Friday, April 26, 2013

बङ्गलादेश बल्दैछ

थेन्डुप लामा


हाम्रा छिमेकी, बङ्गलादेशमा आगो सल्किरहेको छ। त्यहाँ युवासमाज तयार भएका छन् आफ्नो एक-एक थोपा खून बलिदान गर्न। राजधानी ढाकाको शाहबाग स्कोयर देखि त्यो आक्रोश फैलेर देशको विभिन्न प्रान्तमा पुगिसकेको छ । आवाज, हल्ला, चिच्याहट, नारा, जुलुस, चित्र, कला, गीत, पोस्टर, भीड, क्रोध आदिले शाहबाग डगमगाएको छ। आखिर के चाहन्छ यी लाखौ जनसमुद्र जो दिन-रात शाहबाग स्कोयरमा नाराहरू बुन्दैछन्, लडाई लड्दैछन्, विरोध प्रदर्शन गर्दैछन्, मारिँदैछन् अझै जाग्दैछन्, न्याय-न्याय भनी चिच्याउँदैछन्?



५ फरवरी, २०१३को दिन इन्टरनेशनल क्र्याइमस ट्राइबुनल (बङ्गलादेश)-ले जमात-इ-इस्लामीका नेता अब्दुल कादेर मोल्लाहलाई युद्ध अपराधी घोषित गर्दै ६ वटा मामिला मध्ये ५ वटामा दोषी घोषित गर्यो अनि आजीवन उमर कैदको सजाय सुनायो। मोल्लाहलाई मुक्तिकामी कवि मेहेरूनेसाको शिरच्छेदन, ११ वर्ष नाबालिकको बलात्कार, ३४४ जना मान्छेहरूको नरसंहार गरेको आरोपहरू छ। कोर्ट बाहिर निस्किंदा मोल्लाहले हातको इसाराले जितको चिन्ह देखायो। यो व्यवहार बङ्गलादेशीहरूलाई झापटको बराबर थियो। देशवासी खुसी थिएन मोल्लाहको आजीवन कारावास सँग बरु उनीहरूले यस्तो घृणित अपराधको सजाय केवल मृत्युदण्ड चिताएका थिए। साथसाथै देशभरिमा जमात र त्यसको विद्यार्थी सङ्गठन छात्र शिविरको ताण्डव, अत्याचार अनि जमात प्रति सत्ताको नरम मनोभावले देशवासीको मनमा गुनासोको जन्म दिइरहेको थियो, उनीहरूले न्यायपालिका लगायत तथाकथित राजनैतिक दलहरू माथि आस्था गुमाई बाटोमा ओर्लेकाछन्। शाहबागको नयाँ नामांकन भयो— ‘प्रजन्म चत्वर’ (पिडीको क्षेत्र)। ‘प्रजन्म चत्वर’मा मानिसलाई यो सम्झना फर्काइन क्रम चलिरहन्छ भने ३० लाख शहीद र २ लाख आमा-बहिनीको इज्जतको सट्टामा बङ्गलादेश स्वतन्त्र भएको थियो। 

कसैले प्रतिक्रिया जनाउला, मूल धारको मास-मिडिया जस्तै— यी लाखौ स्वरहरूले युद्ध अपराधी जमात-इ-इस्लामीका अध्यक्ष अब्दुल कादेर मोल्लालाई फासी र जमात-इ-इस्लामीलाई रोक लगाउने मांग गर्दैछन्। यतिमात्र यी शाहबागमा भेला भएको जनताले आशा साचेको छैन तर बलियो सपना बिकेको छ— सपना देशबाट धार्मिक कट्टरवादलाई जरैदेखि उखालेर तहसनहस गरिदिने, अझ भरोसा— यस आन्दोलनको तरङ्गले शोषणबाट उन्मुक्त नयाँ बङ्गलादेश सिर्जना हुने। अब बङ्गलादेशी नागरिकहरूले ठानी सकेको छ बेकारमा जमात-इ-इस्लामी र यो जस्तो धार्मिक कट्टरपन्थीले रचेको हिंसा र दंगामा त्यसै बलिको बाख्रा बन्नु भन्दा साहसी बनेर यिनीहरू विरुद्ध लड्नु, डरले थर-थर काप्नु भन्दा खूनको आहुति दिएर देशलाई इस्लामिक वा अरू धार्मिक कट्टरवादबाट पनि मुक्त पार्नु, यिनीहरूको आतङ्कले देश छोडेर भाग्नु भन्दा शिरमा कफन बेरेर देशलाई अत्याचारीहरूबाट उन्मुक्त गराउनु।


