताए अनुसार घरको काममा पतिहरूले सघाउदैनन्। बगानको मालिकलाई नारीहरूको श्रम चाही चाहिन्छ तर नारीहरूले आफ्नो घरमा दिने श्रममा कटोतिको विषयमा भने केही कदम लिएको छैन। ३० वर्षीय दिप्ती बढाइ, जो ५ नम्बर श्रमिक हुन्, यस बगानमा १२ साल काम गर्दा पनि, अहिले सम्म उनको घर छैन, बसो बास गर्ने ठेगाना नहुदा उनी आफन्तको घरमा बस्छन। ५ नम्बर श्रमिक भएकोले उनले न त वर्षै भरि काम पाउछन् न त राशिनहरू नै। निकटमा जङ्गल भएकोले हात्तीले घर भत्काईदिनु त सामान्य कुरा हो, यसो भएमा बगानबाट त केही पाईन्दैन नै, जङ्गल विभागबाट पनि दफ्तर धाउदा-धाउदा थोरै सहुलियत पाइन्छ।

यस्तो छ श्रमिकहरूलको अवस्था, अनि मालिकले भने श्रमिकहरूले अन्दाज पनि लाउन नसक्ने नाफा गरिरहेकाछन्। ट्रेड युनियनले पनि लिन पर्ने दायित्व लिएको छैन, बरु ट्रेड युनियनहरू नै हुन् जसले बितेको सालमा कामको अवधि बढाएर ९ घण्टा बनाउने चुक्तिमा हस्ताक्षर गरे। यो सब कुरा श्रमिकहरूलाई भने थाहा छैन। यतिको परिस्तिथिमा पनि एक महिला श्रमिक मिना छेत्रीले बितेको दशकमा श्रमिकहरूले गरेका हड्तालको वर्णन गर्दै अझ आफ्नो अधिकारको निम्ति भविष्यमा पनि सङ्घर्ष गर्नु पर्ने बताए। यसरी उनले निभ्न लागेको धिब्रीमा तेल हाल्दै भविष्यमा श्रमिकहरूको लडाइँलाई अझ दह्रिलो बनाउने चित्र कोरिदिए।




No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...