Tuesday, December 10, 2019

सम्पादकीय : अङ्क 35

हाम्रो युग विचारको आवश्यकता

युवा जमात समाजको प्रमुख आधार हुन्। आजको युवाको सामाजिक-सांस्कृतिक विकासले भोलिको समाजको भौतिक आधार प्रस्ट पार्छ। यसैले त भन्ने गर्छन्-- 'युवाहरू परिवर्तनको सन्देशवाहक हुन्'। 
आजको समाजमा हरेक उमेरका मानिसहरू बाँचिरहेको भए तापनि भोलिको सामाजिक दायित्व युवाहरूकै काँधमा छन्। संसारभरि नै समाजसुधारकहरूले आ-आफ्ना जीवनका बहुमूल्य समय युवाहरूलाई राजनीतिक शिक्षा दिनमा नै खर्चेका थिए। किन कि उनीहरूलाई थाहा थियो समाज प्रगतिमा, क्रान्तिमा युवाहरूका निर्णायक भूमिका छन्। यसैले भोलिको नयाँ समाज निर्माणका निम्ति आजका युवाहरूमा सही राजनीतिक दृष्टिकोण हुनुपर्छ। 
आजको विश्व विभिन्न राजनीतिक सङ्कटका साथ गुज्रिरहेको छ। विश्वको विभिन्न देशहरूमा वर्गीय ध्रुवीकरण प्रस्ट देखिँदै आइरहेका छन्। विभिन्न राष्ट्रका जनसाधारणले सत्ताविरुद्ध सङ्घर्ष गरिरहेका छन्। यस्ता सङ्घर्षहरूदेखि हाम्रो देश पनि अछुत छैन। भारतीय सत्ताले पनि हरेक थरिका जन सङ्घर्षहरूलाई दबाउने प्रयास गरिरहेको छ। जनसाधारणले उठाइरहेका अधिकारका आवाजलाई दबाउने भारतीय सत्ताले यसै देशको धनी र सम्भ्रान्त वर्गलाई पोसाउने नीतिहरू अपनाइरहेको छ। मिडिया र तथाकथित बौद्धिकहरूले आजको भारतलाई जति नै सफल गणतान्त्रिक राष्ट्रको रूपमा प्रस्तुत गरे तापनि भारतीय सत्ताको जनविरोधी अनुहार र भारतको आर्थिक बर्बादीको कुरा जनताले बुझ्दै छन्। 
यसै तथाकथित महान् गणतान्त्रिक राष्ट्रको एक कुनामा हामी छौँ। तर देश नै सङ्कटग्रस्त राजनीतिक मार्गमा गुज्रिरहेको समय, यो सङ्कटदेखि कसरी पो दार्जिलिङ-तराइ-डुवर्स पनि अलग बस्न सक्छ? उमेर पुगेका बुढापाकाहरूले त राजनीतिक निकास खोजिरहेका छन् भने सुनौलो उमेरमा हिँडिरहेका युवाहरू त झनै परिवर्तनको आतुर अपेक्षा गरिरहेका छन्। साँच्चै यताका युवाहरू राजनीतिक निकासका निम्ति भौतारीरहेका छन्। तर युवाहरूलाई कस्तो राजनीतिक निकास चाहिएको हो? युवाहरूले अपेक्षा गरेका नयाँ राजनीतिको वैचारिक धरातल हुन्छ कि हुँदैन? के सिद्धान्तहीन विचारले राजनीतिको रथ हाँक्न सक्छ? यस्ता तमाम प्रश्नहरू पनि छन्। जसलाई नयाँ राजनीतिक परिवर्तन चाहने युवाहरूले फिलहालका निम्ति भुलिरहेका छन्। सन् 1986, 2007, 2011, 2014, 2017-का जस्ता राजनीतिक फेरबदलदेखि युवाहरू दिक्क बनिसकेका छन्। यी सबै चरणमा ‘गोरा सुँगुरहरूको ठाउँमा काला सुँगुरहरू मात्र देखा परेका छन्’। जबसम्म युवाहरूमा राजनीतिको सही दृष्टिकोण तयार हुँदैन तब सम्मको राजनीतिक परिवर्तन केवल बोक्रे रहन्छ। राजनीतिक अनुहारहरू फेरिन्छन् तर शरीर र विचार पुरानै हुन्छन्। 
