Sunday, December 31, 2023

अङ्क ४७ : नोभेम्बर-दिसम्बर 2023

 


अङ्क ४७ : सम्पादकीय

 टिस्टाको भयानक स्थिति


टिस्टा नदीले जुन विकराल रूप धारण गरेको थियो, यो मानव सभ्यताको निम्ति ठुलो चुनौती हो। केवल मुनाफा मात्र खोज्ने प्रवृत्तिका देशका कर्पोरेटहरूलाई यस घटनाले कतिको फरक पर्ला त्यो थाहा भएन। तर यसले टिस्टा नदीसँग जोडिएका सभ्यता, जनजीवनलाई तहसनहस पारेको छ। हरेक प्राकृतिक संसाधनमाथि अत्याधिक अतिक्रमण गर्नु र सरकारले पनि कर्पोरेटहरूलाई खुल्ला छुट दिनु जस्ता घटनाले आज हामी यस्तो विपद्को सिकार बन्नुपरेको छ। 

यो घटना एउटा उदाहरण हो। यस क्षेत्रमा कुनै पनि साधारण प्राकृतिक दुर्घटना हुना साथ त्यसले यस भेकलाई नै धराशायी बनाउन सक्छ भन्ने अलर्ट हो। प्राकृतिक आपदा अचानक आइलाग्ने घटना होइन। यसखाले घटनापछि लामो पृष्ठभूमि रहेको हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ, नभए बुझ्न जरूरी छ। अनि यस आपदका निम्ति एनएचपीसी प्रोजेक्ट एउटा कारण हो। यसले अझै भयानक आपद निम्त्याउन सक्छ, जसको क्षतिपुर्ति हामी सबैले गर्नुपर्ने हुन्छ। प्राकृतिक सम्पदाको नाफा कुनै कर्पोरेट विशेषको हुन्छ भने यसले निम्त्याएको सङ्कट स्थानीय सर्वसाधारणका निम्ति अभिशाप हुनेछ। 

प्राकृतिक आपदा जुनैबेला हुनसक्छ तर यसबेला प्रकृतिको संरक्षण गर्न साटो, केही सुरक्षा उपाय अपनाउनु साटो प्रकृतिको दोहन गरेर दोब्बर तेब्बर मुनाफा गर्न लागिपर्ने कर्पोरेटहरूका आडमा वर्तमान पक्षपाती शासन व्यवस्था नीति निर्धारण गर्दै बसिरहेको छ।

आजको समयमा टिस्टाको नाजुक स्थितिबारे कोही पनि अनभिज्ञ छैन। यसबेला यस क्षेत्रलाई संरक्षित गर्ने योजना चाहिएको हो। तर सरकारको इच्छा यसमा छँदै छैन। अझ रेलवे प्रोजेक्ट र अत्याधिक मात्रामा सुरूङहरू खन्ने कार्यहरूले सम्पूर्ण क्षेत्रलाई नै खतराको मुखमा होमिदिएको छ। यस क्षेत्रका समाज, सभ्यता, भूगोल र मानिसहरूप्रति व्यवस्थाको उदासीनता प्रष्ट छ, सो हामीले देखिरहेका छौँ।

टिस्टा नदीको आजको यस भयावह स्थितिबाट केही सिख लिँदै यस क्षेत्रप्रति विशेष ध्यान दिइयोस्। टिस्टा अनि टिस्टा वरिपरिका जनजीवन बचाउनमा विशेष ध्यान दिइयोस्। कुनै प्रोजेक्ट र विल पास गर्दा स्थानीयहरूको सुझावलाई ध्यानमा राखियोस‌्। पहिले जस्तै पर्यवारणविदहरूको सुझावलाई बाइपास गरेर प्रोजेक्टलाई जबरजस्ती नथोपियोस्। अहिलेको सन्दर्भमा आपदबाट यस क्षेत्रलाई बाहिर निकाल्न आवश्यक जम्मै खाले प्रयास गरियोस्।

टिस्टा बाढले यस चोटि छिमेकी राज्य सिक्किमलाई व्यापक रूपमा असर पारेको छ। चुङथाङ भ्याल्लीको भौगोलिक बुनोट नै परिवर्तन भएको छ। अनियन्त्रित रूपमा नदीमाथि बाँध निर्माण गर्दा कस्तो परिस्थिति सिर्जना हुँदो रहेछ भन्ने प्रत्यक्ष उदाहरण टिस्टाले प्रस्तुत गरिसकेको छ। सयौँ परिवार आज शिविरहरूमा बसिरहनु परेको छ। हजारौँ मानिसहरूले धन सम्पत्ति गुमाउनु परेको छ। अब फेरि फेरि टिस्टा किनारमा बस्तीहरू पुन:स्थापित हुन् सक्छ? यो प्रश्नले हरेकलाई घोची रहेको छ। सिक्किम सरकारले तत्काल धेरैवटा राहतपूर्ण पाइलाहरू चालेको देखिए तापनि यता कालेबुङ/दार्जीलिङ जिल्लामा भने क्षेत्रीय प्रसाशनले सन्तोषजनक काम भनेको गरेको देखिएन। यहाँसम्म कि क्षेत्रीय प्रसाशनसँग बाढको प्रकोपमा कति परिवार परे, कतिले ज्यान गुमाए, कति सम्पत्ति नोक्सान भयो, त्यसको आधिकारिक विवरण समेत सङ्ग्रह गर्न सकेन। कुनै सरकारी रिपोर्ट नै आएको छैन। राज्य सरकार वा केन्द्र सरकार पनि यस कुरामा गम्भीर देखिएनन्।

अब बाढ पीडितहरूको पुनर्व्यवस्थापनको निम्ति प्रशासनले कस्तो पहल गर्ने हो? केवल उनीहरूको पुनर्व्यवस्था मात्र होेइन, उनीहरूको आय आर्जनको व्यवस्था समेत प्रशासनले मिलाउनु पर्ने हुन्छ। सेभोकदेखि रम्फूसम्मै बसोबास गर्ने मानिसहरूका सुरक्षाका निम्ति दीर्घकालिन योजना बनाउनु पर्ने आवश्यकता देखिएको छ। राजमार्ग क्षेत्र अझै पनि खतरादेखि बाहिर छैन। रेलवे निर्माण कार्य चलिरहेको छ। जसले गर्दा विभिन्न स्थानहरूमा पैह्रो जाने क्रम जारी छ। टिस्टाको बाढले धेरैवटा गाउँहरू बगाएको छ। अब रहल गाउँहरूको सुरक्षा कसरी गर्ने? के प्रसाशनले टिस्टाको दीर्घकालिन सुरक्षाको निम्ति पहल गर्छ? प्रश्न गरौँ। 


किन चर्किँदै छ कालेबुङ ?

जानुका दाहाल




 केन्द्रीय मन्त्री स्मृति इरानी हालैमा सिलगढी आइन् र चिया श्रमिकको न्यूनतम ज्यालाको बारेमा कुरा गरिन्। मन्त्रीको कार्यभार सम्हालेकी इरानीलाई यतिका वर्षसम्म थाहै थिएन? विश्वमा नाम कमाएको दार्जिलिङ चियाको गाछ मुनी जीवन गलाउने श्रमिकहरूको कहानी या फेरी वेतन। देशका श्रमिक नारीहरू बलात्कृत भएका घटना! मन्त्री इरानीलाई किन चुनावको मुखमा मात्रै यस्ता गम्भीर विषय याद आएका होलान् है? उनी दिल्लीमा बसेर यसबारे केही बोल्न या सोच्न असक्षम छन् त? होइन यो चुनावै पिच्छेको धारावाहिक कहानी हो!

जब राजनैतिक कार्यकर्ताहरूको हिसाब किताबमा मजदुर या साधारण जनताका दैनिक वेतन या त रोजगारका जोड-घटाउका फर्मुला मिडियाको दोकानमा हिट हुन थाल्छन् त्यति बेला हामीले बुझ्नु पर्छ कि भारतमा चुनाव नजिकिँदै छ। हो, अहिलेसम्म पनि भारतमा अधिकतम जनता पेट भर्ने र छाना नचुहिने ओछ्यानको सङ्घर्षमा छन्, त्यसैले नेतालाई पनि सजिलो छ, उनीहरूले चुनाव आउँदा त्यही थोत्रो प्रोपागन्डा अलिक दिन फिँजाएर फेरी लगेर थन्क्याउँदा भैगो। अब मलाई चाहिँ किन छटपटी हुनुपर्ने त चुनाव अघि त्यही पुरानै मन्त्र जपेर जनता लट्ठ्याउन खोज्दा? छटपटीको अत्यास लाग्दो कारणहरू छन्।

विकसित देशको चुनावी मुद्दा 

अन्य देशमा पनि चुनाव आउँछ। त्यहाँको चुनावी मुद्दाहरू हाम्रा भन्दा एकदमै फरक छन्। केही समय अघिको कुरा एक जना अस्ट्रेलियन साथीले अनौपचारिक कुराकानीको क्रममा भनिन्, ‘यस पल्ट हामी विपक्षी पार्टीलाई सहयोग गर्दै छौँ’। 

मेरो ‘किन’को उत्तरमा उनले भनिन्, ‘अहिले सत्तामा रहेको सरकारको पर्यावरण प्रति लापरबाही छ’। विपक्षी पार्टीले चुनाव जिते पर्यावरण संरक्षणको पक्षमा काम गर्ने छन्। हाम्रो भन्दा कति भिन्न विषय, हुनु त मानिसले सबभन्दा पहिला त जीवन अड्याउने पेटको बारेमा नै सोच्छ। आखिर ऊ पनि त एउटा जन्तु नै हो। जब आधारभूत आवश्यकता पूर्ण हुन्छ, त्यसपछि सोच्ने न हो सुरक्षा अनि विकास जस्ता कुराहरू।

हामीलाई चाहिँदैन त पर्यावरण सचेत सरकार?

