Tuesday, December 10, 2019

ब्रह्माण्डको अनुसन्धान : दूरबिनको महत्व

गोपालसिंह विश्व


आज विज्ञानले ब्रह्माण्डबारे जति तथ्यहरूको जानकारी दिन सकेको छ त्यो दूरबिनको आविष्कार र त्यसको तकनिकी विकासको कारणले सम्भव हुन सकेको हों। दूरबिनको आविष्कार हुनअघि अर्थात् आजभन्दा लगभग 420 वर्ष अघि इटलीका महान् विचारक, गणितज्ञ तथा खगोलशास्त्रीका रूपमा चिनिएका गिआर्दनो ब्रुनोले (ईस्वी सन् 1548-1600) प्रथमपल्ट पृथ्वी तथा सौरजगतदेखि बाहिर ब्रह्माण्डमा कहीँ जीवनको अस्तित्व रहन सक्ने सम्भावना व्यक्त गरेका थिए। त्यसभन्दा अघि सोह्रौँ शताब्दीको प्रारम्भसम्म पनि पृथ्वीलाई नै ब्रह्माण्डको केन्द्र मानिन्थ्यो। सूर्य, अन्य ग्रह अथवा आकाशीय पिण्डहरू र सम्पूर्ण ताराहरू पृथ्वीको वरिपरि परिक्रमा गर्दछन् भन्ने विश्वास गरिन्थ्यो। ब्रुनो भन्दा अघि पोल्याण्डमा जन्मिएका अर्का दार्शनिक, गणितज्ञ तथा खगोलशास्त्री निकोलस कोपर्निकस (1473-1543) त्यस्ता प्रथम व्यक्ति थिए जसले प्रथमपल्ट घोषणा गरेका थिए कि पृथ्वीको वरिपरि सूर्य होइन, तर सूर्यको वरिपरि पृथ्वी घुम्छ। तिनले सौरजगतको सूर्यकेन्द्रित सिद्धान्त (Heliocentric theory) प्रस्तुत गरेका थिए। कोपर्निकसले जस्तै ब्रुनो पनि पृथ्वी सूर्यको वरिपरि परिक्रमा गर्दछ भन्ने सिद्धान्तलाई समर्थन गर्दथे। तिनले यस अवधारणाको खुब प्रचार गरे। तिनी यो पनि मान्दथे कि पृथ्वीदेखि बाहिर ब्रह्माण्डमा कहीँ हामी जस्तै जीव तथा प्राणीहरूको अस्तित्व रहेको छ। तर रोमका तत्कालीन क्रिस्चियन क्याथोलिक धर्मका पोप एवं गिर्जाका पादरीहरूलाई यो कुरा सही जँचेन। उनीहरूले यसलाई आफ्नो धर्मप्रतिको अवधारणा र विश्वासविरुद्ध गरिएको विद्रोह नै सम्झे। यसको निम्ति ब्रुनोलाई पहिले घोर अपमानित अनि प्रताडित गरियो। त्यसपछि उनलाई निर्दयतापूर्वक नाङ्गोझार पारेर रोम सहरको सडककिनार एउटा खाँबोमा झुण्ड्याईयो र अन्ततः जिउँदै जलाएर मारियो। खगोल विज्ञानका ती महान् विचारक गिआर्दनो ब्रुनोमाथि गरिएको यस्तो अमानवीय एवं घोर निन्दनीय व्यवहारले सयौँ वर्षसम्म विज्ञानका इतिहासकारहरूलाई पिरोली रह्यो। यसै त पोल्याण्डका कोपर्निकसले पनि तत्कालीन गिर्जाका पादरी तथा क्याथोलिक पोपहरूको विश्वासविरुद्ध आफ्नो विचार व्यक्त गरेका थिए तर तिनी देशका एक अर्थशास्त्री, जर्मन र पोलिस भाषाका ज्ञाता, अनुवादक र महत्त्वपूर्ण प्रशासनिक व्यक्ति पनि भएको हुनाले पोल्याण्ड सरकार तिनको पक्षमा रहेको थियो। यस्कारण कसैले तिनको केही बिगार्न सकेन। 
