Tuesday, March 12, 2019

सिद्धान्त र यथार्थ— केहि अनुभूतिहरू

छेवाङ योञ्जन

पार्टी, नेता र कार्यकर्ताहरूमात्र होइन चुनाव भन्नसाथ साधारण जनता समेत घोरिन्छन्। ‘चुनाव कसरी जित्ने?’ भन्ने चिन्तामा पार्टीहरू घोरिन्छ। ‘कसरी सांसद हुने?’ भन्नेमा नेताहरू। ‘दलबाट कसरी फाइदा उठाउने?’ भन्नेमा कार्यकर्ताहरू घोरिन्छन्। ‘जुनै पनि दल सत्तामा पुगे पनि शोषणको अन्त हुँदैन रहेछ’ भन्नेमा चाहिँ साधारण जनता चिन्तित हुन्छन्। राजनीतिलाई यो सिक्वेन्समा हेर्दै साधारण जनतालाई नै बौद्धिक वर्गमा पाउँछौँ। किन कि उनीहरूले आफ्ना अनुभवबाट नै सत्ताको परिभाषा, प्रवृत्ति र संरचना बुझिसकेका हुन्छन्। त्यसैले त महान् समाजवादी दार्शनिक कार्ल मार्क्सले निर्धक्कसाथ भने – “सर्वहारा वर्ग नै क्रान्तिका प्रमुख नायक हुन्”। 
रुसी क्रान्तिका नेता लेनिनले आफ्ना पुस्तक “राज्य र क्रान्ति”-मा वर्तमान बुर्जुवा सत्ताको सुन्दर विवरण गरेका छन्। उनको “राज्य र क्रान्ति” पढ्नु हुँदैछ भने एक क्षण किताब थन्काएर, कोठाबाट निस्किनुहोस् र जानुहोस् खेत खलियान वा कुनै कारखानाका धुलामे गोदामहरूमा। हिम्मत भए गर्मीमा रगत बगाएर खेत जोतिरहेका किसानसँग गफ गर्नोस्। तपाईँ स्वयंले राजनीतिक प्रसङ्ग झिक्नु पर्दैन। तपाईँ परिचय मात्रै साट्नोस् किसान आफ्नैले बताउने छन् ‘राजनीतिक शोषणको अनुभवी कथा’। ‘हो रहेछ दिनरात परिश्रम गरेर पनि हाम्रा किसानहरू आर्थिक शोषणदेखि मुक्त भएका छैनन्’— किसानको कुरा सुनेर तपाईँलाई यस्तो अनुभव भयो भने सम्झिनोस् तपाईँले राज्य र क्रान्ति पढेर सही काम गर्नु भो। 
लेनिन अध्ययन जारी राख्दै भए पनि फुर्सद मिलाएर कुनै दिन पुग्नुहोस् कारखानाको गोदामतिर। नियालेर हर्नुहोस् मिसिन झैँ रफ्तारमा काम गरिरहेका मजदुरहरूलाई। अँ! कारखाना घुम्न अघि चार्ली च्याप्लिनको ‘मोर्डन टाइम्स्’ फिल्म अवश्यै हेर्नुहोला। ध्यानपूर्वक हेर्नुहोस् मदजुरहरूलाई। कारखानामा उनीहरूलाई एक आपसमा आँखा झुदाउने फुर्सद समेत हुन्न। काम गर्दाका उनीहरूका एकतालाई हेर्नुहोस्। कारखानाभित्र तपाईँले मिसिन बाहेक पनि एउटा व्यवस्थित मानव यन्त्र पाउनुहुन्छ। जुन मानव यन्त्र बिना मिसिन चल्दैन, जुन मिसिन बिना यो बुर्जुवा व्यवस्था चल्दैन। 
फर्किँदा मजदुरहरूका हुलसँगै फर्किनुहोस् र सके जानुहोस् उनीहरूले रात बिताउने झोपर-पट्टीसम्मै। अर्धनग्न बाल-बालिकाहरू कुदिरहेका हुनेछन् गल्ली-लगछेडीतिर। दुर्गन्धित पोखरीमा थुप्रिएका हुनेछन् हैजा फैलाउने हरेक फोहोरहरू। तपाईँले उनीहरूको दैलोमा कुनै प्रकारका ताल्चा पाउनुहुने छैन। भित्र पस्नलाई अनुमति पनि चाहिन्न। खाटमा लडिरहेका हुनेछन् परिवारका रोगी सदस्य वा भनौँ भोकले रोइरहेका हुनेछन् नाबालक शिशुहरू। तपाईँ उनीहरूलाई सोध्नु हुनेछ ‘घर किन खुल्लै राख्या हुन्?’ तब उनीहरूबाट सामूहिक उत्तर आउनेछन्— ‘हराउनलाई हामीसँग केही छैन।’ साँझमा कसै-कसैको धुरीबाट धुवा उड्नेछन्। खिचडी, खोले वा रोटी पाक्नेछन्। कतै-कतै लोग्ने-स्वास्नीको कोलाहल सुनिनेछ। नानीहरू चिच्याइ-कराइरहेका हुनेछन्। उनीहरूको घरेलु झगडालाई ध्यान दिएर सुन्नुहोस्। उनीहरूको कोलाहलको प्रमुख बिन्दु देशको अर्थनीति नै हुनेछ। किन कि नुन किन्ने पैसा जोहो नहुँदाको विवाद नै उनीहरूको झगडा हुनेछ। तब तपाईँलाई लाग्छ देशमा बृहत् आर्थिक ध्रुवीकरण भइरहेको छ। ‘शरीरका जम्मै पसिना कारखानामा बगाएर पनि आर्थिक शोषणमा परेका यी मजदुरहरूले ‘राज्य र क्रान्ति’का जम्मै पाठहरू अनुभव गरिरहेका छन् भन्ने’ गम्भीर सोचमा तपाईँ पर्नुहुनेछ। कारण तपाईँ लेनिन पढ्दै हुनुहुन्छ र त्यहाँ उल्लेख गरिएको यो पाठ तपाईँलाई ठिकसँग याद छ— “मात्र संसदीय संवैधानिक राजतन्त्रहरूमा होइन, अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरूमा समेत सत्तारुढ वर्गको कुन चाहिँ सदस्यले संसद्मा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा (हाम्रो देशमा 5 वर्षमा) एकपल्ट निर्णय लिनु (चुनाऊ मार्फत) नै पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो।” 
तब यस्तो अवस्थामा यो व्यवस्थाको विरुद्ध सङ्घर्ष गर्न बाहेक अरू थोक रहन्न। यसैले वर्तमान बुर्जुवा व्यवस्था नै अन्तिम सही हो भन्ने तपाईँ-हाम्रो भ्रम तोड्नु पर्छ। 
पृथ्वीलाई सिमानाले विभिन्न देशहरूमा विभाजन गरेका छन्। यसै सिमानाको भरमा औसरवादीहरूले मानव श्रम लुटेको इतिहास लछेप्रैछ। मानव इतिहाससँग-सँगै समाज विकासको चरणहरू अध्ययन गर्दा थाहा पाउँछौँ। निजी स्वार्थका निम्ति इतिहास-पुरुषहरूले सिमाना कोरे। तब बनियो रङ्गी-बिरङ्गी देशहरू। ठुला देश-साना देश। धनी देश-गरिब देश। मित्र देश-शत्रु देश। समाज विकासको रफ्तार यतिम्मै सकिएन। यी देशहरूबिच पनि द्वन्द्व चलिरह्यो। यसो भनौँ चलाइयो। ठुलो देश र सानो देशबिच द्वन्द्व चलाइयो जसरी भारत र नेपालबिच चलिरहेछ। धनी देश र गरिब देशबिच उस्तै द्वन्द्व चलाइयो जसरी अमेरिका र अन्य देशहरूबिच चल्छ। मित्र देश र शत्रु देशबिच पनि उस्तै द्वन्द्व थियो जसरी भारत र पाकिस्तानबिच छ। यस्ता विषयहरूबारे पनि ती मजदुर-किसानहरूसँग गफ हाँक्नुहोस् उनीहरूले तपाईँ-हामीलाई प्रतिप्रश्न गर्नेछन्। सोध्नेछन् उनीहरू— “के भारतले पाकिस्तानमाथि विजय प्राप्त गर्दा हाम्रा आर्थिक स्थिति सुध्रिने छन्? के हाम्रा नानीहरूले उचित शिक्षा पाउने छन्? के युवाहरूले रोजगार पाउनेछन्?” तब घोरिएर बुर्जुवा राज्य व्यवस्था र पुँजीवादको अन्तरसम्बन्धबारे अध्ययन गर्न बाहेक हामीसँग केही जवाब हुनेछैन। र अध्ययनबाट हामी बुझ्नेछौँ पुँजीवादले आफ्ना सङ्कट हल गर्न यस्ता द्वन्द्व चलाइ नै रहन्छ। 
