Saturday, April 30, 2016

अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस : खास उद्देश्य के हो ?

संगीता खेवा

नारी दिवस जसको खासमा नाम हो अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस, एउटा सोच-विचार र योजनाबद्ध रूपमा लिइएको कार्यक्रम थियो। अमेरिकाको न्यु योर्क शहरमा वस्त्र उद्योगको नारी श्रमिकहरूले गरेको 1908 को ऐतिहासिक हड्तालको यादमा 28 फरवरी 1909 मा सोसियलिस्ट पार्टी अफ अमेरिकाले प्रथम पल्ट नारी दिवसको आयोजना गरेको थियो जसलाई 1910 को सोसियलिस्ट पार्टीको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा क्लारा जेटकिन (सोसियलिस्ट पार्टीको सदस्य)ले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस मनाउने प्रस्ताव राखिन् र यसरि 8 मार्च 1911 देखि संसारको धेरैवटा देशहरूमा नारी दिवस मनाइने चलन भयो। तर नारी दिवसको महत्त्व के हो? के यसले बुर्जुवा नारीहरूले उठेको नारीवादी धारणा र भोटको अधिकार मात्रको निम्ति लड्ने नारीहरूको साथ दिन्छ? यसले मजदुरहरूको एकबद्ध लडाइमा हानि त पुऱ्याउदैन? अलेक्जान्द्रा कोलोनताई (कम्युनिस्ट नेत्री)-ले प्राभ्दा भन्ने पत्रिकामा नारी दिवसको महत्वको बारेमा भन्नु भएको थियो जुन अहिलेको सन्धर्भमा पनि त्यत्तिकै युक्तिसंगत छ। यस्ता प्रश्नहरू जब रसियामा जता ततै सुन्न पाइन्थ्यो त्यस्तो बेलामा यी सब प्रश्नको उत्तर दिँदै रोजा लुक्सेमबुर्ग ले लेखेकी छिन्—“नारी दिवस खासमा श्रमजीवी नारीहरूको वर्ग सङ्घर्षको लामो अनि बलियो सांग्लोको कडी हो। प्रत्येक वर्ष सङ्गठित नारी श्रमिकहरूको सङ्ख्या बढिरहेको छ ब्रिटेन, जर्मनी, अस्ट्रिया, इटली, हंगेरी, डेनमार्क, स्विडेन, नोर्वे, अनि स्विजरल्याण्ड जहाँ पनि नारी श्रमिकहरूले आफूलाई सङ्गठित गरिरहेका छन् अनि जसको सङ्ख्या लाखौँमा छ।”     