 यी घटनाहरूपछि सबैभन्दा पहिलो दूरबिनको आविष्कार सन् 1608 मा होल्याण्डका एउटा चश्मा दोकान चलाउने डच व्यापारी ह्यान्स लिपर्से (1570-1619)-ले गरेका थिए। यो संयोगवश तिनका छोरा दोकानमा बसेर चश्माका लेन्सहरूसित खेल्दै गर्दा अर्थात् तिनले दुईवटा लेन्सलाई अघिपछि मिलाएर केही दृश्यहरू हेर्ने कोसिस गर्दा त्यसलाई केही ठुलो अनि नजिक देखे। यो कुरा उनले आफ्ना पितालाई बताए। यस प्रकारले ह्यान्स लिपर्सेले एउटा नलीको दुई तिर लेन्सहरूलाई जडान गरी सामान्य दूरबिनको निर्माण गरेका थिए। यस दूरबिनद्वारा जमिन र समुद्रमा रहेका टाढाका वस्तुहरूलाई नजिक र स्पष्ट देख्न सकिन्थ्यो। यो विशेष सेना वा समुद्री जहाजका यात्रीहरूका निम्ति प्रयोग हुने गर्थ्यो। यस आविष्कारको खबर युरोपभरि फैलियो। त्यसको एक वर्षपछि नै सन् 1609 मा इटलीका खगोलशास्त्री गेलिलियो गेलिली-ले (1564-1642) यसलाई अझ विकशित रूप दिएर पुनर्निर्माण गरी आकाशमा ग्रह, उपग्रह र ताराहरूको निरीक्षण गर्न सकिने केही अधिक शक्तिशाली दूरबिन तयार गरे। तिनले यस दूरबिनको सहायताले आकाशगंगाका ताराहरू अध्ययन गरे। वृहस्पतिका चारवटा उपग्रहहरू गेनीमेड, कालिस्तो, युरोपा र आइओ-को पत्तो लगाए। यसबाहेक उनले शुक्रग्रहको आकृति, चन्द्रमाका पर्वतहरू र शनि ग्रहका घेराको पनि पत्तो लगाएका थिए। तिनले आफ्नो खोजको आधारमा कोपर्निकसको सूर्यकेन्द्रित सौरजगतको सिद्धान्तलाई समर्थन तथा पुष्टि गरेका थिए। तर उनीमाथि धार्मिक ग्रन्थहरूको कथन र त्यसमाथि रहेको विश्वासलाई झुटो साबित गरेको आरोप लाग्यो। यसका निम्ति उनलाई चर्चका पादरी तथा अधिकारीहरूका सामु प्रस्तुत हुनु पऱ्यो। उनलाई आधिकारिक रूपमा चेतावनी दिइयो कि यस प्रकारका विचारहरूको प्रचार गर्न बन्द गरियोस् नत्र उनले यसको नतिजा भोग्नु पर्नेछ। सन् 1630 सम्म तिनले सार्वजनिक स्थानहरूमा यस सम्बन्धमा कुनै वक्तव्यहरू दिएनन्। त्यसपछि उनले आफ्नो पुस्तक ‘विश्वका दुई प्रमुख प्रणालीहरूका सम्बन्धमा वार्ता' प्रकाशित गरे। यस पुस्तकमा उनले आफ्ना विचारहरू स्पष्ट रूपमा राखेका थिए। फलस्वरूप तिनलाई पुनःअदालतमा खडा गराइयो र अन्ततः सजायको रूपमा तिनले निर्वासित जीवन बिताउनु पर्ने भयो। निर्वासित भएर पनि उनी सत्यको खोज अनि अनुसन्धान कार्यमा लागि रहे। उनले अझै अर्को पुस्तक ‘नयाँ विज्ञानको सम्बन्धमा वार्ता' लेखे। सन् 1637 मा उनको दृष्टि शक्ति हरायो अनि पाँच वर्षपछि सन् 1642 मा मृत्यु भयो। 
 तर दूरबिनको तकनिकीमा निरन्तर विकास भइरह्यो। सन् 1611 मै जर्मनका खगोल शास्त्री जोहान्स केप्लर (1571-1630)-ले पनि उत्तल लेन्सको प्रयोग गरेर विकशित रूपमा दूरबिन तयार गरेका थिए। तिनी गेलिलियोका समकालीन थिए। ती दुई माझ पत्राचारको माध्यमबाट सम्पर्क पनि रहेको थियो। केप्लरले आफ्नो दूरबिनद्वारा ग्रहहरूको परिक्रमा पथ र गतिका नियमहरू सम्बन्धी पत्तो लगाए। उनले यो सिद्ध गरेका थिए कि ग्रहहरू सूर्यको परिक्रमा वृत्ताकार होइन तर अण्डाकार पथमा गर्छन्। गेलिलियोको मृत्यु भएकै वर्ष विज्ञान जगतका अर्का एक महान् व्यक्तित्व सर आइजक न्युटन-को (1642-1727) जन्म इङल्याण्डमा भएको थियो। उनले प्रकृतिका