Monday, March 11, 2019

मान्छे चिन्नु खसी किन्नु !

ईगम खालिङ, कालेबुङ (हाल)

हामीले मान्छे चिनेनौँ त्यसैले अरिजिनल (मौलिक) खसी किन्न सकेनौँ। डुप्लिकेट खसीलाई अरिजिनल सम्झेर बाँचिरह्यौँ। फेरि अरिजिनललाई डुप्लिकेट मानेर आफै लट्टिरह्यौं। त्यो सम्झेर ल्याउँदा मलाई पछुतो भइरहन्छ। त्यसैले माथिको शीर्षक ‘मान्छे चिन्नु खसी किन्नु’ मेरो निम्ति एउटा उखान मात्र नभएर मेरो मनभित्रको एउटा अमेट धोका बन्न पुगेको छ।
हामी जहिले पनि उल्टा बुझ्छौँ। हामीलाई अरूले बुझाइदिएका कुरा मन पर्छन् अनि सटिक बुझाइदिएका ठान्दछौँ। हामीले कहिल्यै सत्य र वास्तविक्ता खुट्ट्याउनलाई आफ्नो दिमागको प्रयोग गर्दैनौँ। प्रश्न र तर्कद्वारा खास कुराको निचोडसम्म (टुङ्गोसम्म) पुग्ने कोसिस गर्दैनौँ। हामी जहिलेपनि पूर्वग्रहित बाँचिरहेका हुन्छौँ। म कुन सन्दर्भमा कुरा गर्दैछु भनेर तपाईँहरू छक्क पनि पर्नु भयो होलान्। हुन त, म उखानकै सन्दर्भमा कुरा गरिरहेको भए तापनि अलिकति चाहिँ अप्रत्यक्षरूपमा हाम्रा वर्तमान राजनैतिक अनि सामाजिक अवस्थाको सन्दर्भमा पनि कुरा गरिरहेको छु। हामीले ‘मान्छे चिन्नु खसी किन्नु’ भन्ने उखानलाई कहिल्यै पनि आत्मसात् गरेर बुझ्न र बुझेर व्यावहारिक्तामा प्रयोग गर्ने कोसिस गरेनौँ। गरेको भए आज भारतवर्षमा हाम्रो यस्तो स्थिति हुने थिएन होलान्। यो मेरो निम्ति व्यक्तिगत तवरमा एउटा दुर्भाग्य नै ठान्दछु। 
खसी किन्नु खोजेर मात्र हुँदैन खसी किन्नु भन्दा अघि हामीले खसी बेच्ने व्यक्तिलाई राम्ररी चिनेको, जानेको र बुझेको हुनुपर्छ। बेच्ने मान्छेलाई राम्ररी नजानी खसी किन्नु व्यर्थ हो। डुप्लिकेट खसीले हाम्रो रहर केही हदसम्म पूरा गर्न सक्लान् तर पूर्ण आत्म-सन्तुष्टि भने दिन सक्दैन। आत्म-स्वाभिमान दिन सक्दैन। त्यो कसरी भनेर केसैले मलाई सोध्छ भने म भन्छु: दुप्लिकेट खसी किनेर पाल्दा अरिजिनल खसी चिन्ने र पाल्नेहरूले हामीलाई खिसी गर्नेछन्। दुर्बल बुद्धि भएका ठान्नेछन्। हामी जति नै रोई-कराइ गरौँ न डुप्लिकेट कुनै अवस्थामा अरिजिनलमा परिवर्तन हुँदैन। हुन त डुप्लिकेट र अरिजिनल छुट्ट्याउने समाधानका विधिहरू छन्। तर समाजमा सबैले डुप्लिकेटलाई अरिजिनल मान्छन् भने मेरो भन्नु केही छैन। विशेष त्यो एउटा समाजको परिधिभित्र। कारण कुनै पनि वस्तुको मान्यता सामाजिक मान्यतामा निर्भर गर्दछ। एउटा समाज, राज्य र देशले मान्दैमा डुप्लिकेटलाई अरिजिनल कहिल्यै मान्न सकिँदैन। तर अरिजिनल नै छैन अथवा मासियो भने कसको के लाग्छ। त्यस्तो स्थिति आइहाले चित्त बुझाउनु पर्ने हुन्छ।
