Saturday, April 1, 2023

पत्रकारिताको सङ्कटकाल

जानुका दाहाल


 बहिनी तपाईँलाई .....पत्रकार कस्तो लाग्छ ? एक जना सामाजिक कार्यकर्ताले मलाई प्रश्न गर्दा पत्रकारिता सङ्कटकालमा निसास्सिँदै गरेको पिडाले अझै अलिकति घोची राखेर जानु त स्वाभाविकै हो। प्रजातन्त्रको वृक्षलाई हरियो राख्ने ट्रनिक हो आखिर पत्रकारिता ! मानव सभ्यताले फड्को मार्ने क्रमदेखि भनौँ या मानव चेतनाको गर्भमा स्वतन्त्र धारणाको आरोपन भएदेखि नै टाउको उठाएर तरबारको धारमा यात्रा गर्ने शब्दको नाम हो पत्रकारिता।

कालखण्डका विभिन्न फाटहरूमा सचेतताको यस अभियानले आदिम कालदेखि आजसम्म आइपुग्दा भिन्न-भिन्न स्वरूपमा यात्रा अघि बढाउँदै आएको छ। आज आधुनिकताको शिखरमा दौड लगाइरहेको विश्वमा पत्रकारिताका कस्तो चुनौतीसँग बाँच्दै छ भन्ने बारे अध्ययन –अनुसन्धान अवश्य हुनुपर्छ भन्ने लाग्छ मलाई। यस सन्दर्भमा धेरै अघिदेखि नै गुनासो गर्दै आइरहेका छन् राष्ट्रिय मूलधारका पत्रकार रविश कुमार।

हाम्रो क्षेत्रीय मिडियामा पनि यदाकदा यस बहसले ठाउँ पाउन थालेको देखिन्छ। गत केही दिन अघि कालेबुङको होटेल ट्रेसमा भएको एक कार्यक्रममा कालेबुङका केही अनुभवी पत्रकारहरू प्रदीप लोहागुण, मनोज बोगटी, नरेन्द्र तामाङ माझमा एउटा रोचक तर अपूर्ण बहस भयो। जसमा मध्यस्थकर्ता लेखनाथ छेत्री थिए। अन्य केही बुद्धिजीवी र उम्दा लेखक समेत सामेल भएका उक्त कार्यक्रममा उनीहरूलाई किन बहसमा सामेल गरिएनन्? यो सोचनीय विषय लाग्यो। यस्ता बहस हुँदा बुद्धिजीवी विद्यार्थी र समाजका सचेत मानिसहरू समेतको समावेश अनिवार्य होइन र? मलाई लाग्छ पत्रकार बाहेक यी तप्काका मानिसले पनि बहसलाई सही धारमा ल्याउन र निकासको बाटो खोज्न सक्छन्।

पत्रकारिताको सङ्कटको कुरा गर्नु पर्दा मुख्य भूमिकामा को-को रहेका छन् त? भन्ने प्रश्न उठ्छ। अर्को प्रश्न सङ्कट पत्रकारलाई छ कि पत्रकारितालाई? यो त अकाट्य सत्य हो जोखिम दुवैलाई छ, तर धेर जोखिम पत्रकारितालाई हो कि!

के-बाट जोखिम छ त?

सत्ता

पत्रकार अनि पत्रकारिता दुवै पक्षलाई ठुलो खतरा भनेको सत्ता पक्षबाट नै हो। कुनै पनि पार्टीले सत्तामा आसन बिछ्याइसकेपछि उसले संविधानबाट प्राप्त शक्तिको दुरुपयोग गर्न सुरु गर्छ। जनता केन्द्रित कार्यक्रम छोडेर अर्को चरणको चुनावी जितको रणनीति बनाउन सुरु गर्छ। यस्तो क्रममा सत्ताले झुटको धारावाहिक खेल खेल्नु पर्ने हुन्छ। कतै झुटको कडी फुस्किन थालेपछि जनतालाई विश्वस्त पार्ने उद्देश्यमा ती झुटलाई कलात्मक तरिकाले पस्किन मिडिया हाउस किन्छ। यहीबाट सुरु भएको हो पत्रकारिताको व्यापार। अझ सत्ताले मिडिया सँगसँगै विभिन्न सङ्गठनलाई मुठ्ठीमा राख्छ, जो सत्ताको आडमा लेपिसिएर व्यक्तिगत या सङ्गठनका सदस्यको स्वार्थ केन्द्रित प्रोपोगण्डा चलाउँछन्। फेक न्युजको बजारीकरण गर्छन्। यिनीहरूले सत्ताको चुनावी हितमा काम गर्न सामाजिक सञ्जालमा सक्रिय रूपले काम गर्छन् भड्काऊ र फर्जी खबरको प्रचार गर्छन्, जसको नकारात्मक नतिजा समाजले भोग्नु पर्छ। यस्ता गतिविधिले पत्रकारिताको छवि त धमिल्याउँछ नै, समाजलाई पनि अपूरणीय क्षति पुऱ्याउँछ।

