Monday, March 11, 2019

सर्वहारा नारी (सन १९१४मा लेखिएको निवन्ध)

रोजा लुक्सेमबर्ग
नेपाली अनुवाद : संगीता खेवा



पोल्यान्डमा जन्मिएकी अनि जर्मनी तथा त्यस्ताका युरोपको कम्युनिस्ट आन्दोलनको वरिष्ठ नेत्री थिइन् रोजा लुक्सेमबर्ग (१८७१-१९१९)। क्रान्तिकारी भूमिका अनि क्रान्तिको बाटो लगायत नारी मुक्ति, राष्ट्रियता, अर्थशास्त्र आदि विषयहरूमाथि उनको लेखहरू अहिलेसम्म पनि संसारभरि धेरै श्रद्धासाथ सम्झिन्छ। आफ्ना जीवनकालमा उनी धेरै पल्ट जेल बसिन्— सन १९०४ देखि १९०६ सम्म, फेरि प्रथम विश्वयुद्धको विरोध गर्दा थप साढे तीन वर्ष, अनि अन्तमा १९ जनवरी १९१९मा फाँसीवादी शक्तिहरूको हातमा रोजा लुक्सेमबर्ग अनि अर्को महत्त्वपूर्ण कमरेड कार्ल लिब्नेख्टको हत्या भयो। रोजा लुक्सेमबर्गको अतुलनीय लेखनशैलीले गर्दा विभिन्न विषयमाथि उनको रोचक लेखनहरू पाइन्छ। उनको शहादतको शतवार्षिकीमा श्रद्धाञ्जली स्वरूप लाली गुराँस पत्रिकाको यस अङ्कमा नारी मुक्ति आन्दोलन र यसको विभिन्न धारामाथि चलेको बहसहरू मध्ये एउटा सान्दर्भिक लेखको नेपाली अनुवाद प्रस्तुत गर्दछौँ। 

