Friday, April 26, 2013

तपाइँ कसलाई असुरक्षित सम्झनु हुन्छ? नारी वा नारीरूपी सम्पत्तिलाई?

अंजली प्रसाद


वर्तमानमा भारतीय नारीहरू कत्ति सुरक्षित छन् यो प्रश्नको उत्तर सायद हामी मध्ये कसैकोमा छैन होला। केही दिन अघि दिल्लीमा एउटा केटी सित चल्दै गरेको बसमा जे भयो त्यस पश्चात् मानिसहरूलाई यो आभास भयो कि आज पनि नारीहरू सुरक्षित छैनन् जब कि यस्ता घटनाहरू दिनहुँ भैरहन्छन्। भारतले चारैतिर आफ्नो सीमा सुरक्षा व्यवस्थाको जत्ति ढोल पिटे पनि जब साधारण जनताको सुरक्षाको प्रश्न आउँछ तब यो धेरै पछाडी छ। झन् नारीको सुरक्षाको प्रश्नमा त हाम्रो देश झन् साह्रो पछाडीएको छ।


भन्नुको निम्ति त कत्ति नियम कानुनहरू बनिन्दैछन्, कत्ति कानुनहरू संशोधन हुदैछन्, कानुनी व्यवस्थामा अझै कडी कडाई गरिंदैछ तर यो सबको कुनै फाइदा छैन जबसम्म हामी आफैलाई सुधार्दैनौ। एउटा बलात्कारीले जन्म देखि कुकर्म सिखेर आउदैन तर आजको सामाजिक र आर्थिक व्यवस्थाले उसलाई यस्तो बनाइ दिन्छ। कारण प्रत्येक दिन उसले आफ्नो वरिपरी नारीलाई केवल वस्तुको रूपमा देखिरहेको हुन्छ विज्ञापनमा, सिनेमामा, भड्किलो गीतहरूमा र यस्तै गीतहरूमा नाच्दै उ ठूलो हुन्छ एउटा पुरुष  हुन्छ जसको यो संसार हो| बलात्कार मात्रै नारीको लागि सब भन्दा ठुलो खतरा होइन यो त उसको विरुद्ध गरिने सबैभन्दा चरम घात हो। तर प्रत्येक दिन उसले कैयौँ आघातहरू सहनु पर्छ जसमा कसैको आँखा पर्दैन। 

यो त भयो केवल शारीरिक सुरक्षाको कुरा तर के सुरक्षा केवल शरीर मात्रै को हो र? के नारीको मन र उसको दिमाग सुरक्षित छ? के उसको कल्पनालाई उन्मुक्त उड्ने स्वतन्त्रता छ? के उसको सोच समाजमा सुरक्षित छ? के उसको अस्तित्व समाजमा सुरक्षित छ? हुन त कोई पनि आज सुरक्षित छैन तब किन केवल नारीको सुरक्षाको प्रश्न अघि आउदैछ? यहाँ कुरा नारीको सुरक्षा होइन तर नारीरूपी सम्पत्तिको हो जुन पुरुषद्वारा संचित गरेर राखिन्छ।

यदि हामी उमेरको कुरा गऱ्यौँ भने भारतमा आज पनि कैयौँ स्थानमा जन्म लिने बित्तिकै वा गर्भमै केटी भनेर शिशुको हत्या गरिन्छ। उसलाई बोझ, अर्काको सम्पत्ति भनेर सानोमै बिहे गरीदिइन्छ। उसलाई हरेक त्यो वस्तु देखि टाढा राखिन्छ जसको उ आफ्नो दाजु-भाई जत्तिकै हकदार हुन्छिन्। त केटी हो भनेर कैयौँ बन्धनहरू उ माथि लगाइन्छ जसको गणना उमेर साथ साथै अझै बढ्दै जान्छ। जेलमा बन्दी कैदी जस्तै एउटा केटी प्रत्येक नियमको पालन गर्दै पहिला आफ्नो बाबुको घरमा काम काज सिकेर ठुलो हुन्छिन् र पछि त्यही सिकेको कामद्वारा आफ्नो ससुरालीलाई खुसी राख्ने असफल प्रयास गर्छिन्। सबै कैदीको सजाय त एक न एक दिन सकिन्छ ता एउटा केटीले केटी भएर बाँच्नु परेको सजाय मरिन्जेल सहन्छिन्।

आफ्नै घरमा पनि आफ्नो विचारहरू राख्नलाई दसपटक उसले सोच्नु पर्छ। सानो छँदा बाबुको, बिहे पछि पतिको र बुढेसकालमा छोराको खटनमा बस्नु पर्ने बाध्यता नारीहरूमा आज पनि व्याप्त छ। घरमै बस्ने महिलाहरूले घरमा जत्ति काम गरे पनि उनीहरूको परिश्रमको त्यहाँ कुनै मोल हुँदैन फेरि कामकाजी महिलाहरू घर बाहिर पनि र घर भित्र पनि काम गर्नु पर्ने चेपारो स्तिथिमा पर्छन् जसलाई विज्ञापनले धेरै प्रोत्साहन दिन्छ। पितृसत्ताको छाप यहाँसम्म कि यदि पत्नीले ज्यादा कमाए घर झगडा हुनु साधारण घटना हुन जान्छ कारण त्यहाँ पाटीको अहम अघाडी आउछ। यसैले यसो हेर्दा आजको युगमा पनि नारी हर रूपमा असुरक्षित छिन्, कारण उसलाई मानवको दर्जा अहिले पनि प्राप्त छैन। उनीहरू त केवल पुरुषहरू द्वारा संचित गरिएको सम्पत्ति हो वा उपभोगको वस्तु हो जसलाई पुरुष प्रधान समाजले आफ्नो हिसाबले चलाउन चाहन्छ। यसोसले नारी केवल पितृसत्ताको अन्त भयो भने मात्रै सुरक्षित हुन्छिन्। हुन त भारतीय समाजमा नारीलाई देवीको उपमा दिएर पूजा गरिन्छ तर पूजाको थान बाहेक कहाँ नारीको त्यतिनै सम्मान गरिन्छ? यो सोच्नु पर्ने कुरो हो। परिवारको सम्मानको हिसाबले आफैलाई बनाउनु त्यसपछि उनीहरूकै प्रस्ताव मानेर अर्काको घर जानु फेरि तिनीहरूको मान-सम्मानको भारी जिन्दगी भरी उठाउनु यसरीनै साधारणतय नारीको जीवन काटिन्छ यहासम्म कि एउटा राम्रो साथी पनि उनीहरूको जीवनमा रहदैन र पतिमाथि उनीहरूको निर्भरता दिन दिने बढ्दै जान्छ। नारीलाई केवल एउटा मानिस जस्तो व्यवहार गरे शायद उसले आफैमा भएको गुणहरूलाई निखार्ने मौका पाउथ्यो होला केटी भएर होइन तर एउटा मान्छे भएर बाँच्ने अनुभव साँचै अतुलनीय होला। 

No comments:

Post a Comment