शाहबाग विरोधको आगो आज यति जोरले दन्केकोछ कि धार्मिक कट्टरपन्थी, रूढीवादी र शासकवर्ग डरले लक-लक काप्दैछ। उनीहरूलाई डर छ आफ्नो अस्तित्व यस डरेलोले स्वाहा पारिदिन्छ भनेर। यस आगोको बारूद सन् १९७१को बङ्गलादेश मुक्तियुद्धमा नै जनता भित्र फिजिएको थियो। त्यसबेला बङ्गलादेश, इस्लामिक प्रजातान्त्रिक पाकिस्तानको अधिनमा थियो। तत्कालीन बङ्गलादेशलाई पूर्व पाकिस्तान पनि भनिन्थ्यो। सन् १९४७मा ब्रिटिस उपनिवेश भारत भूमिको सत्ताहस्तान्तरण सँगसँगै शासकवर्गले मात्र दुईवटा राष्ट्रियताको आधारमा यस भूमिलाई धर्म आधारित हिन्दु भारत र इस्लामिक पाकिस्तानमा विवाजन गर्यो –-फलस्वरूप इस्लाम धर्म अपनाउने बहुसङ्ख्यक भएको पाकिस्तान, भारतको दुई पाटामा उपस्थित भयो। पाकिस्तानी हुकुमतले उर्दु भाषालाई राष्ट्रिय भाषाको स्वीकृति दिए र यो भाषालाई बहुसङ्ख्यक बंगाली भाषी भएको पूर्व पाकिस्तान अथवा बङ्गलादेशमा पनि थोपे। यो दुई क्षेत्र मध्ये रहेका सांस्कृतिक, भौगोलिक, सामाजिक फरकलाई पनि पाकिस्तानी शासकहरूले मर्यादा दिएको थिएन। सन् १९४८मा बंगला भाषीहरूले मातृभाषा आन्दोलन गर्नथाले जसले  सन् १९५२मा पुगेर विशाल रूप लियो र त्यस आन्दोलनलाई दबाउन पाकिस्तानी हुकुमत र बंगाली इस्लामिक कट्टरपन्थीहरू कठोर बलपूर्वक प्रयासरत रहेतापनि सक्षम हुन् सकेन र २१ फरबरी पुलिसको गोलीले ४ जना (सलाम, रफिक, बर्कत, जब्बार) शहीद भयो अनि त्यसपछि सन १९५६मा जनताको सङ्घर्षबाट बंगालीहरूले आफ्नो मातृभाषा प्रयोग गर्ने अधिकार जिते। फेरिपनि पुर्बीबंगालको जनता माथि चलेको शोषण घटेन। धार्मिक कट्टरपन्थीहरूले गरेको हिंसामा बंगाली मन र मस्तिष्कमा आभास भइसकेको थियो कि धर्म आधारित देशले केवल रूढीवादलाई कायम राखेर जनताको आकांशा र अधिकारलाई कुल्चने काम गर्छ र यसबाट मुक्त हुनु नै राष्ट्रियता आधारित देश निर्माण गर्न आवश्यक छ। यहाँ यो पनि उल्लेख गर्नुपर्छ कि बङ्गाली बाहेक अरू राष्ट्रियताको मानिसहरू पनि यस सङ्घर्षमा थियो, जो पाकिस्तानी हुकुमीबाट मुक्त हुन चाहन्थे। १९६६ मा स्वायत्तताको माँग तयार भयो र सन १९६९ मा जन अभ्युत्थान हुनथाल्यो। यस मुक्ति युद्धमा पाकिस्तानी सैनिक (जसलाई राजाकार भनिन्थ्यो) र पाकिस्तानलाई समर्थन गर्ने यहाँको इस्लामिक कट्टरपन्थीहरूले बङ्गलादेशमा तान्डव मच्चाएको थियो । लाखौँ मुक्ति चाहनेहरूलाई तड्पाई-तड्पाई मार्यो, हजारौँ नारीहरूलाई बलात्कार गरेर मृत्युको निंदमा सुताइदिए, जातिसंहार रचेर खूनको होलीमा रमायो, हिन्दुहरूलाई देशबाट खेद्यो। खूनमा लतपत लाखौँ लास र आँखा चिम्लिएका हजारौँ बलात्कृत आसुँका थोपाहरूले बङ्गलादेशको माटो भिजेको थियो। यो घाउ बोकेर बङ्गलादेश हुर्केको चार दशक बितिसक्दा पनि न्याय प्राप्त हुनसकेन। बरु युद्ध अपराधी राजाकरहरू मुक्त बङ्गलादेशको वायुमा लाज बिना स्वास फेर्दैथिए। तर जनताको जुझारु सङ्घर्ष र प्राय ३० लाख शहादत पछि १९७१ मा स्वतन्त्र बङ्गलादेशको जन्म भयो। शेख मुजिबर रहमान थियो त्यो स्वतन्त्रता सङ्घर्षको प्रमुख नेता, अनि सेनाको प्रधान जियाउर रहमान। अहिलेको दुईवटा प्रधान राजनैतिक दल आवामी लिग र बीएनपी, आवामी लिग अहिले सत्तामा छ, त्यसको नेत्री शेख हसीना शेख मुजिबर रहमानको छोरी हुन। बीएनपीको नेत्री खालेदा जिया हुन् जियाउररहमानको छोरी।

