Saturday, April 1, 2023

पृथक प्रेमी

ग्रेसी थुलुङ


 जब ऊ 

निलो कुर्तामा रातो ब्याग भिरेर

अथवा कालो स्कर्टमा कालै लङबूट लगाएर

चौरस्ताको ओह्रालो झरिरहेकी देख्छु-

लाग्छ

संसारमा सुन्दर हुनुको अर्थ हो ऊ

अथवा

प्रेमको पूर्णतः परिभाषा हो ऊ।


बिहानै बार्दलीमा बसेर

ऊ आफ्नो लामो कपाल

काइँयोले कोरिरहेकी हुन्छे

आँगनको डोरीमा मेरा जस्तै जस्तै

रहरका हरिया पहेँला रङ्गहरू टाँगिरहेकी हुन्छे

त्यस बेला लाग्छ

अजन्ताका भित्तामा कोरिएका

सुन्दर आकृतिहरूलाई

ऊ चुपचाप चुपचाप चुनौती दिइरहेकी छे।


कहिलेकाहीँ चोक बजारको भीडमा धाराको हतारमा

अथवा चौताराको जमघटमा

परस्परमा ठोकिएका हाम्रा कोमल अङ्गहरूका

पराकम्पन

उसैको मृगनयनी आँखामा पनि देख्छु।


तर म उभिएका गल्ली चोक घरमा

आदिम कालदेखि स्थापित

आदम र हब्बा

प्रेमकथाको विपरीत धारामा बहेर

मैले उसलाई प्रेम गरेको कविता लेख्नु

अथवा

सानो छँदा एउटै आँगनमा टालाटुली बाटुली खेलेर

एउटै रङ्गको लुगा लगाएर

सँगसँगै हुर्किएकी 

मैले मजस्तै उसलाई प्रेम गर्नु भनेको

मैले बाँच्दै गरेको परिवेशदेखि विस्थापित भएर 

आत्मीयहरूका आँखामा समेत

कुनै अपराधीजस्तो

कुनै अनौठो बस्तुजस्तो

कुनै अपसगुनजस्तो बनेर उभिनु हो।


हरेक दिन मैले आफ्नै शरीरको अराजक भूगोलसँग

लड्न परिरहेको अप्ठ्यारो युद्ध

उनीहरू पटक्क महसुस गर्न सक्दैनन्।


तर मलाई थाहा छ

एक दिन 

अनेकन् पहाड र समुन्द्र नाघेर

टोकलास र स्टेनका स्वतन्त्र विचारहरू

पुग्नेछन् मेरो घर दैलोसम्म

र मेरो गाउँसम्म

त्यस दिन प्रेम, मात्र प्रेम हुनेछ

त्यस दिन रातो गुलाबले आफूजस्तै रातो गुलाबलाई 

प्रेम गर्नु जायज ठहराइनेछ।


म अहिले खिड्कीबाट ओह्रालो

ऊ आउने बाटो हेरेर

त्यही दिन पर्खेर बसेकी छु ॥





No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...