Wednesday, April 30, 2025

नयाँ पुस्ता

 नारायण काफले


नयाँ पुस्ता त्यो उज्यालो हो जुन उज्यालोलाई अनकन्टार जङ्गलको अन्धकारमा हराएका मान्छेले पछ्याउँछन्। राहतको सास लिएर। आशाका पालुवा उमार्दै। भरोसाको मुस्कान छर्दै। आँखाबाट खुसीका पानी चुहाउँदै ढुक्कको अनुभव गर्छन्‌। अड्याउन चाहन्छन् आफ्ना थकित शिर नयाँ पुस्ताका काँधमा।

नयाँ के हो? मलाई लाग्छ हाम्रा अघि अस्तित्वमा रहेका सबै थोक नै नयाँ हुन्। ती दृश्यमान हुन सक्छन्, दृश्यमान नहुन पनि सक्छन्। सुनेर सुनेर वाक्क लागिसकेको सङ्गीतको धुन पनि नयाँ। वाक्कै लागिसकेको नेताको उस्तै भाषणको रटान पनि नयाँ। त्यसो भए नयाँको विपरीतार्थक पुरानो चाहिँ? सवाल त पक्कै उठ्छ। यसको जवाफ पनि सरल छ। एउटा चिज सधैँभरि नयाँ रहिरहन सक्दैन, फरक यत्ति नै हो। तर हरेक चिज एक न एक समयको नयाँ हो। 

तर इतिहासदेखि वर्तमानसम्म हरेक युगले नयाँ पुस्ता भन्न छाडेको छैन। नयाँ पुस्ताको कुरा गर्दै गर्दा कुन पुस्ता भन्ने सवाल उठ्ला। यसलाई सहज हिसाबले बुझ्ने हो भने हामीले आइन्स्टाइनको सापेक्षताको नियम (theory of relativity) बुझे सहज हुन सक्छ। हामीले भन्ने गरेको नयाँ पुस्ताले समय सापेक्षित अर्थ दिन्छ। भएभरका निराशा पोख्नलाई होस वा मानव जिजीविषाका आशा, भविष्यको सपना देख्नलाई हरेक युगले यदि कसैको काँध टेकेको छ भने त्यो काँध नयाँ पुस्ता कै हो। अनि युगौँदेखि नयाँ पुस्ता भनिएकाहरू कहिल्यै पुराना भएनन् त? यही त गज्जबको कुरा छ। क्रूर भन्दा क्रूर शासनको खटन सहेर होस वा विकट परिस्थितिको सामना गरेर— अनिकाल, प्रकोप, वा महामारी नै किन नहोस्,  दास मानसिकता बोकेर युगौँदेखि सधिएका मान्छेहरूका मुक्तिदाता उनीहरू भित्रैबाट जन्मिएकै मान्छे त थिए (ती मुक्तिहरू पनि समय सापेक्षित छन्)। ती मान्छे नै त थिए नयाँ पुस्ता। आफ्नो युगका निर्माता। 

अनि हरेक युगले बाँच्ने आफ्नै तौर तरिका अपनाउँदै जान्छ। त्यो अपनाउने पनि अनेकन् कारण र परिस्थिति हुन्छन्। तर यी कारण र परिस्थिति बद्लिँदै गएता पनि आफ्नो बाँच्ने तरिका बदल्न पटक्कै नचाहने एकखाले मानव प्रवृत्ति हुन्छ। जसरी इतिहासमा आफ्नो समय र पुर्खाको वर्चस्व रहिरहोस् भन्ने ध्येयलाई जब परम्पराको नाममा थोप्ने प्रयासहरू गरियो। अनि यिनै कुराहरूलाई चुपचाप मानिदिन असहज महसुस गर्ने पुस्ताको जब जन्म भयो। तब? तब फेरि केही न केही त भएकै पाइन्छ। तब — फेरि नयाँ मूल्य र मान्यता स्थापित भयो। जसलाई हामी इतिहास भन्छौँ। त्यो धेरै हदसम्म आफ्नो समाज सापेक्ष, समय सापेक्ष हिसाबले तय भयो। फेरि तोडियो, फेरि बनियो। यसखाले आवृत्तिले निरन्तर परिवर्तनको नियमलाई स्थायित्व दिएको छ। यही नियमको प्रतिफल हो नयाँ पुस्ता। नयाँ पुस्ता! जसले गतिमान समाजलाई गुणात्मक परिवर्तन गर्न सिर्जनात्मक योगदान दिँदै आएका छन्। 

