Sunday, February 18, 2018

6 दिसम्बरको कालो इतिहास फेर्ने प्रण गरौँ


अम्बिका राई      

आज भन्दा 25 वर्ष अघि,  6 दिसम्बर सन् 1992 को दिन राम मन्दिर निर्माणको नाममा बाबरी मस्जिद ध्वस्त पार्दै भारतको हिन्दुत्ववादी-फासिवादी शक्तिले हिन्दुराष्ट्र गठनको लक्ष्य देश अघि राख्यो। यो हिन्दुत्ववादी हिंसक लक्ष्यमा आज आम मानिसहरू विभिन्न प्रकारका आक्रमणका शिकार भइरहेका छन्। 6 दिसम्बरको बाबरी मस्जिद काण्डको ठिक दुइ वर्षअघि भारतीय जनता पार्टी नेता लालकृष्ण अडवाणीले रथयात्राद्वारा देशभित्र साम्प्रदायिक विभाजनको माहौल तयार पारेका थिए। बाबरी काण्डदेखि साम्प्रदायिक राजनीतिमा सक्रिय भएको भाजपाले आजसम्म पनि हिन्दु-मुसलमान विभाजनको राजनीति नै गरिरहेको छ।
प्राय 25 वर्षदेखि भारतमा लागु भएको नव-उदारवादी अर्थनीति तथा भूमण्डलीकरण (ग्लोबलाइजेसन)को नीतिहरूले आममानिसको दैनिक जीवनमा नै नराम्रो प्रभाव पारिरहेको छ। आर्थिक सङ्कट, महंगाई, बेरोजगारी जस्ता समस्याहरूले सम्पूर्ण राष्ट्र नै तनाउमा छ।  त्यसबाट मुक्ति खोजिरहेका छन् खटीखाने मानिस, बेरोजगार युवासाथै अनगन्ती जनता। तर सत्तामा आउन अघि भाजपाले आम मान्छेकै हितको कुरा गरेको थियो। रोजगार दिने वाचा गऱ्यो। आर्थिक सङ्कटबाट मुक्त गर्न प्रत्येक व्यक्तिको खातामा 15 लाख जम्मा हुने झुटो सपना देखायो। सत्ता हत्याउनका लागी भाजपाले जम्मै प्रकारका झुटो आश्वासनहरू दिएको थियो। यसै झुटो आश्वासनको भरमा नै भाजपा सत्तासीन भएको छ।
उल्लेखनीय छ, यो भाजपा फासिवादी आरएसएसको संसदीय शाखा हो, जसले ब्रिटिश-विरोधी स्वतन्त्रता सङ्घर्षमा देशवासीसँग गद्दारी गरेको थियो। तर त्यही आरएसएस र भाजपाले आज ढोङ्गी राष्ट्रवादको नारा लगाइरहेको छ। सत्ता चढ्ने क्रममा अहिले भाजपाले देशका ठुल्ठुला पुँजीपति-कर्पोरेटहरूका साथ पनि पाइसकेको छ। -आफ्ना सङ्कटबाट मुक्त हुन कर्पोरेटहरूले यस्तो दललाई नै राज्यसत्तामा ल्याउन चाहेको थियोजसले उनीहरूका सबै अवैध कारोवारहरूलाई वैधता दिनेछ। दमन र विभाजनद्वारा श्रमजीवी र गणतान्त्रिक मानिसहरूका प्रतिवाद-प्रतिरोधलाई रोक्ने क्षमता राख्ने दललाई नै पुँजीपतीहरूले सत्तामा राख्ने गर्छ। यसैले फासिवादी आरएसएस-बीजेपी आज पुँजीपतीहरूको प्रिय दल साबित भएको छ। सन् 2014 मा सत्तामा आएदेखि आरएसएसको षडयन्त्रद्वारा समाजमा जातीय ध्रुवीकरण र विभाजन ल्याउन बीजेपी नेता-मन्त्रीहरूले घर-वापसी, लभ-जिहाद, गोरक्षा आदिको नाममा मुस्लिमहरूमाथि आक्रमण, दलित-आदिवासी-महिलाहरूमाथि अत्याचार, देशप्रेमको नाममा आममानिसका लान्छना, क्षेत्रीय दङ्गा उक्साउन जस्ता अभियानहरू चलाइरहेका