हाम्रो क्षेत्र पनि पर्यावरणलाई लिएर ढुक्क बस्नु पर्ने स्थितिमा त कतै छैन। तरै पनि जीवन बचाउने आवश्यकताको पछि भाग्दा-भाग्दै मानिस भुल्न बाध्य छन् उनीहरूको जीवन अनि आश्रय दुवै सङ्कटमा छन् भन्ने कुरा। फरक यति हो आजसम्म गाँस र बासको सङ्कट टाल्दा –टाल्दै पर्यावरणको सङ्कट चुनावी मुद्दा हुनै पाएको छैन। ज्यान माल नै नष्ट गर्ने विपत्तिलाई मौसम परिवर्तन र प्राकृतिक प्रकोपको काँधमा थोपरेर ढुक्क बस्नु हो र सरकारको कर्तव्य? हामीले सोच्नु पर्ने समय आइसकेको छ। यत्रो बृहत् जनसङ्ख्या अटाएको देशको पर्यावरणलाई अज्ञानतावश या फेरी विकासको लोभमा छेडखानी गर्दा भविष्यमा कति जीवन सङ्कटमा पर्न सक्छन्? चर्चा गर्न जरुरी छ। 

जोशीमठको आपतकाल

यसै वर्षको 2 जनवरीको दिन उत्तराखण्ड चमोली जिल्लाको पहाडीमा बसेको सानो सहर जोशीमठमा जब मानिस आ-आफ्ना घरमा सुतिरहेका थिए, अचानक धमाकाको आवाज आउँछ। निन्द्रा बिथोल्ने आवाज पत्ता लगाउन मानिस उठेर हेर्दा घरका प्राय सबै भित्तामा ठुलठुला चिरा देख्छन्। यस्तै चिराहरू यहाँको 7 सय वटा घरमा देखिएका थिए। नेशनल मिडियामा यो त्रासदीले त्यति बेला ठाउँ पायो, जब सयकडौँ परिवार सडकमा सुत्न बाध्य बने।

सुरुवाती सङ्केत भने यसले वर्ष 2021-को अक्टोबरमा नै देखाएको थियो। केही सचेत व्यक्तिहरूले यसलाई लिएर प्रशासनमा गुहार पनि लगाएका थिए।

अब गुदी कुरा गरौँ....!

यो आपदा निर्माण हुनु पछाडिको दोषी को हो त? संकटको जिम्मेवारी लिन कोही तयार छैन। धेरै जसो समाचार च्यानल भन्यो –‘दोष त्यहाँका जनताको हो, जो अवैधानिक बिल्डिङ बनाउँदैछन्’। प्रशासन भन्छ ‘दोष बदलिँदो भौगोलिक परिवर्तनको हो’। ‘आखिर दोष कसको हो त’ भन्दा केही विश्लेषक तपोवन बिण्णुगण हाइड्रो प्रोजेक्टलाई मुख्य जड मान्छन्। 

सन् 2006 सालमा शुरु भएको यो परियोजना अहिलेसम्म निर्माणाधिन छ। निर्माणको क्रममा यो सानो पहाडमा कैयौँ पल्ट विस्फोट गराइएको कुरा पनि अघि आउँदैछ। अझ यो परियोजनामा निर्माण भएको एउटा सुरुङ जोशीमठको मुनि पट्टिबाट जान्छ। भुगोलशास्त्री एम. पि. एस. बिस्ट अनि पीयूष रोटेलाले सन् 2010 मा एउटा रिसर्च पेपर प्रकाशित गरेका थिए, जसमा यो एउटै परियोजना कसरी जोशीमठको तबाहीको कारण बन्न सक्छ प्रष्ट पारेका थिए। 

कालेबुङमा त्रासदीको सङ्केत 

जोशीमठलाई उतै छोडेर हाम्रो घर आँगनको पृष्ठभूमिलाई नियाल्नु पर्दा कालेबुङ पनि त्रासदीमा बाच्दै गरेको प्रष्ट देख्न सकिन्छ। सानो टाउनको वरिपरि डाँडा पाखाहरूमा बसेका बस्तीहरू, अलैँची बारी, सुन्तला बारी र सानातिना फुल खेतीहरूको नाम हो ‘कालेबुङ’। 

केही समय यता कालेबुङका घरका भित्ताहरू पनि नजानिँदो पाराले जोशीमठको जस्तै चर्किन थालेका छन्। सडकहरू धस्किन थालेका छन्। अप्रत्याशित ठाउँमा अचानक ज्यानमारा पहिरो जान थालेको छ। तरै पनि चारैतिर मौनता देखिन्छ। लुक्नु त यो कसैको आँखाबाट लुक्न सक्ने कुरा होइन, किनकि कालेबुङदेखि झन्डै 6 किलोमिटर टाढामा 14 माइलमा एक ठाउँ मुख्य सडक वर्षौँदेखि दबिँदैछ र सडक चुँडिन लागेको छ। फलस्वरूप स्थानीयहरूले त्यस ठाउँको नाम नै ‘भचुवा’ राखेका छन्। अहिले त झनै सडक दुर्घटना पर्खिरहेको भयावह रूप देखिन्छ।

बासिन्दामा त्रास

कालेबुङको सुन्दर भ्यु पाइन्ट डेलो र यसको छेउ-छाउका सम्पूर्ण डाँडादेखि तलपट्टि इच्छे, पुदुङ हुँदै रेलीसम्मका घरका भित्ताहरू बर्षै पिछे नयाँ चिरा देखा पर्छन्। यहाँ लगभग पन्ध्र बिस हजार मानिसहरूको आश्रय छ।अब मानिसहरू यस परिवर्तनले त्रसित छन्। तर कहाँ जाने, कसलाई गुहार लगाउने भन्ने कुरा कसैलाई थाहा छैन।

कालेबुङ त्रासद सम्भावनाको श्रेय कसलाई!

कालेबुङ टाउनदेखि लगभग 15 किलोमिटर तल पर्ने रेली खोलामा स-साना खोल्सा मिसिँदै गएर टिस्टामा मिसिन्छ। यो खोलाको एक-डेढ किलोमिटरको रेली पाला क्षेत्रमा गिटी बालुवा जस्ता सामग्री अरबौँ टन उत्खनन् हुन्छ। यी कार्यका निम्ति ठुला-ठुला ढुङ्गा खन्ने र पिस्ने मसिनहरू पनि राखिएको छ, जसले खोलाबाट खनेर ठुला ढुङ्गाहरू निकाल्ने गर्छ। यहाँकै ढुङ्गाले कालेबुङ साथै नजिकका सबै क्षेत्रका निर्माण कार्य पुरा हुने गर्छ। यसरी दैनिक रूपमा खोला खनिँदा गहिरिँदै गएको खोलाले दुवै पट्टीका बस्ती बसेका डाँडाहरू तान्दै, दबिन र धस्किन थालेको छ। सम्बन्धित निकायले समय मै कदम नउठाए यसले लगभग 18-20 हजार मानिसलाई सङ्कटमा हाल्न सक्छ। 

सम्पन्न मानिसका धेरै विलासी सपना हुँदा हुन। तर आम मानिसको जीवनको सम्पूर्ण सपना हो ‘घर’। जब घर र जीवन दुवै प्रकृति विरोधी चलखेलको अधीनमा हुन्छ, तब ती मान्छेहरूलाई भोलिको कल्पनाले कसरी घाटी अट्याउँधो हो! यस्ता सम्भावित खतराका सङ्केत देखेर पनि किन अनदेखा गर्दै छ प्रशासन अनि जिम्मेवार नागरिक? यो सङ्केतलाई अनदेखा गर्नु बाध्यता हो या झिना-मसिना स्वार्थ? अझै सिक्किमतिर जाँदै गरेको रेल परियोजनाले कति सङ्कट उब्जाउने हो, रेलको बाटोले ध्वस्त पारेको पहाड उभिइरहन सक्छ सक्दैन यसको हिसाब किताब सायदै कसैसँग होला! 

विकासको कदम चाल्दा प्रकृतिलाई जोगाएर पाइला सार्नु पर्ने। यस्ता विनाशकारी संकटको समाधानको बाटो कतै त अवश्य होला। अब हाम्रो चेतमा यसको विकल्पको प्रश्न आउनै पर्छ।


आन्दोलनमा गिग वर्कर

 अनीश राई



गिग वर्कर ती व्यक्ति वा कामदार हुन्, जसले स्वतन्त्र रूपमा आफ्नो समय अनुरूप काम गर्दछन्। जस्तै-- अमाजन वा सुइगीको अर्डर डेलिभरी गर्नेहरू। गिग वर्करहरू विशेष गरेर डिजिटल प्लेटफर्म मार्फत काम गर्छन् र अहिलेको परिप्रेक्ष्यमा हेर्दा डिजिटल प्लाटफर्महरूले कामको प्रवृत्तिलाई द्रुत गतिमा परिवर्तन गरिरहेको छ। गिग वर्कर मुख्य दुई प्रकारका हुन्छन्: 1) स्थान-आधारित। 2) अनलाइन वेब-आधारित। 

‘स्थान-आधारित’ कर्मीहरूले विशेष गरेर निश्चित स्थानहरूमा व्यक्तिगत रूपमा गएर काम गर्छन्, जसलाई 'डेलिभरी बोइज' पनि भनिन्छ। यिनीहरूको काम भनेकै अर्डर गरिएको सामान ठाउँ-ठाउँमा पुऱ्याउनु हो। यिनीहरूको काम खाना, इलेकट्रोनिक्स, ट्याक्सी सेवाहरू, किराना सामान र अन्य सामानहरूमा सीमित हुने गर्दछन्।

‘अनलाइन वेब-आधारित’ कामदारहरूले विशेष गरेर डेटा वर्गीकरण, अनुवाद र सम्पादन सेवाहरू जस्ता कार्यहरू गर्छन्, जुन सैद्धान्तिक रूपमा इन्टरनेट र टाढाबाट कहीँ पनि बसेर गर्न सकिन्छ।