श्रमजीवी नारी दिवसदेखि ‘सोसल डेमोक्रेसिको हप्ता’ सुरु भएको छ। उतराधिकारदेखि वञ्चितहरूको पार्टीले समाजवादको बिउलाई नयाँ नयाँ क्षेत्रमा छर्न हप्ताभरिको लागि आफ्नो नारी वाहिनीलाई युद्धभूमिको पहिलो कतारमा खडा गरी दिएको छ। नारीहरूका निम्ति राजनैतिक समानताको आवाज तिनीहरूले पहिल्यै दिएका हुन्, किनभने तिनीहरूले समग्र श्रमिक वर्गको हितको पक्षमा नयाँ समर्थकहरूलाई जित्ने प्रस्तुति लिँदै छन्। 
वर्तमानमा, जनसमाजमध्ये आधुनिक ज्यालादारी सर्वहारा नारीहरू नै त्यसर्थ मजदुर वर्गमध्ये अग्रणीहरू हुन् अनि त्यससित नारी समाजको अग्रदूत पनि तिनीहरूनै हुन् भनेर हजारौँ वर्षमध्ये पहिलोपल्ट अब देखिँदै छ। 
उहिल्यैदेखि जनसाधारणमध्ये नारीहरूले जहिले पनि कठोर परिश्रम गरेका छन्। आदिम जनगोष्ठीमा तिनीहरूले भारी बोझहरू बोक्थे, खाद्य सङ्ग्रह गर्थे, आदिम गाउँ-बस्तीमा तिनीहरू लुगा बुन्थे र खेतीपाती गर्थे, तथा माटोको भाडा-कुँडा बनाउँथे। प्राचीन समाजमा दासको रूपमा तिनीहरूले आफ्नो मालिकको सेवा गरेका छन् अनि मालिकको छोराछोरीलाई आफ्नो स्तनपान गराएका छन्। मध्ययुगमा तिनीहरू प्रभुत्वशाली मालिकहरूको तांतघरमा श्रम दिन्थे। तर व्यक्तिगत सम्पत्तिको प्रचलन भएदेखि नारीहरूका अधिकांश भाग नै सामाजिक उत्पादनको विशाल कार्यशालादेखि टाढा बसेर काम गर्न बाध्य बने, त्यस कारण टाढियो संस्कृतिदेखि पनि, अनि गरिब पारिवारिक जीवनको सङ्कीर्ण घरेलु खोपिल्टामा बन्द भएर बस्नु पऱ्यो। केवल पुँजीवादले नै तिनीहरूलाई प्रथमपल्ट परिवारबाट तानेर बाहिर निकाल्यो, अनि सामाजिक उत्पादनको जुवामुनि स्थापित गरिदिए, अन्यान्य कार्यक्षेत्रमा जान बाध्य गरे, कार्यशाला, गृह निर्माण, अफिस, गोदाम अनि कारखानाहरूतिर पठाइदिए। अर्कोतिर, एक जना बुर्जुवा नारी समाजको परजीवी मात्र हुन्, जसको काम हो शोषणबाट उब्जेको फलमा आफ्नो भागीदारी बनाउनु। एक जना पेटी-बुर्जुवा नारी परिवारमा काम गर्ने घोडा हुन्। तर एक जना आधुनिक सर्वहारा नारी नै एउटा मानिसको रूपमा गन्ती हुन्छन् किनभने केवल सङ्ग्रामले नै कुनै मानिसलाई संस्कृतिको निम्ति, मानव इतिहासको निम्ति केही योगदान राख्न तयार पार्छ। 
सम्पत्तिको मालिक बुर्जुवा नारीका निम्ति उनको घर नै उनको संसार हो, तर सर्वहारा नारीका निम्ति उनको घर हो सारा संसार— दुख अनि आनन्द भरिएको संसार, चिसो निष्ठुरता अनि क्रूर आकार बोकेको संसार। सर्वहारा नारीहरूले इटालीदेखि स्विजरल्याण्डसम्म सुरुङ खन्ने श्रमिकहरूसँग हिँडेका छन्, आफ्ना झुपडीमा जम्मै आवश्यकीय कुरालाई जुटाएर क्याम्प झैँ बनाएका छन्, नानीको लुगाहरू धोएर सुकाउँदा गीतको धुनहरू गुनगुनाएका छन् जब छेउमै डाइनामाइट विस्फोटले पहाडका पाखाहरू हावामा हराउँदै थियो। एक जना मौसमी कृषि मजदुरको रूपमा उनी चिटिक्क बाटेको केशमा लुगा बाँधेर आफ्नो कुम्लो कटेरो बिसाएर व्यस्त रेल स्टेसनमा बसिरहन्छन्, अनि धैर्यसाथ आफैलाई पूर्वदेखि पश्चिमतर्फ लैजाने रेलको प्रतीक्षा गरी रहन्छन्। जहाजको डेकमा नाना भाषी भोको पेट सर्वहारा जनतामाझ बसी तिनी सङ्कटदेखि उब्जेको दुर्दशालाई प्लावित गर्ने प्रत्येक तरङ्गसाथ बग्दै युरोपबाट अमेरिका जान्छन्। यसरी जब अमेरिकाको कुनै सङ्कटले युरोपमा बनिएको त्यसको खास दुर्दशातर्फ उल्टा स्रोतको छाला भएर फर्कन्छ, त्यो नारी पनि फर्कन्छन्— नयाँ आशा-निराशासाथ नयाँ काम अनि रोजीरोटीको खोजीमा।
बुर्जुवा नारीहरूलाई राजनैतिक अधिकारका निम्ति कुनै विशेष आग्रह छैन, कारण उनले समाजको अर्थनैतिक क्रियाकलापमा कुनै प्रकारको भूमिका लिँदैनन्। किनभने, उनले आफ्नो श्रेणी आधिपत्यको हैसियतले तयार पारेको सुविधाहरू उपभोग गरिरहेका हुन्छन्। नारी समानताको आवाज जब बुर्जुवा नारीहरूबाट उम्लिन्छ, त्यो केवल कतिपय वस्तुगत स्रोत विहीन दुर्वल समूहको धरातल विहीन आदर्शको रूपमै देखा पर्छ, जुन पुरुष र नारीबिच छद्म मतभेदको देखावटी मात्र हो। नारीको मतदान अधिकारको आन्दोलन यसै कारणले हास्यास्पद भएर देखा पर्छ।