छन्। यता ब्यांक, बीमा, रेल, तेल, शिक्षा, स्वास्थ्य, राष्ट्रिय उद्योगहरूका व्यापक निजीकरण, नोटबन्दी, सामाजिक सुरक्षाको कैयौँ सब्सिडी फिर्ता, ट्याक्सको ढाँचा बदलिएर जीएसटी लागु आदिद्वारा भाजपा सरकारले कर्पोरेटहरूलाई बेलगाम लुठको मौका दिइएको छ। युवाहरूले बेरोजगारीको समस्या झेली रहेका छन्। आम जनता स्वास्थ्य-शिक्षाको अधिकारबाट बञ्चित छन्। पेट्रोल-डिजेल-ग्यास-मट्टीतेल-आवश्यकीय सामग्रीको आकाशछुइने महंगाईको मार्कामा परिरहेका छन् देशवासी। देशको नागरिकलाई चौतर्फी अत्याचार गरेर पनि यो फासिवादी र साम्प्रदायिक सरकार ढुक्कसँग बसेको छैन। जम्मै गणतान्त्रिक मूल्यहरू ध्वस्त गर्न गोविन्द पानसरे-गौरी लंकेशहरूका हत्या गरिन्छ। सरकारको आतङ्ककारी नीति विरूद्ध आवाज उठाउनेहरूलाई जेलमा थुनिन्छ। आम मानिसको सपना र चाहनाहरूमा गोली ठोक्न राज्य आतंक गरिन्छ। देशको मिडियालाई निकम्मा बनाइन्छ। राष्ट्रमा पुलिसको गुण्डाराज कायम गरिन्छ। आफ्नो फासिवादी तानाशाही कायम गर्न गणतान्त्रिक मुल्य र गणतान्त्रिक संस्थानहरू बलजप्ती भत्काइन्छ। इतिहासलाई परिवर्तन गर्ने प्रयास गर्छ र एउटा भयको माहौल तयार पार्छ। जस्तो किएक सुचनाविहीन इमर्जेन्सी!
तर फासिवादी नीतिले जतिनै अत्याचार गरे तापनि आम जनता भने मौन बसेका छैनन्। तानाशाही सरकारको आतङ्ककारी नीति विरूद्ध मानिसहरू सङ्घर्षमा निस्किरहेका छन्। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनकै प्रसङ्गमा पनि यसचोटी पहाड़वासीले राज्यको आतङ्ककारी चरित्रसँगै केन्द्रको भाजपा सरकारको धोकेवाज राजनीति पनि बुझेका छन्। देशका खटिखाने मानिसहरू भने आतङ्ककारी सरकार विरूद्ध नाना तरिकाले सङ्गठित हुन थालेका छन्। देशव्यापी किसानहरूको विरोध, दलित-आदिवासीहरूको नयाँ नयाँ सङ्गठित रूप, दल-मत-पेशा निर्विशेष रूपमा मजदुरहरूको एकवद्ध लडाईहरू नयाँ सङ्घर्षको संकेत हो। यसैले साम्प्रदायिक-फासिवादी आरएसएस-बीजेपीको यात्रालाई रोक्न हामी सचेत हुन जरूरी छ। शासक र शोषकहरूका अनुयायीहरूको चक्करमा फस्नु हुँदैन। दैनिक रूपमा देख्दै आइरहेको सत्ताको चलखेलले हामीलाई यो कुरा स्पष्ट पारिसकेको छ कि शासक र शोषकहरूका दलहरू अनि राज्यहरूमा सत्तारुढ सरकारहरू जनताका मित्र होइनन्। यी जम्मै जनताका शत्रु हुन्।
यसैले इतिहासमा कालो दिनको रूपमा चिनिने 6 दिसेम्बरलाई साक्षी राख्दै यो प्रण गर्न जरूरी छ कि मजदुर-किसान, उत्पीडित राष्ट्रियता अनि हेपिएका दलित-बहुजन-आदिवासी-अल्पसङ्ख्यक-नारी-लैङ्गिक प्रान्तीयहरूका विस्तृत गठबन्धनले नै हामीले आफू अनुकुलको समाज निर्माण गर्नेछौँ।

No comments:

Post a Comment