सुमेन्द्र तामाङ
ल्याटिन अमरिकाको चिलीमा सेना एकनायक जेनरल पिनोचे-का गुण्डाहरूले 16 सितम्बर 1973 विक्टर जारा मार्टिनेजलाई टाउकोमा एउटा अनि शरीरमा चालिसवटा गोली ठोकेर मारेका थिए। विक्टर जारा चिलीका प्रसिद्ध नाटककार, कवि, जनवादी गायक अनि विद्वान थिए। भनिन्छ अहिलेसम्मको चिलीको इतिहासमा सबैभन्दा लोकप्रिय मान्छे हुन् विक्टर जारा। उनी अमरिकी जनगायक पिट सिगर अनि आफ्ना आमाबाट प्रभावित थिए। जाराको सङ्गीतमा गरीब जनताको दुःख सुख सजिलैसँग समेट्न सक्ने कला थियो।
हालमा चिलीका जनता आफ्नै सरकार विरुद्ध आवाज उठाइरहेका छन। 2011माचिलीका विद्यार्थीहरूले निजीकरणविरुद्ध आन्दोलन गरेर विश्वभरिका शिक्षा आन्दोलनलाई तताउने काम गरेका थिए। अहिले पुन: चिलीको जनता सडकमा ओर्लिएका छन् अनि संविधानमा बदलाव ल्याउने माग जितेर केही हदसम्म जीत पनि हासिल गरेका छन्। सङ्घर्ष अझै जारी छ। विक्टर जाराको क्रान्तिकारी गीत गाउँदै चिलीका हरेक जनता अत्याचार अनि शोषण विरूद्धको सडक सङ्घर्षमा छन्। विक्टर जाराका गीतहरूसँगै चिलीको आन्दोलन तीब्र भइरहेको छ।
'एल पाब्लो युनिडो, जामास सेरा भिनसिदो' (जनता एक भए, सधैँ जीत हुनेछ)
लाखौँ जनता यी नै नारा लगाउँदै गगनचुम्बी मुठ्ठी उचालेर चिलीको शोषकीय व्यवस्था विरूद्ध आन्दोलन गर्दैछन्।
चिलीको इतिहासमा धेरै राजनीतिक उतार-चडावहरू छन्। सन् 1973 को 11 सितम्बर चिलीको राष्ट्रपति सल्वाडोर अलान्देको मृत्यु एक सेना अभ्युथ्थानको दौरान भएको थियो। उनी संसारको प्रथम लोकतान्त्रिक तरिकाले चुनाउबाट जितेका कम्युनिष्ट राष्ट्राध्यक्ष थिए। 1970 मा सत्तामा बसेर नै उनीले चिलीमा केही बेजोड आर्थिक सुधार गरे। उनीको सुधार कार्यक्रममा खनन उद्योगको राष्ट्रीयकरण पनि थियो। अलान्देको यस कदम विपक्ष र अमरीकाको सरकारलाई मनपरेन। त्यसले गर्दा सेना अभ्युथ्थानको षडयन्त्र रचना गऱ्यो अमरीका र जेनरल पिनोचेले। वायुसेनाको जहाजहरूले राष्ट्रपति भवनमाथि रकेट र बमहरूसाथ हमला गऱ्यो। यस हमलामा ट्याङ्क पनि इस्तेमाल भयो। राष्ट्रपति भवनमै भएको यस हमलाले सल्वाडोर अलान्देको मृत्यु भयो, अनि देशभरि नै समाजवादी समर्थकहरूलाई मारियो, धेरैजना देशबाट भागेर गए।
सेनाप्रमुख अगस्तो पिनोचेले आफुलाई देशको नयाँ राष्ट्रपति घोषित गरे। उनको क्याबिनेटमा बेशीजस्तो सेनाकै मान्छे लिईयो। जेनरल पिनोचे-ले 17 वर्षसम्म शासन गऱ्यो। उनको कार्यकालमा लाखौँ राजनैतिक विरोधीलाई मारियो, धेरैलाई सेना द्वारा 'गायब' गरियो। त्यही 1970 को दशकमा नै यो देश निजीकरणको नयाँ प्रयोगशाला बनेको थियो।
विक्टर जारा 60को दशकमा कम्युतिष्ट पार्टीको महत्वपूर्ण सदस्य अनि अलेन्दे सरकारको सक्रिय समर्थक थिए। तख्तापलटपछि भएको नरसंहारमा चिलीको यस महत्वपूर्ण सांस्कृतिक योद्धा पनि शहीद भए। उनीलाई 1973को 12 सितम्बर पकडेर 4 दिन यातना दिएपछि 16 सितम्बर उनीको हत्या गरियो। विक्टर जाराले संगीत र जनताको सम्बधबारे एक महत्वपूर्ण कुरा लेखे-- ‘हामीले यस्तो सोच्नु हुँदैन कि हामी माथिबाट आएर तल जनतासम्म गीत लगेर जाँदैछौँ। यसको विपरीत हामीलाई नै जनतासम्म उठनु पर्छ। यस्तो ठान्नु हुँदैन कि हामी आफैले जनतासम्म लाँदैछौँ। हाम्रो काम के हो भने हामीले त्यो कुरा उनीहरूलाई फर्काई दिउँ जुन उनीकै हो यानी उनीको सांस्कृतिक जडाहरू।’ आज 45 वर्ष पछि उनीकै गीत लिएर जनता सडकमा ओर्लिएको कुरा कस्तो चाखलाग्दो हो!
