Saturday, April 15, 2023

पहाडमा खोक्रो विकासको नाममा हकार विस्थापन : विकास कसको निम्ति ?

सुमेन्द्र तामाङ





दार्जीलिङको चौरस्ताको प्राङ्गणमा, सधैँ झैँ विभिन्न प्रकारका गतिविधिहरू चलिरहेको थियो। भानुभक्तको मूर्ति अगाडि एक जना व्यक्ति उभिएर हात जोड्दै फोटो खिचिरहेको देखेँ। अर्को तिर, टुरिस्टहरू रमाउँदै नेपाली भेष-भूषा लगाएर, हातमा डोको बोकी फोटो सुट गरिरहेका थिएँ। घोडामा चढेर माल रोडको सवारी गर्ने जमात पनि उतिकै थियो। कलेज पढ्ने युवा युवतीहरू पनि गिटार, काहोन, उकुलेले बजाउँदै गीत गाउँदै थिए। तिनीहरूलाई वरिपरि घेरेर एक जमात कलेजका विद्यार्थीहरू पनि उभिरहेका थिएँ। मानिसहरूको भीडले भर्ती नेहरू रोडको उकालो बाटो, साइडमा केएफसी, त्यसको अलिक उकालो मोमो बेच्दै धेरै ससाना दोकानहरू थापिएका थिएँ। त्यसको छेउमा एउटा ठुलो ३-४ तले बिल्डिङको निर्माण कार्य भइरहेको थियो। त्यो निर्माण कार्यलाई  हरियो रङ्गको जालीले आधा छोपिएको थियो। अलिक माथि आरामले गफ गर्दै एक हुल मानिसहरू रमिता हेर्दै लामो कुर्सीमा बसिरहेका थिएँ। एकै शब्दमा भन्नु पर्दा, सबै आ-आफ्नु संसारमा रमाई रहेको दृश्य थियो। हो त्यही समय, म नेहरू रोडको उकालो हुँदै चौरस्ताको पुगे। चौरस्ता काटेर महाकाल मन्दिर जाने बाटोको छेउमा-छेउमा ससाना हकारहरूको थाप्ने दोकान थाप्ने गर्छन् एक हुल दिदीहरू। मलाई चौरस्ताको सबै भन्दा मन परेको दृश्यहरू मध्ये मन परेको कुरा नै यही दोकानको लस्कर हो। २०१२ भन्दा अगाडि यी हकारहरू नेहरू रोडमा स्थित थिएँ जहाँ अहिले हालैमा केएफसी जस्ता ठुलठुला दोकानहरूले आफ्नु बजार बसाएको छ। जहाँ अहिले ठूलठूला बिल्डिङले कञ्चनजङ्घा समेत ढाक्ने गरी आफ्नु उचाइ निर्माण गरी सकेको छ। आज भने त्यो न्यु महाकाल मार्केटको बोर्ड तल अलिक अचम्म लाग्ने दृश्य देखेँ। पाल लगाएर बनाइएका ती हकारका सबै दोकानहरू गायब थिए। त्यसको सट्टा भुईँमा कागजका कार्टुन च्यातेर एक हुल महिलाहरू बसिरहेका थिए। त्यसको साइडमा केही युवाहरू भित्ते खेला खेली रहेका थिए। सन्दर्भ थियो, अप्रेल ४ तारिख, २०२३ देखि अचानक ती हकारहरूलाई माल रोडमा आफ्नु दोकान नथाप्ने मुखौली आदेश दार्जिलिङ नगरपालिकाबाट आए पछि ती हकारहरू बाटोमै आफ्नु जीविको निम्ति बसिरहेका थिए। मैले हकारहरूलाई यसरी जबरजस्ती अनि अन्यायपूर्वक रूपमा आफूले थापेको दोकानबाट निकाला गरेको कुरा भने दुई तीन दिन अघि देखि नै सुनी आएको थिएँ। 

