छेवाङ योञ्जन
'कमिलाको हुलले त एउटा मरेको झुसलेलाई हुरुरुरु बोकेर लान्छ भने हामी त मजदुर हौँ। के हामी एक भएर लड्न सक्दैनौँ र? के हामी लेबर युनियन खोल्न सक्दैनौँ?' मलाई पुष्प दिदीको यो दार्शनिक भनाइले सङ्घर्षको नयाँ पाठ सिकाएको छ। उमेरले 50 पुगेकी हुनुपर्छ पुष्प दिदी। उनी टिस्टाभेल्ली चिया बगानका मजदुर हुन्। बगान मालिकले 20 % बोनस नदिने घोषणा गर्दा उनी आक्रोशित थिइन्।
सेप्टेम्बर 29 तारिखदेखि पहाडमा बोनसको होहल्ला सुरु भएको थियो। टिस्टा-भेल्लीमा महिला मजदुरहरूले प्रत्येक दिन फ्याक्ट्रीमा धर्ना प्रदर्शन गर्दै थिए। हामी तेस्रो दिनमा बगान पुग्यौँ। थुप्रै महिलाहरू बगानमा पत्ती टिपिरहेका थिए। उनीहरूसँग कुराकानी गऱ्यौँ। ‘बिहान 9 बजी सम्म धर्ना प्रदर्शन गर्ने अनि मात्र बगान पस्ने। यो क्रम चल्दै छ’ एउटीले सुनाइन्। मालिकको अत्याचार र शोषणको व्यथाहरू सुन्यौँ। राजनीतिक हैकमवाद र युनियनगिरिको षड्यन्त्रहरू पनि सुन्यौँ। त्यहाँका मजदुरहरूले बेधडक सुनाएँ-- 'युनियन त लाचार छ। त्यसैले हामीले धर्नाबाट युनियन नेताहरूलाई खेदायौँ'।
नेपालीहरूको महान् पर्व दशैँ मुखैमा थियो। तर मजदुरहरूले बोनस पाएका थिएनन्। दशैँ कसरी मनाउने? भन्ने चिन्ता उनीहरूमा थियो। यद्यपि, यो चिन्तालाई पन्छाएर उनीहरूले सङ्कल्प गरेछन्-- 'दशैँ तिहार मारो गोली, 20 % चाहियो भोलि' अर्थात् तिहारपछि भए तापनि 20 % भन्दा कम्ती बोनस आफूहरूलाई स्वीकार नरहने उनीहरूले बताइन्। यसै क्रममा हामी पुष्प दिदीसँग गफ गर्न पुग्यौँ। उनी सडकमाथि पत्ती टिप्दै थिइन्। बोनसको प्रसङ्गसँगै उनले बगानमा चलिरहेको पितृसत्तात्मक हैकमवादको कडा आलोचना गरिन्। म्यानेजर पुरुष, स्टाफ-सब स्टाफहरू पुरुष, युनियन नेताहरू पुरुष तर बगानमा दिनरात खट्नेहरू चाहिँ महिला रहेको उनको भनाइ थियो। उनले भनिन्-- 'नानीको आमाहरू बच्चालाई आधा पेट दूध पिलाएर पत्ती टिप्न हिँड्छन्। बर्खेझरीमा झाडीभित्र पसेर पत्ती टिप्नु पर्छ। लडेर चोटपटक लाग्छ। यस्ता पिर-मार्काहरू आफ्नै दाजु-भाइ (पुरुषहरू)-ले बुझ्दैनन्'।
दिदीको कुरा सुनिरहूँ जस्तो लाग्दथ्यो। तर पनि मनमनै सोचे। उनी कलेज, विश्वविद्यालय कतै पढेकी होइनन्। पितृसत्ता के हो? बजारवाद के? राज्यसत्ता के हो? यी जम्मैको शास्त्रीय परिभाषा पुष्प दिदीलाई थाहा छैन। तै पनि उनी दिग्गज समाजशास्त्रीहरूले झैँ मानवीय शोषणको व्याख्या गरिरहेकी थिइन्। 'अब कमिला झैँ हुल बाँधेर महिला मजदुरहरू एक हुनुपर्छ' उनले भन्दै थिइन् 'समय परिवर्तन भइसकेको छ। हामी पनि कलकत्ता/दिल्ली जान सक्छौँ। हाम्रो शक्ति भनेकै हाम्रो एकता हो’।