माथि उल्लेख गरिएका कुराहरू पढ्दा यिनीहरूको जस्तो सहज र फाइदाजनक काम अरू केही पनि हुन सक्दैन जस्तो लाग्न सक्छ। तर कुरो ठिक उल्टो छ। वस्तवमा यो भन्दा दुःखदायी काम अरू केही हुनै सक्दैन। अनलाइन वेब आधारित काम गर्नेहरू भन्दा स्थान आधारित काम गर्ने कामदारहरूले धेरै चुनौतीको सामना गर्नु परेको हामी स्पष्टसँग देख्छौँ। अधिकांश कामदारहरू 18 देखि 30 वर्ष उमेरका नवयुवकहरू छन्। आफ्नो परिवारको आर्थिक समस्या र देशमा बढिरहेको बेरोजगारीका कारण अरू केही उपायहरू नदेखेपछि उनीहरू यो काम गर्न बाध्य बनेका छन्। हामी घरमै बसेर खाना, इलेकट्रोनिक्स, किराना सामान र अन्य सामानहरू अर्डर गर्ने भाग्यमानी भए तापनि गर्मी, जाडो वा पानी परिरहेको समयमा पनि दौडिएर यी सामानहरू हामीसम्म पुर्‍याउनेहरू (गिग वर्कर्स) त्यति भाग्यमानी छैनन्। यिनीहरूको आफ्ना अर्डर डेलिभरी गर्नका लागि मोटर-साइकल र बाइसाइकलको सहायता लिन्छन्। नियमित समयमा आफ्नो काम अर्थात् अर्डर डेलिभरी गर्दा कहिलेकाहीँ सडकको दयनीय अवस्था र भारी वर्षा आदिका कारणले गर्दा सडक दुर्घटनामा परेर गम्भीर घाइते र मृत्यु भएको खबरहरू पनि हामी सामाजिक सञ्जालमा प्रशस्त देख्छौँ। मृत्युलाई एउटा हातमा र आर्थिक समस्यालाई अर्को हातमा राखेर काम गर्ने यी गिग वर्कर्सहरूको काम न त पर्मानेन्ट छ न त यिनीहरूलाई बिमाको सुविधा नै छ। 

यही कारणले गर्दा अहिले देशको विभिन्न राज्यहरूमा (दिल्ली, राजस्थान, पश्चिम बङ्गाल आदि) गिग वर्करहरू सडकमा उत्रेर आन्दोलन गरिरहेका छन्। सरकारले चाह्यो भने यी सबै माग पूर्ति गर्न सक्छ। तर सरकारलाई यो विषयप्रति कुनै प्रकारको चासो छैन। हालको गिग वर्कर्स आन्दोलनहरूले कम्पनीविरुद्ध उनीहरूको सामूहिक लडाई स्पष्ट रूपमा देखाएको थियो साथै कम्पनी प्रबन्धकको जिम्मेवारीबाट हात धुने नीति विरुद्ध आवाज उठाउन थालेका छन्।

गिग इकोनोमी कामदारहरूले सामना गर्ने तीन प्रमुख चुनौती:

1) आर्थिक समस्या  : 88 प्रतिशत गिग कामदारको महिना सकिन अघि नै पैसा सकिएको देखिन्छ। धेरै जसोको घरायसी र इन्धनको खर्च बढेको कारण यस्तो भएको हो। 90 प्रतिशत कामदारले आफ्नो परिवारको खर्च चलाउन व्यक्तिगत ऋण लिन चाहे पनि कामको प्रकृतिका कारण ऋण लिन पाएको छैन। गिग कार्यकर्ताहरूसँग धेरै कारणहरूले गर्दा बारम्बार पैसाको अभाव हुन्छ। उनीहरूकै एकजनाले भन्छन्, “पहिलो कारण, पैसा आउनु र जानुको हिसाब प्राय अनिश्चित छ। उदाहरणका लागि, भाडा, समान मासिक किस्ताहरू, वा बिलहरू महिनाको सुरुमा दिनु पर्छ, ती पैसा भुक्तानी गर्नु हप्ता दिनको लागि ढिलाइ हुन्छ।”

अर्को एकजनाअनुसार, “दोस्रो, अचानक, अनियोजित खर्चहरू छन्, जसले गर्दा पैसा पुर्‍याउनु गाह्रो पर्छ। सामान्यतया चिकित्सा खर्च, घर मर्मत वा सवारीसाधन, यी कारणले गर्दा कार्यकर्ताहरूमा आर्थिक समस्या उत्पन्न भएको छ।”

2. बिमा समस्या : लगभग 40 प्रतिशत गिग कर्मीहरूसँग कुनै बिमा छैन। प्रतिशत नगदले मात्र रोजगारदाताले प्रदान गरेको बिमाको लाभ लिन्छन्। बाँकी 36 प्रतिशत कार्यकर्ता आफैँले प्रिमियम तिरेर बिमा खरिद गरेका छन्। काम गरिरहेका अधिकांश गिग कामदारहरूको बिमा छैनन्। ‘बिमा’ कम्पनी अर्थात् रोजगारदाताले कामदारहरूका लागि दिनु पर्ने एउटा महत्त्वपूर्ण न्याय हो। यसै कारणले यस उद्योगमा प्रमुख चुनौतीहरू देखा पर्छन्।

एकजना गिग कर्मीले भने, “गिग कर्मीहरूको कामको प्रकृतिले गर्दा दुर्घटनाहरू भइरहन्छन्। तिनीहरू कामको दबाबमा खतरनाक ट्राफिकको साथ सडकहरू पार गर्छन्, किनकि प्रोत्साहन मोडेलहरू प्रायः प्रदर्शन दक्षतामा आधारित हुन्छन्। तसर्थ, सानो दुर्घटनाले पनि सवारीसाधन मर्मतदेखि उपचार खर्चसम्मको ठुलो आर्थिक बोझ निम्त्याउँछ, जसले गर्दा उनीहरूको स्वास्थ्य अवस्था पनि खेर जान सक्छ।” 

3. आयस्रोतको अनियमितता: आयको उतार-चढाव विशेष गरी देशको आर्थिक स्थितिमाथि आधारित छ। गिग वर्करको आय सामानको ‘अर्डर अनि डेलिभरी’माथि निर्भर हुन्छ। आम मानिसले जति कमाउँछन् त्यति मात्रै उपभोग गर्छन्, त्यसैले देशको आर्थिक स्थिति राम्रो हुनु पर्छ। उदाहरणका लागि, कोरोना भाइरसको महामारी अघि, अधिकांश गिग कामदारहरूले रु 25,000 भन्दा माथि कमाएका थिए, जबकि महामारी पछि 10 मध्ये 9 जना कामदारले रु 15,000 भन्दा कम आय गर्दै छन्। यस्तो उच्च उतार-चढावका लागि देशको आर्थिक स्थिति र महामारी प्रमुख घटना हुन्।

गिग वर्करहरू बजारको उतार-चढावप्रति बढी संवेदनशील हुन्छन्, जुन 2020-21 कोभिड महामारीको समयमा स्पष्ट रूपमा देखिएको थियो। यसले गम्भीर आपूर्ति शृङ्खला अवरोध र आर्थिक उथलपुथल निम्त्यायो, किनकि लकडाउनको समयमा अधिकांश व्यवसायहरू बन्द थिए।

हाम्रो समाजले अहिलेको परिप्रेक्ष्यमा गिग वर्करहरूलाई मजदुर ठान्दैन। तर उनीहरू पनि अरू क्षेत्रका मजदुर सरह हुन्, त्यसर्थ उनीहरूलाई कामदारको रूपमा मान्यता दिनुपर्छ। सामाजिक सुरक्षा नदिई जनताका छोरा-छोरीलाई शोषण गर्ने छुट मालिकहरूलाई दिने कार्यको विरोध गर्नुपर्छ। गैर जिम्मेवार कम्पनीद्वारा लगातार भइरहेको शोषण बन्द गरिनु पर्छ। गिग कामदारहरूलाई रोजगारदातासँग संयुक्त रूपमा सम्झौता गर्ने अधिकार र उचित कानुनी सुरक्षा सरकारद्वारा प्रदान गरिनु पर्छ।


टिस्टाले नि तीरै हजुर भुल्दा मेरो बासै बगायो !

छेवाङ योञ्जन






त्यो तीन दिनको अविरल वर्षा कसले पो भुल्लान् र! पहाडभरि गएको भीषण पैह्रो र पैह्रोमा परेर ज्यान गुमाएका ती प्राणहरूलाई चटक्क बिर्सन नसकिँदो रहेछ। त्यो लगातार परेको मुसलधारे झरीले हरेकलाई मृत्युको मुखेन्जी पुगेको अनुभव गराएको थियो। आमा-बुबाहरूका नियाँस्रो सुस्केराले अठसठ सालको भल-पैह्रो सम्झिरहेका थिए। जुन भल-पैह्रोले पहाडको भूगोल फेरिएको थियो। नदी-नालाहरूले किनार भुलेको थियो। गाउँहरू चुँडिएर टाढा-टाडा पुगेका थिए। यति मात्र कहाँ हो र?

