Wednesday, February 21, 2018

आप्रवासी मजदुर अफ्राजुलको हत्या र फासीवादी विचार


छेवाङ योञ्जन


6 डिसेम्बर 2017। केही युवाहरूका हातमा बल्दै गरेको क्यान्डल थियो। बाबरी मस्जिद काण्डमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै थिए उनीहरू। केही युवाहरू हातमा प्लाकार्डहरू लिएर चोकमा निस्केका थिए। ‘साम्प्रदायिक दङ्गा बन्द गर’, ‘धार्मिक राजनीति बन्द गर’, ‘फासिस्ट सोच मुर्दावाद’ — प्लाकार्डमा यस्तै नाराहरू थियो। केही युवाहरू पर्चा बाड्दै थिए। पर्चामा लेखिएको थियो ‘बाबरी मस्जिद र राम मन्दिर होइन, हामीलाई रोजगार चाहिन्छ, पेट भर्नलाई दाल भात चाहिन्छ।’ प्रत्येक दिन किसानले आत्माहत्या गरेको घटना समाचारमा आइरहन्छ। अनाहारले मजदुर मरेको समाचार दिनोदिन बढ़्दै छ। तर देशको राष्ट्रिय राजनीतिक बहसमा भने 2 दशकदेखि राम मन्दिर र बाबरी मस्जिदको चर्चा हाबी छ। हिन्दु-मुसलमान भोट ब्याङ्कमा अड़िएको यो राजनीतिको आलोचना गर्न, धार्मिक कट्टरवादी राजनीति विरुद्ध पथसभा र जुलुसहरू भइरहेको थियो 6 दिसम्बरको दिन। तर ठिक त्यही दिन राजस्थानको राजसमन्दमा शम्भुलाल रेगरले 48 वर्षीय मजदुर महम्मद अफ्राजुललाई पछाड़ीबाट बञ्चरोले प्रहार गरिरहेको थियो। यता ‘फासीवाद बन्द गर’को नारा लाग्दै थियो। उता शम्भुलालले ‘जिहादी हो होसियार’ भन्दै अफ्राजुलको शरीरमा प्रहार गर्दै थियो। मजदुर अफ्राजुल जमिनमा ढलिसकेको थियो। उनी दुवै हात जाड़ेर शम्भुलाललाई प्राणको भिख मागिरहेका थिएँ। तर हिन्दुत्ववादी आतङ्ककारी सोचले पागल बनिसकेका शम्भुलालले धारिलो हतियार लिएर जमिनमा छटपट्टी रहेका मजदुर अफ्राजुलको घाटीमा प्रहार गर्न थाले। हेर्दा हेर्दै अफ्राजुलको शरीर छटपट्टीन छोड़्यो, सायद उनको शरीरले प्राण त्याग गरे। तर आतङ्की शम्भुलालको अमानवीय हरकत यतिमै रोकिएन। उनले आफ्नो स्कूटीबाट पेट्रोल लिए। जमिनमा लड़िरहेको अफ्राजुलको शरीरमा छर्के अनि  आगो लगाइ दिए। मृतक अफ्राजुलको शरीरमा हिन्दुत्ववादी पेट्रोल बलिरहेको थियो। त्यसैको अघि उभिएर मोबाइल भिडियोमा शम्भुलालले आतङ्ककारी घोषणा गरे ‘मुसलमानो ये देश छोड़कर भाग जावो।’ शम्भुलालको 14 वर्षीय भत्तिजले यी तमाम हत्याकाण्डको लाइभ रिकर्ड गरिरहेका थिए। उनले आफ्नो 11 वर्षको छोरीलाई पनि यो लाइभ मर्डरको साक्षी बनाए। अफ्राजुलको हत्यापछि उनले मर्डर भिडियोसाथै आफ्नो ब्याङ्क एकाउन्ट सोसल साइटमा अपलोड गर्दै हिन्दुत्ववादी अनि मुसलमान विरुद्ध अभियानको निम्ति सहयोगको अपिल गरे। तत्कालै हत्यारा शम्भुलालको एकाउन्टमा 3 लाख रुपिया जमा भयो। हत्यारा शम्भुलाललाई 7 सय कट्टर हिन्दुवादीहरूले मजदुर अफ्राजुलको हत्याको निम्ति आर्थिक राशि प्रदान गरे। शम्भुलालको दिमागमा यस थरीका कट्टर हिन्दुवादी आतङ्कारी सोच विकास गर्ने प्रमुख तत्त्व हो विश्व हिन्दु परिषद्, आरएसएस अनि भारतीय जनता पार्टी (भाजपा) अर्थात् उनीहरूका ‘सरकार।’
