Sunday, June 4, 2023

पहाडका विद्यार्थी अनि 'दार्जिलिङ हिल्स् युनिभर्सिटी'

सुमेन्द्र तामाङ

 

भर्खर नै दार्जिलिङको एक मात्र विश्वविद्यालय DHU को एक जना विद्यार्थीसँग फोनमा बात भयो। DHU को  पोस्ट ग्र्याजुएट कोर्समा भर्ना हुने पहिलो ब्याचका विद्यार्थीहरूमध्ये ऊ पनि एक हो। DHU का विद्यार्थीहरू आफ्नू भविष्य लिएर चिन्तित छन् । घरमै बसेर, अनलाइन क्लास अनि अनलाइन परीक्षा दिएर नै मास्टर्स सक्न लागे यी विद्यार्थीले। लगभग २५०- ३०० विद्यार्थी अहिले 'भीरको चिन्डो उँधो न उँभो’ झैँ भएका छन्।

 

विगत ४ महिनादेखि मैले DHU को अवस्था र व्यवस्थामाथि विशेष ध्यानपूर्वक नजर राखिरहेको थिएँ।  DHU क्याम्पसको स्थापनाको निम्ति जोगीघाट छेउको ठाउँ चयन गरिएको थियो। म धेरै अगाडि जोगीघाटतर्फ जाँदा त्यो प्रोपर्टी रामदेव बाबाको हो भनेर एउटा साइन बोर्ड उभ्याएको देखेको थिएँ। अचानक २०१६ को सेप्टेम्बर महिनामा अनित थापा अनि सुबीरेश भट्टाचार्यको उपस्थितिमा  त्यहाँ ममता ब्यानर्जीले DHU को शिलान्यास गरिन्। अहिले त्यो ममता ब्यानर्जीले उद्घाटन गरेको  टाइल्स त्यहीँ रहेको छ। बस् त्यो शिलान्यास वरिपरि झार जङ्गल उम्रिसकेको छ अनि पहाडका विद्यार्थीहरूको भविष्यलाई निल्दै गएको यथार्थ जस्तो देखिन्छ। भ्रष्टाचारको यो जङ्गललाई नगोडेर पहिला देखि नै बनिबनावट मङपु ITI लाई सेतो अनि नीलो रङ्ग लगाएर DHU  क्याम्पसको देखावटी रूप दिइएको छ। उद्घाटन भएको भिडियोहरू लोकल न्युज च्यानल धूमधाम देखाइयो पनि। 

 

विश्वविद्यालयको व्यवस्थापन: 

