Monday, March 11, 2019

‘गान्तोक चलो’-- सिक्किमको स्वास्थ्यका निम्ति सङ्घर्ष

बिपल रसाइली

सिक्किमका प्रगतिशील विचारधाराका विधार्थी अनि युवाहरूद्वारा गठित गरिएको सिक्किम प्रोग्रेसिभ युथ फोरमले गत वर्ष 28 जुलाईको दिन गेजिङमा क्षेत्रका युवा, विधार्थी लगायत नागरिक समाजलाई लिएर विराट जुलुसको आयोजना गरेको थियो। जुलुसमा 2 हजार मानिसहरूले भाग लिएका थिए। रोगीहरूका उपचारका निम्ति जिल्ला अस्पतालमै इन्डियन पब्लिक हेल्थ स्टान्डर्ड (Indian public health standard)- को आधारमा स्वास्थ्य सुविधाहरू उपलब्ध गराइनु पर्ने उनीहरूको मुख्य माग रहेको थियो। एसपीवाइएफले उठान गरेको यी मागहरूलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री अनि विभाग प्रमुखले जम्मै मागहरू तीन महिना भित्रमै पुरा गरिदिने लिखित आश्वासन दिएका थिए। तर आश्वासन पछिको पाँच महिनासम्म सम्बन्धित विभागबाट कुनै पहल नहुँदा एसपीवाइएफले ‘गान्तोक चलो’ नामक कार्यक्रम तय गऱ्यो। 
सिक्किम प्रोग्रेसिभ युथ फोरमको ब्यानरमा गत 20 जनवरीदेखि गेजिङ जिल्लाबाट युवा, विधार्थीहरूको एउटा समूहले गान्तोक चलो यात्रा गरेको थियो। यस अभियानको प्रमुख माग नै ‘सरकारी ऐन अनुसार नागरिकलाई उचित स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने अनि स्वास्थ्य व्यवस्थामा निजीकरण र व्यापारीकरण बन्द गर्नु’ हो। सिक्किमे सर्वहाराका निम्ति प्रत्येक जिल्लामै सुविधायुक्त स्वास्थ्य केन्द्र हुनुपर्ने नारा लगाउँदै गेजिङदेखि लेकसेप, इङदाङ, राबङ्गला, याङयाङ, सिङताम हुँदै सडक मार्ग भएर युवा-विद्यार्थीहरू राजधानी गान्तोक पुगेका थिए। कुल 1 सय 12 किलोमिटर पैदल हिड़ेरै उनीहरू 24 जनवरीको साँझतिर गान्तोक पुगेका हुन्। राजधानी प्रवेश गर्ने क्रममा उनीहरूका पैदल यात्रालाई प्रशासनले रोक्ने प्रयास पनि गऱ्यो। तर नाराबाजी र सङ्ग्रामी गीतहरूका साथमा यी युवा-विद्यार्थीहरू प्रशासनको घेरालाई तोड्दै टाइटनिक पार्क पुगे। त्यहाँबाट पनि प्रशासनले उनीहरूलाई हटाए। पैदल यात्रीहरू अस्वस्थ भइसकेका थिए। तरै पनि सडकमा देखिएका उनीहरूका एकता, मुद्दाप्रतिको कटिबद्धता र सत्ता विरुद्धको सङ्घर्षमा कुनै प्रकारका कमी देखिएन। 

नकारात्मक सोच भएकाहरू
‘सिक्किम एक शान्ति र सम्बृद्ध राज्य हो’ भन्ने सत्ताले निर्माण गरेको ब्रान्डेड विज्ञापन हामीले धेरै अघिदेखि देख्दै आइरहेका हौँ। जैविक खेती अनि पार्यटनको क्षेत्रमा आकर्षण केन्द्र बनिसकेको राज्यमा चाहिँ ‘स्वास्थ्य सेवामा सटिक व्यवस्थापनसम्म पनि रहेनछ’ भन्ने पोल ‘गान्तोक चलो’ अभियानले खोलिदिएको छ। सधैँ सिक्किमको सौन्दर्य पक्षको मात्र भजन गाइरहने बुर्जुवा राजनीति मानसिकतालाई पनि प्रगतिशील युवाहरूका पैदल यात्राले गम्भीर झट्का दिएको छ भन्दा कुनै फरक नपर्ला। प्रशासनिक दुर्बलताबारे औँला उठाउँदै गान्तोकसम्म पैदल हिँडेका युवा-विद्यार्थीहरूले मुख्यमन्त्री समेतलाई चाँप दिए। अन्तमा ‘गान्तोक चलो’बारे मुख्यमन्त्री पावन कुमार चाम्लिङलाई प्रतिक्रिया दिन कर लाग्यो। उनले भने - ‘नकारात्मक सोच भएकाहरू गान्तोक चलो भन्दै छन्।’ पैदल यात्राले तीन दिन पुरा गर्न लाग्दा राज्य प्रमुख चाम्लिङको उक्त बयान दैनिक पत्रिकामा प्रकाशित भयो। सडकमा हिँडिरहेका आन्दोलनकारीहरूबाट रूपेन कार्कीले मुख्यमन्त्रीलाई प्रतिप्रश्न गरे ‘जनतालाई उचित स्वास्थ्य सुविधा नदिनु, पैसाको अभावमा गरिब जनताले सित्तैमा ज्यान गुमाउनु, सरकारी अस्पतालहरूमा ऐन अनुसार स्वास्थ्य सुविधा प्रदान नगर्नु, के यो नै सकारात्मक सोच हो त?