१७९१ मा जामातको जनसंहार गर्ने र बङ्गलादेशविरोधी भूमिकाको कारण १९७२ मा यस पार्टीलाई ब्यान गरियो। अब सवाल उठ्दैछ, अहिले किन जामात बङ्गलादेशमा राजनीति गर्दैछ? १९७४ मा प्रधानमन्त्री शेख मुजिबर रहमानले सामरीक टोलीको १९५ जना युद्ध अपराधीलाई केवल छोडेकोछैनन्, उनको सहायता दिने आलबदर, राजाकार, आलशामसहरूलाई र जेलबाट ३०००० दलाललाई पनि छाडिदियो। सन १९७७ मा जेनरल जिया आएर कार्वाही चल्नेहरूलाई छोडिसके। १९७५ पछि आएको सामरिक शासनमा ‘गणतन्त्र’, ‘समाजवाद’, धर्मनिष्पक्षता’ पनि गुमायो, ‘इस्लाम’ जोरसँग आउनुथाल्यो। धर्म लिएर राजनीतिको अवसरमा फेरी जामात राजनीतिक क्षेत्रमा ओर्लियो। जनसंहारका प्रमुख नेताहरूलाई लायो सामरिक शासकहरूले। २००१ देखि २००६ सम्म जामात बीएनपीसँगै सरकारमा थियो। त्यो समय नै उनीहरूका हजारौँ क्याडरले सरकारको क्याडर सर्भिस, सेना, पुलिसमा पसिसकेको ले आज उनीहरूनै सिनियर अफिसर बनेकोछ। अनि आफ्नो आधारलाई मजबुत गर्ने ठुलो व्यापारीहरूसँग सम्पर्क स्थापना गरेर बैङ्क, इन्स्योरेन्स जस्ता संस्थानहरूमाथि उनीहरूले कब्जा कायम गरेकोछ। यी सबै बाट वर्षमा कमसेकम ५० हजार कडोरको लेनदेन गर्छ। युरोप, आमेरिकाको ठुल्ठुला शक्तिहरू उसका मद्दतमा छ। अमेरिकाको एम्बासडरले बङ्गलादेश आएर जामातलाई गणतान्त्रिक दलको सर्टिफिकेट दिएकोछ। तर यी जमातहरूले नै ढाकामा जलुस गरेका थिए—‘हामी हुन्छौं तालिवान, देश बनाउछौं आफगान’।

 १९७१को घाउ बङ्गलादेशी युवा जमातमा अन्तर्निहित रूपमा भिजेको छ। उनीहरूले १९७१को अत्याचार र हिंसा नभोगे पनि उनीहरूको बाजे-बोजु, आमा-बाबा, साका-सन्तान, छर-छिमेकी र देशवासीले खाएको अपमान सहजै नसानसामा बग्छ। अन्यायी समाज पनि अपमानजनक हो भनेर उनीहरू बुझ्छन्। युवा जमातले इन्टरनेटमा ब्लग र फेसबुकको माध्यमद्वारा अब्दुल कादेर मोल्लाहलाई पुरस्कृत गरिएको सजायसँग असन्तुष्टि जनाउदै देशवासीलाई विरोध प्रदर्शनको आग्रह गरे, प्रचार गरे र स्वयम युवा जमात मैदानमा उत्रे। पहिलेबाट नै बङ्गलादेशी हृदय अन्यायीको बारूदले भरिपूर्ण थियो। मोल्लाहको जितको चिन्हले यस बारूदलाई झिल्का दियो र विस्फोट भयो शाहबाग स्कोयरमा, बङ्गलादेश बिउझ्यो र यस विस्फोटको आवाज दुनिया भरि गुन्जयमान हुँदैछ। शाहबागले पहिले राजाकारद्वारा हत्या गरेको मुक्तिकामी देशवासीको लासहरूको थुप्रो देखेको थियो भने यसपालि विशाल जिउदो जनसमुद्रले खूनको बदला र न्यायको मांग गरेको साक्षी बन्यो। 