दुधमुखे बालकहरूका असङ्ख्य चित्कारहरू पैह्रोमुनि पुरिएका थिए। सुत्केरी आमाहरूका कलिलो शरीरलाई भलले बगाएर बेपत्ता बनेको थियो। अठसठ- सालको भल पैह्रोमा धेरै परिवारका धुरी खाँबो ढले र अनाथ बने हरियाली पहाड। त्यसैले त पानी पर्दा तर्सिने भए हाम्रा बाजे-बोजुहरू। आँगनका डिलहरू सुरक्षित छ छैन! घरमाथिका ढिस्कनाहरू बलियो छ छैन! सुर्ता गर्छन् बाजे-बोजुहरू। कारण भल-पैह्रोमा ज्यान गुमाएका प्रियजनका अनुहारहरू आज पनि उनीहरूका आँखामा झलझल्ती छ। त्यही अठसठ सालको सम्झना बोकेर हरेक साल आइपुग्छन् अविरल झरी, भल, पैह्रो र भूकम्पहरू। विगत सालको घाउ पुरिएकै हुँदैन। कुनै कुनै प्रियजनलाई टपक्क टिपेर जान्छ भल-पैह्रो र हावा-हुन्डरीहरू। 

अ! यस चोटी पनि प्रकृतिले पहाडको प्राणै लिएको थियो। पानी पर्नु, घाम लाग्नु प्रकृतिको सामान्य नियम त हो। तर निरन्तर पानी पर्नु / अनौठो शैलीमा बादल फाट्नु/ पहाडका हरेक थुम्काहरूमा पैह्रो जानु यी जम्मै त प्रकृति विपरीत सङ्कटहरू हुन्।

के बाँध निर्माणले त यस्ता सङ्कटहरू निमत्याइ रहेको छैन? टिस्टा नदीको तीरमा सुन्दर देखिने थुप्रै गाऊँहरू आज कहाँ छन्? 29 माईलको रमाईलो गोलाइहरू आज किन यति धेर आतङ्कित भइरहेको छ? करीब दस किलोमिटरको दुरीमै टिस्टामा दुई दुईवटा बाँधहरू निर्माण गरिएको छ। सांस्कृतिक आस्थाको केन्द्र त्रिवेणीमा पुन: नयाँ बाँध निर्माण हुने चर्चाहरू सुनिन्छ। अहिले नै हाम्रो पहाडको स्थिति यस्तो छ। थप बाँधहरू निर्माण भए! हाम्रो अस्तित्व के होला! सबैलाई थाहा छ नि! टिस्टा नदीको पानी बढेर सडकसम्म आइपुगेको थियो। आखिर के भइरहेछ टिस्टालाई? यति आवेशमा किन उठ्यो टिस्टा? हरेकलाई चिन्ता त लाग्छ नै। 

साँच्चै टिस्टा! तिमीले त्यो दिन देखाएको उग्र रूपले सयौँको घर-परिवार छताछुल्ल बनाएको छ। बगरमा गिट्टी कुटेर जीवन धान्ने दिदीहरूलाई तिमीले कहाँ पुऱ्यायौँ? दिनभरि बालुवा थुपारेर साँझमा चुल्हा छेउ उज्यालो सपना देख्ने दाजुहरूलाई कता फ्याँक्यौँ तिमीले? ती गिट्टी र बालुवाका थाकहरूले किनी दिएका नानीहरूका कलिला अक्षरहरू खोइ कहाँ छन् आज? टिस्टा तिमीले यसको जवाफ दिनै पर्छ। हो तिमीले जवाफ दिनु पर्छ किनारमा टम्बु टाँगेर आफ्ना पेट पाल्ने ती बेरोजगार युवाहरूलाई। कसले खोस्यो उनीहरूको गाँस?

 खुम्चिएका पहाडहरूलाई चौडादार सडकहरूले पनि हेप्दो रहेछ। तलतिर टिस्टाको दम्भकारी रूप, माथितिर चट्टाने भित्ताहरूको आक्रामक हेराई। साँच्चै ती तीन दिन राजमार्गवासीले कसरी रात बिताए होलान्? दिनरात सुत्न नपाएका राजमार्गवासीले आफ्नो प्राण जोगिएको सपनासमेत देखे के? मान्छेलाई सबै भन्दा धेरै माया आफ्नै प्राणको त हुन्छ नि! प्राण जोगाउन अनेक जुक्ति गर्छन् मानिसहरू। तर के राजमार्गवासीसँग प्राण जोगाउने कुनै जुक्ति छ? अह छैन नि। माथिबाट पैह्रोले थिच्ने। तलबाट टिस्टाले बगाउने। उनीहरूको दुवैतिर मृत्यु उभिएका छन्। आखिर किन यति जोखिमपुर्ण बन्यो यो धर्ती/ यो नदी/ यो पहाड? प्रश्न त उठ्छ नै।

रेलवे-ले लापारवाही पूर्वक पहाड खने झैँ, बाँधले जबरजस्ती नदीहरूलाई रोके झैँ हामीले पनि हाम्रा पहाडलाई चारैतिरबाट टुक्राइ रहेका छौँ। हामीसँग पर्यावरण चेतको अभाव त छदैछ नि, त्यसैले त हामी लापारवाही साथ रूख-पात मास्न पुग्छौँ। अत्याधिक प्लास्टिक प्रयोग गर्छौँ। सरकारको रेलवे साथै हामी पनि प्लास्टिक प्रयोग गरेर थप पैह्रोहरू निम्त्याइ रहेका छौँ। यता, बाँधले नदी रोकेर पहाडमै डुब्ने स्थितिमा छ भने हामी मौन दर्शक बनेर आफ्नै दुर्गति पो हेरिरहेका छौँ कि!

प्रकृतिले उग्र रूपधारण गरिरहेको छ। मौसम परिवर्तनले विनाशकारी दिशा पक्रेको छ। बादल फाट्नु, अविरल वर्षा हुनु, डुबाऊ, भल-पैह्रो, आतङ्ककारी तुफान, हिम पैह्रो, भूकम्प, समुन्द्री तुफान-- मानव सभ्यताले आज किन यति धेरै सङ्कटको सामना गरिरहेको छ? चिन्ता त लाग्छ नै। के यी प्राकृतिक सङ्कटहरूको समाधान छ? हामी चर्चा गरौँ। एउटा यस्तो विकल्प तयार गरौँ। टिस्टा किनारमा फेरि फर्की आउन् गिट्टी-बालुवाका मुस्कानहरू। हरेकको सुरक्षामा उभिउन् पहाडका चट्टाने भित्ताहरू। पैह्रोहरूमा फुलोस् हाम्रा चेतनाका कोपिलाहरू।

यो कस्तो शिक्षा व्यवस्था हो ?

सुमेन्द्र तामाङ 



आफ्नो जीवनकालको महत्त्वपूर्ण अंश पहाडको शिक्षा व्यवस्थालाई समर्पित गरेर पहाडका स्कुलहरूमा विद्यार्थीलाई गुणात्मक शिक्षा प्रदान गर्ने अवहेलित अनि शोषित स्वयंसेवक शिक्षकहरूले न्याय पाएको हुनुपर्छ। साथसाथै गैर कानुनी रूपमा भाइ-भतिजावाद गरेर शिक्षा व्यवस्थालाई प्यारालाइज् गर्दै आइरहेको पहाडको पुरानो रूढिवादी प्रथाको पनि अन्त्य हुन जरुरी छ। 

सबैलाई थाहा भएको कुरा हो-- दार्जिलिङ र कालेबुङ पहाडमा वर्षौँदेखि शिक्षक नियुक्तिमा व्यापक भ्रष्टाचार हुँदै आइरहेको छ। पटक-पटक सत्तासीन राजनैतिक दलहरूको चाप्लुसी गरेर धेरै युवाले नियुक्ति पाएका छन्। अर्को तर्फ, पहाडको शिक्षा व्यवस्था धेरै नाजुक मोडतर्फ गइरहेको छ। सरकारी स्कुलहरूको अवस्था अनि व्यवस्था दुवै चिन्ताजनक भएर गएको छ। सरकारी स्कुलहरू बिस्तारै बन्द हुने अनि प्राइभेट स्कुलहरूको होडबाजीको कारणले गुणात्मक शिक्षा केवल हुनेखानेहरूको पेवा भइसकेको छ। कमान-बस्तीका खटिखाने मानिसहरूले आफ्नू नानीहरूलाई पढाउन ऋण लिनु पर्ने स्थिति छ। दैनिक आय निम्न भएको कारणले गर्दा गाँस, बास अनि कपासको नियमित ढाँचा धरि यस देशको सरकारले आफ्नै नागरिकहरूलाई दिन सकेको छैन। 

स्कुल फी, गाडी भाडा, खाता किताब किन्ने पैसा अनि आफ्नो जीवनको धेरै बाध्यताले गर्दा प्रत्येक घरबाट कोही न कोही पलायन भएर बाहिर जानुपर्ने स्थिति छ। अब त्यसमाथि समस्त खटिखाने मानिसहरूको छोराछोरीहरू जो आफ्नै ठाउँमै बसेर समाजको भविष्यको निम्ति शिक्षा व्यवस्था भित्र काम गर्छु भन्ने सोच राख्ने श्रमजीवी जमातले आज जसोतसो दुःख सुख पढाई गरिसकेपछि पनि रोजगारको निम्ति हात जोडेर घुस दिनु पर्ने स्थिति पहाडमा रहेको छ। अन्यायको चरम सीमा हो यो। 

पार्टीको झन्डा नथापे काम नपाउने बाध्यता छ। आफ्नो छेउको मान्छे, नेताको चिनाजाना भएको जमातले पहिला चान्स पाउने भाइ-भतिजावादको कारणले आज वर्षौँदेखि खटी आएका इमानदार अनि खटिखाने मेहनतकशका छोराछोरीहरूले ठिक प्रकारको रोजगार पाउन सकेका छैनन्। भ्रष्ट व्यवस्थाले भ्रष्टाचारी सोच नै फैलाउने गर्दछ। यो एउटा सिस्टमेटिक सङ्कट हो। यसको समाधान यस सिस्टमको फेरबदलले मात्र हुन सक्छ। सिस्टमको फेरबदल ल्याउनमा जन आन्दोलनको मुख्य महत्त्व रहेको हुन्छ। उदाहरणको निम्ति कृषक आन्दोलनलाई हेर्न सकिन्छ। व्यापक आन्दोलनको कारणले गर्दा कृषि विरोधी अनि निजीकरण नै मूल मन्त्र भएको तीन वटा कृषि कानुन रद्द गर्न भारत सरकार बाध्य बन्यो। 