जसरी गधा मोलेर घोडा हुँदैन त्यसरी नै डुप्लिकेट मोलेर अरिजिनल हुँदैन। जबसम्म अरिजिनल बाँचिरहन्छ तबसम्म डुप्लिकेट कुनै अवस्थामा पनि अरिजिनल हुँदैन। जबसम्म समस्त मानव समाजले निश्चितरूपमा सर्वमान्यता दिँदैन डुप्लिकेट तबसम्म डुप्लिकेट नै रहन्छ। ‘रहन्छ’ भन्छ भने कि त अरिजिनल रहन्छ कि त डुप्लिकेट तर दुवै एउटा वस्तुमा आवस्थित रहन्दैन। त्यसैले अरिजिनललाई डुप्लिकेट अनि डुप्लिकेटलाई अरिजिनल सहजै मान्न मिल्दैन। मानिनै लियौँ भने पनि त्यो अरिजिनल र डुप्लिकेटको दोष होइन। त्यो त हाम्रा बुद्धि र ज्ञानेन्द्रहरूको कमजोरी हो। त्यो वस्तुसित होइन तर हामीसित हुन्छ। हामी सक्षम नहुनु हाम्रो दुर्बलता हो। कुनै पनि प्रकारको दुर्बलता अज्ञानताको प्रतीक हो।
खसी किन्न चाहने व्यक्तिको कि त व्यक्तिगत आवश्यक्ता हुन् सक्छ कि त उद्देश्य तर खसी बेच्ने मान्छेका हजार उद्देश्यहरू (अनि कुशलताहरू) हुन्छन्। खसीलाई चिनिसकेपछि खसी बेच्ने मान्छेलाई पनि चिन्नु अति जरुरी छ। खसी बेच्ने व्यक्तिले हामीलाई नाना थरीका कुराहरू गरेर झुक्याउन सक्छ। भावना र बुद्धिमा प्रभाव पारी हाम्रो सोझोपनको फाइदा उठाउन सक्छ। हामी साह्रै भावुक र तातो बुद्धिका छौँ। त्यसैले होला, यस उखानले हामीलाई नै हेरिरहेको जस्तो लाग्छ। आफ्नो मान्छे होस् या अर्का मान्छे कसैले पनि ठग्नसक्छ भन्ने खतराको पूर्वसङ्केत चुपचाप दिइरहेको जस्तो लाग्छ। 
कहिले काहीँ जुन देखिन्छ त्यो साँचो हुँदैन अनि जुन साँचो हुन्छ त्यो देखिँदैन। त्यसैले साँचो खसी किन्न खोज्ने व्यक्तिले अलिक मेहनत गर्नुपर्ने हुन्छ। जोसकैबाट जे पायो तै लिएर अरिजिनल खसी ल्यायौ भन्नु नानीहरू भाँडा-कुँडी खेलेको जस्तो मात्र हुनेछ। भोजमा डुप्लिकेट खसी काटेर अरिजिनल खसी खायौँ भन्दै नाच्नेहरू त झन् बेचिपठाउने व्यक्तिको निम्ति हाँसोका पात्रहरू मात्र हुन्। उनीहरूलाई मात्र “राम ! राम !” भन्न सकिन्छ।
यदि मैले कुनै खसी किन्न चाहने व्यक्तिलाई कतै ठ्याक्क भेटाई हालेमा म उनको कानमा यस उखानलाई अलिकति संशोधन गरेर सुनाइदिने थिएँ—“मान्छे अनि खसी दुवै चिन्नु तब पो किन्नु”। कान सुन्दैन रहेछ भने पनि ठिकै छ किनकि त्यस्तो कान नसुन्ने व्यक्ति कहिले काहीँ भेट्न सकिन्छ तर कान सुनेर पनि नसुनेको जस्तो गर्छ भने म उखानलाई लुकाएर उसलाई साँच्चैको (अरिजिनल) नमस्कार ठोकिदिन्छु। नमस्कार ठोकेर ठोक्न सकिन्छ होला तर उखान लुकाएर कहाँ लुकाउन सकिन्छ र। फेरि व्यक्तिको मानसिकता परिवर्तन नगरी उखान संशोधन गरेर केई हुने होइन। उखान सुन्न चाहने र बुझ्ने व्यक्ति नचिनिकन जो कोहीलाई सुनाउनु खोज्नु अरिजिनल र डुप्लिकेटमाझको पार्थक्य खुट्ट्याउन नसक्नु समान हो। त्यसैले निधारमा हात राखेर आफैलाई भन्नुपर्ला— “थुक्क ! मान्छे चिन्नु खसी किन्नु।”

No comments:

Post a Comment