साँच्चै, यस चोटिको बोनस प्रकरणले चिया बगानको इतिहासमा नयाँ मोड थपेको छ। वर्षौँदेखि मालिकको शोषणमा परिरहेका चिया मजदुरहरूले यस चोटि युनियनहरू समेतलाई चुनौती दिएका छन्। युनियनमा पुरुष सङ्ख्या धेर छन्। त्यस पुरुष सङ्ख्यामा पनि मजदुर हुँदैनन्। फ्याक्ट्रीका स्टाफ-सब स्टाफ, गाउँका नेता वा अन्य प्रोफेसनमा भएकाहरूले लेबर/ट्रेड युनियन हाँकिरहेका छन्। मोज-मस्तीमा रम्ने नेता, मासिक वेतन पचाउने कर्मचारी र आर्थिक रूपले सम्पन्न वर्गलाई श्रमिक शोषणसँग के सरोकार रहला र?
तर बिस्तारै मजदुरहरूले यस्ता तथाकथित युनियनको परिभाषा बुझ्न थालेका छन्। 'बगानका दाजु-भाइ (पुरुष)-हरूले हाम्रो पीडा बुझ्दैनन्' महिला श्रमिकहरूको यो साधारण भनाइलाई सैद्धान्तिक व्याख्या गर्दा पितृसत्तात्मक हैकमवाद नै पुँजीवादी औजार हो भन्ने स्पष्ट बुझिन्छ। जुन चाहिँ आज सामाजिक यथार्थ साबित भएको छ। बेसक त्यो यथार्थ जडवादी छ, र नै बुर्जुआ व्यवस्थाले तयार पारेको यस्ता जडवादी यथार्थलाई पुष्प दिदीको कमिलाको हुलले नै तोड्न सक्छ।
दार्जिलिङ पहाडमा हप्तौँसम्म चल्यो बोनस प्रकरण। युनियन र मालिकको मिटिङ भइरह्यो। दुई किस्तीमा बोनस दिने घोषणा भयो। तर मजदुरहरू मानेनन्। मिटिङको घोषणालाई विरोध गर्दै ऋषिहाट बगानका मजदुरहरू सडकमा उत्रे। लप्चु, नामरिङ, गेल, रङ्गली, तकदाह, ग्लेनबर्न आदि चिया बगानहरूमा मजदुरहरूले बन्द पालन गरे। कुनै कुनै बगानहरूमा युनियन प्रतिनिधिहरू पुगेका थिए। तर धेर जसो बगानहरूमा युनियन प्रतिनिधिहरूलाई बोल्न दिएन। ‘युनियनको लाचारपनको कारण नै आफूहरूले बोनस नपाएको’ भन्ने मजदुरहरूको आशय थियो। मालिकको चाप र मजदुरहरूको राप दुवैको बिचमा पऱ्यो लाचारी युनियन। यसै अवधि डुवर्सको कालचिनी र राइमाटङ चिया बगान बन्द भयो। मालिक वर्गलाई धेरै सहज छ। शीतकालमा बगान बन्द गरे बोनस दिन नपर्ने, बगान पनि सञ्चालन गर्न नपर्ने। बोनस, वेतन र सहुलियतहरू दिनै नपर्ने। यस्ता बदमास मालिकहरूलाई प्रशासनिक कारबाही हुँदैन। यो ध्रुव सत्य हो। राज्यसत्ता, नोकरशाही, न्यायपालिका-- जम्मै जम्मै मालिककै संरक्षकहरू न हुन्। अब यी बन्द बगानहरूमा राजनीतिक माफियाहरू सक्रिय हुन्छन्। जस्तो कि अहिले बाग्राकोट चिया बगानमा भइरहेको