5 डेसिमल पर्जापट्टाको विषय पनि यसरी नै श्रमिकहरूको व्यापक विरोधले मात्र रोक्न सक्यो। सिस्टम फेरबदल गर्नुको प्रमुख अनि प्रथम घडेरी नै यस सिस्टम भित्रको समस्या बुझ्नु हो। त्यो समस्यालाई पुनर्मुल्याङ्कन गर्दै, भ्रष्टाचार विरुद्ध व्यापक सङ्ग्राम गर्दै गए मात्र हामीले समाधानको असल बाटो खोज्न सक्नेछौँ। त्यसैले पहाडका शिक्षक जो आज सडकमा ओर्लिएर आफ्नू भविष्यबारे कुरा गरिरहेका छन् तिनीहरूले शिक्षा व्यवस्था भित्र भइरहेको यो गहिरो खेल बुझ्न पर्छ। आफू भित्र भएका 'भाइ भतिजा'-हरूलाई चिन्न सक्नु पर्छ अनि शिक्षा व्यवस्था अनि शिक्षक नियुक्ति प्रणालीमा सबै प्रकारको अवहेलना, उत्पीडन अनि अन्याय विरुद्ध आवाज उठाउन पनि आँट गर्नु पर्छ। 

अर्को तर्फ, यो कुरा केवल दार्जिलिङको समस्या मात्र होइन। 2019 मा भारत सरकारले नयाँ शिक्षा नीति पारित गर्‍यो। यो नयाँ नीतिले केवल खटी खाने परिवारबाट आएका विद्यार्थीहरूलाई मात्र घात नपुर्‍याएर शिक्षकहरूको रोजगारलाई पनि कनट्र्याक्टको रूपमा प्रस्तुत गरेको छ। 30 जना भन्दा कम विद्यार्थी भएका सरकारी स्कुलहरू बन्द गरेर प्राइभेट स्कुलहरूको कर्पोरेट परिकल्पना गरेको छ यस नयाँ शिक्षा नीतिले। त्यही अन्तर्गत पहाड लागत पश्चिम बङ्गाल राज्यमा 5 हजार भन्दा बेसी सरकारी स्कुलहरू बन्द हुने आशङ्का रहेको छ। शिक्षा जस्तो बुनियादी अधिकारलाई एउटा सुविधा स्वरूप बनाएर विद्यार्थी अनि शिक्षक दुवैलाई नराम्रो रूपले हमला गरिएको छ। केन्द्रीय, राज्य अनि स्थानीय स्तर भित्र नै शिक्षा व्यवस्था अनि रोजगारमाथि व्यापक भ्रष्टाचार भएको हो। मध्य प्रदेश, अरुणाचल प्रदेश, गुजरात, उत्तर प्रदेश,पश्चिम बङ्गाल जस्ता राज्यहरूमा व्यापक रूपमा सरकारी परीक्षाहरूमा स्क्याम भयो, एसएससी घोटाला भयो। 

कहिलेकाहीँ, भोटको हल्लाबाजीमा यो एउटा चर्चाको विषय हुन्छ त्यस बाहेक अरू केही हुँदैन। त्यसैले पहाडको शिक्षक अनि विद्यार्थी दुवैले शिक्षा व्यवस्था भित्र भएर आएको कु-प्रणाली अनि भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै न्यायको सङ्घर्ष गर्न सक्नुपर्छ। सिस्टम केवल यसरी मात्र बद्लिने छ। नत्र टालटुले प्रावधान ल्याएर फेरि आँखा छल्ने काम मात्र हुने ठुलो सम्भावना छ। उदाहरणको निम्ति पहाडमा फेब्रुअरी 14, 2021 को TET परीक्षालाई लिन सकिन्छ। 14 हजार भन्दा ज्यादा युवाहरूले परीक्षा दिए तर रिजल्ट अहिलेसम्म आएको छैन। बरु केही दिन पछि चुनाव चाहिँ आयो। सिस्टम बनाउँछु भनेर ढोल पिट्नेहरूले TET परीक्षाको फी स्वरूप उठाएको 210 ( general )अनि 110 ( ST/ SC) रकम अहिले कस कसको खल्ती तिर पुगेर पनि पच्यो होला? TET परीक्षाको यो व्यापक भ्रष्टाचारलाई राजनैतिक मुद्दा बनाएर 2021 को इलेक्सन लड्ने विपक्षीहरूले अहिलेसम्म यसको समाधान ल्याउन ठोस् कदम स्वरूप के गरे? यसको रिपोर्ट के छ त्यस विषय बुझ्न अनिवार्य छ। 

फेरि चुनाउ आउन लागेको छ। अवैध शिक्षक नियुक्ति अनि भ्रष्टाचार विरोधी चली रहेको पेन डाउन आन्दोलनले यो कुरा ध्यानमा राखेर काम गर्न आवश्यक छ। त्यसैले शिक्षा व्यवस्थाको व्यापक निजीकरण अनि शिक्षक नियुक्तिको विशाल भ्रष्टाचार विरुद्धको लड़ाईका साथै सबैको निम्ति गुणात्मक शिक्षाको माग सहितको आन्दोलन एकै साथ अघि बढाउनुपर्ने आवश्यकता छ।

सयौँ किलोमिटरको राजमार्ग : विकास कि विनास!

 अनुपा तामाङ



हाम्रो जन्म थलो भनेकै प्रकृति हो। यदि प्रकृति नै रहेन भने हामी रहन्छौ त? प्रति दिन बढ्दै गइरहेको अनियन्त्रित विकास योजनाहरूको कारण आज पर्यावरण सङ्कटमा पुगेको छ। पर्यावरण प्रति सरकारको ध्यान पुग्न सकेको छैन। दिनोदिन एक पछि अर्को गर्दै वन जङ्गल र नदी-नालाहरू मासिँदै गइरहेको छ। मानव निर्मित प्रकोपहरू कै कारण वन जङ्गल नष्ट हुँदै गइरहेको छ। सहरीकरण र औद्योगीकरणको आडमा व्यापक रूपमा वनविनाश भइरहेको छ। मानव सभ्यताले उल्टा बाटो हिँडिरहेको छ। 

एउटा यस्तो युग पनि थियो, जसलाई हामीले प्राचीन काल भन्छौँ। त्यस युगमा मानिसहरूले प्रकृतिको पूजा गर्ने गर्थे। त्यस युगका मानिसहरू प्रकृति माथि नै निरभर थिए। उनीहरू जीवन-जीविका सबै सबै प्रकृति माथि भर पर्थ्यो। तर अहिले ती कुराहरू हाम्रो सोचदेखि बाहिर छ। हामी त विकासको नाममा प्रकृतिलाई लुट्नमा व्यस्त छौँ।

वर्तमान पर्यपेक्षमा हाम्रो देशमा पर्यावरण सङ्कटले उग्र रूप लिइरहेको छ। सरकारको विध्वंसकारी योजनाहरूले देशका विभिन्न प्रान्तहरूमा व्यापक रूपमा सङ्कट निम्त्याइ रहेको छ। बाँध निर्माण, खदान, सडक निर्माण, रेलवे लाइन आदिले देशको प्राकृतिक सम्पदालाई हुनसम्मको नोक्सान पुऱ्याइ रहेको छ। सिक्किममा हालैमा भएको बाढले पनि अनियन्त्रित विकास योजना अनि प्राकृतिक सम्पदाहरूको नष्ट भएको प्रमाण दिँदै छ। र अब एउटा यस्तै मानव निर्मित विनासको पर्खाइमा छ बाग्राकोट चिया बगान। बाग्राकोट चिया बगानको केही माथि तिरको पैरेनी पाखामा फ्लाइओभर निर्माण हुने कार्य भइरहेको छ। सुरुमा त्यो स्थानमा चौडादार सडक निर्माण गरिएको थियो। तर बर्खाको पानीले सडक बगाए पछि अहिले त्यही क्षतविक्षत बनेको पैह्रो माथितिर फ्लाइओभर निर्माण भइरहेको छ। केन्द्र सरकारको राष्ट्रिय राजमार्ग 717 ए-को निर्माण योजना अन्तर्गत यो काम चलिरहेको छ। सडक र फ्लाइओभर निर्माणले त्यहाँका हजारौँ बोट बिरुवा नष्ट गरेको छ। सडक निर्माणमा प्रयोग हुने अत्याधुनिक भाइब्रेसन र रासायनिकहरूले त्यस भेगका जङ्गली जीव जन्तुहरूलाई कतिको असर पारिरहेको होला! उसै पनि पैह्रो गइरहने त्यो पहाडमा भाइब्रेसन मसिनले जमिनलाई कति धेर धराप बनाइसक्यो होला! अहिले पटक पटक मौसम परिवर्तन भइरहन्छ। कुनै दिन महाभेलले त्यो फ्लाइओभरसँग सँगै बाग्राकोट चिया बगानलाई पनि डुबाउन सक्छ। 

उक्त राजमार्ग निर्माणले कतिपय मानिसलाई फाइदा होला तर प्राकृतिक सम्पदाहरूको भने हुनसम्मको क्षति भएको स्पष्ट देख्न सकिन्छ। नितान्त फरक शैलीमा निर्माण भइरहेको त्यो सडकले विकास होइन तर विनाश ल्याउन भन्ने कुरामा दुई मत नहोला। 

केन्द्र सरकारले यस्ता धेरै वटा परियोजनाहरू पारित गरेको छ। बाग्राकोट देखि गान्तोकसम्म पुग्ने 2 सय किलोमिटरको उक्त राजमार्ग निर्माण कार्यको निम्ति सरकारले सन् 2016 मा अधिसूचना जारी गरेको हो। कुल 4 हजार करोडको लागतमा निर्माण हुने यो परियोजनाको काम सन् 2018 मा सुरु भएको हो। केन्द्र सरकारको “सडक यातायात तथा राजमार्ग मन्त्रालयद्वारा 717A योजना हालमा पनि तीव्र गतिमा चलिरहेको छ। यो नव निर्मित राजमार्ग डुवर्सको बाग्राकोट हुँदै चुइखिम, बरबोट, निम्बोङ, कफेर भएर राष्ट्रिय राजमार्ग 717 बी-सँग जोडिएर सोझै सिक्किम राज्य पुग्ने दोस्रो वृहत् सडक हो।

सडक निर्माणले बाग्राकोट क्षेत्र भने धेरै समस्यामा पर्न सक्ने सम्भावना छ। निर्माण क्षेत्रमा रहेका खोल्चा अनि कल्पट आदिमा चाहिएको भन्दा बढी पानी भेला भएर सोझै जुरन्ती खोलामा भेट हुने गर्दछ। यस भेगबाट बगेर आएको पानीले रोडा ढुङ्गा आदि बर्खाको समयमा बगाउने गर्दछ र यो एउटा सडकको नालीको पानी मात्र नभएर बाग्राकोट बासीको निम्ति पनि एउटा खतराको घण्टी हो। बर्खाको समय यस नालीले चाहिँदो भन्दा बढी पनि बगेको हुनाले सोझै गएर जुरन्ती खोलाको जल स्तर बढ्न सक्छ। 

हालमा पनि बेला बेला नदीको जल स्तर बढ्दा बाग्राकोटको केही घरमा क्षति पुऱ्याइरहेको छ। उक्त क्षतिलाई रोकथामको निम्ति स्थानीय मानिसहरूले केही पहल गरेर सम्बन्धित विभागमा अर्जी पात्र चढाए बापत 80 देखि 90 मिटर लामो बाँध बाँधिने काम भयो। बाँध बाँधिए तापनि यस वर्षको क्षतिलाई रोक्न भने असक्षम बन्यो। यदि यस्तै प्रकोप चलिरह्यो भने डुवर्समा रहेका तमाम गाउँहरूको हालत के होला? 

