Friday, February 9, 2018

घर-घरको अदृश्य कारिगरलाई सङ्गठित हुने आह्वान


मुनमुन विश्वास, कलकता

[ देशको श्रमजीवी जनताको ज्यादातर नै असङ्गठित र अनौपचारिक क्षेत्रहरूमा काम गर्छन्। असङ्गठित क्षेत्रका मजदुरहरूको निम्ति सङ्घर्षको बाटोले अलि अलि कानुनी सुरक्षा हासिल गरे तापनि अनौपचारिक क्षेत्रका मजदुरहरूका स्वीकृति अथवा सुरक्षा केहिपनि छैन। यहाँ प्रस्तुत छ तिनीहरूको सङ्घर्ष शुरुवातको एक रिपोर्ट। ]

उहिले नै युरोपमा अर्थात् भिक्टोरियन जमानामा पनि ठुल्ठुला महलहरूमा घरको काम काजका निम्ति काम गर्ने ‘हाउस सर्भेन्ट’ साथै अन्य थुप्रै काम गर्ने मानिसहरू हुन्थे रे। भारतमै पनि राजा जमिन्दारहरूको महलहरूमा दास-दासी राख्ने चलन थियो। यी काम सघाउनेहरू वर्षका 365 दिनै मालिकको घरमै बस्थे र स्वाभाविक कुरा उनीहरूको कुनै अधिकार थिएन। उनीहरूले आफ्ना श्रमको उचित मूल्य पनि पाउदैन थिए। यो त भयो कमसेकम सय वर्ष अघिको कुरा। तर एकाइशौ शताब्दीमा यी हाउस सर्भेन्ट र दास-दासीहरू आधुनिक रूप भएर आएको छ ‘मेड’ वा ‘गृह परिचारिका’। नाम परिवर्तन भए पनि यिनीहरूको काम र उनीहरूसँग गरिने व्यवहारमा भने कुनै परिवर्तन आएको छैन। उदाहरणको रूपमा नोइडाको एउटा संभ्रान्त परिवारको घरमा काम गर्ने जोहरा बीबी कुचबिहारबाट काम गर्ने दिल्ली पुगेकी थिइन्। जहिले पनि महिना मरेपछि मालिकले पैसा दिनु ढिलो गर्थे। यसैले गर्दा उनले दोस्रो महिनादेखि काम नगर्ने निश्यच गरिन्। तर यो निर्णय उनलाई भारी पऱ्यो। त्यसभन्दा पहिलानै उनीमाथि चोरको आरोप लगाएर मालिकले कामबाट बर्खास्त गरिदियो। आफ्नो पैसा लिन गएकी जोहरा फर्केर आइनन्। जोहरालाई रातभरि खान पानी नदिइ बन्दी बनाएर राखिएको थियो शेठी परिवारले। सारा बस्तीले रातभरि खोजेर चाप दिँदा मात्र जोहरालाई छोडियो। पीडितहरू पुलिसकोमा पुगे तर पुलिसले केवल शक्तिशाली पैसावालाकै कुरा सुन्छ। यो कुरा सबैलाई थाहै छ। यो थियो हाउस मेड जोहराको कथा।
अर्को घटना पनि खुबै चर्चित छ। एक नाबालिक 15 वर्षको गृह परिचारिका बन्दना जो मेदनीपुरको गरीब परिवारबाट कोलकाता आएकी थिइन्। उनी दमदममा साहा परिवारको घरमा काम गर्थिन्। उनलाई पनि गहना चोरीको आरोप लगाएर बन्दी बनाएर घर परिवारसँग बातचित गर्न दिएनन्। साहा परिवारले अझ उनीहरूलाई डेढ लाख रुपिया नदिए बन्दनालाई तस्करी गरिदिने धम्कीसमेत दिए। के यही हो विकसित मानव सभ्यता? दासत्वको कालो इतिहासलाई पछि छोडेर आइसकेको हाम्रो युगमा आधुनिक दासत्वले जरा गाड्दैछ। जहिले पनि कुनै ठुलो घरमा कुनै सामान हराए सबैभन्दा पहिला सन्देह त्यस घरमा काम गर्ने गृह परिचारिका माथि पर्छ। उनीहरूको सहायता बिना घर पनि नचल्ने तर उनीहरू प्रति कृतज्ञ हुन त परै जावोस् सदैव हेयको दृष्टिले हेर्ने चलन छ। यस्तो कुसंस्कारले गृहपरिचारिकाहरूको जीवन नितान्तै कठिन बनाइदिएको छ।
कामको कुनै ग्यारेन्टी नभएकोले उनीहरूको भविष्य अनिश्चितताको पेन्डुलम झैँ झुलिरहेको हुन्छ। सानोउनो कारण वा कुनै कारण बिनै उनीहरूले आफ्ना रोजगारदेखि हात धुनु पर्छ। पूजाको अघाडी बोनसको कुरा त छैन केही दिन छुटी मांग्दा मालिक किड्नी मागेको जस्तै गरेर हेर्छ। अर्को सस्तोमा काम गर्ने पायो भने आफ्नो सदाको लागि छुट्टी। पैसा बढाउनु भने छुट्टी। बिमारी भएर काममा आउनु सकेन भने छुट्टी। कतिवटा घर अवश्य राम्रो हुन्छ तर धेरजसो घरमा पानी पिउन पनि दिदैन। घरको बाथरूम चलाउन दिदैन। सोफा बेञ्चिमा बस्न दिदैन। धेरैवटा घरमा उनीहरूलाई अछुत जस्तै व्यवहार गरिन्छ। तर मालिक उनीहरूले बनाएको खाना खान्छन्, उनीहरूले धोएको लुगा लगाउछन्।