चुपचाप नै गणतन्त्र..?
“राज्यका नागरिकहरू चुपचाप बस्नु चाहिँ गणतन्त्र होइन। हामी चुपचाप बस्नुलाई नै सत्ताले ‘शान्ति’ भनिरहेको छ। ‘सिक्किममा आफ्ना हक अधिकारका निम्ति आवाज उठाउने राजनीतिक संस्कार छैन। सत्तालाई प्रश्न गर्ने, प्रशासनको दुरनीति विरुद्ध आवाज उठाउने, आन्दोलन गर्ने, सङ्घर्ष गर्ने जस्ता राजनीतिक संस्कृति यहाँ छैन। यहाँका शोषित जनता चुप चाप छन्’ पैदल यात्री एनबी घिमिरे सुनाउँछन् ‘सिक्किम सरकार यसैलाई ‘शान्ति’को ब्रान्ड बनाउँछ। ‘एकातिर राज्यमा आत्मा हत्याको सङ्ख्या बढेर गइरहेको छ। आत्मा हत्या घटनाको सूचीमा सिक्किम प्रथम स्थानमा आउँछ। तर अर्कोतिर चैँ सिक्किमले शान्ति राज्यको उपाधि पाइरहेको छ। यो दोहोरो अर्थको सिक्किमले नै यहाँको वर्तमान राजनीतिक व्यवस्थालाई उजागर गरिरहेको छ’ उनी भन्छन् – ‘भारत गणतान्त्रिक देश त हो, तर वास्तविकता र धरातलीय सत्यताले यो देशमा कतिसम्म गणतान्त्रिक छ भन्ने कुरा स्पष्ट हुन्छ। सिक्किमको गणतान्त्रिक अनि प्रजानतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्नका निम्ति पनि आज हामी पैदल यात्रा गर्दै छौँ।

आन्दोलनको दिशा र दशा
20 जनवरीदेखि सुरु भएको पैदल यात्रा गान्तोक त पुग्यो। तर पैदल यात्रीहरूलाई धरना दिने ठाउँ ‘टाइटनिक पार्क’मा बस्न दिएन। प्रशासनले उनीहरूलाई बाँधा दियो। यसको विरोध गर्दै पैदल यात्रीहरूले राज्यको उच्च न्यायालयअघि धरना सुरु गरे। उनीहरूमाथि प्रशासनिक दबाब तीव्र थियो। तर पनि किञ्चित घटेन उनीहरूका सङ्घर्षशील मनोबल। क्रमिक धरनाको 6 दिनपछि पैदल यात्री अनि प्रशासनमाझ बैठक हुने भयो। 29 जनवरी राती 12 बजी जिल्ला मुख्यलयमा फोरमका कार्यकर्ताहरू बैठकमा बसे। जसमा स्वास्थ्य मन्त्री, विभागीय निर्देशक, सचिव लगायत विभागीय अघिकारीहरू उपस्थित थिए। आन्दोलनकारी र प्रशासनिक अधिकारीहरूमाझ बहस चल्यो, चर्चा भयो। यसको लाइभ फुटेज सामाजिक सञ्जालमा पनि सार्वजनिक गरियो। फोरमको मुख्य माग हो ‘राज्यको जम्मै जिल्लाहरूमा इन्डियन पब्लिक हेल्थ स्टान्डर्ड (Indian public health standard) को नम्स् अनुसार प्रत्येक नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गरिनुपर्छ’। तर बैठकमा केवल केही डाक्टरहरू मात्र उपलब्ध गराउनेमा विभागले आश्वासन दियो। यो आश्वासनसँग आन्दोलनकारीहरू सन्तुष्ट छैनन्। 
लामो पैदल यात्रा अनि क्रमिक धरनका कारण धेरै आन्दोलनकारीहरूका स्वास्थ्य बिग्रँदै थियो। फोरमका केही सदस्यहरू अस्पताल भर्ती पनि भए। यही कारणले गर्दा हाल उनीहरूले आफूहरूको आन्दोलनलाई केही समयका निम्ति सुस्त राखेका छन्। तर फोरमले आउने दिनमा राज्य व्यापी रूपमा पुन आन्दोलनको घोषणा गर्ने दाबी गरेको छ।
फोरमको ‘गान्तोक चलो’ आन्दोलनको कारण सिक्किम राज्यका विभिन्न क्षेत्रहरूमा जनताहरू सडकमा आउन थालेका छन्। हाल राज्यको विभिन्न स्कुलहरूमा कार्यारत अस्थायी शिक्षक शिक्षिकाहरूले स्थायीकरणको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन्। उनीहरू पनि सडकदेखि विभागीय कार्यालयसम्म पुग्दै धरना दिइरहेका छन्। यसरी नै राष्ट्रिय स्वास्थ्य कर्मचारीहरू पनि स्थायीकरणको माग गर्दै हाल हडतालमा छन्। पाक्योङ हवाई अड्डा परिसरका पिड़ितहरूलाई राज्यले अहिलेसम्म पनि क्षतिपूर्ति नदिएकोमा पीडित जनता सडकमा नै आन्दोलन गरिरहेका छन्। राज्यमा रहेका तेस्रो लिङ्गीहरूले पनि आफूहरूलाई सामाजिक मान्यता दिनु पर्ने भन्दै जुलुस निकाले। सिक्किममा सडक आन्दोनलको सुरुवात सिक्किम प्रग्रेसिभ युथ फोरमले गरेको थियो। यो सडक आन्दोलनपछि केही दिनसम्म सिक्किमको सडक गल्लीहरू नारामय रह्यो। ती नै तरुण नाराहरूले बिस्तारै तोड्दै छन् सत्ताको ‘शान्ति राज्य’को ब्रान्डेड भ्रम।

No comments:

Post a Comment