त्यहाँ वर्षौँदेखि बसोबास गर्दै आएका मानिसहरूको भविष्य अन्धकारमय बन्ने सम्भावना देखिन्छ। त्यसैले सरकारी नियम अनुसार राजमार्ग निर्माण कार्य गर्न अघि त्यस ठाउँलाई पूर्ण रूपमा जाँच गर्नु पर्ने हो। तर त्यस ठाउँको कार्य हेर्दा पटक्कै जाँच भएको जस्तो देख्दैन। जति निर्माण हुँदै छ त्यति नै प्राकृतिक विनाश पनि हुँदै छ। 

राजमार्ग निर्माण कार्यको लागि क्षेत्रको जाँच भए तापनि निर्माण कार्यले व्यापक रूपमा पहाडको बुनोटलाई नष्ट गरिरहेको छ। यस कार्यमा सोझै सरकारको लापरबाही देख्न सकिन्छ। भविष्यमा कुनै ठुलो प्रकृति प्रकोप आए बाग्राकोटलाई व्यापक नोक्सान पुऱ्याउने छ। यसैले विकासको नाममा विकास निम्त्याउनु भनेको खुल्ला आकाशमा ढुङ्गा फ्याँक्नु बराबर हो। झरेर आफ्नै शिरमा बज्रिने छ।

सडक निर्माण कार्यले हजारौँ बोट बिरुवा नष्ट गरेको छ, तर त्यसको सट्टामा नयाँ बोट बिरुवा रोप्ने योजना आजसम्म पारित भएको छैन। एक बिरुवा काटे दस बिरुवा रोप्नु पर्ने हो, जसले प्रकृति सुन्दरतालाई कायम राख्छ। तर हालमा हेर्दा खाली विनाशको कार्य मात्र चलिरहेको पाउँछौँ। 

यसैले, यस्ता विनाशकारी विकासले युगौँदेखि बसोबास गर्दै आइरहेको एउटा आदिम बस्तीलाई उच्छेद गर्नेछ साथै क्षेत्रको प्राकृतिक सम्पदालाई व्यापक नोक्सान पार्नेछ।


समाजमा महिलाहरूको स्थिति अनि यौन हिंसा : एक सन्दर्भ

अम्बिका राई 



आजको समयमा जब भारत देशले चन्द्रमामा चन्द्र यान-3 लाई सफलता पूर्वक ‘सफ्ट ल्यान्डिङ’ गराउन सक्षम बनेको छ, त्यही देशमा महिलाहरूको स्थितिले गम्भीर साथै सोचनीय रूप लिइरहेको छ। नेसनल क्राइम रिपोर्ट ब्युरो (एनसीआरबी) -को रिपोर्ट अनुसार, वर्ष 2021 मा महिला हिंसाको कुल 4,05,861-वटा मामिला दर्ता गरिएको थियो। जुन मामिलाहरू मध्ये 32,033-वटा घटनाहरू केवल बलात्कारको मात्र थियो।

हाम्रो देशको यस्तो स्थिति अचानक आज आएर बनिएको भने होइन। प्रत्येक खबर कागज, सामाजिक सञ्जाल पोस्टले कुनै न कुनै महिलामाथिको अमानवीय हिंसा अनि कुकृत्यको खबर हाम्रो अघि ल्याइरहेकै छ। यस्ता घटनाहरूको विरोधमा समाजका संवेदनशील मानिसले आफ्नो आवाज बुलन्द गर्दै सडकमा उत्रेर जोड-तोडले प्रदर्शनहरू पनि गरिरहेको हामी देख्न सक्छौँ। हो! यस्तो घटनाको विरोध गर्नु अनि महिलाहरूका निम्ति समाजमा एउटा सुरक्षित ठाउँको माग राख्नु आजको परिस्थितिमा एकदमै महत्त्वपूर्ण छ। तर हामीले यो कुरा पनि बुझ्नु जरुरी छ कि, महिला वर्गलाई केवल ‘सुरक्षा’ मात्र होइन तर समाजमा सम्मानको एउटा ठाउँ पनि दिन जरुरी छ। 

‘यस्तो किन?’--भन्ने प्रश्न हाम्रो मनमा उठ्न सक्छ र यस्तो प्रश्नको चर्चा पनि हुन् जरुरी छ। किन भने ‘सुरक्षा’ कै कुरा गर्ने हो भने त हामी सबैको लागि सबैभन्दा सुरक्षित ठाउँ त हाम्रो घर अनि परिवार हो। तर समाजमा यस्ता महिलाहरू पनि हुन्छन्, जो आफ्नै परिवारका सदस्यहरूका हिंसाको सिकार बन्न पुग्छन्। नेसनल फ्यामेली हेल्थ सर्भिस (एनएफएचए)- को 2019-2021 को रिपोर्ट अनुसार, भारतमा लगभग 30% विवाहित महिलाहरू कुनै न कुनै प्रकारका हिंसाको सिकार बनेका छन्। यी मध्य 87% विवाहित महिलाहरूले न्यायको निम्ति कुनै प्रकारको कानुनी वा आफ्नै परिवारको सहयोग लिँदैनन्। उनीहरू चुप-चाप यस्ता हिंसाहरू सहेर बस्छन्। यस्तो किसिमको हिंसाको कारणले महिलाहरूको शारीरिक, मानसिक, यौन र प्रजनन स्वास्थ्यमा पनि गहिरो असर पर्दछ। 

यौन हिंसाको सिकार कुनै पनि उमेरमा रहेको महिलाहरू हुन् सक्छन्। भारतमा सानो भन्दा सानो बालिकादेखि वृद्ध उमेरका महिलाहरू पनि हिंसाको सिकार बनिरहेका छन्। एनसीआरबी-कै रिपोर्ट अनुसार भारतमा हरेक 15 मिनटमा एउटा नाबालक यौन हिंसाको सिकार हुन्छ अनि 53% हिंसा उनीहरूकै अभिभावक, आफन्तजन, छिमेकीहरू साथै स्कुलका शिक्षकद्वारा गरिन्छ।

हाम्रो देशमा हरेक नारी कुनै न कुनै प्रकारको हिंसाका सिकार बनेका छन्। कुनै हिंसा खुल्ला रूपमा देख्न सक्छौँ भने कुनै हिंसाले अदृश्य रूप लिन्छ, जुन हाम्रो अगाडी भए ता पनि हामी ठिम्याउन असक्षम बन्छौँ। र यस्तो हिंसाको केवल एउटा मात्र रूपमा हुँदैन। यस्तो हिंसाको हजारौँ रूप हुन्छन्, जसलाई हामी शायद धेरै चोटि जानी-नजानी नजर अन्दाज पनि गर्छौँ। उदाहरण कै रूपमा हेरौँ भने- बाटोमा हिँड्दा कुनै केटाले एउटी महिलालाई जिस्काउने, ‘मस्ती गरेको’ भन्दै कुनै महिलामाथि यौनजन्य टिप्पणी गर्ने प्रवृत्ति, महिला हुने ‘कर्तव्य’-को नाममा उनीहरूको स्वतन्त्रतामाथि लगाइने रोक, महिलाहरूको चरित्रमाथि गरिने प्रश्न, इत्यादि। यस्ता घटनाहरूलाई लिएर मिडिया, प्रशासन अनि सरकारले पनि आ-आफ्नो स्तरमा यस्तो समस्यालाई सुल्झाउने कोसिस त गरिरहेका छन्। तर पनि आजसम्म हामी यस समस्याको प्रभावकारी समाधानको नजिक पुग्न सकिरहेका छैनौँ। 

एक तर्फ चन्द्रमामा अनुसन्धान गर्ने सोच र अर्कोतिर ‘महिलाहरू पुरुषको तुलनामा कम सक्षम हुन्छ’ भन्ने सोच र महिलाहरू जहिले पनि पुरुषहरूको सुरक्षामा बस्नु पर्ने रुढीवादी सोच भएको समाजमा हामी बसिरहेका छौँ। यदि यस्तो घटनाको विरोधमा कुनै चर्चा आयो भने पनि हामी केवल त्यही एउटा घटनालाई लिएर मात्र छलफल गर्छौँ। त्यसै कारण हामी यस्तो बारम्बार भइरहने घटनाहरूको जरासम्म गएर त्यसको निचोड निकाल्न असफल बन्छौँ। तसर्थ महिला हिंसाको मुख्य जड ‘पितृ सत्ता’-को विषयमा गहिरो रूपमा चर्चा गर्नु एकदमै अनिवार्य छ। पितृ सत्ताकै कारणले समाजमा पुरुष अनि महिलाहरूमा भेदभाव गरेर पुरुष र स्त्री जाति बिच अन्तर राखिदिने काम भइरहेको छ। यसै कारण समाजमा महिलाहरूलाई दोस्रो नागरिकको दृष्टिकोणले हेर्ने गरिन्छ। हाम्रो समाजमा एउटी महिलाको मुख्य पहिचान नै कसैको आमा, स्वास्नी, दिदी, बहिनी अनि छोरी – सम्म मात्रा सीमित भएको छ। मानौँ उसको अन्य कुनै स्वपहिचानको महत्त्व नै छैन। 