मानिस जसमाथि आश्रित हुन्छन् त्यसको केही सम्मान त गर्नुपर्छ। आखिर उनीहरू पनि त मालिक जस्तै हाडछाला भएको मान्छे त हुन्। सबैले गृहपरिचारिकाको कामलाई अर्काको घरमा भाडा माझ्ने काम भनेर, ‘सानो काम’ भनेर सोच्छन् र उनीहरू स्वयंले पनि यस काम लाई ‘सानो काम’ भनेर नै सोच्छन् कारण यहाँ सम्मान छैन। तर सोच्नुहोस्  उनीहरू छैनन् भने परिवार चल्दैन, अफिस-अदालत चल्दैन, समाज चल्दैन।
यसैले जब उनीहरू श्रम दिदैछन्, खटेर खादैछन् भने उनीहरूले श्रमिकको दर्जा पाउनु पर्ने हो। जसरी घरको गृहणीहरूको कामको कुनै मूल्य छैन त्यसरी नै उनीहरूले जीविका आर्जन गरे तापनि त्यो घरको काम भएको हुनाले उनीहरूको पनि कुनै मूल्य छैन। तर यो स्टिरियोटाइपलाई तोडेर गृह परिचारिकालाई श्रमिकको दर्जा दिँदै उनीहरूलाई पनि सङ्गठन गर्ने अधिकार हुनपर्छ भन्ने माग लिएर यही दिसम्बरमा पश्चिम बंगाल गृहपरिचारिका कल्याण समितिले गृहपरिचारिकाहरूको हक र अधिकारको लडाई शुरू गरेको छ। जति जति शहरहरू बढ्दैछ घरमा काम गर्ने मानिसहरूको आवश्यक्ता पनि द्रूत गतिमा बढी रहेको छ। यसैले यत्रो विराट संख्या भएको कार्यशक्तिको एउटा सङ्गठित आवाज त हुनै छ। उनीहरूले ट्रेड युनियन गर्ने अधिकार पाउनु पर्छ। समस्या के छ भने उनीहरूको कामको कुनै सठीक वा स्थिर ज्याला छैन। जसले जे दिन्छ त्यहि लिनुपर्छ। युनियनद्वारा नै उनीहरू न्युनतम ज्यालाको माँग गर्न सक्छन्। ठिक समयमा वेतन, समान कामको लागि समान ज्याला, हफ्तामा एक दिन सवेतन छुट्टी, कामको विवरणसहित निर्दिष्ट चुक्ति— यो सबै एक जना श्रमिकको हिसाबले गृह परिचारिकाहरूले पाउनु पर्ने अधिकार हो। यसबाहेक पनि महिला श्रमिकहरूको निम्ति सुत्केरी सुविधा, बिमारी भए चिकित्सा र 60 वर्ष काम गरे पछाडि पेन्शनको बन्दोबस्त हुनु पर्ने हो।
अन्तमा भन्नु खोजेको कुरो के हो भने सबै घर मालिकहरू दुष्ट हुदैनन्। धेरैजना असल परिवारका हुन्छन्, जसले उनीहरूलाई धेरै क्षेत्रमा सहायता पनि गर्छन्, तर उनीहरूलाई अरू श्रमिक जस्तै र विशेष गरेर आफू जस्तै मानिसको हिसाबले हेर्ने दृष्टिकोण बनाउनु अति जरुरी छ। कुनै पनि मानिस शारीरिक, मानसिक हिसाबले स्वस्थ्य छ भने मात्रै राम्ररी काम गर्न सक्छन्। तर उनीहरूलाई त्यसको आजादी छैन। बिमारी भए पनि, मन दुखे पनि, आँधी बतास आए पनि उनीहरू काममा पुग्नै पर्ने बाध्यता छ। कुनै लिखित कामको बयान नभएकोले मालिकलाई पनि असुविधा हुन्छ। के दिनु? कति दिनु? कति दिन बोलाउनु? इत्यादि। यदि सङ्गठन भए सबै परिमार्जित र निर्दिष्ट हुन्छ काम दिने र काम गर्ने माझ तनाव कम्ती हुन्छ। अर्को परिवर्तन के गर्नु पर्छ भने उनीहरूलाई शङ्काको दृष्टिकोणले हेर्नु छोड्नु पर्छ। ‘सम्भावित चोर’को संज्ञाबाट उनीहरूलाई मुक्त गर्नुपर्छ। पहिला पक्का सबुत छ भने मात्रै कसैलाई पनि कुनै अपराधको आरोप लगाउन सकिन्छ। तर उनीहरूको प्रसङ्गमा त्यस्तो कुनै कुरै छैन। केही हरायो की उनीहरूलाई चोरको आरोप लगाइन्छ।
गृह परिचारिकाको सङ्गठित हुने कदममा पश्चिम बंगाल गृह परिचारिका कल्याण समितिले 14 दिसम्बरको दिन कलकता धरमतल्लामा गृह परिचारिकाहरूको जीवन-जीविका सङ्गठित हुने अधिकार सम्बन्धित दाबीपत्र लिएर जमायत गरे। यो एउटा खुबै उत्साहजनक र आशाजनक पहल हो। आशा छ चाडै नै यी अदृश्य कारीगरहरूले आफ्नो अस्तित्व पाउछन् र आफ्नो श्रमको उचित मूल्य र सम्मान पाउछन्।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...