यी भौगोलिक सीमा बाहेक अर्को अदृश्य सिमाना छ यसै पृथ्वीमा। जसले मानव विकासलाई दुईवटा वर्गमा विभाजित गरेको छ। त्यो हो आर्थिक सीमा रेखा। भौगोलिक सिमानाका कारण आज अमेरिका विश्वको विकासशील अनि शक्तिशाली राष्ट्र हो। तर त्यो राष्ट्रमा पनि आर्थिक सीमारेखा छ। त्यसैले त अमेरिकाका किसान-मजदुरहरूलगायत विद्यार्थीहरू चोक,गल्ली र सडकहरूमा नारा लगाइरहेका छन्। अर्थात् यो बुर्जुवा व्यवस्थाले जम्मै समस्याहरूको हल गर्ने भए आज अमेरिकाको सडकहरूमा क्रान्तिकारीहरू ओर्लिनु पर्ने स्थिति आउँदैन थियो। आज संसारको जम्मै देशहरूका स्थिति प्राय उस्तै छन्। त्यसैले त हरेक बिहान प्रत्येक प्रान्तहरूमा जन्मिरहेका छन् क्रान्तिकारी दस्ता। 
पुँजीवादी व्यवस्थाले कुनै पनि हालतमा संसारको यो आर्थिक ध्रुवीकरणलाई मेटाउन सक्दैन। अर्थात् साधारण भाषामा भन्नु हो भने मानवीय शोषण हटाउने ‘म्याजिकल स्टिक’ यो बुर्जुवा व्यवस्थासँग छैन। मार्क्सले त भनेकै छन्— “राज्यसत्ता शोषणको हतियार हो”। तर दमन र शोषण सहेर बस्ने मानव प्रवृत्ति यो पृथ्वीमा छैन। इतिहास नै हेरौँ। दासको अत्याचारको विरोध गर्दै मान्छेले नै दास प्रथा हटाए। सामन्ती शोषण विरुद्ध आवाज उठाएर सामन्ती व्यवस्था खतम पारे मान्छेले नै। यो पुँजीवादी व्यवस्था त दुई दिनको पाहुना न हो। यो विरुद्ध पनि आवाजहरू उठिरहेकै छन्। र यो व्यवस्था ढल्छ भन्ने ठुलो भय पुँजीवादलाई छ। त्यसै कारण त उनीहरू नाना थरिका ढोँग गरिरहन्छन्। ती पुँजीवादी ढोँगहरू मध्येको सुन्दर सृजना हो ‘चुनाव’। किसान-मजदुर र सर्वहारालाई पुलिस-सेनाका घेराबन्दीमा राख्छन् र उनीहरू शानदार घोषणा गर्छन् – ‘तिमीहरू गणतान्त्रिक मैदानमा छौँ’। तर त्यो मैदान छोडेर नदीसम्म जान पाइँदैन कानुन लाग्छ। मैदानमा बस्दिन जङ्गलतिर लाग्छु भनौँ त न्यायालयले थुन्छ। होस् अर्कै देश गएर बस्छु भनौँ त सिमानाले छेक्छ। यो व्यवस्था यतिसम्म निस्सासिन्दो छ कि तब त विद्रोह गर्ने सपना पलाउँछ। र हरेक विद्रोही सपनालाई स्खलित पार्ने भ्रामक माध्यम पनि उनीहरूसँगै छ। त्यो हो ‘चुनाव’। पाँच वर्षमा मान्छेको सहनशिलता घट्छ र सडकमा विद्रोह जन्मिन्छ भन्ने हेक्का राखेरै उनीहरूले प्रत्येक पाँच वर्षमा चुनाव गराउँछन्। तर यो बुर्जुवा व्यवस्थाको चुनाव त घरभित्रका फोहर मैलालाई एउटा कोठादेखि अर्को कोठा पुऱ्याए जसो मात्र हो। हामीलाई त नयाँ घरको आवश्यकता छ। कोठा सफा गर्दैमा घर नयाँ हुन्न। तर पुँजीवादी व्यवस्थामा यो बुर्जुवा चुनावले ठुलै भ्रम फैलाएको छ। अधिकांश शोषित पीडितहरूले यो भ्रमको परिभाषा बुझ्दैनन्। र नै त टिकिरहेको छ पुँजीवाद। तर जस्तै भ्रम पनि कुनै दिन टुट्ने नै हो र छताछुल्ल हुने नै छ पुँजीवादी घैटो। 