केही अज्ञात रहस्यहरूको पत्तो लगाए। तीमध्ये प्रमुख हो ब्रह्माण्डमा रहेका ग्रह, उपग्रह, तारा तथा प्रत्येक आकाशीय पिण्डहरू माझ रहेको गुरुत्वाकर्षण बल। रुखबाट एउटा फल भुइँमा खसिरहेको साधारण घटनाबाट तिनले आविष्कार गर्न सकेको गुरुत्वाकर्षण सिद्धान्तको निम्ति तिनी संसारभरि प्रसिद्ध भए। सन् 1673 मा तिनले परावर्ती (Reflector) दूरबिनको निर्माण गरेका थिए। त्यसभन्दा अघि अपवर्तक (Refractor) दूरबिन प्रयोगमा रहेको थियो। पछि यसमा अझ सुधार गरेर प्रकारको दूरबिन पनि तयार गरियो जसलाई संयुक्त/केटेडीओप्ट्रीक दूरबिन भनिन्छ। यसैबाट पछि विभिन्न प्रकारका दूरबिन अर्थात् टेलिस्कोपहरू विकशित हुँदै गए। सन् 1789 मा जर्मन-ब्रिटिस खगोलविद् विलियम हर्शेल (1738-1822)-ले जमीनमाथि उभिने त्यसबेलाको सबैभन्दा ठुलो दूरबिनको नमुना तयार गरेका थिए। तिनले युरेनस ग्रह अनि अन्य केही उपग्रहको पत्तो लगाए अनि निहारिका-को पनि खोज गरेका थिए। 
 सैद्धान्तिक भौतिकी-का महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन (1879-1955)-ले विशेष सापेक्षताको सिद्धान्त र सामान्य सापेक्षताको सिद्धान्त-को प्रतिपादन गरे अनि पदार्थ कसरी ऊर्जा शक्तिमा बदलिन्छ त्यसको सैद्धान्तिक समीकरण अनि गणितीय सूत्र E=mc2 द्वारा प्रमाणित गरेर देखाए जुनले ब्रह्माण्डको रहस्यहरू बुझ्न ठुलो सहायता गरयो। सन् 1917 मा अमेरिकाको क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विल्सनमा 250 सेमी व्यासको हुकर दूरबिन नामको एउटा वेधशालाको स्थापना गरियो अनि सन् 1917 मै खगोल विज्ञानमा पीएचडी गरेका तत्कालीन अमेरिकाका खगोलशास्त्री एडविन पवेल हब्बल (1889-1953)-लाई त्यस वेधशालामा काम गर्न निमन्त्रणा गरियो। त्यस वेधशालाबाट ब्रह्माण्डको निरीक्षण र गहिरो अध्ययन गरेर सन् 1923 मा उनले यो सिद्ध गरे कि हाम्रो आकाशगङ्गादेखि बाहिर धेरै टाढा असङ्ख्य ग्यालक्सीहरू-को अस्तित्व रहेको छ। उनले सुदूर तारापुञ्ज तथा ग्यालक्सीहरूबाट आएको प्रकाशको वर्णपट (स्पेक्ट्रम)-को अध्ययनबाट तिनीहरूको विकिरणका वर्णपटीय धर्साहरू (स्पेक्ट्रल लाईनस्) वर्णपटको रातो भागतिर सर्दै गएको तथ्य प्रकाशमा ल्याए। वास्तवमा एक युरोपियन वैज्ञानिक क्रिस्चियन डप्लरले सन् 1842मा प्रतिपादन गरेको डप्लर ईफेक्ट सिद्धान्त अनुसार ब्रह्माण्डमा यदि कुनै प्रकाशको स्रोत टाढा भागिरहेको छ भने त्यसको फ्रिक्वेन्सी अथवा प्रभावमा कमी हुँदै जान्छ र प्रकाशको स्रोतको रङ् नीलोबाट पँहेलो र पँहेलोबाट रातोमा सर्दै जान्छ जसलाई रेड सिफ्ट भनिन्छ। हब्बलले ती ग्यालक्सीहरूलाई अवलोकन गर्दा विकिरण वर्णपटको रातो भागतिर सर्दै गरेको पाए। यसबाट उनले निष्कर्ष निकाले कि ब्रह्माण्ड निरन्तर फैलिरहेको छ। उनले ब्रह्माण्डका रहस्यहरूको अझ गहिरो अवलोकन तथा अध्ययन गर्नको निम्ति अमेरिकाको सानडिएगो टापु नजिक रहेको पालोजार पहाडमा 500 से.मि. व्यास भएको विशाल ‘हेल टेलिस्कोप’–को स्थापना गर्न ठुलो सहयोग पुऱ्याएका थिए। सन् 1948 मा यसको निर्माण पुरा गरिएको थियो। ब्रह्माण्ड सम्बन्धी हाम्रो अवधारणालाई परिवर्तन गराउन एडविन हब्बलको ठुलो योगदान रहेको छ।