छ। डङ्कन्स अधीनस्थ रहेका बगानहरूको अवस्था ठिक छैन। बाग्राकोट चिया बगानका मजदुरहरूले यस चोटी बोनस नै पाएनन्। त्यहाँ पनि महिला मजदुरहरूले फ्याक्ट्रीमा ताला लगाइ दिएका थिए। हप्तौँ मिटिङ चल्यो। तर बोनस दिएन। पितृसत्तात्मक पुरुषार्थ देखाएर पुलिस, युनियन र म्यानेजरले षड्यन्त्रपूर्वक महिला मजदुरहरूको आवाजलाई दबाई दिए। अहिले यस बगानका महिला मजदुरहरू आर्थिक चपेटमा परेका छन्। निकासको बाटो पनि खोजी रहेका छन्। कुनै दिन पुष्प दिदीको कमिलाको हुलमा यिनीहरू पनि हुनेछन्।
के साँच्चै नै बगानका महिला श्रमिकहरू सङ्गठित हुन सक्छन् त? कामको बोझ, परिवारको रेखदेख, सामाजिक सम्बन्ध आदिले गाजी त हाल्छन् महिलाहरूलाई। दिनभरि बगानको काम। बिहान-बेलुकी घरको काम। छोरा-छेरी र बिमारीहरूको रेखदेख। खै त! फुर्सदै छैन। आराम गर्ने समय त निस्किँदैन। अझ सङ्गठित भएर युनियन गर्नु? असम्भव। हुन सक्दैन। यस्ता भनाइ र सोचले नै महिला मजदुरहरूलाई शोषणको खाडलमा हाल्दै छन्। 'महिलाहरूबाट असम्भव' भन्ने वाक्यकै फाइदा उठाएर कैयौँ पुरुषहरूले हरेक क्षेत्रमा आफ्ना हस्तक्षेप बढाई रहेका छन्।
आखिर किन सक्दैनन् र? मान्छेलाई लक्ष्यसम्म पुग्न आत्मविश्वास र दृढ सङ्कल्प नै त चाहिएको हो। के महिलाहरूमा आत्मविश्वास र दृढ सङ्कल्प हुन्न र? यस्तै ‘सक्छ कि सक्दैन’ को द्वन्द्वमा फसिरहेको समय 'पेमबीलाय ओरूमाय' सम्झी पठाए।
5 सेप्टेम्बर 2015-को दिन मुन्नारका महिला चिया मजदुरहरूले बजारतिर गएर धरना सुरु गरिन्। सुरुमा उनीहरूको सङ्ख्या सानो थियो। 5 सय रुपियाँ न्यूनतम ज्याला अनि 20 % बोनसको माग गर्दै सुरु गरेको यो धरना बिस्तारै व्यापक हुँदै गयो। यी महिला मजदुरहरूले साझा मञ्च तयार गरेकी थिइन्। युनियनको हस्तक्षेपको विरोध गर्दै उनीहरूले युनियन र सरकारलाई मालिककै संरक्षक हुन् भन्ने घोषणा गरेका थिए। महिला चिया मजदुरहरूको यस आन्दोलनलाई दबाउन हर-सम्भव प्रयास गरियो। तर जुझारु महिलाहरूले तयार गरेको साझा मञ्चले आफ्नो लक्ष्य किञ्चित पनि डगमगाउन दिएन। सडकमा आन्दोलनरत महिलाहरूको सङ्ख्या दिनोदिन बढ्दै गयो। त्यहाँका युनियनहरूमा पनि महिला प्रतिनिधिहरू थिएनन्। बोनस र न्यूनतम ज्यालाको मागमा सडकमा उत्रेका महिला मजदुरहरूले पितृसत्तात्मक समाज व्यवस्थाको पनि चर्को विरोध गर्न थाले। आफूहरूमाथिको सामाजिक बोझ, पारिवारिक बोझ, काम र आर्थिक बोझको विरोधमा पनि महिला मजदुरहरूले चर्को विरोध