अँ! यहाँ चर्चा गरिएको नयाँ पुस्ता नै युवा पुस्ता हो भने जस्तो लाग्न सक्ला। के त्यसो हो र? त्यसो भए त्यो युवा जमात जो बद्लिँदो समय र परिस्थिति अनुसार एक थोपा जति पनि विकसित छैन। न मानसिकता, न त व्यवहार नै। जसका आँखामा निद्राको आलस्य र मस्तिष्कमा लुटेराको जस्तो षड्यन्त्रको जालोसिवाय अरू केही छैन। ऊ पनि नयाँ पुस्ता? इमानदार, स्वच्छ छवि, निर्विवाद व्यक्ति — त्यसो भए यस्ता मात्र नयाँ पुस्ता? खासमा नयाँ पुस्ताको क्यारेक्टर सर्टिफिकेटमा यी सब पर्छन् पर्दैनन् मलाई थाहा छैन। 

तर जो नदीमा बगेको कसिङ्गर सरह चुपचाप बगिरहेको छ। जसमा बग्दो धारभन्दा बाहेक दायाँ बायाँ चटपटाउने, चलमलाउने कुनै इच्छा छैन। जसमा आफूलाई जीवनमा प्रेरित गर्ने एउटा धरि सपना छैन। यस्तो सपना जसको आँटले उसमा कुनै बहँदो प्रवाह विपरीत पनि पौडिने साहस दिन सक्दैन। जसमा विभेदकारी थोत्रा-थाङ्ना च्यातेर समानताको ध्वज उत्तोलन गर्ने उत्साह छैन। जसमा जीवनमा मिठास भर्ने र भविष्यको कल्पना गर्ने सक्षमता छैन। ऊ नयाँ पुस्ता हुनै सक्दैन। 

त्यसैले अनुहारको चमक, पाखुराको बल र जवानीका पुष्ट हड्डी युक्त युवा सबै नयाँ पुस्ता नै हुन भन्न सकिन्न। यदि त्यसो भइदिए वर्तमान समाजको यो दुर्गति हुने नै थिएन। 

तथापि समयको बहँदो प्रवाहबिच म कुन स्थानमा छु? मेरा साथीसङ्गी कहाँ छन्? मेरो समाज? मेरो देश? मेरो विश्व? यसबारे गम्ने प्रयास गर्छु। तर एकछिन सोचौँ त। मेरो विश्वसम्म पुग्दा त म मानव प्राणीको प्रतिनिधित्व गर्दै विश्वलाई व्याख्या गरिरहेको छु। म भित्र अटेको विश्व केवल मानव हितलाई सुरक्षा गर्ने सवालमा सीमित छ। दुनियाँका लाखौँ करोडौँ अन्य प्राणीहरूको चिन्ता पनि मानव हितकै रक्षाका सवालसम्म मात्र दह्रिला छन्। अन्यथा मान्छेले जति नै प्रकृति पूजकको रूप धारण गरेता पनि उसले तबसम्म प्राकृतिक संसाधनहरूको दोहनलाई सही ठहर गर्छ जबसम्म त्यसले आफैँलाई असर गर्दैन। यो अनुमान होइन, मानव चरित्रको स्वाभाविक व्याख्या हो। त्यसैले अहिलेसम्ममा विश्वका सबै दर्शन मानव केन्द्रित मात्रै रहेका छन्। साथै मानव बाहेक अन्य विषयमा केन्द्रित रहेका दर्शनहरू पनि मानवीय हितलाई नै सुनिश्चित गर्ने ध्येयले प्रेरित छन्। यी दर्शन लाखौँ वर्षको मानव सभ्यताको विरासतको देन। तथापि यत्रो विरासत रहँदा रहँदै पनि अहिलेसम्म अधिकांश मान्छेले सुखको सास र शान्तिसँगको गाँस भोग्न पाएका छैनन्। 

सबै मौरी मिलेर भरेको डुँड, खानेबेलामा रित्तो भेटिए जस्तो। भएभरको मह कहाँ गयो? कसैले भाँडो भरेर लगे जस्तो।  मान्छेको सामूहिक श्रमले बनिएको दुनियाँमा अहिले बहुसङ्ख्यक मानिसहरू नै बिचल्ली अवस्थामा मरिमरी बाँच्नु परिरहेको यथार्थ छ। काम गर्ने कालु जस खाने ठालु भने झैँ मानव सभ्यताको सामूहिक श्रमको फल अहिले सीमित मान्छेका हत्केलामा थुप्रो लागिसकेको छ। तिनैका हातमा विश्वका अकुत भौतिक संसाधनको नियन्त्रण छ। आफ्नो हित सुनिश्चित गराउन उनीहरू जेसुकै गर्न तयार छन्। अहिले युगले कोल्टे फेर्दै गरेको अवस्थामा मानव हितको दर्शनमा धेरै परिवर्तन आइसकेको छ। प्राणी जगतमा सोच्ने क्षमताका हिसाबले उत्कृष्ट मस्तिष्क पाएका मान्छेले आफ्नो हित केन्द्रित दर्शनको विकास गरेजस्तै सीमित समृद्ध जमातले पनि आफ्नै वर्चस्व कायम राख्न अनि आफ्नै परिवारका सयौँ पुस्तासम्म पुग्नेगरी संसाधनहरूको जोहो गर्न आफ्नै दर्शन बनाइसकेका छन्। पृथ्वीका संसाधनहरूको निजीकरण। त्यसबाट उत्पन्न नाफाको निजीकरण। आफ्नै मात्र वर्चस्वको एकाधिकार। हरेक क्षेत्रमा निजीकरण भएजस्तै दर्शनको पनि निजीकरण। ‘एनी हाउ-पैसा कमाऊ।ʼ अनि विश्व नै यही दर्शनलाई पछ्याउँदै दौडिन प्रेरित। जो जति समृद्ध उसको उति नै विकास। जो जति मेहनती ऊ उति कङ्गाल। 

