Friday, April 26, 2013

हास्ता सियेम्प्रे कमान्दान्ते!

धुनिराज छेत्री


 ‘‘हिजो यहाँ एक सैतान आएका थिए, ठिक यही ठाउँमै, अनि आजपनि यहाँ गन्धकको गन्ध आउँदैछ।’’ — तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसबारेमा सन २००६ मा संयुक्तराष्ट्रसंघको जेनरल असेम्ब्लीमा भाषण दिँदाखेरि उहाँले भन्नु भएको थियो। सन २०११ मा ‘मनपरेको क्रान्तिकारी दाजु’ लिबियाको मुयाम्मर गद्दाफीलाई समर्थन गर्दा, अनि नाटोको बायुसेना हमलाको विरोध गर्दै उहाँले आक्रोश पोख्दै भन्नुभयो— ‘‘लिबियाका वीर जनतालाई बचाउन उनीहरूमाथि नै बमबारी गर्नु? पागल साम्राज्यद्वारा के अचम्मको कौशल?... कहाँ गयो अन्तर्राष्ट्रिय मानवअधिकार? यो त गुफामानवको युग जस्तै लाग्छ’’।

अमेरिकी साम्राज्यवादलाई विरोध गर्न संसारकै देशहरूमध्ये प्रमुख ठुलो आवाज थियो ह्युगो चाभेजको, त्योपनि अमेरिकाको छेउमै बसेर। बोलिभरियन क्रान्तिका नेता औ भेनेजुएलाका राष्ट्रपति ह्युगो राफेल चाभेज फ्रियाजको जटिल क्यान्सर रोगको उपचार हुँदाहुँदै ५८ वर्षको उमेरमा मार्च ५ को दिन निधन भएको छ। चाभेज गत अक्टोबरमा चौथो कार्यकालका निम्ति निर्वाचित भएका थिए। तर क्युबामा उपचार गर्दागर्दै अन्तिम दिनहरू बिताउनमात्र भेनेजुएला फर्केका उनी आफ्नो पदको सपथ लिन नपाउँदै मरे। विद्रोही, सिपाही, जनताका नायक र भेनेजुएलामा गहन सामाजिक परिवर्तनका बाहकका साथै ल्याटिन अमेरिकाका साम्राज्यवादविरोधी नेता हुगो चाभेजको विलक्षण छविले साम्राज्यवादको मुटुमा ढ्याङ्ग्रो ठोक्दै संसारलाई उत्साहित बनाइरहेको थियो। ‘‘हामी विपक्षीहरूलाई चेतावनी दिन्छौं: हाम्रो क्रान्ति शान्तिपूर्ण छ तर यो निःशस्त्र भने होइन। जनतालाई थाहा छ– हामी मानव जातिको भविष्यका निम्ति लडिरहेका छौँ। भविष्यमा शासनगर्नेहरू बहुमत गरीबहरू नै हुनेछन्।’’ — हुगो चाभेजले हालै आफ्नो टि्वटर एकाउण्ट मार्फत् यस्तो घोषणा गर्नुभएको थियो। 

दक्षिण अमेरिकाले सन् १९५० देखि १९९० सम्म सैन्य विप्लव, अमेरिका समर्थक तानाशाहहरूको हालिमुहाली, विकल्पका आन्दोलन, सशस्त्र सङ्घर्ष र जनविद्रोहका शृङखला व्यहोर्दै आएको हो। स्पेनी साम्राज्यवादको भयानक दमन र उत्पीडन झेलेका आदिवासीहरूसँगै अमेरिकाको नवउपनिवेश झेलेका दक्षिण अमेरिकीहरूको सङ्घर्षको इतिहास एसियाका देशहरूको मुक्ति आन्दोलनभन्दा भिन्न छ। ब्राजिल बाहेक मेक्सिकोदेखि चिली-अर्जेन्टिनासम्म स्पेनिस भाषाको समान उपस्थिति रहेको यो क्षेत्रमा एउटा देशका आन्दोलनहरू पनि सिमाना पारि-पारिसम्म फैलिने चरित्रका थिए। स्पेनिस साम्राज्यवादसँग लड्ने साईमोन बोलीभरदेखि क्रान्तिकारी चे ग्वेभारासम्मका इतिहासबाट अलग्याएर चाभेजलाई पनि बुझ्न सकिन्न, जसरी कास्त्रो, मार्खेज र मारियो भार्गास लोसा कहीँ न कहीँ दक्षिण अमेरिका क्षेत्रकै प्रतिनिधित्व गरिरहेका हुन्छन्। यही परम्परामा चाभेजले आफ्नो राजनीतिक जमिन तयार पारेका थिए।

चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुएलाको बारिनास प्रान्तको सबानेटा नगरमा भएको थियो। हुगो चाभेजको परिवार एमेरिन्डियन या अफ्रो– भेनेजुयाली मूलको थियो। उनको बाल्यकालमा चाभेज परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले चाभेजको पालन पोषण उनकी हजुरआमाले सबानेटा गाउँमै गरेकी थिइन् र उनको शिक्षादीक्षा सबानेटाकै साधारण स्कूलहरुमा भएको थियो। सत्र वर्षको उमेरमा चाभेज भेनेजुएलाको सैन्य विज्ञान प्रतिष्ठानमा भर्ना भए। १९७५ मा त्यहाँबाट सव–लेफ्टिनेन्ट उपाधिसहित सैन्य कला र विज्ञानमा स्नातक उत्तीर्ण गरेपछि केही महिना सैन्य सेवामा लागे। त्यसपछि उनलाई साईमोन बोलिभार विश्वविद्यालयमा राजनीति शास्त्रमा स्नातकको अध्ययन गर्ने अनुमति मिल्यो तर उपाधि नपाउँदै उनले त्यस अध्ययनलाई त्यागिदिए। कलेजमा अध्ययनरत रहँदै चाभेज र उनका सहपाठीहरूले 'बोलिभारियालीवाद' भन्ने राष्ट्रवादी सिद्धान्त विकास गरेका थिए। बोलिभारियालीवाद १९ औं शताब्दीका क्रान्तिकारी एवं क्यारिबियाली देशहरूका मुक्तिदाता साईमोन बोलिभारको अखिल ल्याटिन अमेरिकी दर्शनबाट प्रेरित थियो। साईमोन बोलिभार भेनेजुएलाको मात्र नभई क्यारिबियाली राष्ट्रहरूकै इतिहासमा एक अत्यन्त महत्वपूर्ण एवं अमर व्यक्तित्व हुन्। साईमोन बोलिभार एक सेनानायक हुनुका साथै दार्शनिक, साम्राज्यवाद र उपनिवेशवादविरोधी अभियानकर्ता र ल्याटिन अमेरिकी देशहरूलाई स्पेनी उपनिवेशबाट मुक्त गर्ने सङ्घर्षको नायक थिए। चाभेज तालिमे सिपाही रहँदा नै उनमा बोलिभारियाली भावनाको बिजारोपन भएको थियो।

चाभेज १७ वर्षसम्म भेनेजुएलाको सैनिक सेवामा रहे। १९९० को सुरुवातसँगै भेनेजुएलामा आर्थिक मन्दी र जनअसन्तोष बढ्दै गएको थियो। भ्रष्ट राष्ट्रपति कार्लोस एन्ड्रेज पेरेज र उसको सरकारले जनतामाथि ऐल काराकोजो नामको भयानक दमन अभियान चलाएको थियो। त्यसै समयमा १९९२ को डिसेम्बरमा चाभेज र उनका सहयोगीहरू मिलेर एमबीआर–२०० नामक सैन्य विद्रोह गर्ने योजना बनाए र ४ फेब्रुअरी १९९२ को एकाबिहानै सैन्य विद्रोह भयो। त्यसदिन चाभेजको मातहतमा रहेका पाँच सैन्य दस्ताहरूले राजधानी काराकासको मुख्य–मुख्य भागमा पसेर मिराफ्लोर्स राष्ट्रपतीय दरबार, रक्षा मन्त्रालय, ला कारलोता सैन्य विमानस्थल र सैनिक सङ्ग्रहालयहरू कब्जा गरे। चाभेजको लक्ष्य त्यसदिन विदेश भ्रमण सकेर राष्ट्रपति भवनमा फर्केका राष्ट्रपति पेरेजलाई गिरफ्तार गर्नु रहेको थियो तर त्यो पूरा हुन पाएन। पेरेजलाई गिरफ्तार गर्न नसकिएपछि विद्रोह असफल भयो, त्यस क्रममा १४ जना सेनाको ज्यान गयो भने ५० सैनिक र ८० जना सर्वसाधारण घाइते भए। 