नारी दिवस केवल नारीको आवश्यकता वा माँगको मञ्च मात्र नभएर एउटा ठुलो लडाइमा भागीदारी लिनु हो। वर्ग-सङ्घर्षमा नारीहरूको योगदानको महत्वलाई बुझाउदै तिनी भन्छिन्— "पहिला पहिला यस्तो समय पनि थियो जब पुँजीवादसित लड्ने भार केवल पुरुष श्रमिकहरूको काँधमा थियो अनि आफ्नो घरमा रहेको नारी सदस्यको मदद बिनै केवल तिनीहरूले मात्रै त्यो पुरानो संसार सित लड्नु पर्ने थियो तर जस्तो जस्तो स्थिति यस्तो बन्दै गयो कि घरको नारी सदस्यहरू पनि घर छोडेर काम गर्नु, पैसा कमाउनु कारखाना तिर लाग्नु पऱ्यो त्यति खेर पुरुष श्रमिकहरूले यी काम गर्ने नारीहरूलाई वर्ग-चेतना नभएको तप्कामा छोड्नु उनीहरूको सामूहिक लडाइको निम्ति हानिकारक हो भनेर ठाने कारण जति बेसी सचेतन मजदुर त्यतिनै सफलताको आशंका बढ्ने भयो। 
तर नारीहरूको चेतनाको स्तर कस्तो छ? जो सधैँ काम र भान्साघरमै आफ्नो ज्यादा जस्तो समय बिताउछन्, जसलाई आफ्नो परिवार, घर वा राज्यमा कुनै किसिमको अधिकार छैन? उसलाई आफ्नै अस्तित्वको बारेमा थाहा छैन! उ सबैकुरा आफ्नो पति वा पिताले भने अनुसार गर्छिन्। अनि नारीहरूको यहीँ पछौटेपना र अज्ञानताले सर्वहारा वर्गको स्वार्थको बाटोमा बाधा पुऱ्याउछ। त्यसैले नारी मजदुरहरूलाई पनि आफू माथि भइरहेको  शोषणको जवाब दिनु प्रेरित गर्नु पऱ्यो। तर कसरी नारीहरूलाई जगाउन सकिन्छ? कसरी तिनीहरूलाई सङ्घर्षमा तान्न सकिन्छ? यस्तो प्रश्न खुबै महत्त्वपूर्ण भएर गयो। शुरुमा मजदुर सङ्गठनहरूमा नारीको सदस्यता नगन्य थियो यसको एउटा मुख्य कारण के थियो भने सर्वहारा वर्गले पहिला नारी श्रमिक समाजको सबभन्दा दबिएको र शोषित वर्ग हो भनेर चिन्हित गरेको थिएन। शताब्दी देखि परिवारको सांग्लोमा जकडिएको नारीलाई जगाउनु हो भने तिनीहरूको मस्तिष्क र हृदयलाई छुने कुरा गर्नु पर्छ, यस्तो कुरा जसलाई तिनीहरूले बुझ्न सकुन जसलाई आफैसित जोड्न सकुन। मजदुर सङ्गठनहरूले पहिला यो कुरोलाई मान्न अस्वीकार गऱ्यो कि नारीहरू आफ्नो श्रम बेच्ने वर्गको हैसियतले मात्र नभएर आफू एउटा आमा वा नारी भएकोमा पनि शोषित छन्। तर यी लडाकु नारीहरू हार मानेनन् र बारम्बार लडेर बाहिर साथै आफ्नै सङ्गठन भित्र पनि सबैलाई यो कुरो मान्न राजी गराई छाडे। अनि जब पछि सोसियलिस्ट पार्टीले यस कुरोलाई बुझ्यो त्यति बेला तिनीहरूले नारी मजदुरहरूको पक्ष लिन थाल्यो। संसार भरीका सोसियलिस्ट पार्टीले नारी मजदुरहरूको निम्ति सुरक्षा, आमा अनि नानीको निम्ति सुरक्षा, नारीहरूको निम्ति राजनैतिक अधिकार इत्यादिको माँग गर्न थाले। सोचाईमा परिवर्तन को साथ-साथै धेरै जना नारीहरू पनि आफ्नो सामाजिक परिधिलाई नाघ्दै बोल्न थाले अनि सङ्गठनमा भाग लिन थाले। यसरि नारी मजदुरहरूले आफूलाई एउटा वृहत् वर्ग सङ्घर्षको हिस्सा बनाए र त्यसलाई पुरा गर्न थुप्रै बलिदानहरू दिए।" यसैले आफ्नो हक र अधिकारको आवाज उठाउन श्रमजीवी नारीहरूले नारी दिवसमा जुलुस निकाल्छन्। 
