Saturday, February 10, 2018

चुनौतीको कसौटीमा नारी सशक्तिकरण


बबिता मादेन छेत्री

वर्तमान पूरा विश्व नै प्रतियोगितात्मक होडमा उन्नतिको शिखर छुन दौडिरहेको छ। विज्ञान, साहित्य, राजनीति यस्ता कुनै क्षेत्र छैन जहाँ उन्नतिले आफ्नो छाप नछोडेको होस, यही वैश्विक स्तरको उचाइमा पुग्न भारत पनि पछि छैन। केवल केही वर्षको अन्तरालमा विश्वमा भारतको शक्तिशाली पदार्पणले बधाई र प्रशंसाको पात्र बनिरहे तापनि केही यस्तो प्रसङ्गहरू पनि छन् जसको कारणले देशले आलोचनाको शिकार पनि हुनुपर्दैछ।
आफ्नो प्राचीन सभ्यता, संस्कृति, धर्म र परम्पराहरूसँगै भारत एक पुरुषवादी राष्ट्रको रूपमा जानिन्छ। भारतीय समाजमा लैङ्गिक भेदभावका समीकरण बद्लिरहेको भए पनि समस्या यथावत नै छ। परम्परा नराम्रो होइन यसको जगेरा हुनुपर्छ तर परम्पराको नाममा समाजको एक अंशमाथि अप्रत्यक्ष हमला हुन्छ भने त्यो परम्परा समाज हितको निम्ति कदापि सही हुँदैन।
भारतीय संविधानको प्रावधान अनुसार महिलाहरूलाई केही बराबरको र केही विशेषाधिकारहरू प्रदान गरिएको छ। देशमा महिलाहरूको खस्किन्दो अवस्थालाई मध्यनजर राखेर संविधानले दिइएको अधिकारप्रति अधिक जागरूक गराउन राष्ट्रिय महिला सशक्तिकरणको नीतिलाई पनि अंगालेको छ। केन्द्र सरकारले महिला उन्मुक्तिको धाराहरूलाई समाजमा सही दिशा दिन समय-समयमा विभिन्न परियोजनाहरू लागु गरी नै रहन्छ। राज्यहरू द्वारा पनि आफ्नो नवीनतम योजनाहरू कन्या र महिलाप्रति समर्पित गरेका पाउछौँ।  विभिन्न सङ्घ-संस्थाहरूले पनि महिलामुखी कार्यक्रम विस्तारमा सहयोग पुऱ्याइ नै रहेको छ। तथापि प्रश्न यो उठ्दछ कि सरकार प्रशासनको अथक परिश्रम पश्चात् पनि किन महिला हिंसामा कमी आएको छैन? आज जमाना जुन रफ्तारमा हिड्दैछ, जुन उपलब्धिहरू हासिल गर्दैछ, त्यो महिला-पुरुषको समान भागिदारीको प्रतिफल हो। यो कुरालाई स्वीकार्नु पर्छ कि समाजकीय धरातलको निर्माणमा स्त्री-पुरुष दुवैको योगदान समान छन्। समाजले महिलाहरूलाई हेर्ने परिदृश्यमा परिवर्तन आइरहेको छ। तर जमाना जति विकसित त्यति नै धेर तक्निकी अनि त्यसलाई दुरुपयोग गर्ने मानसिकता पनि त्यति नै प्रबल, तब सबै प्रश्नहरूको जवाब यही भित्र खोज्नु पनि स्वाभाविक हुन जान्छ कि विज्ञानका प्रशस्त उपलब्धिहरूले मानवसमाजमा विकास र विनाशलाई एकैसाथ दोहोऱ्याएर लगिरहेको छन् त?
पुरातन परम्परावादी संस्कार र परिवर्तनकारी आधुनिक सोचहरू बिच आजका महिला साँच्चै सशक्त छन्? कालान्तरको पर्दा भित्रको जीवनदेखि आधुनिक समयसम्म आइपुग्दा समाजका सबै वर्गका महिलाहरूले समान उपलब्धि हासिल गरेका छन् त? वर्तमान समयमा सरकारद्वारा चलाइएका महिला उत्थानका कार्यक्रम र योजनाहरू सबै स्तरका महिलाहरूले उचित ढङ्गमा लाभ उठाउन सकिरहेका छन् के ? हामी माझ यस्ता अनेकौँ प्रश्नहरू छन्। जसको उत्तर अनिश्चितको घेरोदेखि बाहिर निस्कन सकेको छैन।
 आज समाजमा व्याप्त असमान आर्थिक शैली, निरक्षरता, कतिपय रुढिवादी प्रथा र शहरी-ग्रामीण जीवन बिचको दुरिले पनि महिला दुर्दशाका बाटोहरूलाई खुल्ला राखेको छन्।
सबै भन्दा ठुलो दुर्भाग्यको कुरा त यो छ कि आज नारी सशक्तिकरणका मुद्दा दुई धारामा बाटिदै गइरहेका छ। सरकारको परियोजना, महिलाप्रति संवेदनशील कानुनहरू, अधिकार र जागरूकता अभियान केही ठुला शहर र उच्च वर्गमा सीमित छ। ग्रामीण, पछौटे र अल्पशिक्षित महिलाहरू आज पनि आफ्ना अधिकार र सुरक्षाका निम्ति सङ्घर्षशील छन्। आधुनिकताको खाल ओडेर भ्रममा बाच्ने समाज र प्रशासनले यो कुरा बुझ्नु सक्नुपर्छ कि जबसम्म समान स्तरमा नारी मुक्तिको उठान हुँदैन, नारी शोषणका घटनाहरूमा कमी आउदैन। समाजमा नारी पुरुष समान अधिकारका हकदार छन् भन्ने कैयौँ लिखित-अलिखित तर्कहरू प्रस्तुत गरिए तापनि कथनी र करनीमा फरक पाउछौँ। यो फरकलाई मेटाउनु पनि वर्तमान गत्तिलै चुनौतीको रूपमा रहिआएको छ।