मैले त्यहाँ भुईँमा बसिरहेका एक जना दिदीलाई सोधेँ, ‘दिदी तपाईँहरू किन यहाँ बस्नु भएको?’ त्यसको उत्तर स्वरूप मलाई ती दिदीले भन्नु भयो, ‘ अब दोकान थाप्नु नदिए पनि यहाँ बस्नु त पाइन्छ होला नि!’ म चकमन्न भए। फेरि सोधेँ, ‘ तपाईँहरू सँग एकक्षणको लागि बात गर्न सक्छु होला?' त्यसको उत्तर आयो, ‘ बसौँ न भाइ’। अर्को एक जना दिदीले मेरो लागि पनि एउटा च्यातिएको कार्टुनको टुक्रा बन्दोबस्त गरी दिनु भयो। म त्यही बसेर गफ गर्न लागे। जम्मा जम्मी गरेर १०६ जना हकारहरू जसमा ज्यादातर महिला अनि ३० देखि ८० वर्षका सम्म उमेर भएका, यस ठाउँका नागरिकहरू आन्दोलनरत थिएँ। त्यस मध्ये एक जना महिला ८ महिनाको गर्भवती पनि छिन्। भर्खर, कक्षा १० अनि १२ को परीक्षा सकिएर यी हकारका नानीहरूको आउँदो शिक्षा प्रणालीमा ठुलो प्रश्न चिन्न आइपरेको छ। बिग्री गर्ने सामाग्री किन्नुको निम्ति बन्धनबाट ऋण अनि साहुबाट ब्याजमा पैसा लिएर यी हकारहरू एउटा ठुलो सङ्कटमा परेको कुरा प्रकाशमा आयो। त्यसमा धेरै जना आफ्नु परिवारमा एकल कमाई गरेर जीवन ज्ञापन गर्ने पनि थिएँ। कोही १४ वर्षीय बाल्यकाल देखि नै यो काम गर्दै आएका थिए भने  कोही आफ्नु जीवनको आधा-उधी भाग नै यो पेसामा लागि आएका पनि थिएँ। 

विकासको मोडेल अनि निमुखा हकार: अवहेलनाको प्रतीक। 

कुरा सुरु गरौँ जी-२० को मिटबाट। पहाडको व्यवस्थापन अनि प्रशासनिक प्रणालीको अवस्था सोचनीय रहेको कुरा हामी समक्ष यथावत् नै छ। विकासको होडबाजी जति नै प्रचार भए पनि विकासको एक पक्षीय चरित्र  हामी समक्ष प्रस्तुत भइरहेको छ। एक तर्फ, बेरोजगारीको दर चरम अवस्थामा पुगी सकेको छ भने अर्को तर्फ विकासको नाममा भ्रष्टाचारको सीमाले पहाड नै ग्रस्त रहेको कुरा क्लियर छ। रोड निर्माण, १०० दिने काम, मिड डे मिल, शिक्षा नियुक्तिमा भाइ-भतिजावाद इत्यादि जस्ता बुनियादी विकासका अंशहरूमा भ्रष्टाचारको हस्तक्षेपले चरम सीमा नाघी सकेको छ। यस्तो समय, श्रमजीवी जनताको टाउकोमा यस प्रकारको खोक्रो विकासको समस्त बोझ हाली दिएर दैनिक ससाना सामान बिग्री गरेर जीविका चलाउने हकारहरूलाई यस प्रकारले विस्थापन गर्नु कतिको नैतिक कुरा हो? धेर जस्ता यी हकारहरू अप्रेल अनि मई महिनाको टुरिस्ट सिजनको कमाइले पूरा साल काट्नु पर्ने बाध्यतापूर्वक जिन्दगी बिताउने पर्ने पनि रहेछन्। 

क्रोनोलोजी बुझौँ:

३१ तारिख मार्च महिना २०२३ को दिन दार्जीलिङ नगरपालिकाको पक्षबाट एउटा मौखिक रूपमा यी हकारहरूलाई सूचना आउँछ। आउँदो दुई तीन दिन भित्रमा जी-२० को मिट दार्जिलिङको विभिन्न ठाउँहरूमा हुने कुरा थियो। नगरपालिकाबाट ३१ मार्च देखि ३ अप्रेल सम्म जी-२० को मिट भएको कारणले दोकान नराखी दिने आहान आए पश्चात् यी न्यु महाकाल मार्केटका १०६ जना हकारहरूले  ३ दिन आफ्नु दोकान बन्द गर्ने निर्णय गरे। त्यस पछि अचानक ३ तारिख अप्रिलको दिन यी हकारहरूले माल रोडबाट पूर्ण रूपमा विस्थापित गरिएको खबर पाए। त्यो पनि मौखिक रूपमा मात्र। त्यस पछि ४ तारिख अप्रिलको दिन माल रोडको न्यु महाकाल मार्केटमा पुलिस प्रशासनले बल तैनात गरेको कुरा पनि सुन्नमा आयो। 

अब यहाँ प्रश्न के आयो भन्दा? दुई तीन दिन जी – २० का प्रतिनिधिहरूबाट दार्जिलिङको जैविक यथार्थता लुकाएर दार्जिलिङलाई 'स्विट्जरल्याण्ड' झैँ टुरिस्टको स्वर्ग भन्दै देखावटी धारणा निर्माण गर्ने यो राजनैतिक ड्रामाको बहाना गरेर, विस्थापन गराउने यी खटिखाने जनता विरोधी विकासलाई हामीले सामूहिक विकास भनेर मानिलिने? विकास गरिबको पेट काटेर हुन सक्दैन। विकास भनेको समाजको हरेक तप्काको सामूहिक विकास हुन पर्दछ। विशेष गरी समाजमा तल्लो स्तरमा अवहेलित भएका श्रमजीवी जनताको विकास हुनु नै समाजको प्रगति मानिने गर्दछ। हुने खानेको ठूलठूला बिल्डिङका मालिकलाई पूर्ण स्वीकृति अनि अर्को तर्फ सडकको एक कुनामा दोकान थाप्ने यी निमुखा, असहाय जमातलाई पूर्ण रूपले अवहेलना गरिने यो विकासको मोडेलले समाजमा समानता त परै जाओस्, बरु बढ्दो शोषण पूर्ण परिवेशको निर्माण गर्दछ। 

सुन्दरिकरणको नाममा जे पाए त्यही :

जी २० को यो देखावटी ड्रामाको निम्ति मतिगडाको फोहोर फ्याल्ने ठाउँ देखि लिएर खरसाङ स्थित धोबी खोला हुँदै सोनादा छेउ डम्पिङ ग्राउन्ड अनि अरू यस्तै थुप्रै फोहोर फ्यालिने ठाउँहरू सबै हरियो जाली अनि फ्लेक्सले छोपिने काम भयो। दिनको हाजिरा २३२ रुपियाँ पाउने कमाने श्रमिकको भूमिमा ठुलठुला रिसोर्ट अनि होटेलमा भ्रमण गर्न आएका जी-२० का प्रतिनिधिहरूलाई दार्जिलिङको झुटो अनि कृत्रिम धारणा पस्किने काम भयो। आम मानिसको गोजीबाट ट्याक्स उठाएको करोडौँ रुपियाँको खर्च गरेर, प्यासेन्जर गाडीहरू घण्टा घण्टा जाम गरेर, स्कुलहरू छुट्टी दिएर विकासको पाठ पढाउने काम भयो। पहाडको सुन्दरीकरणको नाममा पहाडको समस्यालाई छोप्दै, पहाडको जनतालाई टोपी ओढाउने काम भयो। पहाडको पुरानो गरिमा फर्काउने आश्वासन गर्दै पहाडको समस्या अनि सङ्कटलाई लुकाउने काम भयो। जे भयो त्यो उग्र रूपमा टोपल्ने कार्य मात्र भयो।