चाभेजले सम्झौता गरे र राष्ट्रिय टेलिभिजनमार्फत विद्रोह गरेका सबै सैनिकहरूलाई व्यारेकमा फर्कन आह्वान गरे तर उनले आफू 'तत्कालका निम्ति' मात्र असफल भएको बोल्न चुकेनन्। चाभेजलाई गिरफ्तार गरी यारे बन्दीगृहमा कैद गरियो। जेलको अँध्यारोमा पनि चाभेजले अध्ययनलाई जोडतोडले अगाडि बढाए, जसको कारण उनको आँखा अत्यन्त कमजोर हुनपुगेको थियो। यसैबिच भ्रष्ट राष्ट्रपति पेरेजलाई संसदबाट एक वर्षपछि आरोप लगाएर हटाइयो।

त्यस अगाडि नै उनले एउटा गोप्य र सानो सङ्गठन 'दि रिभोल्युसनरी बोलिभारान मुभमेन्ट'को पनि गठन गरेका थिए । विद्रोह असफल भएपछि बन्दी बनाइएका उनी त्यसको दुई वर्षपछि नै उनी आममाफी पाएर छुटे । चाभेज र उनका समर्थकहरूले 'नयाँ गणतन्त्रको जग बसाल्ने' नारा दिए। १९९८ को मे महिनामा गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मत पाएका चाभेजले अगस्टसम्ममा ३९ प्रतिशत मत पाए भने डिसेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा ५६ प्रतिशत मत हासिल गरी विजय सार्वजनिक गरे। 

१९९९ फेब्रुवरीमा चाभेजको कार्यकालको उद्घाटनसँगै जनमत सङ्ग्रहद्वारा नयाँ संविधान बनाउने उनको प्रस्ताव पारित भयो र संविधानसभा गठन भयो। त्यसको परिणामस्वरूप १९९९ डिसेम्बरमा भएको अर्को जनमतसंग्रहले संविधासभाले बनाएको नयाँ संविधान पारित भयो। त्यस नयाँ संविधानले भेनेजुएलाको नाम परिवर्तन गरी 'बोलिभारियाली गणतन्त्र भेनेजुएला' राख्नुका साथै राष्ट्रपतीय कार्यकाल पाँच वर्षबाट ६ वर्ष बनायो, एकै व्यक्ति दुई कार्यकालसम्म मात्र राष्ट्रपति बन्ने व्यवस्था गर्योख, दुई सदनात्मक संसदलाई एक सदनात्मक व्यवस्थापिकामा परिवर्तन गर्यो, प्रभावकारी स्थानीय निकायको बन्दोबस्त गरियो। न्यायाधीशहरूको नियुक्ति योग्यताका आधारमा गर्ने र जन न्यायाधिवक्ताहरूको बन्दोबस्त गरियो। 