सुरु भएदेखि नै ६ वटा डिपार्टमेन्ट बाट सुरु गरिएको DHU तर अहिलेसम्म पनि यसको केही व्यवस्थापन भने गरिएको छैन। इङ्लिस, नेपाली, म्याथम्याटिक्स, पोलिटिकल साइन्स, हिस्ट्री अनि मास कम्युनिकेसन डिपार्टमेन्टहरूको एक जना कोअर्डिनेटर राखिएको छ अनि प्रत्येक डिपार्टमेन्टमा अनलाइन क्लास गराउने शिक्षकहरू NBU कै विभिन्न कलेजमा पहिलेदेखि नै काम गरी रहेका छन्। मतलब, एक जना टिचरले DHU लगायत आफ्नू कलेजमा काम गर्नु परीरहेको छ। डिपार्टमेन्टको स्टाफ नियुक्तिको पनि कुनै पारदर्शिता छैन। एक जना कोर्डिनेटर त दार्जिलिङको  विधान सभा  चुनावमा पनि उठेका ठुलो बुद्धिजीवी अनि नेताको छोरा पनि रहेको कुरा सुन्नमा आएको छ। धेरै जना NET नै पास नगरी DHU मा अनलाइन क्लास गराई रहेका छन्। क्लासको कुनै निर्दिष्ट समय अनि अवधि पनि  छैन। अनलाइन शिक्षकहरूले इच्छा अनुसार चलाई रहेका छन् हाम्रो दार्जिलिङको पहिलो विश्वविद्यालयमा। उत्तर बङ्गाल विश्वविद्यालय अहिले भ्रष्टाचार अनि कुव्यवस्थाको एउटा मुख्य केन्द्र भएको हुनाले घरी घरी विभिन्न VC नियुक्ति भई रहेका छन्। पहिले सुबीरेश भट्टाचार्य NBU का VC थिए अनि साथ साथै DHU को पनि VC रहेका थिए। त्यस पछि एसएससी स्क्याम लिएर वहाँलाई गिरफ्तार गरियो, त्यस पछि सुबीरेश भट्टाचार्यलाई बद्ली गरेर ओम प्रकाश मिश्र NBU को VC हुन पुगे। DHU को VC को रूपमा अहिले प्रेम पोद्दार कुर्सीमा छन्। २०२१ मा स्थापना भएको एउटा विश्वविद्यालय अहिलेसम्म यसरी नै  अनलाइन चलिरहेको छ अनि कुनै न्यायिक व्यवस्था बिना। कोरोनालाई कारण बनाएर अनलाइन क्लास नै शिक्षा व्यवस्थाको भविष्य स्थापित गर्दै, बिना कुनै निर्धारित प्रणाली अनि विद्यार्थीहरूलाई घिटघिटोमा राखेर नै चली रहेको छ DHU को व्यवस्थापन। पहाडको शिक्षा व्यवस्थामा फेरबदल ल्याउँछु भन्नेहरूले के यसरी नै शिक्षा व्यवस्थालाई खैरो खनेर नै पहाडको विकास गर्ने हो ? यदि हो भने  यो भन्दा घातक अनि भयानक कुरा अरू केही हुने छैन। 


विद्यार्थी जमात अनि दार्जिलिङ हिल्स् युनिभर्सिटी: 

DHU मा पढ्ने विद्यार्थीहरू पहाडबाट मात्र नभएर डुवर्स अनि अरू ठाउँबाट पनि रहेका छन्। कुनै क्याम्पस छैन, लाइब्रेरी छैन,  क्लास राम्ररी छैन, सिलेबस् भने जम्मै रहल छ अनि यस्तो समय भने DHU ले अरू-अरु कलेजमा गएर ससाना सेमिनारहरू आयोजना गरी रहेको छ। खोक्रो संरचना भएको एउटा महाविद्यालयले आफ्नू विद्यार्थीहरूलाई एउटा क्याम्पस दिन सकेको छैन, लाइब्रेरी अनि क्लास रुममा पढाउन सकेको छैन अनि अरू कलेजको गएर 'महाविद्यालय बनाउन लाग्दाका समस्याहरू' शीर्षक माथि गफ छाडिरहेको छ। विद्यार्थीहरूले त्यही कार्यक्रममा गएर 'क्याम्पस कहिलेदेखि पूर्ण रूपमा सञ्चालन हुनेछ ?' भनेर प्रश्न गर्दा अहिले वेबसाइटमाथि काम भएको कुरा जस्तै अनिश्चित प्रतिउत्तर पाउँदा  धेरै विद्यार्थीहरू सन्तुष्ट छैनन्। यस्तो अनिश्चित अवस्था देखेर धेरै विद्यार्थीहरू पढाइ नै छोड्ने अनि काम गर्न लाग्ने निर्णय पनि लिँदै छन्। उसो नै त ड्रप आउट को सङ्ख्या धेर भएको हाम्रो भेग अझै व्यवस्थाको फ्यातुलोपनाले गर्दा अझै विद्यार्थीहरू उच्च शिक्षाको अधिकारबाट वञ्चित हुनु भनेको एकदमै सोचनीय कुरा हो। प्रेम पोद्दारले यही दुई तीन हप्ता अघि DHU का विद्यार्थीहरूले NBU को लाइब्रेरी गएर पढाइ गर्न सक्ने कुरा गरेका थिए। त्यस पछि विद्यार्थीहरू NBU लाइब्रेरी गएर कुरा गर्दा तिनीहरूलाई प्रवेश गर्न दिइएन अनि तिनीहरू फर्किनु पर्‍यो। कमान बस्तीका धेरै विद्यार्थीहरू यो चपेटामा परेका छन् अनि आफ्नू भविष्य अनि DHU ले दिने सर्टिफिकेटबारे पनि सन्देहमा छन्। उच्च स्तरको पढाई बारे त कुरा नै न गरौँ। यदि यस्तै नै स्थिति रह्यो भने DHU केवल सजिलोसँग सर्टिफिकेट किन्न सक्ने संस्थान भएर जानेछ अनि गुणात्मक शिक्षा आर्जन गर्ने एउटा युनिभर्सिटीको सपनाबाट धेरै टाढा जाने छ। त्यस्तै भइरहेको पनि छ।