आजको युवाहरू जो चाहदैछन् त्यसको एकमात्र राजनैतिक लक्ष्य हो युद्ध अपराधीहरूका सर्वोच्च सजाय। यो मागहरू प्रचलित व्यवस्थाप्रति तीव्र अनास्थाबाट उभिएको छ। यहाँ फाँसीको माग छ, तर फाँसी वा मृत्यदण्ड वा क्यापिटल पनिसमेन्ट विरुद्ध आज संसारभरि आवाज उठ्दैछ। यहाँको यस्तो माँग केही हदसम्म अचम्म लाग्दैछ, खासगरी जब आवाज उठाउनेहरूमा आजको पीडीको युवा र इन्टरनेट स्याभीहरू ज्यादा छन्। तर कादेर मोल्लाको अदालतबाट निकाल्दा लाइफ सेन्टेन्स पाएतापनि भिक्ट्री साइन देखाउनले जनतामा अझपनि रिस तयार पार्यो। उनीहरू यसभन्दा बेसी केही सजाय माग्दैछन्। 

५ फरवरीमा सुरु भएको यस विरोधले आझ ठुलो मोड़ लियो जब जामात-इ-इस्लामीका समर्थकहरूले विद्रोही अनि इन्टरनेट ब्लगर अहमेद राजिब हैदरलाई १५ फरवरीमा शिरच्छेदन गरी मारिदिए। हैदरले विरोधको सुरुदेखि नै सक्रिय भागीदारी साथै इन्टरनेटको ब्लगहरूमा लेखेर जमात-इ-इस्लामीको साचोँ अनुहार बेनकाब गरेका थिए। जमात-इ-इस्लामीले दंगा फैलाए धेरै आन्दोलकारी मरे पनि, शाहबागमा बम राख्ने चेतावनी दिए, ब्लगरहरूलाई धम्कि दिए तापनि शाहबागको आगो मेटाउन भनी सकेन तर यसले झन् घिउ हाल्ने काम गर्यो। प्रजन्म चत्तरले उनीहरूको न्याय र मांग पुरा भएर मात्र रणभूमि त्याग्ने प्रतिज्ञा लिएको छ। २१ फरवरीमा प्रोजोन्मो चोत्तोरले ६-विषयसुचीको दावा राखे। ती यस प्रकार छ : (१) सात दिन भित्रमा जामात-शिविरद्वारा मारिएका शहीदहरूलाई मार्ने व्यक्तिहरू गिरफ्तार हुनुपर्छ, (२) २६ मार्च भित्र युद्ध आपराधिक सङ्गठन, बङ्गलादेशको मुक्ति विरोध तथा जातिसंहार गरेको खण्डमा जामात-सिविरमाथि रोक लगाउन कानुनी कारबाहीको प्रक्रिया सुरु भएको हुनुपर्छ, (३) जामात-सिविरलाई आर्थिक सहयोग पुर्याउने सङ्गठनहरूलाई चिन्हित गर्न र कानुनी प्रक्रिया चलाउन छिटो भन्दा छिटो एउटा स्वतन्त्र जाँच कमिटी तयार गर्नुपर्छ, (४) न्यायिक प्रक्रियालाई सुनिश्चित गर्न अन्तराष्ट्रिय युद्ध अपराध त्रिबुनललाई स्थायी ढाँचा दिनुपर्छ, (५) जनसाधारणको सुरक्षा सुनिश्चित गर्न, कानुनको प्रवक्ताहरू झट्ट भन्दा झट्ट आतंककारीलाई पक्रन अनि तिनीहरूको अड्डा भण्डाफोर गर्न गतिशील हुनपर्छ र यिनीहरूले रचेको आतंकित राजको वास्तविकतालाई राष्ट्रिय अनि अन्तराष्ट्रिय मिडियामा प्रकाशित गर्नुपर्छ, (६) युद्ध अपराधीहरूलाई सुरक्षा दिने अनि रूढीवादलाई उत्तेजित गर्ने मिडिया विरुद्ध कदम चालू हुनपर्छ। शाहबाग स्कोयरमा १९ फरवरीको दिननै देशको खटिखाने समूहसम्म यस मुद्दा पुर्याउने बाचा लिएर तयार गरेको ‘शाहबाग जनजागरण मंच’-ले २२ फरवरीको दिन राष्ट्रव्यापी विरोधको घोषणा गर्यो। यसको जवाबमा जामातका कर्मीहरूले सिलहेत केन्द्रीय शहीद मिनार तोरफोर गरे अनि बङ्गलादेशको राष्ट्रिय झण्डा र फूलमा आगो लगाए। यस घटनाद्वारा आक्रोशित जनताहरूले पनि सिलहेत नगरमा जामातका संस्थानहरू जलाइदिए। 