पुँजीवादी मालिकहरूले ‘स्पोन्सर’ गरेको यो चुनाव त्यसै त भ्रम हो। यसलाई अझ भ्रमित पार्छन् राजनीतिक ठेकेदारहरू। पुँजीवादको ठेक्का गर्छन् त्यसै कारण उनीहरू ठेकेदार हुन्। पहिले पहिले रोजगार, स्वास्थ्य र शिक्षाका विज्ञापनहरू आउँथ्यो। नेताहरू गाउँ पस्थे। चुनाव सकिन्थ्यो अनि त नेता र विज्ञापन दुइवाटै हराउँथ्यो। अहिले विज्ञापन फेरिएको छ। ‘राम मन्दिर’ र ‘हिन्दु खतरे मे है’ यो अहिले ग्राम पञ्चायत, नगरपालिकादेखि लोकसभा चुनावसम्म चल्ने ब्रान्डेड विज्ञापन भइसकेको छ। यो विज्ञापन यतिसम्म खतरा छ कि बेरोजगार युवाहरू पनि ‘मन्दिर वही बने गे’ भन्दै प्रचार गरिरहेका छन्। यो विज्ञापनबारे किसान-मजदुरहरूसँग चर्चा गर्नुहोस् त। उनीहरूले सोझै भन्ने छन् – ‘के राम मन्दिरले हाम्रा दैनिक ज्याला बृद्धि हुन्छ?’ तब तपाईँ हामीसँग फाँसीवादबारे अध्ययन गर्न बाहेक अन्य विकल्प रहन्न। अध्ययनबाट थाहा पाउँछौँ अहिले भारत ‘हिटलरवाद’मा प्रवेश गर्दैछ। 
अब अन्तिम चरणमा चैँ गाउँ-घरकै कुरा गरौँ। दार्जीलिङले त झन् चुनावलाई यति बिघ्न भ्रामक बनाउँछ कि मतदातालाई बुझ्नै गाह्रो हुन्छ। लौँ हेर्नुहोस् न यसपालि ‘भूमि पुत्र’को चुनाव रे! पहिले-पहिले ‘हेब्बी वेट’ नेताको चुनाव भयो। त्यस भन्दा अघि ‘गोर्खे लिडर’को चुनाव। र यस चोटि चैँ भूमि पुत्र रे। यो भूमि पुत्र ब्रान्डका विज्ञापन गर्नेहरूले कसरी भुलेका हुन् तृणमूल सरकारले निर्दोष गोर्खा जनतामाथि गोली चलाएको काण्ड। कसरी भुलेका हुन् भूमिगत नेताहरूका घर कुड्की गरेका घटना। कसरी भुलेका हुन् बन्द बगानका चिया श्रमिकहरूले रगत पिउँदै रात बिताएको यथार्थ। कसरी भुलेका हुन् चिया श्रमिकहरूका न्यूनतम ज्यालाको मागलाई सरकार र सत्तासीन दलले पन्साएको कुरा। सिन्कोना बगानका श्रमिक समस्यालाई ओझेल गरेर, बनवासीको वन अधिकार मुद्दालाई छेउ लगाएर, तानाशाही तृणमूल सरकार, फासीवादी मोदी सरकार जम्मै जम्मै भुलेर भूमि पुत्र ब्रान्डलाई चुनावी बजारमा ल्याउनुको औचित्य के? चुनावको केन्द्रमा त गणतान्त्रिक मूल्यको विषयहरू राख्नु पऱ्यो न कि भूमि पुत्रको चर्चा। चुनावको भ्रम बुझ्न नसके तापनि राजनीति गर्छु भन्नेहरूले यो चुनावलाई तानाशाही तृणमूल सरकार विरुद्धको हतियार बनाउन सक्नुपऱ्यो नि। फासीवादी बीजेपीलाई पहाडबाट फ्याँक्न चुनावलाई नै औजार बनाउनु पऱ्यो नि। भूमि पुत्रको ब्रान्डलाई कुना थन्काएर किसान-मजदुरहरूको मुद्दालाई सम्बोधन गर्न पऱ्यो नि। त्यसै त यो चुनाव शोषक छान्ने आधिकारिक प्रक्रिया मात्र हो। 
हामीलाई त ‘यो चुनाव बुर्जुवा व्यवस्थाको भ्रम हो। यसलाई केवल हतियारको रूपमा प्रयोग गरौँ’ भन्ने उम्मेदवार पो चाहियो। आजको चुनावी व्यवस्था गणतान्त्रिक मूल्यमाथि उभिनुको सट्टा रुपियाँको बलमाथि उभिएको छ। जहाँ जनमतको गलत प्रयोग मात्र भइरहेको छ। यसैले चुनावलाई औजारको रुपमा प्रयोग गरेरै हामी जनपक्षीय गणतान्त्रिक व्यवस्था कायम गर्नसक्छौँ। आउनुहोस् त एकचोटी गणतान्त्रिक मूल्यको रक्षा गरौँ। महान् दार्शनिक कार्ल मार्क्सले भनेकै छन् – ‘गणतन्त्र नै समाजवादको बाटो हो।’

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...