 जी-२० को मुख्य उद्देश्य नै दिगो विकास ( sustainable development) अनि पुँजीवादको आन्तरिक सङ्कटलाई नियन्त्रणमा ल्याउनु हो। दार्जिलिङमा मुख्य रूपमा जी- २० को मिट गर्नुको मुख्य उद्देश्य नै टुरिजमलाई अझै विकास गर्नु थियो। तर यहाँ विकास अनि टुरिजमको नाममा सुन्दरीकरणको बहाना गर्दै श्रमजीवी मानिसको जल्दो बल्दो मुद्दा अनि सङ्घर्षलाई लुकाएर, व्यवस्थाको खोक्रोपनलाई ढाक्ने काम भइरहेको छ। यसबाट पूर्ण रूपमा हामीले यस पुँजीवादी व्यवस्थापन अनि त्यसलाई चलाउने राजनैतिक ब्रोकरहरूको अयोग्य चरित्रलाई बुझ्न सक्छौ। महोदय, समस्याको समाधान समाधानलाई लुकाएर होइन त्यसलाई प्रत्यक्ष रूपमा अझै संसार सामु उदाङ्गो परेर मात्र सुरु हुन सक्छ। निमुखा जनताको राजनैतिक, सामाजिक अनि आर्थिक सशक्तीकरण अनि  चेतनाको विकासको क्रमलाई धमिलो बनाउने यो खोक्रो सुधारवादी राजनीतिले समाजको बहुसङ्ख्यक जमातलाई सधैँ नै अँध्यारोमा राखी रहने काम गर्दछ।

अब त्यसो भए समाधान के ?

यी हकारहरूले ती ठुलठुला बिल्डिङ अनि मालिकहरूले जस्तो जगह जमिनको माग गरेका छैनन्। यिनीहरूले केवल न्यायको निम्ति लडाई गरी रहेका छन्। यिनीहरूको कुरा क्लियर छ, घरी-घरी यसरी खेलौना झैँ व्यवहार गरिने यो प्रवृत्तिको विरोध गरी रहेका छन् यी १०६ जना हकारका जमात। एउटा स्थायी पुनर्स्थापनाको मागमा एक भएर यी हकारहरू आन्दोलनरत छन्। स्थायी पुनर्स्थापनाको नाममा व्यवसाय नचल्ने ठाउँ दिए नमान्ने साथै माल रोडको न्यु महाकाल मार्केट नै प्राथमिक चयन भएको दाबी गरिरहेका छन् यी सङ्घर्षरत हकारहरू। दार्जिलिङ न्यायपालिकासँग बारम्बार मीटिंग भइरहेको तर ठोस कुनै समाधान ननिस्किएको स्थिति रहेको छ। अर्को तर्फ, माल रोडमा पनि रूखहरू काटिने काम भइरहेको छ। हरियो जालीले छोप्ने काम भइरहेको छ। सुन्दरीकरणको नाममा विस्थापन गर्ने अनि त्यस पछि रुख काटेर प्राकृतिक विनाश गर्ने विकासको मोडेललाई हामीले राम्ररी चिन्न अनि यसको खोक्रो नीतिलाई समाज सामु उदाङ्गो पार्न जरुरी भइसकेको छ। 

बस् समस्याको समाधान हुन्छ त, निरन्तर अनि सामूहिक एकताले मात्र हुन्छ।

समाजको प्रगतिशील जमातले यस समस्याको गहिरोपनलाई बुझेर यी निमुखा अनि असहाय हकारहरूलाई ऐक्यबद्धता अनि साथ दिन जरुरी छ। 

जे होस्, भुइँमान्छेहरू भुईँमा नै बसेर विरोध प्रदर्शन गरी रहेका छन्। 

के त्यही भुइँमान्छेको भोटले न्यायपालिका गठन गरेर त्यही ‘ जनताका सेवकहरूले’ भुइँमान्छेको आकाङ्क्षा अनि अधिकारलाई मार्ने छन्?

की न्याय दिलाउने छन्? 

यो नै असली अग्निपरीक्षा हो। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...