केवल युद्ध अपराधी हरूका फाँसी हुन्भने, जामात शिबिर निषिद्ध हुन्भने के जनतामा जन्मेको अविश्वास गुमाउनेछ? १९७१ पछि पनि जसको विरुद्ध उनीहरूले सङ्घर्ष गरेका थिए त्यो धर्मको आधारमा विभाजन, धर्मलाई राजनीतिमा उपयोग गर्ने क्रम चल्दै आयो। अर्कोतिर उनीहरूका आर्थिक स्थितिमा केही सुधार आएन, बङ्गलादेश संसारमा सबभन्दा गरीब देशहरूमा प्रमुख हुन्। देशको बिकावको निम्ति यो देशी शासकहरूले साम्राज्यवादको अगाडी देशलाई बिक्री गर्ने जुन कदमहरू लियो, त्यो क्रममा नै धेरै नयाँ-राजाकार पनि जन्मलियो। यस्तो राजाकारहरूलाई बारम्बार भेटेकाछन् मानिसले। अर्कोतिर मुक्तियोद्धा अनि बिरंगनाहरू अपमानित भएकाछन् बारम्बार। जनताले यसको विरुद्ध नै आफ्नो विरोध व्यक्त गर्दैछन्। 

यो जनजागरणमा केही समस्याहरू पनि छन्। जनताको सामग्रीक समस्यालाई जरादेखि उखाल्ने केही एकवद्ध विचार यसमा छैन। आर्थिक स्थितिको कसरी उन्नति हुन्छ— त्यसको योजना पनि छैन। यसमाथि छन् बङ्गलादेशमा बसोबासो गर्ने बंगाली बाहेक अरू राष्ट्रियता बारे महत्व दिनु बारे सचेतनाको अभाव। गणजागरण मञ्चमा स्लोगन उठ्दैछ— ‘तिमी को? म को? बङ्गाली! बङ्गाली!’। तर यो देश केवल बंगालीको मात्र होइन। ‘बङ्गलादेश’ गठनमा चाकमा, त्रिपुरा आदि प्राय ७५ वटा सानोतिनो जातीगोष्ठीको रगत र सङ्घर्षको भागीदारी छ। १९७१ मा भएको सङ्घर्ष केवल आवामी लिग र शेख मुजिबको आफ्नो सङ्घर्ष, केही एक नेता वा दलको सङ्घर्ष थिएन। तर मुजिबले आफ्नो विख्यात भाषणमा भन्नु भएका थिए— ‘त सबैजनाले बङ्गाली बनोस्’। संविधानको रचना हुदाखेरी पनि यस विचारको नै प्रभाव थियो, जसको विरुद्धमा पहाडी क्षेत्रको अर्को राष्ट्रियताको नेता एम एन लारमाले संविधानमा केवल बङ्गाली राष्टियताको उल्लेख बारे विरोध गर्नुभयो। तरैपनि सत्तामा बसेको शासकहरू द्वारा यस्तो जातिवादी कार्यक्रमनै चल्यो। यसको प्रतिवादमा यो राष्ट्रियताहरूका आफ्नो सङ्घर्ष पनि चल्दैछ। अहिलेको शाहबाग आन्दोलनमा यस्तो राष्ट्रियताको मानिसहरूले एकतिर समर्थन अनि अर्कोतिर आफ्नो अलग राष्ट्रियताको पहिचानलाई पेस गरेकाछन्। उनीहरूले राजाकार, धार्मिक कट्टरवादी हरूबाट देश मुक्त बनोस्, धर्मनिष्पक्षता अनि गैरसाम्प्रदायिक चेतनाको सँगसँगै राष्ट्रियताको पहिचानको सवालमा पनि यो नयाँ पीडीका आखा खोलोस्— यो इच्छा व्यक्त गर्दैछन्।



No comments:

Post a Comment