 

 

नयाँ शिक्षा नीति अनि दार्जिलिङ हिल्स् युनिभर्सिटी : 

२०१९ मा बीजेपी सरकारद्वारा केन्द्रीय स्तरमा नयाँ शिक्षा नीति पेस गरियो अनि यसलाई संसदमा पास पनि गराइयो। यो शिक्षा नीति अनुसार सरकारी स्कुल अनि कलेजहरूलाई बिस्तारै निजीकरण तर्फ लाने, सरकारी स्कलरसिप बिस्तारै बन्द गरेर विद्यार्थी लोन लिएर पढ्नु पर्ने, गुणात्मक शिक्षाको निम्ति धेर पैसा खर्च गरेर मात्र शिक्षा आर्जन गर्न सकिने, ३० जना भन्दा कम विद्यार्थी भएका स्कुलहरू बन्द गरेर त्यसको सट्टा प्राइभेट स्कुलको स्थापना गर्ने अनि DHU को परिप्रेक्षमा ठिक मिल्ने रिसोर्सिङ (Resourcing) लाई अझै व्यापक रूपमा बढाउने कुरा उल्लेख गरिएको छ। रिसोर्सिङ भन्नाले एउटा चालु संस्था ( कलेज, युनिभर्सिटी, स्कुल ) बाट त्यहाँ भएका समस्त टिचर अनि अरू समस्त सुविधा अथवा पूर्वाधारहरूलाई अर्को ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भन्ने नीति हो। जस्तै NBU भित्र रहेका कलेजका टिचरहरूलाई DHU मा पनि पढाउनु परेको छ। NBU को लाइब्रेरी पनि DHU ले प्रयोग गर्न सक्छ अनि हालैमा सर्कुलर अनुसार जुन १२ देखि दुई हप्ताको निम्ति NBU भित्र अफलाइन क्लास सुरु गर्ने रे! रिसोर्सिङ भनेको ठिक यही हो। DHU जति पनि चलिरहेको छ त्यो यही रिसोर्सिङको नीतिले चलिरहेको छ।  ITI मङपु को बिल्डिङलाई DHU को बिल्डिङ बनाउनुको मुख्य कुरा पनि यही रहेको छ। रिसोर्सिङको नाममा भयङ्कर भ्रष्टाचार अनि विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्ने काम भइरहेको छ।

 

अब रह्यो, २ हप्ताको लागि अनलाइन क्लास बारे कुरा यही जुन १२ देखि NBU भित्र सुरु हुने कुरा छ। जम्मै सालको सिलेबस सकिएको छैन अनि त्यसको निम्ति अफलाइन क्लास जनवरी २०२३ देखि नै सुरु हुने कुरा थियो, तर त्यो अन्तमा गएर जुनमा सुरु भयो, त्यो पनि केवल २ हप्ताको निम्ति। मर्ने बेलामा दबाइ दिएर 'गरिस्?... भन्दा गरेँ...'  भनेको जस्तो भएन यो त? आखिर दुई हप्तामा सिलगढीमा गरममा आफ्नै पैसाले घर भाँडा गरेर DHU का विद्यार्थीहरूले सिलेबस कति कभर गर्न सक्लान् ? 

 

विद्यार्थी जमातले भोग्नु परिरहेको यस्तो दुर्दशा कस्तो खाले विकासको मोडल हो?

आखिर यस्तो कहिले सम्म ?

 

 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...