भनिन्छ, चिलीबाट नै निजीकरणको दौर संसारमा शुरू भएको थियो। पिनोचेले आफ्ना तानाशाही स्थापित गर्दै चिलीलाई पश्चिमी पुँजीपतिहरूको हातमा बेच्ने काम गरेका थिए। चिलीको सबै संसाधनहरू बेचेर पुँजी सञ्चय गरि उनी राजा बनेका थिए। देशको आर्थिक-सामाजिक संरचनामा तानाशाही पिनोचेको शक्ति हाबी थियो। जनतामाथि अमानवीय शोषण थियो। धेरै परिवार मिलेर एउटै घरमा खाना बनाउने सांस्कृतिक चलन चिलीमा प्रचलित छ। तर तानाशाही व्यवस्थामा खाद्य सामग्रीहरू महङ्गो भयो। नानीहरूलाई दिनमा दुई छाक खाना दिने सामर्थ्य समेत जनतामा रहेन। सन् 1990मा पिनोचे सत्ताको अन्त भयो। तर त्यसपछिदेखि एकपछिएक सरकार आए, केही सुधार पनि गरे, तानाशाही शासनको अतीतबारे माफी पनि मागे, तर जनताको जीवनमा भने सामाजिक सङ्कटको सिलसिला चलिरह्यो। अनि मुटुमा रहिरह्यो आलन्दे र विक्टर जाराहरूको सम्झना व समानताको समाज निर्माणको सपना। पटक पटक चिलीमा भएका जनसङ्घर्षहरू, खासगरी केही वर्ष अघि ठुलो विद्यार्थी आन्दोलनबाट त्यसको प्रमाण झल्कियो।
सन् 2017मा सत्तामा बसे सेबास्टियन पिनेरा। उनको नीतिहरूमा फेरी तानाशाही नीतिको संकेत देखियो। गम्भीर सामाजिक सङ्कटमा गुज्रिरहेका चिलीले आज त्यही तानाशाही व्यवस्थालाई चुनौती दिइरहेको छ। यतिका वर्षसम्म देशको अर्थ व्यवस्थालाई तहस नहस पारेर कतिपय पुँजीपति अनि सम्भ्रान्त परिवारका मानिसहरूलाई सामाजिक सुरक्षा दिने काम गरियो। जनता डरलाग्दो आर्थिक शोषणमा परे। घर-किराया आकाशिएको थियो। शिक्षा निजीकरणले आम विद्यार्थीहरू हैरान भए। जनताका निम्ति ऋण विष सरह हुन गयो। ऋण नलिए भोक्कै मर्ने, ऋण लिए ब्याजमा डुब्नु पर्ने। स्वास्थ्य व्यवस्थाको निजीकरणले गर्दा आमजनताले स-साना रोगले मर्न थाले। चिलीमा बीमारी हुनु भनेकै मृत्यको सूचक थियो, किन कि उपचार खर्चा जनतामा थिएन। चिलीको 70% भन्दा धेर जनसङ्ख्याले 700 डलर वेतन पाउँछन्। तर बड्दो महङ्गाईले डलरलाई रुपियाँ भन्दा तल झारेको छ। यस देशको आय असमानता (Income inequality) यति धेर बढेको छ कि देशको उत्पादन अनि राजस्वको ठुलो अंश धनी पुँजीपतिहरूको हातमा छ। जीडीप-को 25% भन्दा धेर धन 10-20 जना पुँजीपतीको हातमा छ। देशमा केवल 55% रोजगारको व्यवस्था छ। जुन रोजगारी ठेका प्रथा मात्र हुन्। बेरोजगारी समस्या 45%को दरले बढेको छ। जसको कारण चिलीको अर्थ-सामाजिक व्यवस्था तहस-नहस भएको छ। चिलीमा निजीकरण नै लुटको माध्यम बनेको छ। जनताबाट श्रम लुटेर पुँजीपतिहरू सम्पन्न भइरहेका छन्। तर व्यापक संख्यामा रहेका जनता चाहिँ विविध समस्याहरूमा परिरहेका छन्। विगत 30 वर्ष देखि चल्दै आएको लुटको परिणाम हो चिलीमा आज देखिएको जनविद्रोह।