सर्वहारा नारीलाई राजनैतिक अधिकार चाहिन्छ, किनकि उनीहरू पनि समाजमा पुरुष श्रमिक झैँ एउटै अर्थनैतिक क्रियाकलापमा लिप्त छन्, एकै प्रकारले पुँजीको निम्ति दासत्व गर्छन्, एकै प्रकारले राज्यव्यवस्थाको रेखदेख गर्छन् र उल्टा त्यसबाट नै दमित र शोषित हुन्छन्। आफ्नो सुरक्षा गर्नका निम्ति उनको पनि एउटै प्रकारको स्वार्थ छ अनि एकै प्रकारको हतियार उनले पनि उठाउँछन्। उनको राजनैतिक मागहरू समाजको त्यही गहिराइमा जरा गाडेको छ जहाँ शोषित श्रेणीलाई शोषकहरूदेखि पृथक् गरिन्छ— नारी र पुरुषको विरोधबाट होइन, पुँजी अनि श्रमको विरोधभित्र नै त्यो जरा छ। 
औपचारिक रूपमा नारीको राजनैतिक अधिकारहरू बुर्जुवा राज्यको विचारसँग धेरै अंशमा सामन्जस्यपूर्ण छ। जस्तै— फिनल्यान्ड, अमेरिकाको प्रदेशहरू र कतिपय समुदायहरूको उदाहरणले के देखाउँछन् भने नारी समानाधिकारको नीतिले राज्यहरूलाई अहिलेसम्म कुनै ठेस पुऱ्याएको छैन, न त यसले पुँजीको आधिपत्यमाथि कुनै हस्तक्षेप गर्नु सकेको छ। तर अहिले नारीको राजनैतिक अधिकारको मागहरू खासमा सर्वहारा वर्गकै माग भएकोले गर्दा आजको पुँजीवादी जर्मनीको लागि यो माग ध्वंसको शङ्खघोष झैँ हो। प्रजातन्त्र जस्तै, रक्षा बाहिनी जस्तै, आठ घण्टे श्रम दिवस जस्तै नारीहरूको मतदानको अधिकार पनि समग्ररूपमा सर्वहाराको वर्गसङ्घर्षसँगै मात्र हार्नु वा जित्नु सक्छ। अनि त्यो जीत केवल सर्वहारा सङ्घर्षको तरिकाले र सत्ता कब्जा गर्नसाथ हुन सकिन्छ। 
नारी अधिकारको बुर्जुवा प्रवक्ताहरूले राजनैतिक क्षेत्रमा भूमिका पालन गर्नलाई मात्र राजनैतिक अधिकार निश्चित गर्न चाहन्छन्। तर यसको ठिक विपरीत, सही क्षमताको प्रत्येक इन्चलाई जित्ने गरी सर्वहारा नारीले श्रमिक सङ्ग्रामकै बाटो अनुसरण गर्नु पर्छ, अनि यसरी नै जितिन्छ विधिबद्ध ऐनहरू। प्रत्येक सामाजिक अग्रगतिको सुरुवातमै हातमा मुखपत्र हुन्छ। सर्वहारा नारीले आज राजनैतिक जीवनको बलियो खाँबो समात्नै पर्छ, समस्त क्षेत्रमा आफ्नो सक्रियता देखाएर मात्र तिनीहरूले आफ्नो अधिकारका निम्ति एउटा धरातल पाउन सक्छन्। आधिपत्यकारी समाजले उसको न्यायपालिकाको मन्दिरहरूमा तिनीहरूको प्रवेश अस्वीकार गर्छन्, तर समसामयिक अर्को एक विशाल शक्तिले तिनीहरूका निम्ति आफ्नो दैलो खोलिदिएको छ, त्यो हो— सोसल डेमोक्रेटिक पार्टी। यस सङ्गठनको विभिन्न स्तरका कार्यकर्ताहरूको कतारमाझ सर्वहारा नारीका निम्ति अपरिहार्य राजनैतिक कामकाज तथा राजनैतिक अधिकारको क्षेत्र तयार छ। यहाँ नारीले समान मर्यादा लिएर महत्त्वपूर्ण प्रतिनिधि हुन् सक्छन्। सोसल डेमोक्रेसीको माध्यमले तिनी नारी इतिहासको कार्यशालासँग परिचित हुन्छन्। अनि बुर्जुवा संविधानको लिखित ऐनी अधिकारबाट वञ्चित भए पनि, यहाँनेर नै उसले विशालकाय शक्तिहरूको आघात सहेर आफ्ना लागि सही समानाधिकार जितेर ल्याउँछ। यहाँ पुरुष सरह नारी श्रमिकहरूले वर्तमान सामाजिक ढाँचाको स्तम्भहरूलाई हल्लाइ दिन्छन् अनि अधिकारको मरीचिका अनुमोदन गरिन अघि नै यस समाजको ढाँचालाई टुक्रे इँटामुनि चिहान दिने साहस गर्नेछन्। 
भविष्यको कार्यशालालाई अनेकौँ हात र ऊर्जाशील हृदयको खाँचो छ। नारी दुर्दशाको एक पृथ्वीले सुस्केराको प्रतीक्षा गरिरहेको छ। यता, सानो कृषकको स्वास्नीले जीवनको बोझमुनि परेर झ्ण्डै टुक्रिरहेको छ। उता जर्मनी शासित अफ्रिकाको कलाहरी मरुभूमिमा असहाय सुरक्षा विहीन हेरेरोय नारीको हड्डी टन्टलापुर घाममा नुहाउँदै छ। ती नारीहरू, जो जर्मन सेनाको एउटा दलको हातमा पक्रा परेका थिए, अनि भोक र तृष्णाले व्याकुल भएर भयानक मृत्यु अङ्गालेका थिए। महासागरको अर्कोतर्फ पुटुमायो पहाडको अग्लो चुचुरोहरूको अन्तर्राष्ट्रिय पुँजीपतिहरूको रबर बगैँचामा हराइरहेका छन् संसारले नसुनेको शहीद भएका रेड इन्डियन नारीहरूको मृत्यु चीत्कार। 
सर्वहारा नारीहरू, जो गरिबभन्दा गरिब हुन्, न्यूनतम अधिकार पनि जसको छैन, तिनीहरूले नै पुँजीद्वारा शासनको आतङ्कदेखि नारी एवं मानव मुक्तिका निम्ति द्रुतगतिमा सङ्ग्राममा लागि पर्नु होस्! सोसल डेमोक्रेसीले तपाईँहरूका निम्ति सम्मानको जग्गा दिएको छ। यसैले छिट छिटो युद्धक्षेत्रतिर लाग्नुहोस्।




No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...