यही पितृ सत्ताको कारण महिलाहरू आफूलाई असुरक्षित, कमजोर, बाँधिएको महसुस गर्छन्। यस पुरुष-तन्त्र समाजबाट महिलाहरू मुक्त नभई एक जना स्वतन्त्र मनुष्यको स्तरमा इज्जत अनि सम्मान पाउनु असम्भव छ। यौन हिंसा कै डरले गर्दा नै समाजमा महिलाहरूले हरेक क्षेत्रमा अगाडी बढ्नमा बाँधाको सामना गर्नु पर्छ। यही समाजको डरको कारणले गर्दा आफूसँग भइरहेको अन्याय अनि अत्याचारको खिलाफ आवाज उठाउन सक्दैनन्। तसर्थ समाजमा परिवर्तन ल्याउनका निम्ति हरेक पीडित अनि शोषित व्यक्तिहरूको भागीदार एकदमै जरुरी छ।





परिवर्तन नै स्थायी हो

नारायण काफ्ले  



जन्म र मृत्युबिचको जीवन यात्रामा जे जति चेतना जगेरा गर्न सक्यो त्यसैको आधारमा जीवन जगतका तमाम कुराको व्याख्यान गर्ने धृष्टता गर्न छोड्दैन मान्छे। इतिहासको लामो कालखण्ड पार गरेर मान्छे आजको स्थितिमा उभिएको छ। भोलिको भविष्य के हुने हो? त्यसको अनुमान समेत गर्न सक्ने स्थिति छैन। क्षणभरमै हराउने पानीमा उम्रिने फोका जस्तै छ मान्छेको जीवन। तथापि जीवन जगतको क्रमिकतामा छोटो अवधिको लागि जन्म लिएर पनि मान्छेले तमाम ब्रह्माण्डको व्याख्या गर्ने चासो राख्ने गर्छ। यही प्रवृत्तिले उसलाई धरतीका अन्य प्राणीभन्दा पृथक् पारेको छ। हिजोको दिनमा धरतीका अन्य तमाम जीव झैँ मान्छे पनि एक थियो। तर, चेतनाको तीव्र विकास, त्यसलाई व्यक्त गर्ने भाषाको निर्माण र अर्जित चेतनालाई व्यवहार गर्दै मान्छेले जङ्गलदेखि यहाँसम्मको यात्रा तय गर्‍यो। मान्छेको चेतनाको मूल फुटेदेखि नै परिवर्तनको यथार्थलाई चिह्नित गर्दै आएको छ, परिवर्तनको धुव्रसत्य जान्दै आएको छ।

ग्रिसेली दार्शनिक हेराक्लिट्स इसा पूर्व 600 तिर जन्मिएका थिए। महान् दार्शनिक प्लेटोको उदय-- एरिस्टोटलका विरासतलाई पछ्याउँदै भएको थियो। उनी पश्चिमेली दर्शनशास्त्रका एक प्रसिद्ध दार्शनिक हुन्। Change is the only constant in life (जीवनमा केवल परिवर्तन मात्र स्थायी छ)-- उनको यो भनाइले दर्शनशास्त्रको चिन्तन प्रणालीमा नयाँ आयाम थपिदियो। हामी एउटै प्रवाहलाई दोस्रो पटक महसुस गर्न सक्दैनौँ। अथवा भनौँ, हामी एउटा नदीको त्यही पानीले दोस्रो पटक नुहाउन सक्दैनौँ। धाराप्रवाह रूपमा परिवर्तन बगिरहन्छ, समय बनेर, नदी बनेर, गति बनेर। जीवन गतिशील छ। यस गतिसँगै परिवर्तन पनि गतिशील रहन्छ, बद्लिरहन्छ सब थोक। विद्यमान सत्यलाई खोतलेर उनले समाज समक्ष यस्तो तर्क राखे जसले मानव समाजको चिन्तन प्रणालीको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ।

परिवर्तन छ र नै जीवन छ। कल्पना गरौँ त! सबै चिज यथास्थितिमा रहने भए कस्तो बन्ला जगत? जीवनको अस्तित्व रहला र! अथवा जगतको अस्तित्व नै रहला र! ब्रह्माण्डको लामो समयको परिवर्तनकै उपज त हो यो धर्ती, जसमा मान्छेको अस्तित्व टिकेको छ। यस अर्थमा जीवनको सौन्दर्य नै परिवर्तन हो।

समय, स्थान र गति (Time, Space and Motion) परिवर्तनका कारक तत्त्व हुन्। यसकै आधारमा विविध वस्तुहरूले आफ्ना चोला फेरिरहन्छन्। विश्व ब्रह्माण्डमा गतिहीन कुनै चिज छैन। सबै अस्तित्वमा भएका चिजको आफ्नै स्थान छ‌। अनि प्रत्येक चिजको स्थिति परिवर्तनको निम्ति निश्चित समय। परिवर्तनको यही अविराम यात्राको एउटा सूक्ष्मातिसूक्ष्म हिस्सा मात्र हो मानव सभ्यता। एक क्षण गहिरो सोचौँ त - 'परिवर्तनका यो क्रम नहुने भए ...?' अहँ यो कुरा कल्पना गर्न समेत सम्भव छैन। 

मान्छेभित्र नै ब्रह्माण्डको सत्य खोज्नुपरे उसको लोभको अन्त्य खोजे हुन्छ। अहिलेको पृथ्वीमा मानव जातिले एकल हैकम चलाइरहेको अवस्था छ। मान्छेमा चेतनाको विकासका कारण पृथ्वीमा हैकम जमाउनबारे सोच्न सबल र सक्षम भएको छ। मान्छेले प्रकृतिका संसाधनको प्रयोग गरेर आफ्ना सुख सुविधाका निम्ति अनेकानेक सामग्रीहरूको सिर्जना गरियो। बिस्तारै मान्छेको प्रवृत्तिमा परिवर्तन आउँदै गयो र मान्छेमा लोभको यति धेरै विकास भयो, जसको अन्त्य छैन। तत् पश्चात् आफ्ना स्वार्थ पूर्तिको निम्ति प्रकृतिको अत्यधिक दोहन सुरु भयो। जगतका तमाम चिजबिजमाथि मान्छेले आफ्नै मात्र नियन्त्रण रहोस् भन्ने चाहना राख्न थाल्यो जसको प्रतिक्रियामा म “असम्भव” बाहेक केही भन्न चाहन्न। वास्तवमा मानव जातिले परिवर्तनको नियमलाई समेत आफ्ना इच्छाअनुरूप नियन्त्रणमा राख्न खोजिरहेको छ र यो उसको मूर्खता सिवाय अरू केही होइन। 

वर्तमान समाजको स्थिति निर्क्योल गर्ने हो भने-- विद्यमान असमानता, अपराध, शोषण र उत्पीडन देखेर हताश हुने जमातको एउटा हुल छ। यी सबै खाले घटना भएको देख्दा देख्दै पनि केही नभएको स्थिति जस्तो, सामान्य समय जस्तो अभिनय गर्ने संवेदनहीन जमातको पनि एउटा हुल छ। समाजमा आदर्शका भाषण छाँटेर आफैँ त्यसको विपरीत कार्य गर्ने आडम्बरे जमातको पनि हुल छ। चोरेर, लुटेर, ढाँटेर, ठगेर पनि लज्जा महसुस नगर्ने थेत्तरो वर्गको पनि हुल छ। हिंस्रक भएर, दमनकारी भएर, निरङ्कुश भएर सबैमाथि हैकम जमाउने र हैकम जमाउन चाहने वर्गको पनि विशाल हुल छ। अनि यस्तो विशृङ्खल समाजको उन्मूलन र सबैको निम्ति समान समाजको निर्माणका निम्ति जीवन समर्पण गरी लागिपर्नेहरू पनि यसै समाजमा छन्। यस्ता थरी थरीका सामाजिक असामाजिक तत्त्वहरू हाम्रो समाजभित्रै रहेका छन्। यी सबैले एउटा कुराको सामना गर्नु नै पर्छ, त्यो हो परिवर्तन। तर त्यो परिवर्तन सबैको निम्ति समान र सम्मानजनक रूपमा मानवीय सचेतना सँगसँगै हुन सके मात्र मानव सभ्यता टिक्न सक्छ। अन्यथा हामी इतिहासका डाइनोसोर बन्ने छौँ भन्दा फरक नपर्ला।

हजारौँ वर्षसम्म युगको गर्दनमा हतियार राखेर, शरीरमा कोर्रा/चाबुक बर्साएर शासन गरेका थिए दास मालिकहरूले। मान्छे मान्छेबिच सिङ जुधाइ खेलाउनु, खेलमा मान्छे मारिनु, यी त मनोरञ्जनका साधन थिए कुनै समय। बाँच्नका निम्ति खान पाउनुको ठेगान पनि नभएकाहरू, आफ्नो प्राणको अधिकारसमेत मालिकको हातमा सुम्पिएर, केवल जीवित रहन पाउनु नै अहोभाग्य हो भन्ने ठानेर काममा दलिएका थिए। यसरी प्राकृतिक रूपमा चेतनाको विकास हुन नदिएर पूरै युगलाई नै दास मालिकहरूले आफ्नो मुठ्ठीमा कज्याएर राखेका थिए। यस्तो कहालीलाग्दो युगको पनि कुनै समय अन्त्य होला भनेर कसले कल्पना गरेको थियो होला र? यस्ता तमाम निरङ्कुश तन्त्र, क्रूर शासक र जटिलभन्दा जटिल परिस्थितिलाई पनि मानव सभ्यताको सामूहिक सङ्घर्षले पराजित गर्दै आएको छ। सत्य भनी स्थापित गराइएका अनेक रूढीहरू असान्दर्भिक बनेका छन्। समयको माग र आवश्यकता अनुसार नयाँ सत्य स्थापित हुन्छन् र पुराना विस्थापित। यसको क्रम क्रमशः चलिरहन्छ। परिवर्तनको नियम विरुद्ध कुनै शक्ति टिक्न सक्दैन। यस विरुद्ध जे उभिन्छ त्यो धराशायी बन्छ। 