चिलीमा मेट्रो टिकट 800 पेसो (₹ 66.91) थियो। त्यहाँका सरकारले बढाएर 830 पेसो (भारतीय मुद्रमा मोटामोटी 70 रुपियाँ) बनायो। 30 पेसो बढाएकोमा दुझझेलिरहेका जनता रूष्ट बने र विरोध गर्दै सडकमा ओर्ले। तर चिली विद्रोह केवल 30 पेसोमा मात्र सिमित छैन। मेट्रो टिकटले सुरू भएको यस जन-आन्दोलनमा विगत 30 वर्षदेखि जनताले गुम्साएर राखेका आक्रोशहरू बलिरहेका छन्। चिलीमा हाल पिनेराको सत्तालाई नै आक्रोशको आगोमा बाल्ने जन-विद्रोहको ज्वाला दन्किरहेको छ। तर सत्ताले पनि जन-विद्रोहलाई दबाउन हर-सम्भव प्रयास गरिरहेको छ। विद्रोहको 25 दिनको अन्तरालमा त्यहाँका सरकारले 11 जना आन्दोलनकारीहरूको हत्या गरिसकेको छ। धेर घाइते बनेका छन्। यो त केवल मिडियामा आएको रिपोर्ट मात्र हो। चिलीमा मृत र घाइतेहरूको संख्या थप बढ्न सक्ने सम्भवना छ। पिनेराले यस आन्दोलनलाई युद्धको आगमन भन्दै आन्दोलकारीप्रति आक्रमकता अपनाइ रहेका छन्। चिलीको सामाजिक अनि राजनैतिक माहोलमा हाल बारुदको गन्द छ। तर आन्दोलनकारी आफ्नो मागमा अडिक छन्। शिक्षा अनि स्वास्थलाई राष्ट्रियकरण गर्नु पर्ने माग चिलीमा दन्किरहेको छ।
चिलीमा प्रगतिशील समाजको सपनालाई कार्यान्वयन गर्ने सङ्घर्ष नै चल्दै छ। जन विद्रोह र सत्ताको दमनमा विद्रोहले नै जित्दैछ। प्रथम पर्यायमा संविधानमा सुधार ल्याउने आश्वासन दिनुपऱ्यो सरकारले। तर सङ्घर्ष भने रोकिएको छैन। लाखौँको ऱ्याली निकाल्दै, स्ट्रीट फाइटहरू गर्दै, निगरानी गर्न सरकारले छोडेका ड्रोनहरू लेजरले झार्दै, अनि विक्टर जारा जस्ताको गीतहरू गाउँदै जनता अझपनि सडकमा छन्। भर्खरै चिलीको 1.2 मिलियन जनताले क्रान्तिकारी गीत र नारा लगाउँदै राजधानी सेन्टीएगोमा विरोध प्रदर्शनी गरे। यस विरोध प्रदर्शनमा जनताको व्यापक उपस्थिति थियो।
8 वर्ष अघि चिलीको विद्यार्थी आन्दोलनले संसार हल्लाएको थियो। आज चिली विद्रोहले पुँजीवादी भ्रममा सुतिरहेको विश्वलाई पुन झकझकाइ रहेको छ। सत्ताले विद्रोहलाई दबाउन जतिनै बल प्रयोग गरे तापनि चिली विद्रोहले शोषित जनतालाई आशाको किरण दिएको छ। क्रान्तिलाई कुनै पनि सीमानाले रोक्न सक्दैन। संसारको अझै देशहरूमा-- बोलिभिया, ईराक, अल्जेरिया, होन्डुरास, लेबनन, स्पेन आदिमा पनि विभिन्न किसिमका सङ्घर्ष चलिरहेको छ, जुन सङ्घर्षहरूको मुख्य नारा पुँजीवादी व्यवस्थाविरूद्धै हुन्। अनि तीमध्ये चिली विद्रोह विश्वका निम्ति क्रान्तिको प्रतीक जस्तो बनिरहेको छ।
No comments:
Post a Comment