चाभेज आधारभूत तहमा जनसहभागितालाई बढी महत्व दिए। उनको बोलिभारियालीवाद व्यापक जनसमर्थनमा आधारित छ। त्यसैले आफ्नो शासनकालको सुरुवातसँग 'बोलिभारियाली सर्कल' हरूको गठनमा जोड दिए। ती सर्कल केही सय स्थानीय वासिन्दाहरूको मञ्च हुन्थ्यो जसले सामाजिक विकासका निम्ति आएको सरकारी रकम कहाँ के कसरी खर्च गर्ने भन्ने कुराको निर्णय गर्थ्यो। चाभेजले बोलिभारान समाजवादको नाम दिएको कार्यक्रमले गरेका मुख्य काम यस्ता थिए -क) गरीब र कामदार वर्गका लागि टोलटोलमा सस्तोमा खाना खान पाइने रेष्टुरेन्ट या सामान बेच्ने पसलहरूको व्यवस्था -ख) क्युबाबाट वर्षको झन्डै ४५ हजार शिक्षक र डाक्टरहरूलाई बोलाएर गाउँ-गाउँसम्म प्रौढशिक्षा र निःशुल्क तथा सस्ता स्वास्थ्य उपचारको व्यवस्था। -ग) नयाँ दर्जनजति विश्वविद्यालयको स्थापना र गरीबहरूका लागि निःशुल्क शिक्षाको सुनिश्चितता। तेल तथा अन्य केही ठुला उद्योग व्यवसायको राष्ट्रियकरण तथा त्यसबाट हुने आयको माथि उल्लिखित कामका लागि गरीबहरूबीच पुनर्वितरण -घ) र सबैभन्दा महत्त्वपूर्ण कुरा गाउँ र टोलस्तरमा कम्युनिटी काउन्सिलहरूको स्थापना र त्यसको निर्णय प्रक्रियामा आम जनताको प्रत्यक्ष सहभागितामा निश्चितता। राज्यका स्रोतहरूको वितरण तल्ला समुदायका हितमा प्रयोग गर्ने संयन्त्रका रूपमा यस्ता सामुदायिक काउन्सिलहरूको प्रयोग। राज्य र आफ्नो पार्टी सोसलिष्ट पार्टी अफ भेनेजुएलाको पनि नेतृत्व छनोट तलबाट माथितिर हुने कुराको व्यवस्था।



मूलतः यत्ति कुरा गरेर उनले भेनेजुएलाका गरीबहरूका लागि देवदूत र दक्षिण अमेरिकी श्रमजीवी तथा आदिवासीहरूका लागि प्रेरणाको स्रोत बनेर विश्वभर आफ्नो ताकतवर उपस्थिति जनाएका थिए। यद्यपि भेनेजुएलाको अर्थतन्त्रमा, विश्व बैङ्क र उदारवादीहरूको दृष्टिमा तथा भेनेजुएलाको पुँजीपति वर्गका विचारमा समेत समस्याहरू थपिएका छन्, तर उनका नीतिहरूका दूरगामी प्रभाव अब बिस्तारै देखिनेछ। जब तल्लो वर्गका मानिसहरू अर्थतन्त्रमा योगदान दिन दक्ष श्रमशक्ति र व्यवस्थापकका रूपमा विकास हुन्छन्, शिक्षित हुन्छन् र काम गर्न थाल्छन्, अर्थतन्त्रले ह्वात्तै नयाँ फड्को मार्छ। उतार-चढावका सम्भावना भए पनि चाभेजको उत्तराधिकार या उनका कार्यक्रमिक दृष्टिहरूको विरासत दक्षिण अमेरिकामा रहिरहने पक्का छ।