पत्रकार

जनता र सबै यथार्थ वस्तुस्थिति बिचको साँघु हो पत्रकार। समाजमा पत्रकारको ठुलो दायित्व हुन्छ। समाजलाई सही दिशामा डोऱ्याउन र देशको भविष्य कुन दिशामा ठेल्ने योजनामा समेत उसको अहम् हात हुन्छ। यसैले त पत्रकारितालाई सबभन्दा जटिल चुनौती पत्रकारबाट नै छ। जब एउटा पत्रकारले नैतिकता र पेसा प्रतिको धर्म बिर्सेर सामाजिक, राजनैतिक विसङ्गति, भुईमान्छेको सङ्घर्षलाई पन्साएर औसरवादी राजनैतिक गतिविधिको समाचार लेख्न आतुर रहन्छ, नेताका अन्तरवार्तालाई दिनचर्या बनाउँछ, तब लोकतन्त्रको जरामा धमिराको दलिमली मच्चिन्छ। वास्तवमा पत्रकारले नेतालाई पनि त्यति नै मात्र महत्त्व दिनु पर्ने हो, जति उसले एउटा साधारण जनतालाई दिन्छ। आजभोलि समाचारलाई केलाएर पढ्दा भ्रष्ट राजनीतिको बतासले पत्रकारलाई बेस्सरी मुसार्न थालेको प्रस्ट हुन्छ।

पत्रकारलाई चुनौती

लोकतन्त्रमा जब पावर सत्ताको हातमा बढ्छ, जनता अघोषित गुलामीको घेरोमा पर्छन्। पत्रकारलाई जटिल चुनौतीको समय भनेकै यही हो, किनभने यही समय हो, जहाँ कलबुर्गी, गौरी लङ्केस जस्ता कर्तव्यनिष्ठ पत्रकारहरूको उग्र राष्ट्रवादीहरूको हातबाट रहस्यमय हत्या हुन्छ। वास्तवमा यस्ता घटनालाई विशेष गरेर सन्त्रासको माहौल सृजना गर्नलाई घटाइन्छ।

जीवन अनमोल हुन्छ। तर त्यस्तो जीवनको के मूल्य, जहाँ श्वास फेर्न अनुमति लिन परोस्। प्रकृतिको नियम हो जब पनि अत्याचारले सीमा नाघ्छ अनि मुन्टो उठाउँछ विद्रोहले, चाहे त्यहाँ हत्या नै किन नहोस्। अझ अनगिन्ती जन्मन्छन् गौरी लङ्केशहरू। तसर्थ डर या व्यक्तिगत स्वार्थको लपेटोमा बसेर पत्रकार हुँ भन्नु पत्रकार आफैका निम्ति लज्जास्पद र समाजको लागी श्राप हो।

जनता

पत्रकारिताको पाउला ओइलाउनुमा धेरथोर हात जनताको पनि हुन्छ। कतै झिना-मसिना स्वार्थले, त कतै अज्ञानतावश अनि कतै असुरक्षाको कारण। प्राय जसो जो अज्ञानताको कारण खबरहरूको सत्यता केलाउन सक्दैनन् उनीहरूले कसको विश्वास गर्ने त भन्दा मिडियाको साधारण मानिसको नलेजमा भएको कुरा त्यही हो, सञ्चार माध्यमले सत्य प्रसारण गर्छ। तर सत्यता अलग छ। सबै समाचार या विश्लेषण सही नहुन सक्छन् या शतप्रतिशत सही नहुन सक्छन्। कसरी छुट्टाउने आदर्श र बिकाऊ मिडियामा फरक? यसको कुनै निश्चित मापदण्ड त छैन। र पनि केही सङ्केत हुन्छन्, जसले अनुमान लगाउन भरपुर सहयोग पुग्छ- जस्तो कि मिडिया हाउस कसले चलाउँछ? मिडिया हाउसका सदस्य र पत्रकार कुन धर्म, सम्प्रदायसँग आबद्ध छन्? उक्त हाउसले जनताको मुद्दा डोऱ्याउँदै छ कि नेताको गुणगान सीमित छ? अघिको फलानो पत्रकार कस्तो लाग्छ भन्ने प्रश्नमा केही मानिसको धारणा हुँदो रहेछ, पत्रकार कति कर्तव्यनिष्ठ छ भन्ने मापदण्डमा मिडिया हाउसमा कसको दलबल छ.... पत्रकारको पत्रकारिता बाहेक अन्य के-के आयस्रोत छन् ? उसको र परिवारको जीवनशैली कतिको खर्चालु छ?

देश बडो धरापिलो कुइनेटोमा अघि बढ्दै छ। जनता अति सचेत हुन आवश्यक छ। जनता आफैले पनि हरेक राजनैतिक परिस्थितिको तुलनात्मक अध्ययन विश्लेषण गर्नु जरुरी छ। किनभने लोकतन्त्र बचाउने सिङ्गो जिम्मेवारी जनता कै हो।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...