आज संसारमा दूरबिनको विकासयात्राले धेरै लामो फड्को मारिसकेको छ। जमीनमाथि आधारित दूरबिनहरूको क्षमतामा तकनिकी विकास हुँदै ब्रह्माण्ड तथा आकाशगंगाबाट आएका रेडियो तरङ्गलाई पक्रन सक्ने विशाल रेडियो टेलिस्कोपहरूको स्थापना भइसकेको छ। पृथ्वीको वायुमण्डलदेखि बाहिर अन्तरिक्षमा पठाइएको विभिन्न स्पेस टेलिस्कोपहरूको सहायताले ब्रह्माण्डका दृश्य प्रकाश सहित एक्स किरण, गामा किरण, अवरक्त किरण, परा-बैगनी किरण आदिको माध्यमबाट सुदूरस्थित असङ्ख्य आकाशगंगा, ग्यालक्सी, ब्ल्याकहोल, क्वासर, लाखौँ ताराहरू र हजारौँ पृथ्वी सदृश बाह्य ग्रहहरूको (Exoplanets) खोज भइसकेको छ। आज विज्ञानले ब्रह्माण्डका अनेकौँ रहस्यहरूको उद्घाटन गरिसकेको छ। ताराहरूको जन्मदेखि मृत्युसम्मको विस्तृत अध्ययन, सुपरनोभाको विस्फोट, ब्ल्याकहोलको रहस्य तथा यसको घटना क्षितिज (ईभेन्ट होराईजन)-को प्रथम तस्बिर आदिबारे जानकारीहरूसम्म लिन हामी सफल भएका छौँ। हालैमा अाधुनिक्तम तकनिकीद्वारा निर्माण गरिएको अति शक्तिशाली अन्तरिक्ष दूरबिन जेम्स वेब स्पेस टेलिस्कोपको परीक्षण तथा जाँच चलिरहेको छ। आगामी वर्ष मई 2020 मा यसलाई अन्तरिक्षमा पठाउने योजना रहेको छ। निकट भविष्यमा यसले अवश्य ब्रह्माण्ड सम्बन्धी हाम्रो जिज्ञासालाई अझ विस्तृत पार्न सघाउ पुऱ्याउने छ। 

आजभन्दा 420 वर्षअघि गिआर्दनो ब्रुनोले व्यक्त गरेको त्यो विचार, पृथ्वीदेखि बाहिर ब्रह्माण्डमा जीवनको अस्तित्व रहन सक्ने सम्भावना जसको निम्ति उनी सहिद हुनु परेको थियो त्यसलाई आज विज्ञानले साबित गरेर देखायो कि उनको त्यो विचार सही थियो। अझ पछि आधुनिक विज्ञानका महान् भौतिकशास्त्री स्टिफन हकिङ (1942-2018)-ले त आफ्नो पुस्तक ‘The Grand Design’ मा यहाँसम्म भनिदिए कि ब्रह्माण्डको रचनामा ईश्वरको कुनै हात छैन। केही वर्षअघि युरोपका भेटिकन सिटीका पोपले पनि यो स्वीकार गरेका थिए कि हामीले विगतमा विज्ञानका महारथीहरूप्रति जुन व्यवहार गऱ्यों त्यो गलत थियो। तर आज पनि एउटा प्रश्नको सही उत्तर हामीले पाउन सकेका छैनौँ, त्यो हों-- ब्रह्माण्डमा रहेका करोडौं ग्यालक्सीहरू अथवा हाम्रो आकाशगङ्गामा असङ्ख्य ताराहरूका वरिपरि परिक्रमा गरिरहेका ग्रहहरू त छन् तर कतिवटा ग्रहमा जीवन हुनसक्छ ? यदि कहीँ जीवनको अस्तित्व छ भने कतिवटा ग्रहमा मानव जस्तै बुद्धि सम्पन्न प्राणीको अस्तित्व रहेको छ ? विज्ञानले भविष्यमा अझ विकशित तकनिकी साधनहरूको प्रयोग गरेर यसको सही उत्तर खोज्नेछ भन्ने अपेक्षा गरौँ।

No comments:

Post a Comment