चाभेजले लेख्न, पढ्न र खासगरी बोल्नमा नै व्यस्त रहने गर्थे। मन्त्रिमण्डलको सभा भन्दा बेसी समय उनले गाउँबस्ती, झोपडी, र जनसभाहरुमा बिताएर खाद्य, आवास, रोजगारको बन्दोबस्त गर्नसाथसाथै जनतामध्ये फैलिने गर्थे साम्राज्यवादविरोधी आत्मबिश्वास। रेडियो-टेलिभिजनमा प्रत्येक सातामा जनतासँग छलफल गरेर नै बनिन्थ्यो उनको नीति र कार्यकम। दल र प्रशासनिक नोकरशाहीलाई पार गरेर उनले क्षमता स्थानीय वासिन्दाहरूको मञ्चमाथि थपिदिनुभयो। यसको नतिजा भयो तिन वर्ष मध्ये गृहहिन मानिसको सङ्ख्या पहिलादेखि आधा बन्यो। २० लाख परिवारलाई गृहको संस्थान गर्न योजना उनले हातमा लियो। बेरोजगारको सङ्ख्या २० प्रतिशत देखि घटेर ७ प्रतिशतमा आयो। उनको शासनकालको १३ वर्षमा भेनेजुएलादेखि निरक्षरता हरायो। बजेटको ४३ प्रतिशत भन्दा ज्यादा व्यय हुनथाल्यो समाजकल्याणको कार्यक्रमहरूमा। १० वर्षमा २२वटाभन्दा बेसी सरकारी विश्वविद्यालय बन्यो, शिक्षकको सङ्ख्या ६५ हजारदेखि बढेर साढे तीनलाखसम्म पुग्यो। रोकेको कृषि कार्यक्रमलाई अघि बढाउने योजना कार्यन्वयन हुनथाल्यो। हाम्रो यहाँ चाभेजको कुरा उठाएर जुन माकपाले धेरै स्वर उचालिरहेकाछन्, त्यो माकपाले यहाँको सत्तामा बसेर रोजगार, गणतन्त्र, सामाजिक विकासको सवालमा के गरेको थियो अनि चाभेजले के गऱ्यो, तीमध्ये तुलना गरिए माकपालाई लाज लाग्नु पर्ने हुन्छ। 

चाभेजको लोकप्रियता बढ्दै गएपछि साम्राज्यवादी संयुक्त राज्य अमेरिकासमर्थित प्रतिक्रियावादीहरूले केही दस्ता सेनाको समर्थनमा सन् २००२ अप्रिलमा चाभेजलाई अपदस्थ गर्ने र हत्या गर्नेसम्म कुचेष्टा गरे। तर जब लाखौंलाख भेनेजुयाली जनता सडकमा निस्के र चाभेजप्रति वफादार काराकसका दुई डिभिजन सेनाले प्रतिकार गरे, उक्त सैनिक विद्रोह ४७ घण्टामै अन्त्य भयो। चिलीका समाजवादी राष्ट्रपति साल्भादोर आलेन्देको सीआईएको संलग्नतामा भएको हत्या र सत्तापलटपछि पनि लोकप्रिय मतद्वारा पनि समाजका तल्लो वर्गको प्रतिनिधित्व गर्दै, तिनका आन्दोलन र सङ्घर्षका बलमा समाज परिवर्तन गर्न सकिन्छ, श्रमजीवी वर्गका पक्षमा राज्यसत्ताको परिवर्तन सम्भव छ भन्ने कुरामा दक्षिण अमेरिकी वामपन्थीहरूले विश्वास गरिरहेका थिए। चाभेज त्यसकै एकजना प्रतिनिधि बन्न पुगे। र लोकप्रिय कार्यक्रमहरू सञ्चालन गर्दै तल्लो वर्गका पक्षमा राज्यका स्रोत र साधनहरूको निर्धक्क प्रयोग गर्दै रहे। 

चाभेजका अनुसार बोलिभारियालीवादले जनताको प्रजातन्त्र, आर्थिक स्वाधीनता, राजश्वको समानुपातिक वितरण, राजनीतिक भ्रष्टाचारको अन्त्यजस्ता कार्यक्रमको कार्यान्वयनका लागि व्यापक जनपरिचालन आवश्यक ठान्छ। चाभेजको सरकारले भेनेजुएलाका बहुमत गरीब जनताको आर्थिक, सांस्कृतिक र सामाजिक अवस्था सुधार गर्ने कार्यक्रम निरन्तर अगाडि बढाउँदै आएको छ। सन् २०१० को अमेरिकी राज्यहरूको सङ्गठन को एक प्रतिवेदनमा निरक्षरता उन्मूलन, स्वास्थ्य सेवा र गरिबी निवारणमा चाभेजको नेतृत्वमा भेनेजुएलाले उल्लेख्य उपलब्धि हासिल गरेको उल्लेख गरिएको थियो। 

