Monday, February 5, 2018

नयाँ पिडीको पुरानो गाउँ



भरत चाम्लिङ्ग ‘भास्कर’, डाँडा गाँउ, रिम्बिक

भर्खरै विदेशबाट आएको छ सागर। आफ्नो देशसँगको तुलनामा अवश्य पनि उसले कमाएर ल्याएको बिदेशी मुद्राको मुल्याङ्कन धेरै नै छ। विदेशबाट आउनसाथ गाउँ छोडेर शहर पस्ने परम्परागत सोच पनि उसँग बिद्यमान छदैछ। ‘उफ! यो गाउँ ठाउँमा के नै छ र? बस्नु।’— यो अर्थहीन डायलग जो अन्यत्र गएर आएका युवाहरूमा प्रचलित छ, सागरमा पनि त्यही छ।
यसो गाउँलाई हेर्छ— थकित र अस्तव्यस्त गाउँ। नयाँ पिडीले नयाँ सोच जन्माउन नसकेको विवश गाउँ। कसरी नवीनिकरण हुन्छ यो गाउँ? जब कि सृजनात्मक शक्तिको स्रोत युवाहरू नै बर्षेनी पैसा कमाउन, ऐश-आरामको जीवन गुजार्ने उदेश्य लिएर गाउँलाई त्यागेर हिडेपछि। रहेको छ उही हाम्रा— धने, मने, बिर्खे जस्ता पुराना ढांचाका गाउँलेहरू। उनीहरू न बाहिर जान सक्छन् न बसेर गाउँको निम्ति केहि गर्न सक्छन्। बिचाराहरूमा त्यो हविगत नै छैन।
सागरले अझ देख्छ— अलि अलि रहेको गाउँको हरियाली पनि ग्लोबल वार्मिङ्गको प्रकोपले उजाड भइसकेछ। परिश्रमी हातहरू सबै नै मरिसकेछन् तर यी सब शोषणले हो कि अल्छिपनले, केहि बुझ्दैन सागर। अब कसले पुन: ती हरियाली फर्काइ ल्याउने? राजनैतिक पार्टीको झण्डाहरू चाहिँ धेरै नै फेरिसकेछ। तर
अफसोस्! गाउँलेहरूको अवस्था भने ‘माछा माछा भ्यागुता’ नै रहेछ। यहाँका जनताहरू नेताको मिठो तर कहिले पूर्ण नहुने भाषणको आश्वासनहरूमा मात्रै आखिर कहिलेसम्म ताली पड़काइरहने?
यत्तिकैमा गाउँको बृद्ध बुजुर्ग मन बहादुर आइपुग्छ, लट्ठी टेक्दै। केहिबेर खोकेपछि सागरलाई भन्छ— “ओहो! साह्रै पो घोरिएर बसिस् त! ए सागर नानी! पैसा त खूब ल्याइस् होला नि विदेशबाट। अब (लट्ठीले देखाउदै) उँधो शहरतिर नै त पस्ने मेलो गर्दैछस् होला होइन? हुन पनि यहाँ के छ र? पर... तल्लो घरको राकेश शहर पसेको कति भयो? कस्तो बनिएर बसेको छ हरे! गाड़ी, बडेमानको घर, नोकर चाकर सबै छ भन्छ। छोराहरू कोइ डाक्टर, इञ्जीनियर खै के के हो के के? बनायो भन्छ। ल ल म गएँ है नानी।”
यसरी बोल्दै बृद्ध प्रस्थान हुन्छ। सागरको प्रतिक्रियाको कुनै वास्ता नगरी।
सागर पनि केवल हाँ, हजुर, हवस् जस्ता साधारण औपचारिक शब्दहरू मात्र बोलेर बृद्ध मन बहादुरलाई बिदा दिन्छ। फेरि उही विचारमा डुब्छ।
हो त हाम्रो सबै दाज्यु-भाइहरू डाक्टर, इञ्जीनियर, बिजिनेसम्यान जस्ता पेशाहरूमा अन्यत्र गइ सेटल भइसके। यद्यपि सागरको मनभित्र गहन प्रश्न उठ्छ— तर गाउँलाई चै के उपलब्धि भयो? यो उन्नती त उनीहरूको लागि मात्रै हो।
बिस्तारै सागरको मन बिचलित साथै परिवर्तित हुँदै जान्छ। यहाँ के छ र बस्नु? जस्ता शर्मनाक डायलग बोल्दै गाउँ छोड्ने कर्तव्यहीन र जिम्मेवारहीन पिडी प्रति धिक्कार्न मन लाग्छ। उ स्वयम पनि त्यही बाटो हिड्न तैयार थियो। कसले के राखेको छ र गाउँमा? युवा शक्तिले पो बनाउनु पर्छ त गाउँलाई। बस्ने लायकको बनाउनु पर्छ आफू बस्ने ठाउँ।
बस् अब सागर अन्तिम निर्णयमा पुग्छ—  म यहिँ बस्छु। ऐश आराम तथा आडम्बरी जीवनको प्रलोभन दिने आधुनिकताको मुखौटो ओडेको परदेशभन्दा खून पसिना बहाई अटुट सम्बन्ध राखेको मेरो गाउँलाई नै माया गर्छु। यहाँको हरियाली फर्काइल्याउछु।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...