मृतक महम्मद अफ्राजुल पश्चिम बङ्गालको मालदा जिल्ला निवासी हुन्। उनी करिब 30 सालदेखि राजसमन्दमा निर्माण मजदुरको रूपमा काम गर्दै आइरहेका थिए। तर तानाशाही फासीवादी सरकारको कट्टर हिन्दुत्ववादी नीतिको कारण शम्भुलालको हातबाट आफ्नो दर्दनाक मरण हुन्छ भन्ने कुरा गरीब मजदुर अफ्राजुललाई थाहा थिएन। अफ्राजुलको हत्यासँगै शम्भुलालले घोषणा गरेको मुसलमान विरोधी अभियानको कारण तत्कालै सय जना निर्माण मजदुरहरूले राजसमन्द ठाउँ छोड़े। पश्चिम बङ्गालबाट हजारौको सङ्ख्यामा मुसलमान मजदुरहरू राजस्थानको विभिन्न स्थानहरूमा भइरहेको निर्माण कार्यहरूमा सङ्लग्न छन्। तर सामाजिक अनि प्रशासनिक सुरक्षाको अभावमा यी मजदुरहरू कुनै पनि समय शम्भुलाल जस्ता कट्टरवादी आतङ्ककारीको शिकार बन्न पुग्छन्। यसैको डरले अफ्राजुलको हत्याकाण्डपछि हाल पलायन मजदुरहरू पश्चिम बङ्गाल फर्किन थालेका छन्। तर बङ्गाल फर्केर पनि के गर्ने? पश्चिम बङ्गालमा यी मुसलमान मजदुरहरूले आफ्ना प्राण त जोगाउन सक्ला तर आफ्नो साथै परिवारको पेट पाल्न सक्दैनन्। राज्यमा मजदुरी गरेर पेट पाल्ने सम्भावना छैन। बङ्गालमा रोजगारको अभाव रहेकै कारण यी मजदुरहरू अन्य राज्यतिर काम गर्न पलायन भएका हुन्। तर सरकारको गरीब-विरोधी नीति र धार्मिक-कट्टरवादी नीतिको सञ्जालमा मजदुरहरूलाई श्रम जोगाउनु कि आफ्नो प्राण जोगाउनु ठुलो चुनौती भइरहेको छ।
बेरोजगारी अनि बन्द चिया बगानको चिन्ताजनक अवस्थाले गर्दा दार्जिलिङ पहाड़बाट पनि हजारौँ मानिसहरू पलायन भइहेका छन्। उनीहरू देशका विभिन्न राज्यहरूमा कामको खोजीमा छन्। आज अफ्राजुलको हत्याकाण्डले बाध्यतावश पलायन भएका असंख्य मानिसहरूमा भयको माहौल छाएको छ। दिल्ली, मुम्बई, चेन्नाईको ठुलो ठुलो कारखानाहरूमा मजदुरी गरिरहेका, सुरक्षा गार्डको नौकरी गरिरहेका पहाड़का कामदारहरू पनि यस्ता धार्मिक अनि जातीय वेदभावको शिकार बन्न सक्दैनन् भन्न सकिन्न।
बील्डिङ, सड़क, बाटो, पुल जस्ता निर्माण कार्यमा लागेका मजदुरहरूलाई सरकारले असङ्गठित क्षेत्र भनेर घोषणा त गरेको छ। तर यी क्षेत्रका मजदुरहरूलाई कुनै प्रकारको सरकारी सहुलियत र प्रशासनिक सुरक्षा भने छैन। मजदुरहरूको हित अनि सुरक्षाका निम्ति सरकारले दह्रो कानुन बनाउनु हो भने आज अफ्राजुल जस्ता गरीब मजदुर शम्भुलाल जस्ता धार्मिक आतङ्ककारीको हातबाट मर्ने थिएनन्। शम्भुलालको हिन्दु दादागिरि अनि अफ्राजुलको अमानवीय मृत्युले आज फासिवादी मानसिकता उदाङ्गो पारेको छ।
भारतले जुन धार्मिक कट्टरवादको राजनीतिक रूप लिएको छ, यसले करोडौं देशवासीको सपनामा ढड़ेलो सल्काइरहेको छ। सत्ताले सल्काएको यस्ता धार्मिक अनि जातीय ढड़ेलोमा केवल मुसलमान मात्र होइन गरीब हिन्दुहरूको सपना पनि खरानी भइरहेको छ। यसैले यस्ता धार्मिक अनि जातीय आतङ्ककारी गतिविधिको विरोध गर्न जम्मै जाती अनि धर्मका मजदुरहरू एक हुन आवश्यक छ। सत्ताको चौकी जोगाइ राख्न देशको राजनीतिले जहिले पनि शम्भुलाल जस्ता जड़वादी युवाहरूको प्रयोग गरिहेको छ। वर्तमान भाजपा सरकार होस् वा विगतको अन्य सरकारहरू, केन्द्र शासित सत्ताले कहिले पनि देशको विकास अनि आमजनताको हितमा काम गरेको छैन। पुँजीवादलाई पोस्याउन कै निम्ति सत्तामा पुगेको सरकारबाट देश अनि जनहितको अपेक्षा गर्न पनि सकिन्न। सन् 1992 देखि भारतीय जनता पार्टीको अन्धो राष्ट्रवाद अनि हिन्दुत्ववादी कट्टरवादी नीतिले देशलाई हुनसम्मको खोक्रो बनाइसकेको छ। देशको संविधानमा धर्मनिरपेक्षताको केवल उल्लेख मात्र छ। भाजपा जस्ता सर्ववृहत राजनीतिक दलले संविधानको खिल्ली उड़ाउँदै हिन्दुत्ववादी सिद्धान्त अपनाएर हजारौँ जनताको हत्या गर्दै आइरहेको छ। 