हत्याको राजनीति !
राजनैतिक हत्याको बारेमा त सबैलाई थाहा
नै छ। तर हिजआज हाम्रा देशमा हत्याको राजनीति देख्न पाइरहेका छौँ
र यसको
ठुलो खेलाडी हो भाजपा। हुन त कुनै पनि अवस्थामा भोट जित्नु नै हो भारतको मुख्य पार्टीहरूको
उद्देश्य। तर उक्त कुरो सबैभन्दा धेर उपयुक्त हुन्छ भाजपाको लागि। देशमा धार्मिक कट्टरतावादको
आगोमा हावा लगाउने काममा लागेको छ देशको सरकार। 6 दिसम्बरमा राजस्थानमा भएको हत्याकाण्डले
आरएसएसको छत्रछायामा चल्ने भाजपाको घिनलाग्दो विचारको परिचय दिन्छ। बहुसङ्ख्यक जनताको
मनमा देशको अल्पसङ्ख्यकको विरुद्धमा घृणा र रिस पैदा गरेर राजनीति गरिरहेको छ भाजपाले।
देशको प्राय सबै राज्यहरूमा आफ्नो हाँगा फैलाउन सफल भएपछि, बङ्गालको सत्तालाई लक्ष्य बनाएर बढिरहेको
उक्त पार्टीले यहाँ आफ्नो ठाउँ बनाउनका लागि जे गर्न पनि राजी छ। त्यसैले यहाँ धार्मिक
दङ्गा फैलाउने उद्देश्यले त्यो घृणात्मक हत्या गरेको कुरामा कुनै शङ्का छैन।
हिटलरको जर्मनी जस्तै
मोदीको भारतमा पनि ‘भारत मोदी हो, मोदी नै भारत हो’को नारा चारैतिर फैलाइरहेका छन् सङ्घीहरूले।
शुद्ध जर्मन जाति मात्रै जर्मनको इमान्दार जनता हुन् र अन्य जम्मै देशद्रोही हुन् भन्ने
युक्तिलाई ट्याक्कै समातेको छ सङ्घ र भाजपाले। ब्राह्मणवादी हिन्दुत्वको मापदण्डमा
देशप्रेमलाई नापिन्छ र त्यसभन्दा अलिकति अलग भए उसलाई मृत्युघाटमा उतारिन्छ। एक भन्दा
अर्को डरलाग्दो जनविरोधी, श्रमिक-विरोधी नीतिहरू लादेर देशको प्रमुख जनताप्रति ढाड फर्काएर कानमा
तेल हालेर बसिरहेको छ यो देशको सरकार। 10 डिसेम्बर मोदीले दिएको भाषणमा उनले सिधा
भाषामा भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंह, भूतपूर्व उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, भूतपूर्व आर्मी प्रमुख दीपक कपुरमाथि देशद्रोहको
आरोप लगाए।
देशको प्रमुख भएर प्रधानमन्त्रीले
राख्नु पर्ने सबै मर्यादाको उलङ्घन गर्दा पनि धर्मान्ध मानिसहरूले उनको जयजकार गरिरहे।
गुजरात निर्वाचनको अन्तिम चरणमा मापजोक गरेर मोदीले साम्प्रदायिक आगो लगाउन माथि उल्लेख
गरिएका सबैजनालाई कुनै प्रमाण बिना ‘शत्रु’ पाकिस्तानसँग मिलेर षड्यन्त्र गरिरहेको
बताए। अर्को कुरो के हो भने भाजपाले भारतमा बसिरहेका सबै
मुसलमानहरूलाई
पाकिस्तानी भनेर गाली गर्ने गर्छ र बारम्बार उनीहरूलाई भारतप्रति इमान्दार रहेको प्रमाण
मान्छ। स्वतन्त्रताको 70 वर्षपछि पनि आफ्नै देशमा शङ्काको दृष्टिले हेरिनु कति दुखलाग्दो
कुरा हो! त्यो देशको बहुसङ्ख्यक जनताले झेल्नु नपरेको
हुनाले उनीहरू साम्प्रदायिकताको पासोमा पर्छन्। वर्तमान समयमा त झन् घरी गौरक्षक, घरी लव जिहादको नाममा कैयौँ मानिसहरूको
हत्या गरिसकेको छ यो सरकारले। तर एसो सोच्दा के मानिसलाई साँच्चै नै राममन्दिर चाहिएको
छ? के साँच्चै नै देशको मुसलमान र अरू अल्पसङ्ख्यक
मानिसहरू देशको दुर्दशाको कारण हो? आज आवश्यकीय चिजबिजको दामले आकाश छोईरहेको
छ, बेरोजगारीको सङ्ख्या तीब्रगतिमा बढ्दैछ, प्राकृतिक सम्पदाको नाश भइरहेको छ, मानिसको बोल्ने अधिकार खोसिन्दैछ, ब्याङ्कमा जमा गरिएको मानिसको खुन पसिनाको
जमा पुँजी वापस पाउने ग्यारेन्टी छैन! यहाँ मानिसहरूलाई रोजगार चाहिएको छ, सुरक्षा चाहिएको छ, राम्ररी बाच्न सक्ने अधिकार चाहिएको छ।
तर जनता-विरोधी नीति र कानुनहरूलाई साम्प्रदायिक
र राष्ट्रवादी पर्दामा ढाकेर आफ्नो स्वार्थको कारोबार चलाइरहेको छ भाजपाले। यहाँ के
प्रश्न उठ्छ भने— देशको प्रधानमन्त्रीले जनताको बारेमा सोच्नु पर्ने हो न कि केवल
हिन्दु र उसको पार्टीको सदस्यहरूको बारेमा? तर दुखलाग्दो कुरो के हो भने यसलाई टक्कर
दिने कुनै शक्तिशाली पार्टी भारतमा विद्यमान छैन। सबै मुख्य पार्टीहरूले आफ्नो पालोमा
जनतालाई हेलचेक्राई गरेको हुनाले यस्ता फासिवादी पार्टीको हातमा देश पुग्न गयो। त्यसैले
भारतलाई अर्को जर्मनी नबनाउने हो भने सबैले कम्मर कसेर साम्प्रदायिकताको विरोध गर्ने
बेला आएको छ।
No comments:
Post a Comment