जनाउन थाले। यस आन्दोलनलाई त्यहाँका दलित महिलाहरू पनि सामेल भइन्। करिब दुई महिनासम्म चल्यो यो आन्दोलन। अन्तमा 20% बोनस स्वीकार भयो। न्यूनतम ज्याला रुपियाँ 232 देखि रुपियाँ 301 पुग्यो। राज्यभरि नै यो आन्दोलन 'नारी एकता'ले प्रचलित भयो। मुन्नारका आन्दोलित महिलाहरूले आफ्नो सम्बोधनमा भन्थिन् 'पेमबीलाय ओरूमाय जिन्दाबाद' अर्थात् 'नारी एकता जिन्दाबाद'।
उत्तर बङ्गालको चिया बगानका महिला मजदुरहरूका निम्ति प्रेरणाको स्रोत बन्न सक्छ 'पेमबीलाय ओरूमाय'। यहाँका जुझारु महिला मजदुरहरूले पनि पितृसत्तात्मक समाज विरुद्ध भन्न सकुन्-- 'नारी एकता जिन्दाबाद'।
यता चिया मजदुरहरू आक्रोशित बनिरहेका थिए। युनियन नेताहरू भोक हडतालमा थिए। प्रगतिशील युवा विद्यार्थीहरू मजदुरलाई साथ दिँदै सडकमा निस्केका थिए। कलकत्तामा मिटिङ भयो। 20 % बोनस पारितको घोषणा हावा जस्तै फैलियो। 60% र 40% गरेर दुई किस्तीमा बोनस दिने भयो। पैह्रो पछिको शान्त झैँ माहौल सामान्य भयो। तर यो शान्तपनमा अम्बियोक बगानका महिला मजदुरहरू मौन बस्न सकेनन्। 4 अक्टोबरको दिन उनीहरू फ्याक्ट्रीमा जमा भए। कलकत्तामा 20 % पारित भएको हो। पारित अनुसारको बोनस दिइनु पर्ने माग मजदुरहरूले गरेछन्।
तिहारको छुट्टीमा साथीहरूसँग घुम्दै अम्बियोक पुगेका थियौँ। बगानमा काम सुरु भइसकेछ। मजदुरहरू पत्ती टिप्दै थिए। घटनाबारे बुझ्न बगान पसे। त्यहाँ लाइला दिदीसँग भेट भयो। बोनस आन्दोलनलाई नेतृत्व गर्ने उनी पनि रहेछी। ‘अघिल्लो दिन म्यानेजरले तपाईँहरूले भने जति दिन्छु, काममा जानु भन्नु भो। हामी काममा गयौँ। तर पछि पार्टीको केटाहरू बोलाएर दिन सक्दिन भनेछ’ एक हातले चियाको मुना चुँडाउँदै उनले भनिन् ‘त्यसै कारण हामीले म्यानेजर र बाबुहरूलाई तीन घण्टा थुनी दियौँ’। पार्टी र युनियन प्रतिनिधिहरूले म्यानेजरको पक्ष लिएकोमा रुष्ट थिइन् उनी। ‘काम गर्ने हामी नै हौँ। यहाँ युनियन होइन, हामीसँग कुरा गर्नुपर्छ’ म्यानेजरलाई यसो भनेर पेपरमा सम्झौता हस्ताक्षर गर्न लगाएछन्। यहाँका मजदुर दिदीहरू आगामी वर्षका निम्ति पनि मानसिक रूपले तयार बस्ने भएका छन्। हामी फर्कनै लाग्दा अर्की एकजना दिदीले भन्नु भो – ‘युनियनकै कुरा सुन्नु हो भने त बोनस पनि नपाउने रहेछ। अब अम्बियोकमा युनियनको काम छैन।’
मैले मनमनै सोचे यो कमिलाको सानो हुल हो। एक दिन ठुलो हुनेछ र पृथ्वीलाई हरुरुरु बोकेर लैजाने छ।
No comments:
Post a Comment