जमाना बदलिँदो परिवेशसँगै अघि बढिरहेको भए पनि विचारधारा रुढीवादी परम्पराहरूद्वारा जकडिएको छ। दहेज प्रथा, घरेलु हिंसा, भ्रुण हत्या , यौन हिंसा, बलात्कार आदि - आदि जस्ता विषयहरूले महिला अस्तित्वमाथि प्रश्न चिन्ह लगाइ नै रहेका छन्। आजको तारिखमा हेर्नू हो भने लैङ्गिक असमानता भारतमा गम्भीर समस्याको रूपमा देखा पर्दैछ। गर्भ मै मेटिरहेको छोरीको अस्तित्व नारी सशक्तिकरणको मार्गमा बाधा मात्र होइन भयानक चुनौती पनि साबित हुँदै गइरहेको छ। भन्नको लागि त हामी एक्काइसौँ शाताब्दीको जेट युगमा बाचीरहेका छौ तर जब कुरा वंश बिस्तार जस्ता रुढीवादी विचारधाराको आउँछ तब लिङ्ग भेदमा मूल्याङ्कन गर्ने हाम्रो मानसिकता हटेको छैन। जब एउटी स्त्रीलाई जन्म लिने अधिकारबाटै वञ्चित राखेपछि नारीलाई सशक्त बनाउने र ठुलो ठुलो अधिकारले सुशोभित गर्ने कुराले के महत्त्व राख्लान र!
ग्रामीण इलाकातिर कमजोर आर्थिक स्थिति, कम शिक्षा र रुढीवादी प्रथाहरूलाई कन्याभ्रुण हत्याका सामान्य कारणहरू मानिए तापनि अति विकसित ठाउँ र सभ्य समाजमा पनि यस प्रकारको निन्दनीय क्रियाकलापले जरा गाडी नै रहेको छ। सरकार-प्रशासनद्वारा यस्ता अनैतिक कार्यलाई जति नै निषेध गरे पनि जबसम्म समाजले आफ्नो धारणामा परिवर्तन ल्याउदैन यो सिलसिला थामिने छैन।
आज मानव सभ्यता जुन द्रुतगतिमा अघि बड्दैछ त्यही रफ्तारमा नारी शोषणका घटनाहरूमा पनि वृद्धि भएर जाँदैछ। आधुनिकताले शोषणका तरिकालाई पनि बद्लाएका छन्। जहाँ हिजोसम्म घरका चार दिवार भित्र हुने घटनाहरू आज खुल्ला सडकमा हुनेगर्छ।  एउटी स्त्रीको आचलमा प्रकृतिले असीमित अधिकारहरू प्रदान गरेको भए तापनि मानव निर्मित नियम र बन्धनहरूले नारीलाई अधिकार, क्षमता र मूल्याङ्कनको रेखाबाट माथि उठ्न दिदैन। जति नै अस्वीकार गरौँ तर आज पनि एउटी स्त्रीको बारेमा धारणा बनाउन समाजले दुईपल्ट सोच्ने जरुरत सम्झदैन। मान-मयार्दाका सबै सीमारेखाहरू केवल स्त्रीका निम्ति निर्धारित गरिन्छ। शालिनता र उत्श्रृंखला बिचको दुरीलाई समाजले तय गर्दछ। यी नियमहरू बनाउछ अनि समाज स्वयमले बिगार्दछ पनि। प्रत्येक युगमा नारी शोषणको शिकार हुँदै आइरहे तापनि लाचार उ कदापि थिइनन्। विचारको विकासले पीडित समाज र परिवारमा आश्रित जिन्दगी कसैको पनि रोजाइ हुनु सक्दैन तर यो बाध्यतालाई मजबुरीको नाम दिएर उसलाई अबला बनाइ राख्नुमा हाम्रै समाजको ठेकेदारहरूले महत्त्वपूर्ण भूमिका निभाइरहेका हुन्छन्। 
मुद्दा चाहे राजनैतिक होस् या सामाजिक जब विषयले गम्भीरता पक्रन्छ  यसले विवादका एक कुनालाई छोएर जान्छ। सत्यता त यो पनि हो कि आज नारी शोषणको निम्ति नारीहरू नै पनि उत्तिकै जिम्मेवार छन्। यसलाई युगौसम्म उसको शोषित मानसिकताको परिणाम भन्ने कि नारी सशक्तिकरणको उपलब्धि? झुटा शान र आडम्बरको दुनियामा आफैलाई बिराजमान गराउन नारीले पनि आफ्नो ताकतलाई यहासम्म बडायो कि जीवन दिएर जीवन हर्ने अधिकार पनि स्वयमले लिन थाले।
एउटा औरतको विरुद्धमा औरतद्वारा उठाइएका यस्ता अनुचित कदमहरू अवश्य पनि कुन्ठित विकृतिको परिणाम हो कि भनेर सोच्न बाध्य गराउछ।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...