वर्तमान विश्वमा विज्ञान र प्रविधिको विकासले गज्जबको फड्को मारेको छ। तथापि यसले प्रशंसाको ओइरो कमाए पनि विचित्रको परिस्थिति सिर्जना गरेको छ‌। पुँजीवाद, हामी बाँचेको समाज। पुँजीको आधारमै सबै थोकको मूल्याङ्कन गर्नु यसको विशेषता। सीमित व्यक्तिहरूको हातमा असीमित आर्थिक संसाधनको थुप्रो लाग्दै गएपछि अहिले सामाजिक, सांस्कृतिक, राजनैतिक साथै विविध चिजबिजका नियन्त्रण गर्न सक्ने क्षमता पनि उनीहरूमा निरन्तर बढिरहेको छ। यस्तो अवस्थामा सम्पूर्ण विज्ञान र प्रविधिको सामूहिक उपयोगिता तर्फभन्दा बढी पुँजीको मुनाफा सुनिश्चित गर्न यसको अकुत दुरुपयोग भएको हामी साक्षी बन्दै गइरहेका छौँ। एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) चर्चाका शिखरमा भएको जमानामा बहुसङ्ख्यक जनता भने हातमुख जोड्ने दिनहुँको सङ्घर्षभन्दा बाहिर निस्कन सकेका छैनन्। भारी मात्रामा रोजगारका निम्ति पलायनका कथाव्यथाको ओइरो छन् विश्वभरि। एकातिर हामीलाई रोबोटले काव्य-कला देखाएर लट्ठ परिरहेको छ भने मान्छे चाहिँ दिनहुँको बढ्दो श्रमको चाप सहेर न्यून भन्दा न्यून भौतिक संसाधनको सहारामा बाँचिरहेका छन्। अघि भने झैँ, मरिमरी बाँच्नु परिरहेको यथार्थ। 

कुनै जमानामा अपर्याप्त उत्पादन (insufficient production) का कारण खान लाउन नै पुग्ने गरी संसाधनहरू थिएनन्। तर, मानव सभ्यताले ती अनकन्टार समय पार गरिसकेको छ। अहिले विश्वका थुप्रै राष्ट्रमा पर्याप्त भन्दा ज्यादा उत्पादन भएर चिजबिजहरू फ्याला-फ्यालको अवस्था भइसक्दा पनि केही नमिलेको स्थिति किन छ? सोरुम भित्र असीमित सर-समानको थुप्रो छ अनि बाहिर गोजी टकटक्याएर बसेका करोडौँ परिश्रमीहरूको भिड। 

‘हुनेलाई जहाँकहीँ नहुनेलाई काहीँ न काहीँʼ भने झैँ तीव्र गतिमा भइरहेको तकनीकी विकासले पुँजीका मालिकहरूलाई भने असीमित शक्तिशाली बनाइसकेको छ। जुनसुकै देश होस्/जुनसुकै राष्ट्र। सबैतिर यस्ता कसिङ्गर मानसिकताहरूको डङ्गुर लागिसकेको छ। समग्र पृथ्वीका संसाधनहरूमा आफ्नो कब्जा जमाउने होडमा उनीहरू हरेक राष्ट्रका सरकारको पछि लुकेर आफ्नो दुनो सोझ्याउने काममा लागि परेका छन्। यसले निम्त्याउने प्राकृतिक विनाशको पर्वाह उनीहरूमा एक केस्रा पनि देखिन्न। तर यसले पार्ने नकारात्मक प्रभावले यहाँसम्म आइपुगेको मानव सभ्यताको विरासत नै धरापमा पर्न सक्छ। एकातिर मानवीय प्रयोजनका निम्ति विकास भएका तकनीकहरू उल्टै मानवीय श्रम शोषणका मजबुत हतियार बनेका छन् भने अर्कातिर जीवनको मूल अर्थात् प्रकृति र पृथ्वीकै विनाशमा लागिपरेका जमात व्याप्त छन्। के को बद्लामा? व्यक्तिगत स्वार्थ। विश्वकै शक्तिशाली हुने होडमा उनीहरूले सिङ्गो पृथ्वीलाई नै प्रयोगशाला बनाएका छन्। अनि भिडियो गेम खेले जसरी करोडौँ-अरबौँ जीवनहरूलाई प्रयोगशालाका पुतला। 