परिवर्तन जगतको अपरिहार्य नियम हो। परिवर्तन नै नियति। परिवर्तन नै सत्य। निरन्तर वा क्रमिक परिवर्तनको उपज नै जन्म हो, मृत्यु हो। सुरु र अन्त्य हो। कुनै चिज बन्छ भत्किनलाई र भत्कन्छ केही नयाँ बनिनलाई। यसरी परिवर्तनको क्रम निरन्तर चल्दै आएको छ, चलिरहन्छ। यस ध्रुव सत्यलाई आत्मसात् गरेर नै मानव समाजले आफ्नो भविष्यको दह्रिलो योजना बनाउन सक्नेछ।


न्याय र उसकी देवी

अनुदीप शर्मा

हामी नेपाली भाषामा त प्राय: कोर्ट कचहरी भन्छौँ। प्रहरी चौकी वा थाना मात्रै भन्दा पनि जतिको आङ जिरिङ्ग हुन्छ हाम्रो, न्यायालय भन्दा त्यति हुँदैन। जे होस् “त्यो भय किन?” भन्ने विषय पट्टि आजको गफको मेलो होइन। यो प्रसङ्ग आउनु केवल महाकाव्यमा सर्गको अन्तिम तिर आगामी सर्गको सूचक तत्त्व आए जस्तो मात्र हो। कुनै दिन यो पनि आउला!

न्यायालयको वातावरणको कल्पना गर्दा हामीले पूर्णतः सिनेमाका दृश्यमा निर्भर रहनु पर्छ। सामान्य मानव जाति अहिलेसम्म त कोर्टदेखि अलि पर नै रहने जाति हो। न्याय मिचिँदा बरु हामीलाई चुप बस्न नै ठिक लाग्छ– न्यायालयको दलिन टेक्दा परिवारको इज्जत लिलामी हुन्छ। सिनेमामा केही हदसम्म न्याय दण्डिका र न्याय प्रक्रियाको साँच्चै अनुकरण गरिए तापनि कतै न कतै थपनी त हुन्छ नै। काल्पनिक नौटङ्की न हो। तर कतै नछुट्टाइएको एउटा कुरो चाहिँ न्यायदेवीको मूर्ति र न्यायाधीशको लट्ठी (ग्याभेल) हो। 

आज कुरा उनै देवीको हो। अङ्ग्रेजीमा ‘Lady Justice’ भनी प्रसिद्ध यो न्यायमूर्तिको प्रचलन दुई थरिका स्रोतबाट भएको पाइन्छ। ग्रिसेली र मिश्र प्रदेशहरूमा पुजिएकी ग्रिसेली कानुन र न्यायकी देवी ‘थेमिस’ र मिश्रमा प्वाँख र तरबार लिएर उभिएकी सत्य र न्यायकी प्रतीक ‘मात्त’। यहाँ अर्को एउटा स्रोत रोमकी न्याय देवी जस्टिसियासँग पनि मिल्न जान्छ। यस्ता अनेक पौराणिक स्रोतबाट आएको यस मूर्तिको नक्सा ठ्याक्कै आँखा अघि उभ्याउन सफल बन्छु-बन्दिनँ, तर यसको धेरथोर आकार यस्तो भन्न सकिन्छ: आफ्ना जीवनका कुठाराघातले पीडित अधबैँसे महिला घरी उभिएकी घरी पत्थर शिलामा सोझो भई बसेकी। आफ्नो उमेरले लुछिएको, कता कता चाउरिएको शरीरलाई उनी नाङ्गा खुट्टा लिएर एउटा कुँजिएको, कता कता नपुगेको जस्तो कपडाले ढाक्न खोज्छिन्। देवी नै मानिए तापनि महिला उनी, युगौँसम्म मूर्तिमा कैद भएर कति-कतिको निम्ति कामुक अभिलाषाकी प्रतीक बनिन् होला। अझ आफ्नो कुम-कुमसम्म आउने उनका खुला केशराशी एक दिशामा हल्लिरहँदा न्यायको भीख माग्न आउने शरणार्थीले पनि आफ्ना प्रमदा सम्झँदा हुन। हातमा तर सहस्र शीर्ष पुरुष: जाति नै शक्ति छ उनको। दाहिनेमा शीत जस्तो टल्कने तरबार अनि देब्रेतिर न्याय तराजु। दुवै भीषणताको र भव्यताको प्रतीक। तर खोइ मूर्ति भएर होला वास्ता नै लाग्दैन। उभिएकी छिन् प्राचीन प्रतीक बनी, बस्। 


अर्को मुख्य कुरो हो यो मूर्तिको अन्धोपन। एउटा कारिगरले सङ्गमरमरको पत्थरमा नयन कुँद्दा औसत समय लागेको एक महिना हो। यति लामो समयको मेहनत र मुख मण्डलको शोभा, उज्यालो हेर्ने सकारात्मकताको प्रतीकलाई कालो थोत्रो पट्टीले ढाकेपछिको बीभत्सतामाथि कति कति दया पलाएर आउँछ। के को अर्थ दिन चाहेको होला त्यो थाङ्ना बाँधी !! यसका भेद पनि अनेक छन्। अहिलेको युगीन हेराइले मानौँ सबै कुरालाई सकारात्मक अर्थ दिईरहेको हुँदा यो कालो पट्टि बिचरो पनि कहाँ बाँकी रहन्थ्यो र! 


ज्ञानी जनले यसलाई अनेक अर्थ्याए पनि यसको यो स्थितिले अनेकौँ कुरालाई टड्कारो गरी के के भनी रहेको छ। यो न्यायमूर्ति पूर्वाग्रह र भेदभाव रहित समानताको प्रतीक भनी उभिँदा कस्तो अचम्म लाग्दो आभास हुँदो रहेछ। एउटा कल्पना केवल – यदि कुनै समय यसमा प्राण सञ्चार भए यी देवी अझै यसरी नै बसिरहँदी हुन् त? यदि भन्दी हुन् उनले आफ्नो गाथा: के त्यो किताब र ज्ञानीले बखान गरे झैँ यस्तै बोक्रे सुन्दर हुँदो हो त?


त्यो न्यायकी देवी अदालतमा चलिरहेका अन्याय देखेर कति विरक्त हुँदी हो! वकिलका सेता असत्य देखेर कति सलबलाउँदो हो उसको छाती ! न्यायाधीशले फाँसीको निर्णय सुनाई आफ्नो कलम शिखा भाँच्दा उसको पनि त मन हल्लिँदो हो। अन्यायको बिगुल बज्दो हो जब, गरिब र लाचारको चीर हरण हुँदो हो जब सभामा, हस्तिनापुरका मौन शूरवीरहरू झैँ मस्तक झुकाई धृतराष्ट्र, भीष्म र विदुर अनि द्रोण सरह मौन र अन्धो भई बस्नु पर्दा के हाल हुँदो हो उनको? सोचनीय छ। यो पट्टी वास्तवमा अर्थ निरपेक्ष छ। समयानुसार समाज र सभ्यताले यसलाई चिनाउँदै जाँदछ। हालको समयमा त यो केवल विरोधको प्रतीक हो। अराजकतालाई नाश गर्ने शस्त्र हुँदाहुँदै पनि बाँधिएर बस्नुपर्ने बिस्मातको र विरक्तिको प्रतीक हो। न्यायपालिकाका खस्रा हातले घरीघरी छोएर, घरी यता घरी उता सारिएको न्याय दण्ड र न्याय मिति जस्तो उसको शरीर, वर्षौँसम्म खोलिँदै बन्द हुँदै गरेको मुकदमा र लम्बिएको न्याय घडी साथै मैलाका र धुलोका काला धर्सा; र कतै कतै भाँचेर टुटेर असत्यको पल्लाले थिचेर उसको मासु लुछेको र गोडा थिचेको समय, परबाट हेर्दा उचालिएको सानो सत्यको झिल्कामा नाचेका मानिसको भ्रान्ति, रातभरि अन्धकारमा अनेक नारी बलात्कृत हुँदा आफू तरबार र तराजु बोकी बन्द अदालतमा थुनिएको, न्याय दिन नसकेको ग्लानि, गरिब र सर्वस्व हारेको मान्छेले न्यायको टोपी ओढ्न नपाउँदा अनायास चुहिएको आशु सबै सबै चुसी लाने त्यो कालो खारिएको पट्टी।


युगौँदेखि यी दृश्य हेरी आएकी पर्वत सरह अटल साक्षी न्याय देवी : हठात् कुनै दिन केही चमत्कार भइदिए र उनको गोडा थचक्क बसिदिए यदि दुवै हात भुईँमा छोडी तरबार र तराजुको झन्कार साथै बिसाई दिए उनी, ज्ञानीजन बहुरी उठी भन्दा हुन्-- “शास्त्र त्याग गरिकन् बनिन् न्याय देवी अशोक वाटिकामा रहँदाको सीता सरह शान्ति मूर्ति”। 


मेरो जीवन भरको इच्छा तर भनौँ? 


चमत्कार नै यदि हुँदो हो कुनै दिन र खुकुलियो पत्थर शिला भने, हे देवी – आफ्नो आँखाको पट्टि खोली तिमी खुला केश राशि बाँध्नु र तराजुका दुवै थाललाई रक्षा कवच बनाई निस्कनु युद्ध गर्न दुराचारीसँग तरबार उठाई। उस दिन जजको ग्याभेलले पनि नभनोस् -- ‘अर्डर अर्डर’। 

नयाँ युग आउँदा क्रम भङ्ग हुनै पर्छ।