त्यस प्रतिवेदनमा चाभेज सरकारको लोकप्रियतासँगै अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार र प्रजातन्त्रप्रति खतरा (धम्की) बढेको उल्लेख गरिएको थियो। त्यसको खण्डन गर्दै भेनेजुयाली सरकारले त्यस प्रतिवेदनमा तथ्यांक तोडमरोड गरिएको, विषयभन्दा बाहिर गएर टिप्पणी गरेको भन्दै चाभेजको शासनकालमा 'मानव अधिकारको उल्लंघन, शोषण र अपराध उल्लेख्य रूपमा कमी आएको' बतायो।

चाभेजले आफ्नो 'तेल कूटनीति' मार्फत छिमेकी देशहरूसित सौहार्द्धपूर्ण मित्रताको सम्बन्ध विकास गरे भने साम्राज्यवादी र कठपुतली सरकारहरूसित सङ्घर्ष गरेका थिए। यहाँको तेलखानीहरुलाई राष्ट्रियकरण गरेर अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यदेखि कम मूल्यमा तेल बिक्री गर्नथाल्यो भेनेजुएलाले। तेलसम्पदाको जनमुखी उपयोग जनताका जीवन र विचार— दुबैनै बदल्नुथाल्यो। कतिले यस्तो मान्दछन् कि यहाँनिर व्यवस्थाको कुनै आमूल परिवर्तन भएको छैन, जेपनि भयो, त्यसमा यहाँको तेलसम्पदाको नै भूमिका मात्र छ। यो यथार्थ कुरा हो कि यहाँनिर पुँजीवादी समाजको ढाँचामा केही आधारभूत बदलाव आएको छैन, सचेत र सक्रिय मजदुरवर्गको भूमिका बाहेक पुँजीवादलाई पार गर्नु सम्भव छैन। यो कमी त यहाँ अवश्यै छ, तरैपनि गरीब जनताको सामाजिक सङ्गठन, निम्न-स्तरदेखि को-अपरेटिभ बनाएर विकास अघि बडाइएर समाजलाई परिवर्तन गर्ने एउटा नयाँ मोडेल हामीले हेऱ्यौँ। यो नै हो ‘चाभेजमो’... चाभेजवाद— उनीहरूका साम्राज्यवाद विरोधी साहसको प्रमुख स्रोत। 

भेनेजुएलाको बाटोबाट नै बोलिभिया, निकारागुवा, इकुयेडर र चिलीमा ‘चाभेजमो’ आधारित ‘वामपन्थी’ सरकारको स्थापना भएको छ। अर्कोतिर यिनीहरुले ब्राजिल, आर्जेन्टिना, उरुग्वे, पेरुको सरकारहरूसँग मिलेर ‘मार्कोसुर’ भन्ने आंचलिक एकाइ अनि ‘युनिसुर’ भन्ने अर्थनैतिक गठबन्धन तयार पारेकाछन्। विश्वबैंक-आईएमएफको नियन्त्रणदेखि निकाल्नलाई क्यारिबियाली तथा ल्याटिन अमेरिकी देशहरूको सङ्घ–सेलाक र ल्याटिन अमेरिकी देशहरूको बोलिभारियाली गठबन्धन–अल्वा (बोलिभारान एलाएन्स फर दि अमेरिका) स्थापनामा भेनेजुयाली राष्ट्रपति चाभेजको निर्णायक भूमिका रहेको थियो। सोझो कुरा हो, अमेरिकाको विरुद्ध एउटा एकबद्ध र शक्तिशाली ल्याटिन अमेरिका उभिरहेको छ। चाभेजको भूमिका त्यसमा प्रमुख रह्यो। साम्राज्यवाद विरोधी सङ्घर्षमा चाभेजको भूमिकाको शिक्षाले आउने दिनहरुमा गरीब खटिखाने मानिसको मुक्तिसङ्घर्षमा केही रसदपानी अवश्य दिनेछ— यसमा कुनै सन्देह छैन। यसकारणले नै त भेनेजुएलाका बाटोमा लाखौँ जनताको उभारले ह्युगो चाभेजलाई बिदाइ दिँदा भन्दैथिए ‘हास्ता सियेम्प्रे कमान्दान्ते!’ ... बिदाइ कमाण्डर।


No comments:

Post a Comment