पुतला! कहिले ग्राहक बनेर। केटाकेटी, युवायुवती, बुढापाका सबैसबै उनीहरूका बजारका ग्राहक। ग्राहक सिवाय उनीहरूको अर्को अस्तित्व केही छैन। 

पुतला! कहिले श्रमका वाहक बनेर। मान्छे! तर फगत मसिनको पुर्जा जस्तो। उसबाट श्रम निचोरेर सकिएपछि उखुको खोस्टा फ्याकेसरह मिल्काइदिन्छ यो समाजले। 

तर, मान्छे केवल गधा जस्तो काममा घोटिन जन्मिएको त? हातमुख जोड्नकै लागि यति धेरै जोतिनु खाँचो छ र? मान्छेले मसिनको आविष्कार आफ्नो सुविधाको निम्ति गरेको थियो, आफैँ मसिनको दास बन्नलाई होइन। तथापि सबै मान्छे दासै बनिहालेको अवस्था भने अहिले छैन। तर समाज व्यवस्थाकै प्रवृत्तिले यी आशङ्का जन्माइरहेको छ। ‘मसिनका दास मान्छे।ʼ सुन्दै कहालीलाग्दो। हुनलाई यस्तो कदाचित नहोस्। तर निकट भविष्यमा यस्तो हुनै सक्दैन भन्न सक्ने स्थितिमा हामी छौँ र?

अत्याधुनिक प्रविधिहरूको नियन्त्रण आफ्नो हातमा भएका मान्छेहरू र  तिनै प्रविधिका दास भइरहेका मान्छेहरूबिच ठुलो अन्तर छ। यसरी नै चलिरहेको छ वर्तमान समाज व्यवस्था। अनि यसै व्यवस्थाका नाइके भनौदाहरू केवल सीमित शक्तिशाली व्यक्तिहरूको हित सुनिश्चित गर्नका निम्ति उनीहरूको स्वार्थ अनुकूल रट्टु तोताको भूमिका निर्वाह गरिरहेका छन्— हाम्रा तथाकथित राजनैतिक नेतृत्वहरू। तर याद राख्नु पर्नेछ कुरा के हो भने मानव सभ्यताले पनि यसखाले विविध समाजव्यवस्थाको स्थापना गर्दै अनि पुनः भत्काउँदै, परिमार्जन गर्दै आजको समयसम्म आइपुगेको हो। त्यसैले हामीले भोगिरहेको परिस्थिति नै अन्तिम सत्य होइन। यसमा पनि बदलाव त अपरिहार्य छ। तर कस्तो खाले बद्लाव?

 नयाँ पुस्ता यहाँ अलमलिनु हुँदैन। मानव सभ्यताले विकास गरेको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, दार्शनिक विरासत हुँदै हुँदै अझ अलमलमा पर्नु नयाँ पुस्ताको सबैभन्दा ठुलो कमजोरी हुन सक्छ। त्यसैले अबको नयाँ पुस्ताको मस्तिष्कमा केवल आफ्नो स्वार्थको रक्षार्थ मात्र नभएर समेट्न सम्भव भएसम्म समग्रको हित सुनिश्चित गर्ने समाज निर्माणतर्फको सुविचार प्रस्फुटन हुन खाँचो छ। हाम्रो समाजलाई नयाँ गोरेटोमा डोर्‍याउन सक्ने नयाँ पुस्ता यही समाजबाट जन्मिने वातावरण सिर्जना गर्ने जिम्मेवारी सबैले बोध गर्नु आवश्यक छ। एउटा यस्तो पुस्ता जसले न्याय र समानताको समाजलाई फुलको माला जसरी आफ्नै हातले बुनोस्। एक थुँगा न्यायको। एक थुँगा समानताको। एक थुँगा प्रेमको। यस्तै थुप्रै थुँगाहरूको माला। उसका हातले बुनेको त्यो सिर्जना देखेर लालायित हुन् सबै। एउटा यस्तो समाज जहाँ कमसेकम गाँस-वास-कपासको चिन्ता बाहेक पनि मानवीय मस्तिष्कले केही सिर्जनात्मक सोच्न सकोस्। ब्रह्माण्डका असङ्ख्यौ रहस्य खोज्न सकोस्। अनि आफू खुसी हुनलाई के गर्ने? त्यो रोज्न सकोस्।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...