आज पनि यता उभिएर नयाँ राजनीतिक संस्कारको गीत गाउनेहरू थुप्रै छन्। तर राजनीतिक संस्कार भनेकै समाजको आर्थिक व्यवस्थासँग जोडिएको तत्त्व हो भन्ने वैज्ञानिक यथार्थलाई उनीहरू स्वीकार गर्न मान्दैनन्। अब समाज निर्माणको ऐतिहासिक पाटोहरूलाई अँध्यारो कोठामा थुनेर भोलि निर्माण हुने नयाँ समाजको नक्सा कसरी तयार पार्न सक्छन्? यसैले सिद्धान्तहीन राजनीतिक परिवर्तन होली खेले जस्तो मात्रै हो। क्षणभरका निम्ति नयाँपन लाग्छ। नयाँ देख्दा आनन्द लाग्छ नै, तर भोलि पल्ट आफ्नो पुरानै अनुहार प्रस्टै देखिन्छ। यसैले अब बाजारू राजनीतिकदेखि बाँच्न, जोगिन र उनीहरूलाई पनि नयाँ समाज निर्माणका वैज्ञानिक आधारहरू बुझाउन आजका युवा र सचेत वर्गले सर्वप्रथम नै राजनीतिक दृष्टिकोण तयार गर्नै पर्छ। 
आजको युवा जमातमा समाज विकासको ऐतिहासिक पाटो र समाज विश्लेषणको भौतिकवादी हेराइ स्पष्ट हुनु अत्यन्त जरुरी छ। आजको समाजको भौतिकवादी संरचना बुझ्न सकेनौँ भने भोलिको नयाँ समाज निर्माणबारे अवधारणा नै तयार गर्न सक्दैनौँ। त्यसो हुँदा नयाँ राजनीतिक संस्कार यथार्थमा होइन केवल नारा र भाषणहरूमा मात्र सीमित रहन्छ। 
यता दशकौँदेखि गोर्खा राष्ट्रियताको राजनीतिक आगो बलिरहेको छ। यस राष्ट्रियताको सङ्घर्षमा सत्ता विरुद्ध लड्दा पटक पटक यहाँका जनताले ज्यान गुमाउन परेका छन्। तर यतिका वर्ष बित्यो। यतिका भौतिक खती बेहोर्नु पऱ्यो। यद्यपि, राष्ट्रियताको प्रश्न उस्तै छ। आज पनि यहाँका युवाहरूमा गोर्खा राष्ट्रियताको भावनात्मक राजनीतिक गाडा बनेको छ। तर यहाँकै समाजको अन्य आयामहरूसँग गोर्खा राष्ट्रियताको सम्बन्ध छ कि छैन? भन्ने कुरा आज सम्मका राजनीतिले बुझाउन सकेका छैनन्।
 गोर्खा राष्ट्रियता र सर्वहारा, गोर्खा राष्ट्रियता र गणतन्त्र, गोर्खा राष्ट्रियता र नारी मुक्ति, गोर्खा राष्ट्रियता र जनजातिको सवाल लगायतका समाजका तमाम आयामहरूबारे गरिनु पर्ने राजनीतिक व्याख्या र विश्लेषण काँचै छ। समाजका यी नै महत्त्वपूर्ण आयामहरूलाई ओझेलमा राखेर कुनै पनि शक्तिले नयाँ समाज निर्माण गर्न सक्दैन। यो वैज्ञानिक सत्य हो। 
पश्चिम बङ्गाल अनि दिल्ली सरकारको चलखेल र षड्यन्त्र बुझ्नुलाई मात्र पनि राजनीतिक दृष्टिकोण भन्न सकिन्न। न त राजनीतिक सन्धिहरूको अध्ययन र बिकाऊ मिडियाको समाचारहरूले नै राजनीतिक दृष्टिकोण विकास हुन्छ। 

यदि साँच्चै तपाईँ हामी नयाँ राजनीतिक संस्कार चाहन्छौँ भने समाज निर्माणको ऐतिहासिक विकासको अध्ययन गरौँ र समाजको भौतिकवादी विश्लेषण तिर लागौँ। किन कि आजका युवाहरूलाई चाहिएको विचारको आवश्यकता यही हो। 

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...