तर आज पनि यस्तो खालको प्रश्न हरू उठ्छ जस्तो कि त्यसबेला पनि उठ्ने गर्थ्यो कि किन नारी दिवसमा केवल श्रमजीवी नारीहरूलाई सम्बोधन गरिन्छ, तिनीहरूको निम्ति पर्चा छापिन्छ? श्रमजीवी नारीहरूलाई लिएर मिटिंग र कन्फरेन्स गरिन्छ? के नारी दिवसमा सबै नारीहरूलाई लिएर मनाउनु पर्ने होइन र? जस्तो कि आज पनि नारी दिवसको मान्यतालाई धमिल्याउन पुँजीवादी व्यवस्थाले नारीलाई झुठो स्वतन्त्रताको मुखौटो लगाइदिन्छन्। यस्तो प्रश्नको उत्तरमा तिनी भन्छिन्— “यस्तो प्रश्न ती मानिसहरूले मात्र गर्ने सक्छन् जसलाई नारीको अधिकारको सङ्घर्ष अनि बुर्जुवा नारीवादीहरूको स्वार्थको तीव्र पार्थक्यको बारेमा केही पनि थाहा छैन। यी बुर्जुवा नारीहरूको उद्देश्य के हो? यिनीहरूको उद्देश्य यो पुँजीवादी समाजमा आफ्नो पिता, पति वा भाइहरूले पाइरहेको समान सहुलियत, समान क्षमता तथा समान अधिकारहरू पाउनु हो तर श्रमजीवी नारीहरूको उद्देश्य हो जन्म वा सम्पत्तिबाट पाउने सम्पूर्ण सहुलियतको विनाश। एउटा नारी श्रमिकको निम्ति उसको मालिक पुरुष होस् वा नारी त्यसले कुनै फरक पार्दैन। आफ्नो वर्गको अन्य सदस्य जस्तै उ पनि वर्ग-सङ्घर्षमा आफ्नो मुक्ति देख्छे। नारीवादीहरू प्रत्येक कुरामा पुरुष सरह समानता चाहन्छन् चाहे त्यो राम्रो कुरा होस् वा नहोस् तर श्रमजीवी नारी जम्मै नागरिकको निम्ति समानता चाहन्छिन्, नारी अनि पुरुष, तर नारी केवल एउटा श्रमिक मात्र नभएर आमा पनि हुन्छिन्-भविष्यको जन्मदाता त्यसैले तिनीहरू आफू अनि आफ्नो नानीको निम्ति सुरक्षा चाहन्छन्। बुर्जुवा नारीहरू राजनैतिक अधिकार चाहन्छन् जसले तिनीहरूलाई यो शोषणको धरातलमा उभिरहेको समाजमा सजिलो सँग हिड्ने बाटो दिन्छ। तर अर्को पट्टि श्रमजीवी नारीहरूको निम्ति राजनैतिक अधिकार भनेको कठिन र ढुंगे बाटो हो जसले उसलाई सङ्घर्ष पट्टि ठेल्छ।” 
यो शोषण मुक्त समाजबाट सर्वहाराको उन्मुक्तिको लागि नारी मजदुरहरूको भूमिका र बुर्जुवा नारी अनि केवल भोटको अधिकारको निम्ति आवाज उठाउने शौकिन नारीहरूको बाटो धेरै पहिलेनै छुटिएको तिनी बताउछिन्। सबै नारीहरूको मुद्दा वा उद्देश्य एउटै हुन सक्दैन, एउटा काम गर्ने र उसको मालिकनीको आवश्यकता मिल्दैन, सोचाई मिल्दैन, भोगाई मिल्दैन। यसैले सर्वहारा नारी अनि बुर्जुवा नारीहरूको सोच कहिले पनि मिल्न सक्दैन अनि यिनीहरूको लडाइको बाटो पनि सदैव अलग्गै रहनेछ। यसैले नारी दिवसलाई ‘ह्याप्पी वुमेन्स डे’ भन्न मिल्दैन। कारण सबै नारीहरूको खुशी त्यो महँगो क्रिम, पाउडर, लाली, काजल वा डिस्काउन्टको लुगामा न हुन पनि सक्छ जस्तो कि मिडियाले देखाउने गर्छ। 
रोजा लुक्सेमबुर्गले अझै लेख्छिन् — “त्यसैले पुरुष मजदुरहरू नारी दिवस सँग डराउनु पर्दैन, कन्फरेन्स वा प्रेस सँग पनि डराउनु पर्दैन जसले नारी दिवसको प्रचार गर्छ। 
नारी दिवसको मुख्य उद्देश्य श्रमजीवी नारीहरूको चेतनाको विकास गराउनु हो जसलाई पाएर उ आफ्नो र आफूजस्तै अन्य शोषित मजदुरहरूलाई राम्रो भविष्य पट्टि लान सक्छ। नारीहरूको यो चेतनाले विभाजन होइन बरु जम्मै खटिखाने मजदुर वर्गमा एकता ल्याउने काम गर्छ।”
'अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस'लाई केवल 'नारी दिवस'को नाम दिएर जसको इतिहासलाई पनि तिनीहरू कोट्याएर हेर्दैनन् केवल आफ्नो स्वार्थको निम्ति वा मनोरंजनको निम्ति एउटा सस्ते मोजमजा वा औपचारिकतामा बाँधेर हेर्ने वा पालन गर्ने ती समस्त नारीहरू, कम्पनीहरू अनि एनजीओहरूलाई 'नारी दिवस'को बजारीकरण बन्द गरेर यसको असल उद्देश्य बुझ्ने कोसिस गर्ने निवेदन गर्दै कोलोनताई को शब्दमा—
“वर्ग हितको सामूहिक लडाई अनि नारी विशेषको अधिकारको लडाइमा भाग लिने श्रमजीवी नारीहरूलाई सहृदयता साथ अन्तर्राष्ट्रिय श्रमजीवी नारी दिवस मनाउने आह्वान गरौँ।”       

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...