6 डिसेम्बर 1992 अर्थात् बाबरी काण्ड। देशको शासन व्यवस्था हत्याउन यस दिन भाजपाले 2 हजार भन्दा धेर जनताको हत्या गरेको छ। विश्व हिन्दु परिषद् र भाजपाको ढेड़ लाख कार्यकर्ताहरूले अयोध्याको बाबरी मस्जिदमाथि आक्रमण गर्दै आफ्नो हिन्दु आतङ्ककारी चरित्र स्पष्ट पारेको छ। भाजपाको प्रमुख मेरूदण्ड हो विश्व हिन्दु परिषद् अनि आरएसएस। यी दुवै हिन्दु गुण्डावाहिनीको आड़मा भाजपाले देशको सत्ता कब्जा गर्दै आइरहेको छ। बाबरी काण्डको मास्टरमाइन्ड एल के एडवाणी विरुद्ध कुनै प्रकारको सुनवाइ भएको छैन। यसै काण्डपछि भाजपाले सन् 1996 को लोकभसा चुनाउमा बहुमत पायो र सरकार गठन गऱ्यो। यसैले धार्मिक अनि जातीय दङ्गा गराउन र देशको सत्ता कब्जा गर्न भाजपाको प्रमुख रणनीति हो। जब भाजपालाई राजनीतिक सङ्कट पर्छ तब देशमा धार्मिक अनि जातीय दङ्गा गराउने गर्छ। भाजपाको दङ्गाकारी नीतिको प्रमुख हतियार हो शम्भुलाल जस्ता हिन्दु कट्टरवादी युवाहरू।
विकासको नयाँ नयाँ मोडल बताउने मोदी सरकारको इमेज दिनोदिन घट्दै गइरहेको छ। केन्द्रमा मोदी सरकार आउनसाथ गौ-रक्षक वाहिनी, लभ जिहाद, दलित अत्याचार, किसान हत्या, मजदुर मर्डर जस्ता घटनाहरूले सीमा नाघिसकेको छ। चुनाउअघि देश विकासको जुन जुन घोषणाहरू गरिएको थियो, ती घोषणाहरूदेखि देशवासीको ध्यान हटाउन मोदी सरकारले साना-ठुला दङ्गाहरू गराइरहेको छ। नोटबन्दीको कारण 2017को जनवरीदेखि अप्रेलभित्रमा 1.5 करोड़ नौकरी हराएको छ। अघिबाटै बेरोजगारीको कारण देशको करोडौँ युवाहरू भौतारीरहेका छन्। सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी अनुसार नोटबन्दीले केवल नौकरी मात्र हराएन तर देशको जीडीपी वृद्धिमा पनि नकारात्मक प्रभाव पारेको छ। जसले गर्दा देशमा वेरोजगारीको समस्या अझ बढ़ेर गयो। चुनाउअघि 10 करोड़लाई नौकरी दिने मोदी सरकार अहिले मजदुर, किसान अनि दलित हत्या गर्नमा व्यस्त छ। भोकमरीको सूचीमा भारत 100औँ स्थानमा पुगेको छ। हरेक दिन अनाहारको कारण शिशुको मृत्यु भइरहेको छ। विकास दर घटेर 131 स्थानमा पुगेको छ। ‘सार्कʼको मानव विकास सचक अनुसार भारतको विकास दर केवल 0.624 मात्र छ। टेलिभिजन डिबेटमा राम मन्दिर र बाबरी मस्जिद, पब्लिक डिबेटमा राम मन्दिर र बाबरी मस्जिद, चुनाउमा राम मन्दिर र बाबरी मस्जिद अर्थात् सरकारको प्रत्येक एजेन्डा नै राम मन्दिर र बाबरी मस्जिदमा अड़िएको छ। यस्तो अवस्थामा देशको विकास कसरी हुन्छ?
यसैले भाजपा सरकारको हिन्दुत्ववादी नारा अनि राम मन्दिर र बाबरी मस्जिदको राजनीतिक प्रतिस्पर्धामा विश्वास राख्ने युवाहरूले आफू एकलै हुँदा सोच्नु! राम मन्दिर र बाबरी मस्जिदले रोजगार दिन्छ कि दिँदैन? राम मन्दिर र बाबरी मस्जिदले किसानको पेट भर्छ कि भर्दैन? राम मन्दिर र बाबरी मस्जिदले मजदुर परिवारको आर्थिक विकास हुन्छ कि हुँदैन? राम मन्दिर र बाबरी मस्जिदले बुलेट ट्रेन ल्याउँछ कि ल्याउँदैन? यी प्रश्नहरूको सठीक उत्तर पाउन सके तपाईँले सत्ताको फासीवादी विचार सहजै बुझ्नुहुन्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...